राति १० बजेदेखि सेना परिचालन

राति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ।

‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ। यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं। सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं,’ सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट दिए राजीनामा

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु। परिवर्तनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको साहस, जागरुकता र सचेतनाले स्पष्ट संकेत गरेको छ। पुराना प्रणालीहरूमा आमूल सुधार जरुरी छ,’ उनले भनेका छन्, ‘तसर्थ उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता केवल शब्दमा सीमित नरहोस् भन्ने गम्भीर जिम्मेवारीको अनुभूति गर्दै म आजको मितिबाट प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँछु।’

नाउपा लुम्बिनी प्रदेशका चारैजना सांसदले दिए राजीनामा

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। संसदी दलका नेता धर्मबहादुर चौधरीका अनुसार चारैजना सांसदले सामूहिक राजीनामा दिएका हुन्। सांसद चौधरीसहित, धर्मबहादुर चौधरी, राजकुमार चौधरी, नरमाया ढकाल र निर्मला देवी चौधरीले सामूहिक राजीनामा दिएका हुन्।

सांसद पदबाट राजीनामा दिने नाउपा नेता अरुण चौधरीको घोषणा

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै सांसद चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्।

‘म अरुणकुमार चौधरी कैलाली क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य आजको मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्दछु। जेनजी आन्दोलनलाई पुर्ण समर्थन गर्दछु,’ उनले भनेका छन्।

राजनीतिक निकासका लागि भन्दै प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्।

मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निवकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।

यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका थिए। तर, प्रदर्शकारीहरूले नेताहरूको घर छानी छानी आगजनी गरिरहेका छन्। सरकारी भवन, पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरिरहेका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको निवासलगायत नेता र मन्त्रीका घरहरूमा आगजनी गरेका छन्।

त्यस्तै प्रदर्शनकारीहरूले प्रहरी बिट जलाउनुका साथै सिंहदरवारमा पनि प्रवेश गरेका छन्।

मध्यरातमा प्रधानमन्त्रीको वक्तव्य- स्वार्थ केन्द्रबाट घुसपैठ हुँदा नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भएको बताएका छन्। सोमबार मध्य राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको मागप्रति सरकार नकारात्मक नरहेको उल्लेख गरेका छन्।

‘जेन-जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ। हाम्रा छोराछोरी पुस्ताले आफ्‌ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो। जेन-जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन। हामी जेन-जी पुस्ताको मागलाई सुनिरहेका थियौं। तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो। प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्‌वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे। यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो,’ प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ।

सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक-पटक आग्रह गर्दै आएको प्रधानमन्त्री ओलीले जनाएका छन्। कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचीकरण गरे पनि केहीले पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको पनि उनले स्मरण गराएका छन्।

‘सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन। अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्‌वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो। बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो। राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेनजी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो। सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ। यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिए । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

उनले प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन्। ‘यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ। आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रधानमन्त्रीको राजीनामा आउँदैन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने बताएका छन्। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताए।

गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएको उनले बताए। ‘सडकमा बसेर राजीनामा मागेर हुन्छ,’ सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले भने। त्यस्तै सरकारले जेनजी प्रदर्शनमा जयान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको बताए।

जेनजीसँग झुक्यो सरकार, सामाजिक सञ्जाल खोल्ने निर्णय

सरकारले निष्क्रिय रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए।

यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा सामाजिक सञ्जाल खुलाउन उनले आग्रह गरेको स्रोतले बताएको छ।

थारू आयोगका सदस्य उमाशंकर चौधरीले दिए राजीनामा

थारू आयोगका सदस्य डा. उमाशंकर चौधरीले राजीनामा दिएका छन्। डा. चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम राजीनामा बुझाएका हुन्।

राष्ट्रपति रामचन्द्र पदडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्य पदबाट मिति २०८२ भदौ २२ गते दिनुभएको राजीनामा मिति २०८२ भदौ २३ गतेदेखि लागू हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,’ राष्ट्रति कार्यालयका सूचना अधिकारी अर्चना खड्का अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले बनायो छानबिन समिति, प्रधानमन्त्रीले भने- जेनजीलाई दुरुपयोग गरी हिंसा भड्काइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए।

त्यस्तै जेनजी पुस्ताको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। छानबिन समितिको संयोजक र सदस्यहरू भने भोलिको बैठकले तय गर्ने निर्णय भएको स्रोतको भनाइ छ।

जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ। मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ। यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ।

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ। काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। ‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु,’ अन्नपूर्णसँगको कुराकानीमा उनले भनेका थिए।

कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि ‘राजीनामा दिन्छु’ भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका थिए।