इरानी आक्रमणमा परी युएईमा एक नेपालीसहित तीनको मृत्यु

इरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको​ छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै इमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, इरिट्रियन, लेबनानी र अफगान नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्।

मन्त्रालयले हवाई प्रतिरक्षा प्रणालीमार्फत ब्यालिस्टिक मिसाइल र ड्रोन अवरोध गर्ने क्रममा केही अवशेष देशका विभिन्न भागमा खसेका कारण सर्वसाधारणका सम्पत्तिमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको जनाएको छ। मन्त्रालयले सशस्त्र बल कुनै पनि खतरा सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको दोहोर्‍याउँदै नागरिक, बसोबास गर्ने विदेशी र आगन्तुकको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ।

मध्यपूर्वी क्षेत्रमा फसेका नेपालीहरूका विषयमा सरकारले गर्‍यो यस्तो निर्णय

सरकारले मध्यपूर्वमा देशका विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फकेका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रबन्ध गरिएको बताए।

बैठकमा मध्यपूर्वमा उत्पन्न तनावपछि नेपाललाई परेको प्रभाव, नेपालले दिने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असरका साथै समाधानबारे छलफल भएको मन्त्री शर्माले बताए। उनले नेपालबाट मध्यपूर्वमा जान लागेका श्रमिकहरूलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको समस्या श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समाधान गरिसकेको उल्लेख गरे।

त्यस्तै सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका कामदार र यात्रुहरूलाई परेको समस्या समाधानका लागि सम्बन्धित देशका राजदूतसँग समन्वय भइसकेको उनले बताए। ट्रान्जिटमा हेकाहरूलाई गन्तव्यसम्म पुर्‍याउने अथवा जान नसक्नेहरूलाई सम्बन्धित व्यवसायी कम्पनी वा एयरलाइन्सहरूले रेखदेख गर्ने गरी समन्वय भइरहेको मन्त्री शर्माले जानकारी दिए।

उनले मध्यपूर्वमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षाको बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको र सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको समेत बताए।

प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरेपनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताए।

आफूले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यसपटक चुनावमा हुन नपाएको उनको भनाइ छ। त्यस्तै सभापति थापाले अहिलेको चुनाव विशेष परिस्थितिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गरे।

जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए। सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने धारणा राखे।

अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफूले अस्वाभाविक नमान्ने भन्दै उनले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताए।

घृणाको भाषा बोल्नेहरूले सामाजिक सञ्जालमा कोलाहल मच्चाएका छन् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा कोलाहल मच्चाउनेहरुले घृणाको भाषा बोल्ने गरेको बताएका छन्। काठमाडौं-१० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले त्यसलाई आफूले अस्वाभाविक नमानेको प्रस्ट पारे।

‘बाहिर ठूलो कोलाहल छ। सामाजिक सञ्जालको हल्लालाई मैले अस्वाभाविक मान्दिनँ। संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ?, जसले घृणाको भाषा बोल्छ। यहाँ उभिएर एक लाइन गाली गरे भने बेलुका म भाइरल हुन्छु,’ उनले भने।

उनले घृणाको भाषा बोलेर देश नचल्ने बताए। ‘देश बिकाउने कुराले मात्र चल्दैन। देश यस्तै नबिक्ने कुराले चल्छ। धेरै बिकाउने कुराले कहीँ पुग्दैन,’ उनले भने। सभापति थापाले त्यसका लागि कांग्रेस नेता-कार्यकर्ताहरू जनताका घर घर पुगेर युवाहरूलाई बुझाउनुपर्ने बताए।

रञ्जिता श्रेष्ठलाई थुनामै राख्नुपर्ने माग राखी अख्तियार गयो सर्वोच्च

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ।

अख्तियारले रञ्जितालाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गरेको हो। विशेष अदालतले त्रुटिपूर्ण रूपमा आदेश जारी गरी श्रेष्ठलाई धरौटीमा छाडेको भन्दै अख्तियारले उनलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गरेको हो।

आसन्न निर्वाचनमा गगन थापा नेतृत्वको कांग्रेसतर्फ युवाहरूको आकर्षण

नेपालमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले राष्ट्रिय राजनीति नयाँ मोडतर्फ उन्मुख हुने संकेत दिएको छ। यसपटकको चुनावी परिदृश्यमा विशेष चर्चा कमाएको विषय हो, नेपाली कांग्रेसप्रति युवापुस्ताको बढ्दो आकर्षण। पार्टी सभापति गगनकुमार थापाले “बदलिएको कांग्रेस, नयाँ एजेन्डा” को नारासहित चुनावी मैदानमा उत्रिएपछि युवा मतदातामा आशा र अपेक्षा दुवै बढेको देखिन्छ।

लामो इतिहास बोकेको कांग्रेसले विगतमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरे पनि पछिल्ला वर्षहरूमा सुस्त संगठन, आन्तरिक गुटबन्दी र नीति-कार्यान्वयनको कमजोर तालमेलका कारण आलोचना खेप्दै आएको थियो। तर, सभापति थापाले पार्टी संरचनामा पारदर्शिता, आन्तरिक लोकतन्त्र र कार्यसम्पादन-आधारित जिम्मेवारी प्रणाली लागू गर्ने प्रतिबद्धता जनाउँदै संगठनलाई गतिशील बनाउने संकेत दिएका छन्।

जिल्लादेखि केन्द्रसम्म युवालाई नेतृत्वको अवसर, डिजिटल सदस्यता प्रणाली, नीति बहसका खुला मञ्च र तथ्यमा आधारित घोषणापत्र तयार गर्ने अभ्यासले पार्टीभित्र नयाँ ऊर्जा थपिएको कार्यकर्ताहरू बताउँछन्। यस निर्वाचनमा कांग्रेसले युवालाई लक्षित गरी केही स्पष्ट प्राथमिकता अघि सारेको छ: रोजगार र उद्यमशीलता: स्टार्टअप कोष, सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र प्रविधिमैत्री उद्योग विस्तार। शिक्षा सुधार: सार्वजनिक शिक्षाको गुणस्तर उकास्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउने। डिजिटल शासन: सरकारी सेवा अनलाइनमा, भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल ट्र्याकिङ प्रणाली। स्वास्थ्य र सामाजिक सुरक्षा: स्थानीय तहसम्म गुणस्तरीय स्वास्थ्य सेवा र बेरोजगार युवाका लागि संक्रमणकालीन सहयोग कार्यक्रम। यी विषयहरू केवल नारामा सीमित नभई कार्ययोजनासहित प्रस्तुत गरिएकाले युवामाझ विश्वसनीयता बढेको विश्लेषकहरू बताउँछन्।

सभापति थापाले आफ्नो अभियानमा बारम्बार “पुरानो विरासत, नयाँ दृष्टि” को अवधारणा दोहोर्याउँदै आएका छन्। लोकतन्त्र, मानवअधिकार र बहुदलीय व्यवस्थाप्रति पार्टीको ऐतिहासिक प्रतिबद्धतालाई आधार बनाउँदै समसामयिक चुनौती, रोजगारी, प्रवास, जलवायु परिवर्तन, सुशासन, समाधान गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गर्ने प्रयास गरिएको छ।

युवाहरूको आकर्षणको अर्को कारण पार्टीभित्र देखिएको पुस्तान्तरणको संकेत पनि हो। निर्णय प्रक्रियामा युवा सहभागिता, नीति निर्माणमा विज्ञताको प्रयोग र परिणाम–मुखी राजनीति गर्ने प्रतिबद्धताले नयाँ मतदातालाई तानिरहेको देखिन्छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र होइन, यो दलहरूको दृष्टि, विश्वसनीयता र कार्यसम्पादन क्षमताको परीक्षण पनि हो। कांग्रेसले नयाँ नेतृत्व र एजेन्डासहित युवालाई केन्द्रमा राखेर अघि बढ्ने प्रयास गरेको छ।

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।

उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता–कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’

सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पुर्‍याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस् । यो क्षेत्रका उम्मेदवारका लागि आफूले मेहनत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिन–रात मेहनत गरेका छन् । उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई रूखलाई भोट दिनुहोस् देश हामी बनाउँछौँ ।’

सभापति थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरे । उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् । सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ–केही दिन मात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’

सभापति कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’

थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे । ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस् भन्नुस् यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ’ ।

कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे । ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।’

सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् । ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’

सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । ‘संसारभर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा तागत बनाउनुपर्ने छ,’ उनले भने ।

सभापति थापाले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताए । ‘मेरो सबैलाई आग्रह छ । नेपाली कांग्रेसको तलबाट काम गर्दै गर्दै यो ठाउँसम्म हामी आइपुगेका छौँ,’ उनले भने, ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौँ भनेर माटोमा खुट्टा जमाएर बसेका हौं ।’

उनले अब गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा हुन नसक्ने बताएका छन् । उनले भने, ‘खेतबारी बाँझिएका छन् भने घर रित्तिएका छन् । यो ठाउँ बौद्धिक, व्यापारिक व्यक्ति उत्पादन गर्ने ठाउँ हो । यही ठाउँको व्यक्ति के भन्छन् । ७५ प्रतिशत व्यक्ति विश्वविद्यालय पढ्न गएका छैनन् ।’

पाकिस्तानमा चिनियाँ परियोजनामाथि बढ्दो सुरक्षा खतरा

उइघुर समुदायले चीनको सिन्जियाङ क्षेत्रमा आफूहरूमाथि भइरहेको दमनविरुद्ध प्रतिकार सुरु गरेका छन्। उइघुर लडाकुहरू Islamic State of Iraq and Syria (आइएसआईएस) मा सामेल हुन थालेका छन्, जसले चीन तथा मध्य एसियामा उसका हितहरूका लागि सुरक्षा चुनौती खडा गरेको छ। आइएसआईएसको एक शाखा ISIS-Khorasan (आइएसआईएस–खोरासान) ले चीन–पाकिस्तान आर्थिक करिडोरअन्तर्गतका परियोजनालाई लक्षित गर्न पाकिस्तानलाई आफ्नो कार्यक्षेत्र बनाएको छ। आक्रोशित बेइजिङले इस्लामाबादसँग चिनियाँ नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न कदम चाल्न आग्रह गरेको छ, जसले पाकिस्तान–चीनबीचको भनिने “आइरनक्ल्याड मित्रता”मा तनाव उत्पन्न गरेको छ।

तिब्बतीहरूसँगै उइघुर मुस्लिमहरू चीनको नियन्त्रणमा रहेका सबैभन्दा उत्पीडित अल्पसंख्यक समुदायमध्ये एक मानिन्छन्। टर्किक मूलका उइघुरहरूले चिनियाँ सरकारबाट मानवअधिकार उल्लङ्घन, जबर्जस्ती श्रम, धार्मिक दमन, परिवारबाट अलगाव, व्यापक निगरानी तथा जनसंख्या घटाउने उद्देश्यले महिलामाथि जबर्जस्ती नसबन्दी जस्ता कार्यहरू भोगिरहेका छन्। करिब दस लाख उइघुरलाई नाजी युगका कन्सन्ट्रेसन क्याम्पजस्तै जबर्जस्ती श्रम शिविरमा राखिएको बताइन्छ। संयुक्त राष्ट्रसंघले चिनियाँ कम्युनिस्ट पार्टीले उइघुर समुदायप्रति अपनाएको व्यवहारलाई “मानवताविरुद्धको अपराध” भनेको छ।

गत वर्ष जुलाई १२ मा आइएसआईएस समर्थक एक सञ्चारमाध्यमले पोस्टर सार्वजनिक गर्दै चीनले उइघुर मुस्लिमहरूलाई दमन गरिरहेको आरोप लगाएको थियो। चीनसँग सम्बन्ध कायम राख्ने मुस्लिम सरकारहरूलाई पनि उसले आलोचना गरेको थियो। उक्त सन्देशमा आइएसआईएस लडाकुहरूलाई “उइघुरहरूको एकमात्र आशा” भन्दै चीनको “तानाशाही साम्राज्य” ध्वस्त पार्ने धम्की दिइएको थियो। सन् १९४९ मा सत्ता सम्हालेदेखि चिनियाँ कम्युनिस्ट पार्टीले उइघुरविरुद्ध कठोर दमन गरेको आरोप लगाइएको छ, साथै “धर्मत्यागी पाकिस्तान”ले चीनसँगको मित्रता अझ गहिरो बनाएको पनि भनिएको छ।

आइएसआईएसले उइघुर जिहादीहरू भर्ती गर्ने प्रयास तीव्र बनाउँदै Turkestan Islamic Party (पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन) सँग गठबन्धन विस्तार गरिरहेको संकेत देखिएको छ। आइएसआईएस–केले तुर्किस्तान इस्लामिक पार्टीका लडाकुहरूलाई आर्थिक प्रलोभन दिँदै भर्ती गर्ने, चिनियाँ लक्ष्यहरूमा आक्रमण गर्न उक्साउने तथा उइघुर भाषामा प्रचार बढाउने काम गरिरहेको छ। मार्च २०२४ मा आइएसआईएस प्रवक्ता अबु हुजैफा अल–अन्सारीले चीनबाट पीडित उइघुरहरूका लागि आइएसआईएसको झण्डामुनि जिहाद नै एकमात्र समाधान भएको दाबी गरेका थिए।

Baloch Liberation Army (बलोच लिबरेशन आर्मी) इस्लामवादी नभई जातीय अलगाववादी संगठन हो, जसले केही वर्षयता पाकिस्तानमा चिनियाँ लक्ष्यहरूमा आक्रमण गर्दै आएको छ। उनीहरू चीन–पाकिस्तान आर्थिक करिडोरलाई चिनियाँ शोषणको औजार ठान्छन्। तर सन् २०२४ पछि आइएसआईएस–केको पाकिस्तानमा सक्रियता बढेपछि अवस्था इस्लामाबादको नियन्त्रण बाहिर जान थालेको विश्लेषण छ। सन् २०२५ यता आइएसआईएस–केको भौगोलिक र सञ्चालन दुवै क्षेत्रमा विस्तार भएको छ—दूरदराज सीमा क्षेत्रदेखि सहरी केन्द्र र पूर्वाधारसम्म आक्रमण, भर्ती र सञ्जाल विस्तार देखिएको छ। खैबर पख्तूनख्वा र बलुचिस्तान—जहाँबाट सीपीईसी गुज्रिन्छ—त्यहाँ थुप्रै आक्रमणको जिम्मेवारी आइएसआईएस–केले लिएको छ। पेशावर र क्वेट्टामा भर्ती तथा रसद केन्द्रका रूपमा काम गर्ने सेलहरू पनि फेला परेका छन्।

उइघुरमाथिको दमन र क्षेत्रीय आर्थिक प्रभाव विस्तारलाई कारण देखाउँदै आइएसआईएस–केले चीन र उसका नागरिकलाई लक्षित गरिरहेको छ। दक्षिण तथा मध्य एसियाभर जिहादी र स्थानीय सशस्त्र समूहमार्फत चिनियाँ स्वार्थविरुद्ध आक्रमण प्रेरित गर्ने प्रयास भइरहेको बताइन्छ। Tehrik-e-Taliban Pakistan का पूर्व सदस्यहरू समेत आइएसआईएस–केमा आबद्ध भएका छन्।

अफगानिस्तानमा पनि चिनियाँ लक्ष्यहरूमा आक्रमण भएका छन्। डिसेम्बर २०२२ मा Islamic State Khorasan Province ले काबुलस्थित चिनियाँहरू बस्ने होटलमा आक्रमण गरेको दाबी गरेको थियो, जसमा तीन जनाको मृत्यु र २१ जना घाइते भएका थिए। जनवरीमा काबुलको एक चिनियाँ रेस्टुरेन्टमा भएको विस्फोटमा सात जनाको मृत्यु भयो, जसमध्ये एक चिनियाँ र छ अफगान थिए। जनवरी २०२५ मा अफगानिस्तानको ताखार प्रान्तमा एक चिनियाँ व्यवसायी मारिएका थिए।

सन् २०१७ देखि बलोच लिबरेशन आर्मीले चिनियाँ हितलाई लक्षित गर्दै आएको भए पनि आइएसआईएस–केको प्रवेशपछि चिनियाँ नागरिकमाथिको आक्रमण अन्तर्राष्ट्रिय जिहादी आख्यानको हिस्सा बनेको छ। मार्च २०२४ मा शाङ्लामा दासु जलविद्युत् परियोजनामा कार्यरत पाँच चिनियाँ इन्जिनियर मारिने गरी भएको बम विस्फोट तथा २०२४ मै कराँची विमानस्थल नजिक चिनियाँ कामदार चढेको सवारीमा भएको आक्रमणमा टीटीपी संलग्न रहेको बताइन्छ।

कराँची विमानस्थलमा अक्टोबर २०२४ मा भएको कार बम आक्रमणपछि बेइजिङले इस्लामाबादमाथि सुरक्षा कडाइ गर्न दबाब बढाएको छ। चीनले पाकिस्तानमा कार्यरत हजारौँ चिनियाँ नागरिकको सुरक्षाका लागि आफ्नै सुरक्षा संयन्त्र तैनाथ गर्न प्रस्ताव गरेको छ। तर पाकिस्तानले सार्वभौमसत्तामा असर पर्ने भन्दै सो प्रस्ताव अस्वीकार गरेको छ। ७ जनवरी २०२६ मा बेइजिङमा चीनका सार्वजनिक सुरक्षा मन्त्री वाङ सियाओहोङसँग भेटपछि पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले चिनियाँ नागरिक सुरक्षाका लागि विशेष सुरक्षा एकाइ गठन गरिने घोषणा गरेका छन्।

चीनले गिलगित–बाल्टिस्तानमा पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै त्यहाँका प्रहरी अधिकृतलाई सिन्जियाङ पुलिस एकेडेमीमा तालिम दिन चाहेको बताइएको छ। पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले “छ महिनामै दुईपटक आक्रमण हुनु अस्वीकार्य” रहेको बताएका थिए।

यद्यपि पाकिस्तानको विदेश मन्त्रालयले ग्वादर बन्दरगाहमा सैन्य आधार स्थापना गर्न चीनले आग्रह गरेको भन्ने समाचार अस्वीकार गरेको छ।

यसरी पाकिस्तान–चीनबीचको ‘आइरनक्ल्याड मित्रता’ सुरक्षागत चुनौतीका कारण परीक्षणको घडीमा पुगेको देखिन्छ।

थारूलाई दासमात्र बनाउने राजनीतिक प्रवृत्तिविरुद्ध मैले उम्मेदवारी दिएको हो : धर्मबहादुर चौधरी

तपाईंको उम्मेदवारी केका लागि?
अवस्था परिवर्तनका लागि। गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले विद्रोह गर्‍यो। त्यही विद्रोहपछि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन लागेको छ। अवस्था परिवर्तनका लागि जुन आन्दोलन भयो। त्यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ। त्यो आन्दोलनलाई साकार गर्न, देशमा सुशासन र भ्रष्टाचार अन्त्यको अभियानमा सारथि हुन म चुनावी मैदानमा होमिएको हुँ।

मतदातासँग के भनेर मत मागिरहनुभएको छ?
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबलीकरण र सुदृढीकरण गर्न आवश्यक छ। अहिले देश विषम परिस्थितिमा छ। यस्तो समयमा व्यवस्था बलियो बनाउनुपर्छ भन्ने मान्यतामा म छु। अहिलेको अवस्था परिवर्तन हुन आवश्यक छ। त्यसका लागि पनि मैले मत मागिरहेको छु। यसअघि प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइरहँदा पनि मैले धेरै काम गर्ने प्रयास गरेको थिएँ।

अहिले देश संकटमा परेको बेला योगदान गर्नुपर्छ भनेर चुनावमा होमिएको छु। बर्दिया मात्र होइन समग्र देशकै विकास निर्माण र नीति नियम फेरबदल गर्नका लागि पनि भूमिका खेल्छु भनेर मत मागिरहेको छु।

चुनावी अजेन्डा के अघि सार्नुभएको छ?
निर्वाचित भइसकेपछि संघमा मेरो सकारात्मक भूमिका रहन्छ। बर्दिया कृषिमा मात्रै निर्भर छ। चारैतिर नदीनाला छन्। बर्सेनि बाढी पहिरोको समस्या छ। तटबन्धको समस्या छ। यहाँ जंगली जनावरले आक्रमण गर्ने समस्या छ। यी समस्या समाधानका विषय संघीय सरकारको नीतिसँग जोडिएका छन्। संसद्‌मा गएर यो नीति परिमार्जन र संशोधन गरेर समस्या समाधान गर्नुपर्नेछ। नीति र कानूनमा समस्या छ। वन ऐन संशोधन गर्नु छ। त्यो अहिलेसम्म कसैले गर्न सकेन। अब मेरो मुख्य अजेन्डा नै यही रहन्छ।

तपाईंले उठाएका समस्या अहिलेसम्म किन सम्बोधन हुन सकेन?
म प्रदेश सांसद मात्रै थिएँ। यी समस्या भनेको संघबाट हुनुपर्ने हो। संघीय संसद्‌बाट कानून संशोधन नगरेसम्म यहाँका समस्या समाधान हुने अवस्था छैन। प्रदेशलाई त अहिले अधिकार दिएको छैन। समस्या संघीय संसद्‌सँग जोडिएका छन्। त्यहाँबाट परिमार्जन गर्नुपर्ने कानून धेरै छन्। अहिलेसम्म कसैले गरेन। मैले यी नै विषयलाई अघि सारेको छु। संघीय सांसद्ले नै नीति निर्माण गर्ने हो त्यसका लागि सदनमा जोडदार आवाज उठाउने हो। यहाँ मलखादको समस्या बर्षौंदेखि त्यस्तै छ। राज्यले समानुपातिक हिसाबले मल वितरण गर्न सकेको छैन।

जेन–जी आन्दोलनपछि विषम परिस्थितिमा हुन लागेको चुनावलाई कसरी हेर्नुभएको छ?
हरेक आन्दोलनलाई आत्मसाथ गर्नुपर्छ। जेन–जी विद्रोहलाई पनि हामीले त्यसैअनुसार स्वीकार गरेर जानुपर्छ। भ्रष्टाचार हुने देशमा नेपाल अघि आइरहेका बेला यो आन्दोलन भयो। यसको भावनालाई बुझेर अब काम गर्नुपर्ने जरुरी छ। अबको चुनावबाट राम्रो नेतृत्व छनोट गरेर मुलुकको संवृद्धि र विकासमा केन्द्रित हुनुपर्छ।

आफ्नो प्रतिस्पर्धीलाई कतिको बलियो देख्नुभएको छ?
चुनावी मैदानमा होमिएका सबै प्रतिस्पर्धी बलियो नै छन्। सबैलाई शुभकामना दिन चाहन्छु। मैले ठूलो मतान्तरले चुनाव जित्नेमा निश्चित छु। यसअघि नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य लड्दा पनि ठूलो मतान्तरले जितेको थिएँ। जनताले मलाई विश्वास गरेका छन्। त्यसैले सबै उम्मेदवारलाई शुभकामना दिँदै चुनाव मैले जित्छु भन्नेमा ढुक्क छु।

हिजो राजनीतिक पार्टी छिन्न भिन्न भयो। अहिले नयाँ पार्टीबाट चुनाव लडिरहनुभएको छ, सहज हुन्छ त?
मैलै प्रदेश सांसद र मन्त्री भएर जुन योजनाअनुसार काम गरेको छु, त्यो नै मेरो जितको आधार हो। म अहिलेसम्म कुनै पनि दाग नलागेको व्यक्ति हुँ। संघीयताको सबलीकरण गर्नु छ। थारू समुदायले अहिले पहिचान खोजेको छ। यो क्षेत्र थारू समुदायको बाहुल्य भएको क्षेत्र हो। अहिलेका अन्य उम्मेदवारभन्दा कुनै पनि हिसाबले म कमजोर छैन। यहाँका सबै समुदायले मैले के गर्न सक्छु भन्ने राम्रोसँग बुझेका छन्।

थारू समुदायका मुद्दा त ओझेलमा परे नि हैन?
म अर्को पार्टीबाट चुनावमा होमिए पनि हाम्रा कुनै पनि मुद्दा ओझेलमा पर्दैनन्। म पार्टीमा पनि कार्यकारी भूमिकामा छु। थारू समुदायलाई सबै पार्टीले प्रयोग गर्ने राजनीति दास मात्र बनाउने प्रवृत्ति भयो। तर, उज्यालो नेपाल पार्टीले जुन भूमिका दिएर उम्मेदवार बनाएको छ। त्यसले थप थारू समुदायका मुद्दालाई बलियो बनाउन भूमिका खेल्ने छ। म अहिले जोडिएको पार्टीले पनि थारूका मुद्दालाई अग्रस्थानमा राख्छ।

थारू समुदायका नेता छिन्नभिन्न हुने अवस्था किन आयो?
थारू समुदाय आफै पनि राजनीतिक चेतना कम भएको समुदाय हो। राज्यमा सबैभन्दा बढी भूमिका खेलेको तर, राज्यका नीति नियम र सबै तहमा उपेक्षित गरेका कारण पनि हो। सधैँ भोट बैंकका रूपमा मात्रै प्रयोग गर्ने काम भयो। विगतमा थारू समुदायका नेता एकै ठाउँमा आएर पार्टी गठन भयो तर, त्यो जोगिन सकेन। अहिले थारू समुदायका विभिन्न नेता अलगअलग पार्टीमा जोडिएका छन्। कोही उम्मेदवारीका लागि गए होलान् कोही केही आशा राखेर गएका होलान्। तर, म थारू समुदायका मुद्दा ओझेलमा पार्नु हुन्न भनेर अघि बढेको हुँ। मैले पार्टी नरोजेर जनता रोजे। जेन–जी आन्दोलन भइसकेपछि गठन भएको पार्टी रोजेँ। पहिले नै मैले पार्टी छोडेर अन्त गएको होइन। जो जहाँ भए पनि थारू समुदायको मुद्दालाई आत्मसाथ गरेर जान सक्नुपर्छ।

उज्यालो नेपाल पार्टीले थारू समुदायको मुद्दालाई अघि बढाउन सक्छ त?
नेपाली जनताले विश्वास गर्नुपर्छ। जनताले अहिले भरपर्दो नेतृत्व चाहिरहेका छन्। चुनावी मैदानमा विभिन्न पार्टी छन्। तीनका अजेन्डा पनि फरकफरक होलान्। तर, हाम्रो पार्टीको नेतृत्व कर्मचारीतन्त्र र तीन महिना मन्त्री चलाउँदा पनि सफल भएको व्यक्ति हो। जलस्रोतको धनी देश नेपालमा यसको उचित प्रयोग गरेर अघि बढाउन सक्ने नेतृत्व भनेकै हाम्रो पार्टीको अध्यक्ष कुलमान घिसिङ हो। उहाँसँग निश्चित योजना र भिजन छ। त्यो भिजनले थारू समुदायको मात्र होइन समग्र देशको नै विकास गर्न सक्ने भएकाले हामी नयाँ योजना स्थापित गर्न सक्छौँ।

उकालोबाट साभार

रास्वपाका जिल्ला सभापति कांग्रेसमा प्रवेश, रवि लामिछानेले पैसा लिएर टिकट वितरण गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरणमा अपारदर्शी र आर्थिक चलखेलका कारण पार्टी छाड्नु परेको आरोप लगाएका छन्।

पार्टी परित्याग गरेका ठकुरीले नेपाली कांग्रेसमा प्रवेश गर्दै उक्त आरोप लगाएका हुन्। नेपाली कांग्रेस नवलपरासीले बिहीबा क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का उम्मेद्वार विनोदकुमार चौधरीले पार्टी प्रवेश गराएका हुन्।

चुनावी सभामा बोल्दै ठकुरीले जिल्लामा आफूहरूले मेहनत पूर्वक गरेको संगठनलाई भताभुङ्ग पार्ने गरी अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर कार्यकर्ताको मानमर्दन गरेको बताए। रास्वपाले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएकालाई उम्मेद्वार बनाएपछि रास्वपामा असन्तुष्टि छ।

‘दुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो। यसले सबै साथीको मानमर्दन भएको महशुस गरी पार्टी छाड्ने कठोर निर्णय गरेको हुँ,’ ठकुरीले भने।

आफूलाई टिकट दिने भनेर अन्तिम समयको राति ११ बजेसम्म कुराएर आर्थिक चलखेल गरी अपारदर्शी रूपमा अरूलाई टिकट दिएको उनको आरोप थियो। ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति थिए। २०७९ को निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ मा उनी चुनाव लडेका थिए। नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीसँग प्रतिस्पर्धामा रहेका ठकुरीले १२ हजार ४९९ मत ल्याएका थिए।