मोहन थारूको मृत्यु प्रकरण : पोष्टमार्टममा देखियो शरीरको भित्रि भागमा चोट

करिब एक महिनाअघि जंगलमा मृत भेटिएका कोहलपुर नगरपालिका वडा नम्बर २ का मोहन थारूको मृत्यु प्रकरणको कोहलपुर प्रहरी अझै अनुसन्धानमै छ । कात्तिक १४ गते कोहलपुर-२ स्थित एक सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका थारूको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले थारूको पोष्टमार्टम रिपोर्ट आइसकेको बताए ।

उनले पोष्टमार्टम रिपोर्टपछि घटनाबारे थप अनुसन्धान गर्नुपर्ने देखिएकोले प्रहरीले सूक्ष्मरूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘घटनाको अनुसन्धानको क्रममै छौँ । पोष्टमार्टम रिपोर्टमा ठ्याक्कै यही छ भन्न मिल्दैन । तर, घटनाको अनुसन्धान गर्नुपर्ने देखिएकोले हामीले अनुसन्धान गरिरहेका छौँ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक गुप्ताले भने । पोष्टमार्टम रिपोर्टमा उल्लेख कुरा स्पष्ट नबताएपनि रिपोर्टअनुसार थप अनुसन्धान गर्नुपर्ने देखिएकोले घटनासँग सम्बन्धित पक्षलाई प्रहरीले प्रत्यक्ष/अप्रत्यक्षरूपमा निगरानीमै राखेको बताउँदै उनले थारूसँगै गएका तीन जना महिलाहरूसँग प्रारम्भिक सोधपुछ भएको बताए ।

उनीहरूलाई प्रहरीले बोलाएको समयमा कार्यालयमा हाजिर हुनेगरी छाडिएको प्रहरी निरीक्षक गुप्ताले बताए । मृतक थारूसँग घाँस काट्न सोही गाउँका देउमती खड्का, मिना भुसाल र जानुका कार्की गएका थिए । सुरुमा थारूको बाघको आक्रमणबाट मृत्यु भएको खबर बाहिरिएको थियो । तर, शव भेटिँदा बाहिरीरूपमा कुनैपनि चोटपटक लागेको थिएन । यद्यपि थारूको परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए ।

मृतक थारूका दाई सोहनलाल थारूले घटना घटेको केही दिनमै उजुरी दिएका थिए । तर, घटना भएको एक महिना बित्नै लाग्दासमेत दोषी पत्ता नलागेकोप्रति परिवारले असुन्तष्टि व्यक्त गरेको छ । लामो समय बितिसक्दासमेत घटनाका दोषी पत्ता नलागेको उनले बताए । ‘घटना भएको एक महिना हुन लाग्यो । अझै केही कुरा पत्ता लागेको छैन । प्रहरीलाई बुझ्दा अनुसन्धान गरिरहेका छौँ भन्नुहुन्छ,’ उनले भने । मृतक थारूकी भान्जी सुनसरी चौधरीले पनि आफ्नो परिवारको तर्फबाट आफूहरूले उजुरी दिएको बताइन् ।

आफूहरूले बुझ्दा अनुसन्धान भइरहेको बताउने गरेको उनको भनाइ छ । पोष्टपार्टम रिर्पोटमा त मोहनको शरीरमा चोट देखिएको छ भन्ने सुनिन्छ नी ? भन्ने मिसन टुडेको प्रश्नमा प्रहरी निरीक्षक गुप्ताले दोहोर्‍याए, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौँ । अहिले सबै कुरा खुलाउन मिल्दैन ।’ तर, भेरी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा थारूको शरीरमा चोटपटक देखिएको स्रोतको दाबी छ । स्रोतका अनुसार थारूको बाहिरी शरीरमा चोट नदेखिएपनि भित्री शरीरमा भने केही भागमा चोट देखिएको छ ।

छाती र पेटमा चोट देखिएको रहेछ नी ? भन्ने प्रश्नमा प्रहरी निरीक्षक गुप्ताले रिपोर्टमा केही कुरा देखिएपछि आफूहरूले अनुसन्धान गरिरहेको दोहोर्‍याए । घटनाको अनुसन्धान छिट्टै टुंग्याइनेसमेत उनले बताए । मोहन उक्त दिन दिउँसो घाँस संकलन गर्न गएका थिए । रातिसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो र राति ९ गतेतिर जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

मिसनटुडेबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *