स्वतन्त्र उम्मेदवार रानाले ल्याए १४ बुँदे चुनावी घोषणापत्र (विवरणसहित)

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवारी दिएका रानाले चुनावी घोषणापत्र ल्याएका हुन् ।

रानाको घोषणापत्रको पुरा विवरण

दृष्टिकोण
सर्र्वोेपरी संविधानमा आधारित स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, सुशासित आत्मनिर्भर स्वाभिमानका लागि वैदेशिक ऋण मुक्त नेपालको भ्रष्टाचारमुक्त पारदर्शी शासन व्यवस्था, समावेशी सद्भावपुर्ण समृद्ध समाज ।

नमस्कार, राम राम !

आदरणीय सम्पूर्ण जनसमुदाय देशमा जेन्जी आन्दोलन पश्चात अकल्पनीय दुर्घटनाबाट राजनैतिक निकासको महत्वपूर्ण पक्ष लोकतान्त्रिक माध्यमबाट दीर्घकालीन समाधानको रूपमा मध्यावधि निर्वाचन घोषणा गरिएको छ । सम्पूर्ण राजनैतिक शक्तिहरु चुनावमा होमिएको अवस्था छ । चरम बेतिथी, भ्रष्टाचार, बेरोजगारी, निहित स्वार्थ लक्षित गठबन्धन, आफन्तवाद, राज्य संयन्त्रहरुमा दलीय भागबण्डा र दलीयकरण जस्ता थुप्रै राजनैतिक बितृष्णाको कारण यो अवस्था आएको हामीले स्पष्ट बुझेका छौं । उनै पुरानै नेतृत्व, पुरानै मनोविज्ञान र पुरानै व्यवस्थामा पुरानै दलको पुरानै प्रवृति रहेसम्म यो भन्दा ठूलो अकल्पनीय दुर्घटना नहोला भन्न सकिन्न । दलका नेतृत्वहरु आफ्नो दलीय विचार सिद्धांत त्यागेर र व्यक्तिगत स्वार्थमा रातारात हुने ठगबन्धनलाई रास्ट्रहीत भन्दा बढी महत्व दिनुको परिणाम सबैले झेल्नुपरेको तितो यथार्थ हो । यस्तो अवस्थामा सर्वोपरी संविधान, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रताका साथै संविधानले निर्दिष्ट गरेको कानुनी राज्य व्यवस्था, लोकतन्त्र, समावेशिता र सद्भाव, पारदर्शिता, सुशासन र सामाजिक न्यायमा विश्वास गर्ने नागरिकहरूको अगुवाई गर्दै यस चुनावमा कैलाली क्षेत्र नं ५ का स्वतन्त्र उमेदवार एवं संविधान सभा सदस्य प्यारेलाल रानाको तर्फबाट यो चुनावी घोषणा पत्र सार्वजनिक गर्दछु ।
१) जनताको आधारभूत आवश्यकता सुनिश्चित गर्न कुनै कसर बाँकी राखिने छैन ।

२) पारदर्शी र भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापनामा मुख्य जोड ।

३) कृषि उत्पादन र मल सिँचाइको व्यवस्थापनमा विशेष जोड ।

४) कृषि उत्पादनको उचित मुल्यांकन र बजार प्रबद्र्धन ।

५) फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा विशेष दवाव ।

६) सुदूरपश्चिम प्रदेशको पहिचान स्वभिमान र साँस्कृतिक पर्यटन विकासका लागि साझा साँस्कृतिक मञ्चलाई संस्थागत गरी संघीय सरकारको नियमित योजनामा समेट्ने ।

७) भौतिक विकास सँगै मानवीय बेतिथी, कुलत, बेरोजगारी, सामाजिक विकृति जस्ता कुरालाई मानवीय विकास कार्यक्रम सञ्चालन गरी समृद्धि र समुन्नत समाजको आधार तयार गर्ने ।

८) टीकापुर घटना विशुद्ध राजनीतिक घटना थियो । तर राज्यले आपराधिक घटनाको रुपमा लिएकोले सो घटनाको छानविन गर्न बनेको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्दै न्यायोचित तरिकाले दीर्घकालीन सामाधानको लागि पहल गर्ने ।

९) सामाजिक न्याय र समावेशितालाई विशेष जोड दिइ महिला, दलित, आदिवासी, जनजाति, थारु, रानाथारु, मुस्लिम, खस–आर्य, गरिब, पिछडिएका वर्ग, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णको कानुनी अधिकार संरक्षण र व्यवहारिक बनाउन पहल गरिनेछ ।

१०) गुणस्तरीय, निःशुल्क आधारभूत र रोजगारमुखी प्राविधिक तथा सीपमूलक शिक्षामा जोड ।

११) हाल भैरहेको कागजी प्रक्रिया पु¥याइ पहुँचवालालाई अनुदान, बितरण जस्ता सरकारी सहुलियतलाई वास्तविक किसान, गरिब पहिचान गरी सहुलियतलाई प्रभावकारी बनाउने ।

१२) सरकारी अस्पताल तथा स्वाथ्य केन्द्रलाई सुविधाजनक र सहज बनाउने ।

१३) सत्ताको लागि भैरहने अनैतिक गठबन्धन/दलीयकरणलाई संविधान संशोधनमार्फत स्थायित्व एवं दिगो समाधान र लोकतान्त्रिक माध्यमबाट राष्ट्रको स्वभिमान र समृद्धिको आधार तयार गर्ने ।

१४) विकासका निम्ति स्थानीय जनताको गुनासो, सुझाव, सम्पर्क, समन्वय सम्पर्क बढाउन स्थानीय प्रतिनिधि सम्पर्क व्यक्ति खटाइने छ र समयानुकूल स्वयं उपस्थित भै जनगुनासो नियमित सुन्ने छु । साथै मुक्त कमैया र सुकुमवासीहरुको समस्या समाधानको लागि पहल कदमी चालिनेछ ।

अन्तमा पुनः दोहो¥याउन चाहन्छु, निर्वाचित भए पश्चात्
इमानदार, पारदर्शी र उत्तरदायी रूपमा जनसेवा गर्नेछु । त्यसका लागि मेरो चुनाव चिन्ह “बाँसको मुढा”मा भोट गरी अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भनी पूर्ण विश्वास लिएको छु ।

यी उपरोक्त बुँदा सहितको घोषणा पत्र केवल कागजमा सीमित नहुने, व्यवहारमा उतारिने प्रतिवद्धता हो । म जनताको विश्वास र साथसाथै जिम्मेवारीका साथ अघि बढ्नेछु ।

प्यारेलाल राना
प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार
कैलाली निवार्चन क्षेत्र नं ५

सीको शुद्धीकरण अभियानले पीएलएमा नेतृत्व शून्यता

सी जिनपिङ नेतृत्वको कार्यकालमा चिनियाँ सैन्य वृत्तमा फेरि एकपटक ठूलो हलचल देखिएको छ। केन्द्रीय सैन्य आयोग (सीएमसी) का उपाध्यक्ष झाङ युक्सिया र वरिष्ठ सैन्य अधिकारी लिउ झेन्ली सँग जोडिएका हालिया बर्खास्तगी तथा छानबिनका घटनाले जनमुक्ति सेना (पीएलए) भित्र कमान्ड संरचना र मनोबलमा गम्भीर असर पार्ने विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार यी कदमहरू राजनीतिक समेकन, भ्रष्टाचारविरुद्धको अभियान र सैन्य सुधारको निरन्तरता जस्ता कारणले व्याख्या गरिए पनि नेतृत्व तहमा सिर्जित शून्यता र अनिश्चितताले सैन्य रणनीति तथा समन्वयमा असर पार्न सक्ने देखिएको छ। हालको अवस्थाले सीएमसीको संरचना असामान्य रूपमा सिमित बनेको छ, जसले प्रमुख कमान्ड केन्द्रमै अस्थिरता निम्त्याएको टिप्पणी गरिएको छ।

न्यूयोर्कस्थित राजनीतिक जोखिम परामर्शदाता सिनोइन्साइडरले यस घटनालाई सी जिनपिङ शासनकालकै सबैभन्दा अशान्त राजनीतिक विकासको रूपमा चित्रण गरेको छ। संस्थाका अनुसार झाङ र लिउको पतनले पीएलए, चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को नोकरशाही र तथाकथित ‘रातो अभिजात वर्ग’ माझ चिसो प्रभाव पार्नेछ।

वाशिंगटन डीसीस्थित क्याटो इन्स्टिच्युटका नीति विश्लेषक इभान सान्केले सीएमसी परम्परागत सात सदस्यीय संरचनाबाट अहिले निकै सिमित अवस्थामा पुगेको औंल्याउँदै यसले नेतृत्वको स्थायित्वमा प्रश्न उठाएको बताए। उनका अनुसार सीको सत्तामा पकड बलियो देखिए पनि १३ वर्षे कार्यकालमा पीएलए नेतृत्व अस्तव्यस्त हुनु प्रतिष्ठाको विषय बनेको छ।

यसैबीच र्‍यान्ड कर्पोरेशनमा चिनियाँ रक्षा नीतिमा विशेषज्ञ शानशान मेईले निरन्तर शुद्धीकरणले सेना भित्र डर र असुरक्षा बढाएको टिप्पणी गरिन्। उनका अनुसार हालको घटनाक्रमले सेना मात्र होइन, सम्पूर्ण सरकारी संयन्त्रमै ‘अब अर्को को?’ भन्ने त्रास पैदा गरेको छ।

सिंगापुरस्थित एस राजारत्नम स्कुल अफ इन्टरनेशनल स्टडिजका अनुसन्धान फेलो जी याङले झाङ र लिउ जस्ता अनुभवी लडाकु पृष्ठभूमिका अधिकारीहरूको हटाइले पीएलएको व्यावसायिक मूल संरचनामा धक्का पुगेको बताए। उनले सन् २०२६ भरि पीएलए नेतृत्व अस्थिर रहने सम्भावना औंल्याउँदै अभिजात वर्गबीचको द्वन्द्व अझ गहिरिन सक्ने चेतावनी दिए।

पेन्टागनका पूर्व एसिया रणनीतिकार ड्र्यू थम्पसनका अनुसार यस्तो नेतृत्व संकटले बेइजिङको अमेरिकासँगको प्रतिस्पर्धा र ताइवानसँग सम्बन्धित रणनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्छ। सीएमसीमा अनुभवी जनरलहरूको अभावले संकटको बेला गलत निर्णयको जोखिम बढाउन सक्ने उनको भनाइ छ।

उता, एसिया सोसाइटी पोलिसी इन्ट्सिच्युटकी लाइल मोरिसले वर्तमान अवस्था अभूतपूर्व भएको उल्लेख गर्दै सी र सीमित सदस्य मात्र रहेको सीएमसी संरचनाले गम्भीर नेतृत्व शून्यता सिर्जना गरेको बताइन्। विश्लेषकहरूको निष्कर्ष छ, दीर्घकालीन शुद्धीकरणले पीएलएको मनोबल, कमान्ड स्थिरता र वास्तविक युद्धक क्षमतामा असर पार्नेछ। चीनको सैन्य संरचनामा देखिएको यो उथलपुथलले आगामी वर्षहरूमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा समीकरणमा समेत प्रभाव पार्ने संकेत दिएको छ।

जनकराज चौधरीले सार्वजनिक गरे संकल्प पत्र, थारुका लागि समेटिए यस्ता विषय

कैलाली १ का कांग्रेस उम्मेदवार जनकराज चौधरीले आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनका लागि उनले ‘समुन्नत, समावेशी र विकासोन्मुख कैलाली क्षेत्र नं. १’ निर्माण गर्ने दीर्घकालीन दृष्टिसहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

चौधरीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, कृषि, युवा तथा रोजगारी, पर्यटन, थारू समुदायको पहिचान, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण र सुशासनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। उनले ‘विकास सबैका लागि, अवसर सबैका लागि’ भन्ने मूल मन्त्रका साथ समावेशी, आत्मनिर्भर र समृद्ध निर्वाचन क्षेत्र निर्माण गर्ने लक्ष्य अघि सारेका छन्।

‘शिक्षा नै लोकतन्त्र र विकासको मूल आधार हो’ भन्ने नारासहित चौधरीले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार, दक्ष जनशक्ति विकास, डिजिटल कक्षा सञ्चालन तथा अंग्रेजी र सूचना प्रविधि शिक्षामा जोड दिने योजना प्रस्तुत गरेका छन्। यस क्षेत्रमा रहेका प्राविधिक शिक्षालयहरूको स्तरवृद्धि गर्न सिटिईभिटी अन्तर्गतका कार्यक्रम सुदृढ बनाइने उनले बताए।

त्यस्तै कृषि विद्यालय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज र टीकापुर पोलिटेक्निक इन्स्टिच्युटसँग सहकार्य गरी प्राविधिक तथा व्यावसायिक शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने योजना छ। गरिब, थारू, दलित, महिला तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूका लागि ‘सांसद छात्रवृत्ति कोष’ स्थापना गरिने तथा स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै टीकापुर बहुमुखी क्याम्पस, वीरेन्द्र विद्या मन्दिर क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पस को भौतिक पूर्वाधार, प्रयोगशाला र पुस्तकालय सुदृढीकरण गरिने उल्लेख छ। प्रारम्भिक तहमा मातृभाषा (थारू भाषा) मा आधारित शिक्षा प्रवर्द्धन गर्ने योजना पनि संकल्प पत्रमा समेटिएको छ। ‘कृषि अर्थ व्यवस्थाको मेरुदण्ड हो’ भन्ने अवधारणासहित चौधरीले सिँचाइ विस्तार, कृषि यान्त्रिकीकरण र जलवायु अनुकूल खेती प्रणालीमा जोड दिएका छन्। विशेषगरी रानी जमरा कुलरिया सिँचाइ आयोजना को विस्तार तथा प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइनेछ।

धान, गहुँ, मकै, तरकारी, माछापालन र पशुपालनमा व्यवसायिक कृषि प्रवर्द्धन, संकलन केन्द्र र शीतभण्डार स्थापना, कृषि प्रशोधन उद्योग विस्तार तथा किसानलाई सहुलियत ऋण र बिमा सुविधा सुनिश्चित गर्ने योजना अघि सारिएको छ। थारू समुदायको परम्परागत कृषि ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने, युवालाई कृषि उद्यमशीलतातर्फ आकर्षित गर्ने र कृषि स्टार्टअपका लागि ‘सिड मनी’ उपलब्ध गराउने नीति लिइने उल्लेख छ।

टीकापुरमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि शिक्षालयसँग सहकार्य गरी किसान-शिक्षक-विद्यार्थीबीच सहकार्यात्मक कार्यक्रम सञ्चालन गरिने चौधरीले बताएका छन्। साथै केरा, च्याउ, डेरी र मत्स्यपालनजस्ता उच्च मूल्यका कृषि उत्पादनमा वृद्धि गर्न नीति निर्माणको पहल गरिनेछ।
‘विदेश होइन, गाउँमै अवसर’ भन्ने नारासहित चौधरीले युवा लक्षित कार्यक्रमहरू अघि सारेका छन्। सिप विकास तथा उद्यमशीलता केन्द्र स्थापना गर्ने, ‘पढौं र कमाउ’ कार्यक्रम सञ्चालन गरी बारिस्टा, डिजिटल मार्केटिङ, इभेन्ट म्यानेजमेन्ट, ग्राफिक डिजाइन, आतिथ्य सेवा लगायतका तालिम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

युजिसी नेपालद्वारा टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरिएको इन्क्युबेशन सेन्टरसँग सहकार्य विस्तार गरिने उल्लेख छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि पुनःस्थापना कार्यक्रम, सार्वजनिक-निजी साझेदारीमार्फत रोजगारी सिर्जना, श्रमिकको सामाजिक सुरक्षा सुनिश्चितता तथा प्रत्येक वर्ष सय जना युवालाई कृषि तथा उद्यमशीलता क्षेत्रमा ‘सिड मनी’ प्रदान गर्ने योजना पनि समेटिएको छ।

‘अतिथि देव भवः’ भन्ने नारासहित चौधरीले कैलाली क्षेत्र नं. १ लाई पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। टीकापुर पार्क, घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज र चिसापानी क्षेत्र जोडेर पर्यटकीय मार्ग निर्माण गर्ने योजना छ। थारू सांस्कृतिक पर्यटन, होमस्टे प्रवर्द्धन, सांस्कृतिक एकाडेमी स्थापना तथा धार्मिक धरोहरहरूको संरक्षणमा जोड दिइने उल्लेख छ। पदमप्रकाशेश्वर र कैलाशेश्वर जस्ता धार्मिक स्थलको विकासमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गरिने योजना पनि संकल्प पत्रमा समेटिएको छ।

‘पहिचान र सम्मानसहितको विकास’ भन्ने लक्ष्यसहित थारू भाषा, संस्कृति, कला र पर्वहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। थारू सांस्कृतिक केन्द्र र सङ्ग्रहालय स्थापना, विकास प्रक्रियामा समान सहभागिता तथा सबै समुदायबीच सामाजिक सद्भाव सुदृढ गर्ने योजना प्रस्तुत गरिएको छ। ‘स्वास्थ्य नागरिकको मौलिक अधिकार हो’ भन्दै चौधरीले टीकापुर अस्पताल लाई १०० शय्यामा स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गर्ने घोषणा गरेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, चिकित्सक र औषधि आपूर्ति सुनिश्चितता, मातृशिशु स्वास्थ्य सेवा सुदृढीकरण, विपन्न वर्गका लागि स्वास्थ्य बिमामा सहज पहुँच र महिला स्वास्थ्य स्वयंसेविकालाई थप प्रभावकारी बनाउने नीति समेटिएको छ। सडक, सिँचाइ, ऊर्जा र सूचना प्रविधिमा विशेष जोड दिँदै चौधरीले टीकापुर-सनकट्टी, टीकापुर-जोशीपुर-भजनी तथा अन्य ग्रामीण सडकहरू कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन्।

सेती लोकमार्ग निर्माणमा तीव्रता, कर्णाली करिडोर विस्तार, जल यातायात र जल पर्यटन प्रवर्द्धन, तथा दीर्घकालमा टीकापुर क्षेत्रमा सुख्खा बन्दरगाह (ड्राइ पोर्ट) निर्माणको पहल गरिने उल्लेख छ। साथै रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित विद्युतमा स्थानीयबासीको स्वामित्व सुनिश्चित गर्ने योजना पनि अघि सारिएको छ।

वन, नदी र जैविक विविधता संरक्षण, बाढी तथा कटान नियन्त्रण, फोहोर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड दिइने उल्लेख छ। जलवायु परिवर्तनबाट प्रभावित किसानका लागि विशेष कार्यक्रम ल्याइने चौधरीले बताएका छन्। ‘राजनीति सेवा हो, व्यापार होइन’ भन्ने उद्घोषसहित चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, नियमित जनसुनुवाइ, वार्षिक ‘सार्वजनिक सांसद’ कार्यक्रम, स्थानीय सरकारसँग प्रभावकारी समन्वय र तथ्यमा आधारित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चौधरीले कैलाली क्षेत्र नं. १ लाई शिक्षित, आत्मनिर्भर, समावेशी र समृद्ध क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै सबै मतदातासँग समर्थनको अपिल गरेका छन्। ‘मैले ल्याएको संकल्प हुवहुँ कार्यान्वयन गर्न सहज रहेको उनको भनाइ छ। एजेण्डा सिर्जना नगरी अघि बढ्न नसकिने उनले बताए।

-परमानन्द पाण्डे/टीकापुर

भारतले तेस्रो खेपमा नेपाल सरकारलाई दियो ५० ट्रकसहित २७० बढी सवारी साधन

भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि सहयोगस्वरूप तेस्रो खेप सामग्री हस्तान्तरण गरेको छ। मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

भारतीय दूतावासका अनुसार तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारी साधन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइएको छ। आसन्न निर्वाचनको तयारीका लागि नेपाल सरकारले गरेको अनुरोधअनुसार उक्त सामग्री प्रदान गरिएको जनाइएको छ। नेपाली सेनाका लागि उपलब्ध गराइएका ट्रक प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राजदूत श्रीवास्तवबाट ग्रहण गरेका थिए।

कार्यक्रममा गृहमन्त्री अर्यालले समयमै उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै यसलाई महत्वपूर्ण सहयोगका रूपमा उल्लेख गरे। उनले नेपाल-भारत सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको साझा प्रतिबद्धतामा आधारित रहेको बताए।

यसअघि भारत सरकारले निर्वाचन सहयोगको पहिलो र दोस्रो खेप अन्तर्गत ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री माघ ६ र माघ १५ गते नेपाललाई हस्तान्तरण गरिसकेको छ। थप सहयोग आगामी दिनमा विभिन्न चरणमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।

भारतीय दूतावासले यस्तो सहयोगलाई दुई देशबीचको बहुआयामिक विकास साझेदारीको निरन्तरता र आपसी विश्वास तथा मित्रताको प्रतीकका रूपमा उल्लेख गरेको छ।

बाघको छाला तस्करीमा संलग्न चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय

बाघको छाला तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।

उच्च अदालत पाटनले होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा जिङ्गबिन (MA, JINGBIN) लाई ५ वर्ष कैद र एक हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो । सोही मुद्दामा आरोपित अन्य तीन चिनियाँ नागरिकहरू जाओ पेङचेङ, निउ युलियाङ र पेङ हुईलाई भने उच्च अदालतले सफाइ दिएको छ ।

२०७८ असार २१ गते राति काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित ‘जियाङहु केजान होटल’मा प्रहरीले छापा मारेको थियो । सो क्रममा २०१ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ परेका थिए । होटलको २०३ नम्बर कोठा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म १० फिट लामो पाटेबाघको छाला फेला परेको थियो ।

त्यस्तै, होटलबाट बुद्धचित्त ९०० गेडा, २७ केजी रुद्राक्ष, कस्तुरीको बिना जस्तो देखिने २० टुक्रा र नगद ८ लाख ८९ हजार १५५ रुपैयाँसहित ठुलो परिमाणमा मोबाइल र एटिएम कार्डहरू समेत बरामद गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको परीक्षण प्रतिवेदनअनुसार बरामद गरिएको छाला (पाटेबाघ)को भएको र उक्त बाघ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (भाण्डार) मा सन् २०१५ देखि २०१७ सम्म क्यामेरा ट्रयापमा परेको ‘CNP-FT54’ नम्बरको बाघसँग मिलेको देखिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीको अस्तित्व समाप्त, ढकिया चुनाव चिन्ह पनि खारेज

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खारेज गरेको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई आयोगले नाउपा खारेज भएको जानकारी पत्र समेत पठाइसकेको छ । पुस १४ गते नाउपा र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच एकता भएको थियो ।

यही विषय जानकारी गराउँदै आयोगले साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)को रूपमा छुट्टाछुट्टै कायम रहेका दलहरू एक आपसमा एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी कायम गर्न पत्राचार भयबमोजिम नागरिक उन्मुक्ति पार्टी खारेज गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

‘राजनीतिक दलहरू एक आपसमा एकीकरण भई कायम भएको नेपाली कम्युनिस्ट पार्टीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० (४) बमोजिम एकीकरण गरी दर्ता कायम गर्ने र आयोगमा दर्ता कायम रहेका माथि उल्लिखित राजनीतिक दलहरूको दर्ता रद्द गर्ने निर्णय भएको तथा आयोगको मिति २०८२–०९–३० गतेको निर्णयअनुसार नागरिक उन्मुक्ति पार्टी आयोगमा कायम रहेको नेपाली कम्युनिस्ट पार्टीसँग गाभिएको र नागरिक उन्मुक्ति पार्टी चैँ खारेज गर्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि निर्णयअनुसार अनुरोध छ,’ आयोगले सुदूरपश्चिम प्रदेश सभालाई उपलब्ध गराएको जानकारी पत्रमा उल्लेख गरिएको छ ।

साबिक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एक भएपछि सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका सांसदको सङ्ख्या २१ पुगेको छ । साबिक माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ३ सदस्य समावेश छन् ।

यसअघि पहिलो स्थानमा रहेको नेपाली कांग्रेस अब १८ सांसदसहित दोस्रो स्थानमा झरेको छ। त्यस्तै, एमालेका ११ र राप्रपाका १ सांसद छन् । स्वतन्त्र सांसद तारा जोशीले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा दिइसकेका छन् ।

नेकपामा समाहित भएका तीनै दलका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठक आइतबार बसेको थियो । बैठकले नेकपाको संसदीय दलको नेता समेत चयन गरेको छ ।

नवगठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । यसअघि माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरिरहेका भट्टको नेतृत्वमा १७ जना सांसदहरूको भौतिक उपस्थितिमा यो निर्णय गरिएको हो ।

दलको आन्तरिक संरचनालाई व्यवस्थित गर्न बैठकले विधान मस्यौदा कार्यदल पनि गठन गरेको छ । पाँच सदस्यीय कार्यदलमा रमेशसिंह धामी, ओमविक्रम भाट सरल’ खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी समेटिएका छन् । बैठकले सुदूरपश्चिम प्रदेश सरकार सही बाटोमा नरहेको समेत ठहर गरेको छ ।

रेशम चौधरीलाई उम्मेदवार बन्न रोक लगाउने सर्वोच्चको आदेशमा के छ?

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चमा आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा निर्वाचन आयोग र रिट निवेदकबीचको दुईपक्षीय सुनुवाइ सकिएपछि माग अनुरुप अन्तरिम आदेश दिन अस्वीकार भएको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि सर्वोच्चमा रिट परेको हो। चौधरीले आफ्नो उमेदवारी खारेजीविरुद्ध माघ ९ गते सर्वोच्चमा रिट दिएका थिए। आयोगले कसुर र कैदको अभिलेख कायमै हुने भन्दै उमेदवारी खारेज गर्ने निर्णय गरेपछि चौधरी सर्वोच्च गएका हुन्  कैलाली क्षेत्र नम्बर १ मा चौधरीले उमेदवारी दिएका थिए।

रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित

आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो।

इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान रोहित पौडेलसँग ८२ रनको साझेदारी गरेका थिए।

ओपनर कुशल भुर्तेल २९ रनमा कट एण्ड बोल्ड भएका थिए। उनलाई विल ज्याक्सले कट एण्ड बोल्ड गराएका थिए। नेपालले पावरप्लेमा २ ओपनर गुमाउँदै ४७ रन बनाएको थियो। १० ओभरमा नेपालले २ विकेटको क्षतिमा ८५ रन बनाएको थियो। यति बेलासम्म नेपाल इङ्ल्यान्डभन्दा अगाडि रहेको थियो। बीचमा रोहित र दिपेन्द्रले क्रिज सम्हाल्दा एक समय १२४ मा तेस्रो विकेट गुमाएको नेपालले खेल जित्छ भन्नेसम्म पुगेको थियो।

१८औं ओभरमा लोकेश बमले हानेको २ छक्काले खेल नेपालको पक्षमा पुर्‍याएको थियो। लोकेश बम ३९ र करण केसी १ रनमा अविजित रहे। इङ्ल्यान्डका लागि लियम डाउसनले सर्वाधिक २ विकेट लिए। लुक वसड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका थिए।

पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतीमा ५७ रन बनाएको थियो। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। नेपालको लागि ५३औं खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्।

दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्ल्यान्डले दुवै ओपनरको विकेट गुमाएको थियो।

१० ओभरको खेल सकिँदा इङ्ल्यान्डले ३ विकेटको क्षतीमा ८४ रन बनाएको थियो। ११.२ ओभरमा ३ विकेटको क्षतिमा इङ्ल्यान्डले १०० रन पूरा गरेको हो। अर्धशतकभन्दा लामो ज्याकोब बेथ र ह्यारी ब्रुकको साझेदारी दिपेन्द्र सिंह ऐरीले तोडेका हुन्। १३.४ ओभरमा दिपेन्द्रले ज्याकोब बेथलाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए।

पाँचौं विकेटको रुपमा इङ्ल्यान्डले साम करन २ रनमा बोल्ड भए। उनलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड गरे। छैटौं विकेट कप्तान ह्यारी ब्रुकको गयो। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लको हातमा क्याच भए। जोफ्रा आर्चर १ रनमा रनआउट भए। विल ज्याक्स र लियम डाउसन क्रमशः ३९ र शुन्यमा अविजित रहे।

नेपालको लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामछानेले १-१ विकेट लिए। नेपालले समूह चरणको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग यही मैदानमा खेल्नेछ।

पाकिस्तानमा उजुरीको रेकर्डमा वृद्धि तर कार्यान्वयनमा अझै पछाडि

सन् २०२५ मा पाकिस्तानको साइबर अपराध अवस्था एक निर्णायक मोडमा पुगेको देखिएको छ । खतरा घटेकाले होइन, बरु साइबर अपराधसम्बन्धी उजुरी अहिलेसम्मकै उच्च स्तरमा पुगेका कारण यो अवस्था सिर्जना भएको हो ।

राष्ट्रिय सभामा प्रस्तुत आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा देशभर १ लाख ५० हजार ५४२ वटा साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । यसले डिजिटल अपराध पाकिस्तानको दैनन्दिन आर्थिक र सामाजिक जीवनमा कति गहिरोसँग जरा गाडिसकेको छ भन्ने स्पष्ट देखाउँछ ।

उजुरीमध्ये सबैभन्दा ठूलो हिस्सा वित्तीय ठगी ले ओगटेको छ । कुल ८१ हजार ९९६ वटा उजुरी वित्तीय ठगीसँग सम्बन्धित थिए भने ह्वाट्सएप खाता ह्याकिङ मात्रै २ हजार ९७४ वटा घटनामा सीमित भए । यी तथ्याङ्कले डिजिटल अपराध तीव्र गतिमा फैलँदै गएको तर त्यसअनुसार कानुनी कार्यान्वयन कमजोर रहेको वास्तविकता उजागर गर्छ ।

गृहमन्त्रालयका राज्यमन्त्री तलाल चौधरीले संसद्को प्रश्नको उत्तरमा सार्वजनिक गरेका यी विवरणले पाकिस्तानको साइबर अपराध नियन्त्रण संयन्त्रको दुर्लभ झलक मात्र दिएको छैन, उजुरी र न्यायिक निष्कर्षबीच बढ्दो खाडल पनि स्पष्ट पारेको छ । यही खाडलका कारण डिजिटल क्षेत्रमा नागरिकको सुरक्षाप्रति राज्यको क्षमतामाथि विश्वास खस्किँदै गएको छ ।

संकटको केन्द्रमा वित्तीय साइबर अपराध

साइबर प्रविधिबाट गरिने वित्तीय अपराध सबैभन्दा व्यापक समस्याका रूपमा देखा परेको छ, जसले सहरी र ग्रामीण दुवै क्षेत्रका नागरिकलाई प्रभावित पारेको छ । गृहमन्त्रालयका अनुसार नक्कली लगानी योजना, अनलाइन नक्कल पहिचान, बैंक तथा डिजिटल खाताको नियन्त्रण कब्जा, र डिजिटल भुक्तानी ठगीजस्ता अपराधहरू व्यापक छन् ।

सन् २०२५ मा रिपोर्ट भएका वित्तीय साइबर अपराधमा २ अर्ब ७१ करोड ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ९.७ मिलियन अमेरिकी डलर) संलग्न रहेको तथ्याङ्क छ । तर यो रकम उजुरीसम्म पुगेका घटनामा मात्र आधारित हो ।

झन् चिन्ताजनक पक्ष के छ भने, सो रकममध्ये अहिलेसम्म ४५ करोड २३ लाख ७६ हजार रुपैयाँ (करिब १.६ मिलियन डलर) मात्र फिर्ता हुन सकेको छ । बाँकी ठूलो हिस्सा अझै फिर्ता हुन नसक्नुले साइबर ठगीको उच्च क्षति, न्यून पुनःप्राप्ति प्रवृत्ति झल्काउँछ ।

उजुरीदेखि मुद्दासम्मः साँघुरो बाटो

उजुरी दर्ताबाट कानुनी कारबाहीसम्म पुग्ने दर अत्यन्तै न्यून देखिएको छ । राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सी (NCCIA) मा दर्ता भएका १ लाख ५० हजारभन्दा बढी उजुरीमध्ये केवल १० हजार ७५६ वटा मात्र औपचारिक छानबिनमा रूपान्तरण भए ।

ती छानबिनमध्ये ८५१ वटा मात्र साइबर अपराध ऐनअन्तर्गत मुद्दाका रूपमा दर्ता भएका छन् । १ हजार ९५ वटा घटनामा पक्राउ परे पनि अन्ततः केवल ३१ वटा मुद्दामा मात्र सजाय (दोषसिद्धि) भएको संसद्लाई जानकारी दिइयो ।

यसले अधिकांश पीडितका लागि साइबर अपराधको उजुरी न्यायिक निष्कर्षमा नपुग्ने यथार्थलाई उजागर गर्छ । उजुरी, अनुसन्धान, मुद्दा र सजाय—हरेक चरणमा ठूलो मात्रामा मुद्दा झर्ने प्रवृत्ति पाकिस्तानको साइबर अपराध नियन्त्रण प्रणालीको स्थायी समस्या बनेको छ ।

PECA कार्यान्वयनको सीमित प्रभाव

डिजिटल अपराध नियन्त्रणका लागि पाकिस्तानको प्रमुख कानुनी उपकरण इलेक्ट्रोनिक अपराध निवारण ऐन (PECA) भए पनि यसको प्रभावकारिता प्रश्नको घेरामा छ । ऐनले वित्तीय ठगी, पहिचान चोरी, अनधिकृत पहुँचलगायतका अपराधलाई समेटे पनि दोषसिद्धि हुने घटनाको संख्या अत्यन्तै न्यून छ ।

आलोचकहरूका अनुसार PECA को प्रयोग असमान देखिन्छ । वित्तीय ठगीजस्ता गम्भीर अपराधमा ऐन कमजोर देखिँदा, अनलाइन अभिव्यक्ति, सामग्री नियन्त्रण र कथित गलत सूचनासम्बन्धी मुद्दामा भने ऐन बढी प्रयोग भएको देखिन्छ । संसद्मा प्रस्तुत तथ्याङ्कले यो अन्तरलाई प्रत्यक्ष स्वीकार नगरे पनि सार्वजनिक बहसमा यही विषय हावी छ ।

सरकारी प्राथमिकता र नयाँ चुनौती

सरकारले संसद्लाई जानकारी गराउँदै रोकथाम र जनचेतनामुखी उपायलाई प्राथमिकता दिएको बताएको छ । NCCIA को अनलाइन उजुरी पोर्टल, १७९९ साइबर हेल्पलाइन, तथा विद्यालय, कलेज र संवेदनशील समुदाय लक्षित सचेतना कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

महिला, ज्येष्ठ नागरिक, ग्रामीण समुदाय र कम साक्षरता भएका समूहलाई विशेष लक्ष्य बनाइएको छ । साथै, कृत्रिम बुद्धिमत्ता (AI) बाट सिर्जित नयाँ खतराहरू—जस्तै डीपफेक भिडियो र भ्वाइस क्लोनिङ ठगी—लाई पनि गम्भीर चुनौतीका रूपमा स्वीकार गरिएको छ ।

सरकारले पाकिस्तानको पहिलो राष्ट्रिय कृत्रिम बुद्धिमत्ता नीति अन्तिम चरणमा रहेको र त्यसमा साइबर अपराध न्यूनीकरणलाई समावेश गरिने जनाएको छ ।

चेतना बढ्दै, भरोसा घट्दै

उजुरी प्रणाली विस्तारसँगै उजुरी संख्या बढे पनि कार्यान्वयन क्षमताले त्यसलाई पछ्याउन सकेको छैन । धेरै पीडित अझै प्रक्रिया नबुझ्ने, सामाजिक लाज वा नतिजाप्रतिको अविश्वासका कारण उजुरी नगर्ने गरेको विज्ञहरूको भनाइ छ ।

संसद्मा प्रस्तुत तथ्याङ्क दर्ता भएका उजुरीमा मात्र सीमित छन् । साना ठगी, अनलाइन दुर्व्यवहार वा व्यक्तिगत अपमानसँग जोडिएका धेरै घटना अझै अदृश्य (अन्डर–रिपोर्टेड) रहेको अनुमान छ ।

डिजिटल विस्तार, संस्थागत दबाब

पाकिस्तानको तीव्र डिजिटल विस्तारसँगै अनलाइन बैंकिङ, मोबाइल भुक्तानी र सामाजिक सञ्जालको प्रयोग बढेको छ । तर राज्य संयन्त्र र अनुसन्धान क्षमता भने त्यसअनुसार विकसित हुन सकेका छैनन् ।

साइबर अपराध अनुसन्धानका लागि आवश्यक विशेष सीप, अन्तरदेशीय सहकार्य र डिजिटल फरेन्सिक क्षमता परम्परागत प्रहरी संरचनामा अभावमा छन् । यही कारण हजारौँ उजुरी छानबिनमै पुग्न नसकेको तथ्याङ्कले देखाउँछ ।

डिजिटल उत्तरदायित्वको बढ्दो खाडल

सन् २०२५ मा उजुरीको रेकर्ड संख्याले पाकिस्तानको डिजिटल शासन प्रणालीलाई गम्भीर परीक्षणमा पारेको छ । नागरिकहरू साइबर अपराध रिपोर्ट गर्न इच्छुक देखिए पनि न्यायिक नतिजा भने अत्यन्तै कमजोर छन् ।

अर्बौँ रुपैयाँको क्षति, हजारौँ पीडित र दर्जनौँ मात्र दोषसिद्धि—यी तथ्याङ्कले पाकिस्तानमा डिजिटल अपराध र डिजिटल न्यायबीचको गहिरिँदो दूरीलाई मात्र होइन, राज्यको संस्थागत क्षमतामाथिको प्रश्नलाई पनि दस्तावेजीकरण गर्छ ।

सीमापार चरन सम्झौता विपरीत चिनियाँ सेनाद्वारा नेपाली पशुपालकमाथि दुर्व्यवहार र कुटपिट

नेपालको कम्युनिस्ट नेतृत्वले राजधानी काठमाडौँमा फेब्रुअरी १ देखि सुरु भएको १० दिने धार्मिक कार्यक्रममा सहभागी हुन आएका एक तिब्बती बौद्ध गुरुको भ्रमणप्रति तीव्र आलोचना गरिरहेका बेला, चीनको तिब्बत सीमावर्ती क्षेत्रमा भने चिनियाँ सुरक्षाकर्मीहरूले वर्षौंदेखि नेपाली पशुपालकमाथि दुर्व्यवहार, कुटपिट र आगजनी गर्दै आएको गम्भीर विषयलाई नजरअन्दाज गरिएको देखिन्छ ।

कम्युनिस्ट नेताहरूले ती बौद्ध गुरु दलाई लामाका प्रतिनिधि भएको आरोप लगाउँदै चीनका लागि ‘रेड फ्ल्याग’ हुन सक्ने दाबी गरिरहेका छन् । तर यो आरोप निराधार र जारी आमनिर्वाचनसँग जोडिएको राजनीतिक उद्देश्यबाट प्रेरित देखिन्छ । बरु उनीहरूले आफ्नो आक्रोश चीन–नेपालबीच सन् २०१२ मा भएको सीमापार चरन सम्झौताको खुला उल्लङ्घन गर्दै नेपाली पशुपालकमाथि भइरहेको ज्यादतिप्रति केन्द्रित गर्नुपर्ने देखिन्छ ।

Kathmandupost.com ले फेब्रुअरी ३ मा जनाएअनुसार, सन् २०१२ को द्विपक्षीय सम्झौताअनुसार सीमा क्षेत्रका बासिन्दालाई एक–अर्काको सीमाभित्र ३० किलोमिटरसम्म मौसमी चरन गर्न अनुमति दिइए पनि तिब्बततर्फका चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली गोठालाहरूलाई दुर्व्यवहार गर्ने, कुटपिट गर्ने र धम्क्याउने कार्य गर्दै आएका छन् ।

सात–आठ वर्षअघिसम्म नेपाली पशुपालकहरू सम्झौताअनुसार खुला रूपमा सीमापार चरन गर्न सक्थे । तर पछिल्ला वर्षहरूमा चिनियाँ अधिकारीहरूले कडा नियन्त्रण लागू गरेपछि उनीहरू मानव आवतजावत न्यून भएका दुर्गम वन क्षेत्रमा पशु चराउन बाध्य भएका छन् ।

“यस्तो कहिल्यै भएको थिएन । अहिले त लुकी–लुकी चरन गर्न पनि डर लाग्छ,” सुदूरपश्चिम प्रदेशको बाजाङ जिल्लास्थित साइपाल गाउँपालिका–३, काण्डाका बासिन्दा वीरबहादुर बोहराले बताएका छन् । सुदूरपश्चिम प्रदेश उत्तर–पश्चिमतर्फ तिब्बतको पुराङ काउन्टी, पश्चिमतर्फ उत्तराखण्ड र दक्षिणतर्फ उत्तर प्रदेश (भारत), पूर्व र उत्तरतर्फ कर्णाली प्रदेश तथा दक्षिणतर्फ लुम्बिनी प्रदेशसँग जोडिएको छ ।

बोहरा र पासाङ तामाङले आफ्ना घोडा र खच्चडहरू उरै भञ्ज्याङस्थित सीमा स्तम्भ नं. २ बाट करिब १७ किलोमिटर टाढा तिब्बततर्फको ‘बैन्स’ क्षेत्रमा चरनका लागि लगेका थिए । नेपाल–चीनबीच सन् २०१२ जनवरी १४ मा हस्ताक्षर भएको Trans-Frontier Pasturing by the Border Inhabitants सम्झौताले सीमावर्ती बासिन्दालाई अन्तर्राष्ट्रिय सीमाबाट ३० किलोमिटरभित्र चरन गर्न अनुमति दिएको छ ।

तर बोहरा र तामाङका अनुसार चिनियाँ सुरक्षाकर्मीहरूले उनीहरूलाई गालीगलौज गर्दै कुटपिट गरे, बस्नका लागि बनाइएका टेन्टहरूमा आगजनी गरे र ओछ्यान, लुगा, खाद्यान्न तथा भान्साका सामग्रीहरू जलाइदिए । घोडाका लगाम, काठी र कम्बलसमेत जलाइएको उनीहरूको भनाइ छ ।

“टेन्टबाहिरका भाँडाकुँडा फुटाइदिए । मेरो मोबाइल खोसेर त्यसैबाट टाउकोमा दुई पटक हाने । टाउकोमा डल्लो आयो, मोबाइलको स्क्रिन पनि फुट्यो,” तामाङले बताएका छन् । कुटपिटपछि चिनियाँ सुरक्षाकर्मीहरूले उनीहरूलाई घोडा–खच्चडसहित उरैतर्फ नेपाली सीमामा पुर्‍याए र पुनः त्यहाँ पशु नल्याउन चेतावनी दिँदै फेरि चिनियाँ भूमिमा प्रवेश गरे नतिजा राम्रो नहुने धम्की दिएका थिए । “उनीहरू अत्यन्तै आक्रोशित थिए । केही नबोली कुट्न थाले, टेन्ट जलाइदिए । गल्ती के गर्‍यौँ भनेर सोध्दा भाषा नबुझेको भन्दै झन् आक्रामक भए,” बोहराले भने ।

बैन्स घटनाको भोलिपल्ट, साइपाल–२, जिमाका ६८ वर्षीय सब्बल्या राउतमाथि पनि चिनियाँ सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेको आरोप छ । करिब ५५० भेडा लिएर सीमाबाट ११ किलोमिटरभित्र चरन गरिरहेका बेला सुरक्षाकर्मी पुगेपछि कुटपिटको प्रयास भएको र ज्यान जोगाउन उनी भाग्न बाध्य भएका थिए ।

“मैले हात जोडेर बुढोलाई नपिट्न बिन्ती गरेँ । हुम्लाबाट आएका दुई जना अनुवादकले कुरा बुझाइदिएपछि कुटपिट त भएन, तर त्यहाँ बस्न दिएनन्,” राउतले भने । राउत त्यसपछि हुम्ला जिल्लाको तौवेन क्षेत्रमा सरे । उनी १६ वर्षको उमेरदेखि ५२ वर्षसम्म हरेक मनसुनमा तिब्बतमा भेडा चराउँदै आएका थिए ।

स्थानीयवासीका अनुसार यी घटना अपवाद होइनन् । हिमाली गाउँपालिका निवासी ६९ वर्षीय सम्नेल गुरुङले तीन वर्षअघि लुबु नजिक अनुमति नलिएको भन्दै आफू र अन्य ११ गोठालामाथि कुटपिट भएको बताए । “पहिले आफ्नै क्याम्प र चरनस्थल थियो । अहिले चोरझैँ जानुपर्छ । पुर्ख्यौली जमिनमा जान नपाउँदा मन अत्यन्तै दुख्छ,” गुरुङले भने ।

कडा नियन्त्रण, कमजोर कूटनीति

पछिल्ला वर्षहरूमा चरनका कारण वन विनाश भएको भन्दै चिनियाँ सुरक्षाकर्मीहरूले तिब्बत प्रवेशमा झन् कडाइ गरेका छन् । बाजाङका गोठालाहरूका अनुसार प्रायः हरेक वर्ष दुर्व्यवहार सहनुपरेको छ । कोभिड–१९ अघिसम्म अवस्था फरक थियो । साइपालबाट मात्रै हरेक गर्मीमा ८–१० हजार भेडा–बाख्रा तिब्बततर्फ चरन जान्थे, सयौँ गोठालाले हेरचाह गर्थे । “कुनै रोकटोक थिएन । जहाँ गइयो, आफ्नै गाउँजस्तै लाग्थ्यो । अहिले त्यो सम्बन्ध हराउँदै गयो,” १९८३ देखि तिब्बतमा चरन गर्दै आएका कालु धामीले भने ।

१५–२० वर्षअघि सीमापार व्यापारसमेत फस्टाएको थियो । गर्मीमा नेपालीले उत्पादन उत्तरतर्फ लैजान्थे, जाडोमा तिब्बतीहरू ऊन र नुन लिएर दक्षिण झर्थे । अहिले चीनले तिब्बतीहरूलाई नेपाल प्रवेशमा रोक लगाएपछि यो परम्परागत व्यापार लगभग समाप्त भएको छ ।

पूर्व चिनियाँ राजदूत राजेश्वर आचार्यका अनुसार यो अवस्था नेपालको कमजोर कूटनीतिक पहलको परिणाम हो । “चीन आफ्ना राष्ट्रिय स्वार्थअनुसार नीति बदल्छ । तर नेपालले परम्परागत अभ्यास जोगाउने गरी सम्बन्ध पुनर्सन्तुलन गर्न सकेन,” उनले भने ।

धार्मिक भ्रमणलाई लिएर विवाद

यसैबीच, नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले एक चिनियाँ बुद्धिजीवीले Dragon नामक चिनियाँ सञ्चारमाध्यममा नेपालविरुद्ध चेतावनीपूर्ण लेख लेखेको दाबी गरेका छन् । उनले क्याब्जे जोनाङ ग्याल्त्साब रिन्पोछेको हालैको नेपाल भ्रमणलाई चीनविरोधी गतिविधिसँग जोड्ने प्रयास गरेका छन् ।

तर गृह मन्त्रालय र नेपाल प्रहरी दुवैले उक्त दाबी अस्वीकार गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार रिन्पोछेको आगमनबारे कुनै औपचारिक जानकारी छैन ।

डोल्पो सोसाइटीका अध्यक्ष ताशी फुन्छो गुरुङले भने डोल्पो समुदाय र जोनाङ परम्पराबीच ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध गहिरो रहेको स्पष्ट पारेका छन् । “क्याब्जे जोनाङ ग्याल्त्साब रिन्पोछेलाई आमन्त्रण गर्नु डोल्पो समुदायको ऐतिहासिक र सांस्कृतिक विरासतसँग प्रत्यक्ष जोडिएको स्वाभाविक र वैध कार्य हो,” उनले वक्तव्यमा भनेका छन् ।

तिबेतनरिभ्युबाट साभार