नेपाललाई जुनसुकै सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। भारी वर्षासँगै बाढी र पहिरोले धनजनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।

उनले सामाजिक सञ्जाल एक्स (ट्वीटरमा) भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र सरकारको साथमा रहेको उल्लेख गरेका छन्।

‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं। एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री मोदीले भनेका छन्।

नेपालमा भारी वर्षाले हालसम्म ४४ जनाको मृत्यु भएको छ भने देशभरिका सडक सञ्जालमा प्रभावित भएका छन्। त्यस्तै तराईका केही जिल्लाहरू डुबानमा परेका छन्।

मोटरसाइकल दुर्घटनामा चिन्तामणि चौधरी र सोविन चौधरीको मृत्यु

सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१-००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २-१-००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते खडक नगरपालिका १० बेलहा घर भएका मोटरसाइकल चालक २८ वर्षीय चिन्तामणि चौधरीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए।

त्यस्तै अर्का मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा ७ घर भएका २७ वर्षीय सोविन चौधरीको पनि उपचारको क्रममा ११ बजे मृत्यु भएको उनले बताए।

मृतकको शव पोष्टमार्टमपछि शुक्रबार परिवारजनलाई बुझाइएको छ। सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार सोविनकी श्रीमती २५ वर्षीया रमिता चौधरी र सोविनकै साथी सन्तोष चौधरीको ८ वर्षीया छोरी रचना चौधरी घाइते भए। रमिताको पेट र दुवै खुट्टामा, रचनाको टाउको र खुट्टामा चोट लागेको छ। दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधन- तपाईं एक्लो हुनुहुन्न, आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले विपद्को समयमा राज्यका सम्पूर्ण स्रोतहरू नागरिकहरूसँग रहेको बताएकी छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अविरल वर्षाले उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी छन्।

उनले सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा रहेको बताएकी हुन्। ‘यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा छन्,’ उनले भनिन्।

उनले उपलब्ध स्रोतहरू परिचालन गरेको र राष्ट्रिय र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेको पनि बताइन्। ‘तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस्। कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस्। प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिनुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्। सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। हामी तपाईँहरूको चिन्ता र कठिनाइलाई बुझ्छौं। म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईंहरूसँग छन्,’ उनले भनिन्।

भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै सरकारले दियो दुई दिन सार्वजनिक बिदा

सरकारले भोलि र पर्सी सार्वजनिक बिदा दिएको छ। भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षाले सडक र हवाई उडानसमेत प्रभावित बनेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले आग्रह गरेको छ। सरकारले काठमाडौं उपत्यकामा आवत जावत गर्ने मुख्य राजमार्ग तीन दिनका लागि बन्द गर्ने निर्णय गरिसकेको छ।

सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए। निरीक्षणपश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवाद दिएका थिए।

जेनजी आन्दोलन र हामी

बुद्धसेन चौधरी
२०८२ भाद्र २३ र २४ गते भएको जेनजी समुहको आन्दोलनले नेपालमा सत्ता अर्थात सरकारको उलटफेर भएको छ र पूर्व प्रधान न्यायधीश शुसिला कार्कीको नेतृत्वमा नयाँ जनादेशको लागि अन्तरिम सरकारको गठन भएको छ । ७२ जनाले सहादत प्राप्त गरेका र २१०० जना घाइते भएका सामाचारहरु आएकाछन् । नेपालको प्रमुख प्रशासनिक केन्द, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपती कार्यालय, नेपाल प्रहरीको कार्यलाय लगायत मुख्य सरकारी तथा गैर सरकारी भवन, पार्टी कार्यालय र शिर्ष नेताहरुको घर, भाटभटेनी सुपर मार्केट लगायत अनेकौ स्थानमा समेत आगजनी भई ब्यापक जनधनको क्षति पुगेको छ । जसले गर्दा नेपाली मात्र होइन पुरा संसारलाई नै स्तब्ध तुल्याएको छ ।

यस्तो नहुने घटना कसरी भयो र अबको बाटो के हो रुयस्तो गर्नमा जेनजीको हात छ कि अरु कसैले गरेको हो रु यसमा ब्यापक घुसपैट र केही राजनीतिक दलको साथै देशी विदेशी शक्तिको पनि हात छ त? लगायतका अनेकौ प्रश्नहरु र त्यसको सम्भावित उत्तरहरु चिया पसल, बाटो हिंडने बटुवा देखि उच्च राजनीतिक तहमा र संचारको माध्यमको साथै सामाजिक संजालमा पनि हिन्दुहरुको महान चाँड दशैंको खुशीयालीमा पनि यो नै चर्चा परिचर्चाको बिषय बनेको छ । यति मात्र कहाँ हो र १ संविधान खारेजी, संविधानको संशोधन, गैर संवैधानिक सरकार कि संवैधानिक सरकार लगायतको अनेकौ बिषयमा न्यायघीश, पूर्व न्यायधिश, संविधान विद्, कानून व्यवसायीहरु,पत्रकारहरुमा चर्चा परिचर्चा, सम्वाद परिसम्वाद जोड तोडको साथ चलीरहेको छ र त्यो स्वभाविक पनि हो ।

किन भयो जेनजी आन्दोलन?
जेनजी आन्दोलन तत्काल र रातारात भएको आन्दोलन होइन । जेनजी आन्दोलनको लागि हामी सबै उतिकै जिम्माबार र केहि हद सम्म दोषी पनि छौ । हो, यसको मात्रा कम बढी हुन सक्ला तर यसको जिम्मेबार हामी सबै छौ । अहिले एक अर्कालाई दोष थुपार्ने काम भई रहेको छ । आफ्नो गल्ति ढाकछोप गर्नको लागि अरुलाई गलत देखाई रहेका छौ । यस्तो सोंचले अगामी दिनमा पनि स्थायीत्व कायम गर्न सक्दैन ।
इतिहासलाई त फर्केर हेर्नै पर्ने हुन्छ । तर हामी टाँढा नजाउँ राणा शसन देखि वर्तमान संविधान जारी भए सम्मको कुरा गर्ने हो भने नेपाली जनताले पटक पटक गरेको आन्दोलन र वलिदानकोको उचित मान सम्मान र कार्यान्वयन हुन नसकेको कारण नै पटक पटक आन्दोलन भई रहेको छ त्यसैको निरन्तरता अहिलेको जेनजी आन्दोनलाई मान्न सकिन्छ । व्यवस्था परिवर्तन भए पनि हाम्रो मानसिकता परिवर्तन र विकास हुन सकेन । जुन कुराको लागि जनताले आन्दोलन गर्छ नयाँ सरकार गठन भईसरकारमा गएकाहरुले त्यसलाई बेवास्ता गर्छ ।

नयाँ सविधान लागु भए देखि यसलाई सरकारमा जाने राजनीतिक दलका नेताहरुले आफ्नो पेवाको रुपमा छिटो भन्दा छिटो घनि बन्ने सपना बोकेर कुनै पनि कुराको सरकारमा रहदा एउटा व्याख्या र सरकार बाहिर गए पछि अर्को व्याख्या गरी दिनलाई रात र रातलाई दिन पार्ने काम गर्दै गयो। यो कुरा पहिलो संविधान सभाको विधटनले नै स्पष्ट पारि सकेको छ । संविधानको लागि जंगलवाट सिंहदरवार छिरेकाहरु समेतले संविधान बनाउनु त कता हो कता आफ्नै सुख सयल र मौजमा सत्ताको स्वाद चाख्नमा तल्लिन भए । संविधान बनाउने छाडेर आ-आफ्नो क्षेत्रको पूर्वाधार निर्माणमा र आफ्ना कार्यकर्ता तथा नातागोतालाई जागिर दिलाउन र संगठन विस्तार मै ब्यस्त भए । यो सभाले पटक पटक म्याद थप्दा पनि संविधान बनाउन सकेन । असक्षमताले होस कि षड्यन्त्रले होस पहिलो संविधान सभाको हत्या गर्ने काम भयो । यो आन्दोलनको जग त्यहीबाट कोरिएको हो ।

दोस्रो संविधानसभामा सामान्य परिवर्तन भए पनि मुख्य दलका शिर्ष नेताहरु नै दोहरीए । पहिलो संविधान सभाले तयार पारेका केहि महत्वपूर्ण प्रावधानहरु समेट्ने कुरा गरे पनि त्यसलाई पूर्णरुपमे नजरअन्दाज गरियो । संविधान त जसो तसो जारि भयो तर पनि कतिपय दल र साँसदहरुको असहमति रह्यो र वहाँहरुले हस्ताक्षर गर्नु भएन । जारी गरेको दिन नै यसलाई जलाउने काम समेत भयो भने यसलाई कोलो दिवसको रुपमा मनाउने काम पनि जारी नै रह्यो । सरकारले यसलाई परिवर्तिनशिल दस्तावेजको रुपमा व्याख्या गरे । संविधानमा आफ्नो माग मुद्दा र अधिकार नसमेटिएको भनि आदिवासी जनजाती, थारु, मेधशी, दलित लगायतले पनि पटक पटक आन्दोलन गरे । आन्दोनलाई मत्थर पार्नको लागि सरकारले लिखित रुपमा सम्झौता गरे र दलहरुले पनि प्रतिबद्दता जनाए तर सत्तामा पुगे पछि पुरानै रबैयालाई कायम राख्ने काम गर्यो रनियतवस नै कार्यान्वयनमा कहिले ध्यान पुर्याएन । संविधानको संशोधन त भयो तर आफ्नो स्वार्थको लागि भयो । जनतलाई झुक्याउने काम मात्र भयो । अहिलेको दुई ठुला दलको निवर्तमान सरकार गठन हुँदाको नै मुद्दा पहिलो संविधान संशोधन थियो तर सत्तामा पुगे पछि त्यसको चर्चा समेत नगरी सरकार चलाउने र आफ्नो पालो कुर्ने काम मात्र गर्‍यो।

व्यवस्थापीका तनेताहरुको हातमै थियो कार्यपालिकाको स्थायी सरकारको रुपमा रहेको निजामती, प्रहरी,संवैधानिक आयोग लगायतका ठाउँहरुमा समेत दलगतसोंच हावीभएका कार्यकर्ता र नातागोता भर्ती केन्द्रको रुपमा विकसित भयो । कर्मचारीमा पनि दल पिच्छे युनियनहरुको स्थापना भयो । निष्पक्ष र स्वतन्त्र कोहि रहन सकेन । निष्पक्ष र स्वतन्त्र रुपमा रहनखोजे पनित्यसलाई पाखा लगाउने काम भयो । विकास पूर्वाधार र कर्मचारीको बृति विकासमा दलगत स्वार्थ हावी भयो भने बिचौलियाले जेमा पनि रुपैयाको चलखेल गर्न थाल्यो जसलाई नेतहारुले राम्रै संग मलजल गर्ने काम गर्यो । राष्ट्रिय गौरवको आयोजना देखि सानो उपभोक्ता समुहले गर्ने काममा कमिसन तन्त्र हावी हुँदै गयो ।

उत्कृष्ठ अंक ल्याएर लोकसेवाबाट छानिएका कर्मचारी पनि भष्टाचारमा उत्कृष्ठ नै भए । निजामती कर्मचारी निजामती कर्माचारी बाट, प्रहरी प्रहरीबाट, दलका कार्यकर्ता दलका नेताहरुबाट शोषण र उत्पीडनमा पर्ने थाले । जनताको त कुरै नगरौ । जनताको रगत चुस्ने कामभयो । कृषी प्रधान देशमा कृषकको नाममा भएको लागानी र अनुदान कृषक भन्दा पनि कार्यकर्ता र दलालहरुले उपभोग गरे । व्यपारी व्यवसायीको पनि उस्तै रह्यो लगानी गर्न पनि कमिसन दिनु पर्ने भयो गरेको लगानी उठाउनलाई पनि नेता र कर्मचारीलाई कमिसन दिनै पर्ने भयो । जता ततै भष्टाचार र अक्रान्तले देश तहस नहस भयो । दुई बर्षमा सक्ने योजना १० बर्ष सम्म सकेन । एक ठाउँमा असफल ठेक्केदारलाई राजनीतिक आडमा अर्को ठाउँमा ठेक्का दिन काम भयो । विकासका केहि सुचक तथ्याङ्कमा देखाए पनि सरकार परिवर्तनको भोली पल्टै नाफामा रहेको लाई घाटा रहेको देखाउने काम भयो । त्यसमा पनि सस्तो लोकप्रियता र कमिशन नै हावी रह्यो ।

देशमा शिक्षा रोजगार देखि लगानी सबै सिमति व्यक्तिको हातमा गयो । युवाहरु नचाहँदा नचाहँदै पनि पढाई देखि रोजगारीको लागि विदेश पलायन हुँदै गयो । नेताहरु भाषण र गफमा मात्रै सिमित भयो । भष्टाचार नियन्त्रणको रुपमा केहि कारवाहीहरु गरेको भए पनि त्यो पूर्वाग्रही रुपमा सरकार बाहेकका दललाई र आफ्नो अनुसारको नगर्ने नेता तथा कर्माचारीमा मात्र सिमित रह्यो । काण्डै काण्डले भरियो देशमा काण्डले पनि काण्डकै रुप लियो । आफ्नालाई चोख्याउने अरुलाई सिध्याउने चलखेलको काण्ड भयो ।

यस्तै यस्तै अनेकौ पुर्वाग्रही कार्यहरु भए । पार्टीगत स्वार्थ र ब्यक्तिगत स्वार्थको लागि नियम कानून संशोधन गरेरै भए पनि पुरा गर्ने पारिपटीको विकास भयो । ऐन नियमको कुरा त छोडौ नेपालको संविधानले राष्ट्रपती उपराष्ट्पती, सभामुख उप( सभामुख, अध्यक्ष उपाध्यक्ष लगायतमा मा फरक लिङ्ग वा समुदायको हुनु पर्ने प्रावधान र भावनाको बिपरित दलिय भागबण्डाको आधारमा पुरुष पुरुष बिराजमान हुने काम समेत गर्यो । जनतालाई झुक्याउन संविधानको मौलिक हकलाई पनि कानून बनाएर गर्ने भनेर कानूनीहकको रुपमा राख्ने काम गर्यो । संविधानले दिएको समय सिमा भित्र कतिपय कानून बनाउन सकेन भने सर्वौच्च अदालतले दिएको आदेशहरुलाई पनि वेवस्ता गर्ने काम भयो ।कानून बनाउनका लागि चुनिएका साँसदहरु कानून बनाउनु भन्दा पनि कसरी छिटो छिटो कसरी धनी हुनेमा केन्द्रित भएर आफ्नो निर्वाचन क्षेत्रको टुक्रै आयोजनामा केन्द्रित राख्दै सदन ताली पिटेर कार्यकाल बिताउँदै गए । जनताको अधिकार, स्वतन्त्रता र विकासको सुनिश्चिताको लागि चुनिएका साँसदहरु आफै अधिकार विहिन भए भन्ने आफ्नो मत पनि स्वतन्त्ररुपमा सदनमा राख्न नसक्ने हैसियतमा राजनीतिक दलहरुले बन्धक बनाए । चुनावको बेला राजनीतिक दलले यति सम्म गरे कि नेकपा ऐमाले जिन्दावादको नारा लगाउन लगाएर काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न लगाए । नेपाली काँग्रेस जिन्दावादको नारा लगाउन लगाएर माओवादीको हंसिया हथौडामा भोट हाल्न लगाए । यो कुनै सिद्धान्तको सम्झौता नभए आफु जित्नकै लागि जनता झुक्याउने सम्झौता थियो ।

यति सम्म त चलेकै थियो । अदलात, मालपोत, नापी, कम्पनी रजिष्टारको कार्यलाय, भंसार,प्रहरी, अध्यागमन, जिल्ला प्रशासन कार्यालय, यातायत कार्यालय लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने तिनै तहको सरकारमा बिचौलिया र भ्रष्टाचार हावी भयो । बिना थप रकमले फायल नै बढन नसक्ने प्रणालीको विकास भयो । अरु त अरु चौथो अंगको रुपमा रहेको आम संचार पनि सरकारको ईशारामा चल्न थाल्यो भने त्यसमा पनि दलगत स्वार्थ र अर्थले प्रमुख भुमिका खेल्ने काम गर्यो । पत्रकारले पनि सरकार देखि व्यक्तिसम्म समाचार सम्प्रेषणको नाममा बार्गेनिङ गर्न थाले । कुनै निकाय नै रहेन जहाँ स्वतन्त्र र निष्पक्ष रुपमा काम होस । असंतुष्टी र आक्रोस सबैमा रहेको भए पनि मौका पाए पछि कसैले पनि बाँकि नराख्ने चलन बस्दै गयो ।

विश्वमा द्रुत गतिको रुपमा विकसित भएको सूचना प्रविधीले मानिसलाई यति सम्म नजिक ल्यायो कि घर बसी बसी विश्वको कुनै पनि कुनाबाट कुनै पनि देशको शिक्षा हासिल गर्ने सक्ने र रोजगारी गर्न सक्ने सम्मको प्रविधिहरुको विकास भयो भने कुनै पनि समस्याको सामाधान प्रविधिको प्रयोग गरेर सेकेन्डमा गर्न सक्ने क्षमताको विकास भयो । सामाजिक संजालको रुपमा विकास भएको विभन्न टुल्सहरु जसमा मानिसको ब्यक्तिगत आवश्यक्ता, अविष्कार, चाहना, विचार, मनोरञ्जन लगायतका सूचना प्रवाह गर्ने तथा प्राप्त गर्ने काममा यसरी विकसित भयो कि अब त्यो विनाको जीवन कल्पना गर्ने नसकिने जस्तो भयो । खास गरिकन आफ्नो आवाज बुलन्द गर्ने एक शसक्त माध्यमको रुपमा जीवनको अभिन अंगको रुपमा समाजिक संजालले स्थान लिईसकेको छ ।

जेनजी समुहको लागि पढाई लेखाई देखि अन्य सृजनात्मक कामको लागि सामाजिक संजाल रहेको छ । सरकारले विभिन्न कारणहरु देखाएर हो कि आफ्नो आलोचना सहन नसकेर हो सामाजीक संजाललाई नियमन गरी बन्द गर्ने निर्णय गर्यो । जसको विरोधमा जेन(जी समुहले आन्दोलनको घोषणा गर्यो । काठमाण्डौ लगायत विभिन्न स्थानमा जेनजी समूहका युवाहरु जम्मा भएर सरकारको विरुद्धमा नारावाजी गर्न र सामाजिक संजालमा लगाएको प्रतिबन्ध फिर्ता गर्न जोरदार माग गरे । जेनजी समुह मात्र होइन सबै जना कुनै नकुनै रुपमा यसबाट प्रभावित भयो । जेन(जी समुहले गरेको आन्दोलनमा सबैले प्रत्यक्ष अप्रत्यक्ष र नैतिक रुपमा समर्थन जनाए । कति त खुलेरै लागे । तर सरकारको अक्रमण्यता, पूर्वानुमान रदमन गरेर भए पनि तह लगाउन सक्ने मानसिकता गर्दा विहान शान्त रहेको आन्दोलन क्रमशः विस्तारै उग्ररुप लिदै गयो र सुरक्षाकर्मीबाट गोली चलाउने अवस्थाको सृजना भयो र अनाहकमा युवाहरु शहिद हुन पुगे ।

के आन्दोलनलाई रोक्न सकिन्थ्यो वा कम गर्न सकिन्थ्यो?
शुरुमै सम्बोधन हुन सकेको भए अवश्य पनि रोक्न सकिन्थ्यो । तर सरकारले वार्ता र मध्यमार्गी उपाय अपनाउनुको सट्टा बल प्रयोग गर्न उपयुक्त सम्झे । जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गर्दा नै पहल गर्न सकेन । आफ्नो अधिकार र मनको कुरा पोख्ने माध्यमको रुपमा रहेको सामाजिक संजालमा प्रतिबन्ध लगाए संगै जेनजी समुहमा आक्रोश उत्पन्न भयो जसले गर्दा वहाँहरुले समाजिक संजाल बन्दको बिरोघको साथसाथै नागरिकले उठाउँदै आएका भष्टाचार र सुशासनको मुद्दलाई प्राथमिकताको साथ उठाए । केहि स्वतन्त्र उम्मेदवारहरुले गरेका कामहरुबाट इच्छाशक्ति भएमा सिमित स्रोत र साधनबाट पनि विकास गर्न सकिन्छ भन्ने भावनाको विकास भयो र देशमा एउटा कार्यकारी प्रमुख जो अधिकार सम्पन्न होस र जनताले प्रत्यक्ष रुपमा चुन्न सकोस भने चाहना र ईच्छा पनि प्रवल रुपमा बढदै गयो । अव आन्दोलनमा सामाजिक संजालको साथै, भष्ट्राचार र सुशासन अनि कार्यकारी प्रमुखको नारा पनि तिब्र रुपमा जोडिन पुग्यो । माथिको कुराहरुबाट जनता आक्रान्त भईसकेको थियो जसले गर्दासबैले प्रत्यक्ष र अप्रत्यक्ष समर्थन गर्यो । यसरी जेनजी अन्दोलनमा नैतिक रुपमा अधिकाँशको समर्थन थियो मान्न सकिन्छ । सरकारी कार्यालयको कर्मचारीहरुको पनि छिटो भन्दा छिटो पत्राचारको माध्यनको रुपमा समाजिक संजालको प्रयोग गर्दथ्यो । त्यो पनि बन्द भयो । विदेशिएका युवाहरुले घरमा सिधै प्रत्यक्ष कुरा गर्ने माध्यम पनि बन्द भएकोमा त्यसको आक्रोस पनि सबैमा परालको आगो झै फैलियो ।

यता सरकार राजनीतिक दलका केहि नेताहरुले जेनजी आन्दोलनको बिषयमा दिएको केही अन्तर्वताले गर्दा जेनजी समूहलाई उचाल्ने र चुनौती दिने काम गर्यो ।सम्यमता अपनाउन र खुलेर वार्ताबाट सामाधान गर्नको लागि अनुरोध गरेको भए शायद यो दह सम्म अगाडि बढ्ने थिएन ।

सरकार र सुरक्षाकर्मीको अदुरदर्शीता र असक्षमताले गर्दा पहिलो दिनको घटनाबाट पाठ सिक्न नसकेर दोस्रो दिनको ठुलो जनधनको क्षती भएको हो । सरकार प्रमुखले राती नै राजीनमा दिएको भए धेरै हद सम्म यो घटना घट्ने थिएन । यहाँ सम्म कि प्रधान मन्त्रिको हैसियतले राजीनामा दिनु भन्दा पहिले २४ गते देश जलिरहदा निकालेको विज्ञ्यप्तिमा पनि केहि सम्वोधन गरिएको देखिएन ।

आगजनीलाई रोक्न सकिन्थयो?
रोक्न नसके पनि कम गर्न सकिन्थ्यो । आगो लागाउनेको संख्या सिमति देखिन्थ्यो र राम्रो संग सम्झाई बुझाई र अनुरोध गर्दा मानेको पनि देखिन्थ्यो । कतिपय कार्यालयलाई स्थानिय र त्यहाँका कर्मचारीहरुले अनुरोध गर्दा खरानी हुनबाट बचेकै हो । सुरक्षाको घेरा भित्र रहेको सिंहदरबाटमा हजारौको संख्यामा रहेको कर्मचारी र सेना तथा प्रहरीले चाहेको भए खरानी हुनबाट जोगिन सक्थ्यो तर वहाँहरुमा पनि सरकारको काम प्रति आक्रोश थियो वा उस्तै किसिमको आदेश थियो जे भए पनि कसैले सार्थक पहल गर्ने सकेको देखिदैन । अदालतमा पनि सरकारी तथा प्राईभेट कानून व्यवसायीले यो हाम्रो सम्पति हो यसलाई जलाउनु हुँदैन भनेर अनुरोध गरेको भए बचाउन सकिन्थ्यो । सबैमा उही आक्रोस थियो कारण त्यहाँ पनि त गैरकानूनी काम भएकै थियो । कतिपयले खुशी मनाए भने कतिपयले पश्चातप गरे तर रोक्न कोई पनि अग्रसर भएन ।

नेपाल प्रहरीको त के कुरा १ फ्रन्टलाईनाम काम गर्ने सबैको आँखाको तारो थियो त्यसलाई त कसले बचाउने तर पनि हिम्मत गर्नेले बल र नरम बोलीले कतिपय ठाउँमा क्षतिहुनबाट बचाएको पनि देखिन्छ । सेनाको घेरा भित्र रहेको राष्ट्रपति कार्यालयमा पनि आगजनी भयो । त्यहाँ पनि सार्थक पहल हुन सकेन ।

यसरी फेरी फेरी आलोपालो सत्तामा जाने राजनीतिक दल र तिनका नेता त गरेन गरेन हामी आम नागरिक, ब्यपारी, कर्मचारी, विभिन्न पेशाकर्मीहरुले पनि वेलैमा होस पुर्याउन सकेनौ र रोक्न तथा कम गर्नमा असफल भयौ । कम गर्न सकिन्थ्यो तर हामी सबैको कमिकमजोरी वा पुर्वाग्रह सोंचको कारण हाम्रो इतिहास लगायतका घेरै कुराहरु हामी आफैले खरानी बनायौ ।

अबको उपाय?
अब नकारात्मक सोंच र कार्यले देश झन पछाडि धकेलिदै जान्छ । संविधान र कानून भन्दा माथी त जान सकिदैन तर आन्दोलनले दिएको आदेशलाई पनि नजरअन्दाज गर्न सकिदैन । आगामी चुनावको बिकल्प हामीसंग छैनसबैको साथ सहयोग र समन्वयले न्युनतम साझा मापदण्ड कायम गरी समयमा चुनाव गर्नै पर्छ । संविधानको पालना नभएर संविधान उल्लङ्धन हुने काम भएको छ । संविधान पनि नमास्ने आन्दोलनको मर्म पनि सम्वोधन हुने किसिमले यो सरकारबाट संविधानलाई टेक्दै राष्ट्रियता, अखण्डता, सार्वभोम सत्ता, लोकतान्त्रिक मूल्य मान्यता संघीयता, स्वतन्त्रता लागयत मूलभुत कुराहरुलाई दायँबायाँ नगरिकन अगाडि जानै पर्छ । यसमा राजनीतिक दल, सरकारी कर्मचारी, विभिन्न पेशाकर्मी, आम नागरिक र जेनजी समुहले साथ दिनै पर्छ । कार्यकारी प्रमुख, संघीतया, प्रदेश खारेजी, निर्वाचन क्षेत्रको संख्यामा कटौती लगायतका कुराहरुमा न्युनतम सहमती र तर्क संगत बैज्ञानिक आधार खोज्नै पर्छ । अहिलेको सरकारले पूर्वको सरकार जस्तै पुर्वाग्रही सोंच राखेर कारवाही गर्ने सोंचलाई त्याग्नु पर्छ । आन्दोनको क्रममा शहिद भएकाहरुलाई उचित सम्मान, घाइतेहरुलाई उपचार तथा उचित व्यवस्थापन, परिवारलाई जीवन निर्वाहको व्यवस्था तथा वहाँहरुले उठाएका माग मुद्दा सम्बोधन गरी दोषीलाई स्वतन्त्र रुपले कारवाहीको दायरामा ल्याउनै पर्छ । बहुदलीय व्यवस्थाको पुनस्थापना पश्चात कसैले करोडौ बरावरको धनमाल जोडेको छ भने त्यसको श्रोत खोजी गर्नु पर्छ । स्रोत देखाउन नसक्नेको सम्पती जफत गर्ने पर्छ । जेन( जी को उज्जवल भविष्यको लागि शिक्षा र प्रविधिमा जोड दिनै पर्छ । पूर्वाग्रह र बिमतीलाई थाती राखेर अग्रगामी निकास र विकासको लागि जुनसुकै राजनीतिक दल, समूह, बिचार, जातजाति, घर्म संस्कृति र फरक घारको भए पनि एकजुट हुनुनै अहिलेको अपरिहार्यता हो । विजया दशमीको हार्दिक शुभकामना १ जय होस ।

लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित

थारू लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित भएका छन्। थारू भाषाको त्रैमासिक पत्रिका लावा डग्गरको १६औं तथा थारू साहित्य-संस्कृति प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा लेखक चौधरीलाई १५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो।

पुरस्कारले थारू भाषा, साहित्यिक लेखनमा थप जिम्मेवार बनाएको लेखक चौधरीले बताए। लेखक चौधरीले थारू प्रतिनिधि कथा-१, अस्टिम्कीक गीत, बिहान, डौना बेबरी पत्रिकाको संकलन, लेखन र सम्पादन गरेका छन्। थारू भाषा पृष्ठको सहसंयोजक समेत रहिसकेका उनी अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभाग सदस्य छन्।

प्रमुख अतिथि प्राज्ञ डा. कृष्णराज सर्वहारीले लावा डग्गर पत्रिकालाई देश विदेशसम्म जोड्नका लागि असोज १७ गतेदेखि अनलाइन संस्करण पनि सुरु गरिएको बताए।

यी प्रदेशमा चार दिनसम्म सकेसम्म यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ।

अत्यन्त जरुरी नभए असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्। जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले बताइन्।

मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको जनाइएको छ।

बाग्मती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न प्राधिकरणले अनुरोध गरेको हो।

प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरेको छ।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।

दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई चेतावनी दिएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै दण्डहीनतालाई प्रोत्साहन र दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई कांग्रेसले सचेत गराएको हो।

‘भदौ २३ र २४ गतेको घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानूनी गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता माथी प्रत्यक्ष अघात पुग्ने गरि आयोगलाई नभएको क्षेत्राधिकार विहीन कार्य गर्न गराउन सरकार उद्दत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोध प्रष्टै देखिने गरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दा अर्कै बाटो हिँड्न खोजेको देखिन्छ ।’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न नेपाली कांग्रेस यो अन्तरिम सरकारलाई सचेत गराउँदछ ।’

कांग्रेसले जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा तोडफोड, आगजनी र लुटपाट गरि ध्वस्त बनाएको घटनाप्रति आपत्ति जनाएको छ। प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानविन आयोग गठन गरेको कुरा स्वागत योग्य भएपनि राजनीतिक दल र दल विशेषका नेताहरूमाथि बदलापूर्ण, प्रतिशोध लिने उद्देश्य भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। हतियार बोकेर आतंक फैलाउँदै हिँडेको अवस्थामा देखिएका भेटिएका व्यक्तिमाथि कारबाही नगर्ने भन्ने आसयको गृहको परिपत्रले संविधानको धज्जी उडाएको कांग्रेसको ठहर छ।

‘भाद्र २३ गते जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न अपराधिक समूहहरुले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाहरु घटाउन थाले, जसबाट हरेक क्षेत्रका निजी तथा सार्वजनिक संरचनाहरू तोडफोड, आगजनी र लुटपाट गरि ध्वस्त बनाइए । २३ र २४ गते दुई दिनमा सुरक्षकर्मी सहित ७६ जना भन्दा बढीको ज्यान गइसकेको छ, सयौ घाइते छन भने राष्ट्रलाई खरबौंको क्षति भएको छ । यस अकल्पनीय र दुःखद घटनाको जति निन्दा गरे पनि कमै हुन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन आयोग गठन गरेको कुरा स्वागत योग्य छ तापनि राजनैतिक प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित योजनाबद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विशेषका नेताहरुमाथि बदलापूर्ण, प्रतिशोध लिने उद्देश्यले छानी छानी खोजी खोजी आक्रमण गर्ने उनीहरुका कार्यालयहरू त्यसै गरी तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र बर्दी लुट्ने अनि सोही बर्दी लगाई हात हतियार बोकेर आतङ्क फैलाउँदै हिडेको अवस्थामा देखिएका भेटिएका व्यक्ति उपर प्रचलित कानून बमोजिम कुनै खोजतलास नगर्ने, कानूनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट मिति २०८२/६/९ मा जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधानवाद, कानूनी राज्य र विधिको शासनको धज्जी उडाएको छ ।’

कांग्रेसले पीडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधीहरुलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति भए नेपाली जनताका लागि स्विकार्य नहुने चेतावनी दिएको छ।

रैथाने थारू स्वादका लागि खुल्यो टिम्बर ट्रपिकल रिट्रीट होटल

पर्यटन व्यवसायमा अगाडि बढिरहेको नवलपुर (पूर्वी नवलपरासी)मा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा आएको छ। नेचरगाइड देवेन्द्र महतो र होटल म्यानेजमेन्ट अध्ययनरत उनका छोरा सिलासले कावासोती नगरपालिका-१५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा ल्याएका हुन्। महतोका आमाबुबा बिकनकुमारी थरुनी र रुपनारायण महतोले मंगलबार संयुक्तरूपमा होटलको उद्‌घाटन गरे।

सुन्दर, शान्त, प्राकृतिक वातावरण र रैथाने थारु परिकारसँग रमाउन चाहने पाहुनालाई लक्षित गरेर होटल सञ्चालन गरेको सञ्चालक महतोले बताए। उनले होटलमा घोङ्घी, माछा, हाँस, चिचर, सोझो रोटी लगायतका थारू परिकारसहित पाहुनाले अर्डर गरेअनुसार चाइनिज लगायत अन्य खानेकुराका परिकार उलब्ध गराइने जानकारी दिए। ‘हाम्रो विशेष परिकार भने रैथाने थारू खाना नै रहने छ,’ सञ्चालक महतोले भने।

काठ, बाँसलगायत वनजन्य सामग्री प्रयोग गरेर बनाइएको होटलको वरिपरि रुख र बोटविरुवा छन्। शेरगञ्जको अग्लो भागमा रहेको होटलबाट चितवन राष्ट्रिय निकुञ्जसहित बाघखोर होमस्टेको सुन्दर दृश्य देखिने गर्दछ। होटल परिसरमा सिजनअनुसार विभिन्न किसिमका आगन्तुक चराचुरुङ्गी आउने गरेका छन्। गर्मी याममा स्वर्गचरी, कोइली लगायतका पाहुना चराले त्यस ठाउँमा गुँड बनाएर बचेरा हुर्काउने गरेको महतोले जानकारी दिए।

त्यसैगरी रैथाने विभिन्न प्रजातिका चरा जतिसुकै बेला देखा पर्ने गरेको जनाइएको छ। चराचुरुङ्गी, प्रकृति र स्थानीय थारू संस्कृतिसँग रमाउन चाहेका पर्यटकका लागि आफ्नो होटल उपयुक्त गन्तव्य बन्नसक्ने महतोले उल्लेख गरे। उनले डण्डा बजार र कावासोती बजारको बाटो भएर होटलसम्म पुग्न सकिने जानकारी दिए।

होटल उद्‍घाटन कार्यक्रममा अमेरिका बस्दै आएका कावासोती नगरपालिका-१५ गोडारका राजु महतो, कैलालीको धनगढीका अविनाश चौधरी, होटल व्यवसायी बिनु महतो लगायतको उपस्थिति रहेको थियो।