प्रतिनिधि छनोटमा जयप्रकाश थारूको आपत्ति, भने- ओली पक्षले विद्या भण्डारी निकट भनेर व्यवहार गर्यो
पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा तानिएको छ। मधेश प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सार्वजनिक प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन्।
सोमबार सार्वजनिक भएको प्रतिनिधि छनोटको निर्णय आफूहरूलाई अमान्य भएको नेता थारूले बताए। उनले अनलाइनखबरसँग भनेका छन्, ‘हामीलाई विद्या भण्डारी, ईश्वर पोखरेल निकट भनेर यस्तो व्यवहार गरिएको छ। यो निर्णय हामीलाई स्वीकार्य छैन।’
महाधिवेशन प्रतिनिधिका लागि १४ जनाको उम्मेदवारी परेको र निर्वाचन अधिकृतले समेत १७ मंसिरमा निर्वाचन गर्ने सूचना प्रकाशित गरिसकेको अवस्थामा उम्मेदवारहरूको समेत सहमति नलिई सूची सार्वजनिक गरिने आपत्तिजनक भएको थारुले बताए। थारूले सामाजिक सञ्जालमार्फत उक्त सूची अस्वीकार गर्ने घोषणा गरेका छन्।
उनले लेखेका छन्- ‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि पर्सा निर्वाचन क्षेत्र नं ४ मा ११ मंसिरमा हामी उम्मेदवारहरूले मनोयन दर्ता गराएका थियौं। ३ वटा क्लस्टरका लागि १४ जना उम्मेदवार मनोयन दर्ता गराएका थियौं। दलित ३ वटा क्लस्टरका लागि ४ जनाको उम्मेदवार मनोयन दर्ता भएको छ। निर्वाचन प्रमुख केशव शर्मा सरसँग हामी उम्मेदवारहरूले बसेर छलफल गरी सहमति अनुसार १७ मंसिरमा निर्वाचन प्रक्रियामा जाने सहमति भए अनुसार निर्वाचन प्रमुखले सूचना पनि प्रकाशन गरिसक्नु भएको छ। हामी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी मनोयन दर्ता फिर्ता पनि लिएका छैनौं। तर आज एकाएक सामाजिक सञ्जाल फेसबुकमा सहमतिबाट प्रतिनिधि छनोट भएको हेर्दा मलाई त अश्चार्य लागेको छ। साथै मेरो घोर आपत्ति छ । कुनै पनि हालतमा हामाीलाई स्वीकार्य छैन।’
नेता थारू एमालेबाट २०७० सालको संविधान सभा निर्वाचनमा पर्साबाट निर्वाचित संविधान सभा सदस्य समेत हुन्। पर्सा क्षेत्र नम्बर ४ बाट खुलातर्फ जालिम मियाँ मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ र वीरेन्द्र यादव, युवातर्फ सुभाषकुमार साह तथा महिलातर्फ गोकुली रेग्मी र अंशु आनन्द सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएको सूची सार्वजनिक भएको थियो।
Facebook Comment