सदनमा सुरेन्द्र चौधरीले भने- थारूहरू भिख माग्दैनन्, लाल आयोगको प्रतिवेदन खै?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेको माग राज्यले नसुन्दा २०७२ भदौ ७ गते ‘टीकापुर विद्रोह’ जस्तो घटना भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थारु समुदाय स्वभावतः कहिल्यै माग नगर्ने समुदाय भएको दाबी गरे। ‘झापादेखि कञ्चनपुरसम्म घुम्दा मैले एक जना थारु भिख माग्दै गरेको भेटिनँ, सायद तपाईंहरूले पनि देख्नुभएको छैन होला,’ उनले भने।
उनका अनुसार थारु समुदायले पहिलोपटक औपचारिक रूपमा माग गरेको दिन २०७२ भदौ ७ गते थियो, जसलाई अहिले ‘टीकापुर विद्रोह’ का रूपमा चिनिन्छ। ‘त्यो दिन उसले आफ्नो लागि होइन, देशको लागि माग्यो,’ चौधरीले भने।
नयाँ संविधान जारी हुँदै गर्दा देश निर्माणको प्रक्रियामा आफूहरूलाई पनि समेट्नुपर्ने माग थारु समुदायले राखेको उनको भनाइ थियो। ‘उसले भन्यो, ‘म पनि यो देशको नागरिक हुँ, देश निर्माणको बाटोमा हामी पनि हिँड्न पाउँ,’ तर राज्यले उसको माग सुनेन,’ उनले बताए।
सांसद चौधरीले राज्यले सबै समुदायका आवाज समेट्न नसक्दा विगतमा द्वन्द्व र असन्तुष्टि पैदा भएको उल्लेख गर्दै अब त्यस्ता गल्ती नदोहोर्याउन सरकारलाई सचेत गराए।
Facebook Comment