अरुणलाई १५ वैशाखको बैठक स्मरण गराउँदै रञ्जिताले भनिन्- कैलाली-२ बाट फेरि जितेर देखाउनुस्

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिएकी छन्। नाउपा नेता एवं सांसद अरुण चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई रेशम चौधरीको साथ बिना चुनाव जितेर देखाउन चुनौती दिएकी थिइन्।

सो चुनौतीपछि थारूवानसँग कुरा गर्दै अध्यक्ष रञ्जिताले कैलाली क्षेत्र नं २ मा फेरि जितेर देखाउन चुनौती दिएकी हुन्। ‘हामी रुपन्देहीबाट चुनाव लड्नै पर्दैन। आरोप लगाउनेले आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिन्छु,’ अध्यक्ष श्रेष्ठले भनिन्।

त्यस्तै केन्द्रीय समितिको बैठकका बारेमा पनि भ्रम नफैलाउन उनले आग्रह गरेकी छन्। उनले जनमत पार्टीसँग एकता गर्नुअघि पार्टीको केन्द्रीय समितिको बैठक कसले आह्वान गरेको भन्दै प्रश्न गरिन्। ‘सीके राउत नेतृत्वको पार्टीसँग एकता गर्ने भनेर मैले नै हो केन्द्रीय समिति बैठक आह्वान गरेको। अनि कसरी भयो बैठक नबसेको २४ महिना? यस्तो भ्रम फैलाउने कुरा गर्नु हुँदैन,’ उनले भने।

अध्यक्ष श्रेष्ठले आफू अझै विधि र पद्धति बसाल्न लागिपरेको बताइन्। ‘मैले त विधि र पद्धति बसालेर मिलेर जाउँ भनिरहेकै छु। यो पक्ष र त्यो पक्षभन्नु भन्दा आउनुस् विधि विधानअनुसार अगाडि बढौं भनेकै छु। अनि मैले गल्ती के कुरा गरेकी छु र?’ उनले प्रश्न गरिन्।

 

काठमाडौंमा यसरी मनाइयो अस्टिम्की (फोटो फिचर)

काठमाडौंका थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। शनिबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अग्रसान थारू महिला समाजको आयोजनामा अस्टिम्की पर्व मनाइएको छ। बर्तालु महिलाहरूले अस्टिम्की चित्रमा टिकेर पर्व मनाएका हुन्।

सो अवसरमा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सांसद लक्ष्मण जोगेठ्वा, थरुहट अभियन्ता सुरेन्द्र चौधरीलगायत सहभागी थिए। सहभागीहरूले अस्टिम्की पर्वको महत्त्वबारे प्रकाश पारेका थिए।

नाउपा विवाद : अद्यावधिकका लागि अध्यक्ष रञ्जिताले संस्थापक सदस्यहरूको ‘कीर्ते हस्ताक्षर’ प्रयोग गेरको आरोप

नागरिक उन्मुक्ति पार्टीभित्र यतिबेला चर्को विवाद चलिरहेको छ। पार्टीको विधानलाई लिएर निर्वाचन आयोगले बहुमत संस्थापक सदस्यको भेलालाई अस्विकार गरेपछि नागरिक उन्मुक्ति पार्टीका नेता-कार्यकर्ताहरू दुई खेमामा विभाजित भएका छन्।

बहुमत संस्थापक सदस्यहरूको भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले विधानसम्मत भेला नभएको भन्दै आयोगमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा लालवीरसँग जवाफ मागेको र जवाफ चित्तबुझ्दो नभएपछि साउन १६ को भेलालाई अयोग्न ठहराउने निर्णय आयोगले गरेको थियो।

विधानको वकालत गर्दै आएकी अध्यक्ष रञ्जिता श्रेष्ठले गैरकानुनी रूपमा लेखापरीक्षण गराई पार्टी अद्यावधिकका लागि निवेदन दिएको बहुमत सदस्य पक्षधरले आरोप लगाएका छन्। उनीहरूले लेखापरीक्षणसँगै पुरानो कागजात रहेको संस्थापक सदस्यहरूको कागजात पेस गरेको आरोप लगाएकी छन्। ‘बहुमत केन्द्रीय सदस्यहरू उहाँको विपक्षमा हुनुहुन्छ। तर, विधानको चर्को पक्षधर बनेकी उनी आफैंले कीर्ते कागजात पेस गरेकी छन्। बहुमत सदस्यको हस्ताक्षर भएको पुरानाो कागजात पेस गरिएको छ। त्यसमा हाम्रो विपत्ति छ। त्यसविरुद्ध हामी आयोगमा निवेदन दिन्छौं,’ संस्थापकमध्येक एक सदस्यले भने।

पार्टी अद्यावधिक नगरेको चर्को विरोध भइरहेका बेला अध्यक्ष रञ्जिताले कीर्ते कागजात पेस गरेको उनीहरूको आरोप छ। निर्वाचन आयोग स्रोतले भने यस विषयको परीक्षण गर्ने बताए। ‘नक्कली सक्कली के कागाजत हो। त्यस विषयको परीक्षण हुन्छ,’ आयोग स्रोतले भन्यो।

नागरिक उन्मुक्ति पार्टी अहिले विभाजनको संघारमा छ। पार्टी संरक्षक रेशम चौधरीले रञ्जिता चौधरीलाई अध्यक्ष स्वीकारेर अब अघि बढ्न नसक्ने बताएका छन्। उनले यो नेतृत्व नाउपामा फेलियर भइसकेकाले त्यही नेतृत्वलाई स्वीकार गरेर अघि बढ्न नसक्ने बताएका हुन्। ‘निर्वाचन आयोगले आफ्नो निर्णय गर्‍यो। तर, नाउपाका सन्दर्भमा जनताले पनि आफ्नो निर्णय गरिसकेका छन्,’ संरक्षक चौधरीले भने, ‘हामी जनताको निर्णय मान्छौं। हामी राजनीतिक यात्रामा छौं। हामीले फरक बाटो हिँड्ने भनेर उद्घोष पनि गरिसकेका छौं। उहाँको नेतृत्वलाई नस्वीकार्ने भनेर राष्ट्रिय भेलाले नै फरक यात्रा तय गरिसकेकाले अब फर्किन कुरा आउँदैन।’

कोरियाको अस्पतालमा कोमामा छन् कमल चौधरी, ज्यान बचाइदिन परिवारको गुहार

उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरी सुन्दर भविष्यको सपना बोकेर दक्षिण कोरिया पुगेको एक वर्ष मात्रै भएको थियो । तर, उनी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित एक अस्पतालमा कोमामा छन् । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनको होस् अझै खुलेको छैन ।

यता, उपचारमा लागेको खर्च १६ लाख नेपाली रुपैयाँ नाघिसकेको छ, तर त्यो रकम तिर्न सक्ने अवस्था चौधरीको परिवारसँग छैन । कमलकी श्रीमती मनिषा कुमारी चौधरी भावुक हुँदै भन्छिन्, ‘कोरियाको अस्पतालले १६ लाख रुपैयाँ बराबरको बिल पठाएको छ । तर हामीसँग तिर्नसक्‍ने त्यति पैसा छैन, न त हामीसँग जमिन छ न त गरगहना। यति धेरै रकम कहाँबाट ल्याएर तिर्ने ?’

कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अझै अनभिज्ञ छ । घटना भएको तीन दिनपछि मात्रै खबर पाएका परिवारका सदस्यलाई उनलाई के भएको हो भन्ने यकिन जानकारी छैन ।

कमलकी श्रीमती मनिषा कुमारी चौधरी भन्छिन्, ‘उहाँ लडेको भनेर भन्दै हुनुहुन्थ्यो, तर कसरी लड्नुभयो भन्ने थाहा छैन । काम गर्ने क्रममा हो कि, कोठामा लड्नुभएको हो कि, अथवा कसैसँग झगडा भयो कि, हामीलाई केही थाहा छैन ।’

घटना हुनुभन्दा करिब एक महिनाअघि कमलले कम्पनीको काम छोडिसकेका थिए । उनी अर्को कामको खोजीमा छँदा कुनै सेल्टरमा बसिरहेको बेला यो घटना भएको हो ।

‘कम्पनी छोडेको पनि हामीलाई पछि मात्रै थाहा भयो,’ मनिषाले भनिन्, ‘उहाँको अवस्थाबारे सोध्दा हातखुट्टा अलिअलि चलाउनुहुन्छ, आँखा झिमझिम गर्नुहुन्छ भन्नेबाहेक अरू जानकारी हामीसम्म आइपुग्दैन ।’

अस्पतालले उपचार खर्चबापत १६ लाख रुपैयाँभन्दा बढीको बिल पठाइसकेको छ र रकम तिर्न निरन्तर ताकेता गरिरहेको छ । तर, आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले चौधरी परिवारसँग त्यो रकम तिर्ने उपाय छैन ।

‘हामीसँग पैसा छैन, कहाँबाट ल्याएर तिर्ने त्यति पैसा ?’, मनिषा भन्छिन्, ‘घरमा जग्गाजमिन केही छैन, एउटा घर मात्रै हो । उता अस्पतालले बिल पठाईपठाई टर्चर दिएको छ ।’

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर मैया कँडेलले उपचार जारी रहेको बताइन् ।

अहिलेसम्म अचेत अवस्थामै रहेको र घर परिवार तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटाउने काम भइरहेको बताइन् । कमलले कम्पनी छोडेर सेल्टरमा बसिरहेको बेला अत्यधिक रक्सी सेवनका कारण ढलेको हुनसक्ने प्रारम्भिक जानकारी आएको थियो । उनलाई प्रहरी र एम्बुलेन्सले अस्पताल पुर्‍याएका थिए । ‘उनको टाउकोमा रगत जमेको थियो । हामीले जानकारी पाउनेबित्तिकै परिवार र आफन्तको खोजी गर्‍यौं,’ कँडेलले भनिन्, ‘तत्काल उनको उपचार आवश्यक थियो ।’

कम्पनीमा नभएका कारण स्वास्थ्य बीमा नभएकाले उपचार खर्च महँगो भएको हो । तर, पछि दूतावास र कोरियामा रहेका आफन्तको पहलमा कमलको स्वास्थ्य बीमा गरिएको छ । अब उनको उपचार खर्चको ७० प्रतिशत बीमाले व्यहोर्नेछ भने बाँकी ३० प्रतिशत परिवारले तिर्नुपर्नेछ । तर, कोरियाको महँगो उपचारअनुसार ३० प्रतिशत रकम पनि दैनिक लाखौं हुने उनको भनाइ छ ।

उनको टाउकोको ‘मेजर अप्रेसन’ गर्नुपर्ने छ, तर त्यसका लागि पनि ठूलो रकम आवश्यक छ । स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई तत्काल नेपाल ल्याउन पनि सम्भव छैन । ‘नेपाल पठाउन बिरामी ‘फिट टु फ्लाई’ हुनुपर्छ, तर उहाँको अवस्था त्यस्तो छैन,’ कँडेलले भनिन् ।

‘कमल चौधरी बचाउ अभियान’ सुरु, सहयोग जुटाउन परिवार अपील

कमलको जीवन रक्षाका लागि कोरियामा रहेका नेपालीहरूले ‘कमल चौधरी बचाउ अभियान’ सुरु गरेका छन् । थारू कल्याणकारिणी सभा र उदयपुर सेवा समाज, दक्षिण कोरियाले संयुक्त रूपमा आर्थिक सङ्कलन अभियान चलाएका छन् ।

अभियानले एक सूचना जारी गर्दै भनेको छ, ‘कृषि भिसामा दक्षिण कोरियामा कार्यरत कमल चौधरीको पक्षघात भई सिकिस्त अवस्थामा उपचाररत रहेको र पारिवारिक अवस्था पनि नाजुक रहेकाले उपचार खर्चमा कठिनाइ आइपरेको छ । उहाँको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौं ।’

एक युवाको जीवन र एउटा परिवारको भविष्य अहिले सहयोगको पर्खाइमा छ । सपनाको देशमा जिन्दगीसँग लडिरहेका कमललाई बचाउन सबैको सानो सहयोगले ठूलो अर्थ राख्नेछ ।

यस्तै कमलको परिवारले पनि उपचारमा सहयोग जुटाउन अपील गरेको छ। कमलको श्रीमती मनिषाको एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर ००६६८५८८६९२३०१ सहयोग गर्न अपील गरिएको छ ।

अष्टिम्की चित्रकला र थारू आदिवासी ज्ञान

शत्रुघन चौधरी
परिचय
नेपालको पुर्व झापा देखि पश्चिम कन्चनपुरसम्मको तराई तथा भित्री मधेश गरी २४ जिल्लामा सघन बसोवास रहेको थारुहरुको कुल जनसंख्या १८०७१२४ अर्थात ६.२ प्रतिशत रहेको छ (जनगणना २०७८) । यो नेपालको कुल जनसंख्यामध्ये चौथो ठुलो जनसंख्या रहेको समुदायमा पर्दछ । थारुहरु नेपालको तराईको समतल भुभागमा हजारौँ वर्षदेखि विषालु सर्प, हिंस्रक जीवजन्तु तथा प्रकृतिका अनेक विषम परिस्थिति सामना गर्दै औलो मलेरिया जस्ता घातक रोगसंग लडदै भिड्र्दै आफ्नौ अस्तित्वलाई जोगाउदै आजसम्म सोही भुगोलमा बसोबास गर्दै आईरहेका छन् । उनीहरुको भाषा, संस्कृति, कला, परम्परा, रहनसहन, मुल्य मान्यता पृथक छ । हजारौँ वर्ष देखि ती संस्कृती, सस्कार परम्पराहरु एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदै आएको छ र आजपर्यन्त अभ्यासमा रहेको कुरामा कसैको दुईमत छैन ।

थारुहरुहरु भाषा, संस्कृति, परम्पराले समृद्ध रहेको मानिन्छ । थारुहरुको जन्म, विवाह, मृत्यु संस्कार होस या विभिन्न चाड पर्व उत्सव मनाउने तौर तरिका होस सबै पृथक रहेको छ । थारुहरु गीत संगीत तथा नाचमा पनि अत्यन्त वैभवशाली मानिन्छ । हरेक महिना, हरेह चाडपर्व, अवसरहरुमा फरक फरक गीतहरु गाइन्छ । गीतका साथ साथै संगीत मादलको ताल नाचको प्रकारहरु पनि फरक फरक छन । थारुहरुले मनाउने प्रमुख चाड पर्वहरुमा माघी पर्व, डशिया, डेवारी, ढुरहेरी, समा चखेवा, जितिया, गुरही, अष्टीम्की, अटवारी, रैव, जुर शितल, हरडहवा, चौठी चान, छठ, आदि पर्दछन । थारुहरुले अवलम्बन गर्दै आएका यी विभिन्न परम्परा, सस्कृती, चाडपर्व मध्ये अष्टीम्की पनि एक महत्वपुर्ण सास्कृतिक पर्व हो । अष्टिम्की पर्व विशेष गरेर पश्चिम थारुहरुले धुमधामका साथ मनाउने गर्दछन । यस कार्यपत्रमा अष्टिम्की पर्व, यसमा बनाइने चित्र, अष्टीम्की गीत र आदिवासी थारु ज्ञानको बारेमा चर्चा गरिन्छ ।

अष्टिम्की के हो ?
अष्टिम्की थारुहरुको एक मौलिक पर्व हो । विशेष गरेर थारु महिलाहरु श्रावणरभाद्र महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको दिन ब्रत बसेर परम्परागत शैलीमा मनाउने गर्दछन । अष्टिम्की शब्द अष्टमी अपभ्रंश भएर बनेको शब्द हो । नेपाली पात्रोअनुसार अष्टमी शब्दले आठौं तिथि अर्थात् आठौं दिन बुझाउँछ । ‘अष्टिम्की’ शब्दको उत्पत्ति ‘अष्टमी’+‘टीको लगाउनु’ बाट भएको हो । जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हाँ जन्मेकाले उनलाई टिको लगाउनु हुन्छ (थारू, २०६३ ः २५०) । थारू महिला र केटीहरूले उल्लासपूर्वक मनाउने पर्व अष्टिम्की हो । यो पर्व कृष्णाष्टमीको दिन मनाइने भएकाले अष्टिम्की भन्ने गरिन्छ (शिवकोटी, २०७४ ः १७५) । चित्र बनाईसकेपछि सुर्यास्त पछि घरका ब्रतालु महिला सदस्यहरु डेहुरारबाट थाल या टपरीराखेको बलेको दियो, चामल, दुईवटा काँक्रा लिई लामवद्ध भई बहरीमा निस्कन्छन र घर बाहिरका अन्य गाउँका सदस्यहरु पनि आफ्नो घरबाट लामवद्ध भई अष्टिम्की चित्र भएको घरमा आई अष्टिम्की चित्रमा टिका लगाई पुजा गर्ने प्रचलन रहेको छ । पुजा पश्चात ब्रतालुहरु फलाहार गर्ने गर्दछन । अष्टिम्कीको दिन शुद्ध खाना खाने गरिन्छ भने अर्को दिन खरिया, फुलौरी, माछा, मासु आदिको मिठा मिठा परिकार बनाई खाने प्रचलन छ । यसै दिन चेलीबेटीलाई खानेकुरा लिई अग्रासन दिन जाने चलन छ ।

अष्टिम्की चित्र र प्राकृती
अष्टिम्की चित्र थारुहरुको विभिन्न प्रदर्शनकारी सौन्दर्य कला मध्ये एक हो । अष्टिम्की कलामा प्रकृतिक सौन्दर्य र जीवनसंग गहिरो सम्बन्ध रहेको पाइन्छ । अष्टिम्कीमा हरेक वर्ष घरको भित्तामा नयाँ चित्र बनाउने प्रचलन परापुर्वकालदेखि चलि आएकोछ । थारु समुदायमा अष्टिम्की चित्रलाई अष्टिम्की पर्वको तयारीको रुपमा लिइन्छ । अष्टिम्कीको दिन विहान देखि नुहाइ धुवाई गरी निराहार ब्रत बसी महिला पुरुषहरु घरको बहरी (पिढी) को उत्तरपट्टिको भित्तामा र भित्तनभएको घरमा डेहरीमा हस्तचित्र बनाउने चलन छ, जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्रहरू बनाइएका हुन्छन् । चित्र बनाउनुभन्दा पहिले ’ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता अघिल्लै दिन पोतेर उज्यालो बनाइएको हुन्छ ।

अष्टिम्की कलामा पहिले पहिलेका थारू चित्रकारहरूले प्राकृतिक रङको प्रयोग गर्दथे । सिमीको पातबाट हरियो रङ्ग, खयर काठबाट कत्थक रङ्ग, पवै सागको फलबाट रातो रङ्ग, सुकेको लौका आगोमा डढाएर निस्केको कालो रङ्ग तयार पार्दथे । तर आजकाल केमिकल रङ्गको प्रयोग हुन थालेको छ । हरेक रङ्गको विशेष अर्थ र महत्व हुन्छ । यद्यपि सैद्धान्तिक रूपमा थारू चित्रकारहरूलाई कुन रङ्गको प्रयोग कहाँ किन गरे ? सबैलाई थाहा छैन । पुर्खाहरूले यही रङ्गको प्रयोग गर्दै आएकाले उनीहरूले पनि निरन्तरता दिइरहेको कुरा मात्रै उनीहरूलाई थाहा छ (थारू, २०७०/६१) । थारु समुदायमा अक्सर गरेर कालो, हरियो, रातो र सेतो रंगको प्रयोग गर्ने गरिन्छ । यो रंगको कपडाहरुको प्रयोग अक्सर गरेर फुन्ना, लेहेँगा, टोपी आदिमा प्रयोग गरिएको पाईन्छ । अष्टिम्कीकमा पनि अक्सर यही चार वटा रंगको प्रयोग गरेको पाइन्छ । यद्यपी चित्रलाई आकर्षक बनाउन अन्य रंगहरु मिश्रण गरी प्रयोग गरेको पनि पाईन्छ ।

अष्टिम्की चित्र बनाउनु भन्दा पहिले एउटा घेरा बनाउनु पर्छ । त्यो सिंगो घेरा मानवाकृतिको रूपमा हुन्छ । जसलाई गुर्बाबाको प्रतीकको रूपमा लिइन्छ । घेराभित्र पनि तीनवटा कोठा हुन्छन् । त्यसको माथि अर्को सानो कोठा हुन्छ अथवा टाउको हुन्छ । जसमा गुर्बाबाको प्रतीक बनाइएको हुन्छ । अष्टिम्की चित्रमा सबैभन्दा माथि गुर्बाबाको चित्र उल्टो पारेर बनाइन्छ । यसको अर्थ मानिसका चित्रहरू गुर्बाबातिर फर्किएको र गुर्बाबाको आकृति अरू मानवाकृतितिर फर्किएको संकेत बुझाउछ । थारू लोककाव्यहरूमा गुर्बाबालाई सृष्टिकर्ताको रूपमा व्याख्या गरिएको छ । यसकारण अष्टिम्की चित्रमा उनको अग्रस्थान रहेको छ ।

तीनवटा कोठामध्ये सबैभन्दा माथिल्लो कोठामा बिजोर संख्यामा पुरुषाकृति बनाइएको पाइन्छ । यसमा तीनदेखि सात वटासम्मको चित्र बनाएको पाइन्छ । माथिल्लो कोठा पुरुषहरूको चित्रमा मादल भिरेको, बाँसुरी बजाइरहेको, बन्दूक बोकेको तथा छाता ओढेको लगायत अवस्थाको चित्र बनाएको पाइन्छ । यस चित्रले पुरुषहरूको विभिन्न क्रियाकलाप र अवस्थाको बारेमा सम्बोधन गर्छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको चित्र पनि बनाइन्छ । थारू प्रकृति पुजक हुन भन्ने कुरा बायाँपट्टी चन्द्रमा र दायाँपट्टी सूर्यको चित्रले प्रमाणित गर्छ ।

त्यसै गरी त्यसको ठीक तल्लो कोठा अथवा बीचको कोठामा माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिलाकृति बनाइन्छ । उनीहरूको दुबै छेउमा जोक्करहरूको चित्र पनि बनाइएको हुन्छ । नाचमा जोक्करको पनि ठूलो भूमिका हुने भएकाले ती चित्र बनाइएको हुनु पर्छ । यसरी माथिल्लोमा पुरुष र तल्लोमा महिलाको चित्रले सृष्टिको प्रतिकात्मक चित्रको रूपमा लिइन्छ । अर्थात सन्तान उत्पादनमा महिला र पुरुष ठूलो भूमिका छ भन्ने कुरा बुझाउँछ । यसलाई महिला पुरुषको समानताको प्रतिकको रुपमा पनि लिन सकिन्छ ।

अशोक थारूका अनुसार माथिल्लो खण्डमा पाँच पाण्डवको आकृति बनाइएको हुन्छ । मुनिको दोख्रो खण्डमा द्रोपदीको आकृति हुन्छ । कसैकसैले द्रोपदी (डुर्पटि) लाई डोलीमा राखेर लैजान लागेको चित्र बनाउँछन् (थारू, २०६५/ १८७) । केहीको भनाइअनुसार माथिल्लो बिजोर संख्याको पुरुषाकृति कृष्णको विभिन्न स्वरूप हो भनिन्छ भने महिलाकृति नर्तकीहरूको अथवा सोह्र सय गोपिनीहरूको चित्र बनाइएको तर्क पनि छ ।

सबभन्दा तल्लो खण्डको चित्रमा भने एकरूपता पाइन्छ । यो कोठा माथिल्लो दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा विभिन्न प्रकृतिसँग सम्बन्धित आकृतिहरू पशुपंक्षी, जीवजन्तुको चित्र बनाइएका हुन्छन् । केही चित्रहरु र त्यसको भाव निम्नानसार रहेको छ:

बरमुरुवा (रोइना) : तल्लो कोठाको पश्चिमपट्टि रोइनाको चित्र बनाइएको हुन्छ । जसलाई बरमुरुवा भनिन्छ । रोइनाको चित्र बनाइए पनि उनलाई पूजा गर्ने (सिन्दुर लगाइदिने) चलन भने छैन ।
डोली : थारु समुदायमा दुलहीलाई परम्परागत डोली राखेर श्रीमानको घर पठाउने प्रचलन छ । थारु परम्परागत विवाहको प्रतिकको रुपमा लिन सकिन्छ । यसै गरी अष्टिम्की गीतमा जासु गर्भावती भएको बेला सुडेनीलाई डोली लिएर लिन गएको प्रसंग पनि पाउन सकिन्छ ।
कजरिक बनवा : घना जंगललाई कजरिक बन्वा भन्ने बुझाउँछ । मानवलाई दैनिक जीवनयापनका लागि काठ, दाउरा, पात लगायत अन्य वस्तु आवश्यक पर्दछ जुन वनजंगलबाट आपुर्ति हुन्छ । मानवजीवन र वन जंगलको र अन्य जीव जनावरको अन्योन्याश्रित सम्बन्ध छ भन्ने बुझाउछ ।
मयूर : नौरङ्गी सुन्दर चरा हो । मयुरको नाच अनि आवाजले सबैलाई मोहित बनाउछ । सखिया नाचमा धेरैजसो मयुर नाचको ताल मेल खान्छ ।
लाउ (डुङ्गा) : डुंगालाई यातायातको साधनको रुपमा लिइन्छ । पुलपुलेसा नहुदा थारु समुदायमा पनि दैनियक जीवन यापनमा डुँगाको प्रयोग गर्ने गर्दथे ।
रैनी मछरिया : जलथलमा बस्ने एक प्रकारको माछा । सृष्टिको क्रममा यसको ठुलो भुमिका रहेको मान्यता छ । गीतमा पनि यो प्रसंग उल्लेख छ ।
हलो जोत्दै गरेको मान्छे : अष्टिम्की काव्यमा सृष्टिको सिर्जनापछि ईसरु जंगलमा गई हलोको लागि चाहिने सबै काठ, सरसमान पनि तयार पारेर ल्याउँछन् । हलो तयार भएपछि बसाहा बरढा र सिरकी सेडुरीया (बाघ) लिएर ईसरु खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको बिम्बको रूपमा हलो जोत्दै गरेको मान्छेले अष्टिम्की चित्रमा स्थान पाएको छ ।
सख्ली कुकनीया : सुरक्षाको लागि कुकुरको भूमिका अहं हुन्छ । कुकुर एक वफादार पहरेदार जनावरहो ।
मुर्गा (भाले) : समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अष्टिम्की काव्यमा मुर्गाको सन्दर्भ समय सूचकको रूपमा आएको छ । भुरे ट भईल भिनसरिया मुरुगा एक बोलल, उठो पुटा बार कान्हा बछरु न छोर । अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् ।
कारी लगिन्या (काली नाग ) : अष्टिम्की चित्रमा कारी लगिन्या (काली नाग) ले पनि स्थान पाएको हुन्छ । अष्टिम्की काव्यमा काली नागको फुपकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधी गरी ठीक पारेको छ । अन्तमा बारी फुलवारबाट काली नागलाई नाठेर फुल बोकाइ कान्हाले घर ल्याएका छन् । भारीको फुल झारेर पुनः बारी फुलवार फर्काइ दिएका छन् । यसबाहेक हात्ती, घोडा, उँट, चराचुरुङ्गी लगायतका जनावर तथा पशुपंक्षीहरू अष्टिम्की चित्रमा स्थान पाएका हुन्छन् ।
छुटकी अष्टिम्की चित्र : बर्का अष्टिम्की चित्रको छेउमै घेरा बाहिर छुट्टै सानो घेरामा छुट्की अष्टिम्की चित्र बनाइएको हुन्छ । यसमा खासगरेर स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । यो छुट्की अष्टिम्की चित्र बनाउने अभ्यासलाई कला, सस्कृतिको पुस्ता हस्तान्तरणको एक उत्तम माध्यम मान्न सकिन्छ ।

किम्बदन्ती
अष्टिम्कीमा सातवटा पुरुष, सातवटा महिला, जीव जनावर लगायत प्राकृतीको चित्र किन र कहिलेदेखि बनाउन थालिएको हो भन्ने बारे एउटा किम्बदन्ति अतिनै लोकप्रिय छ । यस किंवदन्तिले चित्र बनाउनुको कारण उजागर गर्दछ । यो किम्बदन्ती परापुर्वकाल देखि भनिदै सुनिदै आएकोछ । जस अनुसार एउटा परिवारमा सात भाई छोरा बुहारीहरु थिए । थारु समुदायमा खेतीपातीको काम सकिएपछि साउन भदौमा अर्को वर्षकालागि लागि खेतीपातीकालागि हलो जुवा आदि बनाउन आवश्यक पर्ने काठ काटन जंगल जाने प्रचलन छ । यसै गरी एकदिन सातभाई काठ काटन बन्दोबस्तीसहित बस्तीबाट निकै टाढाको जंगलमा प्रस्थान गरेछन । जंगल पुगिसकेपछि त्यहा विभिन्न किसिमका जंगली जनावरहरु बाघ, भालु, हात्ती, गैँडा, चितुवा, मयुर जस्ता पशुपक्षी देखेछन । पहिलो दिन यत्तिकै वित्यो । दोस्रो दिन खरायो कुदेको, मयुर नाचेको देखे । उनीहरु त्यही मन्त्रमुग्ध भए । तेस्रो दिन एक हुल चित्तल देखे । उनीहरु चित्तलको सिकार गरेर भातभान्सा गरे त्यो दिन पनि त्यतिकै वित्यो । चौथो दिन बाँदरलाई मज्जाले पिंग खेलेको देखे ।

उनीहरु पनि रमाइलो मानिमानि बाँदरजस्तै मच्चिन थाले । पाँचौ दिन पुन जंगल घुम्दा बनकुखुरा देखेछन । ओहो आज कुखुराको सिकार गर्न परयो भनेर लखटनठाले । अन्तमा बनकुखुरा मार्दामार्दै त्यो दिन वित्यो । यस्तै गर्दा गर्दै दिन वित्न थालेछ । उनीहरुको काम फिटिक्कै भएन । छैटौ दिनमा सात भाई सल्लाह गरे आज कतै अल्मलिने हैन जसरी पनि काठ काटन पर्छ है भन्दै डेराबाट निस्के । घुम्दै जाँदा अलि पर अजंगको हात्तीहरुको हुल लमक लमक गर्दै हिड्दै गरेको देखेछन । कहिलै नदेखेको अंजंगको जानवर देखेपछि अचम्म मान्दै हेर्न थाले । त्यो दिन पनि हात्तीहरुको क्रियाकलाप हेर्दै दिन वितेछ । उनीहरुले घरबाट ल्याएको सामल सक्किसकेको थियो । जंगलमा भेटिएका कण्डमुल, सागपात खाएर दिन काट्थे । सातौं दिनका दिन उनीहरु पुन डेराबाट जंगल भित्र छिरे । यो दिन सात भाई मिलेर आवश्यकतानुसार हलो, जुवा, हरिस, सयल, पैनाकालागि काठ काटे । घर फर्किसकेपछि आराम गर्न बसिरहेका थिए एउटा अनौठो आवाज कोइ रोइरहेको सुने । उनीहरुलाई लाग्यो कोही अप्ठ्यारोमा परेको होला । बोलाए तर कसैलाई पनि देखेनन । आवाज मात्र सुने । तिमी को हौ भनेर शोद्धा म आत्म हुँ भन्ने जवाफ दियो । अदृष्य मानवले आफ्नो कहानी बताउन थाल्यो । धेरै वर्ष पहिले हामी १२ भाई यसै गरी जंगलमा आएका थियौ । तर बाटो विरायौँ । भोकप्यासले ११ भाई मरे । तर म खुब रोए । अचानक वनदेवी (बनसप्ती) माता प्रकट हुनुभो । मैले सबै वृतान्त सुनाएँ । बनदेवीले मलाई ११ भाईसंग भौतिक रुपमा भेटन नसकेपनि कुरा गर्न सक्ने बनाइदिइन । उद्यपी म उनीहरुको यादमा छटपटाइरहेँ र मेरो मृत्यु भयो र म आजसम्म रुदै जंगलमा भौतारिरहेको छु । ११ भाई कहाँ छन भनी सोद्धा उसले आफ्नै टाउकोमा टाउको जोडदै चिनायो र बार टाउको भएको मान्छे बन्यो । केही बेरमा उ अलप भयो । आठौं दिन सबै पोका पुन्टरा काठ बोकी घरतिर लागे ।

यता सात भाईका श्रीमतीहरु आफ्ना श्रीमान घर नआएर चिन्तित थिए । उनीहरु दिन गन्नकालागि हरेक दिन भित्तामा धर्को तान्थे । सातौँ दिनसम्म पनि नआउदा अझ चिन्तामा डुबे । आठौँ दिन घरमा चुलो बलेन, बच्चाहरु बासी भात र बारीको काक्रा टिपेर खाए । बेलुकी टुप्लुक्क सात भाई काठको भारी लिई घर आइ पुगे । सबै हर्षले विभोर भए । खाना पकाउन भुले । सात भाई जंगल बस्दाको सबै वृतान्त सुनाउन थाले । घरकी बुढी हजुरआमा कान नसुन्ने रहेछीन । उनलाई बुझाउन अरुभाईहरु भित्तामा चित्र बनाउथे । एव रितले मानावकृति बनाए, त्यसपछि सात भाईको चित्र त्यको मुनी सात बुहारीको चित्र बनाए र त्यस भन्दा मुनी १२ टाउके मान्छे बनाए, जंगल, हात्ती, बाँदर, बाघ, पुरैनको पात, मयुर, गोही, हलो जोतेको मान्छेको चित्र, डुगा, माछा आदिको चित्र बनाए । जसले हजुर आमालाई बुझन सहज भयो । रात छिप्पियो त्यो रात फलफुल, काँका्र खाएर रात बिताए । विहान भयो सातै बुहारीहरु ती खाएका फलफुलका बोक्रा, काँक्राको चोटी लिएर नजिकैको नदिमा सेलाउन गए । नुहाइृ धुवाई गरी सकेपछि घर आई मिठा मिठा परिकार बनाई भोजन गरे । यसरी नै परापुर्वकाल देखि हरेक वर्ष अष्टिम्की चित्र बनाउने र पुजा गर्ने प्रचलन चलिआएको छ । (छविलाल कोपिला २०७९)

अष्टीम्की गीत र आदिवासी ज्ञान
अष्टिम्कीको दिन बेलुकी पुजापाठ गरेर फलाहार गरिसकेपछि सबै ब्रतालु महिला, पुरुष अष्टिम्की घरमा जम्मा भई अष्टिम्की गीत गाउने प्रचलन छ । अष्टिम्कीमा गाइने गीत कथ्यमा आधारित लोक भाकाको गीत अर्थात लोककाव्य हो । लोककाव्य गाथाको मुलभुत विशेषता मौखिक परम्परा नै हो । डुना, टपरी बनाउदै विशिष्ट भाकामा यो गीत गाईन्छ । ठाँउ अनुसार कहिँ महिलाले मात्र गाउछन त कहिँ पुरुषहरु गाउँछन । ब्रतालुसंगे अन्य महिला पुरुषहरु गीतमा सामिल हुन्छन । रातभरी गाईने यो अष्टिम्की गीतमा जल, थल, धरततीको श्रृष्टिको गाथा गाईएकोछ । यस गीतमा अथाह रुपमा आदिवासी थारु ज्ञान पाइन्छ ।

तीपातीकोलागि कहिले शुरुवात गर्ने कसरी गर्ने तौरतरिका बताइएकोछ । हलो, जुवा, कोदाली, बन्चरी आदि सामग्री कसरी कहाँ बनाउने जस्ता साना साना तर महत्वपूर्ण ज्ञान समेटिएकोछ । यस गीतमा थारुहरुको जीवन पद्धती, दैनिकी, परम्परा, सस्कृति, रहनसहन, मुल्यमान्यता समेटिएको छ । थारुहरुकोे खानपान, भेषभुषा, कृषि उत्पादनको तौरतरिका, अतिथि सत्कार, जन्म संस्कारको बारेमा वर्णन गरिएको पाउन सकिन्छ । अष्टिम्की गीतमा मुख्य दुई पात्रहरु इशरु श्रीमान र जासु श्रीमती रहेका छन् । यी पात्रहरुमार्फत थारु जीवनशैली गाइएकोछ । जहाँ जासु हरेक कुरामा अत्यन्त सुझबुझ रहेकी हरेक कुरामा अब्बल नारी हुन । उनले हरवखत आफ्ना श्रीमान इशरुलाई घरव्यवहारको काम लगायत हरेक क्रियाकलापमा विभिन्न किसिमका अर्ति उपदेश दिन्छिन् । यस गीतमा जासुको भूमीका हेर्दा पराप्र्वकालमा थारु समुदाय परापुर्वकालमा महिला प्रधान समाज रहेको बुझन् सकिन्छ ।

यस गीतमा पन्ध्र वटा पैढार र २६०० भन्दा बढी श्लोक रहेका छन् । जसमा पहिलोमा सृष्टि, दोस्रो ईशरु हरजुवा ओहार, तेस्रोमा ईशरु खेतीपाती, चौथोमा जासुक लरका मागन, पाँचौमा अंशही जासु, छैठौमा महरा सोहिनिया बलाइ जैना, सातौमा महरा ओ सोह्रिनिया भलाकुशारी, आठौमा कान्हा जलम नावौंमा कान्हा नाउँ जुरैना, दशौंमा कान्हा गुलीडन्डा खेल्ना, एघारौंमा कान्हा राधा मैयापिरिम, बारहवा मा राधा गाउँम दही बेच गैल, तेह्रवा मा कान्हा बारी फुलुवार, चौधौमा कान्हा लदिया लहान र पन्ध्रौ पैढारमा कान्हा कन्सा मारल रहेको छ ।

उपसंहार
थारु समुदाय भाषा, संस्कृति, लोक साहित्यमा अत्यन्त सम्बृद्ध मानिन्छ । उनीहरुको जीवनपद्धती पृठक छ । थारुहरुको वास्तु कला, चित्रकला, साहित्य, लोक भाका, लोक संगीत, रहनसहन आदिमा आफ्नै मौलिकता पाईन्छ । अष्टिम्कीकला पनि एक महत्वपुर्ण प्रदर्शन्कारी शौन्दर्यकला हो । यसमा बनाईने चित्र, गाईने गीतहरुमा थारुहरुको जीवनदर्शन पाउन सकिन्छ । यसमा अथाह थारु आदिवासी ज्ञान पाउन सकिन्छ । यहि ज्ञान परापुर्व कालदेखि थारुहरुको जीवनशैलीमा अभ्यास गरिदै आइएको छ । पछिल्लो समयमा आधुनीक्ीकरण तथा सुचना प्रविधि फड्को मार्दै गर्दा सास्कृतिक महत्व बोकेको अष्टिम्की कला जस्तो परम्परा ओझेलमा पर्दै गएको भान हुन्छ । आजभोली अष्टिम्की हस्तचित्र नबनाएर पोस्टर टाँसेर पूजा गर्ने चलन अधिक मात्रामा प्रचलनमा रहेको पाइन्छ । यसले चित्रकला सस्कृती पनि विस्तारै लोप हुदै गइरहेको छ । यसमा युवापुस्ताको चासो घट्दै गएकोछ ।

यसका लागि सबै तहतम्काबाट सचेतना जगाउन जरुरी छ । यस प्रकारका कार्यशाला हरेक प्रदेश, गाउँपालिकाहरुमा आयोजना गर्न नितान्त आवश्यक छ । तत् तत् निकायहरुले दायित्वबोध गरी पहलकदमी लिन जरुरी देखिन्छ । यसै गरी गाउँमा हस्तचित्रलाई जोड दिन आवश्यक छ । साथै परम्परागत अष्टिम्कीमा बालबालिकालाई सानो अष्टिम्की चित्र बनाउन सहभागी गराई प्रोत्साहित गर्न जरुरी छ । यसैगरी स्थानीय पाठ्यक्रममा पनि यस किसिमका मौलिक पर्व एवं चित्रकला समावेश गरी पठनपाठन गर्न गराउन आवश्यक देखिन्छ । यसले लोप हुदै गईरहेको सस्कृतीलाई जगेर्ना गर्न तथा पुस्तान्तरण गर्न ठुलो टेवा दिने विश्वास गर्न सकिन्छ ।

सन्दर्भ सामग्री सूची
दहित, डा. गोपाल (२०६२, २०७७), थारु सस्कृतिको परिचय, युनिक नेपाल, बर्दिया ।
चौधरी, शत्रुघन (२०७४), अष्टिम्की गीत, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, ललितपुर ।
चौधरी, डा कृष्णराज (२०७६), थारु सस्कृतिमा कृष्णचरित्र परम्पराको अध्ययन, नेपाल संस्कृति विश्वविद्यालय अनुसन्धान केन्द्रसमक्ष नेपाली विषयमा विद्यावारिधि (पिएच. डी.) उपाधिकालागि प्रस्तुत शोधप्रबन्ध
कोपिला, छविलाल (२०७१), हमार संस्कृति, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
थारू, अशोक (२०६३), थारू लोक साहित्यमा इतिहास, कला र दर्शन, दाङः परिवर्तनका सम्वाहकहरूको मञ्च नेपाल ।
थारु, फनि श्याम, (२०६९), थारु लोकसांस्कृतिक र चाडवाड, नेपाल प्रज्ञा प्रतिष्ठान ।
थारु, फनि श्याम, (२०७०), थारु लोक साहित्य ः एक अध्ययन, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, ललितपुर ।
Leuthold, Steven 1998, Indegenous Aesthetics, University of Texas Press, Austin
चौधरी, शत्रुघन (२०६५), सिसहनिया गा.वि.स. वडा नं. ४ पिपरी, दांगदेउखुरीका थारुहरुके सामाजिक तथा आर्थिक अवस्थाको अध्ययन, ललितपुर, पाटन संयुक्त क्याम्पसमा प्रस्तुत स्नातकोत्तर तहको अप्रकाशित शोधपत्र
सत्गौँवा थारु समाज संघ (२०७८), थारु सस्कृतिक दर्पण,
चौधरी, एकराज (२०७५), बर्किमार थारु लोक महाकाव्य, प्राचिन सृजनशिल आदिवासी समाज, रेडियो गुर्वावावा एफ, एम, बर्दिया
चौधरी, लक्ष्मण प्रसाद (२०८०), ओझेलमा परेका जीवित सत्य आदिवासी थारु इतिहास (राजा देखि कमैयासम्म इ. पु. ७०० देखि वि.सं. २०७४ सम्म, श्री आदिवासी थारु इतिहास अध्ययन, अनुसन्धान तथा अन्वेषण परियोजना
D. Mignolo, Walter -2010), Indigenous and Popular Thinking in America, Duke University Press All USA
थुम्केली, देवेन्द्र २०७५फागुन १८, थारुसमाजमा अष्टिम्की महत्व, समाचार दैनिक अनलाइन
छविलाल कोपिला २०७९) अष्टिम्की, सृष्टि, प्रकृति र मानव जीवनको महिमा) अनलाईन खबर २०७९ भदौ ३
माली, लक्ष्मी, सर्वहारी डा. कृष्णराज (२०७८) थारु, लोक साहित्य, नेपा प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान, (२०८०), लवाङ्गी, अंक १, पुर्णांक १,
चौधरी मान बहादुर पन्ना (२०७०), सख्या नाचक गीत (पूरा पाठ), युनिक नेपाल, बर्दिया
थारू, अशोक (२०७०), थारू लोककला, जातीय पहिचानको लोककला, काठमाण्डौः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पृ. ४९–८२ ।

चिनियाँ सहयोग नेता र तिनका निर्वाचन क्षेत्र लक्षित हुनु दुर्भाग्य : डा. पाण्डे

प्रसिद्ध शिक्षाविद् तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चल एन. पाण्डेले त्रिभुवन विश्वविद्यालयको सङ्कट व्यवस्थापन अध्ययन केन्द्र (CPDS) मा ‘नेपाललाई चिनियाँ सहयोग र नेपालको विदेश नीतिको नक्साङ्कन’ विषयमा विशेष प्रवचन दिए।

डा. पाण्डेले नेपालमा चिनियाँ सहयोगको ऐतिहासिक पृष्ठभूमि र यसको प्रभावबारे प्रकाश पारेका थिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ट्रली बस सेवा र नागरिक सेवा अस्पतालजस्ता परियोजनाहरू चीनको अनुदानबाट सम्पन्न भएका सकारात्मक उदाहरण भएको उल्लेख गरे। यस्ता सहयोगहरूले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो।

तर, पछिल्लो समय चिनियाँ सहयोगमा आधारित परियोजनाहरू विवादास्पद बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘यी परियोजनाहरू कुनै निश्चित राजनीतिक नेताको अनुरोधमा, विशेष निर्वाचन क्षेत्र लक्षित भएर सुरु गरिन्छन्, जसले समग्र राष्ट्रिय हितभन्दा क्षेत्रीय वा पार्टीगत स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ,’ उनले भने।

डा. पाण्डेले कम्युनिष्ट पार्टी-पार्टी सम्बन्धले परियोजनाको लागत र प्रभावकारिता दुवैमा नकारात्मक असर पारेको दाबी गरे। विपक्षी दलहरूले सत्ता बाहिर रहँदा ती परियोजनाहरूलाई विवादास्पद बनाउने प्रवृत्तिले समेत समस्या बढाएको उनको भनाइ थियो।

उनले १९७० को दशकमा चिनियाँ सहयोगमा बनेको २७ किलोमिटर लामो रिङरोडको उदाहरण दिँदै, त्यति ठूलो परियोजना रेकर्ड समयमा सम्पन्न भएको स्मरण गरे। तर, हालः बल्खुदेखि कोटेश्वरसम्मको मात्र ९ किलोमिटर सडक विस्तारमा भइरहेको ढिलाइ, सुरक्षा चुनौती र जग्गा विवादका कारण परियोजना समस्याग्रस्त बनेको उदाहरण प्रस्तुत गरे।

‘हामीले कुनै पनि प्रमुख पूर्वाधार परियोजना तय गर्दा पार्टीगत वा क्षेत्रीय स्वार्थभन्दा माथि उठेर समग्र राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ,’ डा. पाण्डेले जोड दिए। कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले डा. पाण्डेसँग अन्तरक्रिया गरेका थिए। विभाग प्रमुख डा. पिताम्बर भण्डारीले कार्यक्रमको अध्यक्षता गरेका थिए।

थारू दाजुभाइ नै जब अधिकृत सातौं तहको अन्तिम छनौटमा पुगे

कोशी प्रदेश लोकसेवा आयोगको कृषि सेवाअन्तर्गत सातौं तहको अन्तिम छनौटमा दाजुभाइ नै पुगेको विषयले चर्चा पाइरहेको छ। स्थानीय कृषि सेवा लो.पो. एन्ड डे.डे समूहको अधिकृतस्तरको सातौं तहमा एक जनाका लागि माग गरिएको थियो।

उक्त पदको लिखित परीक्षा पास गरी अन्तर्वार्तामा दाजुभाइ नै पुग्न सफल भएका थिए। आयोगका अनुसार सिहराको लहान नगरपालिका-१५ का नागेन्द्र प्रसाद चौधरी र सीता चौधरीका छोराहरू डा. नीमेश चौधरी र राकेश चौधरी अन्तर्वार्ताका लागि छनौट भएका थिए।

अन्तर्वार्तापछि आयोगले डा. नीमेशलाई उक्त पदमा सिफारिस गर्‍यो भने राकेशलाई वैकल्पिक उम्मेदवारको रूपमा राख्यो। अर्थात् भाइ नीमेशले नाम निकाल्न सफल भए भने दाजु राकेश वैकल्पिकमा सिफारिस भए। नीमेशको नाम निस्किएपछि राकेशले सामाजिक सञ्जालमार्फत् नीमेशलाई बधाइ पनि दिएका छन्।

 

संसदीय दलको नेता नरहने गरी गंगारामलाई अध्यक्ष रञ्जिताले गरिन् कारबाही

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरेकी छन्। पार्टीको हितविपरीत काम गरेको भन्दै अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पदाधिकारी र दलको नेताको भूमिका समेत नरहनेगरी कारबाही गरेकी हुन्।

‘पार्टीको हितविपरीत हुने गरी काम गरेको पुष्टि भएको हुँदा तपाईंलाई यस पार्टीको केन्द्रीय समिति पदाधिकारी सदस्य तथा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा समेत नरहने गरी कारबाही गरेको व्यहोरा जानकारी गराइन्छ,’ गंगरामलाई लेखिएको पत्रमा भनिएको छ।

अध्यक्ष श्रेष्ठले अब उपरान्त संसदीय दलको नेताको पद उल्लेख गरी कुनै किसिमको निर्णय एवं पत्राचार नगर्न चेतावनी पनि दिएकी छन्। अध्यक्ष श्रेष्ठले कारबाही गरेको पत्र संसद सचिवालयलाई पनि जानकारी गराएकी छन्।

अध्यक्ष श्रेष्ठले मुख्यतः तीन आरोप गंगाराममाथि लगाएकी छन्। गत साउत ३ गते संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधानविपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, निर्वाचन आयोगको निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय र पत्राचार गरिएको र दल त्याग गरेको र केन्द्रीय पदाधिकारीसमेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप अध्यक्ष श्रेष्ठले लगाएकी छन्।

 

भारतीय दूतावासले मनायो ७९औं स्वतन्त्रता दिवस

काठमाडौंस्थित भारतीय दूतावासले ७९औं स्वतन्त्रता दिवस मनाएको छ। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरेका थिए। भारतीय राष्ट्रिय गानको धुनसहित झण्डोत्तोलन गरिएको थियो।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो। राष्ट्रपतिले सम्बोधनमा विगत ७८ वर्षमा भारतले विभिन्न क्षेत्रहरूमा गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरेकी थिइन्।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवंगत कर्मचारीका परिवारजनलाई सम्मान गर्दै ६ करोड ४० लाख भारतीय रुपैयाँ बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्ड चेक हस्तान्तरण गरेका थिए।
त्यस्तै दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ वटा विद्यालय तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा गरेको छ। यस कदमले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले देशभक्ति झल्किने गीत र सांस्कृतिक प्रस्तुति दिएका थिए।

रञ्जितालाई अध्यक्ष मान्न सक्दैनौं, अब हामी फरक बाटो हिँड्छौं : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राष्ट्रिय भेलामार्फत फरक यात्रा तय गरिसकेकाले निर्वाचन आयोगको निर्णय मान्नुपर्ने बाध्यता नरहेको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले आफूहरू फरक बाटोमा हिंड्ने तय गरिसकेको खुलासा गरे। ‘निर्वाचन आयोगले आफ्नो निर्णय गर्‍यो। तर, नाउपाका सन्दर्भमा जनताले पनि आफ्नो निर्णय गरिसकेका छन्,’ संरक्षक चौधरीले भने, ‘हामी जनताको निर्णय मान्छौं। हामी राजनीतिक यात्रामा छौं। हामीले फरक बाटो हिँड्ने भनेर उद्घोष पनि गरिसकेका छौं। उहाँको नेतृत्वलाई नस्वीकार्ने भनेर राष्ट्रिय भेलाले नै फरक यात्रा तय गरिसकेकाले अब फर्किन कुरा आउँदैन।’

उनले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबाट पार्टी नचल्ने ठोकुवा पनि गरे। ‘थरूहट, थारूवान आन्दोलनको रूपमा मैले जेलभित्र पार्टी गठन गरे। आफू जेलमा भएकाले रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्ष बनाउनु मेरा लागि बाध्यता थियो,’ रेशमले सेतोपाटीसँग भने, ‘तर उहाँबाट पार्टी चल्दैन, उहाँले पार्टी चलाउन सक्नुहुन्न भन्ने निष्कर्षमा हामी पुग्यौं। यो मेरो निष्कर्ष होइन। यहाँहरूलाई थाहा छ, पार्टीमा मेरो कुनै पनि भूमिका छैन। साथीहरूको सामूहिक निर्णय हो।’

पार्टीका संस्थापक २१ जनामध्ये १३ जनाले हस्ताक्षर गरेर गरेको निर्णय आयोगले नमान्नु दुर्भाग्यपूर्ण रहेको संरक्षक चौधरीले बताए। आयोगले आफ्नो ढंगले निर्णय गरिसकेकाले त्यसलाई धेरै टिकाटिप्पणी गर्ने पक्षमा पनि आफू नरहेको उनको भनाइ छ।

‘निर्वाचन आयोगले आफ्नो निर्णय गर्‍यो। तर नाउपाका सन्दर्भमा जनताले पनि आफ्नो निर्णय गरिसकेका छन्,’ संरक्षक चौधरीले भने, ‘हामी जनताको निर्णय मान्छौं। हामी राजनीतिक यात्रामा छौं। हामीले फरक बाटो हिँड्ने भनेर उद्घोष पनि गरिसकेका छौं। उहाँको नेतृत्वलाई नस्वीकार्ने भनेर राष्ट्रिय भेलाले नै फरक यात्रा तय गरिसकेकाले अब फर्किन कुरा आउँदैन।’

उनले निर्वाचन आयोगको निर्णयविरूद्ध कानुनी बाटो पनि नसमात्ने बताउँदै जनताको निर्णयलाई मानेर जाने बताए। उनले छिट्टै संस्थापक केन्द्रीय सदस्यहरूको बैठक बसेर यसबारे धारणा सार्वजनिक गर्ने पनि बताए। ‘मैले भनिसकेँ, पार्टीमा मेरो केही भूमिका छैन। म जहिले पनि पार्टीलाई कसरी बलियो बनाउने, आन्दोलनलाई कसरी संगठित तुल्याउने, देशको हित कसरी हुन्छ भनेर सोचिरहने मान्छे हुँ,’ उनले भने, ‘जेलबाट निस्किएदेखि एक दिन पनि राम्ररी सुतेको छैन। पार्टी बनाउने मेची–महाकाली दौडिरहेको छु। हाम्रो निर्णयलाई आयोगले मान्यता दिएन भनेर राजनीतिबाट भाग्ने कुरा आउँदैन। त्यसैले पार्टीका नेताहरूसँग बस्छु। उहाँहरूले जे भन्नुहुन्छ, सोहीअनुरूप अगाडि बढ्छु।’

जेलभित्र बाध्यतावश रञ्जितालाई संस्थापक अध्यक्ष र पिता लालवीरलाई राष्ट्रिय भेलाबाट अध्यक्ष बनाउँदा आफूलाई परिवारवादको पृष्ठपोषण गरेको आरोप लागेको बताउँदै यसलाई चिर्ने गरी अगाडि बढ्न खोजेको बताए। उनले संस्थापक सदस्यमध्येबाटै पुनः अध्यक्ष बनाउन खोजेको संकेत पनि गरे।

‘रञ्जितासँग पनि केही मानिसहरू छन्, उहाँले पनि पार्टी चलाउँछु नै भनिरहनुभएको छ, उहाँले चलाउनुहोला’ संरक्षक चौधरीले भने, ‘तर हामी फरक बाटो हिँडिसकेका छौं। फेरि फर्किएर पुरानै गतिहीनतामा पुग्ने भन्ने हुँदैन। तर जे निर्णय हुन्छ, संस्थापक केन्द्रीय सदस्यहरूको सामूहिक निर्णयद्वारा नै हुन्छ।’