केन्द्रीय कमिटी विघटन गर्न माओवादी तयार, प्रचण्डलाई महाधिवेशन आयोजकको संयोजक बनाउने

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनले बताए। बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने उनले जानकारी दिए।

विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको भन्दै सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताए। केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी, केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने सापकोटाको भनाइ छ।

त्यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय भएको उनले जानकारी दिए। जेनजीलगायत परिवर्तनकारी शक्तिहरूसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्नेसँग कार्यगत एकताका लागि प्रभावकारी पहल गर्ने निर्णय बैठकले गरेको छ।

उमेर पुगेका युवाले पनि भोट हाल्न पाउने, राष्ट्रपतिले गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, ‘अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने छ ।’

जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन । तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरुको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन अध्यादेश जारी भएको हो ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो । उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था उल्लेख थियो । उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको आयोगले जनाएको छ ।

३ महिनाभित्र परीक्षाफल निकाल्न विश्वविद्यालयलाई मन्त्री महावीर पुनको निर्देशन, नभए अनुदान रोक्का गरिदिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्रालयमा आज आफूले काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको भन्दै यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ʻकेही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरी दिने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।ʼ

यस्तै मन्त्री पुनले देशभरका सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका छन्। उनले लेखेका छन्,ʻनेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने छ।ʼ
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने पनि निर्देशन दिए।

बालेन लक्षित ओलीको टिप्पणी- केही व्यक्तिले सिंहदरवार जलाउँछु भनेकै थिए त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरबार नजलाएको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिंहदरबार जलाउँछु भन्नेहरूले नै जलाएको आरोप लगाए।

‘सिंहदरबार जलाइयो। कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र? पक्कै जलाएनन्। अरु नै कुनै घुसपैठिया तत्त्वहरूले, जो पहिलेदेखि नै भन्दैथिए त सिंहदरबार जलाउँछु भनेर। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरैपल्ट त भएन नि? धैरैपटक भइसक्यो,’ उनले भने।

अध्यक्ष ओली योजनाबद्ध तरिकाले सिंहदरबारलगायत सरकारी संरचनाहरूमा आगजनी गराएको बताए। उनले साँझ परेपछि उज्यालो हुने भन्दै नेता-कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरे। ‘बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन। साँझ पर्‍यो भन्दैमा भोलि विहान हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। उज्यालो नहुने कुरा हुँदैन, उज्यालो हुन्छ,’ उनले भने।

जेनजी आन्दोलनमा भएको घटनापछि देश बदनाम भएको उनले बताए। भिसा नदिने, काम नदिनेजस्तो अवस्थामा देश पुगेको भन्दै उनले नेपाल इमान्दार मानिसहरूको देश भएको चिनाउनुपर्ने बताए।

‘अहिले भिसा नदिने, काम नदिने अवस्था आइसक्यो। नेपाल एउटा बदनाम अवस्थामा पुगिसक्यो। त्यसबाट हामी जोगाउनुपर्छ। नेपाल इमान्दार र कर्मठ मानिसहरूको देश हो। अत्यन्त जिम्मेवार मानिसहरूको देश हो। सभ्य मानिसहरूको देश हो। सभ्यताको लामो इतिहास बोकेको देश हो। त्यो सभ्यतालाई अगाडि लैजा नयाँ पिँढी तम्तयार भएको देश हो भनेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

देशमा ठूलो क्षति भएकाले यस्ता घटना हुन नदिन संगठित भएर जानुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले नेता-कार्यकर्तालाई हिम्मत र हरेस नखाइकन अगाडि बढ्न निर्देशन दिए।

पोखरीमा डुबेर दुई बालिकाहरू सुस्तिका चौधरी र आशकी चौधरीको मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका-२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ। स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो।

दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नवनियुक्त चार मन्त्रीहरूले लिए सपथ, कसलाई के जिम्मेवारी?

नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका थिए।

यसअघि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम सिफारिस गरे पनि अन्तिम समयको उनको सपथ रोकिएको थियो।

सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जेनजी समूहको प्रस्तावमा राष्ट्रपति पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका थिए। त्यसपछि प्रधानमन्त्री कार्कीको सिफारिसमा रामेश्वर खनाल, कुलमान घिसिङ र ‌‌ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने बताउँदै आएकी छन्।

हेलो थारू जेनजीहरू, अब पनि नजाग्ने हो? (विचार)

सुमनिमा चौधरी

जेनजी पुस्ताले नेपालको इतिहासमै कसैले नसकेको सफलता हासिल गरे। दसकौंदेखि नेपाली जनतामाथि राजनीतिक सिण्डिकेट लादिरहेका नेताहरूलाई एकैपटक सत्ता र सदनबाट सडकबाट पछारिदिए। यो सफलतामा थुप्रै युवाहरूले आफ्नो ज्यानको आहूति दिए। राज्यको गोली खाएका कयौं युवाहरू अझै अस्पतालको शय्यामा छटपटाइरहेका छन्।

जेनजीको सफलतासँगै अहिले अन्तरिम सरकार गठन गरिएको छ। जेनजी पुस्ताकै चाहना बमोजिम प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएकी छन्। जेनजी पुस्ताकै चाहना बमोजिम नै मन्त्रीहरू पनि नियुक्त भइरहेको बताइएको छ। तर, मन्त्रीहरूको उमेर हेर्दा कोही पनि जेनजी समूहका देखिँदैनन्। न, अहिलेसम्म देखिएका मन्त्रिमण्डल समावेशी नै बनाइएको छ। चर्चा र ख्याती कमाएका भनिएकाहरूलाई धमाधम मन्त्री बनाइँदैछ।

अन्तरिम सरकार गठन भएदेखि थारू समुदायबाट पनि मन्त्री बन्नुपर्ने बहस सुरू भयो। जेनजीका विभिन्न समूह र सामाजिक सञ्जालमा थारूलाई मन्त्री बनाउन दबाब सिर्जना गरिएको छ। प्रधानमन्त्री, मन्त्री र जेनजी अभियन्ताहरूलाई पनि थारूलाई मन्त्री बनाउन दबाब दिइएको छ। तर, केही थारू युवाहरूले दिएको दबाब हालसम्म काम लागेको देखिँदैन। यसको ज्वलन्त उदाहरण हो, सोमबार मन्त्रीमा सपथ लिएका अनुहारहरू।

थारूहरू देशको चौथो ठूलो जनसंख्या भएको समुदाय हो। तर, राज्यको असमावेशी चरित्रले थारूहरूले कहिल्यै आफ्नो हक अधिकार पाएनन्। संविधानले नै थारूलाई छुट्टै कलस्टर दिएको छ। त्यो कलस्टरले केवल थारू आयोग बन्नुबाहेक थारू समुदायले कुनै उपलब्धि हासिल गरेका छैनन्। राजनीतिक दललालई समावेशी बनाउने कानुन बने पनि थारूहरू अपवादबाहेक मुख्य राजनीतिक दलका पदाधिकारी बन्न सकेका छैनन्। निर्वाचन आयोगको समानुपातिक संरचना भए पनि जनसंख्याको अनुपातमा त्यहाँ थारूहरू अटाउन सकेको छैन। मुखमै आइसकेको थारू कोटा रोकिँदा लाखौं युवाहरू सरकारी सेवामा जाने बाटो बन्द भएको छ। यी यावत समस्या समाधान गर्न अन्तरिम सरकारमा थारूको प्रतिनिधित्व एकदमै जरुरी छ।

त्यसो भए के गर्ने त?
धेरैलाई थाहा नहुन पनि सक्छ, थारूहरूले पहिलोपटक आफ्नै नेतृत्वमा आन्दोलन गरेर देशलाई हल्लाइदिएका थिए। तत्कालीन अन्तरिम संविधानमा थारूलाई मधेसी बनाइएपछि देशभरका थारूहरूले विशाल आन्दोलन गरेका थिए। २०६५ सालको त्यो आन्दोलनमा वयस्क नेताहरू मात्र थिएनन्, परिवर्तन चाहने अहिलेका जस्तै नयाँ पुस्ताहरू पनि थिए। युवाहरूको ब्यापक सहभागिताले नै पहिलो थरुहट आन्दोलन सफल भएको थियो। संविधान जारी हुँदै गर्दा २०७२ मा भएको आन्दोलनमा पनि थारू युवाहरूको ठूलो सहभागिता थियो। युवाहरुको सक्रियतामा त्यसबेला पनि देश ठप्प पारिएको थियो। युवाहरूले ज्यानको आहूति नै दिएर आन्दोलन गरे पनि राज्य पुनःसंरचनाका सवालमा थारूहरूलाई ठूलो धोका भयो। थरुहट प्रदेश नबनाइँदा थारूहरूको मन चिढियो। तर, टीकापुर घटनाले थारू आन्दोलनलाई यसरी बिस्थापित बनाइदियो कि त्यसपछि थारूहरू उठ्नै सकेनन्, जुरुमुराउनै सकेनन्।

अहिले पनि थारूका नाममा थुप्रै दोकानहरू खुलिरहेकै छन्। नाममात्रका ती दोकानहरूले कहिले टीकापुर विद्रोह दिवसका नाममा ललिपप बेच्छन्, कहिले कालो संविधान दिवसका रूपमा चकलेट बेच्छन्। केवल उनीहरू यस्ता दिवसहरूमा बर्खे पर्व मनाउँछन्। थरुहट प्रदेश र थारू भूगोलमाथि गरिएको छेडखानीविरुद्ध उनीहरू सडकमा उत्रन सक्दैनन्। थारूकै कोटा खाएर संसद पुग्छन्, तर आफ्नो पार्टी र नेताको बखान बाहेक अरु मुद्दा उठाउँदैनन्।

हो, थारू समुदायको यही बेथिति अब परिवर्तन हुन जरुरी छ। जेनजीले देशमा नयाँ सिस्टम ल्याउनुपर्ने माग गरिरहँदा थारू जेनजीहरूले पनि पुराना राजनीतिक दलका नेताहरूलाई काखापखा लगाएर अग्रपंक्ति देखिन जरुरी छ। वर्षौंदेखि हामीले सामाजिक सञ्जालमार्फत यही पुरातवादी नेताहरूको विरोध गर्दै आएका छौं। जेनजी आन्दोलनको म्यान्डेट पनि भ्रष्टाचारमुक्त देश र विकासका निम्ति युवाहरू सक्रियता हुनुपर्छ भन्ने छ। यो बेला थारू जेनजीहरूका लागि पनि उतिकै उपयुक्त छ। थारू जेनजीका पनि यही म्यान्डेट हुन जरुरी छ।

अब थारू जेनजीहरू सामाजिक सञ्जालमा मात्र सीमित हुनु भएन। देखासिकी नै सही, भौतिक र भर्चुअल माध्यमबाट उनीहरू जुट्न जरुरी छ। थारू जेनजीहरू अग्रपंक्तिमा नदेखिएरै अहिले अन्तरिम सरकारमा थारूलाई मन्त्री बनाउने मुद्दा कमजोर बनेको छ। अवस्था यस्तै रहे, मन्त्री बन्ने कुरा मात्र होइन, थारूहरूको ठूलो आन्दोलनले प्राप्त थारू कलस्टर, प्रेदश संरचना, राजनीतिक अधिकार पनि समाप्त हुनसक्छ।

थारू जेनजीहरूलाई अहिले विभिन्न नाममा रहेका थारू दोकानहरू (संघ-संस्थाहरू)ले पनि साथ दिन जरुरी छ। राजनीतिक सिण्डिकेटमा लिप्त थारू नेताहरूले पनि साथ दिन जरुरी छ। किनकि एकता र समूहले नै मुद्दालाई बलियो बनाउँछ। त्यो एकता र सामूहिकता प्रदर्शन गर्न सकिएन भने थारू समुदायको दुर्दशा पनि दूर छैन।

थारूलाई मन्त्री बनाउनुपर्ने मागसहित जागे थारू जेनजीहरू, व्यापक जनसमर्थन जुटाउँदै

प्रधानमन्त्री सुशीला कर्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले आइतबार थप पाँच जना मन्त्री विस्तार गरेकी हुन्। तर, नयाँ मन्त्रीहरू समावेशी नभएको भन्दै चर्को आवाज उठ्न थालेको छ। अन्तरिम सरकार बनेदेखि नै थारू समुदायबाट प्रतिनिधित्व हुनेगरी मन्त्रिमण्डल बन्नुपर्न आवाज उठ्न थालेको थियो। तर, ९ सदस्यीय मन्त्रिमण्डल विस्तार हुँदासमेत थारू समुदायका व्यक्ति परेका छैनन्।

यसैबीच थारू जेनजीहरूले आफ्नो समुदायबाट मन्त्री बनाउन र मन्त्रिपरिषद् समावेशी बनाउन माग गरेका छन्। आइतबार सामाजिक सञ्जालमा थारू जेनजीहरूले थारू मन्त्री बनाउन दबाब दिएका हुन्। स्रोतका अनुसार केही थारू युवाहरूले प्रधानमन्त्रीका सल्लाहकार भनिएकाकहरूसँग, मन्त्रीहरूसँग र जेनजी अभियन्ताहरूसँग पनि थारू समुदायबाट मन्त्री बनाउन माग गरेका छन्।

थारू जेनजीहरूले विभिन्न ग्रुम बनाएर सन्देश पनि प्रवाह गरिरहेका छन्। सन्देशमा भनिएको छ, ‘हामी, थारू समुदाय समावेशी शासनको दृढ माग गर्दछौं। जनआन्दोलन, थरुहट/थारुवान आन्दोलनलगायत सामाजिक न्याय तथा राजनीतिक अधिकारका विगतका आन्दोलनहरूलाई आत्मसात् गर्दै हाम्रो बलिदानको महत्त्वलाई बुझ्न जरुरी छ। त्यसैले प्रतिनिधित्वको हाम्रो संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै अन्तरिम सरकारको मन्त्रिपरिषद्‍मा थारू समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग राख्दछौं। थारू समुदायले जेन-जी (Gen-Z) आन्दोलनलाई समर्थन गर्दछौं र पारदर्शिता, जवाफदेहिता र सार्वजनिक निकायहरूमा व्याप्त भ्रष्टाचार उन्मूलनका लागि यसका मागहरूसँग दृढतापूर्वक सहमत छौं। जेन-जी आन्दोलनका क्रममा आफ्नो जीवन बलिदान गर्ने शहीदहरूलाई पनि गहिरो श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं। अन्त्यमा, अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरिरहेका बेला, प्रधानमन्त्री र निर्णयकर्ताहरूलाई विशेष अनुरोध, थारू समुदायलेसमावेशी, संघीय लोकतान्त्रिक पुनर्संरचनाको लागि गरेका थरुहट/थारुवान आन्दोलन, जनआन्दोलन, सामाजिक न्याय र राजनीतिक अधिकारका हरेक आन्दोलनमा भएको बलिदानी र सीमान्तिकृत समुदायका लागि गरिएका निरन्तर वकालतजस्ता राष्ट्रप्रतिको योगदानलाई विशेष ध्यानमा राख्न आग्रह गर्दछौं। र, अन्तरिम सरकारको मन्त्रिपरिषद्‍मा थारू समुदायबाट अनिवार्य रूपमा प्रतिनिधित्व सुनिश्चित गर्न जोडदार माग गर्दछौं।’

जेनजी अभियन्ताहरू हेमनारायण दास चौधरी र अर्णव चौधरीले यस मुद्दालाई समुदायस्तरमै फैलाउनुपर्ने बताउँदै आएका छन्। ‘थारूहरूले सधैं आफ्नो राजनीतिक र सामाजिक मुद्दाका लागि लड्दै आएको छ। राज्यको हरेक निकायमा थारूहरूले समावेशीताको आवाज उठाउँदै आएको छ। अन्तरिम सरकारमा पनि समावेशी बन्नुपर्छ। थारूले प्रतिनिधित्व पाउनुपर्छ। यसका लागि सम्पूर्ण थारू समाज एक ठाउँ उभिनुपर्छ। विशेषतः युवा पुस्ताहरूको आवाज बुलन्द हुनैपर्छ,’ उनीहरू भन्छन्।

पाँच मन्त्री थपिँदा थारू समुदायबाट शून्य

मन्त्रिपरिषद्को बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ। जसमा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा उनीहरूको नाम सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले पुष्टि गरेको हो।

सञ्चारमन्त्रीका रूपमा सिफारिस भएका खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्। अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् । ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पुन नेपालमा विज्ञान र अनुसन्धानको विकास गर्न लामो समयदेखि सक्रिय छ ।

पुनले आफ्नै जीवनकथा समेटेर ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ प्रकाशन समेत गरेका छन्। पछिल्लो समय उनी २०५९ सालदेखि बन्द अवस्थामा रहेको वीरगन्जस्थित कृषि औजार कारखानालाई पुन: सञ्चालनमा ल्याउँदै त्यही परिसरमा नयाँ आविष्कारका कामहरू गरिरहेका छ।

यसअघि थारू समुदायबाट पनि मन्त्री बनाउने चार्चा भइरहे थियो। तर, प्रधानमन्त्री कार्की लेहालसम्म थारू समुदायबाट कोही व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेका छैनन्।

सरकारको निर्णय : जेनजी आन्दोलनको घटना छानबिन गर्नेदेखि हितेन्द्रलाई हटाउनेसम्म

सरकारले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागि आयात गर्ने आयतीत सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। त्यस्तै प्रभावित उद्योग र व्यवसायहरूले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने व्यवस्था पनि गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।

त्यस्तै जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिनलगायतमा सामान मिनाहा गरी कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।

जाँचबुझ आयोगको सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको र समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा एआइजी डा. मनोज केसीलाई सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ भने हितेन्द्र शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताए।