विजय चौधरीले काठमाडौंमा ज्यान गुमाए, तर सिरहामा उनलाई कुरिरहेका छन् आमा-बुबा

हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ । छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।

मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।

घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आउनुभएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहनुभएको छ । “भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु ।”

सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । ग।त मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।

पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।

भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुग्नुभयो । उहाँले राजधानीका दर्जनौँ अस्पताल चहार्नुभयो । चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पार्नुभयो । शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गर्नुभयो । त्यसपछि विक्षिप्त बन्नुभएकी सुशीला बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताउनुभयो । “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरीदेवीले भन्नुभयो ।

विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै हुनुहुन्छ । उहाँले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाउनुभएको हो । सायद उहाँलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उहाँको श्रीमती अझै अर्धचेत अवस्थामा हुुनुहुन्छ । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि !’

सबैसँग मिलेर बस्नसक्ने उहाँको स्वभाव थियो । लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्नुहुन्छ, “विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे ।” उहाँका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उहाँलाई गोली लाग्यो ।

गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।

चितवनका ललितकुमार चौधरीलाई अन्तरिम सरकारको मन्त्री बनाउन लक्ष्मण थारूको माग

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने माग थारू अगुवाहरूले गरेका छन्। आज विहान चितवनमा बसेको थारू अगुवाहरूको बैठकमा थरूहट आन्दोलनका नेता लक्ष्मण थारूले ललितकुमार चौधरीलाई अन्तरिम सरकारमा पठाउने प्रस्ताव राखेका थिए।

बैठकमा सहभागी अधिकांश व्यक्तिहरूले उक्त प्रस्तावलाई समर्थन जनाएका छन्। बैठकमा थारू समुदायका अगुवाहरू, बुद्धिजीवी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

चितवनको माडीमा २०३४ सालमा जन्मिएका ललितकुमार चौधरी थारू समुदायका स्थापित अगुवा नेता हुन्। २०५६ सालमा उनी थारू विद्यार्थी समाज चितवनका जिल्ला अध्यक्ष बने। २०६४ सालमा दाङमा आयोजना गरिएको महाधिवेशनबाट थारू विद्यार्थी समाजको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए। विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रामा सक्रिय भएका चौधरी पछि थारू कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति बने। हालः उनी दोस्रो कार्यकालमा पनि सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। ललितकुमार चौधरी हाल कुनै पनि राजनीतिक पार्टीसँग औपचारिक रूपमा आबद्ध छैनन्।

रेशम चौधरीद्वारा नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालको घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।

उनले नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गरेका हुन्। नयाँ पार्टी घोषणा गर्दै उनले अन्तरिम सरकारसँग तीन बुँदे माग राखेर अघि बढ्ने बताए। उनले टीकापुर घटनाको झुठा मुद्दा खारेज गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधानको पुनर्खेलनसँगै प्रदेशको पुनःसंरचना हुनुपर्ने माग राखेका छन्।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए। पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो। श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो।

‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् ।

नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’

संसद्मा राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने उनले स्पष्ट पारेका छन् । नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने बताए ।

‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, तर व्यक्तिगत अहङ्कार र स्वइच्छालाई मैले जित्न सकिन ।,

नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद दिँदै नागरिक उन्मुक्ति पार्टी नेपालमा स्वागतको आह्वान समेत उनले गरेका थिए ।

काठमाडौंको जितिया कार्यक्रम स्थगित

देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन्। थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो।

सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महोत्सव स्थगित गरिएको र जितिया पर्वलाई आ-आफ्नो घरमै परम्परागत रुपमा मनाउन आग्रह गरेकी छन्।

थारु समुदायका महिलाहरुको प्रमुख पर्वको रुपमा रहेको जितिया पर्वलाई यस वर्ष सामुहिक रुपमा मनाउने वातावरण नभएको अध्यक्ष चौधरीको भनाइ छ। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको वातावरण सहज बनिनसकेकाले जितिया पर्वलाई आफ्नै घरमा मनाउन उनले आग्रह गरिन्।

थारु समुदायले तीन दिन जितिया पर्व मनाउने गर्दछन्। भदौ २८ देखि ३० गतेसम्म मनाइने जितिया पर्वलाई परिस्थितिका कारण महोत्सवको रुपमा नमनाइने अध्यक्ष चौधरीको भनाइ छ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित आठ दलका नेताद्वारा तत्काल प्रतिनिधिसभा बैठक बोलाउन माग

विभिन्न ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेका छन्। संसद विघटन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतबाट प्रतिवाद भएका नजीर र सिद्धान्त विपरीत रहेको उनीहरूको ठहर छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आपत्तिसमेत जाएको छ।

‘भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण र असहमति छ। नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ। लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनुपर्ने र सबै निकायहरू संविधान र कानुन बमोजिम सञ्चालन हुनुपर्छ भन्ने कुरामा हाम्रो अटल विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान सभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन। जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरू एवं नेपालको संवैधानिक परम्परा विपरीत छ।’

यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको उनीहरूको ठहर छ। ‘तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालका युवाको खुलेर प्रशंसा (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।

उनले मणिपुरबाट नेपालका साथीहरूसँग सम्पर्क गर्ने प्रतिवद्धता पनि जनाए। ‘मणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको एउटा मित्र हो। नजिकको साथी हो। हामी साझा इतिहासबाट जोडिएका छौं, अस्थाबाट जोडिएका छौं। एकसाथ अगाडि बढिरहेका छौं। म नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु। मलाई आशा छ, नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ,’ उनले भनेका छन्।

उनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ठूलो उदाहरण भएको बताए। ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको ठूलो उदाहरण हो। म आज नेपालमा त्यस्ता प्रत्येक व्यक्तिको सराहना गर्न चाहन्छु, जसले यस्तो अस्थिरताका बावजुद लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे,’ उनले भने।

उनले प्रदर्शनका बावजुद नेपाली युवाहरूले गरिरहेको सरसफाइ अभियानको पनि खुलेर प्रशंसा गरे। उनले नेपालमा नयाँ उदय भएको संकेत पनि गरे। ‘एउटा अर्को अर्को कुरा पनि छ, जसमा धेरैको ध्यान गएको छैन। पछिल्ला दुई तीन दिनदेखि नेपालका युवा-युवतीहरू सडकमा सफाइ र रंगरोगनका काम मेहनत र पवित्र भावनाका साथ गरेको देखिएका छन्। सामाजिक सञ्जालमा आएका उनीहरूको तस्बिर मैले पनि देखेको छु। उनीहरूको सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायीमात्र होइन, नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। नेपालको उज्वल भविष्यको शुभकामना दिन चाहन्छु,’ उनले भनेका छन्।

भिडियो हेर्नुस्:

me>

नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ : नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन्। साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।’

यसअघि भारतको विदेश मन्त्रालयले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो।

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका हुन्।

प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरले बताए।

जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा ६१ बमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको सपद लिँदै कार्यभारसमेत सम्हालेकी छन्।

फागुनभित्र नयाँ निर्वाचन गराउन प्रधानमन्त्री कार्कीलाई म्यान्डेट

राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्न शर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधाने सुम्पिएको संवैधानिक प्रतिवन्धातमक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको जिम्मेवारी अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई दिएका हुन्।

उनले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षाअनुसार राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ, आजै गर्दैछिन् यस्तो निर्णय?

प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्।

सपथपछि उनले नवियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन पनि गरे। बधाई दिने बेलामा राष्ट्रपति पौडेलले ‘देश सफल होस्, जनता पनि बचून’ भनेका थिए। ‘धेरै धेरै बधाई छ। देश सफल होस्। जनता बचून,’ उनले भनेका थिए। राष्ट्रपतिले बधाई दिँदा नवनियुक्त प्रधानमन्त्रीले टाउको हल्लाउँदै सहमति जनाएका थिए।

जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।

संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने स्रोतले जनाएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नेछन्।