अन्ततः रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा नेकपामा विलय
नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन्।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा रहनेछ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।
एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन्।
सहमति-पत्र
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहअस्तित्वपूर्ण, समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । विविधतामा एकता नेपालीको राष्ट्रिय विशेषता हो । नेपालीको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा इतिहासका विभिन्न कालखण्डमा भएको जनआन्दोलन, जनयुद्ध तथा आन्दोलन, मधेस विद्रोहलगायतका विभिन्न समुदायले गरेको आन्दोलनको उपलब्धिहरूको रक्षा तथा जेनजीले पनि नमान्नबाट भएको नवयुवा र युवा आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई ध्यान दिई थप उपलब्धि प्राप्तिका लागि सङ्घर्ष अग्रगामी परिवर्तनका पक्षधर सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू एकताबद्ध हुन आवश्यक छ । यस उद्देश्य प्राप्तिका लागि नेपाली कम्युनिस्ट तथा समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध गर्दै नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण गर्ने निम्नानुसारको सहमति भएको छ :
१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सकारात्मक र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्चाउने र सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको मापदण्ड समाजवादको दिशामा अगाडि बढ्ने ।
२. मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै परिवर्तन र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट सङ्घर्ष गर्ने ।
३. समाजवादका लागि नेपालीको मौलिक बाटोको रूपमा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गीकार गर्ने र त्यसको आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने ।
४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सहभागितालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने ।
५. नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुनेछन् ।
६. नागरिक उन्मुक्ति पार्टीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत सबैका सम्पूर्ण समितिहरू र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने ।
७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्ट्रको सर्वोपरि हितमा संविधान संशोधन र अग्रगामी परिमार्जन गर्न पहल गर्ने ।
८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले बहिष्करणमा परेका वा पछाडिएका महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएका क्षेत्रगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्गमा, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने ।
९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिई समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने ।
१०. टिकापुर घटनाका सम्बन्धमा कुनैपनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका भ्रष्ट मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने ।
उपर्युक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
मिति २०८२ पुस १४
[हस्ताक्षरहरू]
रञ्जिता श्रेष्ठ
अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी
माधव कुमार नेपाल
सहसंयोजक
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
Facebook Comment