को हुन् कांग्रेसकी समानुपातिक सांसदस प्रमिला गच्छदार?

पर्वत पोर्तेल/कान्तिपुर दैनिकबाट

राजनीति गर्न कि त विरासत चाहिन्छ, कि त धनबल । तर, कोशी प्रदेशको राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएकी डा. प्रमिला गच्छदार यो भाष्यलाई चुनौती दिने एक सशक्त पात्र हुन् । उनीसँग न विरासत थियो, न धनबल नै । थियो त मात्रै हुटहुटी ।

विराटनगर नजिकैको एउटा गाउँको सामान्य परिवारमा जन्मिएकी प्रमिला नीति निर्माणको सर्वोच्चथलो प्रतिनिधिसभासम्म पुग्नु जीवनको कुनै संयोग मात्र होइन, बरु दुई दशक लामो अथक संघर्ष र प्राज्ञिक साधनाको नतिजा हो ।

केही समय अघिसम्म उनी कोशी प्रदेश योजना आयोगकी सदस्य थिइन् । नेपाली कांग्रेसले समानुपातिक बन्द सूचीमा नाम समावेश गरेपछि राजीनामा दिइन् । प्रतिनिधिसभाको समानुपातिक सांसदमा निर्वाचित भएपछि प्रमिलाको परिचय थप फराकिलो बनेको छ ।

२०३२ मंसिर १३ मा सुनसरीको सानो गाउँ बर्जुमा प्रमिलाको जन्म हुँदा ग्रामीण भेगमा छोरीलाई स्कुल पठाउने चलन थिएन । त्यसमाथि आदिवासी थारु समुदायमा त छोरीलाई स्कुल पठाउनु ‘अपराध’झै मानिन्थ्यो । तर, प्रमिलाका लागि स्कुल पढ्ने कुरा जटिल थिएन । किनकि उनी शिक्षित परिवारकी छोरी थिइन् । बुवा दुखाराम गच्छदार विराटनगर-४ स्थित गोग्राह माविका प्रधानाध्यापक थिए । जसले घरमा शैक्षिक वातावरण थियो । उनले प्राथमिक शिक्षा गाउँकै विद्यालयबाट सुरु गरिन् । अक्षर चिन्ने बेलादेखि नै उनमा अध्ययनप्रति विशेष रुचि थियो ।

सुनसरीको बेलगाँछीस्थित एक आधारभूत विद्यालयवाट ५ कक्षासम्म पढेपछि उनी विराटनगरको गोग्राह मावि भर्ना भइन् । त्यहीँबाट एसएलसी उत्तीर्ण गरेपछि उनले विज्ञान विषय रोजिन् । विराट साइन्स क्याम्पसबाट आइएस्सी र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट बिएस्सी पूरा गरिन् । विज्ञान जस्तो कठिन विषयमा उनको दख्खल देखेपछि धेरैले प्राविधिक क्षेत्रमा जान सुझाए । तर, उनले चाहीँ अध्ययनलाई बहुआयामिक बनाउने निधो गरिन् ।

वनस्पति र समाजशास्त्र गरी दुई वटा फरक धारका विषयमा स्नातकोत्तर गरिन् । वनस्पति शास्त्रमा विराटनगरकै डिग्री कलेजबाट र समाजशास्त्रमा पाटन बहुमुखी क्याम्पसबाट डिग्री गरिन् । विज्ञानले उनलाई तथ्य र प्रमाणमा आधारित हुन सिकायो भने समाजशास्क्रले समाजको संरचना र मानिसका दुःख बुझ्न मद्दत मद्दत गर्यो । अध्ययनकै त्रममा उनले गत वर्ष त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा विद्यावारिधि गरिन्।

डा. प्रमिलाको राजनीतिक यात्रा चाहीँ २०६३ को मधेश आन्दोलनबाट थालनी भयो । मधेश आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै उनी खासगरी जातीय पहिचानको आन्दोलनमा संगठित बन्न थालिन् । नेता विजयकुमार गच्छदारसँगको पारिवारिक नाताले सुरुमा उनलाई तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा आबद्ध हुन प्रेरित गर्यो । पार्टीको केन्द्रीय सदस्य र भ्रातृ संगठन ‘युवा फोरम’ को उपाध्यक्षका रूपमा काम गर्दा गाउँ-गाउँ पुगेर कार्यकर्ता संगठित गर्न सिकिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *