थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे अहिलेसम्मकै ठूलो सहयोग

कारी महतो/चितवन।

थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो र मलुई महतोलाई हस्तान्तरण गरिएको छ । Continue reading “थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे अहिलेसम्मकै ठूलो सहयोग”

सीमा विवाद र मधेसी समुदाय

सुरेन्द्र चौधरी।

भारतसँगको सीमा विवादको सबालमा मधेसी नेता र संसदहरुसँग गरिने प्रश्नहरु निन्दनीय छ। मधेसीहरु भनेको बिखण्डनकारी भन्ने नियतले गरिने प्रश्नको जवाफभित्र देशभक्तिको भावनामाथि प्रश्न गर्नेहरुको जति नै भर्त्सना गरेपनि कम हुन्छ। यसले आन्तरिक राष्ट्रियतामा विभाजनमात्रै ल्याउँछ। मधेसीहरुमाथि सुनियोजित तरिकाले आरोप र शंका गरेर यदि दाबी गरेको भूमि फिर्ता हुन्छ भन्ने लाग्छ भने अरु प्रयास नै किन गर्नुपर्‍यो, सबै नेपाली जनतालाई सडकमा मधेसी जनताविरुद्ध भारतसँग जोडेर नारा जुलुस गर्न आह्वान गरे हुँदैन?

सबैले बुझ्नुपर्ने कुरा के हो भने सीमा विवादको सबालमा विवादित भूमिमाथि दाबी गर्दै Status Quo maintain गर्नु भनेको समस्यालाई झन जटिल बनाउनु हो। Status Quo लाई सीमा विवादको सबालमा अन्तिम विकल्पको रूपमा प्रयोग गरिन्छ/गर्ने कुरा हो।

अन्तर्राष्ट्रिय न्यायालयको पक्ष जानुपर्छ भन्ने माग भनेको भावना हो। भावना र यथार्थ फरक कुरा हुन्। भावनामा बगेर भूमि आफ्नो हुने भए विगतमा पनि सडकमा नारा जुलुस भएकै हुन्, खोइ फिर्ता भए त सडकको नाराले दाबी गरिएको भूमि?

सरकारले पनि भनिराखेको छ- अहिले नै अन्तर्राष्ट्रिय अदालत जाने कुरा समाधान होइन। किन त्यस्तो भनिराखेको छ त?
अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice) संयुक्त राष्ट्रसंघको संरचनाभित्रको निकाय हो। यो निकाय सुरक्षा परिषद् र महासभाप्रति उत्तरदायी हुन्छ। तसर्थ संयुक्त राष्ट्रसंघको Charter हरुबाट निर्देशित हुन्छ।
युएनको Charter ३३ ले दुई देशको विवादको सम्बन्धमा स्पष्टरूपले भनेको छ- ‘दुई देशको विवाद समाधान गर्दा क्षेत्रीय शान्ती सुरक्षालाई केन्द्रमा राखेर सबैभन्दा पहिले आपसी वार्ता, मध्यस्थता, मेलमिलाप वा ती देशहरुले चाहने अरु माध्यमहरुबाट समस्या समाधान गर्नुपर्छ। विवादित देशहरुले चाहेको जुनसुकै माध्यमहरुबाट समस्या समाधानको बाटो खोजे पनि अन्तराष्ट्रिय कानुनको मापदण्डअनुसार समाधान हुनुपर्छ। तसर्थ दुइटै देशहरुले आ-आफ्नो दाबीलाई अन्तर्राष्ट्रिय कानुनअनुसारको वैधानिकता प्रदान गर्नसक्ने तर्कहरु जुटाएर पेस गर्न सक्नुपर्छ।’

नेपालको कमजोर र बलियो पक्ष थाहा पाउनलाई भावनामा बहकिएर देख्न सकिँदैन। आफ्नो देशको पोजिसन थाहा पाउनलाई समवृत्तिता-समरूपता (equal analogy)को दृष्‍टिकोणबाट हेर्न सकेमात्रै देख्न सकिन्छ। त्यो भनेको यो विषयमा समाधान खोज्दा नेपाल वा भारत भन्ने देशलाई केही समय बिर्सिएर एउटालाई ‘क’ र अर्कोलाई ‘ख’ भन्ने देश मानेर प्रमाण र तथ्य केलाउनुपर्ने हुन्छ।
एकतर्फी दाबी गर्दा नेपालले फिर्ता चाहेको भूमि पाउने सम्भावना झनै कमजोर हुन्छ भन्ने कुरा अपुर्व खतिवडाको तर्क हो। त्यो गलत तरिका हो भन्ने इंगित गर्नुभएको छ। नक्सा जारी गर्नु गलत भएको र यसले भूमी फिर्ताको दाबी झनै कमजोर हुने तर्क गर्नुभएको छ। मेरो आफ्नो मान्यता र तर्क पनि त्यही नै हो।

त्यो किन भनिएको हो भने नेपालले Status Quo maintain गर्‍यो भने भारतको पनि Status quo को विषय स्वत: हुन जान्छ।
यस्तो विवादमा Status Quo लाई अन्तिम विकल्पको रूपमा हेरिन्छ। नेपालले दाबी गरेको भूमिबारे भारतले Status Quo maintain गर्नु भनेको त्यो भूमिमा कुनै विवाद छैन भनेर भारतले भन्नुसरह हो। भारतले विवाद छैन भन्नु भनेको विवाद समाधानको सम्पूर्ण बाटो बन्द हुनु हो। तसर्थ नेपालले आफ्नो दाबीलाई अगाडि बढाउनको लागि सबैभन्दा पहिलो काम भनेको भारतलाई त्यहाँ विवाद छ, अर्थात् हामी दुई देशबीच विवाद छ भन्नेकुरा स्वीकार गर्न लगाउनु हो। विवाद समाधानको प्रस्थान बिन्दु यहीबाट मात्रै सुरु हुन्छ।

एकतर्फी नक्सा जारी गर्नु भनेको विवाद समाधानको बाटो बन्द गर्नु हो। अर्थात् विवाद समाधानको धेरै वैकल्पिक बाटोहरुमा पूर्ण बिराम लगाएर एकैपटक अन्तिम विकल्प भनिने Status Quo maintain गर्नुलाई कसरी देशको हितमा छ भनेर मान्ने?

सबैलाई थाहा छ कुट्नीतिलाई तीन वटा ट्र्याकमा वर्गीकरण गरेर हेरिन्छ। जसलाई सजिलोको लागि ट्र्याक-१, ट्र्याक-२ र ट्र्याक-३ भनिन्छ। त्यो भनेको, पहिलो भनेको सरकारहरुबीचको दुई पक्षीय सम्बन्ध, दोस्रो भनेको- गैरसरकारी स्तरबाट स्थापित हुने सम्बन्ध र तेस्रो भनेको दुई देशबीचको नागरिक-नागरिकहरुबीचको सम्बन्धमार्फत् स्थापित हुने सम्बन्ध।

नेपाल र भारतबीचको सम्बन्धलाई दुनियाँको अरु कुनै पनि देशको सम्बन्धसँग तुलना गर्न नसक्ने कुरा हामीले हाम्रा देशका नेताहरुलाई भन्दै आएको सुनेका छौं। त्यो भनेको के हो भने नेपाल-भारतबीचको कुट्नीतिक सम्बन्धको कुरा गर्दा माथि उल्लेखित कुनै पनि एउटा ट्र्याक खुल्दा तीनवटै कुट्नीतिक ट्र्याक स्वत: आफैँ खुल्न पुग्छन्। जबकि चीन, अमेरिका, युरोप वा अन्य अरु कुनै पनि देशसँगको सम्बन्धको कुरा गर्दा तीनवटै ट्र्याक स्वत: सक्रिय हुँदैनन्। यस्तो खाले कुट्नीतिक सम्बन्ध स्थापित र बलियो गर्ने कुट्नीतिक ट्र्याक हरुको अवसर संसारमा बिरलै अन्य देशहरुलाई प्राप्त हुन्छ।

मधेसी समुदायको भारतसँग गाँसिएको रोटीबेटीको सम्बन्धलाई कुट्नीतिको ट्र्याक-३ को अवसरको रूपमा सदुपयोग गरेर विवाद समाधान गर्नु बुद्धिमानी हुन्छ कि, भारतीय दलाल भनेर बोल्ने लेख्ने बुद्धिमानी हुन्छ?
यदि सरिता गिरीजी मधेसी समुदायबाट नभएर नेपालीभाषी समुदायबाट भएको भए, उहाँले बोलेको कुरालाई अपुर्व खतिवडाले बोलेको जस्तो सल्लाहको रूपमा लिइन्थ्यो यो देश र समाजले। सरिता गिरी वा कुनै पनि मधेसी नेताहरुले बोलेको कुरालाई समवृत्तिता-समरूपताको दृष्टिकोणले हेर्न नसक्नु मधेसी नेताहरुको गल्ती होइन, त्यो त उहाँहरुको भनाइहरुलाई पहाडी राष्ट्रवादको आँखाले सम्पूर्ण मधेसी समुदाय गैरनेपाली र बिखण्डनकारी हो भन्ने मानसिकता र दृष्टिकोणको गल्ती हो।

अन्त्यमा, आन्तरिक राष्ट्रियता कमजोर भएको बेला न आन्तरिक सम्प्रभुता (internal sovereignty) बलियो हुन्छ, न बाह्य सम्प्रभुता (External sovereignty) सुरक्षित हुन्छ।

टीकापुर घटना : कथनी एउटा,करनी अर्कै

शेर बहादुर चौधरी।

अन्ततः दुधको दुध पानीको पानी छुट्टिएर आयो । टीकापुरमा बेमेल थियो शसस्त्र प्रहरी र जनपद प्रहरीको । तर, दोषी भए थारुहरु । जनपद प्रहरीले चलाएको गोलीको छर्रा लागेका सयौं थारुहरु अहिले पनि भेटिन्छन्  । तर, मिडियाले हल्ला गर्यो सशस्त्र प्रहरीमाथि भाला, बन्चरोले हमला गरी निर्मम तरिकाले हत्या गरियो । वास्तबमा टीकापुर घटनामा कथनी एउटा थियो करनी अर्कै भयो ।

थरुहट थारुवान संघर्ष समितिका केन्द्रीय संयोजक रामजनम चौधरी थिए । तर, थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारुलाई मुद्दा लगाइयो । कैलाली कञ्चनपुर आन्दोलन समितिका संयोजक जनकराज चौधरी थिए । तर, क्षेत्रीय संयोजक रेशम चौधरीमाथि मुद्दा लगाइयो । अहिले कैलाली जिल्ला अदालतले कैलाली क्षेत्र न. १ का सांसद रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएको छ।

टीकापुर घटना भएपछि प्रहरी प्रशासनबाट इन्काउन्टर हुने डरले रेशम चौधरी भूमिगत भए । तर, यसको राजनीतिक फाइदा थरुहट थारुवान आन्दोलन समितिका संयोजक, सदस्यले लिए । लक्ष्मण थारु जेलमा थुनिदा रामजनम चौधरी, जनकराज चौधरी मन्त्री पदबाट पुरस्कृत भए । थरुहट आन्दोलनका संरक्षक विजय गच्छदार उपप्रधानमन्त्री भए ।

टीकापुर आन्दोलनको क्रममा झडप भइरहँदा जनपद प्रहरीसँगै सशस्त्र प्रहरीको पनि ठूलै डफडा थियो । झडपले नृशंस रुप लिइरहँदा जनपदले सशस्त्र प्रहरीसँग सहयोग मागेकै हो  । तर, माथिको आदेश छैन भन्दै सशस्त्र प्रहरी बल पन्छियो । आन्दोलनको भिडमा मारौं, मार्नैपर्छ भन्ने मात्रै थिएनन् । यस्तो कार्य गर्नु हुँदैन भन्ने आन्दोलनकर्मी पनि थिए । तर, घटनामा वैद्य पक्षका पूर्व लडाकुहरुको घुसपैठले अर्कै रुप लिन पुग्यो।

टीकापुर घटनाको जिम्मा लिने त्यसबेला वैद्य पक्षका महासचिव राम बहादुर थापा बादल थियो । उनी अहिले नेकपा सरकारको गृहमन्त्री छन् । टीकापुर घटनाको जिम्मा लिएको विप्लव समूह अहिले भूमिगत छ । २०७२ भदौ ९ गते घटनाको जिम्मा लिँदै विज्ञप्ती निकाल्ने अहिलेका गृहमन्त्री राम बहादुर थापाले रेशम चौधरीलाई वीर अस्पतालमा अनसरत अवस्थामा गई जुस खुवाए । तीन दिनमा सपथ खुवाउने बाचासहित वीरबाट बाहिरिएका थापाले त्यसको १० महिनापछि मात्रै चौधरीलाई सपथ खुवाउने साइत जुराएका थिए ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको त छैन । तर, आयोगकै सदस्यहरुमार्फत बेलाबखत सञ्चार माध्यममा रेशम चौधरी निर्दोष भएको प्रष्टीकरण भइसकेको छ । सरकार चौधरीप्रति सकारात्मक छैन भन्ने त केही दिन पहिले उनी विरामी हुँदा अस्पतालमा उनलाई बाँधिएको सोह्र किलो सांग्लोले प्रमाणित भइसकेको छ ।

अस्पतालमा हात्ति बाँध्ने सांग्लोले आफ्ना सांसद रेशम चौधरीलाई बाँधेपछि थारुलगायत सम्पूर्ण आदिवासी र बुद्धिजीवीले पनि सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखे । सरकारले ल्याएको गुठी प्रकणमा राजधानीका नेवार समुदाय सडकमा आएपछि अब त्यो अवस्था थारुहरुमा पनि आउने त होइन ? भन्ने सरकारमा पनि पर्न गएको छ ।

यही सम्बन्धमा छलफलका लागि आन्दोलनको घोषणासहित भदौ ७ गते टीकापुरमा देशभरिका थारुहरुसहित आदिवासी जनजातिहरु भेला हुँदैछन् । टीकापुरको भेलामा ‘हाम्रो आवाज सुन सरकार, रेशम चौधरीलाई रिहा गर’ भन्ने त नारा नै रहेको छ । टीकापुरमा करिब पैँतिस हजार भोट पाएका रेशमका मतदातासहित पचासौं हजारको भेलाले आन्दोलनको घोषणा गर्ने पक्का पक्की छ ।

सामाजिक सञ्जाल असन्तुष्टि पोख्ने थलो त हो तर न्यायालय भने होइन । कसैको कोही नभए न्यायालय हुन्छ भन्ने प्रमाणित तथ्य हो । तर, हामी कहाँ राजनीतिक चलखेलले न्यायालय प्रभावित हुन्छ भन्ने पटक पटकको घटनाले पुष्टि हुन्छ । भर्खरै जेलबाट छुटेका सिके राउत प्रकरण यसको ताजा उदाहरण हो । रेशम दोषी हुन कि निर्दोष त्यो त्यही टीकापुरकै जनमतले प्रमाणित गरिसकेको छ । टीकापुर घटनामा जेल सजाए भोगिरहेका रिक्सा चालक, ठेला पसले तथा संसाद रेशम चौधरीलाई न्यायालयले न्याय देओस् भन्ने सम्पूर्ण मतदाताको पनि आशा, भरोसा, विश्वास हो, बाँकी उपरवालाको आज्ञा ।

जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाति हुन्थ्यो ।
अनि संसारसामु सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।

धेरैवर्ष पछि बन्यो संविधान–२
संविधानको हरफहरुमा
हाम्रो पनि अधिकार मिसिन पाए
क्या जाति हुन्थ्यो ।
अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा
चार वर्ण छत्तिस जातको
क्या ताँती हुन्थ्यो ।
सारा संसार हाम्रो खुसीदेखि दंग पर्थे
अरे वाह ! संसार सामु हाम्रो शिर
क्या माथि हुन्थ्यो ।

के नै मागेका थियौं र हामीले
अरुलाई जस्तै हामीलाई पनि
थोरै दिए पुग्थ्यो
अलि कति तिमी झुक्थ्यौ
अलिकति हामी झुक्थ्यौँ
दुबै झुके झुक्ने माथिको आकास
कत्ति माथि हुन्थ्यो ।
संविधान बनेको खुसीमा हामी पनि मुस्कुराउन पाए
वाह ! क्या जाति हुन्थ्यो ।

अनि
न त नारा जुलुस हुन्थ्यो
न त कुटाकुट हुन्थ्यो
न कालो दिवस मनाउथ्यौँ
न त झ्यापझुप बत्ति निभाउथ्यौँ
सबै उज्यालोमा सजिन पाए
एकै अङगोलामा बाँधिन पाए
वाह ! हाम्रो शिर कति माथि हुन्थ्यो ।

अहिले त तिमी एक्लै खुशियाली मनाउँदैछौं
तिमी एक्लै हाँसे,
एक्लै नाचे
तिम्रो नाच हेर्ने रमिते नै नभए
तिमी खल्लो कि आँगन खल्लो ?
खल्लो आँगनमा वल्लो पल्लो मिसिन पाए
वाह ! क्या जाति हुन्थ्यो

तर तिम्रो अहमताले साझा खुसीमा हामी
ताली पड्काउन पनि पाएनौं
कम्मर मर्काउन पाएनौं
दीपावली गर्न पनि पाएनौं
तिमीले जस्तो सोँचे पनि हामीलाई अझै आशा छ
तिमीसँगै नाँच्न पाए
बारुले कम्मर भाँच्न पाए
अझै क्या जाति हुन्थ्यो ।
हाम्रो खुसीमा आरिस गर्नेहरु अझै जल्थे
अनि सम्झ त
हाम्रो शिर कत्ति माथि हुन्थ्यो ?

हामीलाई कति दुःख लागेको छ
तिम्रो भोजमा हामी सामेल हुन सकेनौं
तिमी पल्लो घरमा बसेर भतेर गर्दैछौं
हामी वल्लो घरे छिमेकीहरु
भतेरको वासना सुघ्दैछौं
तिम्रो त एक्लै खाने ऐतिहासिक बानी छ क्यारे
खाऊ
अघाउनजेल खाऊ
तर थाहा पाइराख
धेरै खाए विरामी होउलाऊ
डाक्टर सापको अस्पताल अन्यौलमा छ
अन्ततः
थारु गुरुवाले तिम्रो आछत हेर्नैपर्छ
दवाई पानी गर्नैपर्छ
तिम्लाई सञ्चो पार्नैपर्छ
अनि बाध्य भएर लज्जित भई तिमीले
हामी थारु गुरुवालाई अंगालो मार्नैपर्छ
त्यसैले
संविधान जारी गर्‍यौं हाम्रो बधाई छ
यत्रो ऐतिहासिक संविधानलाई
हामी पनि जलाउन्नौं
बरु पढ्छौं
हाम्रो पनि कँहीकतै
अधिकार उल्लेख छ कि

त्यसैले,
आफू आफू मिलेको मिलन पो कति जात्ति हुन्थ्यो
अरे वाह ! सबैको सहमतिमा जारी गरेको संविधान
संसारमा क्या माथि हुन्थ्यो !!

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाति हुन्थ्यो ।
अनि संसार सामु हामी सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।

(डिल्लीबजार जेलबाट रेशम चौधरीको कविता)

टीकापुरमा थारुको शक्ति प्रदर्शन, फेरि उठ्ला थारु आन्दोलन ?

टीकापुर घटनाको चार वर्षपछि थारुहरुले शक्ति प्रदर्शन गर्दैछ । त्यो पनि टीकापुर नगरीमै । भलै यो प्रदर्शनलाई थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको छ । थारुहरुले यही सम्मेलनमार्फत् विगत चार वर्षदेखिको कुन्ठा र वेदनालाई आत्मसमीक्षा गर्दैछ । Continue reading “टीकापुरमा थारुको शक्ति प्रदर्शन, फेरि उठ्ला थारु आन्दोलन ?”

कपिलवस्तुमा दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या

कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो । Continue reading “कपिलवस्तुमा दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या”

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार सुरु

बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो । Continue reading “लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार सुरु”