१८ वर्षीय अमरमणि चौधरी मृत अवस्थामा फेला

रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका-५, गुरवनीयाँ स्थायी घर भएका १८ वर्षीय अमरमणि चौधरी मृत अवस्थामा फेला परेका छन्। सरस्वती निकेतन माध्यमिक विद्यालयमा कक्षा १२ (इन्जिनियरिङ संकाय) मा अध्ययनरत चौधरी २०८२ साल पुस ९ गतेदेखि बेपत्ता रहेका थिए। उनी बुबा वैसमुनी थारुका एक्ला छोरा हुन्। हाल उनी काठमाडौंको कुलेश्वर क्षेत्रमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार चौधरीले दक्षिणकाली नगरपालिका वडा नं. ७ स्थित भाइरल पुलबाट हाम्फालेको आशंका गरिएको छ। २०८२ पुस २३ गते स्थानीयवासी तथा इलाका प्रहरीको सहयोगमा उनको शव फेला परेको हो।

शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

रेशम-रन्जिताजीले हाम्रो भावनामाथि गरेको मजाकप्रति कहिले क्षमा याचना गर्ने?

ठाकुर सिंह थारू
यहाँहरूको स्नेह, माया, सद्भाव र आलोचनाप्रति सधैँ अभारी छु। रहिरहने छु। कतिपय साथीहरूको कडा आलोचना र गालीगलौजलाई मार्गदर्शन मानेको छु। मेरो कसैप्रति व्यक्तिगत आग्रह पूर्वाग्रह, रिसराग केही छैन। जीवनको रेसमा कहिलेकसो नसोंचेको ठेस लाग्छ। परिस्थितिले कठोर निर्णय गर्न बाध्य बनाउँछ।

पछिल्लो समयको परिस्थितिले म फरक बाटो हिँड्न बाध्य भएको छु। हिँडन बाध्य गराइएको छ। मेरो निर्णयले कसैको विश्वासमाथि चोट परेको छ भने सार्वजनिक रूपमा माफी माग्न तयार छु। मैले यी कुरा सामाजिक सञ्जालमा नलेखे पनि हुन्थ्यो होला। तर, फेसबुकमा मेरो बारेमा आएका टिप्पणीले लेख्न बाध्य भएको छु। मेरो बानी धेरै साथीहरूलाई जानकारी नै छ। निर्णय लिुनभन्दा १० पटक विश्लेषण गर्नु मेरो बानी छ। तथ्य हेरेर गरेको निर्णय गलत हुँदैन भन्ने मलाई विश्वास छ। पछिल्लो पटक लिएको निर्णयका तथ्यगत आधार यस्तो छ। मेरो तथ्यगत निर्णय पढेपछि यहाँको गालीगलौज मेरो लागि रिरोपण गर्नेछु।

१) म पहिचानको पक्षधर व्यक्ति हो। त्यसैले जीवनभर कमाएका व्यक्तिगत पद प्रतिष्ठा छाडेर रेशम चौधरीमाथि भएको अन्यायविरुद्ध नागरिक उन्मुक्ति पार्टीमा गोलबद्ध भएँ। चुनाव लडे। यहाँहरूको विश्वासले सम्मानजनक स्थान पाएँ। निर्वाचन भएको केही समयपछि टीकापुरमा पुस २६,२७ र २८ गते महाधिवेशन भयो। त्यही अधिवेशनबाट अध्यक्ष रन्जिता र जन्मदाता रेशमजी बीच फाटो सुरु भयो। रेशमजी पार्टी अध्यक्ष भइरहँदा रन्जिताजी काठमाडौं फर्किनुभयो। श्रीमान श्रीमतीबीचको विवाद पार्टीभित्र नपरौँ भन्ने उद्देश्यले दुई जनालाई मिलाउन लाख प्रयास गरें। तर, सकिनँ। हार खाएँ। उल्टै मलाई रेशमको हनुमान भनेर टीका लगाइदिए।

२) विवाद मिलाउने मेरो प्रयास असफल भएपछि म रेशमजीको पक्षमा दरो रूपमा उभिएँ। निर्वाचन आयोगले रेशमजीलाई अध्यक्षका रूपमा स्वीकार नगरेपछि सर्वोच्च अदालतमा रिट दर्ता गर्न काठमाडौं पुगियो। सर्वोच्चको मुद्दाका निवेदकहरूलाई फिर्ता गर्न लगाएपछि त्यहाँबाट पार लागेन। तर, पनि म रेशमजीको पक्षमा उभिरहें। मैले संस्थापकहरू मध्येलाई अध्यक्ष मनेर जाउँभन्दा पनि सफल भइनँ। कहिले लालबीर बुबा, कहिले कसलाई अध्यक्ष बनायौँ, रेशमजीकै इसारामा। गलत हो जान्दाजान्दै पनि साथ दिइरहे। मेरो स्वार्थ एउटै थियो, पार्टी जोगियोस्।

३) ढकिया हुँदाहुँदै रेशमजीले चकिया खोल्ने निर्णय गरेपछि म कडा प्रतिवादमा उत्रिए। पार्टी नखोल्नुस् ढकियालाई जोगाउन लाग्नुस्। भाउजुलाई सम्झाउनुस् भनेर लागे। सकिनँ। ढकियाको पक्षमा उभिरहे। तर, असफल रहेँ। ढकिया हुँदासम्म कुनै पार्टीमा नजाने निर्णय लिई अडानमा रहिरहेँ। चकियामा आउनुस् भनेर साथीहरू बोलाउँदा पनि अटेर गरिरहेँ। म गलत वा सही के थिएँ। त्यो समयले बताउँला।

४) ढकिया पक्रेर बसिरहँदा एकाएक रन्जिताजीले नेपाली कम्युष्टि पार्टीमा विलिन गुर्नभयो। मलाई ठूलो झट्का लाग्यो नै। म सोँच्नसम्म सकिनँ। मलाई लागेको थियो, मेरो प्रेसरले रन्जिताजीले ढकियालाई चकियामा समाहित गर्नुहोला भन्ने लागेको थियो।तर, त्यो विश्वास पनि गुम्यो। म एक्लै भएको महसुस गरिरहेँ। ढकिया विलिन भए पनि जोगाउन सर्वोच्चमा फेरि पनि मुद्दा दर्ता गर्न लगाएँ। संस्थापक सदस्य रामलाल डंगौरालाई अध्यक्ष बनाउनु भनेर लागे। रेशमजीले त्यो पनि मान्नु भएन। अन्ततः ढकिया विलिन भयो।

५) मैले रोजेको ढकिया अर्को पार्टीमा विलिन भएपछि म पार्टीविहीन भएँ। चकिया रेशमजी खोल्नुभयो, त्यहाँ अटाएन। मेरो निष्कर्ष के हो भने, फेरि पनि दाई भाउजुको विवादमा समय खेर फाल्नु राम्रो होइन। म गलत पनि हुन सक्छु। मैले रेशमजीसँग लामो समयसम्म संगत गरेको छु। मजाले चिन्ने मौका पाएँ।

६) अन्तितमा मसँग कुनै बाटो भएन। मैले विश्वास गरेको ढकिया सकियो। चकिया जन्म भयो। चकियाको नेतृत्वकर्ता उनै हुन्। जसले लाखौं मतदाताको सपनाको मजाक उडायो। सामाजिक सञ्जालमा मैले लेखेको छु, रेशमजी अध्यक्ष भएर पार्टी दर्ता गर्छन् भने म साथ दिन तयार छु। होइन भने, अरुलाई अध्यक्ष बनाएर बारबार पार्टी दर्ता गर्नु मेरो नजरमा शोभनीय भएन। त्यसैले चकियामा अटिन। मेरो ऊर्जावान र बलवान समय श्रीमान श्रीमतीको झगडामा खेर फालिरहन उचित लागेन।

मलाई लोभिपापी देख्नेहरू, पहिचान बेचुवाको ठेकेदार देख्नेहरूलाई मेरो प्रश्न छ, म कहाँनिर गलत छु। विगतमा ढकियामा लाग्नु मेरो निर्णय गलत थियो? ढकियालाई अर्को पार्टीमा विलिन गर्नु मेरो व्यक्तिगत महत्वकांक्षा कहाँ देखियो? श्रीमान श्रीमतीको विवादले पार्टी सक्किनुमा मेरो भूमिका कहाँनिर देखियो? पहिचानको मुद्दा मैले कहाँनिर बेचेँ? पहिचानको मुद्दा मेरो वा अरु कसैको व्यक्तिगत ठेक्का हो?

मेरो प्रिय चुनाव चिन्ह र पार्टी विलिन गराएर मलाई पार्टीविहीन बनाउने, श्रीमान श्रीमतीको झगडामा मलाई अचानो बनाउने, पहिचानको मुद्दालाई आफ्नो व्यक्तिगत पेवा बनाउने, पार्टी सुढृद गर्न दिएको सुझावलाई कहिल्यै मनन् नगर्ने, मनपरी गर्ने अनि मलाई चोर, दलाल फटहा देख्ने? के ढकिया मैले सकेको हो? पहिचान मुद्दामा बार्गेनिग मैले गरेको हो? हामीजस्ताको राजनीतिक भविष्य खत्तम पार्ने काम मैले गरेको हो?

साथी हो। चुनाव फागुन २१ गतेसम्मलाई हो। हिजो हाम्रो सम्बन्ध जे थियो, त्यही हुनुपर्छ। यतिसम्म तल्लोस्तरमा नझरौँ कि भोलि आँखा जुधाएर कुरा पनि गर्न नसकियोस्। मैले गरेको एउटा निर्णयले रबीजी जस्ता नेताले थारूमाथि भएको विभेदबारे सार्वजनिक क्षमा याचना गर्नुभयो। रेशम-रन्जिताजीले हाम्रो भावनामाथि गरेको मजाकप्रति कहिले क्षमा याचना गर्ने? सबैको जय होस्।

टीकापुर आन्दोलन राजनीतिक आन्दोलन भएको रास्वपाको स्वीकारोक्ति (९ बुँदे सहमतिपत्र)

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसदसहित पदाधिकारीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा समायोजन भएका छन्। राष्ट्रिय सभा गृहमा सोमबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निर्वाचित सांसद लक्ष्मण जोगेठ्वासहितका नेताहरू रास्वपामा समायोजन भएका हुन्।

रास्वपामा समायोजन हुनेमा नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, उपाध्यक्ष राजेश अधिकारी, कोषाध्यक्ष कोमल ज्ञवाली, महासचिव ठाकुर सिंह थारू र जीवन धामी चौधरी छन्। त्यस्तै थरुहट थारुवान अभियन्ता लक्ष्मण थारू र सुरेन्द्र चौधरी पनि रास्वपामा समायोजन भएका हुन्। रास्वपाले आइतबारमात्रै बालेनको टिमबाट लक्ष्मण थारूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। सुरेन्द्र चौधरी भने बालेनकै टिमबाट रास्वपाको समानुपातिक बन्दसूचीको थारू कलस्टरमा पहिलो नम्बरमा छन्।

यसैबीच रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति भएको छ। सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारू र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्। रास्वपाले टीकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गरेको छ।

‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने,’ सहमति पत्रमा उल्लेख छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरु पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउने सहमति पनि भएको छ।

यस्तो छ ९ बुँदे सहमति पत्र
१. २०८२ साल भदौमा नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

२. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् समायोजन भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

३. राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावनामा उल्लेख गरिए बमोजिम ‘ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनागत विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपभोग’ मा जोड दिँदै, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्दान्तप्रति प्रतिवद्द रहने,

४. बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारुहरुको धार्मिक-सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धन गर्न संविधानको धारा ५६ (५) को मर्म अनुरुप थारू बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानूनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने,

५. टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने,

६. निजामती, न्यायिक प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरुको आरक्षण व्यवस्था अभ्यासमा पूर्णत: लागू गर्ने,

७. भूगोल, जनसंख्या, सामर्थ्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरुमा सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्ने,

८. नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरु पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउने,

९. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।

थाकस प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्- थारूलाई संविधानले दिएको अधिकार कसले र किन रोक्यो?

प्रधानमन्त्री सुशीला कार्कीसँग थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ।

मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडीखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे। त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे। उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गरे।

प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखिन्। ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकरिहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन,’ उनले भनिन्।

यो देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उनको भनाइ थियो। प्रत्येक वर्ष माघे संक्रान्तिका दिन थारू समुदायले माघी पर्व मनाउने गरेको छ।

नाउपा रुपन्देही अध्यक्षसहित ३३ जना रास्वपा प्रवेश गर्दै

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन्। पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन्।

पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारुले बताए। नाउपा परित्याग पछि सोमबार भोलि नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित हुने उनले जानकारी दिए।

निर्यातको चमकभित्र लुकेको चिनियाँ आर्थिक संकट

बेइजिङका नीति निर्माताहरू चीनले १ ट्रिलियन अमेरिकी डलरको रेकर्ड व्यापार अधिशेष हासिल गरेकोमा सन्तुष्ट देखिन सक्छन्। सस्तो चिनियाँ उत्पादनहरूले विश्वका थुप्रै बजार ओगट्नु यो उपलब्धिको सतही प्रमाण जस्तो देखिन्छ। तर यही आँकडाले चिनियाँ अर्थतन्त्रभित्र गहिरिँदै गएको असन्तुलनको असहज यथार्थ लुकाइरहेको छ। कमजोर घरेलु माग, युआनको निरन्तर अवमूल्यन र वृद्धि दरमा देखिएको सुस्ती।

अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनलाई निर्यात आधारित वृद्धिमा अत्यधिक निर्भर नहुन चेतावनी दिएको छ। १.४ अर्ब जनसंख्या भएको अर्थतन्त्र दीर्घकालीन उच्च वृद्धि सुनिश्चित गर्न निर्यातमा मात्र भर पर्न धेरै ठूलो भएको IMF को ठहर छ। “चीन विकासको प्रमुख स्रोतका रूपमा निर्यातमा निर्भर रहन धेरै ठूलो छ। यसको विशाल घरेलु बजार छ,” कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्पष्ट पारेकी छिन्। निर्यात नेतृत्व वृद्धिमा बेइजिङको निरन्तर निर्भरताले विश्वव्यापी व्यापार तनाव बढाउने जोखिम पनि बोकेको छ, जसको उदाहरण अमेरिकाले चिनियाँ आयातमा लगाएका उच्च करहरू हुन्।

कोषका अनुसार चीनले घरेलु उपभोग बढाउने व्यापक नीतिगत सुधार आवश्यक छ। महामारीका कारण रोजगारी र आम्दानीमा गम्भीर असर परेपछि उपभोक्ताहरू खर्चमा सतर्क बनेका छन्। त्यसमाथि सम्पत्ति बजारमा आएको मन्दीले पारिवारिक सम्पत्तिमा ठूलो धक्का दिएको छ। परिणामस्वरूप, चिनियाँ उपभोक्ता ठूलो मात्रामा खर्च गर्न अनिच्छुक देखिन्छन्।

चीनको विशाल व्यापार अधिशेष आफैंमा आर्थिक कमजोरीको सूचक पनि हो। वित्तीय अवरोध र कमजोर उपभोगका कारण आयातमा पर्याप्त वृद्धि हुन सकेको छैन। पाँच प्रतिशतमा झरेको जीडीपी वृद्धि दरले उत्पादनका लागि आवश्यक आयातित कच्चा पदार्थ र इनपुटको मागसमेत घटाएको छ।

नोभेम्बर २०२५ मा चिनियाँ निर्यात ५.९ प्रतिशतले बढ्दा आयात केवल १.९ प्रतिशतले मात्र बढ्यो। स्वस्थ र सन्तुलित अर्थतन्त्रका लागि अस्वाभाविक प्रवृत्ति। सामान्यतया, घरेलु बजारमा निर्भर अर्थतन्त्रहरूले आयात प्रतिस्थापनलाई प्राथमिकता दिन्छन् भने निर्यातमुखी अर्थतन्त्रहरूले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न आयातित इनपुटमा भर पर्नुपर्छ।

१ ट्रिलियन डलरको व्यापार अधिशेषले चीनलाई उत्पादन महाशक्तिका रूपमा चित्रण गर्छ भन्ने धारणा भ्रामक छ। अमेरिकाले चिनियाँ आयातमा लगाएका अतिरिक्त करका कारण चीनको निर्यात उच्च मूल्य बजारमा घटेको छ। यसलाई क्षतिपूर्ति गर्न चीनले अफ्रिका, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियाजस्ता कम आय भएका बजारहरूमा निर्यात विस्तार गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका करहरूका कारण कुल कर दर ४७ प्रतिशत पुगेको छ। यसको परिणामस्वरूप, नोभेम्बर २०२५ मा अमेरिकामा चिनियाँ निर्यात अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले घट्यो। कपडा तथा परिधान क्षेत्रमा मात्र चीनबाट अमेरिकी आयात २७ प्रतिशतले घटेको छ। यही क्रममा भियतनाम, भारत र बंगलादेशजस्ता देशहरूले अमेरिकी बजारमा आफ्नो उपस्थिति विस्तार गरेका छन्।

यसै अवधिमा चीनले अफ्रिकामा निर्यात २६ प्रतिशत, दक्षिणपूर्वी एसियामा १४ प्रतिशत र ल्याटिन अमेरिकामा ७.१ प्रतिशतले बढाएको छ। युरोपेली संघमा पनि चिनियाँ निर्यात १५ प्रतिशतले बढेको देखिए पनि, चीनस्थित युरोपेली संघ चेम्बर अफ कमर्सले चीनसँगको बढ्दो व्यापार घाटाप्रति चेतावनी दिइसकेको छ।

दुर्भाग्यवश, यी नयाँ बजारहरूले अमेरिकी उपभोक्ताले तिर्न सक्ने मूल्य स्तरमा चिनियाँ उत्पादन खरिद गर्न सक्दैनन्। सन् २०१९ मा व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलन (UNCTAD) को अध्ययनले देखाएअनुसार, कर युद्धका कारण उत्पन्न व्यापार विचलनमा चिनियाँ निर्यातकर्ताहरूले मूल्य घटाएर अमेरिकी बजारमा आएको घाटाको केही अंश आफैं वहन गर्नुपरेको थियो।

कर युद्धको दोस्रो चरणमा चिनियाँ उत्पादकहरू जुत्ता, घरेलु उपकरणदेखि कम्बलसम्मका सामानहरू पहिले अमेरिकामा उच्च मूल्यमा बेचिन्थ्यो, अहिले निकै सस्तो मूल्यमा अन्य बजारमा बेच्न बाध्य भए। उदाहरणका लागि, अमेरिकामा एक टन चिनियाँ कम्बलको मूल्य करिब ५,३०० डलर पर्छ भने अफ्रिकामा गुणस्तरअनुसार यही मूल्य १,८०० देखि ३,५०० डलरसम्म सीमित हुन्छ।

यी कम आय भएका बजारहरूको माग पूरा गर्न लागत घटाउँदा उत्पादनको गुणस्तरसमेत प्रभावित भएको देखिन्छ। फलस्वरूप, चीन कम लागत र शंकास्पद मापदण्डका उत्पादनहरूको केन्द्रका रूपमा उदाउँदै गएको छ, जसमा विशाल सस्तो श्रम शक्ति प्रमुख कारक बनेको छ।

पर्यवेक्षकहरूका अनुसार यो विशाल व्यापार अधिशेष डम्पिङ, आक्रामक मार्केटिङ र भ्रामक व्यापार रणनीतिमार्फत सम्भव भएको हो। तर यसको प्रत्यक्ष फाइदा चिनियाँ श्रमिकहरूलाई पुगेको देखिँदैन। उदाहरणका लागि, २०२३ मा चीनको कपडा क्षेत्रमा एक कामदारको औसत मासिक तलब ८२६ डलर थियो भने अमेरिकामा यही क्षेत्रमा औसत तलब २,८५८ डलर थियो।

अफ्रिकामा सस्तो चिनियाँ उत्पादनको डम्पिङले स्थानीय उद्योगहरूमा गम्भीर क्षति पुर्‍याएको छ। दक्षिणी अफ्रिकाको श्रम विभाग र अनुसन्धान एकाइले पछिल्लो दशकका ४४ उत्पादन उद्योगहरूको अध्ययन गर्दा, सस्तो चिनियाँ आयातका कारण उत्पादन वृद्धि सुस्त, नाफा घटेको र रोजगारीमा गिरावट आएको निष्कर्ष निकालेको छ। कपडा, जुत्ता, छाला, विद्युतीय उपकरण र मेसिनरी क्षेत्र सबैभन्दा बढी प्रभावित छन्।

घरेलु बजार सुस्त हुँदा चीनले पाँच प्रतिशतको जीडीपी वृद्धि दर कायम राख्न कम मूल्यका बजारतर्फ निर्यात बढाउने रणनीति अपनाएको छ। गत नोभेम्बरमा खुद्रा बिक्री केवल १.३ प्रतिशतले बढ्यो। २०२२ यताकै सबैभन्दा कमजोर दर। औद्योगिक उत्पादन वृद्धि ४.८ प्रतिशतमा सीमित रह्यो भने सम्पत्ति क्षेत्रमा लगानी करिब १६ प्रतिशतले घट्यो। कार बिक्री ८.५ प्रतिशत र घरेलु उपकरण बिक्री १९ प्रतिशतले घटेको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले स्वयं घरेलु माग अपर्याप्त भएको स्वीकार गरिसकेको छ।

यस सुस्तीको मुख्य कारण घरजग्गा मूल्यमा आएको गिरावट हो, जहाँ चीनको करिब ७० प्रतिशत घरेलु सम्पत्ति बाँधिएको अनुमान छ। सम्पत्तिको मूल्य घट्दा उपभोक्ताको आत्मविश्वास पनि कमजोर भएको छ। देङ सियाओपिङकालीन निर्यात बूमको समयमा युआन डलर विनिमय दर ८.३८ थियो, जसले कृत्रिम अवमूल्यनको आरोप खेपेको थियो। २००५ पछि युआनको पुनर्मूल्याङ्कन भए पनि, पछिल्लो दशकमा यसको मूल्य पुनः घट्दै करिब ७ को हाराहारीमा पुगेको छ। सुस्त घरेलु मागबीच निर्यात बढाउन यो मुद्रा अवमूल्यनको अप्रत्यक्ष उपाय बनेको छ।

सीसीपीको दमन र विश्वव्यापी अस्थिरता

कानून, सत्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को सम्बन्ध लामो समयदेखि गहिरो विरोधाभासले चिन्हित छ। बेइजिङले सहयोग, अधिकार र संयमको वाचा गर्दै जति धेरै अन्तर्राष्ट्रिय सम्झौताहरूमा हस्ताक्षर गर्छ, व्यवहारमा त्यति नै व्यवस्थित रूपमा तिनको उल्लङ्घन गर्छ।

चीनसम्बन्धी कांग्रेसनल कार्यकारी आयोगको २०२५ को वार्षिक प्रतिवेदनले यही विरोधाभासलाई स्पष्ट रूपमा उजागर गरेको छ। प्रतिवेदनले यस्तो शासन प्रणालीको चित्रण गर्छ, जहाँ तोडिएका वाचाहरू अपवाद होइनन्, बरु शासन सञ्चालनको मुख्य सिद्धान्त बनेका छन्। आयोगको निष्कर्ष अनुसार, यसको असर चीनको सिमानाभन्दा धेरै टाढासम्म फैलिएको छ। अमेरिकी नागरिकहरूलाई प्रत्यक्ष हानि पुर्‍याउँदै र विश्वव्यापी व्यवस्थालाई अस्थिर बनाउँदै।

२००० मा चीनमा मानव अधिकार र कानूनको शासनको अनुगमन गर्न स्थापना गरिएको यो आयोगले एक चौथाई शताब्दी बिताइसकेको छ। धेरैको अपेक्षा थियो—चीन विश्वव्यापी संस्थाहरूमा एकीकृत हुँदै जाँदा सुधार आउनेछ। तर पछिल्लो प्रतिवेदनले उल्टो चित्र देखाउँछ। चीन कानूनको शासनमा गम्भीर रूपमा पछाडि परेको छ भने सीसीपीले स्वदेशमा दमन र विदेशमा जबरजस्ती प्रभाव विस्तार गर्ने क्षमतालाई अझ परिष्कृत गरेको छ। आयोगका सहअध्यक्ष सिनेटर डान सुलिभान र प्रतिनिधि क्रिस स्मिथका शब्दमा, “तोडिएका वाचाहरू सीसीपीको शासन शैली र संसारसँगको व्यवहारको एक स्थायी विशेषता हुन्।”

 

अमेरिकी नागरिकहरूका लागि यो खतरा अब सैद्धान्तिक मात्र छैन। प्रतिवेदनले काम, अध्ययन वा पारिवारिक कारणले चीन पुगेका अमेरिकीहरू मनमानी निकास प्रतिबन्ध, निगरानी र नजरबन्दमा पर्न सक्ने जोखिममा रहेको उल्लेख गर्छ। प्रायः कुनै स्पष्ट आरोप, कानुनी प्रक्रिया वा सहारा बिना।

व्यवसायिक क्षेत्र पनि अछुतो छैन। आपूर्ति शृङ्खलाहरू जबरजस्ती श्रमद्वारा दूषित छन् भने व्यापक राष्ट्रिय सुरक्षा कानूनहरूले चिनियाँ अधिकारीहरूलाई विदेशी कम्पनी र व्यक्तिको डेटामा असाध्यै ठूलो पहुँच दिएका छन्। अमेरिकी भूमिमै पनि सीसीपीको पहुँच अन्तर्राष्ट्रिय दमनमार्फत महसुस भइरहेको छ, निगरानी, उत्पीडन, आलोचकहरूलाई लक्षित गर्ने गतिविधि र ‘विदेशी प्रहरी चौकी’ स्थापना जस्ता आरोपहरूसहित।

यस प्रणालीको केन्द्रमा एउटा आपराधिक न्याय संयन्त्र छ, जुन न्याय प्रदान गर्ने भन्दा पनि राजनीतिक हतियारका रूपमा प्रयोग भइरहेको छ। प्रतिवेदनअनुसार, असन्तुष्ट आवाजहरूलाई नियमित रूपमा उचित प्रक्रिया बिना हिरासतमा राखिन्छ। कतिपयलाई मनोचिकित्सा संस्था वा अनौपचारिक ‘कालो जेल’ मा थुन्ने गरिएको छ, जहाँ यातना र दुर्व्यवहार सामान्य अभ्यास बनेका छन्।

आयोगले सञ्चालन गरेको राजनीतिक कैदी डाटाबेसमा ११,००० भन्दा बढी मुद्दा सूचीबद्ध छन्, पत्रकार, कलाकार, मानव अधिकारकर्मी, धार्मिक विश्वासीदेखि वृद्ध नागरिकसम्म। आयोग स्वयंले यसलाई ‘कम गणना’ मानेको छ। यी पृथक घटनाहरू होइनन्; असहमतिलाई अपराधीकरण गर्ने प्रणालीको मानवीय मूल्य हुन्।

प्रतिवेदनले बढ्दो सार्वजनिक असन्तुष्टिसँगै दमन कसरी झनै तीव्र बन्दै गएको छ भन्ने पनि देखाउँछ। असहमति घटनामा वृद्धि भएपछि राज्यको प्रतिक्रिया अझ कठोर भएको छ। केन्द्रीय समाज कार्य विभागका विस्तारित शाखाजस्ता नयाँ नोकरशाही संरचनाहरू समाज नियन्त्रण र ‘अवैध’ ठहरिएका संस्थाहरू उन्मूलन गर्न प्रयोग भइरहेका छन्, जसले स्वतन्त्र नागरिक जीवनका लागि रहेको सीमित स्थानलाई पनि झनै संकुचित बनाएको छ।

धर्म सीसीपीको दमनको प्रमुख लक्ष्य बनेको छ। संविधानमा विश्वासको स्वतन्त्रताको उल्लेख भए तापनि, व्यवहारमा पार्टी–नियन्त्रित धर्मको कठोर मोडेल लागू गरिएको छ। मुस्लिम अल्पसंख्यकहरू व्यवस्थित दमनको सिकार छन्, प्रोटेस्टेन्ट ‘हाउस चर्च’ का नेताहरू सामूहिक रूपमा पक्राउ पर्छन्, र क्याथोलिक संस्थाहरू भ्याटिकनसँग सम्झौता भए तापनि पार्टीको पूर्ण नियन्त्रणमा छन्।

१९९९ देखि सताइँदै आएका फालुन गोंग अभ्यासकर्ताहरू कारावास, यातना र जबरजस्ती अंग प्रत्यारोपणसम्बन्धी गम्भीर आरोपहरूको सामना गरिरहेका छन्, यी आरोपहरूलाई धेरै स्वतन्त्र अनुसन्धानहरूले समर्थन गरेका छन् र आयोगको प्रतिवेदनले पुनः उल्लेख गरेको छ।

प्रेस स्वतन्त्रता र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रेणीकरणहरूले चीनलाई विश्वकै सबैभन्दा खराब अवस्थामध्ये एकमा राखेका छन्। स्वतन्त्र मिडिया प्रभावकारी रूपमा अवस्थित छैन, र सूचना वातावरण सेन्सरशिप, निगरानी र प्रचारले पूरै नियन्त्रणमा छ।

चिन्ताजनक कुरा के हो भने, यो दमन अब चीनभित्र सीमित छैन। आयोगले डिजिटल उपकरण र कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर विदेशमा कथाहरूलाई प्रभाव पार्ने, आलोचकहरूलाई लक्षित गर्ने र असहमतिलाई दबाउने प्रयासहरूको दस्तावेजीकरण गरेको छ। “मुख्य समाजवादी मूल्यहरू” अनिवार्य रूपमा समावेश गर्नुपर्ने चिनियाँ एआई नियमहरूले सेन्सरशिप मोडेल प्रविधिमार्फत निर्यात हुने खतरा देखाएका छन्।

उपग्रह विस्तार, प्रविधि साझेदारी, कूटनीतिक दबाब, राहदानी रद्द, साइबर आक्रमण र विदेशी कार्यकर्तामाथि इनाम घोषणा जस्ता उपायहरूले बहुआयामिक विश्वव्यापी दमन प्रणाली निर्माण गरेका छन्।

यस सम्पूर्ण अभ्यासको आधारमा अन्तर्राष्ट्रिय प्रतिबद्धता उल्लङ्घनको लामो इतिहास छ। बेइजिङले कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि, जातीय भेदभाव, यातना, श्रम अधिकार र समुद्री कानूनसम्बन्धी प्रमुख सन्धिहरू अनुमोदन गरेको छ, तर आवश्यक ठानिएको बेलामा मात्र।

हङकङ यसको सबैभन्दा स्पष्ट उदाहरण हो। चीन–ब्रिटिश संयुक्त घोषणापत्रले स्वायत्तता र कानूनको शासनको वाचा गरे पनि, राष्ट्रिय सुरक्षा कानून लागू भएपछि असहमति निर्ममतापूर्वक दबाइएको छ। यस्तै ढाँचा अन्य क्षेत्रहरूमा पनि दोहोरिएको छ, अल्पसंख्यक संस्कृतिहरू जबरजस्ती आत्मसात, बोर्डिङ स्कूल प्रणाली र संरचनात्मक दमनमार्फत मेटिँदै छन्।

यातना विरुद्धका महासन्धि अनुमोदन भए पनि हिरासत केन्द्रहरूमा दुर्व्यवहारका विश्वसनीय विवरणहरू निरन्तर आइरहेका छन्। श्रम अधिकारको प्रतिबद्धताका बाबजुद कपास, समुद्री खाद्य, उत्पादन उद्योग र विदेशी निर्माण परियोजनाहरूमा जबरजस्ती श्रम कायम छ।

यस्ता अभ्यासहरूले प्रतिस्पर्धालाई विकृत गर्छन्, विश्वव्यापी श्रम मापदण्ड कमजोर बनाउँछन् र उपभोक्ताहरूलाई मूल अपराधबाट टाढा राख्छन्। आयोगको प्रतिवेदनले कानून र सहयोगको भाषालाई बाध्यकारी मूल्यभन्दा बढी सुविधाको साधनका रूपमा प्रयोग गर्ने शासनको स्पष्ट चित्र प्रस्तुत गर्छ।

वैधता, पहुँच वा आर्थिक लाभका लागि सम्झौताहरू गरिन्छन्, तर पार्टी प्राथमिकतासँग बाझिँदा चुपचाप खारेज गरिन्छन्। यसले चीनको प्रतिज्ञामाथि मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनाउँछ।

सायद सबैभन्दा चिन्ताजनक तथ्य के हो भने- यो व्यवहार अब असामान्य होइन, सामान्यीकृत भइसकेको छ। टुटेका वाचाहरू अपेक्षित परिणाम बनेका छन्। मानव अधिकार उल्लङ्घनहरू दस्तावेजीकृत हुन्छन्, निन्दा गरिन्छन्, र अन्ततः आर्थिक अन्तरनिर्भरता र भूराजनीतिक सावधानीले छायाँमा पारिन्छन्।

यसबीच, राजनीतिक कैदी, धार्मिक विश्वासी, जातीय अल्पसंख्यक र मौन पत्रकारहरू यी प्रतिवेदनका पानाबाहिर प्रायः अदृश्य नै रहन्छन्। आयोगले पृथक असफलता होइन, नियन्त्रण, छल र दमनको सुसंगत तथा समयसँगै झनै कडा हुँदै गएको रणनीति दस्तावेजीकृत गरेको छ।

संयुक्त राज्य अमेरिका र विश्व समुदायका लागि सन्देश स्पष्ट छ, सीसीपीसँगको संलग्नताले यसको व्यवहार सुधार्न सकेको छैन। बरु, तोडिएका वाचाहरू शक्ति प्रयोगका साधन बनेका छन्, जसको मूल्य सुरक्षा, विश्वसनीयता र मानवीय मर्यादाले चुकाइरहेका छन्।

त्रिशूली नदीमा नुहाउन गएका बर्दियाका शंकर थारू र साैरभ थारू बेपत्ता

त्रिशूली नदीमा नुहाउन गएका २ जना पुरुष बेपत्ता भएका छन्। त्रिशुली हाइड्राे पावरमा काम गर्ने उनीहरु कुरिनटारमा रहेकाे त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ।

बेपत्ता हुनेमा बर्दिया घर त्रिशुली हाइड्राे पावरमा काम गर्ने वर्ष २२ का शंकर थारू र वर्ष २० का साैरभ थारू रहेकाे मुग्लिनबाट पत्रकार बिनाेद श्रेष्ठले जानकारी दिएकाे हाे। दुवै जना दिउसाे ३ बजेकाे समयमा नुहाउन भनेर त्रिशुली नदीमा गएकाे र नुहाउने क्रममा नदीले बगाएकाे मुग्लिन प्रहरीका प्रहरी निरक्षक प्रतिक सि‌ले जानकारी दिए।

बेपत्ताहरुकाे शसस्त्र विपद व्यस्थापन कुरिनटार र इलाका प्रहरी कार्यालय मुग्लिनकाे संयुक्त टाेलीले खाेजी कार्य गरिरहेकाे छ।

थारू विद्यार्थी सभाले पुल्चोक इन्जनियरिङ क्याम्पसमा सांस्कृतिक कार्यक्रम गर्दै

थारू विद्यार्थी सभा पुल्चोक इन्जनियरिङ क्याम्पसले पुस २७ गते सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। थारू विद्यार्थीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले थारू विद्यार्थी सभाले पुल्चोक क्याम्पसमा वार्षिक सांस्कृतिक कार्यक्रम गर्न लागेको हो।

पुल्चोक शाखाका सभापति चन्दन चौधरीका अनुसार थारू संस्कृतिको प्रवर्द्धन गर्न र थारू विद्यार्थीलाई एकताबद्ध गर्ने गरी कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा थारू विद्यार्थीहरूलाई इन्जिनियरिङतर्फ आकर्षित गर्ने, थारू आरक्षणका विषयमा जानकारी दिने उनको भनाइ छ।

थारू विद्यार्थी सभा पुल्चोक शाखाले प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

जनवरी १५ मा अष्ट्रेलियाको सिड्नीमा माघी कार्यक्रम हुने

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो।

यसअघि पाँचपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले यसपटक पनि माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार जनवरी १५ मा साँझ ५ बजेदेखि राति १० बजेसम्म इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुँदैछ।

कार्यक्रममा यसपटक थारू समुदायको परम्परागत लाठी नाच, झुमरा नाच प्रस्तुत गरिनेछ भने थारू परिकारको व्यवस्था गरिने आयोजकले जनाएको छ। पब्लिक अफिसर चौधरीका अनुसार कार्यक्रममा थारू परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद लिन सकिनेछ।

कार्यक्रममा गायक सविन चौधरीको प्रस्तुतीसँगै थारु रीतिरिवाजअनुसार लाठी नाच, झुमरा नाच, थारु रैम्प, वाक आदि नृत्य, थारू परिकार र खानपिनसहितको सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटी अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदायलगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको प्रवेश शुल्क २५ डलर तोकिएको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि अरुण आर्यण चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न अनुरोध गरिएको छ।