मधेस त अहिले पनि नेपालको आन्तरिक उपनिवेशमात्रै रहेछ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस अहिले पनि नेपालको आन्तरिक उपनिवेश रहेको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले राज्यले मधेसको आवाज नसुनेको बताए।
मधेस आन्दोलनको नेतृत्व गर्ने नेताहरूविरुद्ध आजीवनको सजाय सुनाइएपछि अध्यक्ष ठाकुरले राज्य र अदालतको चरित्र एउटै भएको बताए। उनले मधेस आन्दोलनमा भएको घटनाका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाई गुहार्दा उनीहरूले राज्यले नै मधेसीलाई अपराधिकरण गरेकोजवाफ दिएको बताए। त्यतिबेलामात्र आफूले मधेस नेपालको अपनिवेशमात्र भएको र मधेसी जनताको आवाज नसुनिने गरेको चाल भएको बताए।

ठाकुरको मन्तव्य यस्तो छ:
मधेसी आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई आजीवन कैदको सजाय सुनाएको छ। नेपालको इतिहास ‘पीसफुल’ कहिल्यै पनि भएन। नेपालमा हत्या, मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको इतिहास छ। आजभोलि भइरहेको घटना कुनै नौलो होइन। त्यो राज्यको चरित्र हो। अदालतको पनि त्यही चरित्र हुन्छ, जुन राज्यको चरित्र हुन्छ। किनकि राज्यको अंग हो अदालत। राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुन्न। अदालतको फैसलामा पनि त्यही देखिन्छ।

पुराना पार्टीहरू सबै हतियार उठाएरै आएका छन्। माओवादीले जनयुद्ध गरेरै आउनुभएको छ। तर, कसैमाथि मुद्दा भएको बताउन सक्नुहुन्छ? छैन। अनि मधेसीमाथि नै किन?
केपी ओली प्रधानमन्त्री भएको बेल मैले यो कुरा उठाएको थिएँ। त्यसबेला स-साना घटना र १० लाखभन्दा कम जरिवाना भएकाको मुद्दा सरकारले फिर्ता लियो। महोत्तरीका ९३ जना रिहा पनि हुनुभयो। त्यसबेला दुई मुद्दालाई गम्भीर प्रकृत्तिको भन्दै फिर्ता लिइएन। एउटा त्यही महोत्तरी घटना र अर्को टीकापुर घटना। त्यो दुवै कारबाहीको अवस्थामा छ। सजाय पनि भएको छ।

त्यतिबेला लाल आयोग गठन भएको थियो। किनकि आन्दोलनमा अत्याचार भएको थियो। बच्चा मारिएका थिए। घरमा घुसेर महिलामाथि हातपात भएको थियो। खाना पकाइरहेका महिलालाई गोली हानेर मारिएको थियो। यस विषयमा हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि ध्यानाकर्षण जनाएका थियौं। तर, अन्तर्राष्ट्रिय निकायले त राज्यले मधेसीहरूलाई अपराधीकरण गरेको भनेर जवाफ दियो। उनीहरूले आफूहरूलाई भन्नुभन्दा राज्यलाई भन्नुस् भने। त्यतिबेला थाहा पाएँ, मधेस त अहिले पनि नेपाल राज्यको एउटा उपनिवेशमात्रै रहेछ। आन्तरिक उपनिवेश। जसको आफ्नो बोली हुँदैन, भाषा हुँदैन, व्यक्तित्व हुँदैन। मास्टर इज मास्टर भ्वाइस भनिन्छ नि, मास्टरको बोलीमात्र सुनिन्छ। जनताको बोली सुनिँदैन। अहिले हामीलाई त्यस्तै भएको छ।

मैले पटक-पटक आग्रह गर्दै आएको छु। जुन व्यक्तिलाई सजाय दिइएको छ। ती हाम्रो पार्टीका नेताहरू हुन्। अभिराम अहिले पनि मधेस प्रदेश सांसद र दलका नेता हुन्। रामशंकर जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन्। सुरेश अदालतको अध्यक्ष पदमा काम गरेका व्यक्ति हुन्। धर्मेन्द्र एक नेता हुन्। यस खालका व्यक्ति कसैको हत्या गर्नसक्छ? जुनियर पुलिस अफिसर घाइते भएर गाउँले घेरेर के के गरेका छन्। जलेश्वरमा पनि मृत्यु भएको छैन। तर, हाम्रा नेताहरूलाई आजीवन सजाय सुनाइएको छ।

सामुदायिक र निजी विद्यालयमा थारु भाषा अनिवार्य लागू गर्ने पहिलो नगरपालिका बन्यो बारबर्दिया

बर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १-३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ। जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने, ‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको वसोवास भएकोले थारु भाषाको पढाई सामुदायिक र निजी दुवै तहको विद्यालयमा अनिवार्य रुपले लागु गर्न थालिएको हो।’ थारु भाषाको पठनपाठनले विद्यार्थी वर्गलाई ज्ञान हासिल गर्न अझ सहज हुने उनको भनाई थियो।

स्मरण रहोस्, बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब नेपाली भाषामा हाल पठनपाठन गरिरहेको छ। अधिकांश विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पनि नेपालीबाट उल्था गरेर थारु भाषामै पढाउनुपर्ने अवस्थाले थारु भाषाकै पुस्तकमा जोड दिइएको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले बताए। सामुदायिक र निजी दुवै तहको विद्यालयमा थारु भाषा अनिवार्य लागु गर्ने बारबर्दिया नगरपालिका पहिलो भएको उनले जानकारी दिए।

तालिमको समापनमा प्रशिक्षार्थीहरु सुष्मासागर देवकोटा, जगतराम थारु, विष्णु चौधरीले तालिम निकै फलदायी रहेको बताए। तालिममा १९ महिला तथा २२ पुरुष गरी ४१ जनाको सहभागिता रहेको थियो ।
तालिममा राधाकृष्ण थारु जनसेवा केन्द्र तथा प्लान नेपालको सहकार्य रहेको थियो। त्यसैगरी, तालिमका प्रशिक्षकद्वय डा कृष्णराज सर्वहारी र नरेशकुमार चौधरी रहेका थिए।

स्मरण रहोस्, लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १-३) को सार्वजिनिकीकरण जेठ ३१ गते एक कार्यक्रमका बीच गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डा. गोपाल दहित, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उपप्रमुख रत्नकुमारी पाण्डे, प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखक डा. कृष्णराज सर्वहारीलायतले पाठ्यक्रम सार्वजनिक गरेका थिए।

 

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बता । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। Continue reading “ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन”

नेपालमा बोलिने थारू भाषामा कति समानता छ? यस्तो छ थारू विज्ञको अनुसन्धान

डा. रामबहादुर चौधरी/उप-प्रा. महेश कुमार चौधरी

थारु शब्दले दुईवटा अर्थ दिने गर्दछ- एक थारु जाति र दोस्रो थारु भाषा । थारुहरु बसोबास गर्ने क्षेत्रलाई थरुवान वा थरुहट भनिन्छ । समाजशास्त्री विष्ट (१९६७) का अनुसार थारुहरु तराई क्षेत्रको सबैभन्दा पुरानो आदिवासी हुन् थारुहरु नेपालका मूलबासी तथा आदिवासी हुन् (पाण्डे, २०४५) खराल (२०६४) का अनुसार काठमाडौंको चापागाउँको शिलालेखमा ६०५ इस्वी ‘स्थारुद्रङ्ग’प्रष्टरुपमा लेखिएको छ जसको अर्थ हुन्छ थारु गाउँ । यो शब्द शिवदेव पहिलो अर्थात ५९० संवतमा लेखेको कुरा हो । क्रुस्कौफ़ (१९९५) ले के भनेका छन् भने आर्यनहरु आउनुभन्दा पहिले थारुहरु भारतीय दिपमा बस्ने गर्दथे रमानन्द प्रसाद सिंहले पनि थारुहरूको उत्पत्ति नेपालमै भएको हो भन्नेकुरा दाबी गर्दछन् (१९८८) । नालन्दा विश्वविद्यालयका प्रोफेसर पद्मसम्भव काठमाडौँ भएर तिब्बत जाने क्रममा थारु राज्य रहेको भनेर आफ्नो यात्रा संस्मरणमा लेखेका छन् (पौड्याल, २०१३ ) । समाजशास्त्री विष्टका अनुसार यदि थारुहरु थार मरुभूमिबाट नेपाल आएका भए उनीहरु बाटोमा पर्ने उब्जाउ तथा मलिलो गंगा र यमुना नदीको तटमा बस्ती बसाल्ने थिए (चौधरी, २०६५) ॥ इटालीका वैज्ञानिक मोडीयानो लगायत (१९९१) तथा साकाई लगायत (२०००) ले गरेको अनुसन्धानले थारुहरुमा पाइने अल्फा थालासेमिया जिनले के देखाउँछ भने थारुहरु हजारौं वर्षदेखि यो ठाउँमा बस्दै आएको हुनुपर्छ । किनकि जिन परिवर्तन हुनको लागि हजारौं वर्ष लाग्छ, कम्तिमा २५०० बर्ष ] ‘नेपालका राजाहरु तथा तराईका थारु’ भन्ने पुस्तकमा लालमोहर तथा स्याहा मोहरको बारेमा उल्लेख गरिएको छ जुन थारुहरुलाई विभिन्न समय कालखण्डमा राजाहरुद्वारा दिइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने इतिहासको कुनै कालखण्डमा थारुहरुको सम्बन्ध राज्यसँग निकै राम्रो थियो । थारुहरु अति नै इमान्दार आफ्नो काम राम्रोसँग गर्ने जाति हो । गुनरत्ने (२०२२) ले हन्टर (१८७७) लाई आधारमानी के लेख्दछन् भने चम्पारणमा खेती गर्ने पहिलो जाति थारुहरु थिए र उनीहरु मिलनसार थिए । उनले डोन (२०१६) को भनाईलाई उद्धृत गर्दै के लेख्दछन् भने १९९२ सम्ममा राजस्व तिरेको तिरो हेर्दा दाङ देउखुरी उपत्यकामा थारुहरुको आफ्नै जमिन थियो । तर १९६० तिर बहुसंख्यक पहाडीहरु जमिनका मालिक भए।

नेपालको राष्ट्रिय जनगणना २०७८को अनुसार नेपालमा थारूको जनसंख्या १८ लाख ७ हजार १२४ र राना थारु ८३,३०८ समेतलाई जोड्दा १८,९०,४३२ अर्थात् नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को ६.४८ प्रतिशत छ । यो जाति नेपालको चौथो ठूलो जातिय समूह हुन् ।

थारुहरु नेपाल तथा भारतमा छरिएर रहेका छन् । राना थारुहरु नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका छन् भने भारतको उधमसिंह नगर जिल्ला, उत्तराखण्ड र उत्तर प्रदेशमा बसोबास गर्दै आइरहेका छन् दङ्गौरा थारुहरू नेपालको दाङ देउखुरी, बाँके बर्दिया कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गरेको देखिन्छ । पस्चुहान (पश्विमा) थारुहरु रुपन्देही र नवलपरासी जिल्लामा, रौटार थारुहरु रुपन्देही र नवलपरासी जिल्लामा, पुर्वाहा थारुहरु रुपन्देही र कपिलवस्तु जिल्लामा, चित्वनिया थारुहरु सिन्धुली, चितवन र नवलपरासी जिल्लामा, कोचिला थारुहरु सप्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र उदयपुर जिल्लामा, मोरङ्ग्या थारुहरु मोरङ जिल्लामा, कठरिया कैलाली जिल्लामा तथा भारतको केही जिल्लाहरुमा, सोन्हाहरु सुर्खेत र कैलाली जिल्लामा बसोबास गर्दै आई रहेका छन् ११/२९/२०१९) ॥ थारुहरु बिबिधतामा एकताको प्रतीकको रुपमा रहेका छन् । उनीहरु नेपालको जुनसुकै भूभाग वा जुनसुकै देशमा बसोबास गरेता पनि गर्वका साथ थारु भन्न रुचाउंछन् त्यसैले त ‘मेनी टङ्स वान पिपल’ जस्ता पुस्तक प्रकाशित भए।

२. जीवन संस्कार र संस्कृतिमा प्रयोग हुने शब्दहरु

क. जन्म संस्कार

थारु समुदायको जन्म संस्कारमा प्रयोग हुने दश वटा अधार शब्द लिई ६८ वटा शब्दहरु संकलन गर्दा ‘सॉरी’ शब्द सबैले अर्थात १००% ले प्रयोग गर्दा रहेछन् । ‘पुरैन’ शब्द ८६% ले प्रयोग गर्दा रहेछन् 1 ‘ढिर्हार’ शब्द ८६% ले प्रयोग गर्दा रहेछन् । ‘ढोहीं’ ७९%, ‘छैठी’ लगभग ८६%,’ छुटिहा’ ५७%, ‘सुनपानी’ ७१% ‘सौर्हिया’ ५७%, ‘बोरैस’ ५७% ‘पस्गा’, शब्दहरु नमिलेको यी शब्दहरुमा समानता के छ भन्ने आगो २४औ घन्टा बलिरहन्छ । सुत्केरी कोठामा पसे छोइछिटो लाग्ने हुन्छ भने सुन पानी/पाईनले चोखिनु पर्ने हुन्छ, र सबैतिरका थारु समुदायमा सुत्केरीमा बसेको महिलाले चौखो नहुन्जेलसम्म दिसा पिसाव सौरी घरभित्रै खाल्डोमा गर्ने चलन अझै देखिन्छ । सौरी घरभित्र पस्नु पर्यो भन्ने आगोमा लुगा टकटकाइर मात्र छिर्ने चलन देखिन्छ।

ख. विवाह संस्कार

थारु समाजमा विवाह संस्कारमा प्रयोग हुने १३ वटा अधार शब्द लिई ९१ वटा शब्दहरु मध्ये ‘घर देख/ हेर’ १००%,लगन ८६%,’ पक्का’ ७१%, ‘बेना’ १००%, ‘सन्दुख’ १००%, ‘बरयाति’ १००%, ‘नेता’ १००%, ‘भन्सिया’ १००%, ‘गौनरि/गोनैर’ ५७% मौर, मुडेथा, पगिया र फेटा जस्ता शब्दहरु नमिलेको जस्तो देखिए तापनि अन्य अन्य प्रयोजनमा ती शब्दहरुको प्रयोग भएको देखिन्छ, र सजिलै बुझिन्छ जस्तै कुनै ठाउँको दुल्हाले ‘फेटा/पगरी’ नलगाए पनि अन्यबेला फेटा लगाउने गरिन्छ । थारु समुदायको विवाह संस्कारमा छोरी चेलीबेटीलाई सन्देशको रुपमा हाते पंखा ‘बेना’ र गुन्द्री ‘ गोनरी / पटिया’ दिएर पठाउने रीति रहेको देखिन्छ।

ग. मृत्यु संस्कार

थारु समुदायमा मृत्यु संस्कारमा प्रयोग हुने १० वटा अधार शब्दहरु लिई ६८ वटा शब्दहरु मध्ये ‘मटियाई’ ८६%, ‘साँठ ‘५७%, ‘कफन’ ८६%, ‘मरघट’ ७१%, ‘लौवा’ ५७% ‘सोन पानी’ ५७%, ‘घाट’ ८६% र ‘नोहकेस’ पुर्वदेखि पश्चिम बारा पार्सासम्म प्रयोग भएको देखियो भन्ने ‘खौरबार’ चितवन भन्दा पश्चिम प्रयोग गरेको देखिन्छ भन्ने चितवनमा ‘मुडोनी’ प्रयोग गर्दछन् । जसले जहाँ जे प्रयोग गरेता पनि उक्त कार्यमा सबै ठाउँमा कपाल खौरिने र नङ काट्ने कार्य गरिन्छ । पुर्वतिरका थारुहरुमा दाह संस्कार गरी फर्किदा दागबत्ती दिने व्यक्तिले बन्चरोले ‘घाटमार्ने गर्दछ भने पश्चिमतिर कोदालो वा अन्य फलामको औजारले घाटमार/नघाँन गर्ने गरेको पाइन्छ।

घ. पुजापाठ संस्कारमा थारु भाषाको प्रयोग

थारु समाजमा पुजापाठ र संस्कारमा प्रयोग हने १० वटा अधार शब्दहरु लिई ६७ वटा शब्दहरु मध्ये ‘डिहवार’ ५७%,’देउता घर/गोसाई घर’ ५७%’, थान’ ५७%, ‘सिनुर’ १००%, ‘आछत/अछत’ १००%, ‘मन्तर’ १००%, गुर्वा’ ७१% र पुर्वदेखि पश्चिम बारा पर्सासम्म ‘पन्थ’ र चितवन भन्दा पश्चिममा ‘सुसवाइ/कुडे/टोक्टा’ प्रयोग गर्दछन् भन्ने चितवनमा देउता उथलको प्रयोग गरिन्छ । शब्द नमिलेपनि पुर्वदेखि पश्चिमसम्मका सबै थारुहरुले आफ्नो देवि देवतालाई रक्सी/पानी/जल चढाएको देखिन्छ । चितवनमा ‘आ’ लाई ‘या’ भन्ने चलन हुनाले आछतलाई ‘याछत’ भनिएको हो भन्ने पश्चिमतिर ‘त’ को ठाऊँमा ‘ट’ भएकोले आछतलाई आछट भनिइको भेटिन्छ।

ङ. चाडपर्वहरुमा थारु भाषाको प्रयोग

थारु समुदायमा चाडपर्व संस्कारमा प्रयोग हुने १० वटा आधार शब्दहरु लिई ५४ वटा शब्दहरु मध्ये ‘दुरेहरी/होरी/फगुवा’ लगभग चारैतिर प्रयोग गरेको पाईन्छ, भन्ने ‘तिलासन्कराइत’ पुर्वदेखि बारा पर्सासम्म अनि चितवनमा ‘खिचरा’ र चितवन भन्दा पश्चिममा माघ प्रयोग गरेको देखिन्छ । ‘बगिया’ पुर्वदेखि बारा पर्सासम्म र ‘ढिक्रि’ चितवन भन्दा पश्चिम अनि चतवनमा ‘नक्गर रोटी’ प्रयोग गरिन्छ । अनि ‘बरत / बरट’ को प्रयोग करिब करिब ८६% भएको पाईन्छ । ‘अटबारी’ ५७%,जितिया/दियावती/सोर्हाई/देवारी पुर्वदेखि पश्चिम चितवन सम्म माएको देखिन्छ भन्ने गुर्हिर अनट्टा पश्चिमका थारुहरुमा देखिन्छ । बर्त/बरत मा कसैले ‘ट’ कसैले ‘त’, कसैले आधा ‘र’ कसैले पुरा ‘र’ प्रयोग गरेको भेटिन्छ होइन भन्ने ती शब्दहरु उही हुन्।

च. थारु नाचगानमा थारु भाषाको प्रयोग

थारु समाजमा नाचगानमा संस्कारमा प्रयोग हुने १२ वटा आधार शब्दहरु लिई ८३ वटा शब्दहरु संकलन गर्दा मिर्दङ् शब्द पुर्व देखी पश्चिम पर्सासम्म मानरी चितवनमा र मन्ड्रा चितवनभन्दा पश्चिम तिर प्रयोग गरेको देखिन्छ । रझठ्या र कठरियाले मनड्रा बजाउने मान्छेलाई मिर्दङिया भनेको हुनाले उनीहरुले मादललाई मिर्दङ भनेको हुनू पर्छ । यसरी हेर्दा मिर्दङ र मिर्दङिया शब्द ८६ % प्रयोग भएको देखिन्छ । ८६% ले मंजिराको प्रयोग गर्दो रहेछ, गाजाबाजाहरु प्रायः एउटै शब्दबाट इङ्गित गरिन्छ । सुदुर पश्चिमतिरका थारुहरुले ‘किर्तनिया’ नाच्ने व्यक्तिलाई सम्बोधन नगरे पनि केटिहरुको नाच राख्न सो शब्द प्रयोग गरेको भेटिन्छ । बर्मासा/बर्मस्या लगभग १००%, झुमरा लगभग १००%, डफ १००%, डफली १००%, मंजिरा ८६%।

छ. नाता गोतामा थारु भाषा को प्रयोग

थारु समाजमा नातागोता संस्कारमा २० वटा आधार शब्दहरु लिई १४० वटा शब्दहरु मध्ये ५७% ‘नना/नानी,बाप/बापु ‘५७%,’डाइ’ ५७%, ‘बेटा’ ५७%, ‘बेटी’ ५७%, ‘पोता’ ५७%,’नाति/नटिन्या’ 57%, ‘कका/काका’ १००%, ‘काकी’ १००%, ‘ससुर/ससुरवा’ ८६%, ‘सम्धी’ १००%, ‘सम्धिनिया’ १००%, ‘दमाद’ ७१%, पुतौह/पटुहियामा थौरे फरक देखिन्छ। दादामा १००%,भाइमा ५७%, दिदीमा ५७%, बहिनमा ७१% प्रयोग भएको देखिन्छ । थारु समाजमा सम्बोधन गर्दा एक खालको र परिचय गराउँदा अर्कै खालको शब्द प्रयोग गर्ने गरेको पाईन्छ, जस्तैः ससुरालाई सम्बोधन गर्दा बाबु/ठाकुरजीले गरिन्छ भन्ने,परिचय गराउँदा ‘ससुर/ससुर्वा शब्दको प्रयोग गरेको देखिन्छ ।

ज. खानपान र परिकारमा भाषाको प्रयोग

थारु समाजमा खानपान र परिकारमा प्रयोग हुने १६ वटा शब्दहरुलाई आधार लिई १०७ वटा शब्दहरु मध्ये’ चट्टनी’ १००%,’ साग/सागा’ ७१%, ‘तेल रोटी’ सबैले प्रयोग गरेको देखिन्छ। झोर १००%, ‘घोङही/घोङ्घी’ १००%, ‘सिधरा’ ५७%, ‘सुखटी’ र ‘सुकुटी’ ५७%, ‘कलुवा/कलु’ ५७% । कतै बिहानको खानालाई ‘कलवा/कल्लु’ भन्छन् भने कतै दिउँसोको खानालाई कलौवा भन्छन् । कतै रातिको खानालाई ‘बेरी’ भन्छन् भने कतै दिउँसोको नास्तालाई ‘बेरी-पहर’ भनिन्छ ।

निष्कर्ष/सुझाव

भाषा अथवा भाषिक समानता वा भिन्नता देखाउन प्रायः २ वटाको तुलना गरिन्छ तर यहाँ ७ वटा थारु भाषाका प्रकारहरुलाई लिइएको छ, जुन एकदमै कठिन कार्य हो । समयको पाबन्दीलाई मध्यनजर गर्दै ७ वटा प्रकारहरुलाई लिइएको हो । भाषा बिज्ञान अनुसार समानता वा भिन्नता देखाउँदा प्राय ७०% पारस्परिक बोध गम्यता (mutual intelligibility) भएमा एउटै प्रकार मानिन्छ र कम भएमा फरक फरक भाषा हुन जान्छ । तर समाज भाषा बिज्ञान अनुसार यहि नै अन्तिम सत्य होइन। थारु भाषाको प्रकारहरु हेर्दा भाषा बिज्ञान र समाज भाषा बिज्ञान दुवै तरिकाले हेर्नुपर्ने हुन्छ । जस्तै इटालियन र स्प्यानिश भाषा हेर्दा ७०% भन्दा बढि पारस्परिक बोध गम्यता देखिएता पनि उनीहरु बेग्लै भाषा भएको दाबी गर्दछन । अर्को तर्फ चाइनिजहरुमा ७०% भन्दा कम पारस्परिक बोध गम्यता देखिएता पनि उनीहरु एउटै भाषा हो भनि दाबी गर्छन् र मान्छन्।

यो अध्यनमा थारु संस्कार र संस्कृतिमा प्रयोग हुने थारु भाषाका ६७८ वटा शब्दहरु संकलन गरिएको छ र तिनीहरुबीच तुलनात्मक अध्ययन गरी निष्कर्ष निकालिएको छ ।

नातागोता सम्बोधनमा प्रयोग हुने शब्दहरु अत्यधिक रुपमा एकरुपता देखियो । नाचगानमा, खानपानमा, बिवाह संस्कारमा प्रयोग हुने शब्दहरु धेरै अर्थात् पारस्परिक बोध गम्यता राम्रो देखिन्छ। तर चाड पर्वमा भने भिन्नता बढि देखिन्छ । हुनसक्छ नयाँ नयाँ चाड पर्बहरु अन्य समुदायबाट नक्कल गरेको हुनाले समुदाय फरक परेकोले भाषा पनि फरक पर्न गएको होला ।

> पुरानो शब्दहरुलाई केलाउनु पर्ने ।

> थप अध्ययनको जरुरी ।

> विषयगत प्राज्ञिक व्यक्तिहरुको प्राज्ञिक समुहको खाँचो ।

> थारु भाषिक सर्वेक्षण हुनु नितान्त जरुरी ।

> सरकारबाट भाषिक नीति अविल्म्व आउनु पर्ने ।

> थारु भाषाको वर्ण निर्धारण तथा लेखनशैली पर्ने I

> थारु मानक शब्दकोशको निर्माण कार्यको लागि सरोकारवालाहरुले पहल गर्नु पर्ने ।

> थारु मानक व्याकरण निर्माणमा जोड दिनु पर्ने ।

> थारु भाषाको पाठ्यक्रम, पाठ्यपुस्तकहरु, निर्माण र हरेक थारु बाहुल्य विद्यालयहरुमा लागु गर्नु पर्ने । थारु भाषालाई संचारको क्षेत्रहरु जस्तैः रेडियो, टेलिभिजन, पत्र- पत्रिका, अनलाईन डिजिटल मेडियाहरुमा प्रयोगको लागि जोड दिनु पर्ने ।

> थारु कल्याणकारिणी सभाले थारु भाषामा अनुसन्धानमुलक पत्रिका अर्द्ध वा वार्षिक रुपमा निकाल्नु पर्ने ।

सन्दर्भ सामाग्रीसूची

  • क्रस्कोफ, & मेयर (२०५८). नेपालका राजाहरु तथा तराईका थारु नेपाल एन्ड असियाटिक रिसर्च सेन्टर, टियु, किर्तिपुर ।
  • क्राउस्कोफ,जी(२०११). थारुहरुको मानवविज्ञान, एक एनोटेट ग्रन्थसूची, CNRS, पेरिस।
  • खनाल, जी.पी. (२०६४). थारु भाषाका प्रमुख भाषिका र उप- भाषिका. हमार यागुवा- १
  • गुनेरत्ने, अर्जुन (२००२). धेरै भाषाहरु, एक व्यक्ति, नेपालमा थारु पहिचान निर्माण. कोर्नेल युनिभर्सिटी प्रेस, इथाका एन्ड लन्डन ।
  • चौघरी, भोलाराम,(२०५९), थारु व्याकरण, बुढीगंगा गाउँपालिका, मोरङ्ग ।
  • चौधरी, ह्दय (२०४६), “थारू व्याकरण”. थारु कल्याण कोष सूर्य टोबाको लि. सिमरा, बारा ।
  • चौधरी, महेश,र सर्वहारी, कृष्ण (२०६८). थारु भाषा सिकौन (थारु भाषा सिकी). साझा प्रकाशन,पुलचौक काठमाण्डु ।
  • चौधरी, एम.के. (२००५). ‘सप्तरिया थारु भाषाको एक संक्षिप्त व्याकरण’ एमए थीसिस, टी. यू ।
  • थारु, फनिश्याम,(२०६९), थारु लोक संस्कृति र चाडबाड, नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • थारु भाषा साहित्य,नेपाल (२०८०). थारु नेपाली- अङ्ग्रेजी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिषठान सानेपा, ललितपुर, नेपाल ।
  • दहित,गोपाल.(२०५४). थारु – नेपाली – अङ्ग्रेजी शब्दकोश, सामुहिक युवा कल्वनयाँ गाउँ-८, बर्दिया, नेपाल ।
  • पाण्डे,आरके (२०४५/४६). नेपाल परिचय. आठराई ईन्टरप्राजेज, पुतलीसडक, काठमाडौं।
  • पौडयाल,केपी (२०१३). चितौनिया थारुको व्याकरण, (अप्रकाशित पीएहडी थेसिस), त्रि.वि.,नेपाल
  • योगी,एन.(२०२२). इतिहास प्राश सन्धि पत्र सङ्ग्रह भाग एक, काठमाडौं ।
  • मोडियानो, लगायत (१९९१). रोग विरुद्ध संरक्षण नेपाली जनसंख्यामा थालेसेमिया जीनको निकट निर्धारण.अमेरिकन जर्नल अफ ह्युमन जेनेटिक्स, ४८(२),३९०-७|
  • विष्ट,डोर(१९६७).नेपालका जनता प्रथम संस्करण. डिपार्टमेन्ट अफ पब्लिसिटी HMGI
  • हन्टर,वि. (१८७७). अ स्टाटिस्टिकल अकाउन्ट अफ बेन्गाल भो.१३.तिर्हुत र चम्पारण. लन्डन, टरुब्नेर ।
  • सकाइ, लगायत (२०००). नेपालमा अल्फा-थ्यालेसिमियाको आणविक विशलेषण मलेरिया एन्डेमिसिटीसँग कोरवेलेशन मानव जनेटिक्सको जर्नल.४५(३)१२७-१३२
  • सिंह, आरपी (१९८८). थारुको वास्तविक कथा. पत्रकारसम्मेलन पत्र, पटना, भारत ।
  • सिंह, आरपी र चौधरी, सर्वस्व (२०८०). थारु-नेपाली-अङग्रेजी शब्दकोश, प्रकाशक चौधरी रामलगन,बल्खु,काठमाडौं, नेपाल ।
  • सिंह, रमानन्द प्रसाद,२०५४, थारुगीता (श्री मदभगवत गीता के थारु भाषा मे छान्दिक अनुवाद), रमानन्द प्रसाद सिंह ।
  • सिल, इन्टरनेशनल र मातृभाषा केन्द्र नेपाल (२०७३). मध्य पूर्वीय थारू नेपाली शब्दकोश, मातृभाषा केन्द्र नेपाल ।
  • सि.बि.एस ( २०२१). राष्ट्रिय जनगणना र आवास जनगणना २०२१(जाति/जाति र भाषा). काठमाडौः नेपालसरकार ।

(यो कार्यपत्र २०८१ असार १ गते काठमाडौंको शंखमुलमा थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको हो।)

विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको छ : मन्त्री भगवती चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्। थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौंमा आयोजना गरेको ‘थारु भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन्। थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताइन्। ठाउँअनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन्।

‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन्। त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ। थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ। ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन्। तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ। त्यो एकदमै जरुरी छ।’

उनले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन्। सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन्।

‘हामी अब आर्थिक गतिविधिमा बढीभन्दा बढी सहभागी हुनैपर्छ। किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ?’, उनले भनिन्, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन। जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन।’ मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताइन्।

त्यस्तै उनले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताइन्। ‘हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्‍यौं। तर उहाँहरू छुट्टिएर जानुभयो। अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छ’, मन्त्री चौधरीले भभिन्, ‘यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ। जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो। यो कुरा सबैले बुझ्न आवश्यक छ।’

त्यस्तै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारी कामकाजी भाषा थारु बनाउन भाषा आयोगको सिफारिस अनुसार त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। थारु भाषालाई स्थानीय रूपमा पाठ्यक्रममा राखेर भाषा संरक्षणमा भूमिका खेल्न सकिने उनले चर्चा गरे। राना थारु समुदाय थारुबाट अलग सूचीकरण भएर स्थानीय तहमा सीमित भएको उनले बताए।

कार्यक्रममा भाषाविज्ञ डा. रामबहादुर चौधरी र उपप्राध्यापक महेशकुमार चौधरीले ‘थारु भाषा र सांस्कृतिक एकरूपता र विविधता’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। पूर्वको झापादेखि पश्चिमका कञ्चनपुरसम्मका भाषालाई नमुनाका रूपमा लिई बोली र लेखन एकरूपता विषयमा प्रस्तुति गरे भाषा विज्ञानका अनुसार थारु भाषामा ७० प्रतिशत बढी बोधगम्यता रहेकाले मानक भाषा बनाउनमा समस्या नभएको उनीहरूको भनाइ छ।

कार्यक्रममा पत्रकार लक्की चौधरीले कार्यपत्रमाथि टिप्पणी गर्दै भाषा र संस्कृति एक अर्काको परिपूरक भएकाले पहिचान जोगाउन भाषा र संस्कृतिको अपरिहार्यता रहेको बताए। पश्चिमदेखि पूर्वसम्म तराईमा छरिएर बसोबास गर्दैआएका थारु समुदायको भाषामा उच्चारण केही अन्तर भए पनि करिब ९० प्रतिशत शब्दमा बोधगम्यता रहेको उनको दाबी छ। भाषा र संस्कृति दुवै मानव निर्मित विषय भएकाले यो परिवर्तनशील भएको उनले बताए।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।

नेपाल-भारत सीमाका थारू बाहूल्य क्षेत्रमा चिनियाँ जासुसीको विध्वंसक रणनीति

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले रणनीतिक लाभ सुनिश्चित गर्न विध्वंसक रणनीतिहरू प्रयोग गरेको इतिहास छ। पछिल्ला केही वर्षमा चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई उचाइमा मात्र नभई देशको रणनीतिक सान्दर्भिकतालाई विध्वंसक रणनीतिका लागि प्रयोग गर्न थालेको छ।

त्यस्ता देशद्रोहकारी रणनीतिहरूमध्ये, भारत र नेपालबीचको असुरक्षित सीमाको प्रयोगका कारण जासुसी गतिविधिमा भएको तीव्र वृद्धिलाई बेइजिङले भारतको बाटोमा निर्भर विकासको गतिलाई अस्थिर बनाउने प्रयासको रूपमा हेरिनुपर्छ। यसबाहेक, यी गतिविधिहरूले चीनको सीमावर्ती देशहरूमा महत्त्वपूर्ण चिन्ताको कारण पनि बढेको छ किनभने चीनको गुप्तचर सेवाहरूले त्यस्ता अपरेसनहरूको आगमनले सीमावर्ती राज्यहरूमा अस्थिरता निम्त्याउने आफ्नो दृढ मनसायलाई संकेत गरेको छ।

भारत-नेपाल सीमा, १ हजार ७५१ किलोमिटर भन्दा बढी फैलिएको छ र विश्वको सबैभन्दा खुला सिमाना मध्ये एक हो। ऐतिहासिक रूपमा यसले कडा भिसा आवश्यकताहरू बिना मानिसहरूको स्वतन्त्र आवतजावतको लागि अनुमति दिएको छ र दुई छिमेकीहरू बीच बलियो सांस्कृतिक र आर्थिक आदानप्रदानलाई सुविधा दिएको छ। तर, भारत र चीनबीचको बढ्दो रणनीतिक प्रतिद्वन्द्वीका कारण सीमाना जासुसी गतिविधिका लागि सम्भावित नाकाको रूपमा प्रख्यात भएको छ।

जासुसीको आशंकामा रहेका चिनियाँ राष्ट्रहरूले नेपालको झरझरा नाकाबाट वा काठमाडौंबाट नक्कली परिचयपत्र प्रयोग गरी देश प्रवेश गरेको स्वीकार गरेको विगत केही वर्षयता विभिन्न घटनाहरू बाहिर आएका छन्। त्यस्ता गतिविधिका घटनाहरूले चीनको हित विरुद्ध लाग्ने कुनै पनि पहललाई बदनाम गर्न विशेष गरी प्रचारात्मक प्रयासहरू सुरु गरेको छ। यी गतिविधिहरूलाई हनी ट्र्यापिङ विधिहरूसँग पनि जोडिएको छ जहाँ महत्वपूर्ण व्यक्तिहरूलाई चिनियाँ एजेन्टहरूले गोप्य जानकारी निकाल्नको लागि निगरानीमा राखेका छन्। एक चिनियाँ र नेपाली नागरिकसहित भारतीय पत्रकारको गिरफ्तारीको मुद्दा संवेदनशील सूचना निकाल्न यस्तै रणनीति अपनाएको थियो।

पछिल्लो समय बिहारमा एक चिनियाँ नागरिक नेपाल हुँदै नेपाल प्रवेश गरेको दाबी गरिएको थियो । यस्तै उदाहरणमा, दिल्लीको पुलिस सेवाहरूले देशमा तिब्बती भिक्षुको रूपमा काम गर्ने चिनियाँ जासूसलाई पक्र्यो जसले संवेदनशील जानकारी निकाल्ने र चीनमा फिर्ता आफ्ना अपरेटरहरूलाई पठाउने धेरै अपरेसनहरू गर्ने प्रयास गरेको थियो। अनुसन्धानका क्रममा ती महिला चिनियाँ जासुस नेपाली नागरिक भएर भारतमा बसेकी थिइन् र आफ्नो भेषमा भिक्षु भएको दाबी गरेकी थिइन् । उनको दर्ता कागजात नक्कली र वैध कागजातबिना नेपाल हुँदै भारत गएकी चिनियाँ नागरिक भएको पनि खुलेको छ ।

भारतमा चिनियाँ जासुसी सञ्चालनका मोडहरू
यी सबै अवस्थामा, चिनियाँ गुप्तचर एजेन्सीहरूले आफ्नो विध्वंसक उद्देश्यहरूलाई अगाडि बढाउन विशेष कार्य विधिहरू प्रयोग गरेका छन्। बाहिर आएका घटनाहरूमा नेपाली नागरिकलाई सम्पत्ति र सूचनादाताका रूपमा भर्ती गर्ने प्रमुख विधि रहेको छ । नेपाल र भारतबीचको स्वतन्त्र आवतजावतलाई ध्यानमा राखी नेपाली नागरिकले चिनियाँ नागरिकको तुलनामा सापेक्षिक सहजताका साथ भारत प्रवेश गर्ने स्वतन्त्रताको आनन्द लिन्छन्। तथापि, अझ महत्त्वपूर्ण कुरा, यी व्यक्तिहरूलाई चिनियाँ अपरेटिभहरूको प्रवेशलाई सहजीकरण गर्नका साथै विशेष गुप्तचर-संकलन कार्यहरू पूरा गर्न प्रशिक्षित र सुसज्जित गरिएको छ।

तिनीहरूको कार्यहरूको दोस्रो तर अझ महत्त्वपूर्ण भाग भनेको जासुसी गतिविधिहरूमा संलग्न हुनु हो, जसमा विकृति फैलाउने, अशान्ति भड्काउने र केही अवस्थामा महत्वपूर्ण पूर्वाधारलाई तोडफोड गर्ने पनि समावेश छ। त्यस्ता नियतको उदाहरण भारतीय एजेन्सीहरूले दिल्ली नजिकै चिनियाँ नागरिकले सञ्चालन गरिरहेको गैरकानूनी सुविधा पर्दाफास गरे, जसलाई नेपाली नागरिकहरूले झरझरा सीमानाबाट स्वदेशमा ल्याएका थिए।

चिनियाँ नागरिकहरूले प्रभावशाली व्यक्तिहरूको जासुसी गर्ने उनीहरूको जासुसी गतिविधिहरूमा चिनियाँ गुप्तचर अपरेटरहरूको लागि सहजकर्ताको रूपमा काम गरेको खुलासा भयो। नेपालबाट पुनः भारत प्रवेश गरेका दुई चिनियाँ नागरिकलाई भारतको बिहार सीमामा अवैध रुपमा अप्रमाणिक कागजात बोकेर भारतीय भूमिमा प्रवेश गर्न खोज्दा पक्राउ परेपछि यो र्‍याकेटको पर्दाफास भएको हो । एउटा थप भर्खरको उदाहरण हो जब पक्राउ परेका अर्को चिनियाँ नागरिकले गोप्य राष्ट्रिय सुरक्षा विवरणहरू जम्मा गर्नका लागि संवेदनशील भारतीय प्रतिष्ठानहरूको भ्रमण गरे। गौरीफन्टा–नेपाल सीमानानजिकै जासुसीको आरोपमा पक्राउ परेका ती नागरिक । यसले चिनियाँ जासुसी गतिविधिमा बृद्धि भएको मात्र होइन, नेपालको रुट र भारत र नेपालबीच बाँडिएको खुल्ला सिमानाले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने राष्ट्रविरोधी गतिविधिलाई सहजीकरण गर्न प्रमुख भूमिका खेलिरहेको तथ्यलाई पनि पुष्टि गरेको छ ।

समग्रमा, सार्वभौम अधिकारको यस्तो निर्लज्ज उल्लङ्घन आफ्नो छिमेकीको विकासको गतिलाई बिथोल्ने चिनियाँ पार्टी-राज्य व्यवहारको स्पष्ट मोडस अपरेन्डी हो। चीनले भारतमा आफ्नो जासुसी गतिविधिलाई सहज बनाउन भारत-नेपाल सीमाको रणनीतिक दुरुपयोगले क्षेत्रीय भूराजनीतिको बढ्दो जटिलतालाई प्रकाश पार्छ। खुला सिमाना ऐतिहासिक रूपमा नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको प्रतीक बनेको छ, तर अहिले यो नेपाल र भारत दुवैका लागि महत्वपूर्ण सुरक्षा चुनौती पनि बनेको छ । सीमा सुरक्षा बढाएर र नेपालसँग कूटनीतिक रूपमा संलग्न भएर भारतले बढ्दो चिनियाँ जासुसी गतिविधिको पृष्ठभूमिमा आफ्नो राष्ट्रिय सुरक्षा हितलाई कुनै पनि हालतमा सुरक्षित गरेको सुनिश्चित गर्नुपर्छ।

बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने

बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ। यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ। थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ।

पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ। थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउनेलगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ।

यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन। यसअघिको पाठ्यक्रममा देखिएको कमजोरीलाई सुधार गरी नयाँ पाठ्यक्रम तयार पारिएको नगरप्रमुख छविलाल थारुले बताए। उनले पहिलो चरणमा कक्षा १ देखि ३ सम्म र दोस्रो चरणमा कक्षा ८ सम्म पाठ्यक्रम अध्यापन गराउने तयारी छ।

बारबर्दिया नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी थारु भाषा बोल्न जान्ने भएकाले उनीहरुलाई पठनपाठन गराउन सजिलो हुने नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डेले बताए।

सुमदरानी थारूको परिवारलाई कसले देला न्याय ?

रुपा गहतराज/कान्तिपुरबाट साभार

बाँकेस्थित कोहलपुर नगरपालिका–६ रझेनाकी ४० वर्षीया ललिता थारु बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको खोजीमा दौडिन थालेको एक वर्ष बितिसक्यो । यसबीचमा उनी प्रहरी प्रशासनदेखि न्यायकर्मीको दैलो, आरोपित व्यक्तिको सूचना बटुल्ने खोजीनीतिको यात्रादेखि राजधानीसम्म पुगिसकेकी छन् । यिनै ललिता छोरीको न्याय खोज्न जेठ २४ मा काठमाडौंको माइतीघर मण्डलामा धर्नारत छन् ।

बलात्कारपछि हत्या गरिएकी सुमदरानीका लागि न्याय माग्दै आमा ललिता थारू(दायाँ) माइतीघरमा धर्नाका क्रममा, साथमा अभियन्ता रुबी खान(बायाँ) ।

उनी त्यसै काठमाडौं हान्निएकी होइनन् । जेठ २३ मा काठमाडौं जानुअघि एक सातासम्म बाँके जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिए पनि आफ्नो आवाज सुनुवाइ नभएपछि न्याय खोज्न काठमाडौं पुगेको उनले बताइन् ।

घटना गत वर्ष वैशाख २८ को हो । त्यतिबेला ललिताकी छोरी २२ वर्षकी सुमदरानी थारु नेपालगन्जको श्रद्धानगरस्थित डेरामा मृत भेटिएकी थिइन् । घटनाको भोलिपल्टै पीडित परिवारले बर्दिया राजापुर नगरपालिका-८ कोइली गाउँका २६ वर्षीय शैलेन्द्र थारुविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए ।

सुमदरानी दुई वर्षदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएकी थिइन् । पछिल्लो एक वर्षयता भने उनका भाइ निरेन पनि सँगै बस्दै आएका थिए । विपन्न परिवारका ललिता दम्पतीले आफू नपढे पनि छोराछोरीलाई शिक्षित–दीक्षित बनाउने सपना देखेका थिए । सफ्टवेयर इन्जिनियरिङको १८ महिने पढाइ सकेर सुमदरानी कम्युटर सिक्दै थिइन् भने भाइ निरेन कक्षा १२ को परीक्षा दिएर घर गएका थिए । ललिताका अनुसार आरोपित शैलेन्द्र निरेनका साथी थिए । ‘छोरीलाई मन पराउने रहेछ, छोरीले मन नपराएको रहेछ, त्यही भएर घटना गराइदियो,’ उनकी आमाले भनिन् । निरेन घर गएको बेला डेरामा सुमदरानी एक्लै भएको मौका छोपेर हत्या गरेको उनको दाबी छ ।

दैनिक रूपमा घरमा कुरा गरिरहने सुमदरानीले गत वर्षको वैशाख २८ मा फोन नगरेपछि परिवारले उनको खोजी थालेका थिए । परिवारले फोन, ह्वाट्सएप, फेसबुक, मेसेन्जरमा सम्पर्क गर्दा पनि खैखबर नभएपछि भोलिपल्ट बिहानै सुमदरानीका भाइ र परिवार डेरामा आइपुगे । डेराको ढोकामा ताल्चा झुन्डिएको थियो । धन्न एउटा चाबी भाइले बोक्ने गर्थे । त्यसैले उनले त्यही चाबीले ढोका खोले । कोठाभित्र सुमदरानी मृत अवस्थामा फेला परिन् ।

प्रहरीको घटनास्थल मुचुल्का अनुसार मृतकको घाँटीको भाग, बायाँ औंलालगायतको भाग काटिएको थियो । प्रहरीले घटनास्थलमा एक थान चक्कु फेला पारेको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा पीडित परिवारले शैलेन्द्रले सुमदरानीसित प्रेम सम्बन्ध रहेको र विवाह गर्ने प्रस्ताव राखेको बताएका थिए । प्रहरीका अनुसार शैलेन्द्र घटना हुनु अघिल्लो दिन सुमदरानीको घर पुगी भेरी अस्पतालको फार्मेसीमा जागिर लगाइदिने भन्दै उनको नागरिकता मागेर नेपालगन्ज फर्केका थिए ।

प्रहरीले अनुसन्धानपछि जिल्ला अदालत बाँकेले ०८० जेठ १ गते शैलेन्द्रलाई पक्राउ अनुमति दियो । तर घटनाको एक वर्ष बितिसक्दा पनि प्रहरीले शैलेन्द्रलाई पक्राउ गर्न सकेको छैन । ‘हतियारले काटेर मेरो दिदीलाई मारेको थियो, तर हाम्रो कुरा कतै सुनुवाइ हुँदैन । हाम्रो आवाज दबाइएको छ,’ मृतकका भाइ निरेन थारुले भने, ‘मेरो दिदीको इज्जत लुटिएर मारियो तर अपराधीलाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाउँदैन् । जिल्लामा सोधपुछका लागि जाँदा उल्टै प्रहरीले गाली गरेर फर्काउँछन् ।’

दिदीको मृत्युपछि शोकसँगै आफूहरू मानसिक रूपमा दबाबमा रहेको भाइ निरेनले बताए । गाउँघरमा पनि पीडित परिवारलाई नै अपराधीलाई जस्तो व्यवहार हुने गरेको उनले बताए । ‘मेरो दिदीको चरित्रमाथि प्रश्न गर्छन् । बुवाआमालाई अपमानित गर्छन्,’ उनले भने, ‘प्रहरीले एउटा अपराधीलाई एक वर्षदेखि खोज्दै छौं मात्रै भन्दै आश्वासन दिन्छ ।’ ललिताले पनि आश्वासन मात्रै पाएको बताइन् ।

कान्तिपुरमा पूरा समाचार पढ्नुस्:

मेटमणि चौधरीको प्रस्ताव- सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाऔं

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले जमिनबाट आम जनताको शोषण भइरहेकाले पनि सरकारले उनीहरुलाई न्याय दिन पनि सबै जमिन सरकारले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यकता बताए ।

जमिनको माध्यामबाट जनतामाथि चरम शोषण भएको र वास्तविक किसानले श्रमको मूल्य पाउन नसकिरहेको अवस्थामा सरकारले सबै जमिनलाई आफ्नो मातहत ल्याउन आवश्यक रहेको उनको भनाई थियो ।

उनले भने, ‘जमिनको माध्यमबाट जनतामाथि चरम शोषण भएको छ । वास्तविक किसानले श्रमको मूल्य पाउन सकिरहेका छैनन् । जमिनप्रति मानिसहरुको मोह भंग भएको छ । समग्रमा जनतामा गरिबी कायमै छ । जीवन शैली असहज बनेको छ । महँगी बढेको छ । उत्पादकत्व क्षमतामा कमी आएको छ । यी सबैको एउटै निष्कर्ष के हो भने सबै जमिन सरकारको बनाउने ।’

उनले सरकारले नीति बनाएर देशभरको सबै जमीन सरकारको हुने व्यवस्था गर्न आवश्यक नीतिगत पहल गर्नुपर्ने बताए ।