मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुमिता चौधरी निर्वाचित
सन्तोष दहित/दाङ
मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा बाँकेकी सुमिता चौधरी निर्वाचित भएकी छन्। सोमबार रातिसम्म सम्पन्न मतदानमा सुमिताले २०९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्।
उनकी निकटतम प्रतिस्पर्धी, निवर्तमान अध्यक्ष हिरामोती चौधरीले १५२ मत र अर्की प्रत्याशी निर्मला चौधरीले ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामशरण चौधरीले जानकारी दिए।
उनका अनुसार अध्यक्षसहितका पदाधिकारीहरूमा सहमति नजुटेपछि निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो। त्यस्तै, उपाध्यक्षमा दाङकी विष्णुकुमारी चौधरी ३०९ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिस्पर्धी रुपनी चौधरीले १२२ मत प्राप्त गरिन्।
सचिवमा कैलालीकी लक्ष्मी चौधरी निर्वाचित भइन्। उनले २११ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी लक्ष्मी रानाले १११ र सरस्वती चौधरीले ९९ मत प्राप्त गरिन्। त्यस्तै कोषाध्यक्षमा दाङकी सुशीला चौधरी २७८ मत प्राप्त गर्दै निर्वाचित भइन्।
त्यस्तै सदस्यहरूमा सीता चौधरी (दाङ), शितल चौधरी (कैलाली), गीता चौधरी (कैलाली), मिरा चौधरी (बर्दिया), निशा चौधरी (बर्दिया), गीता चौधरी (कञ्चनपुर) र गीता थारू (बाँके) निर्विरोध निर्वाचित भइन्।
Facebook Comment