चिनियाँ ठेकेदार कम्पनीमाथि अख्तियारले हाल्यो दोस्रो भ्रष्टाचार मुद्दा
चिनियाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पूर्ण रूपमा सञ्चालनमा नआउँदै निर्माणका क्रममा भएका भ्रष्टाचारका काण्डहरू आइरहेका छन् । यो विमानस्थल चिनियाँ ऋणमा चिनियाँ निर्माण कम्पनीले नै निर्माण गरेको हो ।
चिनियाँ एक्जिम बैंकको ऋणमा चिनियाँ कम्पनीले नै निर्माण गर्दा पनि व्यापक भ्रष्टाचार भएको यसअघि संसद्को सार्वजनिक लेखा समितिको अध्ययनले समेत देखाएको थियो । लेखा समितिको अध्ययनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणको अनुसन्धान गरी आइतबार चैत ८ गते दोस्रो मुद्दा विशेष अदालतमा दायर गरेको छ । यसअघि पनि गत मंसिर २१ गते चिनयाँ कम्पनीलाई समेत प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले तत्कालीन पर्यटनसचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र दुईवटा निर्माण कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले चिनियाँ निर्माण कम्पनी China CAMC Engineering Co., Ltd विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले China CAMC Engineering Co., Ltd ले नेपाली अधिकारीहरूसँगको मिलेमतोमा ठेक्का सम्झौताअनुसारको रकम खर्च नगरी सम्झौताभन्दा बाहिरको रकमबाट भुक्तानी लिई भ्रष्टाचार गरेको दाबी गरेको छ ।
China CAMC Engineering Co., Ltd का मुख्य भई काम गर्ने व्यक्तिहरू Chairman Mr.Wang Bo र Project Manager Mr.Yang Zhigang समेतको आपसी मिलेमतोमा Consultancy Service का लागि राखिएको Provisional Sum शीर्षकको रकम २८ लाख अमेरिकी डलरबाट नै उक्त Consultancy Service खरिद कार्य गर्नुपर्नेमा ठेक्का सम्झौताको सर्त बाहिरबाट अर्थात् नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै बजेटबाट भुक्तानी गर्नेगरी ४२,८९,३६,७०० रुपैयाँमा परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV सँग सम्झौता गरी उक्त कम्पनीलाई हालसम्म ४०,६८,२६,५६८ रुपैयाँ प्रचलित कानुन विपरीत भुक्तानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
Facebook Comment