भ्रष्टाचार फाइल खुल्ने त्रासले देउवा-ओली गठजोड, एमालेपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको मागसहित पुग्यो सर्वोच्च

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीसँग मिलेमत्तो गरेको आरोपसहित कांग्रेस र एमालेका नेताहरूविरुद्ध मुद्दा दायर गरेपछि राष्ट्रिय राजनीति गरमागरम बनेको छ। मुद्दा सार्वजनिक भएपछि कांग्रेस र एमालेबीच संसद पुनर्स्थापना गर्ने साझा प्रयास देखिन थालेको छ।

शुक्रबार शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भएको भेटपछि कांग्रेस पनि एमालेकै लाइन समात्दै सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको मागसहित रिट दायर गर्ने तयारी गरेको छ। यसअघि नै एमालेले संसद ब्युँताउनुपर्ने माग गर्दै अदालत पुगेको थियो। कांग्रेसको निर्णयले दुवै दल एकैधारमा उभिएको स्पष्ट देखिन्छ, जसले हालै उभिएको जेनजी आन्दोलनलाई कमजोर पार्ने उद्देश्य राखिएको विश्लेषकहरूको भनाइ छ।

अख्तियारले दायर गरेको मुद्दामा कांग्रेस-एमालेका नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ। यसले पुराना नेताहरूलाई राजनीतिक जोखिममा पारेको बताइन्छ। पोखरा विमानस्थलको प्रकरण मात्र नभई अन्य ठूला परियोजनामा देखिएका अनियमितता र भ्रष्टाचारका मुद्दामा समेत कारबाही हुनसक्ने र आफूहरू पक्राउ पर्नसक्ने डरले देउवा र ओली नजिकिएको विश्लेषकहरूको अनुमान छ। विभिन्न कालखण्डमा बनेका ओली, देउवा र प्रचण्ड नेतृत्वका सरकारहरूका निर्णयहरू नै आज उजागर भइरहेका भ्रष्टाचार फाइलहरूको मूल जड भएको मूल्यांकन विशेषज्ञहरूको छ।

त्यस्तै ओली-देउवाको तीन दिनअघिको भेटघाटमा पनि संसद पुनर्जीवित गर्ने, आगामी चुनावलाई रोक्ने सम्भावना खुला राख्ने र नयाँ पुस्ताद्वारा सञ्चालित जेनजी आन्दोलनलाई कमजोर बनाउने रणनीतिबारे छलफल भएको स्रोतहरू बताउँछन्। विश्लेषकहरूका अनुसार, अख्तियारले थप मुद्दाहरू अघि बढाउने संकेत पाएपछि पुराना दलका नेताहरू ‘सुरक्षा कवच’ खोज्दै अदालतमार्फत संसद पुनर्जीवनका प्रयासतिर उन्मुख भएका हुन्।

यसबीच, नयाँ दलहरू र स्वतन्त्र शक्तिहरूले भने यो घटनाक्रमलाई पुराना दलहरूको ‘राजनीतिक बचाउ अभियान’ का रूपमा लिएका छन्। जेनजी आन्दोलनका अगुवाहरूले भ्रष्टाचारविरुद्ध उभिएको नेपाली समाजलाई दबाउन र नयाँ राजनीतिक शक्तिको उदयलाई रोक्न देउवा-ओली मिलेर कदम चालिरहेको आरोप लगाएका छन्। उनका अनुसार, संसद पुनर्जीवनको माग वास्तविक संवैधानिक मुद्दाभन्दा बढी, पुराना नेताहरूलाई बचाउने रणनीति हो।

फागुनमा तोकिएको निर्वाचनमा यसले प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिँदैछ। विश्लेषकहरूका भनाइमा, यदि नयाँ शक्तिहरू एकजुट भएर चुनावमा बलियो रूपमा उत्रिएनन् भने, पुराना दलहरूले मुद्दाहरू रोक्ने, चुनाव स्थगित गर्ने र संसद पुनर्जीवन गरेर सत्ता संरचना जोगाउने खतरा बढ्दो छ। भ्रष्टाचारका सबै मुद्दा खुला पार्न र राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्न जेनजी आन्दोलनदेखि नयाँ दलहरूसम्म सबैले एकसाथ उभिने समय आएको उनीहरूको सुझाव छ।

बिआरआई परियोजनामा भ्रष्टाचार, चिनियाँ दूतावासमाथि पनि छानबिन गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनअन्तर्गत बनेको भनिएको पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले चिनियाँ कम्पनी चाइना सीएएमसीविरुद्ध पनि मुद्दा दायर गरेको छ।

चिनियाँ पक्षले पटक-पटक पोखरा विमानस्थल बीआरआई परियोजनामा बनेको दाबी गर्दै आएको छ। २०७९ पुस १६ गते नेपालस्थित चिनियाँ दूतावासको ट्वीटर (एक्सबाट) पहिलोपटक उक्त दाबी गरिएको थियो। विमानस्थल उद्‍घाटन हुनु अघिल्लो दिन चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल-चीन बिआरई सहयोगको मुख्य परियोजना रहेको उल्लेख गरेको थियो। त्यसको ६ महिनापछि चिनियाँ राजदूत छन् सोङले विमानस्थलमा आयोजित एक कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत बनाइएको बताएका थिए। उनले भनेका थिए, ‘पोखरा विमानस्थल चीनले बनाइदिएको हो। यो बीआरआई परियोजनाअन्तर्गत नै बनाइएको हो।’

आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र आमात्य, डा. रामशरण महत र दिवंगत पोष्टबहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, सहसचिव रञ्जन कृष्ण अर्याल, मोहलकृष्ण सापकोटा, लोकबहादुर खत्री, नेपाल नागरिक उड्डयन प्राधिकरण समितिको तत्कालीन सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य, मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्य छन्।

त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक त्रिरत्न मानन्धर, रतीश चन्द्रलाल सुमन, तत्कालीन उपमहानिर्देशक सुमन कुमार श्रेष्ठ, पर्यटन मन्त्रालयका उपसचिव हरिबहादुर खड्का, उपमहानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, तत्कालीन उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेशकुमार बस्नेत, तत्कालीन निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोककुमार सुवेदी, तत्कालीन प्रवन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्ण राज उपाध्याय, निर्देशक प्रताप बाबु तिवारी, प्रबन्धक रुद्रप्रसाद फुयाल र रामचन्द्र सुवेदी छन्।

सर्वोच्च अदालतका रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना, एयरपोर्ट इन्जिनियर डा. पुरुषोत्तम डंगोल, प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी, निर्देशक मुकुन्द प्रसाद भण्डारी, प्रबन्धक गंगा सागर मान श्रेष्ठ, महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राडा. रबिन्द्रनाथ श्रेष्ठ, उपप्रध्यापक सूर्य ज्ञवाली, उपप्रध्यापक सन्तोषकुमार श्रेष्ठ, प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डे, डा. पुण्यराज शाक्य, वरिष्ठ कानुन अधिकृत द्वारिका प्रसाद भट्टराई, प्रबन्धक कुलप्रसाद सिंखडा, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, उपसचिव लालबहादुर खत्री, शाखा अधिकृत कमल कुमार भट्टराई, उपसचिव प्रेम उपाध्याय, उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकवाला यमुना देवी श्रेष्ठ, चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ र सोका मुख्य व्यक्ति अध्यक्ष वाङ बो र लिउ सन्चङ रहेका छन्।

८ अर्ब बराबर विगो माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ ५० पैसा बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए। स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरभन्दा अस्वाभाविक रूपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर बढाई, संशोधन गरी गराई २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर लागत अनुमान कायम गरी अस्वाभाविक मूल्य तिरेर खरिद कार्यको सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोप दाबी रहेको सूचना अधिकारी रेग्मीले बताए।

मुद्दा दायर गरिएको मध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ। विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले २०८२ वैशाखमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दावीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो। त्यसपछि समितिले थप अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको थियो।

चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा
आयोगले निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी ‘चाइना सीएएमसी’लाई पनि प्रतिवादी बनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच २०१४ मा सम्झौता गरेको थियो।

राष्ट्रसेवक प्रतिवादीहरू र चाइना सीएएमसी तथा उक्त कम्पनीका पदाधिकारीहरूले सम्झौता बमोजिमको नगद वा गैरकानुनी लाभ प्राप्त गर्न उक्त अस्वाभाविक लागत अनुमान बढाउनुका आधार कारण तथा औचित्य पुष्टि गर्नलाई कानुन विपरीतको कार्य गरी गराई अरसम्भव प्रयास गरेको देखिएको आयोगको ठहर छ।

त्यस्तै विमानस्थलमा ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर भर्नुपर्ने थियो । त्यसले गर्दा विमानस्थल अहिले भन्दा केही उचाइमा पनि हुन्थ्यो। तर, चिनियाँ कम्पनीले निर्माणस्थलकै माटो र ग्राभेल प्रयोग गर्‍यो। उसले त्यो कामका लागि मात्रै ८० लाख अमेरिकी डलर छुट्याएको देखिन्छ। त्यहींको माटो र ग्राभेल व्यवस्थापन गरी कम्पनीले विमानस्थल बनाउँदा माटो ओसारपसारको ठूलो खर्च जोगाएको आयोगको अभियोगमा उल्लेख छ।

बिआरआई परियोजनाको दाबी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत बनेको दाबी चिनियाँ पक्षले गर्दै आएको छ। नेपालका लाग चिनियाँ राजदूत छन् सोङले विसं २०८० असार ६ गते उक्त दाबी गरेका थिए। पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरहरूबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। यो बीआरआई परियोजना अन्तर्गतको हो।’ पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।

नेपालस्थित चिनिया दूतावासमाथि पनि छानबिन गर्न माग
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा देखिएको अनियमितताको त्रुटि अब केवल एक ठेकेदार कम्पनी वा केही नेपाली अधिकारीको व्यक्तिगत स्वार्थबीच सीमित रहने अवस्थामा छैन। अख्तियारले दायर गरेको मुद्दाले एउटा गम्भीर वास्तविकता उजागर गरेको छ, यो केवल प्रशासनिक कमजोरी होइन, कूटनीतिक प्रभावको दुरुपयोग समेत रहेको शंकालाई पुष्टि गर्ने तथ्यहरूसहितको घटनाक्रम हो।

विमानस्थल निर्माणको टेन्डरमा स्पष्ट प्रावधान थियो, ठेक्का दाबी गर्ने कम्पनीसँग कम्तीमा १२० मिलियन डलर बराबरको विमानस्थल परियोजना अनुभव हुनुपर्छ। तर, छानबिनले देखाएको तथ्य झनै चिन्ताजनक छ, ठेक्का प्रक्रियामा सहभागी तीनवटै चिनियाँ कम्पनीसँग यो योग्यताको आधार स्वयं थिएन। यहीँबाट सुरुवात हुन्छ अनुचित प्रभावको कथा।

जब प्राविधिक मूल्यांकनले सबै कम्पनीहरू ‘अयोग्य’ रहेको निष्कर्ष दियो, तब अप्रत्याशित रूपमा नेपालस्थित चिनियाँ दूतावासले आधिकारिक पत्र पठाएर ती सबै कम्पनी योग्य छन् भन्ने दाबी गर्यो। यसको कुनै प्राविधिक आधार थिएन, कुनै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको समीक्षा थिएन, तर त्यही पत्र नै ठेक्का निर्णयको ‘मुख्य आधार’ बनाइयो।

अख्तियारले अभियोगपत्रमा यसलाई प्रस्ट रूपमा उल्लेख गरेको छ, ‘प्राविधिक मापदण्ड, सार्वजनिक खरिद प्रक्रिया र पारदर्शिताविरुद्धको स्पष्ट उल्लंघन।’

अर्थात्, कूटनीतिक पत्रलाई प्राविधिक रिपोर्टभन्दा माथि राखियो, र राष्ट्रिय हितभन्दा बाहिरी दबाबलाई प्राथमिकता दिनेलाई राज्य संयन्त्रले पनि मौन समर्थन गरिदियो। यो केवल प्राधिकरण वा मन्त्रालयको कमजोरी मात्र होइन, नेपाल–चीन कूटनीतिक सम्बन्धमै अस्वस्थ अभ्यासको संकेत हो। अतःअख्तियारले सार्वजनिक पदधारीमाथि मात्रै होइन, नेपालस्थित चिनियाँ दूतावासको उक्त पत्राचार र त्यसको प्रक्रियागत औचित्यमाथि पनि छानबिन थाल्नुपर्छ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेस पनि पुग्यो सर्वोच्चमा

नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट दर्ता गराएका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्। ‘हामीले वारेसमार्फत प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट दर्ता गराएका छौं,’ अन्नपूर्णसँग उनले भने।

यसअघि नेकपमा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

सोही भेटपछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च जाने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ। कांग्रेस नेताहरूले भने सरकारले तोकेको फागुन २१ को निर्वाचनमा जान तयार रहेको बताउँदै आएको छ। कांग्रेसले पुस २६ गतेदेखि पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

नागरिकता नपाएर ज्यान गुमाएका अन्जु थारू र कान्छा थारूको विषयमा सुरेश पन्थीको नेतृत्वमा छानबिन हुने

बर्दियाको बढैयाताल-४ का कान्छा थारू र अन्जु थारूले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न निर्देशन दिएका थिए।

मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ। यसै घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशिला कार्की पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएका थिए।

लोकसेवा आयोगको संघीयतर्फको शाखा अधिकृतमा दुई जना थारू सिफारिस

लोकसेवा आयोगको राप. तृतीय श्रेणी, शाखा अधिकृतमा थारू समुदायका दुई जनाले नाम निकाल्‍न सफल भएका छन्। अघिल्लो वर्ष खुलेको आवेदनमा सबै चरण पार गरेर कञ्चनपुरका तारामणि डंगौरा र नवलपरासीकी सृष्टि चौधरीले नाम निकाल्न सफल भएका हुन्। तारामणि राजस्व र सृष्टि सामान्य प्रशासनतर्फ सिफारिस भएका हुन्।

सृष्टि चौधरीले यसअघि एक हजार डलरको पुरस्कारसमेत जितेकी थिइन्। फूड एण्ड एग्रीकल्चर अर्गनाइजेसन (एफएओ)को आदिवासी जनजाति विभागले आयोजना गरेको चित्रकला प्रतियोगितामा उनी दोस्रो उक्त पुरस्कार जितेकी थिइन्।

मोटरसाइकल दुर्घटनामा हिमबहादुर थारूको मृत्यु

बर्दियामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी बाँसगढी नगरपालिका-६ का ३६ वर्षीय हिमबहादुर थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।

शुक्रबार साँझ बाँसगढी नगरपालिका-७ भित्री सडकखण्डको वनबगियाबाट मोतीपुर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने २० वर्षीय दिलीप थारू सामान्य घाइते भएका थिए भने मोटरसाइकलचालक हिमबहादुर गम्भीर घाइते भएका थिए।

उनको कौशिल्या मेडिकल सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर लैजाने क्रममा करिब साढे ६ बजेतिर बाटोमै थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका नायब निरीक्षक तथा सूचना अधिकारी राघवसिंह राठौर जानकारी दिए।

थाकस चितवन-७ मा कृष्णलाल चौधरीको संयोजकत्वमा तदर्थ समिति गठन

थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं ७ को क्षेत्रीय सभाबाट सर्वसहमतिमा पूर्व केन्द्रीय पार्षद कृष्णलाल चौधरीको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको छ।

कार्यसमितिका सभापति रामेश्वर चौधरीले राजीनामा दिएको र पदावधिसमेत समाप्त भएको हुँदा निश्चित समयमा अधिवेशन सम्पन्न गर्नका लागि सर्वसहमतिबाट तदर्थ समिति गठन गरिएको हो। तदर्थ समितिका सदस्यहरूमा गुजेश्वरी चौधरी विमला चौधरी, सुनिल चौधरी, नारायण महतो, कारी महतो, रामचन्द्र चौधरी, जितबहादुर चौधरी, चन्द्रकुमारी चौधरी, मीरा चौधरी, बुधरमिया चौधरी, सञ्जय चौधरी, जीवन चौधरी, विक्रम पंजियार, रञ्जित चौधरी, सुरेन्द्र चौधरी, जयस चौधरी रहेका छन्।

सभामा केन्द्रीय सदस्य वासुदेव चौधरी, जिल्ला सभापति ललित कुमार चौधरी, जिल्ला कोषाध्यक्ष सबिता चौधरी, पूर्व केन्द्रीय सदस्य राजेन्द्र चौधरी, केन्द्रीय पार्षद अर्जुन चौधरी, पूर्व क्षेत्रीय सभापति धनवीर चौधरी साथै खैरहनी नगरपालिका वडा नं। ७ का वडाध्यक्ष मनेजर महतो, वडा नं। ९ का वडाध्यक्ष बन्धुराम महतो र वडा नं। १० का वडाध्यक्ष चन्द्रविक्रम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

थाकस चितवन क्षेत नं ७ ले नियमित रूपमा हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आएको हुँदा यसवर्ष तदर्थ समितिको बृहत् भेलाबाट खिचरा महोत्सव मूल आयोजक समिति गठन गरी महोत्सव सञ्चालन गरिने जनाइएको छ।

बाँके र बर्दियालाई टुक्रयाउन खोज्नेहरूविरुद्ध प्रतिवादमा उत्रिने थारू युवाहरूको चेतावनी

बाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट टुक्रयाउनेविरुद्ध नेपालगन्जका थारू युवाहरू एक हुने निष्कर्ष निकालेका छन्। अभियन्ता सीताराम थारूको अगुवाईमा भएको छलफलले बाँके र बर्दियालाई टुक्र्याउनेहरूविरुद्ध एकताबद्ध भएर लड्ने निष्कर्ष निकालिएको हो।

पछिल्लो समय प्रमुख राजनीतिक दलका नेताहरूले थारू बाहुल्य जिल्ला बर्दिया र बाँकेलाई लुम्बिनीबाट टुक्र्याएर कर्णालीमा मिसाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। त्यसमा बाँके र बर्दियाकै प्रमुख दलका मुख्य नेताहरू अग्रपंक्तिमा रहेका छन्। त्यसो त पुष्षकमल दाहाल प्रचण्ड, ओलीलगायतले पनि उक्त विषयमा सहमति जनाउँदै आएका छन्।

प्रमुख दलका शीर्ष नेताहरू नै थारू बाहुल्या जिल्ला टुक्याउन लागेपछि थारू युवाहरू एकजुट भएर लाग्ने सहमति जुटाएका हुन्। थारूहरूको थाँतथलो बाँके र बर्दिया रहेको र यहाँका थारूहरूको सांस्कृति पहिचान तराईकै जिल्लाहरूसँग मिल्ने भएकाले त्यसविरुद्ध उभिने निष्कार्ष निकालिएको अभियन्ता सीताराम थारूले बताए।

त्यस्तै छलफलले थारू विपद् कोष बनाउने निर्णय पनि गरेको छ। विभिन्न गाउँबाट आएकाहरूलाई आवश्यक परेका बेला सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको अभियन्ता सीतारामले बताए। त्यस्तै नेपालगञ्जमा हुने हरेक माघ मिलनदेखि सबै चाडपर्वमा मूल आयोजक समिति बनाएर आयोजना गर्ने, थारू युवाहरूलाई राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा स्थापित गर्दै जाने र सामाजिक काममा अग्रपंक्तिमा रहेर काम गर्ने निष्कर्ष छलफलले गरेको थियो।

थारू समुदायमा भयावह बन्दै सिकलसेल एनिमिया, ५ हजार जनाको परीक्षण गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक ठूलो संख्यामा सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङका दशवटै पालिकाका जनप्रतिनिधिहरुसंगको छलफलमा प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिएपछि पहिलो पटक ५ हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।

उनका अनुसार यो परिक्षण अभियान भोलि शनिबारदेखि नै जारी रहने छ । प्रतिष्ठानले करिब सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा एक बर्षदेखि ६५ वर्ष सम्मकामा सिकलसेल एनिमिया भेटिएका छन भने एकै घरका चार जना परिवारमा पनि सिकलसेल देखिएको छ ।

धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने योगि र दलित समुदायमा पनि सिकलसेल देखिएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई राखेर अबदेखि प्रतिष्ठानमा सिकलसेल एनिमिया रोगको परिक्षण हुने जानकारी दिईएको बताए ।

सिकलसेल एनिमिया परिक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने भएता पनि अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएपछि बिरामीलाई उपचारमा सहजता हुने उनले बताए । प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले सिकलसेल एनिमिया भए नभएको ५ हजार जना बालबच्चादेखि वृद्धसम्म सबैको चेकजाच गरेर हालको अबस्था बारे जानकारी लिन सकिने र प्रतिष्ठान आफैमा बिश्व बिद्यालय पनि भएकाले भबिष्यमा अध्ययन अनुसन्धान गर्न सहजता हुने बताए । साथै उनले सिकलसेल एनिमिया रोकथाम र नियन्त्रणको लागि निति तर्जुमा गर्न पनि यो कार्यले सहजता हुने अपेक्षा गरे ।

२०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा सुरू भएको यो कार्यक्रम दाङमा सुरू भएको थियो । त्यो बेला देशभरका स्याम्पलका रूपमा सिकलसेल परीक्षण गर्दा तीन सय ५० जनामा सिकलसेल देखिएकोमा दाङ जिल्लाका मात्रै २६ केश देखिएका थिए । जुन एकदमै गम्भीर अवस्था हो ।

विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमितता दिन भने सकिएको छैन ।

प्रतिष्ठानका निमित्त निर्देशक प्राध्यापक डा. पन्थीले दाङ जिल्लामा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम जिल्लाका तीन स्थानमा सञ्चालन गरिने बताए । स्थानीय सरकारसँगको समन्वयमा देउखुरीमा कुनै एक स्थानमा, मध्ये दाङको एउटा स्थान र पश्चिम दाङको एक स्थानमा निःशुल्क रूपमा सिकलसेल एनिमियाको परीक्षण गरिने छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आइतवारदेखि नै यो सेवा सुरू हुने छ । यो सेवा मङ्सिरदेखि वैशाखसम्म निरन्तर जारी रहने पनि बताइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन ओपिडिमा यो सेवा उपलब्ध हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा अजयराज गौतमले जानकारी दिए । यदि कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने पनि प्रतिष्ठानले जनाएको छ । अन्य कुन–कुन स्थानमा हुने भन्ने विषयमा पालिकाले छलफल गरेर आइतवारसम्म स्थान तय गर्ने छन् ।

प्रतिष्ठानका फिजिसियन डा. अजय गौतमले सिकलसेल एनिमिया के हो ? यसको रोकथामका उपाय के–के हुन् ? र यसको उपचार र न्यूनीकरणका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराए । सिकलसेल एनिमिया एउटा वंशाणुगत रोग भएकाले लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एवम् उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने पनि डा गौतमको प्रस्तुतीमा उल्लेख थियो ।

सिकलसेल एनिमिया भइसकेपछि त्यस्ता व्यक्तिका रक्तकोषको आकार हसिया जस्तो हुने पनि चिकित्सकले बताएका छन् ।

जब कोषको आकार परिवर्तन भएर बाङ्गो हुन्छ, त्यसले राम्रोसँग रक्त सञ्चारमा अवरोध ल्याउँछ । यसका कारण रगत नपुगेर कतिपय अङ्गको मृत्यु हुने सम्मको खतरा हुन्छ । यसको उपचार लक्षण अनुसार हुने चिकित्सकले बताएका छन् । पूर्ण रूपमा निको भएर जाने अवस्था भने रहँदैन ।

सिकलसेल एनिमियामा केही सिकलसेल बाहक हुन्छन् भने केही सिकल सेलका रोगी हुन्छन् । यदि सिकलसेल बाहक र सिकलसेल रोगीका बिचमा विवाह भयो भने उनीहरूबाट जन्मने शिशुलाई पनि सिकलसेल एनिमियाको सम्भावना अत्यधिक हुन्छ । यस्ता जोडिबाट स्वस्थ बच्चा जन्मने सम्भावना २५ प्रतिशत मात्र रहन्छ ।

प्रतिष्ठानका चिकित्सक डा. सविना विश्वकर्माले सिकलसेल एनिमिया तथा थालेसेमिया कार्यक्रमका बारेमा जानकारी गराइन् । नमुना परीक्षणको कार्यक्रम मङ्सिरदेखि वैशाख महिनासम्म निरन्तर रहने पनि उनले जानकारी दिएकी छिन् । डा सविनाका अनुसार नेपालमा दाङ पनि सिकल सेल एनिमियाको अत्यधिक प्रभावित जिल्ला हो । यद्धपि प्रयाप्त मात्रामा परीक्षण नहुँदा अहिलेसम्म यहाँ कति जनामा सिकल सेल एनिमिया छ भन्ने आधिकारिक तथ्याङ्क नभएको पनि बताइन् । यो कार्यक्रम अनुसन्धानसँगै परामर्श र उपचार पनि भएको प्रतिष्ठानले जनाएको छ ।

जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले दाङ जिल्लामा सिकलसेल एनिमियाको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै यसको अनुसन्धान एवम् परीक्षण र उपचारलाई पनि थप प्रभावकारी बनाउन आग्रह गरे । साथै सिकल सेल एनिमियाको विषयमा आम नागरिकलाई जानकारी गराउन स्थानीय सरकारले आफ्ना पाठ्यक्रममा पनि सिकलसेल एनिमियाका विषय समावेश गर्न उनको अनुरोध छ ।

दाङ जिल्लामा थारू समुदायको बाहुल्यता भएकाले यहाँ सिकल सेल एनिमियाका बिरामी धेरै हुन सक्ने अनुमानसहित यसको न्यूनीकरण एवम् रोकथामका लागी तीनै तहका सरकार यसमा लागिरहेका छन् ।

अन्याय भोगेका बाबु कान्छा थारु र छोरी अञ्जु थारुले ४ दिनको अन्तरमा किन छाडे संसार ?

रामप्रसाद चौहान/कान्तिपुर दैनिक साभार

बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे ।

बाबु–छोरीको आत्महत्या के कुनै आवेग–प्रेरित घटना थियो ? सात वर्षकी छोरी छोडेर अञ्जुले आत्महत्या गर्नुका पछाडि के–कस्ता कारण जिम्मेवार छन् ? छोरी भएर जन्मेकै कारण उनले किन कानुनी रूपमा पाउनुपर्ने नागरिकताको अधिकार पाइनन् ? अड्डा, अदालत र प्रशासन धाउँदाधाउँदै थाकेर उनले आत्महत्याको बाटो रोजिन् । के यो घटनामा जोडिएका अरू कारणहरू पनि छन् ? हामीले यो घटनालाई पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं।

२२ वर्षीया अञ्जु थारु र उनका ६१ वर्षीया बाबु कान्छा थारुले किन आत्महत्या गरे ?

बाबु–छोरीको आत्महत्याको यो घटना बुझ्न ८ वर्षअगाडि जानुपर्छ। त्यतिबेला अञ्जु १५ वर्षकी थिइन्। एक दिन उनी गर्भवती भएको खबर गाउँमा फैलियो। सोधीखोजीपछि थाहा भयो, यो गर्भ छिमेकी गाउँका अनिल थारूसँगको सम्बन्धबाट भएको हो। पंचायत बसेपछि अनिलले अञ्जुलाई मन्दिरमा लगेर सिन्दुर हालेर घर भित्र्याए। २४ मंसिर २०७५ मा अञ्जुले छोरी जन्माइन्। छोरी जन्मेपछि अञ्जु र अनिलबीच खटपट सुरु भयो।

सम्बन्ध बिग्रँदै गएपछि १४ पुस २०७६ मा अञ्जु माइत फर्किइन्। अनिलले वास्ता नगरेपछि अञ्जु ८ माघ २०७६ मा अंशको माग गर्दै जिल्ला अदालत बर्दिया पुगिन्। तर अनिलले अञ्जुबाट जन्मिएको सन्तान आफ्नी छोरी नभएको जिकिर गरे। अदालतले दुवै जनाको उमेर नपुगी विवाह भए पनि कोही कसैबाट उजुरी नपरेको भन्दै विवाह बदर गरेन। बरु अनिलले पाउने अंशलाई तीन भाग लगाएर दुई भाग अंश अञ्जु र छोरी अनिताले पाउने ठहर गर्‍यो।

अंश मुद्दा जिते पनि आफ्नो र छोरीको भागको अंश पाउन अञ्जुलाई नागरिकता र छोरीको जन्मदर्ता जरुरी थियो। तर विवाह दर्ता नभएको, अदालतले आदेशमा स्पष्ट नलेखिएको भन्दै वडा कार्यालयले उनलाई नागरिकता दिन ढिलाइ गरिरह्यो।

महिनौँसम्म अदालत धाएर मुद्दा जिते पनि न्याय नपाएपछि हैरान भएकी अञ्जुले आत्महत्याको बाटो रोजिन्। घटनाको चार दिनपछि बाबु कान्छाले पनि आत्महत्या गरे।

यो घटना विपन्न र भुइँतहका नागरिक न्याय खोज्दा–खोज्दै कसरी जीवनदेखि नै हार मान्ने स्थितिमा पुग्छन् भन्ने प्रतिनिधि दृष्टान्त हो। अञ्जु र कान्छा थारुले आत्महत्या गर्न बाध्य हुनुका पछाडि कमजोर कानूनी तथा प्रशासनिक संयन्त्र मुख्य रूपमा जिम्मेवार देखिन्छ। एकातिर वाल्यकालमै विवाह, श्रीमानले साथ नदिँदा माइत फर्किनुपर्ने बाध्यता। अर्कोतिर अंश पाउने फैसला भए पनि नागरिकता र जन्मदर्ता नबन्ने र अंश नपाउने अवरोध। यही हैरानीबीच यो घटना भएको देखिन्छ।

अञ्जुले उमेर नपुगी विवाह गरेकाले र सन्तान जन्माएकाले उनले न्याय नपाएकी हुन् कि ? अथवा छोरीको बाबुको पहिचानमै समस्या थियो ?

मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिए त्यस्तो महिला र पुरुषको विवाह भएको मानिने व्यवस्था छ। त्यस्तै २० वर्ष नपुगेका महिला र पुरुषबीच शारीरिक सम्बन्ध रहेर बच्चा जन्मिए पनि विवाह भएको मानिने व्यवस्था छ।

यही व्यवस्था अनुसार अदालतले विवाह दर्ता नभए पनि अञ्जु र अनिल श्रीमान–श्रीमती भएको र छोरीको हक लाग्ने फैसला गरिदियो। अदालतले आदेशमा भनेको छ, ‘२० वर्ष पूरा नभएमा विवाह हुन नसक्ने व्यवस्था भए पनि नाबालक छोरीको जन्म भइसकेको, विवाह बदर कोहीले नगरेको, अदालतको आदेशलाई प्रतिवादीहरूले स्वीकार गरेको देखिएकाले अंशमा हक रहने देखियो।’

अञ्जुलाई नागरिकता र छोरीलाई जन्मदर्ता गराउन वडा कार्यालयले यही कानूनी आधार टेक्न सक्थ्यो। अञ्जु र उनका बाबु नागरिकता र जन्मदर्ताका लागि ८ देखि १० पटक वडा कार्यालय धाए, तर काम भएन।

अदालतमा अनिलले छोरी आफ्नो नभएको जिकिर पनि गरेका थिए। त्यसपछि अदालतले २९ पुस २०७७ मा डीएनए परीक्षणका लागि मिति तय गरेको थियो तर अनिलले हाजिर भएनन्। त्यसपछि अदालतले २० कात्तिक २०७९ मा नवजात छोरीको जन्मदर्ता र अंशको फैसला गरेको थियो। यसैले अञ्जुले सजिलै नागरिकता र अंश पाउनुपर्ने हो र बच्चाको जन्मदर्ता पनि सजिलै हुनुपर्ने हो।

यो घटनामा वडा कार्यालयको तर्क के छ ?

बढैयाताल गाउँपालिका–४ का वडाध्यक्ष नरे थापाले अञ्जु अंश पाउने ठहर गरिएको अदालतको पत्र लिएर ८ माघ २०८१ मा वडामा आएको बताए। उनले नागरिकता र जन्मदर्ता बनाउने विषयमा अदालतले स्पष्ट नपारेको दाबी गरे। ‘अदालतले अंश मात्र ठहर गरेको देखियो,’ वडाध्यक्ष थापाले भने, ‘नागरिकताको सिफारिस र छोरीको जन्मदर्ताका लागि छुट्टै निवेदन दिइएको थिएन।’

बच्चाको जन्मदर्ता गर्न श्रीमान्–श्रीमती दुवैको नागरिकता चाहिने भएकाले आफूले कानुनबमोजिम काम गर्न खोजेको थापाको भनाइ छ।

थापाले यस्तो बताए पनि बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुने व्यवस्था छ। बालबालिका जन्मेपछि बाबु–आमाले प्रचलित कानुन बमोजिम जन्मदर्ता गराउनुपर्ने उल्लेख छ।

जबर्जस्ती करणी वा हाडनाताबाट जन्मिएका बालबालिकाको पनि जन्मदर्ता हुनुपर्ने कानुनी व्यवस्था छ। त्यस्तो अवस्थामा आमाले चाहे आमाको नाम मात्र उल्लेख गरी जन्मदर्ता गराउन मिल्छ।तर यी सबै व्यवस्थालाई वडा कार्यालयले बेवास्ता गरेको देखिन्छ।

यो घटनामा अधिकारकर्मीहरू के भन्छन् ?

नागरिक समाज सञ्जाल बर्दियाकी संयोजक हिमा सुनारले संविधानमा व्यवस्था भएको हक नपाउँदा अञ्जुले आत्महत्याको बाटो रोजेको बताइन्। उनले भनिन्, ‘अञ्जुले पहिचानको अधिकारबाट वञ्चित भई आत्महत्या गर्नु दुःखद् कुरा हो।’

मानवअधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारीले यस घटनामा वडा देखि जिल्ला प्रशासन कार्यालयसम्म कमजोरी देखिएको बताइन्। उनका अनुसार अंशबण्डाका लागि जिल्ला प्रशासन कार्यालयले महिलाको नागरिकता बनाइदिनुपर्ने जिम्मेवारी पूरा भएको देखिँदैन।

यो घटनाको केन्द्रमा रहेका अञ्जुका श्रीमान् अनिल कहाँ छन् ? उनीमाथि प्रहरीले केही अनुसन्धान गरिरहेको छ ?

घटनापछि अनिल फरार छन्। पीडित परिवारले इलाका प्रहरी कार्यालय मैनापोखरमा अनिल विरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएको छ। जिल्ला प्रहरी कार्यलय बर्दियाका सुचना अधिकारी इन्सपेक्टर प्रकाशसिंह कार्की जाहेरीमाथी अनुसन्धान भइरहेको बताउँदै फरार अनिल विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको र उनको खोजी जारी राखेको बताए । पीडित परिवारले घटनाको सूक्ष्म अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।