सर्लाहीमा नेता होइन, बेटा बन्न आएको हुँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएका छन्। सोमबार साँझ सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए।

यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उनले बताए। ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। मधेशले नेपाली कांग्रेसलाई लगाएको गुण, प्रजातन्त्रलाई लगाएको गुण र सिंगो नेपाललाई लगाएको गुणलाई राम्रोसँग जान्दछु,’ उनले भने, ‘मेरा बाआमा पहाडबाट काठमाडौं आएका हुन्। पहाडको बारेमा मलाई पहिलेदेखि नै थाहा छ। काठमाडौंमा जन्मेका हुर्केकाले मलाई काठमाडौंको सबै कुरा थाहा छ। तर, नेपाली कांग्रेसका नेता प्रदीप गिरिको संगतले मधेशको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो। जबसम्म मधेशमा आफूलाई समाहित गर्दिनँ, तब सम्म म पूर्णरूपमा नेपाली बन्न सक्दिनँ भनेर पनि मधेशबाट उम्मेदवारी दिएको हुँ।’

केही वर्ष पहिला हुलाकी सडक भएर मधेश आउँदा यहाँको साथीको संगत गरेको उनले बताए। ‘यहाँको प्रतिनिधित्व गर्छु भनेर आएको हुँ। विभिन्न आन्दोलनमा शहिद भएका मधेशले किन सम्मान पाएन त्यसको लागि पनि आफू मधेशबाट उम्मेदवारी दिएको हुँ,’ सभापति थापाले भने, ‘मधेश धेरै सम्भावना बोकेको ठाउँ हो। तर, यहाँका अधिकांश युवाहरू खाडीमा किन गएका होलान्, यसको उत्तर खोज्न आएको हुँ।’

उनले आफूले यो वा त्यो गर्छु भन्न नआएको बताए। ‘मसँग केही कार्यक्रम र योजनाहरू छन्। मेरो टिम यस क्षेत्रमा आएर काम गरिरहेको छ। यहाँ देखिएका समस्याहरू ५ वर्षभित्र समाधान गर्छौं,’ उनले भने। काठमाडौं ४ छोडेर आउँदा त्यस क्षेत्रका थुप्रै साथीहरूले छोडेर नजान आग्रह गरेको उनको भनाइ छ। ‘म त्यो साथीहरूप्रति ऋणी हुनेछु। ३-३ पटक साँसद बनाएका क्षेत्रका लागि मेरा घर सधैंभरिका लागि खुला राखेको छु,’ उनले भने।

उनले आफू जादुको छडीजस्तो यो गर्छु, त्यो गर्छु नभन्ने बताए। ‘मैले यहाँको विकास निर्माणको कामहरू गर्नुछ। शिक्षा, कृषि, स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ। यहाँको नौजवनाको जीवन निर्माणका लागि काम गर्नुछ। चुनाव जितेर गएपछि यहाँ स्थायी सांसदको कार्यालय राख्छु,’ उनले भने। निर्वाचन क्षेत्रमा आउँदै गर्दा साथीहरूले यहाँको भाषा दुई लाइन भए पनि सिकेर जान भनेको उनले बताए। ‘मैले भने म चटकेजस्तो काम गर्दिनँ। यहाँको भइसकेपछि यहाँको भाषा, संस्कृति, रहनसहन सबै सिकेर जान्छु। म यहाँ सिक्न आएको हुँ। एक लाइन सिकेर हात हल्लाएर जाने होइन। म यहाँको सबै कुरासँग भिजेर जान्छु। म यो क्षेत्रलाई देशको नमूना क्षेत्र बनाएर जान्छु। यो क्षेत्रलाई नमूना बनाएर गइनँ भने मेरो यो सबभन्दा ठूलो हार हुने छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *