गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ।

यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। ‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु,’ अन्नपूर्णसँगको कुराकानीमा उनले भनेका थिए।

कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि ‘राजीनामा दिन्छु’ भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका थिए।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।

विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ । यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारका विरुद्ध ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

जेनजीको प्रदर्शनमा कम्तीमा १३ जनाको मृत्यु

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो । अस्पतालका अधिकारी अनिल अधिकारीले मृत्युको पुष्टि गरे । ‘५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । ४ जना गम्भीर अवस्थाका छन्,’ उनले भने ।

यस्तै उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए । केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

अमेरिका बस्ने दुई थारू युवाले नेपालमा ल्याउँदैछन् कुरा गर्न मिल्ने ‘मेरोनेप’

अमेरिका बस्ने दुई जना थारू युवाहरूले ‘मेरोनेप’ नामक एप नेपालमा सार्वजनिक गर्ने तयारी गरेका छन्। कुरासमेत गर्न मिल्ने उक्त एपलाई एन्ड्रोइडमार्फत नेपालमा लन्च गर्ने तयारी गरिएको हो। यद्यपि यो एप अमेरिकालगायत केही देशहरू सञ्चालनमा आइसकेको छ।

चितवनका मनोज महतो हालः अमेरिकाम आइटी क्षेत्रमा पीएचडी गर्दैछन्। त्यस्तै मोरङका प्रदीप चौधरी पनि लामो समयदेखि आइटी क्षेत्रमा सक्रिय छन्। यिनै दुई थारू युवाहरूको पहलमा मेरोनेप एप सार्वजनिक हुन लागेको हो।
हालः यो एप अमेरिकामा निकै रुचाइएको मनोज महतोले थारूवानलाई बताए। अमेरिकामा पुगेका नेपालीहरूको समस्या समाधान गर्ने उद्देश्यले यो एप खोलिएको मनोजको भनाइ छ। तर, सयमको माग र नेपालमा सरकारको लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्धका बीच एन्ड्रोइनमा सार्वजनिक गर्ने तयारी गरिएको हो।

‘अमेरिका आएपछि नेपालीहरूले निकै नै समस्या भोग्नछन्। हामीले पनि त्यो समस्या भग्यौं। सुरूमा त यहाँ आएर कहाँ बस्ने, के खाने, कसलाई सम्पर्क गर्ने समस्या हुन्थ्यो। जस्तै घर भाडाका कुरा होस्, घरमा आउने स-साना समस्या होस्, कसैलाई इमिग्रेसनको समस्या हुन्छ, कसैलाई अचानक स्वास्थ्यमा समस्या हुनसक्छ, बीमा, ड्राइभिङ आदिका समस्या हुन्छ, यी सबै कुरालाई एकै प्लेटफर्मबाट सम्बोधन गर्न मेरोनेप एप ल्याएका हौं। सुरूमा अमेरिका लक्षित राखेर आइओएसमा मात्र लन्च गरेका थियौं। विस्तारै यसलाई अन्य देशहरूमा सार्वजनिक गर्दै गयौं। अहिले देशमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको अवस्था छ। एन्ड्रोइडमा गएर नेपालमा पनि विस्तार गर्ने यो उचित समय जस्तो लाग्यो,’ थारुवानसँगको कुराकानीमा उनले भने।

मनोजको टिम अमेरिका र नेपालमा पनि सक्रिय भएर काम गरिरहेको छ। उनका अनुसार नेपालमा मात्रै ११ जनाको टिमले एप तयार गर्दैछ। ती सबै डेभ्लपरहरू थारू समुदायकै रहेको उनले बताए। ‘थारू समुदायकै डेभ्लपरहरूले यो एपको विकास गर्दैछ। मुख्य कुरा हामीले हेरे पनि अधिकांश काम नेपालबाट भइरहेको छ,’ उनले भने।

अबको समय प्रविधिको भएकाले पनि यसलाई दीर्घकालीनरूपमा देश र विदेशमा रहेका नेपालीहरूलाई जोड्दै लैजाने योजना रहेको उनले बताए।

सरकारले भन्यो- सामाजिक सञ्जाल चलाउन भीपीएन प्रयोग नगर्नू

सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो।

‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न/नगराउनू,’ मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सरकारले आह्वान गरेको छ। त्यस्तै सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने पनि विज्ञप्तिमा उल्लेख छ। सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयन गराउन आम नागरिकसँग अपील पनि गरेको छ।
त्यस्तै यसबीचमा हाम्रो पात्रो र ग्लोबल डायरीले सूची दर्ता गरेको र दर्ता भएपछि नेपालमा सञ्चालनसमेत भइरहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार अमेरिकी कम्पनी एक्स र चिनियाँ कम्पनी वीच्याटले सूचीका लागि कागजात मगाएपछि आवश्यक विवरण पठाइएको छ।

थारू पर्वका विषयमा भ्रम फैलाउँदै मेनस्ट्रिम मिडिया

पश्चिम तराईका थारू समुदायले भदौ ६ गते अट्वारी पर्व मनाए। ठाउँअनुसार यसलाई बड्की अट्वारी, बड्का अत्तवारी पनि भनिन्छ। उक्त दिन मेनस्ट्रीम सबै अनलाइन मिडियाले ‘थारू समुदायले अट्वारी पर्व मनाउँदै’ भनेर स्थान दिए। तर, केही मिडियाले अट्वारीको पर्वको तथ्यलाई नै तरोड मरोड गरेर समाचार प्रकाशन गरेको पाइयो।

बाह्रखरी डटकमले भदौ ८ गते ‘थारू महिलाले अट्वारी मनाउँदै’ शीर्ष समाचार प्रकाशन गर्‍यो। रातोपाटीले ‘थारू समुदायले आज अटवारी पर्व मनाउँदै’ भनेर समाचार प्रकाशन गर्‍यो। यी दुवै अनलाइन सञ्चारमाध्यमले अट्वारी पर्वको मौलिकता र तथ्यलाई तरोडमरोड गरेको पाइयो।

बाह्रखरीले लिडमै लेखेको छ, ‘थारू समुदायका महिलाले आइतबार अट्वारी पर्व मनाउँदै छन्। तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी थारू समुदायका महिलाले साउन महिनाको अन्तिम आइतबारलाई अट्वारीका रूपमा मनाउने गर्छन्। अट्वारी शब्द ‘आठौँ दिन’ वा ‘आइतबार’सँग सम्बन्धित छ । यो पर्व पति र परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै मनाउने चलन छ।’

अट्वारी पर्वसँग यो कुनै पनि विषय मेल खाएन। खासमा योग थारू पुरुषहरूले मनाउने पर्व हो। तर, छिटपुट महिलाहरूले पनि यो पर्व मनाउने गरेका छन्। समाचारको लिडमा भन्याजस्तो यो पर्व महिलाले मनाउने पर्व होइन। यो साउनको अन्तिम आइतबार पनि मनाइँदैन। न यो पतिको दीर्घायुको लागि मनाइन्छ। यो समाचारको लिडमात्र होइन, पुछारसम्म पनि केही शब्दबाहेक अट्वारीको महत्त्वसँग मेल खाँदैन।

त्यस्तै रातोपाटी डटकमले अट्वारी पर्वको समाचारमा फाइल फोटो भन्दै गलत तस्बिर राखेको छ। जुन फोटो अट्वारी पर्वसँग मेल खाँदैन। रातोपाटीको समाचारमा पनि अट्वारी पर्वबारे गलत व्याख्या गरिएको छ। समाचारको दोस्रो लाइनमा भनिएको छ, ‘शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने।’ अट्वारी पर्व हरेक वर्ष आइतबारकै दिन पर्छ र त्यसको दुई दिन अघि नै अर्थात् शुक्रबार दर खाने चलन यो पर्वमा छैन।

रोचक त के भने यो समाचार सरकारी न्युज एजेन्सी राससबाट लिइएको छ। राससका दाङ संवाददाताले यो समाचार तयार पारेको देखिन्छ। तर, यो समाचारको इतिहास खोज्ने हो भने अर्को रोचक कुरा थाहा पाइन्छ। राससले २०७९ सालमा पनि सोही समाचार प्रकाशित गरेको देखिन्छ। पहिले र अहिलेको समाचारमा एउटै कुराको फरक छ, त्यो भने व्यक्तिको कोट। बाँकी कोटमा भनिएका कुरा पनि जस्ताको तस्तै राखिएको छ।

यस विषयमा बाह्रखरी र रातोपाटीको फेसबुकमा थुप्रै थारू अगुवाहरूले कमेन्ट गरेका छन्। तर, ती मिडियाले सच्याउने प्रयास गरेको देखिएन।

थारू लेखक छविलाल कोपिलका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने थारू समुदायले माघीपछिको ठूलो पर्वका रूपमा अट्वारीलाई मनाउने गर्छन्। थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार थारूहरुले अट्वारी पर्वको पहिलो रात दर (भिन्सर्या भाट) खाने गर्छन्। दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ। यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन्।

बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ। यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ, जसलाई अग्रासन पनि भनिन्छ। तसर्थ यो पर्वलाई दाजुभाइ र दिदीबहिनीप्रतिको प्रेम र सद्भावको रूपमा पनि चित्रण गरिन्छ।

नउपा सांसद लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गाैला प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए।

तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनको भनाइ थियो। यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गाैला प्रत्यारोपण सम्पन्न गरी उहाँलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए।

‘सामान्यतया मिर्गाैला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गाैलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गाैला असफल हुन सक्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौं।’

चौधरीको पहिलो मिर्गाैला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो। चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए।

नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ। प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गाैला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ।

देशमै सेवा पाउँदा खुसी छु : चौधरी
३३ वर्षको उमेरमा पहिलो पटक मिर्गाैला फेल भएपछि सन् २००९ मा चौधरीले भारतमा गएर मिर्गाैला प्रत्यारोपण गराएका थिए । पखाला लाग्ने, लगायतका समस्याका कारण पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गाैला फेल भएको चौधरीले जानकारी दिए ।

त्यसपछि २०७२ सालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमै उनको मिगर्गाैला प्रत्यारोपण गरिएको थियो। कोभिड-१९ संक्रमण, निमोनिया र फंगल संक्रमणका कारण दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौला खराब भएको डा.पुकार चन्द्र श्रेष्ठको भनाइ छ।

यसपटक चौधरीको ‘पेयर एक्सचेन्ज’ प्रणाली अर्थात् दुई बिरामीका आफन्तबीच मिर्गाैला सट्टापट्टा गरी प्रत्यारोपण गरिएको हो। नेपालमा तेस्रोपटक सफल मिर्गाैला प्रत्यारोपण गरिएको यो पहिलो केस रहेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारले बताए। ‘एकै व्यक्तिमा तेस्रो पटक गरिएको प्रत्यारोपण सफल भइसकेको छऽ’ डा.पुकार भन्छन्, ‘नेपालको प्रत्यारोपण सेवा विश्वस्तरीय छ भन्ने यो भन्दा गतिलो उदाहरण के हुनसक्छ?’ व्यक्तिमा तेस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था विरलै हुने डा.श्रेष्ठले बताए ।

नेपालको सरकारी स्वास्थ्य संस्थामा तेस्रो पटक सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गराउनु पाउनु निकै खुसीको कुरा भएको प्रदेशसभा सदस्य चौधरीले बताए। आफूलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्रोत, साधन र जनशक्तिप्रति पूर्ण विश्वास रहेकाले नै तेस्रो पटक पनि यहीँ प्रत्यारोपण गराएको उनले सुनाए।

‘हामी जनप्रतिनिधिले नै यहाँका सरकारी स्वास्थ्य संस्थाको सेवामा विश्वास नगरे कसले गर्ने?,’ चौधरीले भने, ‘आफ्नै देशभित्र यो खालको सेवा लिन पाउनु निकै खुसीको कुरा हो।’ राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामीको अत्यधिक चाप रहेकाले त्यो अनुसार अस्पतालको आफ्नै भवन लगायतका पूर्वाधार नहुँदा समस्या भएको चौधरीले बताए। त्यसमा सरकारले बेलैमा विचार गर्नुपर्ने उनको सुझाव छ।

बेलायतमा थारूहरूको फुटबल टोली गठन, छबिन नारायण चौधरीको कप्तानीमा एनआरए कप खेल्ने

थारू कल्याणकारिणी सभा युके च्याप्टरले एनआरएनए कपका लागि फुटबल टोली गठन गरेको छ। १३ सेप्टेम्बरदेखि स्प्रिङवेस्ट एकेडेमीमा हुन लागेको ९ए साइड फुटबल प्रतियोगिताका लागि थाकस युएई च्याप्टले टोली गठन गरेको हो।

थाकस युके च्याप्टरका सचिव प्रशान्त चौधरीका अनुसार छबिन नारायण चौधरीको कप्तानीमा टोली गठन गरिएको हो। टोलीमा दुई जना गोलकिपर समीर चौधरी र सिदार्थ चौधरी, मिडफिल्डमा कप्तान छबिन नारायणसहित विशाल चौधरी, कोमल चौधरी र साजन चौधरी, फर्वाडमा कुलमनी चौधरी, डिफेन्समा भीम चौधरी, प्रविन चौधरी र रिसब चौधरी रहेका छन्।

थाकसले टिम म्यानरजको जिम्मेवारी भिमलाल थारूलाई सुम्पेको छ। दोस्रो एनआरएनए प्रतियोगिताको विजेताले २२ सय पाउन्ड पाउनेछ भने दोस्रो हुनेले ११ सय पाउन्ड पाउनेछ।

सरकारले धम्कीको शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्यो : सांसद चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले सरकारले धम्कीको शैलीमा फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल बन्द गर्न खोजेको भन्दै आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लाखौं नेपालीको रोजगारी र व्यवसाय जोडिएको डिजिटल प्लेटफर्मलाई बन्द गर्ने धम्की दिनु जनहितविपरीत भएको बताए।

सांसद चौधरीले नेपालमा ९० प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको र उनीहरूको उद्यमशीलता डिजिटल प्लेटफर्मसँग गाँसिएको तथ्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाए। ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ भन्नेमा कसैको असहमति छैन,’ उनले भने, ‘तर त्यसका लागि सर्वोच्च अदालतले दिएको परमादेशअनुसार दर्ता गरेर नियमनमा ल्याउनुपर्छ, बन्द गर्ने धम्की दिने होइन।’

उनले सरकारले कुटनीतिक वार्ता, कानुनी प्रवर्धन र दीर्घकालीन रणनीति अपनाउनुको साटो ‘एक हप्ता, दुई हप्ता’ भन्दै धम्कीमा उत्रिएर असक्षमता प्रदर्शन गरेको टिप्पणी गरे। आफ्नो धारणा राख्ने क्रममा चौधरीले सरकार विपद व्यवस्थापन र रोग नियन्त्रणजस्ता संवेदनशील विषयमा पनि पूर्ण रूपमा असफल भएको दाबी गरे।

‘यसै वर्ष विपदका घटनामा २४१ जनाले ज्यान गुमाइसकेका छन्। वीरगञ्जमा हैजा फैलिएको डेढ हप्ता बित्दा पनि सरकारले स्रोत पत्ता लगाउन सकेको छैन,’ उनले भने, ‘जनता त्रासमा छन् तर सरकार मौन छ। सरकारले हैजा नियन्त्रण गरिरहेको छ कि मान्छे नियन्त्रण?’ उनले बेथितिविरुद्ध बोल्नेहरूलाई षडयन्त्र र दमनमार्फत जेल हाल्ने काम भइरहेको आरोपसमेत लगाए।

चीनको मेगा बाँध परियोजना : छिमेकी देशहरूका लागि बढ्दो पारिस्थितिक र भूराजनीतिक संकट

चीनले आफ्नो यार्लुङ जाङ्बो नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत परियोजना निर्माण गर्ने घोषणा गरेको छ, जसको अनुमानित लागत १७० अर्ब अमेरिकी डलर रहेको छ। बेइजिङले यस परियोजनालाई “शताब्दीको योजना” भन्दै नवीकरणीय ऊर्जा उत्पादन, क्षेत्रीय आर्थिक वृद्धि र हरित विकासको उदाहरणका रूपमा प्रचार गरिरहेको छ। तर यसको असर चीनको सीमाभन्दा बाहिर रहेका देशहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

यो परियोजनाको असर हिमालयबाट उत्पन्न हुने नदीहरूमाथि निर्भर रहेका देशहरू—नेपाल, भुटान र बंगलादेश—मा विशेष रूपमा पर्नेछ। यार्लुङ जाङ्बो नदी, जुन भारत हुँदै अन्ततः ब्रह्मपुत्र नदीका रूपमा बग्दछ, केवल एक प्राकृतिक चमत्कार मात्र होइन, दक्षिण एसियाका करोडौं मानिसहरूको जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित जीवनरेखा हो।

बंगलादेश, जुन पहिले नै जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुकहरूमध्ये एक हो, कृषि, माछापालन र खानेपानीका लागि ब्रह्मपुत्र नदीको स्थायी प्रवाहमा निर्भर छ। यार्लुङ जाङ्बोको माथिल्लो भागमा चीनद्वारा प्रस्तावित ठूलो बाँधले बाढीको मौसममा पानीको प्रवाह घटाउने खतरा उत्पन्न गर्छ, जसले १७ करोडभन्दा बढी जनसंख्याको खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्छ। साथै, समुद्री सतहको वृद्धिसँगै नुनिलो पानीको भूमिमा प्रवेश बढिरहेको अवस्थामा, नदी प्रवाहमा हुने कुनै पनि कृत्रिम हस्तक्षेपले बंगलादेशको कृषि प्रणाली र पानी आपूर्तिमा विनाशकारी असर पार्न सक्छ।

हिमाली राष्ट्र भुटानले भारतसँगको सहकार्यमा जलविद्युतमा आधारित अर्थतन्त्र विकास गर्दै आएको छ। देशको कुल गार्हस्थ उत्पादन (GDP) को करिब ३० प्रतिशत र निर्यात आम्दानीको ७० प्रतिशतभन्दा बढी हिस्सा जलविद्युतबाट आउने आयले ओगटेको छ। तर यार्लुङ जाङ्बो बाँधले तिब्बतबाट बहने नदीहरूको प्रवाह परिवर्तन गरेमा, भुटानको जलविद्युत योजनाहरू नै संकटमा पर्न सक्छन्। साथै, भूगर्भीय दृष्टिले संवेदनशील क्षेत्रमा निर्माण हुने बाँधले भूकम्प वा पहिरोको सम्भावना बढाउनेछ, जसको असर भुटानको नदी उपत्यकामा विनाशकारी हुनसक्छ।

नेपाल, जसले आफ्ना नदीहरूको सदुपयोग गरी जलविद्युतको माध्यमबाट दिगो विकासको सपना देखिरहेको छ, यस्ता परियोजनाहरूका कारण थप संकटमा पर्न सक्छ। माथिल्लो प्रवाहबाट पानीको आपूर्ति घटेमा, नेपालको जलविद्युत उत्पादन क्षमतामा प्रत्यक्ष असर पर्नेछ। ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा आश्रित भएको देशमा, पानीको अभावले ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षामा गम्भीर असर पार्नेछ। अझ महत्वपूर्ण कुरा, नेपालले भारत र चीन—दुवै जलविद्युत महाशक्तिहरूको बीचमा असहज भूराजनीतिक सन्तुलन कायम गर्नुपर्ने चुनौती पनि सामना गरिरहेको छ।

धेरै आलोचकहरूको मतमा, चीनको बाँध योजना केवल ऊर्जा उत्पादनको विषय होइन, बरु दक्षिण एसियामा पानीको स्रोत नियन्त्रण गरेर रणनीतिक प्रभुत्व कायम गर्ने प्रयास हो। भारत–पाकिस्तानबीचको सिन्धु जल सन्धि वा भारत–बंगलादेशबीचको गंगा सम्झौता जस्ता बाध्यकारी जल सन्धिहरूको अभावमा, चीनका यस्ता एकपक्षीय कदमहरूले छिमेकीहरूलाई थप कमजोर बनाउँछन्। चीनले सामान्यतः पहिला बाँध निर्माण गर्ने, त्यसपछि असरबारे छलफल गर्ने रणनीति अपनाएको देखिन्छ। यसले पारदर्शिताको अभाव सृजना गर्दै नेपाल, भुटान र बंगलादेशलाई नीतिगत रूपमा असुरक्षित बनाएको छ।

तिब्बती पठार, जसलाई प्रायः “तेस्रो ध्रुव” पनि भनिन्छ, आर्कटिक र अन्टार्कटिकपछि विश्वकै ठूलो ताजा पानीको भण्डार हो। यहीँबाट निस्कने नदीहरूले लगभग २ अर्ब मानिसहरूलाई जीवन दिने काम गर्छन्। तर यस्ता विशाल बाँधहरूले नदी प्रवाह र तलछटको गतिलाई अवरुद्ध गर्छन्, जसले तल्लो तटीय क्षेत्रमा जमिनको उर्वरता घटाउने, माटोको क्षयीकरण बढाउने, र रासायनिक मलमा निर्भरता बढाउने काम गर्छ। जैविक विविधतामा हानि पुग्नु यसको थप गम्भीर असर हो।

चीनले पहिले नै मेकोङ नदीमा ११ वटा बाँधहरू निर्माण गरिसकेको छ। लाओस, कम्बोडिया, थाइल्याण्ड र भियतनामजस्ता देशहरूले यी परियोजनाबाट नदीको सतहमा गिरावट, माछा जन्य स्रोतको ह्रास, र कृषिमा गम्भीर असर भोग्नुपरेको छ। यस्ता अनुभवहरू यार्लुङ जाङ्बो बाँधका सम्भावित असरहरूको चेतावनी स्वरूप लिन सकिन्छ।

यो परियोजना केवल वातावरणीय वा आर्थिक मात्र नभई सुरक्षा दृष्टिले पनि संवेदनशील छ। चीनले यदि चाह्यो भने माथिल्लो बाँधहरूबाट पानीको प्रवाह रोक्ने वा अचानक बाढी ल्याउने रणनीतिक प्रयोग गर्न सक्छ। यो कुनै कल्पना मात्र होइन, सन् २००० मा यार्लुङ जाङ्बो नदीमै भएको आकस्मिक पानी छोडाइले भारतको अरुणाचल प्रदेशमा बाढी ल्याएर ३० जनाको मृत्यु गराएको थियो। यसले चेतावनी संयन्त्रको अभाव र पानीको हतियारिकरणको सम्भावनालाई उजागर गर्यो।

चीनको “शताब्दीको परियोजना” नवीकरणीय ऊर्जाको सफलताको उदाहरण नभई, क्षेत्रीय असन्तुलन, पारिस्थितिक संकट र भूराजनीतिक अस्थिरताको प्रतीक बन्ने खतरा छ। नेपाल, भुटान र बंगलादेशजस्ता मुलुकहरू, जो पहिले नै जलवायु परिवर्तन, आर्थिक कमजोरी र अन्तर्राष्ट्रिय दबाबसँग जुधिरहेका छन्, यसको सबैभन्दा ठूलो मूल्य चुकाउने सम्भावना छ।

जबसम्म बाध्यकारी जल सम्झौता, पारदर्शिता र क्षेत्रीय सहकार्यका संरचना बनाइँदैनन्, तबसम्म यार्लुङ जाङ्बो बाँधलाई “शताब्दीको परियोजना” होइन, दक्षिण एसियाको शताब्दी लामो संकटको आरम्भको रूपमा हेर्न सकिन्छ।