दुबईमा भब्य माघी कार्यक्रम

थारू भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले थारू कल्याणकारिणी सभा (थाकस) युएईले दुबईमा “थारू कला संस्कृतिः हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्दा हाम्रो अभियान” भन्ने मूल नारासहित माघी पर्व तथा थारू नयाँ वर्ष–२६४९ र द्वादश वार्षिक भेलाको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम ११ जनवरी २०२६ मा अष्टोरिया होटलको क्लब एभरेष्ट सभा हलमा विविध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न गरियो।

प्रवासमा रहेर पनि आफ्ना मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षझैं यस वर्ष पनि कार्यक्रम निरन्तरता दिइएको संयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्वको महत्त्व, सांस्कृतिक विशेषता र थारू समुदायको पहिचानबारे प्रकाश पार्दै अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए। कार्यक्रमको औपचारिक उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष तथा प्रमुख अतिथि भागरथी कुमार भगतसहित विशिष्ट अतिथि, अतिथि र बुद्धिजीवीहरूले दियो बालेर गरेका थिए।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले माघी पर्वको सांस्कृतिक महत्व, मौलिक भेषभूषा र परम्पराको संरक्षणका लागि प्रवासमै रहेर गरिएको प्रयासप्रति थाकस युएईको प्रशंसा गरेका थिए। प्रमुख अतिथि भगतले थारू भाषा, कला र संस्कृतिको जगेर्ना नगरे पहिचान गुम्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै संरक्षण र संवर्द्धनमा जोड दिएका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक खेम चौधरीसहित स्थानीय कलाकारहरू केशवराज महतो, कृष्ण गुंजन तथा श्याम सिटीको आकर्षक प्रस्तुति रहेको थियो। रामानन्द चौधरीको अध्यक्षता र नेफिन, युएईका अध्यक्ष भागरथी कुमार भगतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विभिन्न संघ-संगठनका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम केशवराज महतो र दिव्या चौधरीले संयुक्त रूपमा सञ्चालन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *