सुपारी दिएर गराइएको थियो दिनेश चौधरीको हत्या

सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ। दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो ।

सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनै साह दाजुभाइकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो। सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ । साह दाजुभाइले ६ लाखमा सुपारी दिएर मान्छे बोलाई चौधरी उपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाही चलाइएको जनाएको छ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरूमा झुम्काका साह दाजुभाइ ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोर सहित सप्तरी राजविराजका २८ वर्षीय अङ्कित साह र प्रिन्सकुमार दास रहेका छन्। त्यसैगरी पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहाका ३४ वर्षीय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षीय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षीय मिथलेस यादव रहेका छन्।

प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । अशोज २५ गते शनिवार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिननगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेश कुमार चौधरी उपर गोली प्रहार भएको थियो । गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।




One thought on “सुपारी दिएर गराइएको थियो दिनेश चौधरीको हत्या

  1. तराईमा दिन दहाडै हत्या गर्ने कानूनी राज्यको उपहास हो । अब हत्यारालाई मृत्यु दण्डको सजाय दिनुपर्ने ब्यबस्था हुनु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *