प्रहरी जवान श्याम चौधरी तालिम केन्द्र परिसरमै मृत फेला

नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्।

उनका छिमेकीसमेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति तालिम केन्द्र नजिकै झुन्डिएको अवस्थामा भेटिएको बताए।

उनका अनुसार सामान्य परिवारमा रहेका श्याम तीन भाईमध्ये माइलो हुन् बुवाआमा र दाजुभाई गाउँमै मजदुरी गर्दछन्। गाउँलेका अनुसार श्यामको पहिले कोहलपुरको एक युवतीसँग प्रेम सम्बन्ध थियो पछि उनलाई जानकारी नै नदिई अर्को युवतीसँग पनि प्रेम सम्बन्ध राखेका कारण दुवै पक्षबाट तनावमा थिए।

यो विषय स्थानीयबाट आफूले पनि सुनेको वडाध्यक्ष मिनकुमार चौधरीले जनाए। चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

कुलमानलाई भेटेर थाकस सभापतिले भने- अध्यादेशबाट निजामतीमा थारू कोटा सुनिश्चित गर्नुस्

थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरीले ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। मन्त्री निवासमा शनिबार थाकस पदाधिकारीहरूले घिसिङसँग भेटवार्ता गरेका हुन्।

भेटमा विभिन्न चरणको थारु आन्दोलनबाट स्थापित अधिकारहरूलाई सुनिश्चित गर्नुपर्ने माग गरिएको थियो। सभापति चौधरीले संघीय निजामती विधेयकले थारू कोटा सुनिश्चित गरेको र त्यो एक दिन ढिलाई हुँदा पास हुन नसकेको गुनासो पोखेका थिए। सभापति चौधरीले अध्यादेशमार्फत उक्त विधेयक जारी गर्न मन्त्री घिसिङसँग अनुरोध गरेका थिए।

‘एक-दुई दिनको ढिलाइले थारू कोटा सुनिश्चित हुन सकेन। अध्यादेशबाट भए पनि निजामती विधेयक जारी गरेर थारू कोटा सुनिश्चित गर्नुपर्छ भनेर आग्रह गरेका छौं,’ थारुवानसँग सभापति चौधरीले भने।
त्यस्तै जेनजी आन्दोलनमा सहिद भएका सिरहाका विजयी चौधरीको परिवारलाई समयमै राहत उपलब्ध गराउन र उनको परिवारलाई रोजगारीको ग्यारेन्टी र बच्चालाई निशुल्क शिक्षा प्रदान गर्न माग गरेका थिए। त्यस्तै स्थानीय बजेटबाट विजयको शालीक बनाउन पनि थाकसले माग गरेको छ।

थाकसले छिट्टै प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भेटेर थारू अधिकार सुनिश्चित गर्न माग गरिने सभापति चौधरीले बताए। मन्त्री चौधरीले नयाँ सरकार बनेको र हालै मन्त्री बनेकाले यस विषयमा अध्ययन गरेर अगाडि बढ्ने बताएका थिए।

शीतल निवासमा देखिएका दृश्यले मलाई निराश तुल्यायो : रास्वपा नेता चौधरी

अशोककुमार चौधरी

तीन वर्षको राजनीतिक यात्रामा मैले पाएको अनुभव सरल र सहज थिएन। जिम्मेवारीलाई मैले सधैं गम्भीरतापूर्वक, इमान्दार नियत र निष्पक्ष दृष्टिकोणसहित पूरा गर्ने प्रयास गरें। यस यात्रामा मलाई साथ, माया, विश्वास र निरन्तर सहयोग प्रदान गर्नु भएका सम्पूर्ण देशबासीप्रति म गहिरो आभार प्रकट गर्दछु।

संसद, संसदीय समिति र संगठनमा मेरो उपस्थितिको एउटै ध्येय थियो, जनताको आवाज बुलन्द गर्नु। भ्रष्टाचार र कुशासनविरुद्ध उठ्नु र निरन्तर संघर्ष गर्नु मेरो दैनिकी बन्यो। थारू समुदायबाट राजनीतिमा प्रवेश गर्दा मैले सदैव महसुस गरें। यो यात्रा केवल व्यक्तिगत उन्नतिको लागि होइन, ऐतिहासिक विभेद झेल्दै आएका तथा सामाजिक-आर्थिक रूपमा पछाडि पारिएका वर्गहरूको पक्षमा बोल्न र लड्नका लागि हो। संसदमा प्रवेश गर्दा मेरो उद्देश्य स्पष्ट थियो, नीति निर्माण, कानुन निर्माण र कार्यपालिकालाई जवाफदेही बनाउन सकिन्छ। यो सजिलो थिएन, तर म विश्वस्त थिएँ, राजनीति अझै पनि कानुनी बाटोतर्फ फर्कन सक्छ।

यसबीचमा मैले हाम्रो नवपुस्ता जेनजीको अदम्य साहस देख्ने अवसर पाएँ। २७ घण्टामै उनीहरूले इतिहास रचे। यसले नयाँ आशा जगाएको छ। नागरिकहरूले स्वयं निर्वाचन प्रणाली सुधारको आवश्यकता महसुस गर्न थालेका छन्, जुन भविष्यका लागि सकारात्मक संकेत हो।

मलाई लाग्छ, जेनजीले उठाएका ‘भ्रष्टाचार र बेथिति’ विरुद्धका मागहरू पूर्ण रूपमा न्यायोचित छन् र समाधान योग्य पनि छन्। तर, संविधान दिवसकै दिन शीतल निवासमा देखिएका दृश्यहरूले भने मलाई निराश तुल्यायो। पुरानै झुन्डसँग अघि-पछाडि लागेका केही झल्कोहरूको तस्बिर देख्दा मनमा प्रश्न जाग्छ, के यही हो त हाम्रा वीर जेनजी युवाहरूको बलिदानले ल्याएको परिवर्तन?

लोकतान्त्रिक हक अधिकारको निर्वाध उपभोग, विधिमा आधारित असल शासन र चरम भ्रष्टाचार तथा दण्डहीनताविरुद्ध कठोर र स्पष्ट कदम चाल्न ढिला गर्नु हुँदैन।

सर्वप्रथम
१) तत्काल नीतिगत निर्णय र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति तथा स्रोतको छानबिन होस्।
२) सबै निकायमा गरिएका राजनीतिक नियुक्तिहरू एकै निर्णयबाट खारेज गरि मेरिटोक्रेसीको आधारमा स्थापित गरिनु पर्छ।
३) नेपालबाट विदेशी बैंकमा पठाइएका सम्पत्ति फिर्ता ल्याइनुपर्छ।
४) उच्च पदस्थ कर्मचारी र नेताहरूको बैंक खाता तथा सम्पत्ति तत्काल रोकिनुपर्छ।
५) स्वतन्त्र, निष्पक्ष र पारदर्शी उच्चस्तरीय न्यायीक छानबिन आयोग तत्काल गठन होस्।

मलाई थाहा छ, यो बाटो सजिलो छैन। तर, सत्य र न्यायका लागि बोल्नु पर्ने आवाज चुप लाग्न मिल्दैन। देश र जनताको भविष्य यही स्पष्टतामा निर्भर छ। साथै म जहाँ भए पनि देश र जनताको सेवामा निरन्तर समर्पित रहने मेरो दृढ संकल्प छ।

शेरबहादुर देउवाको गर्दनमा १२ वटा टाँका लगाइयो

जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवाको गर्दनमाथि धारिलो हतियार प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

उनका अनुसार हतियारको विषयमा भने पुष्टि हुन सकेको छैन। ‘डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र १२ वटा टाँका लगाइएको भन्नुभएको छ। तर, कस्तो हतियार प्रहार भयो भन्ने कुरा खुलेको छैन। विभिन्न भिडियोहरूमा प्रदर्शनकारीले ह्यामर र रेन्जहरू बोकेका देखेका छौं,’ कार्यसम्पादन बैठकपछि उनले भने।

सभापति देउवा केही दिन अझै डाक्टरको निगरानीमा रहने उनले बताए। ‘बाहिर निस्किँदा हेर्नेको भीड लाग्न सक्छ। सही उपचार नपाउन सक्छ। त्यसैले डाक्टरको परामर्शमा राख्न भन्नुभएको छ,’ उनले भने।

सभापति देउवा र उनकी पत्नी आरजु राणाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनले बताए। तर, सभापति देउवा कुरा गर्दा, हिंडडुल गर्दा चक्कर आउने गरेको प्रचार प्रसार विभाग प्रमुख विश्वकर्माले बताए। ‘सभापतिज्यु उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा अप्ठ्यारो महसुस हुने गरेको छ,’ उनले भने।

कांग्रेसले सभापति देउवा र केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ।

‘फेरि उठ्छौं’ भन्ने नेताहरूलाई सुरेन्द्र चौधरीले दिए यस्तो चेतावनी

नागरिक अभियन्ता सुरेन्द्र चौधरीले नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन आग्रह गरेका छन्। प्रमुख राजनीतिक दलका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व दिन आनाकानी गरिरहेका बेला नागरिक प्रथमका अभियन्ता चौधरीले जेनजी आन्दोलनको मर्म पनि राजनीतिक दलहरूले विगतको कुकर्म त्यागेर नयाँ स्वरुपमा आउनु रहेको बताए।

उनले जेनजी आन्दोलनले उठाएको आदर्शलाई मनन गर्न नेताहरूलाई सुझाव पनि दिए। पुराना दलहरू फेरि उठ्छौं भनेर उद्घोष गरिरहँदा उनले फोनिक्स चरा (प्राचीन इजिप्ट मिथक)को कथाले बोकेको सन्देशको मजाक नबनाउन आग्रह गरे।

‘पुराना दलका मुखियाहरूले नयाँ पुस्तालाई कार्यवाहक जिम्मेवारीसमेत दिन आनाकानी गरिराखेको अवस्थामा फोनिक्स चराको कथालाई आफ्नो आदर्श भनेर उद्धृत गर्नु राजनीतिमा जेनजीले उठाएको आदर्शवादको खिल्ली उदाउनु हो,’ उनले भने ।

सन् १८५० हान्स क्रिश्चियन एन्डरसनद्वारा लिखित फिनिक्स चराको कथाले नवीकरण, पुनरुत्थान, अमरता र आगोको मृत्यु र राखबाट पुनर्जन्मको पौराणिक चक्रको माध्यमबाट प्रतिकूलतामाथि विजयको प्रतीक हो। यसले परिवर्तन, आशा र चुनौतीहरू वा व्यक्तिगत विनाशलाई पार गरेपछि बलियो भएर उदाउने एउटा शक्तिशाली रूपकको प्रतिनिधित्व गर्दछ। इजिप्टियन, ग्रीक र अन्य पौराणिक फोनिक्स चराको कथाले दिने सन्देश भनेको आगोको ज्वालामा भष्म भएपछि आफ्नै खरानीबाट नयाँ, जवान चराको रूपमा उठ्ने क्षमता हो। मृत्यु र पुनर्जन्मको चक्रको अवधारणाले फिनिक्सलाई अनन्तजीवन र लचिलोपनको प्रतीक बनाउँ।

फिनिक्सले पुरानो आत्म वा विगतका कुकर्म हरूलाई त्यागेर बलियो र नवीकरण हुने, विनाशको अवधि पछि नयाँ सुरुवात गर्ने विचारलाई मूर्त रूप दिन्छ। फिनिक्स चराको कथाले खरानीदेखि नयाँ जीवनसम्मको यात्राले व्यक्तिगत चुनौतीहरू पार गर्ने र कठिन समयपछि विजय प्राप्त गर्ने प्रतिनिधित्व गर्छ। यसको चिरस्थायी चक्रले आशाको सन्देश प्रदान गर्छ, यसले विनाशबाट पनि नयाँ सुरुवात हुन सक्छ भन्ने सन्देश दिन्छ।

अभियन्ता सुरेन्द्र चौधरीले पुराना दलहरूलाई प्रतिप्रश्न गर्दै भने, ‘के तपाईँहरू दलीय सिण्डिकेटको संस्कारबाट बाहिर निस्किन तयार हो? के तपाईँहरु नयाँ, जवान चराको रूपमा उठ्न तयार हो? के तपाईँहरू विगतका कुकर्महरूलाई त्यागेर बलियो र नवीकरण हुन, नयाँ सुरुवात गर्ने विचारलाई मूर्त रूप दिन तयार हो? यदि तयार हो भने ठीक छ। जेनजी विद्रोहको मर्म पनि यही हो। तर, अझै पनि पुरानै नेता , पुरानै सोंच र चिन्तन बोकेर जसरी पनि सर्वसत्ता बाद लाद्ने सोँचमा हुनुहुन्छ भने फिनिक्स चराको कथाले बोकेको आदर्शलाई आफ्नो अनुकुलतामा व्याख्या गर्ने अधिकार तपाईँहरूलाई छैन।’

संविधान दिवसको विरोध गर्दै थाकसले भन्यो- पछिल्लो राजनीतिक घटनाले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो

थारू कल्याणकारिणी सभाले पछिल्लो राजनीतिक घटनाले प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएको छ। संविधान दिवसको अवसरमा थाकसका अध्यक्ष प्रेमीलाल चौधरी र महामन्त्री मिनराज चौधरीले संयुक्त विज्ञप्ति जारी गरेर संविधान संशोधनको मागका लागि संघर्ष जारी राख्ने उल्लेख गरेको छन्। Continue reading “संविधान दिवसको विरोध गर्दै थाकसले भन्यो- पछिल्लो राजनीतिक घटनाले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो”

जेनजी विद्रोह: दलहरू अब सच्चिने कि सकिने?

नेपालमा देखिएको जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई दशकौंदेखि स्थापित राजनीतिक दलहरूको कार्यशैली, भ्रष्टाचार र कुशासनप्रतिको गहिरो असन्तुष्टिको सशक्त प्रतिविम्ब हो। यो आन्दोलनलाई केवल केही उत्तेजित युवाहरूको विद्रोह मात्र मान्नु ठूलो गल्ती हुनेछ। यो त लोकतान्त्रिक प्रक्रियाभित्रै देखिएको आत्म-सुधार संयन्त्र हो, जसले सत्तारुढ दलहरूलाई उनीहरूको गल्तीको ऐना देखाइदिएको छ।

जनताको आवाजलाई बेवास्ता गर्दै सत्तामा रहेका दलहरूले निरन्तर कुशासन, भ्रष्टाचार र अपारदर्शितालाई प्रश्रय दिइरहे। जनताका आधारभूत आवश्यकता, युवाका सपना र देशको विकासलाई ओझेलमा पारेर अनावश्यक वैचारिक र शक्ति-संघर्षमा मात्र केन्द्रित हुँदा जनताको आक्रोश बढ्दै गयो। यही आक्रोशले सडकमा एउटा नयाँ पुस्तालाई उतार्यो, जसले परम्परागत राजनीतिको शैलीलाई चुनौती दियो।

पुराना स्थापित दलहरूले यो आन्दोलनको दोष कुनै बाह्य शक्ति वा अदृश्य हातलाई दिनुको सट्टा आफूभित्र हेर्नुपर्छ। यो आन्दोलन जनताको स्वाभाविक विद्रोह हो। जब शासकहरूले जनताको हितलाई बिर्सेर निजी स्वार्थमा लिप्त हुन्छन्, तब यस्ता विद्रोहहरू स्वतःस्फूर्त रूपमा प्रकट हुन्छन्। त्यसैले, अहिलेका दलहरूले आफ्नो पराजय र जनआक्रोशको गहिरो आत्मपरीक्षण गर्नुपर्छ। सत्तामा पुगेपछि जनतालाई दिएको आश्वासन बिर्सनु, भ्रष्टाचारलाई प्रश्रय दिनु र लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्नु नै यो आन्दोलनको मूल कारण हो।

यदि यी दलहरू र तिनीहरूका शीर्ष नेतृत्वले यसबाट गम्भीर पाठ सिकेनन् भने, यस्तो जनविद्रोह भविष्यमा अझ ठूलो र संगठित रूपमा फेरि हुन सक्छ। दलहरूभित्रैका नेताहरूले पनि आफ्ना शीर्ष नेताहरूलाई उनीहरूको असफलता र जनअसन्तोषका कारणहरू सोध्ने साहस गर्नुपर्छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदा नै यस्ता समस्याहरू सतहमा आउँछन्। यसले पार्टीलाई मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ।

यो आन्दोलनले एकैचोटि सबै राजनीतिक दलहरूलाई, विशेष गरी एमालेलाई, आफ्ना कार्यशैलीप्रति गम्भीर हुन चेतावनी दिएको छ। अनावश्यक वैचारिक विवादमा फसेर विकास र जनसेवालाई बिर्सेको आरोप सबै दलमाथि लाग्ने गरेको छ। अब नेपालले आफ्नै विकासलाई प्राथमिकता दिनुपर्छ। युवालाई अवसर दिन र आर्थिक समृद्धि हासिल गर्न ठूला विकासशील अर्थतन्त्रहरूसँगको निकटताको फाइदा उठाउनुपर्छ।

जेन्जी आन्दोलन स्पष्ट भ्रष्टाचारको लागि शक्तिको निर्लज्ज दुरुपयोग र देशको विकासलाई बेवास्ता गर्दै आएको पुरानो राजनीतिक शैली विरुद्धको प्रति-अभियान हो। यो विद्रोहलाई केवल केही युवाहरूको क्षणिक आक्रोशको रूपमा बुझेर बेवास्ता गरियो भने, यसले भविष्यमा ठूलो राजनीतिक परिवर्तनको मार्ग खोल्न सक्छ। जनताको अपेक्षा र आवश्यकता बुझेर अगाडि बढ्नु नै अहिलेका राजनीतिक दलहरूको लागि एकमात्र समाधान हो।

विजय चौधरीको श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षा र एकलाख रुपैयाँ राहत दिने मेयर चौधरीको घोषणा

जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ। लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो।

नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा रोजगारी तथा चार वर्षीया छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने जानकारी दिए।

चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममाज्यान गएको थियो। काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्दै आएका थिए। जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते लहान नगरपालिकामा पनि आक्रमण भएको थियो। नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीबाट ७ करोडबढीको क्षति भएको नगरपालिकाले जनाएको छ।

तर, जेन-जीका नाममा राजनीतिक प्रतिशोधका आधारमा यस्तो घटना घटाइएको मेयर चौधरीको भनाइ छ। यसको छानबिन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन्।

सीके राउतलाई झट्का, सुदूरपश्चिम संयोजक राजाराम चौधरीसहित ६ भाइले पार्टी छाडे

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्।

उनीहरूले बुधबार पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत र सङ्गठन विभाग डा. जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए। माग पूरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिए।

‘देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ,’ राजीनामा पत्रमा भनिएको छ, ‘त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौं।’

लन्डनमा प्रस्तावित चिनियाँ ‘सुपर-एम्बेसी’प्रति स्थानीय चिन्ता र सुरक्षा डर

लन्डनको प्रतिष्ठित स्थलहरूमध्ये एक, टावर ब्रिज र टावर अफ लन्डन नजिकैको कार्टराइट स्ट्रिटको शान्त इलाका अहिले विवादको केन्द्र बनेको छ। कारण—चीनले बेलायती राजधानीको मुटुमा निर्माण गर्न लागेको ‘सुपर-एम्बेसी’ भनिने प्रस्तावित विशाल कूटनीतिक परिसर।

यो दूतावास ऐतिहासिक रोयल मिन्ट कोर्ट क्षेत्रमा निर्माण गर्ने योजना छ, जसले स्थानीय बासिन्दा, अधिकार समूह तथा अधिकारीहरूमा असहजता र गम्भीर चिन्ता उत्पन्न गराएको छ। चिन्ता मुख्यतया सुरक्षा, जासुसी र विदेशी प्रभावका सम्भावित असरहरूसँग सम्बन्धित छन्।

एक समय बेलायतको सिक्का उत्पादन केन्द्र रहेको रोयल मिन्ट कोर्ट अहिले खाली छ। सन् २०१८ मा चीनले करिब ३१२ मिलियन अमेरिकी डलरमा यो सम्पत्ति किनेको थियो। हाल, त्यसलाई युरोपकै सबैभन्दा ठूलो दूतावासमा रूपान्तरण गर्न थप सयौं मिलियन डलर लगानीको तयारी गरिएको छ।

यस विशाल परिसरको योजना सुन्नासाथ स्थानीयहरू चिन्तित भएका छन्। उनीहरू आफ्नो घर छेउमै दूतावासका कर्मचारीहरू र गतिविधिहरू बसोबास गर्ने सम्भावनाबाट डराइरहेका छन्।

पश्चिम कार्टराइट स्ट्रिटका अपार्टमेन्टहरू—हाल शान्त र आवासीय वातावरणमा रहेका—भविष्यमा चिनियाँ दूतावासका उच्च कर्मचारीहरूको बासस्थान बन्ने आशंका गरिएको छ। यही कारण, आसपास बसोबास गर्ने करिब ३०० जनाको प्रतिनिधित्व गर्ने ‘रोयल मिन्ट कोर्ट रेसिडेन्ट्स एसोसिएसन’ लामो समयदेखि यो योजनाको विरोध गर्दै आएको छ।

उनीहरूले दूतावास सञ्चालनमा आएपछि चीनले जमिनधनीको हैसियतमा पुर्‍याउन सक्ने प्रभावको बारेमा चिन्ता व्यक्त गर्दै आएका छन्। चीनको स्वामित्वमा हाल यो क्षेत्रमा करिब १०० सम्पत्तिहरू रहेका छन्। त्यसैले रोयल मिन्ट कोर्ट कूटनीतिक क्षेत्र बन्नुले बासिन्दाहरूको दैनिक जीवनमा बेइजिङको पहुँच बढ्ने डर व्यक्त गरिएको छ।

स्थानीयस्तरमा मात्र होइन, सरकारी निकाय र सुरक्षा अधिकारीहरू पनि यो परियोजनाको सम्भावित असरहरूबारे सतर्क छन्।

लन्डन महानगरीय प्रहरीले चिनियाँ दूतावासबाहिर प्रदर्शनहरू हुने सम्भावनाले स्थानीय ट्राफिक र पर्यटकहरूको चाप प्रभावित पार्न सक्ने चेतावनी दिएको छ। यो क्षेत्र लन्डनको सबैभन्दा बढी भ्रमण गरिने ठाउँहरूमध्ये एक हो, जसले गर्दा यो थप संवेदनशील मानिन्छ।

चीनको दूतावास योजनाको समयसमेत चिन्ताको विषय बनेको छ। पछिल्ला वर्षहरूमा चीनले बेलायतमा रहेका केही हङकङ कार्यकर्ताहरूविरुद्ध इनाम घोषणा गरेको थियो। राजनीतिक दमनबाट भागेका कार्यकर्ताहरूका लागि लन्डन प्रमुख शरणस्थल बनेको छ। त्यसैले ठूलो दूतावासले उनीहरूमाथि निगरानी वा दबाब दिन सक्ने खतरा देखिएको छ।

यी चिन्ताहरू निराधार भने छैनन्। सन् २०२२ को अक्टोबरमा म्यानचेस्टरस्थित चिनियाँ वाणिज्य दूतावासमा एक हङकङ समर्थक प्रदर्शनकारीलाई आक्रमण गरिएको थियो। सो घटनाको भिडियो सार्वजनिक भएपछि बेलायतले सो दूतावासका छजना चिनियाँ कूटनीतिज्ञलाई फिर्ता पठाएको थियो।

यस घटनाले शहरी क्षेत्रका कूटनीतिक स्थापनाहरूले ल्याउन सक्ने जोखिमहरूलाई उजागर गरिदिएको थियो। यही कारण, रोयल मिन्ट कोर्ट वरपर असहजता झनै बढेको हो।

चीनको दूतावास योजना २०२२ मा टावर ह्याम्लेट्स काउन्सिलले अस्वीकृत गरेको थियो। प्रमुख कारण थियो—सुरक्षा सम्बन्धी चिन्ता। तर, सन् २०२४ मा प्रधानमन्त्री केयर स्टारमरको नेतृत्वमा लेबर पार्टी सत्ता आएपछि योजना पुनः पेश गरिएको छ। चीनले यसलाई नयाँ राजनीतिक वातावरणले अनुकूलता दिएको संकेतको रूपमा लिएको बुझिन्छ।

अब उपप्रधानमन्त्री तथा आवास सचिव एन्जेला रेनरले सेप्टेम्बर ९ भित्रै परियोजना स्वीकृत गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्नेछ। उनले चीनलाई पेश गरिएका योजनामा भएका परिमार्जनबारे औचित्यसहित स्पष्टीकरण दिन दुई हप्ता समयसमेत दिएका छन्।

यो योजना पूर्वनिर्धारित पुनर्विकास योजनाबाट पनि निकै फरक छ। चीनले किन्नु अघिसम्म यो क्षेत्रमा पसल, अफिस र आवासीय परियोजनाको मिश्रण गर्ने योजना थियो। दूतावास निर्माणले अब यी निजी आवासहरू कूटनीतिक क्षेत्रको छेउमा पर्छन्, जसले बासिन्दाहरूमा असहजता बढाएको छ।

विशेषगरी, आधुनिक दूतावासहरू, जसलाई ‘सुपर-एम्बेसी’ भनिन्छ, ले कूटनीतिक कार्य मात्र नभई गुप्तचर गतिविधिहरूको केन्द्रको रूपमा काम गर्ने गरेको आलोचकहरूको भनाइ छ।

रोयल मिन्ट कोर्टको रणनीतिक स्थान, मध्य लन्डनका प्रमुख स्थलहरूसँगको निकटता—ले यी डरहरूलाई झनै बलियो बनाएको छ। उच्च सुरक्षा, निगरानी र सीमित पहुँचले स्थानीय बासिन्दाहरूको जीवनशैलीमा असर पुर्‍याउने सम्भावनाले उनीहरूलाई चिन्तित बनाएको छ।

यो योजना चीनको विश्वव्यापी प्रभाव विस्तार गर्ने रणनीतिको भागको रूपमा पनि हेरिएको छ। राजधानीहरूमा चिनियाँ उपस्थिति बलियो बनाउने Beijingको योजना अहिले नीति निर्माताहरू र मिडियाको निगरानीमा परेको छ।

दूतावासहरूको विस्तारसँगै परम्परागत कूटनीति र सुरक्षा गतिविधिहरूबीचको सीमारेखा धमिलिँदै गएको छ, जसले सार्वजनिक बहसलाई थप तातो बनाइरहेको छ। यद्यपि प्रस्तावित चिनियाँ दूतावासले वास्तुकला र वित्तीय दृष्टिले महत्वाकांक्षी योजना पेश गरेको छ, यसले लन्डनको ऐतिहासिक, शान्त वातावरणमा गहिरो प्रभाव पार्नसक्ने भन्दै स्थानीयहरू सतर्क छन्।

निर्णयको समयसीमा नजिकिँदै गर्दा, रोयल मिन्ट कोर्ट वरिपरिको बहसले आधुनिक शहरी कूटनीतिको जटिलता उजागर गरेको छ। उपप्रधानमन्त्री एन्जेला रेनरको निर्णयले राष्ट्रिय सुरक्षा र स्थानीय समुदायबीच सन्तुलन कसरी कायम गरिन्छ भन्ने दृष्टिकोण निर्धारण गर्नेछ।

चीनको ‘सुपर-एम्बेसी’ योजना अहिले लन्डनवासीहरूका लागि केवल एक निर्माण परियोजना होइन; यो व्यक्तिगत सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेशी प्रभावबीचको चौराहामा रहेको बहस बनेको छ। आगामी हप्तामा गरिने निर्णयले यो महत्वाकांक्षी योजना साकार हुन्छ कि हुँदैन भन्ने मात्र होइन, लन्डन र युरोपभरि विदेशी कूटनीतिक स्थापनाको भूमिका कस्तो हुने भन्ने बहसमा पनि गहिरो प्रभाव पार्नेछ।