पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय, सात थारू नेताको कार्यकाल पनि सकिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम वितरण गरिसक्नुपर्ने र पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यको काम सकाइसक्नुपर्ने निर्णय भएको प्रवक्ता महतले बताए।

त्यसमा उजुरी आह्वान गर्ने र उजुरीमाथि छानबिन गरेर नयाँसहितको अन्तिम सूची सभापतिलाई पुस १४ गते बुझाइने निर्णय भएको छ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नयाँ पुस्ता, अन्य पार्टीबाट आएका नेता-कार्यकर्ताहरूलाई वितरण गरिने उनले बताए।

त्यस्तै गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ, नगर र पालिका पुस १७ गते, प्रदेश सभा क्षेत्री अधिवेशन पुस १९ गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २२ गते, एकभन्दा बढी भएको जिल्लामा पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने प्रवक्ता महतले बताए।

देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो।
मंसिर २३ गते कार्यवअधि सकिने र पुस मासान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता रामशरण महतले बताए।

कार्यसमितमा छन् सात जना थारू
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट एक पदाधिकारीसहित ७ जना थारू नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। बाराका उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका थिए। उनले सप्तरीका सांसद तेजुलाल चौधरीलाई पराजित गरेका थिए।

त्यस्तै खुलातर्फ बर्दियाका डा. गोपाल दहित र सिरहाका पदमनारायण चौधरी निर्वाचित भएका थिए। उनीहरू खुलातर्फ उत्कृष्ट ३५ भित्र परेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै थारु कोटाको खुलातर्फ कैलालीका रामजनम चौधरी र दाङका योगेन्द्र चौधरी निर्वाचित भएका थिए। थारु खुलातर्फ दुई सिटका लागि ८ जनाको उम्मेदवारी परेका थिए। यसअघि केन्द्रीयसमेत रहिसकेकी दाङकी पार्वता डीसी थारु र पूर्वसभासद भोटनीदेवी खवास भने पराजित भएकी थिइन्।

त्यस्तै थारू कोटाको महिलातर्फ सुनसरीकी कल्पना चौधरी र जीवन राना विजयी भएका थिए। दुई सिटका लागि भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका थिए। थारु महिलातर्फ सांसदसमेत रहेकी नमिता चौधरी र प्रदेश सांसद रहेकी नवोदिता चौधरी पराजित भइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *