पूर्वमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्वमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो स्थित आफ्नै निवासमा शनिबार विहान ११ बजे ८५ वर्षको उमेरमा उनको निधन भएको हो।

उनी पूर्व ऊर्जा तथा जलश्रोत सिंचाइ राज्यमन्त्री भएका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी सप्तरी निर्वाचन क्षेत्र ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट विजयी भएका थिए। उनले आफ्नै भाइ एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका थिए। चौधरीको श्रीमती, २ छोरा र १ छोरी छन्।
उनको आइतबार अन्त्यष्टि गरिने परिवारजनले बताएका छन्।

प्रधानपञ्चदेखि सांसदसम्म चन्द्रकान्तको यात्रा
देशमा भएका विभिन्न खालखण्डका राजनीतिक घटनाक्रमका साथी उनै चन्द्रकान्त चौधरी विं सं २००४ सालमा सप्तरीको पातो गाउँमा बुबा उमाकान्त चौधरी र आमा युदामणि चौधराइनको कोखबाट जन्मिएका थिए। राम्रो पारिवारिक वातावरणमा जन्मिएका उनको लालन पोषण पनि राम्रोसँग भयो। बुबा उमाकान्तलाई छोरा पढ्नुपर्छ भनेर राम्रो शिक्षा दिन चाहे। त्यसका लागि उनलाई छिमेकी देश भारत पढ्नकै लागि पठाए। चन्द्रकान्तले भारतबाट म्याट्रिक पास गरे। त्यतिबेला नेपालमा पञ्चायती व्यवस्था थियो। उनी नेपाल आएको केही समयमै सो क्षेत्रका प्रधानपञ्च भए।

प्रधानपञ्च भएपछि उनले समाज परिवर्त गर्ने उपायहरुबारे मनन गरे। शिक्षा नै त्यस्तो चिज हो जसले मानिसलाई ज्ञानगुनका कुरा मात्र सिकउँदैन, आत्सम्मान र व्यक्तिगत क्षमताको पनि विकास हुने भन्दै उनले गाउँमा स्कुल खोल्ने निर्णय गरे। त्यसका लागि चाहिने जमिन र पूर्वाधारहरुको खोजी पनि उनी आफैँले गरे। त्यसबेला उनले स्कुलका लागि ४७ विघा जमिन दान गरेको सम्झिन्छन्। ‘त्यतिबेला नेपाली जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर शिक्षामा लगानी गरेँ। ती दिन अहिले सम्झिँदा बडो खुसी लाग्छ,’ थारूवानसँग कुराकानीमा उनले भनेका थिए।

युवा उमेरमै प्रधानपञ्च भएका उनी लगातार ३० वर्ष नेतृत्व गरेका थिए। २०४६ सालको क्रान्तिपछि भने उनी नेपाली कांग्रेसमा आबद्ध भए। सामाजिक अभियन्ता र राजनेताको परिचयसमेत बनाएका उनलाई २०४९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट दिएको थियो। उक्त चुनावमा उनी पाता गाविस अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि पनि उनले जनताप्रतिको आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गरेका थिए। पार्टीभित्र पनि उनी जिल्ला कमिटी हुँदै केन्द्रीय नेतृत्वसम्मै पहुँच बनाएका थिए।

२०६२-६३ को जनआन्दोलनपछि धेरै नयाँ अनुहारहरू आए। लगत्तै भएको पहिलो संविधान सभा चुनावमा उनी तटस्थ बसे। एक दसकको विश्रामपछि उनमा पुनः चुनाव लड्ने इच्छा जागेर आयो। सरकार र जनताबीचको तिक्तताका कारण पनि उम्मेदवारी दिन उनलाई कर लाग्यो। २०७४ को स्थानीय चुनावका लागि उनले पार्टीमा लबिङ गरे, तर टिकट पाएनन्। उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए। पराजित भए पनि उनले उक्त चुनावमा सम्मानजनक मत ल्याएका थिए।

त्यही बेला चन्द्रकान्त मधेसी दलको नजरमा परेका थिए। उनलाई पार्टीभित्र भित्र्याउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम दुवैतर्फका नेताले तीव्र लबिङ गरेको उनले बताएका थिए। उनले अन्त्यमा भने राजपाबाट चुनाव लड्ने मनसाय बनाएका थिए। त्यसका लागि राजपाले पनि प्रतिनिधिसभाकै लागि उनलाई टिकट दियो। त्यतिबेला आफ्नै भाइको उम्मेदवारी पनि सो क्षेत्रबाट पर्‍यो। भाइ ताराकान्त चौधरी एमालेबाट उम्मेदवारी दिएका थिए। त्यतिका बावजुद पनि चन्द्रकान्तले हरेस खाएनन्।

जनताबीच आफ्नो असल म्यान्डेड बोकेर गए। नभन्दै उनी प्रतिनिधिसभा चुनावमा निर्वाचित पनि बने। ‘यो क्षेत्रमा मैले इमानको राजनीति गरेको छु। जसको परिणाम यहाँका स्थानीयले मलाई दिनुभएको छ। यहाँका जनताहरुको भरोसा मैले तोड्नु हुँदैन। यहाँका जनतालाई समृद्धिको बाटो डोर्‍याउने मेरो काँडमा आएको छ। जुन मैले सिरोपर ठानेर गर्नेछु,’ उनले भनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *