नेपालको शानदार जित, एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको शृंखला कब्जामा

१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७.१ ओभरमा ८३ रन बनाएर अलआउट भयो। वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २१ रन बनाए। त्यस्तै अकिम अगस्टीले १७ र अमिर जांगुले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि आदिल आलमले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले ३, दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजबंशीले १-१ विकेट लिए।

त्यसअघि आसिफ शेख र सन्दीप जोराको अर्धसतकमा नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले ६३ रन बनाए। ३९ बलमा उनले ३ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै आदिल आलम ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अन्तिम बलमा एलबी डब्लु आउट भए। त्यसअघि कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रन, कुशल मल्ल ७ रन र गुल्शन झा ६ रनमा आउट भएका थिए।

वेस्ट इन्डिजका लागि अकिल हुसेन र किले मेयर्सले २-२ विकेट र जेडिह ब्लाड्स १ विकेट लिए।

मेरैया गाउँमा ‘सखिया नाच’को रौनक

बर्दियाको बारबर्दिया नगरपालिका वडा न: १० मा अवस्थित मेरैया गाउँ अहिले ‘सखिया नाच’ को रौनकताले भरिएको छ। दशैंअघि सुरु भएर दशैं सकिएको केही दिनसम्म नाचिने सो नाचले गाउँ रौनकता बढाएको छ।

साँझपख गाउँका सम्पूर्ण युवतीहरूले थारू पहिरनमा सजिएर गाउँको मूल बरघर चौधरी प्रसाद चौधरीज्युको घरमा जम्मा भएर मोरिन्या रोशनी चौधरी (किरण) र पज्गिन्या प्रीति चौधरीको अगुवाइमा सखिया नाच्ने गरेका छन्।

गाउँमा सखिया नाच नाच्ने युवती हुँदाहुँदै पनि मादल बाजाउने ‘मदर्या’ नभएको सखिया नाच नाच्ने युवतीहरूले गुनासो गरेपछि सबै मेरैया गाउँबासीले सल्लाह गरेर मादल बजाउनका लागि प्रत्येक दिन सात-सात घरको पालो लगाइएको छ। जसले गर्दा गाउँका युवतीहरू नाच्न हौसिएका छन्।

पहिले पहिले करिब एक महिनासम्म नाचिने सखिया नाच आजभोलि हप्तादिन सम्ममात्र नाच्ने गरिन्छ। गाउँका युवतीहरू अध्ययन गर्न प्रायः गाउँबाहिर जाने भएकाले र नयाँ पुस्ता सखिया नाच नाच्न अग्रसर नहुँदा सखिया नाचको मौलिक लोक संस्कृति हराउँदै जाने अवस्थामा पुगेको छ। बारबर्दिया नगरपालिका भित्रको निकै थोरै गाउँमा मात्र नाचिने ‘सखिया नाच’लाई नगरपालिकाले समयमै संरक्षणप्रति चासो राखेन भने अबको केही वर्ष पछि सखिया नाच लोप भएर जानेछ।

केपी ओली, रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको छ। जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उनीहरू उल्लेखित पदमा बहाल रहेका थिए।

त्यस्तै उनीहरूलाई उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि माग गरिएको आयोगका सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन्।

शर्माका अनुसार जेनजी आन्दोलनको घटनामा अनुसन्धानको दायरामा रहेको र जुनसुकै बेला पनि आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र उपत्यकाबाट बाहिर जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको हो।

जेनजी आन्दोलनका घाइतेलाई वर्गीकरण गरेर सरकारले राहत दिने

सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको छ। प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलले बताए। त्यस्तै जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय पनि भएको छ।

त्यस्तै सरकारले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त भएका छन्।

जेनजी वार्ता टोलीलाई आदिवासी जनजाति जेनजी समूहहरूको बहिष्कार

आदिवासी जनजातिलगायत जेनजी समूहहरूले ११ सदस्यीय वार्ता टोलीलाई बहिष्कार गरेको छ। उक्त वार्ता टोलीमा लोकतन्त्रविरोधी तत्वहरूको घुसपैठ भएको, बैठक बस्न नसकेको, समानुपातिक समावेशीतालाई इन्कार गेरको आरोप लगाइएको छ।

नेपालमा विभिन्न कालखण्डमा भएको नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतबाट हासिल गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानाताका आधारमा समावेशी राज्य प्रणाली र सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्नुपर्ने आदिवासी जनजाति जेनजीहरूको माग छ।

आफूहरूलाई बिना जानकारी ११ सदस्यीय वार्ता टोली बनाएको भर्त्सना पनि गरिएको छ। यी समूहमा ३९ जिल्लाका सीमान्तिकृत युवाहरूको सहभागिता रहेको दाबी गरिएको छ।

जेनजीको मर्मलाई संस्थागत गर्न राज्य पक्षसँग वार्ता गर्द भन्दै ११ सदस्यीय वार्ता टोली बनाइएको थियो। जसमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, रक्षा बम, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया, अर्पित कुँवर र दीपक जंग अधिकारी रहेका छन्।

टेस्ट राष्ट्रविरुद्ध नेपालको ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित

नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।

अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।

वेस्ट इन्डिजका लागि नवीन विदेशीले सर्वाधिक २२ रन बनाउँदै हिट विकेटको रुपमा पेभेलियन फर्किए। उनले २५ बलमा समान १ चौका र १ छक्का प्रहार गरे।

ओपनर ब्याटर अमिर जाङ्गो १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन बनाए। कप्तान अकिल होसेनले ८ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाउँदै क्याच भए।

वेस्ट इन्डिजले पावरप्लेमा २ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभर सकिँदा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो। १७ ओभरमा आएर ७ विकेटको क्षतीमा वेष्टइन्डिजले १०० रन पूरा गर्‍यो।

नेपालका लागि बलिङमा आज लेग सिपनर सन्दीप लामिछाने थिएनन्। बलिङ गरिरहँदा दोस्रो इनिङ्सको पाँचौं ओभर बलिङ गरिरहँदा उनी लडेका थिए। उनलाई लोअर ब्याकमा समस्या भएको देखिन्थ्यो। उनलाई केही बेर फिजियोथेरपिष्टले उपचार गरेपछि उनले पुनः बलिङ गर्दै ४.५ ओभरमा अगष्टेको विकेट लिएका थिए।

त्यसपछि भने नन्दनलाई मैदानमा देखिएन। उनी उपचारका लागि मैदानबाट बाहिरिँदा लोकेश बमले फिल्डिङ गरेका थिए। नेपालका लागि बलिङमा कुशल भुर्तेलले २ विकेट लिँदा नन्दन यादव, रोहित पौडेल, करण केसी,दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ओपनरदेवय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किदा रोहित र कुशल मल्लले ५८ रनको साझेदारी गरेका थिए।
कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए।

सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे।
वेष्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए।

माओवादी केन्द्रीय कमिटी विघटन, सबै नेताको सम्पत्ति छानबिन गर्ने प्रचण्डको घोषणा

माओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। प्रज्ञा भवन भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो।

माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ। ‘दुई चलेको बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले पदाधिकारीबाट छानबिन सुरू गर्नेछ,’ प्रवक्ता सापकोटाले भने।

त्यस्तै माओवादीको केन्द्रीय कमिटी विघटन भएको छ। बैठकले केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड तोकिएका छन्। त्यस्तै बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता र विचार मिल्ने पार्टीहरूसँग छलफल प्रक्रिया जारी राख्ने निर्णय पनि भएको प्रवक्ता सापकोटाले बताए।

ओली सरकारको निर्णय उल्ट्यो, प्रधानमन्त्री मातहत रहेका राजस्व, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग मन्त्रालयमै फर्काइयो

सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरिएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका ती निकायलाई अर्थ र गृह मन्त्रालय मातहतमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

त्यस्तै जेनजी आन्दोलनका क्रममा मृत्यु भइ पहिचान खुलेका मृतक नेपाली नागरिक (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक) का परिवारलाई प्रति परिवार १० लाख र अन्य खर्च ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत गरेको छ भने अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्न सकिने व्यवस्था गरिएको खरेलले बताए। बैठकले सरकारको प्रवक्तामा खरेललाई तोक्ने निर्णय गरेको छ।

यो सरकारले संविधान संशोधन गर्न सक्दैन, युवाहरू उत्साहका साथ निर्वाचनमा सहभागी हुनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम अन्तरिम सरकारले गर्न नसक्ने स्पष्ट पारेकी हुन्।

संविधान संशोधन गरेर शासकीय स्वरुपलगायतका विषयमा बहस चलिरहेका बेला प्रधानमन्त्री कार्कीले यो सरकारले संविधान संशोधन गर्न नसक्ने बताएकी हुन्।

‘आन्दोलनमा क्रममा उठाइएका कतिपय विषयहरू सरकारको भन्दा बाहिर भएकाले निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाले संशोधन गर्न आह्वन गर्दछु,’ उनले भनिन्, ‘अन्तरिम सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्दैन। त्यसका बाबजुद हामीले अधिकतम प्रयास गर्छौं।’

प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मुख्य माग भ्रष्टाचार र सुशासन रहेको बताउँदै सरकार त्यसप्रति जिम्मेवार भएर लाग्ने बताइन्।

त्यस्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका युवा तथा विद्यार्थीहरूको दोषीमाथि कारबाही गर्ने बताइन्। आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड गर्नेहरूमाथि पनि कारबाही गर्ने उनले प्रतिवद्धता जनाइन्। उनले निजी सम्पत्तिमाथि भएको आगजी र तोडफोडको भर्त्सनासमेत गर्दै भनिन्, ‘यो सरकार दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाउँछ।’

त्यस्तै प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूलाई निर्वाचनमा सहभागी हुन आह्वान गरिन्। फागुन २१ गते हुन गइरहेको निर्वाचनमा उत्साहका साथ सहभागी हुन उनले आह्वान गरेकी हुन्। ‘भयरहित निर्वाचन सम्पन्न काम गराउन सरकारले काम सुरू गरिसकेको छ। युवाहरूलाई निर्वाचनमा सहभागिता गराउन सरकारले अध्यादेश पनि जारी गरिसकेको छ। आगामी निर्वाचनमा युवाहरूलाई उत्साहका साथ सहभागी हुन् आह्वान गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन्। प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी हुन राजनीतिक दलहरूलाई पनि आह्वान गरिन्।

उनले यसपटक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि सहभागी गराउने तयारी गरिरहेको बताइन्।

त्यस्तै भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको उनले बताइन्। सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको बताइन्।

प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेनजी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेको सरकारलाई सहयोग गन सबैसँग आग्रह गरिन्। उनले चालु आर्थिक वर्षअन्तर्गतका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका नाममा विनियोजित बजेट खारेज गरिएको जानकारी गराउँदै क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको बताइन्।

प्रधानमन्त्री कार्कीले परिवर्तित स्थितिमा मनोबन गिराउने खालका काम नगर्न र रुपान्तरित भएर सेवाप्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपील गरिन्।

प्रतिनिधिसभा पुनःस्थापना गर्न सुदूरपश्चिम कांग्रेसको माग

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेको छ। बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो।

‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ। त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर आमनिर्वाचनमा जानुपर्छ,’ सुदूरपश्चिम कांग्रेसले भनेको छ।

सुदूरपश्चिम कांग्रेसले यस प्रक्रियामा जेनजी युवाहरूलाई समेत सहभागी गराउनुपर्ने बताएको छ। बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी थिए। त्यस्तै बैठकमा थारू समुदायबाट प्रदेश सांसद गीता चौधरी र जिल्ला उपसभापति खेमराज चौधरी पनि सहभागी थिए।