यस्तो देखियो अध्यक्ष रञ्जिताले बोलाएको केन्द्रीय समिति बैठक, को को छन् सहभागी?

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन्।

बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। तर पार्टीका संरक्षक रेशम चौधरी पक्ष भने बैठकमा सहभागी भएका छैनन्। बैठकमा राखिएको ब्यानरमा एकातर्फ अध्यक्ष रञ्जिता श्रेष्ठ र अर्कोतर्फ संरक्षक रेशम चौधरी तस्बिर राखिएको छ।

यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीरलाई अध्यक्ष बनाएको थियो। तर निर्वाचन आयोगले उक्त कमिटीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी हुन्।

रञ्जिताले बोलाएको केन्द्रीय समिति बैठक बस्दै, रेशम चौधरी सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दैछ। काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बस्न लागेको हो।

पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेण्डासहित बैठक बोलाइएको अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ र प्रदेशका सांसदहरूलाई निमन्त्रणा गरिएको छ। तर, बैठकमा अध्यक्ष रञ्जिता पक्षका सदस्यहरूमात्र सहभागी हुने स्रोतले बताएको छ। बैठकमा पार्टीका संरक्षक रेशम चौधरीको पनि उपस्थिति नरहने स्रोतको दाबी छ।

‘बैठकमा पार्टी संरक्षक रेशम चौधरीको उपस्थिति हुनेछैन। पार्टी जन्मदाता बिनै अध्यक्ष श्रेष्ठले बैठक बस्न लागेकी हुन्,’ थारुवानसँग स्रोतले भन्यो। रेशम चौधरी पक्षका कोही सदस्य पनि बैठकमा सहभागी नहुने बताइएको छ। संस्थापक सदस्यहरूमध्ये बहुमत सदस्य रेशम चौधरीको पक्षमा रहेको स्रोतको दाबी छ। हुनतः यसअघि पनि रेशम पक्षका बहुमत सदस्यहरुको बैठकले  रञ्जितालाई कारबाही गरेको थियो।

दुई चल्ने बैठकले करिब एक दर्जन व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने र विधान संशोधनलगायतका विषय समेटेर निर्वाचन आयोगमा अधावधिकका लागि कागजात पेस गर्ने रञ्जिता पक्षको तयारी छ।

अत्यधिक गर्मीका कारण चीनमा कृषि, खाद्य सुरक्षा, जलस्रोत र मानव स्वास्थ्य संकटमा

चीन यस वर्ष अभूतपूर्व गर्मीको लहरबाट प्रभावित भएको छ। जलवायु परिवर्तनसँगै शहरीकरण, शहरी ताप टापु (UHI) प्रभाव, र जीवाश्म इन्धनमा बढ्दो निर्भरता प्रमुख कारणका रूपमा देखिएका छन्। यसले कृषि उत्पादन, जलस्रोत, खाद्य सुरक्षा र मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ। साथै, निरन्तर गर्मीका कारण आर्थिक गतिविधिमा समेत अवरोध सिर्जना भई देशको सकल घरेलु उत्पाद (जीडीपी) करिब एक प्रतिशत बिन्दुले घट्ने आकलन गरिएको छ।

जुलाई २०२५ मा मात्र चीनको थर्मल पावर उत्पादन ६०२ अर्ब किलोवाट-घण्टा (kWh) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशत बढी हो। चरम गर्मीका कारण एक हप्तामै बिजुलीको माग १.५ अर्ब किलोवाट नाघेको थियो—यो चीनको इतिहासमै पहिलोपटक हो। सोही महिनामा चीनले उच्च तापक्रमका दिनहरूको रेकर्ड अनुभव गर्‍यो, जहाँ १५२ राष्ट्रिय मौसम पर्यवेक्षकहरूले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरेका थिए। लामो गर्मीको लहरपछि अधिकारीहरूले विद्युत् आपूर्ति संकट र स्वास्थ्य जोखिमबारे चेतावनी जारी गरेका छन्।

शहरीकरण र औद्योगिकीकरणको अव्यवस्थित विस्तारले समस्या झन् जटिल बनाएको छ। NYU सांघाईका सहायक प्राध्यापक गुआन चेङ्घेले मानव निर्मित पूर्वाधारलाई प्रमुख दोषी ठहर गर्दै भने, “यो निर्णायक समय हो। चीनले नयाँ शहरहरू निर्माण गर्दा जलवायु परिवर्तनले त्यहाँ बस्ने मानिसलाई कसरी प्रभावित गर्छ भन्नेबारे गम्भीर सोच्नुपर्छ।”

तिब्बतमा खानी, ऊर्जा, पूर्वाधार र शहरीकरण परियोजनामा वृद्धि हुँदा पारिस्थितिक सन्तुलन भंग भएको छ। सामान्यतया चिसो रहँदै आएको तिब्बतका केही क्षेत्रमा अहिले UHI को अनुभव भइरहेको छ। घरेलु आवश्यकताका लागि जलविद्युतमा अत्यधिक निर्भरता पनि समस्या थपिने कारण बनेको छ। केन्द्रीय तिब्बती प्रशासनका तत्कालीन राजनीतिक प्रमुख लोबसाङ साङ्गेले भनेका छन्, “तिब्बतमा चीनद्वारा गरिएको शहरीकरणले तापक्रम बढाएको छ, जसको परिणामस्वरूप विगत ५० वर्षमा हिमनदीहरूको आधा हिस्सा पग्लिएको छ।”

गर्मीका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको छ। झेजियाङ प्रान्तकी ६७ वर्षीया महिला घाममा लामो समयसम्म बस्दा मस्तिष्क रक्तस्राव भई निधन भएकी थिइन्। स्वास्थ्य विज्ञ झुआङ्शी लिहेले भने, “स्वस्थ व्यक्तिहरूले पनि सूर्यबाट जोगिन र घरभित्र बस्नुपर्ने अवस्था आएको छ। यस्तो मौसममा वातानुकूलन भएको स्थानमै बस्नु सबैभन्दा सुरक्षित विकल्प हो।”

शान्डोङको क्विङदाओ विश्वविद्यालयमा विद्यार्थीहरू गर्मीका कारण पीडित भएपछि प्रशासनले पुस्तकालयमा सुत्न अनुमति दियो र पछि छात्रावास सुधार गर्न बाध्य भयो। सो विश्वविद्यालयकै एक कर्मचारीको मृत्यु भएको थियो। शान्सीका किसान झोउ यापिङले भने, “म २० वर्षदेखि गहुँ खेती गर्दै आएको छु, तर यतिविघ्न खडेरी कहिल्यै देखेको छैन।”

झाओकिङका चिकित्सक लु हुईले खेतमा काम गर्ने किसान, श्रमिक र डेलिभरी कामदारहरू अत्यधिक जोखिममा रहेको बताए। उनले भने, “गर्मीको थकान, क्र्याम्प वा स्ट्रोक जस्ता लक्षण देखिए पनि समयमै उपचार नभए गम्भीर रोगतर्फ प्रगति हुन्छ।”

चिनियाँ सरकारी टेन्डर डाटाबेसका अनुसार बेइजिङका थोरै पूर्वाधार योजनामा मात्र ‘पारिस्थितिक लचिलोपन’ उल्लेख गरिएको छ। चीन जैविक विविधता संरक्षण तथा हरित विकास फाउन्डेसनका महासचिव झोउ जिनफेङले भने, “जलवायु संकटप्रति हाम्रो बुझाइ अझै अपर्याप्त छ। त्यसैले योजना र कार्यान्वयन पनि अपुरो हुन्छ।”

गर्मीको लहरले मृत्युदर मात्र होइन, श्रम उत्पादकत्व पनि घटाएको छ। २०२३ मा गर्मीसम्बन्धी मृत्युदर ३०९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ। १९८६–२००५ को तुलनामा २०१९–२०२३ मा गर्मीसम्बन्धी मृत्यु १.९ गुणाले बढेको छ। अनुमानअनुसार २०६० को दशकसम्म वार्षिक मृत्युदर २९,०००–३८,००० पुग्न सक्छ, जुन ऐतिहासिक स्तरभन्दा १८३–२७५ प्रतिशतले बढी हो।

अनुसन्धानकर्ता झाओ मेङझेनका अनुसार लामो समयको गर्मीले श्रमिकहरूको शारीरिक क्षमता र प्रतिक्रिया क्षमतामा प्रत्यक्ष असर पार्छ, जसले उत्पादकत्व घटाउने मात्र होइन, कामसँग सम्बन्धित दुर्घटनाको जोखिम पनि बढाउँछ। उनले भने, “हाल चिसो रहेका क्षेत्रहरू भविष्यमा असह्य तापक्रम भोग्न सक्छन्।”

अत्यधिक तापक्रम र सुख्खा मौसमले याङ्त्जे नदी आसपासको उर्वर क्षेत्रलाई क्षति पुर्‍याएको छ। वरिष्ठ विश्लेषक चिम लीका अनुसार, दक्षिणपश्चिमी चीनमा खडेरी बढ्ने चिन्ता रहेको छ। राष्ट्रिय जलवायु केन्द्रका विशेषज्ञ झाई जियानकिङले पनि उत्तरपश्चिमी र सिचुआन क्षेत्रहरूमा खडेरीको विकास भइरहेको बताए।

गर्मीले गहुँ उत्पादनमा ठूलो असर पारेको छ। हेनान प्रान्तका किसान झाङले भने, “यस वर्ष मेरो गहुँ उत्पादन ४० प्रतिशतले घटेको छ। उत्पादन लागत उठाउनै हम्मे परेको छ।” चीनले यसवर्ष गहुँ उत्पादनमा ५ प्रतिशत गिरावट हुने अनुमान गरेको छ, जसले खाद्य सुरक्षामा थप संकट निम्त्याउन सक्छ। विशेषतः व्यापार युद्ध चर्किँदै गइरहेको अवस्थामा यो अझै ठूलो भूराजनीतिक जोखिम बन्न सक्छ। हेनान प्रान्त—जहाँ चीनको गहुँ उत्पादनको तिहाइ हिस्सा हुने गर्छ—मा सरकारले विपद् न्यूनीकरण योजना ल्याएको छ।

इजरायलमा जुट्दैछन् थारूहरू

वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारू एकीकृत हुन थालेका छन्। विश्वभर छरिएका रहेका थारूहरू थारू संस्कृतिलाई प्रवर्द्धन गरिरहेका बेला वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारूहरू पनि एकीकृत हुन थालेका हुन्।

एकदमै न्युन संख्यामा थारूहरू इजरायल रहे पनि थारूको पहिचान र संस्कृति प्रवर्द्धनका निम्ती एकजुट भएको विष्ढु चौधरीले बताए। कैलाली निवासी विष्णु चौधरीका अनुसार थारूहरू इजरायलमा हुने नेपालीहरूको कार्यक्रममा पुग्ने गरेका छन्। त्यहाँ थारू समुदायको प्रतिनिधित्व पनि जनाउँदै आएका छन्।

हालै सम्पन्न आदिवासी जनाजाति महासंघको कार्यक्रममा पनि थारूहरू सक्रियरूपमा उपस्थित भएको र थारू नृत्य पनि प्रस्तुत गरिएको विष्णु चौधरीको भनाइ छ।

‘थोरै भए पनि एकजुट भएपछि भविष्यमा हुनसक्ने समस्या समाधान गर्न सकिन्छ। एकले अर्कोको समस्यामा काम लाग्न सक्छन्। यहाँका सार्वजनिक कार्यक्रममा पनि थारू समुदायको प्रतिनिधित्व जनाउँदै आएका छौं,’ थारूवानसँग उनले भने।

थारूहरूको परम्परागत ‘भोदी खेल’बारे थाहा पाउनुस्

परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताए ।

थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो । भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताए । भोदी खेल थारू समुदायको पुरानो खेलका रूपकसमेत कायम रहने उनले बताए ।

भोदी खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दशवटा लट्ठी (थारू भाषमा टाँचा) निकाल्ने नियम हुन्छ । खेलअनुसार एउटा समूहलाई निश्चित समय प्रदान गरिन्छ । निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्ने गर्दछ ।

युवाको सक्रिय सहभागिताले यस परम्परागत खेलको संरक्षण मात्र नभई पुस्तान्तरणमा पनि ठूलो सहयोग पुगेको अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोले बताउनुभयो । शुक्रबार थारू समुदायको परम्परागत तथा मौलिक खेलको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको यो खेल विशेषतः युवा समूहबीचका खेलिने परम्परा छ । बलपूर्वक लठ्ठी हान्नुपर्ने भएकाले समेत युवाको सहभागिता आवश्यकता पर्ने गर्दछ । थारु अगुवा गणेशमान महतोका अनुसार अनत चतुर्दशी पर्वको अवसरमा यसलाई विशेष महत्वका साथ खेलाइने गरिन्छ । यति बेला यहाँका थारू बस्तीमा भोदी खेलको रौनक छाएको महतोले बताए ।

शुक्रबार भएको प्रतियोगितामा जिल्लाका साठीभन्दा धेरै पुरुष तथा महिला समूहको सहभागिता रहेको थियो । यसले समेत थारू समुदायको भोदी खेलको महत्व थप बलियो बनेको उनले बताए ।

अनत पर्वमा गरिने उपवासले आफूले गुमाएको सम्पति फिर्ता गराउन सक्ने भन्ने धार्मिक मान्यता रहेको राष्ट्रिय थारू सङ्ग्रहालय अध्ययन केन्द्रका सल्लाहकारसमेत रहेका महतोले बताए । द्धापार युगमा कौरव र पाण्डबीचको द्धन्द्वमा कौरवले छलकपट गरी पाण्डवको श्रीसम्पति हरण गरेपछि पाण्डवले गुमेको सम्पत्ति फिर्ताका लागि अनत पर्वको उपवास गर्ने निधो गरेको र सो क्रममा पर्वमा सबैलाई सहभागी र उत्तसाहपूर्वक बनाउन भोदी खेल आयोजना गरिएको धार्मिक कथन रहेको उनले बताए ।

सोही धार्मिक कथनबाट भोदी खेल आएको र अहिले पनि अनत पर्वको अवसरमा धुमधामका साथ खेल्ने गरिएको महतोले बताए । भोदी खेल थारू समुदायले खेल्ने गरेको मौलिक खेल रहेकाले यसको संरक्षणमा सरकारसमेतले चासो दिनुपर्ने उनले बताए । -राससबाट

कांग्रेस नेता उमाकान्त चौधरीका दाजु रामाकान्तको निधन, देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु रामाकान्त चौधरीको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गरे।

विसं २०१३ भदौ १५ गते जन्मिएका स्व. चौधरीले लोकतन्त्रको स्थापना तथा पुनःस्थापना आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्र र जनताका हक अधिकारका लागि गरिएको आन्दोलन र सङ्घर्षका क्रममा उनले पटक-पटक जेलनेल भोगेको कांग्रेसले जनाएको छ।

स्व. चौधरीले स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गरेका चौधरीको निधनबाट एक होनाहार व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ।

चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। देउवाले चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलगायत शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरे।

थारू बाहुल्य नवलपुर क्षेत्रलाई स्वायत्तः क्षेत्र घोषणा गर्नुपर्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन्। नवलपुरको कावासोती-१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारू समुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए।

‘यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचान, अधिकार र आयोगजस्ता उपलब्धिहरू सम्भव हुने थिएन,’ उनले भने। उनले संविधान निर्माणको क्रममा थारूलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिको रूपमा समेट्ने दुई धाराबीचको बहसका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’को मान्यता र संवैधानिक आयोगको मागलाई प्रष्ट र बलियो रूपमा उठाएको कुरा थारू समुदायले आत्मसाथ गर्नुपर्ने बताए।

गण्डकी प्रदेशमा थारू जनसंख्या न्युन भएकाले थारू समुदायको स्वतन्त्र राजनीतिक प्रतिनिधित्व सम्भव नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्तः क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताए। ‘नवलपुर क्षेत्रमा गैंडाकोटदेखि विनायक त्रिवेणीसम्म थारूको क्लस्टर रहेको हुँदा, त्यसलाई विशेष क्षेत्र वा स्वायत्त क्षेत्रको रूपमा मान्यता दिनुपर्छ,’ प्रचण्डले भने। सोही माध्यमबाट प्रदेश र संघमा थारूको पहिचानअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने उनको भनाइ थियो।

सो अवसरमा थारू संग्रहालयका लागि छुट्याइएको झन्डै ७ बिघा जग्गाको अहिलेसम्म भोगाधिकार नआएको विषयप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त विषयलाई संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उठाउने र वन मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त रे।

परम्परागत थारू खेल ‘भौदी’ लाई नेपाली मौलिकतासँग जोड्दै प्रचण्डले यसलाई थारू समुदायको विशिष्ट सांस्कृतिक सम्पदा भएको उल्लेख गरे। ‘यो खेल हाम्रो नेपाली मौलिकता भएको थारू समुदायको क्रिकेट जस्तै हो,’ भन्दै उनी भौदी प्रतियोगिताको उद्‍घाटन गर्दै केही क्षण खेलमा सहभागी समेत भएका थिए। सो अवसरमा अध्यक्ष प्रचण्डले युवाकालमा नवलपुरको त्रिभुवन टारस्थित विद्यालयमा करिब ६ महिना शिक्षकका रूपमा बिताएको स्मरण गर्दै यहाँको समुदायप्रति आफ्नो भावनात्मक लगाव रहेको बताए। यो क्षेत्रलाई पञ्चायती शासनविरुद्धको आन्दोलनको प्रारम्भिक थलोको रूपमा पनि उल्लेख गरे।

संविधानले व्यवस्था गरेका स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी प्रावधान अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै उनले दलित, महिला, आदिवासीलगायत उत्पीडित समुदायहरूको अधिकार स्थापनाको कार्य अझै अधुरो रहेको बताए। ‘थारू समुदायको पहिचान स्थापित गर्नु मात्रै होइन, बाँकी अधिकार प्राप्तिको संघर्षमा पनि माओवादी सधैं थारू लगायत दलित, महिला, आदिवासी लगायत सबै उत्पीडित समुदायसँग छ,’ अध्यक्ष प्रचण्डले भने।

कांग्रेसी थारूहरूलाई रेशम चौधरीको जवाफ- टीकापुर घटनालगत्तै लालयित भएर को मन्त्री बन्न गएका थिए

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले फरक दलका नेताले अर्को दलका नेतालाई कटाक्ष गर्नु नयाँ कुरा नभएको बताएका छन्। भैरहवामा आयोजित कार्यक्रममा आफूले थारू नेताहरूलाई कटाक्ष गर्ने क्रममा उक्त अभिव्यक्ति दिएको उनले बताएका छन्।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै संरक्षक रेशमले टीकपुर घटनाबाट आफ्नो परिवारलाई अपुरणीय क्षति भएको विषय खुला किताबजस्तो भएको बताए। त्यसका बावजुद आफू पहिचानको मुद्दामा सरिक भइरहेको बताए। उनले टीकापुर घटनाका बेला आफ्ना दुई वर्षे बच्चालाई लुछाचुँडी गरेको र बल्लतल्ल बचाएर धनगढी पुर्‍याएको बताए।

उनले आफू टीकापुर क्षेत्रको मात्र संयोजक रहेको बताए। तर, साउन २५ गते मधेसवादी र थरुहट अगुवाहरूको अभिव्यक्तिपछि आफूले राजीनामा पनि दिएको उनले बताएका छन्। उनले टीकापुर घटनापछि लगत्तै थारू मन्त्री बन्न को गएका थिए भनेर प्रश्न गरेका छन्। त्यतिबेला कैलालीका फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरी मन्त्री बनेका थिए। उनकै संयोजकमा थारू आन्दोलनकारीसँग वार्ता गर्न कार्यदल पनि बनाइएको थियो। सोही कुरा स्मरण गर्दै संरक्षक रेशमले झुठा मुद्दा किन फिर्ता नगराएको प्रश्न गरेका छन्।

उनले कांग्रेसका नेताहरूलाई अहिलेसम्म धनिरामलाई लगाइएको झुठा मुद्दा किन फिर्ता गराउन नसकेको प्रश्न पनि गरेका छन्। उनले स्वयं थारू नेताहरूले नै फलानो थारुको नेताका कारण जेल गएको उनले खुलाए। उनले टीकापुर गरिएको हिंस्रक अभिव्यक्ति कसले गरे भन्दै पनि प्रश्न गरे।

टीकापुर घटनाको महिना दिनमै किन थारू नेताहरू मन्त्री बन्न लालायित भएको भन्दै उनले प्रश्न पनि गरेका छन्। जेलमा नाउपाको टिकट लिएर आफ्नो पार्टीमा बार्गेनिङ गर्नेहरूलाई पनि आफूसँग प्रमाण सुरक्षित रहेको उनले बताएका छन्। उनले थारु कल्याणकारिणी सभालाई सबै थारुको साझा बनाउनुपर्ने बताए। थाकसमा राजनीतिक व्यक्तिलाई पदाधिकारी नबनाउन पनि उनले आग्रह गरे।

विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्न रञ्जिताले बोलाइन् केन्द्रीय समिति बैठक

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्। उनले भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्। बैठक कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ। बैठकमा चार वटा कार्यसूची तय गरिएको छ।

बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताएकी छन्। गत साउन १६ गतेको राष्ट्रिय भेलाबाट संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो।

रेशम पक्षले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अद्यावधिका लागि निवेदन दिएको भए पनि आयोगले भेला नै अवैध भन्दै खारेज गरिदिएको थियो। त्यसपछि नाउपाको पहिलो पटक बैठक बस्न लागेको हो।

थारू विद्यार्थी सभा जापानले टोक्योमा मनाउँदैछ जितिया

जापानमा थारू समुदायको जितिया पर्व मनाइने भएको छ। थारू विद्यार्थी सभा जापान शाखाको आयोजनामा सेप्टेम्बर १४ तारिखमा जितिया पर्व मनाउन लागिएको हो। देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै थारू कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले जितिया पर्व मनाउन लागिएको थारू विद्यार्थी सभा जापान शाखाले जनाएको छ।

जापानको राजधानी टोक्योको Shinjuku-ku, Hyakunincho स्थित सोलमारी रेस्टुरेन्ट मुरा हलमा जितिया पर्व आयोजना हुने आयोजकले जनाएको छ। जितिया पर्वको अवसरमा आयोजित हुने कार्यक्रम विहान १० बजेदेखि ४ बजेसम्म हुनेछ। कार्यक्रममा साँस्कृति कार्यक्रम पनि प्रस्तुत गरिनेछ। थारू समुदायको चर्चित धुमरा नाच, झाँकी र थारू कलाकारहरूको विभिन्न प्रस्तुती देखाइने आयोजकले जनाएको छ। त्यस्तै कार्यक्रममा थारू परिकारहरूको पनि व्यवस्था गरिनेछ। घोङीको स्वाद पनि लिन सकिने बताइएको छ।

यस्तो छ, थाविस जापानले आह्वान गरेको अपील

थारू विद्यार्थी सभा जापान विदेश विभाग मिति २०२५ जुन १ तारिकमे स्थापना स्वरूप यै संस्थाके यै पाली “प्रथम थाविस जितिया साँस्कृतिक कार्यक्रम २०२५ टोकियो” यहाँ आबैवाला सेप्टेमवर १४ तारिक आइतवार के दिन मनाबैले ज्या रहल छै।

जापानमे रहल पुरूव से पश्चिम तक के थारू समुदायके कला, साँस्कृतिक आ भेषभुषा राष्ट्र्रिय मे मात्रै नै अन्तर्राष्ट्रिय स्तरमे थारूके पहिचान आ जगेर्ना करैके उद्देश्य से जितिया पावैन Tokyo, Shinjuku वार्ड के Shin-Okubo मे रहल Solmari Restaurant Mura Hall मे मनाबैले ज्या रहल छै।

पूरूके पुरनका धुम्रा नाच, चितवन के झमटा नाच आ ठेक्रा नाच , सखिए नाच के साथे बहुत किसिम के आधुनिक थारू नाच गायन के साथ टिपिकल थारू जितिया परिकार के स्वाद सोहो चाइख सकैचियै ।
समय बिहान १०ः०० बजे से १६ः०० बजे तक कार्यक्रम हेतै से जानकारी थारू विद्यार्थी सभा जापान के जितिया कार्य समिति जानकारी कराइने छै।