थारू समुदायका तीन जना एथलेटिक्स खेलाडी भारत प्रस्थान

प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको उडिसा प्रस्थान गरेको छ।

अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन्। महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन्। अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल एथ्लेटिक्स सङ्घका महासचिव सञ्जीव तुलाधरलगायतले आज आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए।

अर्जुनकुमार थारू पक्राउ परेपछि खुल्यो ट्रान्सफर्मर चोरीको राज

कोशी प्रदेशका ३ जिल्लामा गत माघ दोस्रो सातादेखि बिजुलीको ट्रान्सफर्मर चोरी हुने क्रम एकाएक बढ्यो। लामो समयदेखि ट्रान्सफर्मर चोरी भइरहे पनि यसमा संलग्न पत्ता लगाउन प्रहरीलाई गाह्रो परिरहेको थियो। प्रहरीको टाउको दुखाइ बनेको ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह बल्ल फेला परेको छ। प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

गिरोहका ७ जनालाई पक्राउ गरेको प्रहरीले चोरीका सामान खरिद गर्ने ५ जनालाई पनि नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको छ। पक्राउ परेको गिरोहले योजनाबद्ध र शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए।

उनका अनुसार गत माघ १५ गतेयता सुनसरीमा १२, मोरङमा ८ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भइसकेका छन्। चोरीमा संलग्न मोरङको ग्रामथान गाउँपालिका-४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका-३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका-२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका-४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी-३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भएर दुहबी-४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियालाई पक्राउ गरिएको कार्कीले बताए।

उनका अनुसार चोरीको सामान किनेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका-३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर-६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका-४ का ३९ वर्षीय सीताराम राईलाई समेत पक्राउ गरिएको छ। गिरोहले ट्रान्सफर्मर चोरी गर्दै त्यहाँभित्रको तामाको तार, तेललगायत विभिन्न व्यक्तिलाई बिक्री गर्ने गरेको प्रहरीले पत्ता लागेको छ।

प्रहरीका अनुसार तामाको तार महँगो मूल्ययमा बिक्री हुन्छ। प्रहरीले तामाको तार चोरी गरेर बिक्री र खरिद गर्नेलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट तामाको तारसमेत बरामद भएको छ। गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको पाइएको कार्की बताउँछन्। पक्राउ परेकाबाट चोरीमा प्रयोग गरिएका औजारहरु डायल रेन्च २२ थान, सलाई रेन्च ३, पिलास ३, पेचकस ३, छिनो १, साङली १, कैची १ र ह्याक्सो बिलेट ३ थानलगायत प्रहरीले बरामद गरेको छ।

प्रहरीले चोरीमा प्रयोग भएका सवारीसाधन पनि नियन्त्रणमा लिएको छ। एउटा पिकअप गाडी र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको डीआईजी कार्कीको भनाइ छ। उनका अनुसार को १ च ७७२९ नम्बरको पिकअपसहित प्रदेश १-०२-०५० प ७०९५, प्रदेश १-०२-०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १-०२-०५० प ३०४९ र को २९ प ४५४४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

गिरोहले गत माघ १५ गतेदेखि चोरी गर्दै आएको डीआईजी कार्की बताउँछन्। साउन ९ गते मोरङको रंगेली नगरपालिका-९ इँटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुग्न सफल भएको हो। ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालयहरु सुनसरी, मोरङ र झापाबाट संयुक्त टोली खटिएको थियो।

आर्थिक मन्दी र राजनीतिक दबाबका बीच चीनमा शहरी स्थिरताको खोजी

चार दशकभन्दा बढीको अवधिमा तेस्रोपटक मात्र, चीनले हालै दुर्लभ शहरी कार्य सम्मेलनको आयोजना गर्‍यो। यो सम्मेलन तीव्र आर्थिक मन्दी, शहरी-ग्रामीण असमानता बढ्दै गएका र राजनीतिक दबाब झनै तीव्र हुँदै गएको संवेदनशील घडीमा सम्पन्न भएको हो।

बेइजिङमा सम्पन्न सम्मेलनमा कम्युनिष्ट पार्टी र सरकारका शीर्ष अधिकारीहरूको उपस्थिति थियो। यो सम्मेलनले सुस्त आर्थिक वृद्धि र बढ्दो जनअसन्तोषबीच चीनले शहरी शासनलाई थप स्थिर बनाउने प्रयास गरिरहेको स्पष्ट संकेत दिएको छ।

पछिल्लोपटक यस्तो सम्मेलन सन् २०१५ मा भएको थियो। अहिले आर्थिक मन्दी गहिरिँदै गएको, शासनप्रति विश्वास घट्दै गएको र सामाजिक असन्तोष चुलिँदै गएको अवस्थामा सन् २०२५ मा यो सम्मेलन पुनः आयोजना गर्नुले सरकारको प्राथमिकतामा शहरी नीतिको स्थान झनै महत्वपूर्ण बनेको देखिन्छ। अब शहरी नीति केवल आर्थिक योजनाको साधन मात्र होइन, राजनीतिक नियन्त्रण र सामाजिक स्थायित्वको रणनीतिक उपकरणका रूपमा पनि प्रयोग गरिँदैछ।

कोभिडपछिको समयमा चीनको अर्थतन्त्र विशेष गरी शहरी क्षेत्रमा बढी प्रभावित भएको छ। युवा बेरोजगारी, मुद्रास्फीतिको दबाब र अचल सम्पत्ति क्षेत्रको सुस्तीले एक समय राष्ट्रिय विकासको इन्जिन ठानिएका शहरहरूलाई झस्काइरहेका छन्।

ऋणमा डुबेका र नियामक कारबाही भोगिरहेका विकास कम्पनीहरूको कारण अधुरा परियोजनाले शहरहरू भरिएका छन्, जसले उपभोक्ताको विश्वास कमजोर पारेको छ। चीनको मध्यम वर्ग, जो विगतमा तीव्र आर्थिक वृद्धिका मुख्य लाभार्थी थिए, अब बेरोजगारी, सम्पत्तिको मूल्य ह्रास र घट्दो क्रयशक्तिको चपेटामा छन्।

२०२४ मा शहरी युवाहरूमा बेरोजगारी दर २० प्रतिशत नाघेको छ। यो दर यति संवेदनशील छ कि २०२३ को मध्यदेखि सरकारले बेरोजगारीसम्बन्धी तथ्याङ्क प्रकाशन नै रोकिदिएको थियो। यस्तो पृष्ठभूमिमा सम्पन्न शहरी कार्य सम्मेलनले केन्द्रीय सरकारको नियन्त्रण पुनःस्थापित गर्न, जनविश्वास बटुल्न र दीर्घकालीन शहरी विकास रणनीति निर्माण गर्न गरिएको रणनीतिक पहल जस्तो देखिन्छ।

सम्मेलनको आधिकारिक वक्तव्यमा आर्थिक योजना, वातावरणीय दिगोपन र आवास सुधारजस्ता विषयहरूमा जोड दिइए पनि, गहिराइमा यसको राजनीतिक उद्देश्य स्पष्ट देखिन्छ।

चीनका विशाल शहरी क्षेत्रहरू, विशेषगरी जहाँ लाखौँ आन्तरिक आप्रवासी र अस्थिर युवा जनसंख्या बसोबास गर्छन्, स्थायित्वका लागि निर्णायक बन्दै गएका छन्। चिनियाँ इतिहासमा शहरहरू सधैँ समृद्धिको स्रोत र असन्तोषको केन्द्र दुवै बनेका छन्, चाहे त्यो सन् १९८९ को तियानमेन स्क्वायर प्रदर्शन होस् वा हालका कोभिड-सम्बन्धी विरोध।

नेतृत्वलाई थाहा छ, यदि शहरी क्षेत्रमा आर्थिक समस्या दीर्घकालीन भयो भने त्यो केवल उत्पादनमा मात्रै होइन, सम्पूर्ण राजनीतिक संरचनामा असर पार्न सक्छ। यो सम्मेलन भ्रष्टाचारविरोधी अभियानपछि आएको छ, जसमा विशेषगरी शहरी योजना र पूर्वाधार विभागका अधिकारीहरूलाई लक्षित गरिएको थियो। विश्लेषकहरूका अनुसार, उक्त अभियान भ्रष्टाचार नियन्त्रण मात्र नभई असहमति दबाउन र पार्टीभित्रको वफादारी कायम राख्नसमेत लक्षित थियो।

त्यसैले यो सम्मेलन केवल नीतिगत योजनाको बैठक मात्र होइन, स्थानीय कार्यकर्तालाई केन्द्रका प्राथमिकता र नियन्त्रण सम्झाउने राजनीतिक औजार पनि हो।

सम्मेलनमा शहरी विकासको पारम्परिक दृष्टिकोणमा परिवर्तन संकेत गरिएको छ। अब विशाल मेगासिटी र ठूला पूर्वाधार निर्माणभन्दा ‘जनकेन्द्रित’ विकासमा जोड दिइएको छ, राष्ट्रपति सी जिनपिङको पछिल्ला भाषणहरूमा बारम्बार दोहोरिने उक्त अवधारणा जनताको आवश्यकता र सेवा केन्द्रित विकासतर्फको परिवर्तनको संकेत हो। तर, आलोचकहरूका अनुसार नाराभन्दा व्यवहार फरक छ। ‘हुकुउ’ प्रणालीले अझै पनि आन्तरिक आप्रवासीहरूलाई शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाबाट वञ्चित गरिरहेको छ। ‘शहरी-ग्रामीण एकीकरण’को कुरा गरिए पनि स्रोत पुनर्वितरण, आर्थिक क्षमताविहीन स्थानीय सरकारहरू र नीतिको कार्यान्वयनबारे अस्पष्टता कायमै छ।

सरकारले सम्पत्ति क्षेत्रमाथिको निर्भरता घटाउने दाबी गरे पनि चीनको GDP को २५-३० प्रतिशत हिस्सा अझै सम्पत्तिमा आधारित छ। घरको मूल्य घट्दा परिवारको सम्पत्तिमा असर परिरहेको छ, निर्माण सुस्त हुँदा रोजगारी गुमेको छ र स्थानीय सरकारको राजस्व घटेको छ, जुन प्रायः जग्गा बिक्रीमा निर्भर छ।

सम्मेलनमा निष्क्रिय सम्पत्ति स्टकलाई कसरी उपयोग गर्ने, डिफल्ट रोक्ने उपाय, वा ऋणी विकासकर्ताहरूको समस्याबारे ठोस योजना सार्वजनिक गरिएको छैन। किफायती आवासको विस्तारमा जोड दिइएको भए पनि विगतका प्रयासहरू गुणस्तर, सेवा पहुँच र ढिलाइको कारण असफल भएका उदाहरणहरू प्रशस्त छन्। अब प्रश्न उठेको छ, के केन्द्रीय सरकारले अवाञ्छित असर नगरी वास्तविक आवास रणनीति लागू गर्न सक्ला?

सम्मेलनपछिका वक्तव्यहरूले वैज्ञानिक योजना, हरित विकास र डिजिटल रूपान्तरणमा जोड दिएका छन्। तर विगतका ‘स्मार्ट सिटी’ वा ‘इको-सिटी’ परियोजनाहरूमा चीनको अनुभव खासै सफल देखिएको छैन। योजनाहरू माथिबाट थोपारिएका, स्थानीय आवश्यकतालाई बेवास्ता गरिएको, र आर्थिक यथार्थसँग असम्झौता भएका कारण धेरै योजना असफल भएका छन्। बेइजिङको बढ्दो केन्द्रीकृत शासन प्रणालीका कारण स्थानीय अधिकारीहरूमा प्रयोगशीलता र वित्तीय लचिलोपनको कमी छ, जसले सुधारको सम्भावनामा बाधा पुर्‍याउन सक्छ। जोखिम यो हो कि सुधारको नाममा पुरानै मोडेल, घरजग्गा, पूर्वाधार निर्माण, र राज्य-नेतृत्वको लगानीमा निर्भरता दोहोरिन सक्छ।

राष्ट्रिय शहरी कार्य सम्मेलनको आयोजना स्वयं चीनको नेतृत्वभित्र आर्थिक र सामाजिक संकटप्रति बढ्दो चिन्ताको संकेत हो। एक समय औद्योगिक उत्पादन र निर्यातलाई केन्द्रमा राख्ने नीति अब शहरी व्यवस्थापन र स्थायित्वप्रति केन्द्रित बन्दै गएको छ। तर, सम्मेलनबाट ठूला नीतिगत घोषणा वा साहसी सुधारहरू आउन नसक्नुले बेइजिङ स्वयं संक्रमण कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योलमा रहेको देखिन्छ।

स्थानीय सरकारहरू वित्तीय संकटमा छन्, युवा पुस्ता निराश छन्, विकासका परम्परागत इन्जिनहरू फितलो बन्दै गएका छन्, यस्ता अवस्थामा शहरी स्थिरता अब केवल शासनको विषय रहेन, यो राष्ट्रकै अस्तित्वसँग जोडिएको चुनौती बनेको छ। चीनले जब आर्थिक अनिश्चितता र परिवर्तनशील भूराजनीतिक अवस्था पार गर्दै महामारीपछिको बाटो तय गर्दैछ, त्यसका शहरहरू अब केवल विकासको सूचक मात्र होइन, राष्ट्रिय महत्वाकांक्षाको युद्धभूमि बन्न थालेका छन्।

अन्ततः कन्तलाल चौधरीको हत्या आरोपी दुई महिनापछि समातिए

सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका ६५ वर्षीय कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन्। घटनाको २ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरिएको छ। प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका-८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका-२ का २० वर्षीय दीपेन मरिक, खडक नपा-११ का ३४ वर्षीय हरिकिसुन मरिक र शम्भुनाथ नपा-८ का २४ वर्षीय दीपक मरिक रहेका छन्।

त्यस्तै उदयपुरको बेलका नपा-१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा-७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा-६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान-८ का ३८ वर्षीय उमेश साह सोनार छन्।

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद गरिएको छ।

यो समूहले कन्तलालको हत्या गर्दै २३ जेठ राति १ बजेतिर लुटपाट गरेको थियो । उनको घरबाट सुनचाँदीका गरगहना लुटिएको थियो । डाँका गर्न आएपछि कन्तलालले थाहा पाएका थिए । त्यसपछि धारिलो हतियार प्रहार गरी घाइते बनाएर गोली हानी उनको हत्या गरिएको थियो ।

दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेको थियो । त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र नगदसमेत लुटपाट गरी फरार भएको थियो । डाँका समूहले आक्रमण गरेको जानकारी प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । तर लामो समयसम्म हत्यारा र लुटेरा पहिचान भएको थिएन ।

लामो अनुसन्धानपछि सबुदसहित ९ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । त्यतिबेला घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउन्ड गोलीको खोकासमेत फेला पारेको थियो ।

कन्तलालको हत्या पोल खुल्ने डरले लुटेरा समूहले गरेको पाइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक कन्तलाल र डकैती गर्न आएका केही व्यक्ति भने वरपरका चिनजानकै मान्छे थिए । नकावसहित डाँका गर्न आएको समूहलाई कन्तलालले चिनेको र यसबारे प्रहरीलाई खबर गरिदिने समेत बताएको प्रहरी अधिकारी बताउँछन् । यो सबै कुरा उनकी श्रीमतीले पनि सुनेपछि डाँका समूहले कन्तलालको हत्या गरेको डीएसपी बस्नेतको भनाइ छ ।

‘चिनेकै समूह डाँका गर्न गएको रहेछ । घरधनीले चिनेपछि पोल खुल्ने डरले हत्या भएको देखिन्छ,’ बस्नेतले भने ।

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुवात गरेका छौं : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीको दुर्घटना बिमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुवात गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए।

उनले भने, ‘आर्थिक वर्ष २०८२र८३ देखि खेलाडी तथा प्रशिक्षकको जीवन बिमा र स्वास्थ्य बिमा लागू गर्ने योजना रहेको छ, साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्ति वितरण गर्ने योजना छ।’

मन्त्री चौधरीले खेल पूर्वाधार निर्माणका लागि विगत वर्षदेखि बजेट विनियोजन गरिएको बताए। राष्ट्रपति रनिङ शिल्डलगायत खेल प्रतियोगिता सञ्चालन हुँदै आएका र स्थानीय तहदेखि केन्द्रसम्म तथा राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय खेल संघमार्फत ग्रामीण तहका खेलाडी समेतलाई समेट्ने गरी प्रशिक्षण दिने कार्यक्रम सञ्चालन हुँदै आएका उनले बताए।

‘युवालाई राष्ट्रको आर्थिक र सामाजिक समृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन राष्ट्रिय युवा नीति–२०७२ लाई प्रतिस्थापन गरी राष्ट्रिय युवा नीति–२०८२ स्वीकृतिको अन्तिम चरणमा छ, यस नीतिअनुरुप युवालाई उद्यमशीलता तथा रोजगारीमा प्रोत्साहन गर्ने, सामाजिक कार्यमा स्वयंसेवकीय कार्य गर्न अभिप्रेरित गर्ने, सामाजिक कुरीति एवम् विसंगतिविरुद्ध जनचेतना फैलाउने कार्यमा परिचालन गर्ने योजना छ’,मन्त्री चौधरीले भने।

ती योजना कार्यान्वयन गर्न सबै प्रदेशमा युवालाई सीपमेला र रोजगारमूलक सीप विकास तालिम सञ्चालन गर्ने, ब्याज अनुदानसहित कर्जा लगानी गरेर १० हजार युवालाई स्वरोजगार बनाउने र युवाको क्षेत्रमा कार्यरत सघसंस्था एवं युवा सञ्जालको साझेदारीमा सामाजिक जागरणका कार्यक्रम सञ्चालन गर्ने मन्त्री चौधरीको भनाइ थियो।

उनले राष्ट्रिय युवा परिषद्बाट उद्यमशीलता प्रवद्र्धन सम्मेलन, रोजगारीका लागि सीपमूलक तालिम, वित्तीय साक्षरता, स्वयंसेवा परिचालन, जस्ता कार्यक्रमबाट युवा नेतृत्व विकास स्वरोजगार उद्यमशीलता जस्ता पक्षमा जोड दिइनुका साथै युवालाई मुलुकभित्र रही पेसा तथा व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्दै आइरहेको पनि बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा कश्मीरको नयाँ युग

५ अगस्ट २०१९ का दिन भारतीय संघीय संरचनामा ऐतिहासिक मोड ल्याउने दिन बन्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय संसदले संविधानको धारा ३७० र त्यससँग सम्बन्धित धारा ३५(ए) लाई खारेज गर्दै जम्मू-कश्मीर राज्यको विशेष हैसियत अन्त्य गर्‍यो। यस्तै ऐतिहासिक निर्णयको परिणामस्वरूप जम्मू-कश्मीर मात्र होइन, सम्पूर्ण भारतमा राजनीतिक, सुरक्षा, सामाजिक र विकास सम्बन्धी बहसको नयाँ युग आरम्भ भयो।

संविधानको धारा ३७० अन्तर्गत जम्मू-कश्मीर राज्यलाई विशेष स्वायत्तता प्राप्त थियो। यसले भारतको संविधान पूर्णरूपमा लागू नगरी जम्मू-कश्मीरलाई आन्तरिक मामिलामा छुट्टै निर्णय गर्ने अधिकार दिएको थियो। धारा ३५(ए) ले त झन् कश्मीरी ‘स्थानीय नागरिक’ को परिभाषा तय गर्थ्यो, जसले अन्य राज्यका नागरिकहरूलाई त्यहाँ बसोबास, सम्पत्ति खरिद र रोजगारीका अवसरहरूबाट वञ्चित गर्थ्यो।

यस्ता प्रावधानहरू राज्यलाई मुख्यधाराको भारतबाट अलग राख्ने संवैधानिक संरचना थिए। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहको दृढ नेतृत्वमा यिनै संरचनाहरूलाई हटाउँदै जम्मू-कश्मीरलाई पूर्ण रूपमा भारतीय संविधानको दायरामा ल्याइयो।

धारा ३७० को खारेजी लामो समयदेखि राजनीतिक दृष्टिले संवेदनशील विषय रहँदै आएको थियो। तर, मोदी सरकारले तीन प्रमुख आधारहरू प्रयोग गर्दै यो असम्भव देखिएको कार्यलाई सम्भव बनायो।

पहिलो, जम्मू-कश्मीरमा त्यो बेला राष्ट्रपति शासन लागू भइसकेको थियो। जसका कारण राज्यको विधानसभाको स्थानमा संसदले निर्णय गर्नसक्ने वैधानिक अवस्था बन्यो।

दोस्रो, भारतीय जनता पार्टीको लोकसभा र राज्यसभा दुवैमा स्पष्ट बहुमत थियो, जसले संसदमा ‘Jammu and Kashmir Reorganisation Bill, 2019’ पारित गर्न सजिलो बनायो।

तेस्रो, राष्ट्रपति रामनाथ कोविन्दले संविधानको धारा ३७० हटाउने आदेश जारी गरेपछि यो ऐतिहासिक कदम कानुनी रूपले पनि वैध ठहरियो।

कश्मीरमा के परिवर्तन आए?
धारा ३७० हटाइएपछि कश्मीरमा सुरक्षाको दृष्टिले उल्लेखनीय सुधार देखिएको छ। एक समय साप्ताहिक हड्ताल, पत्थरबाजी र आतंकवादी गतिविधिले त्रस्त राज्य अहिले तुलनात्मक रूपमा शान्तिपूर्ण बनेको छ। स्थानीय युवा कट्टरपन्थी समूहमा कम भर्ती भइरहेका छन्।

२०२० मा भएको जिल्ला विकास परिषद (डीडीसी) निर्वाचन, २०२४ मा सम्पन्न लोकसभा निर्वाचनमा अभूतपूर्व ५८ प्रतिशत मतदान दरले कश्मीरमा लोकतान्त्रिक पुनरुत्थानको संकेत गरेको छ।

खारेजीपछिको पाँच वर्षमा जम्मू-कश्मीरले ८०,००० करोडसम्मको निजी लगानी प्रस्ताव प्राप्त गरेको छ। उद्योग, सूचना प्रविधि, पर्यटन, कृषि, र निर्माण क्षेत्रहरूमा विभिन्न योजना कार्यान्वयनमा छन्।

Zoji-La र Banihal सुरुङ, Srinagar–Baramulla रेललाइन, एयरपोर्ट विस्तार, स्मार्ट सिटी आयोजना, डिजिटल ग्राम योजना, उच्चस्तरीय स्वास्थ्य संरचना (AIIMS, मेडिकल कलेजहरू), र IIT जस्ता संस्थाहरूका माध्यमबाट कश्मीरले विकासको नयाँ गति समातेको छ।

धारा ३७० खारेज गरेपछिको ५ वर्षभित्र जम्मू-कश्मीरमा २१.१ मिलियन पर्यटकले भ्रमण गरे, जुन ऐतिहासिक रेकर्ड हो। चलचित्र पर्यटन, साहसिक पर्यटन, धार्मिक तीर्थ, हिमाल आरोहण, हस्तकला प्रदर्शनीलगायतका माध्यमबाट प्रदेशले आफ्नो सांस्कृतिक विरासत पुनःस्थापित गरिरहेको छ।

धारा ३५(ए) खारेजीसँगै अब जम्मू-कश्मीरका सबै बासिन्दाले समान नागरिक अधिकार प्राप्त गरेका छन्। यसअघि पश्चिम पाकिस्तानबाट आएका शरणार्थीहरू, गोरखा, वाल्मीकि समुदायका मानिसहरू राज्यको स्थायी नागरिक बन्न सक्दैनथे। अब उनीहरूलाई समान शिक्षा, जागिर, बसोबास र अन्य संवैधानिक अधिकार सुनिश्चित गरिएको छ।

के अब जम्मू-कश्मीर पूर्ण रूपमा भारतको हिस्सा बन्यो?
संविधानको हिसाबले हेर्दा अब जम्मू-कश्मीर कुनै छुट्टै ‘विशेष राज्य’ नभएर भारतको अन्य कुनै पनि राज्यसरह समान हो। तर व्यवहारमा राज्यको ‘Union Territory’ मा रूपान्तरणले अझै केही असन्तुलनहरू छन्। स्थायी राज्यको दर्जा फिर्ता दिने माग व्यापक छ, जुन मोदी सरकारले भविष्यमा ‘समय आएपछि पुनःस्थापित गरिनेछ’ भन्ने आश्वासन दिँदै आएको छ।

अन्त्या धारा ३७० को खारेजी प्रधानमन्त्री मोदीको राजनीतिक दूरदृष्टि, स्पष्ट बहुमत र राष्ट्रवादी विचारधाराको प्रतिफल थियो। यसले जम्मू-कश्मीरलाई भारतको संवैधानिक मूलधारमा ल्याएको छ। पाँच वर्षको अवधिमा विकास, शान्ति र सामाजिक समावेशीकरणका थुप्रै सकारात्मक परिवर्तनहरू देखिए पनि लोकतान्त्रिक स्वायत्तता, स्थानीय राजनीतिक अधिकार र जनतासँगको संवाद अझै निरन्तर गरिरहनुपर्ने आवश्यकता रहन्छ।

त्यसैले, धारा ३७० को खारेजी केवल ‘अन्त्य’ होइन, कश्मीरको नयाँ युगको ‘सुरुआत’ पनि हो।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालत, पाटनले आजै (सोमबार) उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।

झापाको बिर्तामोड नगरपालिका-५ का ५४ वर्षीय प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकका रुपमा प्रदर्शनमा सहभागी थिए । उनकै योजनामा १५ चैतमा हिंसात्मक प्रदर्शन भएको प्रहरी दाबी थियो ।

प्रहरीको दाबीमा, उनले उच्छृंखल अभिव्यक्ति दिएर भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। त्यस्तै ५५ हजार ८९६ जनाले ३.२१ देखि ३.६० जीपीए, २.८ देखि ३.२१ सम्म ल्याउने ९४ हजार २६८ जना, २.४१ देखि २.८ ल्याउने ६९ हजार ८१२ जना, २.२१ देखि २.४० ल्याउने ८ हजार ९६४ जना र त्यसमुनि २३ जना ग्रेडेड भएको शर्माले जानकारी दिए।

त्यस्तै १ लाख ५३ हजार ८८२ जना ननग्रेडेड भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमति ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए। सहभागी कूल ५ लाख १० हजार ९८७ मध्ये नियमिततर्फ २ लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जना विद्यार्थी ग्रेडेड भएका हुन्। ननग्रेडेड विद्यार्थीहरूका लागि भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने बोर्डले जनाएको छ।

त्यस्तै १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

नेकपा विप्लवसँग पार्टी एकीकरण गर्ने माओवादी निर्णय

नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार त्यसका लागि वार्ता समितिलगायतका विषयमा पनि निर्णय भएको बताए।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएको घोषणा पनि गरे।

‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण र परिवर्तनका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्यो। त्यसलाई एकताबद्ध गर्न चुनौती थियो। त्यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं। र, पार्टी एकताबद्ध भएको छ। हामीले सामूहिक प्रतिबद्धता गरेका छौं, अबदेखि सुदृढ एकताका साथ सबैखाले गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं,’ उनले भने।

प्रचण्ड-जनार्दन सहमति, सबैखाले गुटबन्दी अन्त्य भएको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएको घोषणा पनि गरे।

‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण र परिवर्तनका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्यो। त्यसलाई एकताबद्ध गर्न चुनौती थियो। त्यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं। र, पार्टी एकताबद्ध भएको छ। हामीले सामूहिक प्रतिबद्धता गरेका छौं, अबदेखि सुदृढ एकताका साथ सबैखाले गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं,’ उनले भने।

अध्यक्ष प्रचण्डले सामूहिकरूपले पार्टी एकताबद्ध गर्न प्रतिबद्धता लिएको बताए। उनले फेरि जनतामा जाने र देश र जनताका लागि आन्दोलन गर्ने निर्णय पार्टीले गरेको बताए। अध्यक्ष प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषी देखिएकालाई कारबाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे।

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सबै एजेण्डामाथि बैठकमा खुलारूपमा छलफल भएको बताए। वैचारिक, राजनीतिक, सांगठानिक सबैका सन्दर्भमा गम्भीररूपमा बहस भएको उनको भनाइ छ। बा चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार सम्पन्न भएको छ।