निर्यातको चमकभित्र लुकेको चिनियाँ आर्थिक संकट
बेइजिङका नीति निर्माताहरू चीनले १ ट्रिलियन अमेरिकी डलरको रेकर्ड व्यापार अधिशेष हासिल गरेकोमा सन्तुष्ट देखिन सक्छन्। सस्तो चिनियाँ उत्पादनहरूले विश्वका थुप्रै बजार ओगट्नु यो उपलब्धिको सतही प्रमाण जस्तो देखिन्छ। तर यही आँकडाले चिनियाँ अर्थतन्त्रभित्र गहिरिँदै गएको असन्तुलनको असहज यथार्थ लुकाइरहेको छ। कमजोर घरेलु माग, युआनको निरन्तर अवमूल्यन र वृद्धि दरमा देखिएको सुस्ती।
अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनलाई निर्यात आधारित वृद्धिमा अत्यधिक निर्भर नहुन चेतावनी दिएको छ। १.४ अर्ब जनसंख्या भएको अर्थतन्त्र दीर्घकालीन उच्च वृद्धि सुनिश्चित गर्न निर्यातमा मात्र भर पर्न धेरै ठूलो भएको IMF को ठहर छ। “चीन विकासको प्रमुख स्रोतका रूपमा निर्यातमा निर्भर रहन धेरै ठूलो छ। यसको विशाल घरेलु बजार छ,” कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्पष्ट पारेकी छिन्। निर्यात नेतृत्व वृद्धिमा बेइजिङको निरन्तर निर्भरताले विश्वव्यापी व्यापार तनाव बढाउने जोखिम पनि बोकेको छ, जसको उदाहरण अमेरिकाले चिनियाँ आयातमा लगाएका उच्च करहरू हुन्।
कोषका अनुसार चीनले घरेलु उपभोग बढाउने व्यापक नीतिगत सुधार आवश्यक छ। महामारीका कारण रोजगारी र आम्दानीमा गम्भीर असर परेपछि उपभोक्ताहरू खर्चमा सतर्क बनेका छन्। त्यसमाथि सम्पत्ति बजारमा आएको मन्दीले पारिवारिक सम्पत्तिमा ठूलो धक्का दिएको छ। परिणामस्वरूप, चिनियाँ उपभोक्ता ठूलो मात्रामा खर्च गर्न अनिच्छुक देखिन्छन्।
चीनको विशाल व्यापार अधिशेष आफैंमा आर्थिक कमजोरीको सूचक पनि हो। वित्तीय अवरोध र कमजोर उपभोगका कारण आयातमा पर्याप्त वृद्धि हुन सकेको छैन। पाँच प्रतिशतमा झरेको जीडीपी वृद्धि दरले उत्पादनका लागि आवश्यक आयातित कच्चा पदार्थ र इनपुटको मागसमेत घटाएको छ।
नोभेम्बर २०२५ मा चिनियाँ निर्यात ५.९ प्रतिशतले बढ्दा आयात केवल १.९ प्रतिशतले मात्र बढ्यो। स्वस्थ र सन्तुलित अर्थतन्त्रका लागि अस्वाभाविक प्रवृत्ति। सामान्यतया, घरेलु बजारमा निर्भर अर्थतन्त्रहरूले आयात प्रतिस्थापनलाई प्राथमिकता दिन्छन् भने निर्यातमुखी अर्थतन्त्रहरूले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न आयातित इनपुटमा भर पर्नुपर्छ।
१ ट्रिलियन डलरको व्यापार अधिशेषले चीनलाई उत्पादन महाशक्तिका रूपमा चित्रण गर्छ भन्ने धारणा भ्रामक छ। अमेरिकाले चिनियाँ आयातमा लगाएका अतिरिक्त करका कारण चीनको निर्यात उच्च मूल्य बजारमा घटेको छ। यसलाई क्षतिपूर्ति गर्न चीनले अफ्रिका, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियाजस्ता कम आय भएका बजारहरूमा निर्यात विस्तार गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका करहरूका कारण कुल कर दर ४७ प्रतिशत पुगेको छ। यसको परिणामस्वरूप, नोभेम्बर २०२५ मा अमेरिकामा चिनियाँ निर्यात अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले घट्यो। कपडा तथा परिधान क्षेत्रमा मात्र चीनबाट अमेरिकी आयात २७ प्रतिशतले घटेको छ। यही क्रममा भियतनाम, भारत र बंगलादेशजस्ता देशहरूले अमेरिकी बजारमा आफ्नो उपस्थिति विस्तार गरेका छन्।
यसै अवधिमा चीनले अफ्रिकामा निर्यात २६ प्रतिशत, दक्षिणपूर्वी एसियामा १४ प्रतिशत र ल्याटिन अमेरिकामा ७.१ प्रतिशतले बढाएको छ। युरोपेली संघमा पनि चिनियाँ निर्यात १५ प्रतिशतले बढेको देखिए पनि, चीनस्थित युरोपेली संघ चेम्बर अफ कमर्सले चीनसँगको बढ्दो व्यापार घाटाप्रति चेतावनी दिइसकेको छ।
दुर्भाग्यवश, यी नयाँ बजारहरूले अमेरिकी उपभोक्ताले तिर्न सक्ने मूल्य स्तरमा चिनियाँ उत्पादन खरिद गर्न सक्दैनन्। सन् २०१९ मा व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलन (UNCTAD) को अध्ययनले देखाएअनुसार, कर युद्धका कारण उत्पन्न व्यापार विचलनमा चिनियाँ निर्यातकर्ताहरूले मूल्य घटाएर अमेरिकी बजारमा आएको घाटाको केही अंश आफैं वहन गर्नुपरेको थियो।
कर युद्धको दोस्रो चरणमा चिनियाँ उत्पादकहरू जुत्ता, घरेलु उपकरणदेखि कम्बलसम्मका सामानहरू पहिले अमेरिकामा उच्च मूल्यमा बेचिन्थ्यो, अहिले निकै सस्तो मूल्यमा अन्य बजारमा बेच्न बाध्य भए। उदाहरणका लागि, अमेरिकामा एक टन चिनियाँ कम्बलको मूल्य करिब ५,३०० डलर पर्छ भने अफ्रिकामा गुणस्तरअनुसार यही मूल्य १,८०० देखि ३,५०० डलरसम्म सीमित हुन्छ।
यी कम आय भएका बजारहरूको माग पूरा गर्न लागत घटाउँदा उत्पादनको गुणस्तरसमेत प्रभावित भएको देखिन्छ। फलस्वरूप, चीन कम लागत र शंकास्पद मापदण्डका उत्पादनहरूको केन्द्रका रूपमा उदाउँदै गएको छ, जसमा विशाल सस्तो श्रम शक्ति प्रमुख कारक बनेको छ।
पर्यवेक्षकहरूका अनुसार यो विशाल व्यापार अधिशेष डम्पिङ, आक्रामक मार्केटिङ र भ्रामक व्यापार रणनीतिमार्फत सम्भव भएको हो। तर यसको प्रत्यक्ष फाइदा चिनियाँ श्रमिकहरूलाई पुगेको देखिँदैन। उदाहरणका लागि, २०२३ मा चीनको कपडा क्षेत्रमा एक कामदारको औसत मासिक तलब ८२६ डलर थियो भने अमेरिकामा यही क्षेत्रमा औसत तलब २,८५८ डलर थियो।
अफ्रिकामा सस्तो चिनियाँ उत्पादनको डम्पिङले स्थानीय उद्योगहरूमा गम्भीर क्षति पुर्याएको छ। दक्षिणी अफ्रिकाको श्रम विभाग र अनुसन्धान एकाइले पछिल्लो दशकका ४४ उत्पादन उद्योगहरूको अध्ययन गर्दा, सस्तो चिनियाँ आयातका कारण उत्पादन वृद्धि सुस्त, नाफा घटेको र रोजगारीमा गिरावट आएको निष्कर्ष निकालेको छ। कपडा, जुत्ता, छाला, विद्युतीय उपकरण र मेसिनरी क्षेत्र सबैभन्दा बढी प्रभावित छन्।
घरेलु बजार सुस्त हुँदा चीनले पाँच प्रतिशतको जीडीपी वृद्धि दर कायम राख्न कम मूल्यका बजारतर्फ निर्यात बढाउने रणनीति अपनाएको छ। गत नोभेम्बरमा खुद्रा बिक्री केवल १.३ प्रतिशतले बढ्यो। २०२२ यताकै सबैभन्दा कमजोर दर। औद्योगिक उत्पादन वृद्धि ४.८ प्रतिशतमा सीमित रह्यो भने सम्पत्ति क्षेत्रमा लगानी करिब १६ प्रतिशतले घट्यो। कार बिक्री ८.५ प्रतिशत र घरेलु उपकरण बिक्री १९ प्रतिशतले घटेको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले स्वयं घरेलु माग अपर्याप्त भएको स्वीकार गरिसकेको छ।
यस सुस्तीको मुख्य कारण घरजग्गा मूल्यमा आएको गिरावट हो, जहाँ चीनको करिब ७० प्रतिशत घरेलु सम्पत्ति बाँधिएको अनुमान छ। सम्पत्तिको मूल्य घट्दा उपभोक्ताको आत्मविश्वास पनि कमजोर भएको छ। देङ सियाओपिङकालीन निर्यात बूमको समयमा युआन डलर विनिमय दर ८.३८ थियो, जसले कृत्रिम अवमूल्यनको आरोप खेपेको थियो। २००५ पछि युआनको पुनर्मूल्याङ्कन भए पनि, पछिल्लो दशकमा यसको मूल्य पुनः घट्दै करिब ७ को हाराहारीमा पुगेको छ। सुस्त घरेलु मागबीच निर्यात बढाउन यो मुद्रा अवमूल्यनको अप्रत्यक्ष उपाय बनेको छ।
Facebook Comment