रेशम-रन्जिताजीले हाम्रो भावनामाथि गरेको मजाकप्रति कहिले क्षमा याचना गर्ने?

ठाकुर सिंह थारू
यहाँहरूको स्नेह, माया, सद्भाव र आलोचनाप्रति सधैँ अभारी छु। रहिरहने छु। कतिपय साथीहरूको कडा आलोचना र गालीगलौजलाई मार्गदर्शन मानेको छु। मेरो कसैप्रति व्यक्तिगत आग्रह पूर्वाग्रह, रिसराग केही छैन। जीवनको रेसमा कहिलेकसो नसोंचेको ठेस लाग्छ। परिस्थितिले कठोर निर्णय गर्न बाध्य बनाउँछ।

पछिल्लो समयको परिस्थितिले म फरक बाटो हिँड्न बाध्य भएको छु। हिँडन बाध्य गराइएको छ। मेरो निर्णयले कसैको विश्वासमाथि चोट परेको छ भने सार्वजनिक रूपमा माफी माग्न तयार छु। मैले यी कुरा सामाजिक सञ्जालमा नलेखे पनि हुन्थ्यो होला। तर, फेसबुकमा मेरो बारेमा आएका टिप्पणीले लेख्न बाध्य भएको छु। मेरो बानी धेरै साथीहरूलाई जानकारी नै छ। निर्णय लिुनभन्दा १० पटक विश्लेषण गर्नु मेरो बानी छ। तथ्य हेरेर गरेको निर्णय गलत हुँदैन भन्ने मलाई विश्वास छ। पछिल्लो पटक लिएको निर्णयका तथ्यगत आधार यस्तो छ। मेरो तथ्यगत निर्णय पढेपछि यहाँको गालीगलौज मेरो लागि रिरोपण गर्नेछु।

१) म पहिचानको पक्षधर व्यक्ति हो। त्यसैले जीवनभर कमाएका व्यक्तिगत पद प्रतिष्ठा छाडेर रेशम चौधरीमाथि भएको अन्यायविरुद्ध नागरिक उन्मुक्ति पार्टीमा गोलबद्ध भएँ। चुनाव लडे। यहाँहरूको विश्वासले सम्मानजनक स्थान पाएँ। निर्वाचन भएको केही समयपछि टीकापुरमा पुस २६,२७ र २८ गते महाधिवेशन भयो। त्यही अधिवेशनबाट अध्यक्ष रन्जिता र जन्मदाता रेशमजी बीच फाटो सुरु भयो। रेशमजी पार्टी अध्यक्ष भइरहँदा रन्जिताजी काठमाडौं फर्किनुभयो। श्रीमान श्रीमतीबीचको विवाद पार्टीभित्र नपरौँ भन्ने उद्देश्यले दुई जनालाई मिलाउन लाख प्रयास गरें। तर, सकिनँ। हार खाएँ। उल्टै मलाई रेशमको हनुमान भनेर टीका लगाइदिए।

२) विवाद मिलाउने मेरो प्रयास असफल भएपछि म रेशमजीको पक्षमा दरो रूपमा उभिएँ। निर्वाचन आयोगले रेशमजीलाई अध्यक्षका रूपमा स्वीकार नगरेपछि सर्वोच्च अदालतमा रिट दर्ता गर्न काठमाडौं पुगियो। सर्वोच्चको मुद्दाका निवेदकहरूलाई फिर्ता गर्न लगाएपछि त्यहाँबाट पार लागेन। तर, पनि म रेशमजीको पक्षमा उभिरहें। मैले संस्थापकहरू मध्येलाई अध्यक्ष मनेर जाउँभन्दा पनि सफल भइनँ। कहिले लालबीर बुबा, कहिले कसलाई अध्यक्ष बनायौँ, रेशमजीकै इसारामा। गलत हो जान्दाजान्दै पनि साथ दिइरहे। मेरो स्वार्थ एउटै थियो, पार्टी जोगियोस्।

३) ढकिया हुँदाहुँदै रेशमजीले चकिया खोल्ने निर्णय गरेपछि म कडा प्रतिवादमा उत्रिए। पार्टी नखोल्नुस् ढकियालाई जोगाउन लाग्नुस्। भाउजुलाई सम्झाउनुस् भनेर लागे। सकिनँ। ढकियाको पक्षमा उभिरहे। तर, असफल रहेँ। ढकिया हुँदासम्म कुनै पार्टीमा नजाने निर्णय लिई अडानमा रहिरहेँ। चकियामा आउनुस् भनेर साथीहरू बोलाउँदा पनि अटेर गरिरहेँ। म गलत वा सही के थिएँ। त्यो समयले बताउँला।

४) ढकिया पक्रेर बसिरहँदा एकाएक रन्जिताजीले नेपाली कम्युष्टि पार्टीमा विलिन गुर्नभयो। मलाई ठूलो झट्का लाग्यो नै। म सोँच्नसम्म सकिनँ। मलाई लागेको थियो, मेरो प्रेसरले रन्जिताजीले ढकियालाई चकियामा समाहित गर्नुहोला भन्ने लागेको थियो।तर, त्यो विश्वास पनि गुम्यो। म एक्लै भएको महसुस गरिरहेँ। ढकिया विलिन भए पनि जोगाउन सर्वोच्चमा फेरि पनि मुद्दा दर्ता गर्न लगाएँ। संस्थापक सदस्य रामलाल डंगौरालाई अध्यक्ष बनाउनु भनेर लागे। रेशमजीले त्यो पनि मान्नु भएन। अन्ततः ढकिया विलिन भयो।

५) मैले रोजेको ढकिया अर्को पार्टीमा विलिन भएपछि म पार्टीविहीन भएँ। चकिया रेशमजी खोल्नुभयो, त्यहाँ अटाएन। मेरो निष्कर्ष के हो भने, फेरि पनि दाई भाउजुको विवादमा समय खेर फाल्नु राम्रो होइन। म गलत पनि हुन सक्छु। मैले रेशमजीसँग लामो समयसम्म संगत गरेको छु। मजाले चिन्ने मौका पाएँ।

६) अन्तितमा मसँग कुनै बाटो भएन। मैले विश्वास गरेको ढकिया सकियो। चकिया जन्म भयो। चकियाको नेतृत्वकर्ता उनै हुन्। जसले लाखौं मतदाताको सपनाको मजाक उडायो। सामाजिक सञ्जालमा मैले लेखेको छु, रेशमजी अध्यक्ष भएर पार्टी दर्ता गर्छन् भने म साथ दिन तयार छु। होइन भने, अरुलाई अध्यक्ष बनाएर बारबार पार्टी दर्ता गर्नु मेरो नजरमा शोभनीय भएन। त्यसैले चकियामा अटिन। मेरो ऊर्जावान र बलवान समय श्रीमान श्रीमतीको झगडामा खेर फालिरहन उचित लागेन।

मलाई लोभिपापी देख्नेहरू, पहिचान बेचुवाको ठेकेदार देख्नेहरूलाई मेरो प्रश्न छ, म कहाँनिर गलत छु। विगतमा ढकियामा लाग्नु मेरो निर्णय गलत थियो? ढकियालाई अर्को पार्टीमा विलिन गर्नु मेरो व्यक्तिगत महत्वकांक्षा कहाँ देखियो? श्रीमान श्रीमतीको विवादले पार्टी सक्किनुमा मेरो भूमिका कहाँनिर देखियो? पहिचानको मुद्दा मैले कहाँनिर बेचेँ? पहिचानको मुद्दा मेरो वा अरु कसैको व्यक्तिगत ठेक्का हो?

मेरो प्रिय चुनाव चिन्ह र पार्टी विलिन गराएर मलाई पार्टीविहीन बनाउने, श्रीमान श्रीमतीको झगडामा मलाई अचानो बनाउने, पहिचानको मुद्दालाई आफ्नो व्यक्तिगत पेवा बनाउने, पार्टी सुढृद गर्न दिएको सुझावलाई कहिल्यै मनन् नगर्ने, मनपरी गर्ने अनि मलाई चोर, दलाल फटहा देख्ने? के ढकिया मैले सकेको हो? पहिचान मुद्दामा बार्गेनिग मैले गरेको हो? हामीजस्ताको राजनीतिक भविष्य खत्तम पार्ने काम मैले गरेको हो?

साथी हो। चुनाव फागुन २१ गतेसम्मलाई हो। हिजो हाम्रो सम्बन्ध जे थियो, त्यही हुनुपर्छ। यतिसम्म तल्लोस्तरमा नझरौँ कि भोलि आँखा जुधाएर कुरा पनि गर्न नसकियोस्। मैले गरेको एउटा निर्णयले रबीजी जस्ता नेताले थारूमाथि भएको विभेदबारे सार्वजनिक क्षमा याचना गर्नुभयो। रेशम-रन्जिताजीले हाम्रो भावनामाथि गरेको मजाकप्रति कहिले क्षमा याचना गर्ने? सबैको जय होस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *