अट्वारीले विभाजित थारू समुदाय, नवलपरासी पश्चिमका केही पालिकाले दिएन बिदा

लुम्बिनी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई नवलपरासीका तीन स्थानीय तहले मानेका छैनन्। थारू समुदायको विशेष पर्वका रूपमा रहेको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार)का अवसरका प्रदेश सरकारले आज प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले दिएको बिदा कसैले मान्ने र कसैले नमान्दा सेवाग्राहीहरू अन्यौलमा परेका छन्।

थारू समुदायको बाहुल्यता भएका जिल्लाहरू नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा दिएको हो। तर, उक्त बिदालाई जिल्लाका एक नगरपालिका र दुई गाउँपालिकाले कार्यान्वयन गरेका छैनन्। जिल्लामा तीन नगरपालिकासहित सात स्थानीय छन्। प्रदेश सरकारको बिदा नमान्नेमा बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सुस्ता गाउँपालिका छन्। उनीहरूले थारू समुदायको ‘बड्का अट्वारी पर्व’ भदौ १५ गते आइतबार परेको दाबी गर्दै प्रदेश सरकारले बिदा दिए पनि आफ्ना पालिकाहरू बन्द नरही खुला रहने भन्दै सूचना निकालेका छन्। त्यसैगरी रामग्राम नगरपालिका, सुनवल नगरपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाले बिदालाई कार्यान्वयन गरेका छन्। ती पालिकाहरू बन्द छन्।

प्रदेश सरकारको निर्णय कार्यान्वयन नगरी पालिका खुला रहेको भन्दै सूचना निकालेका प्रमुख र अध्यक्षहरूले नवलपरासीका थारूहरूले आज नभई आउँदो १५ गते पर्व मनाउने भएकाले सोही दिन बिदा दिने जनाएका छन्। ‘प्रदेश सरकारको बिदाको निर्णयलाई नमानेको भन्दा पनि एउटै पर्वमा दुई दिन बिदा दिन अव्यवहारिक भएकाले यहाँको प्रचलनलाई ध्यान दिएर आज पालिका खुला गरिएको हो,’ सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले भने।

प्रदेशले दिएको बिदालाई कायम गर्दै पालिका बन्द भएका प्रमुख र अध्यक्षहरूले माथिल्लो सरकारले गरेको निर्णयलाई कार्यान्वयन गरेको जनाएका छन्। ‘माथिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु दायित्व हो। आज हामीले नमाने भोलि हामीले दिने स्थानीय बिदालाई पनि वडाले मानेनन् भने के भन्ने? त्यसैले संघीयताको मर्मअनुसार प्रदेशको निर्णय कार्यान्वयन गरेका हौं,’ सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले भनिन्। सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरी र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले प्रदेश सरकारको राजपत्रमा उल्लेखित बिदामध्ये आज बिदा रहेको र आवश्यकताका आधारमा फेरि स्थानीय बिदाका रूपमा भदौ १५ गते पनि दिन सकिने बताए।

संघ, प्रदेश मातहतका सबै कार्यालय बन्द
कुनै पालिका बिदा हुने र कुनै पालिकाले बिदा नरहेको जनाएपछि सेवाग्राहीहरू अन्यौलमा परेका छन्। प्रदेश सरकारले आज दिएको बिदामा नवलपरासीका उक्त तीन पालिकाबाहेक अन्य पालिका संघ र प्रदेश मातहत रहेका सबै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्था बन्द छन्। काम विशेषले खुला रहेका पालिकामा गएर अन्य सरकारी कार्यालयमा पुगेका सेवाग्राहीहरू उक्त कार्यालय बन्द भएपछि फर्किएको एक सरकारी कार्यालयका प्रमुखले बताए। नेपाल सरकारले सम्बन्धित प्रदेश सरकाले त्यहाँको रीति, थितिलाई समेत दृष्टिगत गरी वर्षमा बढीमा ६ वटा बिदा दिनसक्ने जनाएको छ। सोही आधारमा प्रदेश सरकारले लुम्बिनी प्रदेशमा ५ वटा बिदालाई प्रदेशका सबै जिल्ला (१२ वटा) मा लागू हुने र एउटा बिदालाई निश्चित पर्वका रूपमा मनाउने गरी राजपत्रमा सूचना निकालेको छ। निश्चित पर्वलाई जिल्ला तोकेर बिदा दिँदै आएको छ। जुन आजको बिदा निश्चित पर्वका रूपमा ६ जिल्लालाई दिइएको हो।

थारू समुदायमै मतभेद
थारू समुदायले मनाउँदै आएको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार) स्वंय थारू समुदायमै अन्यौल र मतभेद देखिएको छ। नवलपरासीका केही थारू समुदायले उक्त पर्व आज नभएको बताएका छन् भने केहीले आजै भएको तर्क गर्दै आएका छन्। नवलपरासी सरावल गाउँपालिका-२ का थारू अगुवा ७५ वर्षीय कृष्णदत्त चौधरीले ‘बड्का अट्वारी (आइतबार) पर्व’ आज नै रहेको दाबी गरे। आउँदो आइतबार छोट्की (सानो) आइतबार रहेको उनको दाबी छ।

आजदेखि ‘बड्का अट्वारी पर्व’ सुरु भएको हो। यो पर्व तीजको पञ्चमीपछि पर्ने आइतबारसम्म मनाउने गरिन्छ। यतातिरका धेरै थारूले षष्ठीपछिको आइतबारलाई ‘बड्की आइतबार’का रूपमा मनाउँदै आएका छन्। तर, वास्तविक पर्व आजै हो,’ उनको तर्क छ। ग्रह र नक्षत्रले गर्दा तिथि मिति फरक हुँदा पर्व यता उती हुन्छन् त्यसैले आज नै बड्की आइतबार रहेको उनले ठोकुवा गरे। ‘कहिले काहीँ चाडपर्व ग्रह र तिथि मितिले फरक पर्छ। हिजो कुशे औंसी थियो। त्यसैले तिथि मितिले बड्की आइतबार आज हो। प्रदेश सरकारले दिएको बिदा ठीक छ,’ थारु अगुवा कृष्णदत्तको भनाइ छ। आफूले आजकै दिनलाई यो पर्वका रूपमा मनाउन लागेको उनले बताए। यता, थारू कल्याणकारीणी सभा नवलपरासीका अध्यक्ष मुन्द्रिका चौधरीले परम्परादेखि तीजको ऋषिपञ्चमीपछि आउने षष्ठी तिथिपछि पर्व मनाउने भएकाले यहाँका अधिकांश थारूले सोही दिनलाई नै मान्दै आएकाले भदौ १५ गते मनाउन लागिएको बताउँछन्।

यो पर्वमा थारू समुदायका महिला/पुरुषहरू व्रत बस्ने गर्छन्। यसदिन घ्युमा रोटीलगायतका पकवाना बनाएर गाई र घरमा आउने ब्राह्मणलगायतलाई खुवाउने गर्ने गरेको थारू अगुवाहरूले बताएका छन्। सूर्यको पूजा गरी व्रत बस्ने यो पर्वमा सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको समृद्धिको कामना गरिने गरिएको थारू अगुवाहरूले बताएका छन्।

परासीबाट हरि शर्मा/अन्नपूर्ण साभार

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन भएका छन्। सिड्नीको इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा भएको चौथो अधिवेशनबाट चौधरी पुन अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनी लगातार दुई कार्यकाल अध्यक्ष बनेका थिए।

त्यस्तै उपाध्यक्षमा निमेष लेखी र विनय चौधरी, महासचिवमा मधुकर चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सह-कोषाध्यक्षमा उपासना चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा रोहन चौधरी, स्टुडेन्ट कोअर्डिनेटरमा हृदेश चौधरी, स्टुडेन्ट सह कोअर्डिनेटरमा हरि कृष्ण चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ।

त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरूमा सुनाम चौधरी, सिद्धान्त चौधरी, रञ्जना चौधरी, नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, श्रुति गच्छादार, अस्मिता खोजवार, मिलन चौधरी, रितेश चौधरी र सन्दीप चौधरी रहेका छन्। महिला सहभागिता बढाउने उद्देश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा श्रुति चौधरीलाई जिम्मेवारी दिएको छ। त्यस्तै संस्थाले रामेश्वर चौधरी वरिष्ठ सल्लाहकार रहेको र दुर्गानन्द चौधरी तथा जानुका चौधरी सल्लाहकार रहेको तीन सदस्यीय सल्लहाकार समितिको पनि गठन गरेको छ।

संस्थाका पव्लिक अफिसर अरूण चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको अधिवेशनमा अध्यक्ष दीप नारायण चौधरीले संस्थाको स्थापना कालदेखि हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय-व्यय प्रस्तुत गरेका थिए। अध्यक्ष्यमा पुनः निर्वाचित भएका दीपनारायण चौधरीले संस्थालाई अझै सबल बनाउँदै, विविध परोपकारी कार्यहरूसहित थारू समुदाय तथा विद्यार्थीमा पर्ने विविध समस्यामा विगतमा जस्तै संस्था सहयोगी रहने बताए।

२४औं विश्व आदिवासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा संस्था स्थापना गरी कार्य समिति गठन गरिएको थियो। नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा-ब्यबसाय र अध्ययन-अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा यो संस्था स्थापित भएको हो।

स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने विविध सामाजिक एवं परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउँदै उदहरणीय रूपमा प्रस्ततु हुन सफल रह्यो। यसका अलावा यहाँ रहेका सबै संघ-सस्थाहरूसँग आपसी सद्‍भाव राख्दै संस्कृतिक विविधता भएको थारू समुदायको कला, भाषा संस्कृति, रहनसहन र चाड-पर्वलाई थारू समुदाय र अन्य नेपाली समुदायमाझ परिचित गराउन पनि संस्था सफल रह्यो।

भदौ ७ को सम्झनामा थारूहरूले मनाए विद्रोह दिवस

थारूहरूले आज विद्रोह दिवस मनाएका छन्। २०७२ भदौ ७ मा भएको टीकापुर घटनाको स्मरणमा थारूहरूले विद्रोह दिवस मनाएका हुन्। थारू कल्याणकारिणी सभा र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्तरूपमा काठमाडौं लगायत थरुहट जिल्लामा विद्रोह दिवस मनाएका हुन्।

काठमाडौंमा माइती घर मण्डलामा थारू कल्याणकारिणी सभाका सभापतिसहित केन्द्रीय पदाधिकारीहरू र थारू संघसंस्थाका प्रतिनिधिहरूले संयुक्तरूपमा थारू विद्रोह दिवस मनाए।

त्यस्तै कैलालीको टीकापुरमा पनि थारू कल्याणकारिणी सभा कैलाली शाखा र थरूहट थारूवान राष्ट्रिय मोर्चाले विद्रोह दिवस मनाए। कार्यक्रममा नेपाली कांग्रेसका नेता रामजनम चौधरी, गोपाल दहित र अभियन्ता सुरेन्द्र चौधरीलागतय सहभागी थिए।

त्यस्तै बाराको जितपुरस्थित बकुलिया गाउँमा विद्रोह दिवस मनाइयो। उक्त कार्यक्रममा थरूहट नेता लक्ष्मण थारू पनि सहभागी थिए। कृषि कर्मका लागि बाराको सिमरामा बस्दै आएका लक्ष्मण थारू विद्रोह दिवसमा सहभागी बनेका थिए।

त्यस्तै सुनसरीको इटहरीमा पनि थारूहरूले विद्रोह दिवस मनाए। कोशी प्रदेशमा थारू भाषालाई कामकाजको भाषा बनाउनुपर्ने मुख्य मागसहित त्यहाँका थारू अगुवाहरूले विद्रोह दिवस मनाएका थिए।

थरूहट आन्दोलनदेखि नक्कली अपराधीसम्म

२०६५ चैत १ गते त्रिपुरेश्वरको एक होटलमा नेपाल सरकारका वार्ता टोली र थरूहट आन्दोलनकारीबीच वार्ताको तयारी हुँदै थियो। एउटा छोटो कद, कालो चश्मा लगाएको मान्छे सानो भ्यानबाट क्यामरा मिलाउँदै बाहिर निस्क्यो, ‘खै थारू नेतन कहोर कहोर बाट? का का हुइटा अन्तर्वार्ता लेह परल’ भन्दै त्यो मान्छे थरूहट आन्दोलनकारी र नेपाल सरकारबीच हुने वार्ता हलतर्फ लागे। तर, वार्ता टोली अझ आइपुगेका थिएनन्। पछि त्यो मान्छे बाहिर आएर हामीसँगै एकछिन गफगाफ गरे।

चितवन र दाङ जिल्लामा दुई-दुई जना गरी ४ वटा थरूहट आन्दोलनकारीले ज्यान गुमाइसकेका थिए। साथीहरूको मृत्युको खबरले हामी आन्दोलनकारीको मनभित्र विद्रोहका ज्वालाहरू दन्किरहेका बेला त्यो मान्छेको मिठास बोली र आफ्ना गीत-संगीत र फिल्मी कहानीले एकछिन भए पनि साथीहरूले ज्यान गुमाएको पीडा बिर्सिँदै उनको कुरामा लठ्ठ भए। पछि त्यो मान्छे कहीँ कतै थरूहट आन्दोलनमा देखिएन, न कुनै अधिकारिक समितिमा देखिए।

७ वर्षपछि २०७२ साल भदौ ७ गते जब टीकापुर घटना घट्यो,  एउटा कालो ज्याकेट लगाएको फोटो सोसल मिडियामा खुब भाइरल भएको थियो। नश्लीय मिडियाहरूले थरूहटको नाइके, त्यो घटनाको योजनाकार भनेर लेख्दै बोल्दै थिए, कुनै-कुनै मिडियाले आतंककारी भनेर लेख्न भ्याए। त्यो ब्यक्ति कोही नभएर त्यही पत्रकार जसले हामीलाई कमैया फिल्मको कथा सुनाउने रेशम चौधरी थिए।

सार्वजनिक सेवालाई समावेशी बनाउन केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश माओवादी नेतृत्व नेपाल सरकारले २०६५ साल माघ २१ गते जारी गरी, अध्यादेशअनुसार सर्वजनिक सेवामा समानुपातिक र समावेशी आधारमा आरक्षण दिन मधेसी समूहको सूचीकरणमा ९२ जातजाति र तराईका आदिवासी भूमिपुत्र थारूलगायत २१ वटा आदिवासी जनजाति र मुस्लिम समुदायहरूलाई सुनियोजितरूपमा मधेसीकरण गरेपश्चात थरूहट संयुक्त संघर्ष समिति २०६५ साल फागुन १६ गते पत्रकार सम्मेलन गरेर फागुन १८ गते साँझ तराईको सम्पूर्ण जिल्ला र काठमाडौं उपत्यकाको भब्य मसाल जुलुसले ताप र राप दिएपछि फागुन १९ गतेदेखि निरन्तर चैत १ गतेसम्म थरूहट तातीरह्यो।

पहिचानको जगमा निर्माण भएको नेपालको संघीय गणतान्त्रिक प्रचण्ड सरकारले थारूहरूलाई मधेसीकरण बनाउने निर्णय गरिसक्दासमेत माओवादी, एमाले, कांग्रेस, राप्रपा, तमलोपा विभिन्न पार्टीमा थारूको भोटबाट संविधानसभामा प्रतिनिधित्व गरिराखेका थारू सभासदहरूले त्यसविरुद्ध एक शब्द बोल्न सकेनन्। आफ्नो ज्यानका बाजी राखी थरूहट आन्दोलनको नेतृत्व गरिरहेका लक्ष्मण थारू, गोपाल दहित, भानुराम थारू, योगेन्द्र थारू, डिल्ली थारू, रुक्मिनी थारू, गंगा थारू, मीनराज थारू, सीएन थारू, ललित थारू केन्द्रीय नेतृत्व हाकिरहेका बेला थाकस जिल्ला शाखाले सहयोग गरे पनि केन्द्रीय समिति भने थरूहट संयुक्त संघर्ष समितिमा आउन सकेको थिएन। त्यसको मुख्य कमजोर भूमिका त्यतिबेलाका थाकसका महामन्त्री राजकुमार लेखीको थियो।

हामी मधेसी होइनौं, हामी तराईको भूमिपुत्र थारू हौं
‘एक मधेस एक प्रदेश’ मान्दैनौं थरूहट प्रदेश छाड्दैनौं। मूल मकसत बोकेर आफ्नो विशुद्ध पहिचान रक्षाका लागि गरिएको आन्दोलन यति सशक्त भयो कि गाउँ-गाउँबाट जनता उठे, जागे। उनीहरूको एउटै उद्देश्य थियो कि कसैको पहिचान अस्तित्व मेटाउन पाइँदैन। आफ्नो अधिकारक लागि ज्यान गुमाएका भूमिपुत्र थारूसँग अनन्त: सरकार झुक्यो।

आन्दोलन थेग्न नसकेर २०६५ साल चैत १ गते राति थरूहट आन्दोलनकारीसँग ६ बुँदे सहमति गर्‍यो। नेपालमा तराई छ, तराईमा आदिवासी थारू आदिम कालदेखि छन् भन्ने नेपाल सरकारले सहमति त गर्‍यो तर कार्यान्वयन कहिल्यै गरेन। थरूहट आन्दोलनकारीमाथि छ्लकपट धोका भएपछि हामी फेरि १२ दिने आमहडताल गर्‍यो तर दुर्भाग्य यसैबीच कटवाल प्रकरणमा प्रचण्ड सरकार ढल्यो।

पहिलो संविधानसभाले संविधान दिन सकेन
थरूहट संयुक्त संघर्ष समितिसँग गरेको सहमति नेपाल सरकारले कार्यान्वयन गर्न सकेन। सरकारले आन्दोलनकारीको मुद्दा सुनुवाइ गर्न नसकेपछि थारूहरू एकजुट भइ अब थारूहरूको नेतृत्वमा पार्टी खोल्नुपर्छ भनेर २०६६ साल असार महिनामा राष्ट्रिय भेला सम्पन्न गरे। त्यतिबेला ‘वीरगञ्ज घोषणा पत्र सन् २००९’ जारी गरिएको थियो। यस भेलामा थारू समुदायका अधिकार र थरूहट प्रदेशको मागलाई प्रमुख विषय बनाइयो। त्यो राष्ट्रिय भेलादेखि फेरि थारूहरूसँग राज्य र शासकहरू त्रसित भए।

त्यसपछि थारूहरूलाई कसरी रोक्ने, फुटाउने, फसाउने खेलमा प्रमुख पार्टीका शीर्ष नेताहरू लागिरहे। आधा थरूहट नेताहरूलाई मानसिकरूपमा घाइते बनाए पनि २०६८ साउन २७ गते थरूहट तराई पार्टी नेपालको घोषणा नेपालगञ्जको कभर्ड हलमा गरियो। २०७० सालको मंसिरमा हुने चुनावको तयारीसँगै संगठन बिस्तारमा लागिरहेका बेला थरूहट तराई पार्टी नेपालका संस्थापक अध्यक्ष लक्ष्मण थारू र योगेन्द्र थारूले पार्टी छोडी विजयकुमार गच्छदारको पार्टीमा प्रवेश गरे। यो थारू समुदायका लागि सबैभन्दा दुर्भाग्य थियो।

पार्टी बचाउन एकदमै गाह्रो थियो, त्यहीबेला भानुराम थारू, डा. गोपाल दहित, मिनराज थारूलगायत नेतृत्वहरूले जबर्जस्त पार्टी सम्हालिरहेका थिए। मधेसीहरूको नेतृत्वमा रहेको सद्भभावना पार्टीमा आबद्ध रहेका रेशम चौधरीलाई थारूहरूको नेतृत्व रहेको थरूहट तराई पार्टी नेपालमा महासचिवको प्रस्ताव गर्दा पनि उनी पत्याएनन्। उनी त्यतिबेला थरूहट आन्दोलनमा गुमनाम थिए, थरूहटको नेताभन्दा मधेसी नेताहरूसँग नजिक थिए, तिनीहरूकै पार्टीबाट दुई-तीन सय भोट आए पनि चुनाव लड्थे।

२०७० सालको चुनावमा थरूहट तराई पार्टी नेपाललाई थारूहरूले न्याय गर्न सकेनन्। समानुपातिकतर्फ ६२५२६ र प्रत्यक्षतर्फ ३८९७२ जम्मा भोट दिए। समानुपातिकबाट दुईवटा सांसदबाहेक प्रत्यक्ष कहीँ जिताउन नसकेको २० लाख आफूलाई दाबी गर्ने थारूहरूले थरूहट आन्दोलनको जगबाट थारूकै अधिकारका लागि खोलिएको पार्टीलाई विश्वास गर्न सक्दैनन् भने पार्टी कसरी बचाउन सकिन्छ, यसको दोष कहीँ कतै हाम्रै समुदायको पनि छ।

संविधान सभामा थरूहटका लागि लडिरहेका दुई जना सांसद गोपाल दहित र गंगा चौधरी राम्रै भूमिका खेलिरहेका अवस्थामा पछि माननीय गंगा चौधरीलाई फुटाएर बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीमा प्रवेश गराए। जसले गर्दा यो पार्टीको अवस्था एकदमै दयनीय भयो। पछि थरूहट तराई पार्टी नेपाललगायत ७ वटा पार्टी विजय गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी बनाए, यो पार्टी चुनाव नलडी अन्तिममा काङ्ग्रेससँग एकीकरण गराए।

थारू समुदाय थारू नेतृत्वबाट पटक-पटक धोका पाएका छन्। आज ५ जना थरूहट सहिदहरूको बलिदानीबाट राजनीति गरिरहेका नयाँ पुराना थारू नेताहरू कहिल्यै त्यो सहिदलाई सम्झिँदैनन्। सहिद परिवारको हालखबर टाढाको कुरो हो, कतिपय थारू नेतालाई ती सहिदको नामसमेत याद छैन होला।

थरूहट तराई पार्टी नेपाल विलीन भए पनि, पुराना नेतृत्वहरू गुमनाम भए पनि मुद्दाहरू जीवित थियो। थारू समुदायहरूप्रति राज्यको विभेद, अन्याय, अत्याचार दिन प्रतिदिन बढ्दै थियो। तैपनि थारूहरूले हार मानेका थिएनन्। संविधान बन्ने प्रक्रियामा थियो। सबै समुदायले आफ्नो अधिकार सुनिश्चित गराउन खोज्दै थिए। थारूहरू पनि आफ्नो अधिकार खोज्दै आन्दोलनरत्त थिए। तर, दुर्भाग्यवस टीकापुरमा २०७२ भदौ ७ गते घटना घट्यो। यसले नेपालको राजनीतिलाई नै उथलपुथल बनाइदियो।

थरूहट संयुक्त संघर्ष समितिलाई परिमार्जित गरी थरूहट-थारूवान संयुक्त संघर्ष समिति बनाएर माओवादीलगायत काङ्ग्रेस र अरु दलका थारू सांसद र नेताहरूलाई जोडिएर गरिएको आन्दोलन जब टीकापुर घटना घट्यो, सबै अधिकारिक नेतृत्वहरू गुमनाम भए। कोही घटनाको जिम्मा लिन मानेन, त्यसपछि राज्य एउटा नक्कली अपराधी खडा गर्‍यो। एउटा निर्दोष ब्यक्तिलाई थरूहटको नाइके, योजनाकार, आतंककारी भनेर घटनाको पूरै बिल्ला भिराइदिए। सरकारले झुठो मुद्दा  लगाएर रेशम चौधरी, लक्ष्मण थारूलगायत धेरै थारू नेताहरूलाई जेल कोच्यो। राज्यले थारूलाई धेरै दुःख दियो।

टीकापुर राजबन्दीहरूलाई शारीरिक, मानसिक यातना धेरै दियो। यसले पूरै थारू समुदायलाई रुष्ट बनाएको थियो। गाउँ-गाउँबाट मात्र होइन, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा राज्यले थारूप्रति गरेको अन्यायको बारेमा विरोध हुन थाल्यो। राज्यको दमनबाट जनताको सहानुभूति बटुलिरहेका रेशम चौधरी भूमिगतबाटै चुनाव लडेर बहुमत भोटले चुनाव जिते। तर, राज्यका शासकहरूले संविधानसभा छिर्न दिएनन्, उल्टै डिल्लीबजार लगेर जेल कोचे। त्यही जेलबाट राज्यले दिएको यातनाविरुद्ध योजना बनाउँदै उनले नागरिक उन्मुक्ति पार्टी स्थापना गरे। यो पार्टी थरूहट तराई पार्टी नेपालकै दोस्रो रुप हो, चुनाव चिन्ह पनि ढकिया नै रोजे।

यसपटक थारूहरूले सकेसम्म नागरिक उन्मुक्ति पार्टीलाई न्याय गरे। पछिल्लो क्रममा जति पनि थरूहट नेताले संघर्ष र बलिदानी गरेका थिए, त्यसको सम्पूर्ण फाइदा रेशम चौधरीले उठाए, जुन उनको भाग्य थियो। चुनावअघि स्थापना भएको नागरिक उनमुक्ति पार्टी थरूहट आन्दोलनको जगबलमा स्थापित भयो। नपत्याउँदो तरिकाले उदीयमान भइरहेको रेशमको पार्टी देखेर फेरि ठूला दलका नेताहरू झस्किए।

रेशम चौधरीलाई जेल कोच्नु भनेको आफ्नै लागि खाल्टो खन्नु हो भनेर राम्ररी बुझेका ती नेताहरू आममाफी दिलाएर रेशमलाई जेलबाट निकाले। यो नै रेशम चौधरीको सबैभन्दा दुर्भाग्य सम्झौता थियो। यहीँबाट रेशम ती शासकहरूको घेरामा परिसकेका थिए। जब एउटा बिद्रोही, एउटा क्रान्तिकारी सत्ता र स्वार्थको लालचमा बिक्छ, तब उसको पतनका बाटोहरू फराकिलो हुँदै जान्छ। आखिर त्यही भयो।

जेलभित्र हुँदा रातदिन सहयोग गर्ने साथीभाइ संघसंस्थालाई बिर्सिएर उनलाई जसले अपराधी बनायो उनीहरूसँग हात मिलाए, मुद्दाभन्दा सत्ताको वरिपरि घुम्न थाले। रेशम चौधरी थारू समुदायको विश्वासको रूपमा हेरिरहेका राज्यबाट पीडित नेता थिए। उनीहरूबाट थारू समुदाय ठूलो आशा राखेको थियो, तर विश्वास जोगाउन सकेनन्। उनको आफ्नै दम्भ र घमण्डले आफैँलाई कमजोर बनाइदियो। यो आत्मसमीक्षा रेशम आफैंले गर्नुपर्छ।

परिवारवाद र पुँजीवादीको बिल्ला भिरेर भौगोलिक सांस्कृतिक पहिचानसहितको थरूहट आन्दोलनको भ्रम छरेर यो देशका उही सामन्ती नेताहरूसँग कन्धा मिलाइसकेकाले अब उनीबाट कुनै किसिमको थारूहरूको मुक्तिको बाटो खुल्नेवाला छैन।

लेखक थरूहट-थारूवान राष्ट्रिय युवाशक्तिका अध्यक्ष हुन्।

टीकापुर र थारू विद्रोहको सिंहावलोकन

डीवि थारू (कविर)

विद्रोह भन्नाले स्थापित शासन, प्रचलित व्यवस्था, नीति, नियम वा अधिकारप्रति असन्तोष प्रकट गर्दै सामूहिक रूपमा गरीएको विरोध, अस्वीकार वा प्रतिरोधलाई बुझिन्छ। यसमा प्रायः कुनै समुदाय, समूह वा व्याक्तिहरूले अन्याय, शोषण, दमन वा असमानताविरुद्ध उभिएर विद्यमान संरचना परिवर्तन गर्न खोज्ने उद्देश्य राख्छन्। विद्रोह सधैं कुनै न कुनै प्रकारको असमानताले उत्पन्न असन्तोषबाट सुरु हुन्छ। यो व्यक्तिगत असन्तुष्टि भन्दा फरक सामूहिक रूपमा हुन्छ। शान्तिपूर्ण आन्दोलनदेखि हिंसात्मक संघर्षसम्म विद्रोहको स्वरुप फरक-फरक हुन सक्छन। राजनीतिक, सामाजिक, आर्थिक दृष्टिकोणबाट हेर्दा यसका कारणहरू शोषण, दमन, आर्थिक असमानता, जातीय वा साँस्कृतिक विभेद र अधिकारको अभाव, राजनीतिक प्रतिनिधित्वको कमी जस्ता पक्षहरू रहने गरेको पाइन्छ। कतिपय विद्रोह योजना अनुसार संगठित हुन्छन् भने कतिपय आकस्मिक रूपमा भड्किन्छन्।

विद्रोह र क्रान्ति दुवै अन्याय वा विद्यमान व्यवस्थाविरुद्ध उठाइएको संघर्षका स्वरुप हुन्, तर तिनमा महत्वपूर्ण भिन्नता छ। विद्रोह भन्नाले विद्यमान शासन, नीति वा संरचनाप्रति असन्तोष जनाउँदै गरीएको प्रतिरोध वा विरोध हो भने क्रान्तिः राजनीतिक, सामाजिक वा आर्थिक संरचनामा आमूल परिवर्तन ल्याउने उद्देश्य सहितको गहिरो संघर्ष हो। विद्रोहबाट तत्कालिन अन्याय वा विशेष समस्याको विरोध गर्र्दै सानो सुधार वा अस्थायी उपलब्धि हुन सक्छ भने क्रान्तिले पुरानो प्रणालीलाई उखेल्दै नयाँ प्रणाली वा शासन व्यवस्था स्थापना गर्दै ठूला संरचनागत र दिगो परिवर्तन ल्याउने गर्दछ। विद्रोहः असन्तोषको विस्फोट हो भने क्रान्तिः आमूल परिवर्तनको यात्रा।

नेपालको राज्यसत्ता ऐतिहासिक रूपमा सामन्ती रहेको थियो। जसले केही विशिष्ट वर्ग वा समूहलाई विशेष अधिकार दिएर अन्य समुदायलाई दबाउने, शोषण गर्ने, उनीहरूको राजनीतिक सामाजिक उन्नति रोक्ने काम गरेको थियो। शासन व्यवस्थामा सदियौंदेखि केही निश्चित समूह (राजा, जमीन्दार, सामन्त, उच्च जातीय वर्ग)ले राज्यसत्तामा कब्जा जमाउदै आएका थिए। सामन्ती सत्ता भूमि नियन्त्रण र श्रम शोषणमा आधारित थियो। विशेष जातीय समूहलाई विशेषाधिकार दिँदै अन्य बहुसंख्यक समुदायको पहिचानलाई दबाउने नीति अपनाउदै आएको  थियो।

नेपालमा थारू समुदायको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई हेर्दा राज्यसत्ताले थारू समुदायप्रति ऐतिहासिकरूपमै विभेद गर्दै आएको देखिन्छ। विशेष गरी थारू समुदायलाई भूमिहीन बनाउने,  उनीहरूको सांस्कृतिक पहिचानलाई उपेक्षा गर्ने, तथा राज्यका नीतिहरूमा उचित प्रतिनिधित्व नदिने जस्ता विषयहरू निकै गम्भिर रहेका छन्। थारू समुदाय ऐतिहासिक रूपमा खेती किसानीमा निर्भर भए पनि पुर्खाहरूको जमिन सामन्ति सत्ताको आडमा सामन्त जमिन्दारहरूले खोसेर भूमिहीन बनाएपछि उनै जमिन्दारहरूको घरमा कमैया बस्न बाध्य भए। विभिन्न समयमा बनेका सरकारी भूमि नीतिले पनि थारूमाथिको भूमिसम्बन्धी अन्यायलाई सम्बोधन गरेन। सत्ताको यही विभेदपुर्ण व्यवहारले थारू समुदायमा विद्रोह सिर्जना गरेको देखिन्छ।

थारू विद्रोहको इतिहासलाई तीन खण्डमा हेर्न सकिन्छ। पहिलो, २००७ सालदेखि २०४६ को जनआन्दोलन सम्म, दोस्रो जनयुद्धदेखि दोस्रो जनआन्दोलनसम्म र तेस्रो संविधान सभाको गठनदेखि संविधान निर्माण सम्म। यहाँ तीनै खण्डमा भएका केही प्रमुख विद्रोहको संक्षिप्त सिंहावलोकन गरीएको छ।

बाँके बनकटुवा विद्रोह

२००७ सालको प्रजातान्त्रिक आन्दोलनले जहानिया निरंकुश राणा शासनको अन्त्य त गर्‍यो तर सत्ताको सामन्ती चरित्रमा खासै फेरबदल गर्न सकेन। किनकि राणा राजा र कांग्रेसबीच मिलेर सत्ता सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता भएको थियो। त्यही सत्ताको आडमा देशभरि सामन्त जमिन्दारहरूको शोषण र उत्पीडनको जगजगी कायमै थियो। थारूहरूले खनजोत गरी उर्वरा बनाएका जमिन हड्पेर आफ्ना मौजा कायम गरेका थिए। मौजाभित्र श्रमजीवि थारूमाथिको अत्याचारले सीमा नाघेको थियो। कोठारमा अन्नको भण्डार हुँदा खेतमा श्रम गर्ने थारूहरूको घरमा अभाव थियो।  त्यसका विरुद्ध बैजनाथ थारूको नेतृत्वमा बाँके बनकटुवामा विद्रोहको झण्डा उठ्यो। जमिन्दारहरूको कोठार कब्जा गरी अन्न जनतालाई वितरण हुनथाल्यो। यो विद्रोह एक अभियानको रूपमा फैलिन थालेपछि नेतृत्व गरेका कारण बैजनाथ थारू जमिन्दारहरूको नजरमा मुख्य शत्रु बन्न पगे। २००७ चैत महिनामा तत्कालीन शासक र जमिन्दारहरू मिलि भाडा तिरेर भारतबाट सशस्त्र सेना मगाएर पेडारी गाउँलाई घेराहाली विद्रोही नेता बैजनाथ थारूलाई नियन्त्रणमा लिएर निर्ममता पूर्वक कुटपिट गरी हत्या गरियो। नेतृत्वको हत्यापछि विद्रोह सेलाएर गयो। पहिलो थारू विद्रोह दबाउन भारतीय सेना ल्याएर दमन गरिएको थियो। संघीयता आएपछि सहिद बैजनाथ थारूको सम्मानमा बैजनाथ गाउँपालिका गठन गरीएको छ।

वेलुवा बाली विद्रोह

२००८ वैशाख १५ गते, बर्दियाको राजापुर क्षेत्रअन्तर्गतको बेलवा गाउँमा थारू किसान कमैयाहरूले जमिन्दार विदुर नरसिंह राणा सँग आफ्नो हकको माग गर्दै खलिहान घेरेका थिए। आफूहरूले श्रम गरी फलाएको बालिमा राणाको मनपरी रजाइ भएपछि उनीहरूले उत्पादनको तीन चौथाइ हिस्सा पाउनुपर्ने माग राखेका थिए। माग पूरा नहुँदासम्म धान थुपारिएको खलिहान घेर्न नछोड्ने अडान लिएपछि जमिन्दार राणाले राजापुर चौकीबाट प्रहरी बोलाएर किसान कमैयाहरूमाथि अन्धाधुन्ध गोली चलाउन लगाए। यस बाली विद्रोहमा कोइलीदेवी थारूसहित पेपवा थारू, चापु थारू, लक्ष्मीप्रसाद थारू, पतिराम थारू र डिबवा थारू गरी ६ जनाको सहादत भएको थियो। साथै, १७ जना थारूहरू घाइते भएका थिए। कोइलीदेवी थारू यस विद्रोहमा सहादत प्राप्त गर्ने एकमात्र महिला हुनुहुन्थ्यो र उहाँलाई नेपालको पहिलो थारू महिला सहिद मानिन्छ। अहिले राजापुर नगरपालिकाले उक्त ठाउँमा प्रथम थारू महिला सहिद कोइलीदेवी थारूको सम्मान र समझनामा शालिक निर्माण गर्ने निर्णय गरेको छ।

वेलुवा बन्जारी विद्रोह

२०१७ साल साउन ६ गते,  दाङको घोराही‐३ बेलुवा बन्जारीमा जमिन्दारले वर्षातको समयमा किसानहरूलाई खेत जोत्न रोक लागाएपछि गुम्राहा थारूको नेतृत्वमा किसानहरूले आफ्नो खेत जोत्न थाले। किसानहरूको यो तागत दबाउन जमिन्दारले प्रहरी बोलाएर गुम्राहा थारूमाथि गोली चलाउन आदेश गरे। प्रहरीले चलाएको गोली लागेर गुम्रा थारू खेतमै ढल्नुभयो। बन्दुकको अगाडि खेत जोतिरहेका किसानहरूको केही चलेन। यसरी पछि जमिन्दारले उक्त खेत कब्जामा लियो। गुम्राको योगदानलाई सम्मान गर्न घोराही उपमहानगरपालिकाले घोराही‐३ स्थित एक चोकलाई ‘गुम्राहा चोक’ नामाकरण गरेको छ। तर हालः उक्त चोकमा घोडाको प्रतिमा राखिएको छ, गुम्रा थारूको शालिक भने एक कुनामा पारिएको छ। यसले उहाँको योगदानलाई उचित सम्मान नदिएको वर्तमान अवस्थालाई झल्काउछ।

थम्नी विद्रोह

२०३५ सालमा बर्दियाको थुम्नीमा मालिकले कमैया मनराखु थारूलाई बधुवा कमैयाको रूपमा बस्न बाध्य पार्न उनको सबै समानहरू आफ्नो कब्जामा लिएको थियो। मनराखु र उनको सामान मुक्त गर्न थारू युवा विद्यार्थीहरूको टिम बैठक बसी योजना बनाउँछ। केही महिना अगाडि मगरागडी मनिकापुरका जमिन्दारबाट कमैयाहरूलाई मुक्त गराइसकेको त्यो टिम मालिकसँग सम्बाद गरी मनराखु र उनको समान लिएर आउने, यदि नमानेको खण्डमा बल प्रयोग गरेर भए पनि मुक्त गराउने योजनामा गोचाली बम (खुर्सानी बम)सहित थुम्नीमा पुग्छ। त्यहाँ गएका विद्यार्थीको टिम र मालिकबीचको सम्बाद तनावपूर्ण बन्दै गएपछि घरको माथिल्लो तलाबाट विद्यार्थीहरूमाथि मालिकले गोली चलाउँछ। बारबर्दिया‐११ फच्कहुवाका मोहन थारूलाई गोली लाग्छ। घइते भएका मोहन थारूको बाटोमै सहादत हन्छ। कमैयाको न्यायका लागि लडदालडदै बलिदान गर्ने सहिद मोहन थारूको सम्मानमा बारबर्दिया नगरपालिकाले नगर केन्द्रदेखि फच्कहुवा जाने मार्गको नाम सहिद मोहन मार्ग नामाकरण गरेको छ।

कलुवापुर विद्रोह

कञ्चनपुर जिल्ला औँलो र मलेरियाबाट मुक्त भएपछि बसाइ सर्ने क्रम बढ्यो। जसका कारण थारू समुदायले जोतभोग गरेको जमिन सामन्ती वर्गले विभिन्न बाहानामा कब्जा गर्न थालेपछि नन्दलाल राना थारू यी अन्यायका विरुद्ध सक्रिय हुनुभयो। कलुवापुर गाउँमा जयदेव सुब्बा नामका जमिन्दारले थारू समुदायमाथि अत्याचार गर्दा नन्दलाल रानाले सशक्त प्रतिरोध गर्नुभयो। स्थानीय सामन्ती तथा शक्तिशाली जमिन्दारहरूको अन्यायको विरुद्धमा उहाँ लडिरहनु भयो। यसले आम थारूमा विद्रोही भावना जागृत गर्नथाल्यो। जमिन्दार विरुद्ध थारूहरू संगठित हुन थालेपछि २०३७ साल जेष्ठ महिनामा सामन्ती शक्तिहरूले षडयन्त्रपूर्वक आक्रमण गरी नन्दलालको हत्या गरे। उहाँको वलिदानले सुदूरपश्चिममा किसान तथा थारू समुदायका अधिकारका लागि अगाडि बढ्न मार्गदर्शन गर्नुका साथै समाजमा महत्वपूर्ण प्रभाव पारेको छ।

मनाउ कमैया विद्रोह

कमैया प्रथा नेपालमा विशेष गरी पश्चिमी तराईका पाँच जिल्ला, दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुरमा प्रचलित थियो। यो प्रथा रिणमुक्तिका नाममा पुस्तौंदेखि चल्दै आएको बन्धुवा मजदुरी प्रणाली थियो। जसमा कमैया र उनीहरूको परिवार जमिन्दारको रिण तिर्न नसक्दा पुस्तौंसम्म श्रम गर्न बाध्य हुन्थे। इतिहास हेर्दा थारूहरूले कमोट गरेको जमिन सामन्ती सत्ताको आडमा जमिन्दारहरूले हडपेपछि भूमिहीन भएका थारूहरू नै जमिन्दारको घरमा कमैया बस्न बाध्य भएका थिए। कमैयाहरूले बाह्रै महिना काम गरी उत्पादन गरेको बालीको चार भागमा तीन भाग जमिन्दार र बाँकी रहेको एक भाग सबै कमैयाहरूले बाँडेर गुजारा चलाउनु पर्दा वर्ष दिन खान पुग्दैनथ्यो। त्यो भोकमरी तार्न जमिन्दारबाट ऋण लिन बाध्य थिए कमैयाहरू। त्यस्तो ऋण वर्षेनि थपिँदै गर्दा तिर्नै नसकी पुस्तौंपुस्ता जमिन्दारको दास भएर बस्न विवश थिए। यही विवशताको भूमरीमा परेका बर्दिया मनाउका कमैयाहरू २०४५ साल फाल्गुनदेखि विद्रोहमा उत्रिएका थिए।

जमिन्दारहरूको दासता र चरम शोषणले पिल्सीएका कमैयाहरू मध्येका शिल्ता थारू, बच्चु थारू, विन्तीराम थारूलगायतले नेतृत्व गरेर कमैया विद्रोको सुरुवात गरेका थिए। नौ को ठाउँमा बार बोरा मसिउरा, चौकुर हटाएर तीकुर बतैया, बुक्रहिलाई पनि ज्याला, महिनामा तीन दिन छुट्टी हुनुपर्ने लगायतको माग पूरा नगर्दासम्म जमिन्दारहरूको कोठार र खेतमा कसैले कुनै पनि काम नगर्ने घरमा कोही बुक्रही पनि नजाने भनेर हड्तालमा उत्रिए। जमिन्दारहरूको आदेश कसैले पनि नमान्ने गरी भएको हडतालले जमिन्दारहरूको गाई-भैँसी भोकै हुन थाले। घरमा भाँडा माझ्न, खाना पकाउन कोही नजाँदा उनीहरू पनि भोकै हुने अवस्था आउन थालेपछि जमिन्दारहरू प्रहरी बोलाएर हड्ताल विथोल्ने प्रयत्न गर्न थाले। कमैयाहरूको पीडादायी दर्दनाक अवस्था देखेर प्रहरीले पनि बल प्रयोग गर्न सकेन। पछि जमिन्दारहरू पैसा उठाएर चौकीलाई घुस दिए, परिचालित प्रहरीहरूलाई रक्सी खुवाएर उत्तेजित बनाए र अगुवाहरूको गिरफ्तारी गराए। आफ्नो अगुवाहरूको गिरफतारीविरुद्ध कमैयाहरू नारा जुलुसमा उत्रिए। जुलुसले ठूलो रुप लिन थालेपछि थप प्रहरी उतारेर दमनको शैलीमा धरपकड गरी  शिल्ता, बच्चुलगायत ९ जनालाई गिरफ्तार गरी कोठियाघाट चौकीमा थुनेर कमैयाहरूको हड्ताललाई जमिन्दारहरूले बिथोले।

यो पहिलो खण्डको इतिहास हेर्दा स्थानीय जमिन्दारहरूको शोषण, उत्पीडन र अत्याचार विरुद्धको आक्रोश व्यक्त भएको देखिन्छ। आक्रोशको रूपमा उठेका थारू विद्रोह दबाउन सत्ताको शक्ति प्रयोग गर्दै आएको पाइन्छ।

जनयुद्धमा सहभागिता

नेपाली जनयुद्ध माओवादीले सुरुगरेको सशस्त्र क्रान्ति थियो। ग्रामिण क्षेत्रमा व्यापक रहेको गरिबी, भूमिहीनता, जातीय विभेद, लिंगीय र वर्गी उत्पीडनको अन्त्य गर्दै महिलाको समानता र जातीय तथा क्षेत्रीय स्वायत्तताको माग र मुद्दालाई नेपालको राजनीतिमा स्थापित गर्ने इतिहासको एकमात्र ऐतिहासिक सशस्त्र संघर्ष थियो। जसले मुलुकको राजनीतिक प्रणालीमा आमूल परिवर्तन ल्यायो। जसको मुख्य उद्देश्य सामन्तवाद, राजतन्त्र र कथित जनविरोधी मुठ्ठिभर वर्गको व्यवस्थालाई हटाई वैज्ञानिक समाजवाद तर्फ अघि बढ्नु थियो।

रोल्पा, रुकुम, गोरखा, सिन्धुली लगाएतका जिल्लाहरूमा सामन्ती राज्य व्यवस्थाका विरुद्ध सशस्त्र विद्रोह गरी जनयुद्धको सुरु भएको थियो। सदियौं देखि वर्गीय र जातिय उत्पीडनमा रहेका थारू समुदायमा त्यसको प्रभाव छिट्टै पर्‍यो। २०५४ साल दाङमा भएको थारू अगुवाहरूको पहिलो भेलाबाट थारूवान राष्ट्रिय मुक्ति मोर्चाको गठन भयो। थारू मोर्चाले सबै उत्पीडनबाट समाजलाई मुक्त गर्न जनयुद्धमा सहभागी हुने निर्णय गर्‍यो। यसपछि पश्चिम तराईमा जनयुद्ध व्यापक र रफ्तारमा फैलियो। किलो शेरा टु, जंगल सर्च अभियान, कर्णाली अप्रेशनजस्ता जनदमन चलाएर राज्यले व्यापक आतंक नै सिर्जना गर्दा पनि थारूहरूको सहभागितामा कुनै कमी आएन। थारू सबै माओवादी हुन भन्ने भाष्य बनाएर दमनमा उत्रिएको राज्यले ठूलो संख्यामा हत्या र बेपत्ता पार्ने काम गर्‍यो। गोचाली परिवार २०२८ का संस्थापक सदस्य सगुनलाल चौधरी (बर्दिया), जोखन रत्गैया (कैलाली), थारू मोर्चाका केन्द्रीय सदस्यहरू जगत राम रत्गैया, बुद्धिलाल थारू, मंगल थारू लगायतका १५ सयभन्दा बढी संख्यामा थारूहरूको बलिदान भयो। देशैभरिमा सबैभन्दा बढी नागरिक त्यसमा पनि थारू बेपत्ता परिएको जिल्ला बर्दिया हुन पुग्यो। फलस्वरुप गाउँहरू शोषक सामन्तबाट मुक्त भए। कमैया, कमलहरी, बुक्रही सबै स्वतन्त्र भए। इमान्दार र सोझा थारूहरू विद्रोही र लडाकुको पहिचान बनाए। नेपालको राजनीतिक इतिहासमा थारू समुदायको यो विद्रोह एक ऐतिहासिक परिघटनाको रूपमा स्थापित भएको छ।

पहिचान जोगाउने आन्दोलन

संविधान सभाबाट संविधान निर्माण गर्न २०६४ चैत २८ गते संविधान सभाको निर्वाचन भएर सभा गठन भयो। २०६५ जेष्ठ १५ गते गणतन्त्रको घोषणा सँगै संघियता, पहिचान र समावेशीताको विषयमा सभा र जनस्तर सम्म बहस हुन थाल्यो। मधेसी जनअधिकार फोरम लगाएत मधेसवादी दलहरू पूरै तराईलाई छुट्टै मधेस प्रदेश बनाउने र तराई बासी थारू मुस्लिमलगायतका समुदायलाई मधेसीकरण गरी संख्या बढाउने रणनीतिमा थिए। त्यही रणनीतिक उद्देश्य हासिल गर्न चरणबद्ध आन्दोलन गरिरहेका थिए। हिंसात्मक बन्न थालेपछि आन्दोलन रोक्न मधेसवादी दलहरूसँग सरकारले २२ र ८ बुँदे सहमति गर्‍यो। सहमतिअनुसार २०६५ सालमा सरकारको तर्फबाट विभिन्न संवैधानिक नियुक्तिहरू हुन थाल्यो। त्यहाँ थारूलाई मधेसीको श्रेणीमा समावेश गरियो। मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालय र लोकसेवाले एक सूची बनायो, जसमा थारूलाई मधेसीको रूपमा वर्गीकृत गरियो। थारूलाई मधेसीकरण गर्ने विषय नेपालको संघीयता,  पहिचान र समावेशीतासम्बन्धी बहसमा एक विवादास्पद र संवेदनशील मुद्दा बन्यो। थारू संघसंस्थहरू यसको विरोधमा उत्रे।

प्राचीन इतिहास र आफ्नै पहिचान भएको समुदायलाई मधेसवादी दलहरूको दवाबमा मधेसीकरण गर्ने प्रक्रिया विरुद्ध थारू समुदाय आक्रोशित बन्यो। यो कदमलाई राजनीतिक प्रतिनिधित्व र संघीय संरचनामा थारू पहिचान कमजोर बनाउने षडयन्त्रको रूपमा लियो र यसलाई खारेज गर्न देशव्यापी आन्दोलनको घोषणा गर्‍यो। थरुहट संघर्ष समितिले ७ दिनसम्म नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गर्‍यो। विशेष गरी कैलाली, कंचनपुर, बर्दिया, बाके, दाङ, रौतहट, सप्तरी, सुनसरीलगायतका थारू बाहुल्य जिल्लामा आन्दोलन तीव्र बन्यो। सरकारी कार्यालयहरू, बजार क्षेत्र  र यातायात पूर्णरुपले ठप्प भयो। नेपाल बन्दकै क्रममा विभिन्न ठाउँमा प्रहरी सँग झडप भयो गोली चल्यो। दाङ दिउखरको लठहौवामा प्रहरीको गोलीलागी राप्ती गापा ५ लठहौवाका रामप्रसाद चौधरी र वडा नं. ७ छोत्की सिसहनीयाका प्रकाश कुमार चौधरीको सहादत भयो। प्रहरी दमनले आन्दोलन झनै कडा बन्नथालेपछि सरकार विज्ञप्ति जारी गर्दै आन्दोलनकारीलाई वार्तामा बोलायो। केहीचरणको वार्ता पछि २०६५ चैत १ गते सरकार र संघर्ष समितिबीच थारूलाई मधेसीमा वर्गीकृत नगर्ने सहमति भयो र आन्दोलनका सबै कार्यक्रम स्थगित भए। मधेसीकरण गर्ने रणनीति पूर्णरूपले खारेज भएपछि थारू समुदायको पहिचान जोगाउने आनदोलन सफल भयो। यो सफलताले थारू समुदायको राजनीतिक चेतनालाई झनै बलियो बनायो।

थरुहट/थारूवान प्रदेशका लागि आन्दोलन

संविधान निर्माणको क्रममा संघियताको बहस निकै चर्की रहेको थियो। यसको आधार, सीमांकन र नामांकन कसरी गर्ने? प्रश्न निकै पेचिलो बनेको थियो। बाहिर पहिचानविरोधी दल र शक्तिप्रति जनआक्रोश बढ्दो थियो। पहिलो सभामा निकै बलियो प्रतिनिधित्व रहेको पहिचान पक्षधरहरू दोस्रो सभामा निकै कमजोर थिए। यहाँ स्मरणीय कुरा यो छ कि पहिचान पक्षधरहरू बलियो रहेकै कारण पहिलो सभालाई बन्धक बनाएर सकाए। सभाको विघटन यथास्थितिवादीहरूका लागि निकै सुखद र अग्रगामीहरूका लागि दुःखद परिघटना बन्यो। नचाहेर पनि यी सबै परिघटनाको सारथी र साक्षी बने सभाका सभामुख। आदिवासीहरूलाई राज्य सत्ताको मूलधारमा ल्याउन राजनीतिक अग्राधिकार र पहिचान दिनुपर्ने सिद्धान्त बोकेर जनयुद्ध लडेको माओवादीले थारूवानलगायत पहिचानसहितको १४ प्रदेशको संरचना अगाडि सारेको थियो। तर, दुर्भाग्य भनौं माआवादी विभाजनको गहिरो पीडामा रहेको बेला भएको दोस्रो सभाको निर्वाचनमा तेस्रो पार्टी बन्यो। पहिचान विरोधी शक्तिहरू हाबी भए। कमजोर उपस्थितिका कारण सभामा पहिचानको पक्षमा निर्णय हुनसक्ने अवस्था रहेन। पूर्ववत् रहेको ५ विकास क्षेत्रलाई नै प्रदेश संरचना बनाउनेतिर सभामा हाबी यथास्थितिवादी शक्तिहरूको जोड हुन थाल्यो। यस संगीन अवस्थामा  त्यो रवैयाको प्रतिरोध गर्ने एउटै विकल्प बन्यो आन्दोलन।

नेपालको संघीय संरचनाभित्र पश्चिम कञ्चनपुरदेखि पूर्व नवलपरासीको दाउन्नेसम्मको भूभाग समेटिएको थरुहट/थारूवान प्रदेश हुनुपर्ने, जातीय जनसंख्याको आधारमा राज्यका सबै अंगहरूमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने, पुर्खाहरूबाट खोसीएको जग्गा-जमिन फिर्ता हुनुपर्ने लगायतका मुख्य मागसहित २०७२ साउन देखि आन्दोलनको घोषणा भयो। यस आन्दोलनमा सबै दल सम्बद्ध थारू संघ संगठनहरूको सक्रिय सहभागिता थियो। थारू कल्याणकारिणी सभा यसको समन्वय कर्ता बन्यो। विशेष गरी पश्चिमका जिल्लामा केन्द्रित आन्दोलनमा जनसहभागिताले विशाल रुप लिन थालेपछि पहिचानविरोधी शक्ति र दलहरूको योजनामा ‘अखण्ड सुदूरपश्चिम’को नारालिएर कैलालीको धनगढीमा जुलुस निकालियो। राजा महेन्द्रले बनाएको सुदूरपश्चिम विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने प्रतिगामी योजना जुलुसमार्फत सडकमा प्रदर्शन हुन थाल्यो। सुदूरपश्चिमका कुनै पनि जिल्लाहरू अलग गर्न पाइँदैन भन्नुको मूल मक्सद कैलाली र कञ्चनपुरलाई थारूवानमा राख्न हुँदैन भन्ने थियो। थारू पूर्णबहुमतमा रहेको बर्दिया र कैलाली जिल्लालाई अलग दुई प्रदेशमा राखेर थारू जनमतलाई विभाजन गर्ने योजना प्रष्टै थियो। कैलाली प्रहरी प्रशानले पनि अखण्ड सुदूरपश्चिमको संरक्षण र थारूवान पक्षधरलाई निषेध गर्ने रवैया देखाउन थाल्यो। थारू गाउँहरूमा प्रहरी पसेर जनप्रदर्शनमा सहभागी हुनेलाई रोक्ने प्रयास गर्नथाल्यो।

यो पक्षपातपूर्ण व्यवहारका कारण थारू समुदायमा थपआक्रोश  बढिरहेको थियो। भदौ ७ गने विहानै टीकापुर बजार वरपरका थारू गाउँमा प्रहरी पुगेर आन्दोलनका सहभागीहरूलाई रोक्न थालेपछि ठाउँ ठाउँमा झडप भयो। झडपका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको मृत्यु भयो। दर्जनौं आन्दोलनकारी घाइते भए। सरकारले तत्कालै कर्फ्यु जारी गरेर ठूलो संख्यामा सशस्त्र प्रहरी र सेना उतार्‍यो। सशस्त्र प्रहरी र सेना गाउँमा पसेर व्यापक कुटपिट धरपकड गर्न थाल्यो। थारूमाथिको दमनले गाउँहरू सुनसान भए। भोलि दिउँसो कर्फ्युमै प्रहरीको सुरक्षामा अखण्ड सुदूरपश्चिम पक्षधरले टीकापुर बजारमा जुलुस निकाल्यो। थारू लक्षित नारा जुलुश उग्र हुँदै थारूहरूको पसल, होटेल, घरहरूमा टोडफोड र आगजनी गर्‍यो। प्रहरी सेना गाउँमा पसेर बरघरलगाoत पुरुषहरूको व्यापक धरपकड र महिलाहरूमाथि हातपाल गर्‍यो। यसरी एउटा जातीय समुदायलाई लक्षित गरी राज्यले ठूलो दमन चलाएर आन्दोलन दबायो र थारू जनमतलाई टुक्राटुक्रा परेर बनेको प्रदेश संरचनासहितको संविधान असोज ३ गते जारी भयो।

टीकापुरमा उठेको विद्रोहलाई दबाए पनि थरुहट/थारूवान आन्दोलनले उठाएका मुद्दाहरू राष्ट्रि बहसमा आएका छन्। यहाँ मननयोग्य कुरा यो छ कि आन्दोलनलाई हिंसात्मक बनाएर बिथोल्ने उच्च जातीय अहंकारले ग्रसित ठूला दलका ठूला नेताहरूको षड्यन्त्र र मधेसवादी दलसँग मिलेर आन्दोलन गर्नुपर्छ भन्ने उग्र र अन्धजातिवादी प्रवृत्ति दुवै यो अवस्था आउनमा जिम्मेवार छन्। थारू समुदायलाई अलग-अलग प्रदेशहरूमा विभाजित गरी कमजोर उपस्थिति बनाउन पहिचानविरोधी शक्तिको रणनीति केही हदसम्म सफल भएको छ। यो घटनाक्रमले दुई कुरा प्रष्ट पारेको छ। एक,  नेपालको सत्तामा अहिले पनि सामन्ती चिन्तनले गहिरो गरी जडा गाडेर बसेको छ। दुई, उच्च जातीय अहंकारवाद सत्तामा पूर्णरूपले हाबी छ।

टीकापुर र थारू विद्रोहको सिंहावलोकन गर्दा थारूहरू सामन्ती सत्ताको संरक्षणमा रहेका जमिन्दारहरूको शोषण र उत्पीडनविरुद्ध विद्रोहको झण्डा उठाए। विद्रोह दबाउन सत्ता दमनमा उत्रिएपछि त्यसका विरुद्ध पनि विद्रोह गरे। सामन्ती सत्ता नै परिवर्तन गर्ने संघर्षमा बलिदान गर्दै परिवर्तित अवस्थामा अहिले स्वाभिमान र शासनमा हिस्सेदारी खोजिरहेका छन्। यस कुराले के देखाउँछ भने हाम्रो समुदाय विद्रोह र बलिदानको गौरवपूण इतिहास बोकेको छ। राजनीतिकरूपमा सचेतपूर्वक अगाडि बढिरहेको छ। यो यात्रालाई रोक्ने प्रयत्नले अर्को ठूलो विद्रोह निमत्याउने पक्का छ।

लेखकः थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य, बारबर्दिया नगरपालिकाका निर्वतमान प्रमुख र उच्च स्तरीय भूमिसुधार आयोग २०६५ का केन्द्रीय सदस्य हुन्।

कसरी बिग्रियो दक्षिण कोरिया-चीन सम्बन्ध?

वर्षौँसम्म दक्षिण कोरिया र चीनले व्यापारमा आधारित व्यावहारिक साझेदारी कायम राखे। बेइजिङ, सियोलको प्रमुख व्यापारिक साझेदार बन्यो, भने कोरियाली इलेक्ट्रोनिक्सदेखि के-पपसम्मका ब्रान्डहरू चिनियाँ बजारमा फस्टाइरहे। औपचारिक रूपमा यस सम्बन्धलाई क्षेत्रीय सहयोगको रूपमा स्वागत गरियो, तर अनौपचारिक रूपमा अविश्वास गहिरिँदै गयो।

यो अविश्वास त्यतिबेला झन् गहिरियो जब दक्षिण कोरियाली गुप्तचर निकायले चिनियाँ गुप्त प्रभाव गतिविधिहरू, जसमा राजनीतिक अभियानलाई आर्थिक सहयोग, मिडिया कथा नियन्त्रण, र नागरिक समूहहरूमा घुसपैठको चेतावनी दियो। यस्ता घटनाहरू अलग-अलग देखिए पनि विश्लेषकहरूले तिनीहरूलाई सियोलको नीतिमा प्रभाव पार्ने बेइजिङको दीर्घकालीन रणनीतिको अङ्गका रूपमा हेरे।

चुनावका बेला चिनियाँ नेटवर्कहरूबाट फैलिएको गलत जानकारीले सार्वजनिक चिन्ता थप बढायो। सामाजिक सञ्जालमा बेइजिङ–विरोधी उम्मेदवारहरूलाई लक्षित गर्दै विभाजनकारी सामग्रीको बाढी आयो। प्रत्यक्ष हस्तक्षेपको पुष्टि नभए पनि, हस्तक्षेपको धारणा बलियो बन्यो।

पछि, सियोलमा चिनियाँ “सांस्कृतिक केन्द्र” को नाममा सञ्चालन भइरहेका कथित ‘पुलिस चौकी’हरूले चिनियाँ नागरिकहरूलाई निगरानीमा राख्ने र असन्तुष्टहरूलाई दबाब दिने काम गरिरहेको रिपोर्ट बाहिर आयो। नागरिकहरूले यसलाई दक्षिण कोरियाको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घनका रूपमा हेरे। चिनियाँ पर्यटकहरूले सम्पदा स्थलहरूमा तोडफोड गरेको र स्थानीयहरूसँग झडप गरेको भिडियोहरू भाइरल हुँदा जनआक्रोश अझ चुलियो।

चिनियाँ दूतावासबाहिरको ठूला प्रदर्शनसम्म आइपुग्दा, एउटा स्पष्ट सन्देश देखा पर्न थाल्यो: चीन अब केवल व्यापारिक साझेदार होइन, बरु दक्षिण कोरियाको लोकतन्त्र र स्वतन्त्रतामा हस्तक्षेप गर्ने शक्ति हो।

सानातिना विरोधहरू दैनिक प्रदर्शनमा रूपान्तरण भए। “हाम्रो लोकतन्त्रबाट हात हटाऊ” लेखिएका ब्यानरहरूसहित प्रदर्शनकारीहरूले चिनियाँ अधिकारीहरूलाई व्यङ्ग्यात्मक रूपमा सडकमा उभ्याउन थाले। चिनियाँ पर्यटकले ट्याक्सी चालकमाथि आक्रमण गरेको जस्ता घटनाहरू आक्रोशको केन्द्र बनिरहेका छन्।

सरकार कूटनीतिक सन्तुलनमा हिँडिरहेको छ, बेइजिङलाई प्रत्यक्ष आरोप नलगाई अनुसन्धानको वाचा गरिरहेको छ। यता, चिनियाँ राजदूतहरूले सुरक्षा र मिडियामा संयम अपनाउन औपचारिक गुनासो दर्ता गराएका छन्।

सुरक्षा व्यवस्थामा कडाइ आएको छ, दूतावास वरिपरि कंक्रीटको अवरोध, आकाशमा ड्रोन निगरानी, र देशभरि प्रहरी गस्तीहरू बढाइएको छ। टोकियोदेखि टोरन्टोसम्मका अन्तर्राष्ट्रिय मिडियाले यसलाई चिनियाँ प्रभावविरुद्धको विश्वव्यापी प्रतिक्रियाको हिस्सा भनेर रिपोर्ट गरिरहेका छन्।

त्यसैबीच, बेइजिङले “बाह्य शक्तिहरू” माथि दोष थोपर्दै आएको छ र द्विपक्षीय सम्बन्धमा स्थायी क्षतिको चेतावनी दिइरहेको छ। तर प्रदर्शनहरू सुस्त हुने कुनै संकेत छैन। आयोजकहरूले अनधिकृत चिनियाँ चौकीहरू बन्द गर्न, विस्तृत अनुसन्धान गर्न र विदेश नीति पुनः संरचना गर्न माग गर्दै राष्ट्रव्यापी आन्दोलनको तयारी गरिरहेका छन्। सुरूमा शान्त शंकाको रूपमा देखिएको कुरा अहिले राष्ट्रिय आन्दोलनमा परिणत भएको छ, जसको प्रभाव विश्वव्यापी बन्ने संकेत देखिएको छ।

विरोधको मूलमा रहेका तीन मुख्य चिन्ता
दक्षिण कोरियामा चीनविरुद्धको विरोध तीन प्रमुख चिन्ताहरूले सञ्चालित छ—राजनीतिक हस्तक्षेप, सांस्कृतिक घर्षण, र गोप्य प्रभाव सञ्चालन। पहिलो, चीनले मिथ्या सूचना, गोप्य कोष र मिडिया हेरफेरमार्फत कोरियाली राजनीतिमा हस्तक्षेप गर्दै आएको आरोप लामो समयदेखि छ। पछिल्ला गुप्तचर रिपोर्टहरूले आलोचकहरूलाई बदनाम गर्न र बेइजिङपक्षीय कथालाई प्रवर्द्धन गर्न समन्वित अनलाइन प्रयास भएको संकेत दिएका छन्। यद्यपि ठोस प्रमाणहरू न्यून छन्, जनताको धारणा भने कठोर बन्दै गएको छ। धेरै कोरियालीहरूका लागि, विदेशी हस्तक्षेपले उनीहरूको लोकतान्त्रिक संरचनालाई नै खतरा बनाएको अनुभव हुन्छ।

दोस्रो, सांस्कृतिक घर्षणले आन्तरिक तनाव बढाएको छ। चिनियाँ पर्यटकहरूको व्यवहार, सम्पदा स्थलमा तोडफोड, स्थानीयहरूसँग झगडा, वा सार्वजनिक शिष्टाचारको अवहेलनालगायत धेरैले बेइजिङको दक्षिण कोरियाली कानून र संस्कृतिप्रतिको बेवास्ताका रूपमा व्याख्या गर्छन्। यस्ता कार्यहरू सबै चिनियाँ नागरिकको प्रतिनिधित्व नगरे पनि, ती घटनाले जनआक्रोशलाई बल दिएका छन्। अपराधीहरूलाई कारवाही गर्न सरकार अनिच्छुक देखिएपछि जनताको निराशा थप गहिरिएको छ।

तेस्रो, सियोलमा संचालनरत कथित चिनियाँ ‘पुलिस चौकी’हरू पत्ता लागेपछि सार्वजनिक चिन्ता नयाँ स्तरमा पुगेको छ। चीनको सत्तारूढ कम्युनिस्ट पार्टी (सीसीपी)सँग जोडिएका यी संस्थाहरू चिनियाँ नागरिकहरूको निगरानी, र असन्तुष्टहरूलाई दवाब दिन संलग्न रहेको आरोप छ। यस्ता कार्यहरू अरू देशहरूमा पनि पत्ता लागिसकेकाले यो अब केवल दक्षिण कोरियाको मुद्दा होइन, एक वैश्विक चिन्ता बनिसकेको छ।

यी सबै कारकहरूले अलग-अलग विरोधलाई समेटेर राष्ट्रिय स्तरको आन्दोलनमा परिणत गरिदिएका छन्। जनमत पुनः आकारिँदैछ, कूटनीति तनावग्रस्त छ, र आर्थिक सम्बन्धहरू कमजोर बन्दैछन्। दक्षिण कोरियामा रहेका चिनियाँ नागरिकहरूले बढ्दो असहजता भोगिरहेका छन्, भने चीनसँग सम्बन्ध भएका कोरियालीहरूले सामाजिक विभाजनको सामना गरिरहेका छन्।

जबसम्म पारदर्शिता, जवाफदेहिता र पुनःसंरचित कूटनीतिक पहलमार्फत यी मुद्दाहरू सम्बोधन गरिँदैनन्, तबसम्म यस्ता आन्दोलन केवल अस्थायी विरोधमा सीमित हुने छैनन्, यी गहिरो अविश्वास र क्षेत्रीय अस्थिरताको दीर्घकालीन विरासत बन्न सक्छन्।

दक्षिण कोरियाको राजनीति, संस्कृति, र नागरिक समाजमा बेइजिङको गहिरो पहुँचले विश्वासलाई कमजोर बनाएको छ। हस्तक्षेप, सांस्कृतिक असम्मान, र गुप्त निगरानीको आरोपले सियोललाई कठिन प्रश्नहरूको सामना गराएको छ:
के दक्षिण कोरियाले लोकतन्त्रको रक्षामा ठोस कदम चाल्नेछ? वा उसले व्यापारिक सम्बन्ध जोगाउन मौनता रोज्नेछ? निर्णयको घडी आइसकेको छ। यदि निर्णय चुकियो भने, दक्षिण कोरिया आफ्नो सार्वभौमसत्तामा सम्झौता गर्ने उदाहरण बन्ने जोखिममा छ। जब खतरा साझेदारीको आवरणमा आउँछ, लोकतन्त्रले आफ्नो रक्षा गर्न सक्ला? संसार हेरिरहेको छ।

यसरी दुर्घटना भएको थियो पुष्प चौधरी सवार मोटरसाइकल

विराटनगर महानगरपलिका-४ दुधफारम चोकमा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालक मोरङ बूढीगंगा गाउँपालिका – १ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

एनपीएलको दोस्रो सिजनको मिति घोषणा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्।

क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ। पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना भएको थियो। प्रतियोगिताको खेलतालिका भने केही समयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।

एनपीएलको दोस्रो संस्करणका लागि साउन २४ गते मिनी अक्सन भएको थियो। त्यसअघि एनपीएलका ८ वटै टिमले खेलाडी रिटेन र रिलिज गरेका थिए।

युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन

सुनसरीका युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका-६ निवासी पुष्प चौधरीको बुधबार दुर्घटनामा निधन भएको हो।

सुनसरीको सामाजिक तथा राजनीतिक गतिविधिमा उनी सक्रिय थिए। उनी थारू राजनीतिज्ञहरूसँग पनि निकट रहँदै आएका थिए। आफ्नो क्षेत्रमा हुने हरेक सामाजिक तथा सांस्कृतिक जमघटमा उनको सक्रियता लोभलाग्दो थियो।

त्यहाँका थारू अगुवाहरूले समुदायले एउटा प्रभावशाली युवा गुमाएको बताएका छन्। माओवादी केन्द्रका सांसदसमेत रहेका अमनलाल मोदीले पनि उनको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्।
‘अलविदा पुष्प भाइ। अपत्यारिलो अत्यन्त दुःखद खबर थारु समुदायको उदयमान युवा समाजिक अभियन्ता सुनसरी निवासी पुष्प थारुको दुर्घटनामा परी निधन भएको हुँदा अत्यन्त मर्माहित बनाएको छ, तपाईँप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सांसद मोदीले लेखेका छन्।

रुपन्देही-३ मा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने मोर्चाको औपचारिक निर्णय

संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मोर्चाका तर्फबाट प्रसार प्रसार समिति पनि बनाइएको छ।

‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिवद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ। उक्त निर्वाचन प्रचार-प्रसार तथा परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ,’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै गौर घटनाबारे सर्वोच्च अदालतले जारी गरेको परमादेशप्रति ध्यानाकर्षण जनाएको छ। मोर्चाले अनुसन्धानमा आशंका जनाउँदै निन्दा पनि गरेका छन्। ‘परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिएजस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबिन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै भएन। संघीय लोकतान्त्रिक मोर्चा यसको निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

मोर्चाले राजनीतिक प्रतिशोध साँध्नेगरी अदालतको आदेश आएको जनाएको छ। ‘मोर्चा यी सबै तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा छ। तर, एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुने सम्बन्धित सबैमा स्पष्ट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।