थारू विद्यार्थी समाजको केन्द्रीय समितिमा एकैपटक १० जना मनोनीत

थारू विद्यार्थी समाजले एकैपटक १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ। भर्चुअल माध्यमबाट सम्मन्न केन्द्रीय समितिको बैठकले विभिन्न जिल्लाका १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेको हो।

मनोनीत हुनेमा उदयपुरका उदय नारायण चौधरी, बाराका समोज चौधरी र समिर चौधरी, रौतहटका श्यामलाल चौधरी, सप्तरीका मधुसुधन चौधरी, कञ्चनपुरका इन्द्र चौधरी, मोरङकी अंकिता विश्वास, कैलालीकी एन्जिला चौधरी, दाङकी सृष्टि दहित र बर्दियाकी निलम थारू रहेका छन्।

केही समयअघि समाजका केही पदाधिकारीसहितका सदस्यहरूले राजीनामा दिएका थिए। रिक्त रहेको पद र विधानअनुसार मनोनीत हुने प्रावधानअनुसार १० जनालाई मनोनीत गरिएको समाजले जानकारी दिएको छ।

‘तपाईंहरूको नेतृत्वमा थारू समुदायको शैक्षिक, सांस्कृतिक र सामाजिक पहिचानलाई अझ मजबुत बनाउने कार्यहरू अघि बढ्नेछ भन्ने विश्वास लिएका छौं। नयाँ समितिको कार्यकाल दूरदृष्टिपूर्ण, समावेशी र प्रेरणादायक होस् भन्ने कामना गर्दछौं। एकता, सहकार्य र निष्ठाको बलमा संगठन अझ सशक्त बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं,’ मनोनीत पत्रमा भनिएको छ।

मीनाको ह्याट्रिकमा नेपालले श्रीलंकालाई ७-० गोलले हरायो

ढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले  ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो। श्रीलंकाले भने गोल गर्न सकेन।

नेपालका लागि मीना देउवाले ह्याट्रिक पूरा गरिन्। उनले ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। पूर्णिमा राईले २ गोल गर्दा  समिक्षा मगर र सरिता कुमारी नाथले समान १-१ गोल गरे। ‌खेलको ८औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले सुशीला केसीको पासमा उत्कृष्ट प्रहार गर्दै बललाई गोलमा परिणत गरेकी थिइन्।

१३औं मिनेटमा समिक्षा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। ४२औं मिनेटमा नेपालका लागि मीना देउवाले व्यक्तिगत दोस्रो र नेपालका लागि तेस्रो गोल गरिन्। पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा नेपालका लागि पूर्णिमा राईले चौथो गोल गरिन्। त्यसको १ मिनेटपश्चात नेपालका लागि पुन पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौं गोल गरिन्। को ७०औं मिनेटमा मिनाले ह्याट्रिक पूरा गरिन्‌। यो नेपालको लागि छैटौं गोल थियो।

थप गरिएको पहिलो मिनेटमा नेपालको डिफेन्डर सरिता कुमारी नाथले फ्री कीकमार्फत गोल गरिन्। नेपालको लागि सातौं गोल थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो।

नाउपा र आफूविरुद्ध भ्रामक विषय प्रस्तुत गर्नेविरुद्ध कानुनी उपचारमा जाने रञ्जिताको चेतावनी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मिडियामा आफूलाई जोडिएको विषयप्रति आपत्ति जनाएकी छन्। उनले आफू र पार्टीलाई बदनाम गराउन आधारहीन र नियोजितरूपमा चरित्र हत्या गरेको उल्लेख गरेकी छन्।

‘गत असार २९ गते आइतबार सिधाकुराबाट प्रसारण गरिएको समाचारको शीर्षकप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म र मेरो पार्टीसँग सम्बन्धित नभएको भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवाको विषयलाई लिएर नितान्त ब्यक्तिगत लक्षित शीर्षक राखेर समाचार प्रसारण गरिनु म र मेरो पार्टीलाई बदनाम गराउन, आधारहीनरूपमा आरोपित गरेर नियोजित चरित्रहत्या को प्रयास हो,’ अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरेर भनेकी छन्।

उनले नागरिक उन्मुक्ति पार्टी पारदर्शीता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तप्रति दृढ र प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्। उनले घटनाको सत्यतथ्य छानबिनका लागि कानुनी प्रक्रियामार्फत अगाडि बढाउन आग्रह गरेकी छन्। ‘तर अधिकार क्षेत्रभन्दा बाहिरको विषयलाई जोडेर गलत तरिकाले प्रस्तुत गरी असत्य समाचार सम्प्रेषण गरेकोप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

उनले भ्रामक र असत्य आरोपहरूले जनतालाई भ्रमित पार्ने र राजनीतिक अस्थिरता सिर्जना गर्ने बताउँदै त्यसविरुद्ध कानुनी उपचारमा जाने चेतावनी पनि दिएकी छन्।

थारू समुदायमा बढ्दै सिकलसेल, कैलाली र कञ्चनपुरमा मात्रै हजार बढी बिरामी

थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या कैलाली तथा कञ्चनपुर जिल्लामा बढ्दै गएको छ। खास गरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो।

सेती प्रादेशिक अस्पतालका हरिबहादुर थापाले कैलाली र कञ्चनपुरमा एक हजार ३४ जना सिकलसेलका बिरामीको उपचार भइरहेको जानकारी दिए। त्यो अझै बढ्ने क्रममा रहेको उनले बताए। उनले कैलालीमा ७५६ कञ्चनपुरमा २७८ जना बिरामी रहेको बताए। त्यसमा महिलाको सङ्ख्या ५३६ रहेको छ भने पुरुषको सङ्ख्या ४९८ रहेको जानकारी दिए। अहिले एक हजार ३४ जना बिरामीमध्ये ३९२ जना घोडाघोडी अस्पतालमा र आठ जना कञ्चनपुरको महाकाली अस्पताल र बाँकी ६३४ जनाले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गरिरहेका छन्।

सरकारले सिकलसेलको उपचार तथा सेवा सुविधाका लागि भनेर कैलालीको सेती प्रादेशिक अस्पताल, घोडाघोडी अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालबाट सेवा दिइरहेको छ भने कैलालीको टीकापुरबाट सेवा दिने तयारीमा रहेको सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक चिकित्सक डा. चेतराज जोशीले बताए।

सरकारले पश्चिम तराईमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारलाई सर्वसुलभ र निःशुल्क गर्ने घोषणा गरेको छ। परीक्षण र उपचार दुवै निःशुल्क छ र एउटा बिरामीलाई एक लाख बराबरको औषधी दिने सरकारले घोषणा गरेको छ। सरकारले उपचारमा एक लाख रुपियाँसम्म दिने सेवा सुविधा लिने प्रक्रिया जटिल भएको थारू अगुवा माधव थारूको भनाइ छ। सिकलसेल रोगको उपचार र परीक्षण महँगो तथा घरका सम्पूर्ण सदस्यलाई उपचार गर्नुपर्ने कारणले थुप्रै मानिस रगत परीक्षण नै नगराई रोग लुकाउने गरेको उनले बताए। उनले सरकारले एक लाखसम्म मात्र नभएर सिकलसेलका बिरामीलाई आजीवन उपचारको ग्यारेन्टी गर्नुपर्ने बताए।

उनले धेरै बिरामी देखिएका क्षेत्र र समुदायमा रहेका गर्भवतीको गर्भमा रहेका बच्चामा सिकलसेल हुन सक्ने जोखिमबारे परीक्षण गर्न सकिने व्यवस्था गर्न सके भविष्यमा यस सङ्क्रमण लिएर जन्मने बिरामीलाई कम गर्न सकिने बताए। सिकलसेल एनिमिया भएका बिरामीमा सामान्यतया छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, सहनै नसकिने गरेर छाती दुख्ने, छाती, पेट, हातखुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने, कमलपित्त हुने जस्ता लक्षण देखा पर्छन्। त्यस्तै आँखामा समस्या देखिने, अन्धोपना हुन सक्ने, पक्षाघात हुन सक्ने, सङ्क्रमण भइरहने, ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्नेसमेत हुन्छ।

राजकुमार गुप्ताले राजीनामा दिएपछि भगवती बनिन् सामान्य प्रशासन मन्त्री

राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। यसअघि मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ।

अरुण चौधरीले बुझाइसकेको राजीनामा प्रधानमन्त्रीले नै स्वीकृत नगरेको खुलासा

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेका छन्। मन्त्री चौधरीले आफूले पाँच दिनअघि नै प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेको बताएका छन्।

‘मैले पाँच दिनअघि नै राजीनामा दिइसकेको छु। मेरो राजीनामा प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छु। त्यसअघि प्रधानमन्त्रीसँग पनि भेट भएको थियो। त्यसबेला प्रधानमन्त्रीले राजीनामा पत्र बुझ्नु भएन। त्यसपछि अर्को दिन प्रधानमन्त्री कार्यालय गएर राजीनामा बुझाएको हुँ,’ चौधरीले भने।

उनले राजीनामा स्वीकृत नभएको बारे आफू अनभिज्ञ भएको बताए। ‘खै किन स्वीकृत भएन। मलाई जानकारी भएन,’ उनले भने। उनले मन्त्रीको हैसियतले पाउने झन्डा र डन्डा पनि बुझाइसकेको बताए। उनले आफून ६ महिनाअघि नै राजीनामा गर्न चाहेको पनि बताएका छन्। त्यतिबेला पार्टीले आफ्नो राजीनामा रोकेको उनको भनाइ छ।

उनले प्रधानमन्त्रीले राजीनामा स्वीकृत नगर्दा आफू संसदमा पनि जान नसकेको बताए। उनले आफूले राजीनामा दिइसकेकाले यस विषयलाई विवादित बनाउन उचित नभएको प्रस्ट पारे।

थारू विद्यार्थी सभाले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै

थारू विद्यार्थी सभाले एसईई उत्तीर्ण भएका थारू विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। सभाले साउन ३ गते कार्यक्रम आयोजना गरेर एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न लागेको हो।

एसईई उत्तीर्ण भएका थारू विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको प्रोत्साहन गर्दै सभाले सम्मान गर्न लागेको सभापति सुशीला चौधरीले जानकारी दिइन्।

उनका अनुसार जुन ग्रेडमा पास भएका विद्यार्थीलाई पनि सम्मान गरिने भएको हो। ‘एसईई उत्तीर्ण भएका सबै विद्यार्थीलाई हामीले सम्मान गर्न लागेका हौं। कुनै ग्रेड तोकेका छैनौं,’ उनले भनिन्।

नेकपा एमाले सांसद भगवती चौधरीको प्रमुख आतिथ्यमा शनिबार कार्यक्रम हुन लागेको हो। कार्यक्रम बुद्धनगरस्थित स्पवन बाटिका क्याम्पसमा हुने सभापति चौधरीको भनाइ छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुती पनि हुने आयोजकले जनाएको छ।

लेनदेनसम्बन्धी विवादित अडियो प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष रञ्जिताले भनिन्- मलाई फसाउन झुटा आरोपको खेती गरियो

संसदीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विवादित अडियो प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। अडियोमा बोल्ने महिला रञ्जिता नै रहेको भन्दै उनीविरुद्ध टीका टीप्पणी हुन थालेको हो।

गत पुस २८ गते अध्यक्ष श्रेष्ठले सुजन लामा नामका व्यक्तिसँग मन्त्री क्वाटर पुगेर ‘७८ लाख रुपैयाँको डील’ गरेको आशंका गरिएको छ। अडियोमा सुनिएको कुराकानी अनुसार मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन भएको आशंका गरिएको छ।

मन्त्री गुप्ताले नै पनि नाउपा अध्यक्ष श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी गरेका छन्। लोकान्तर डटकमले सार्वजनिक गरेको एक रिपोर्टअनुसार पुस २८ गतगे विहानै श्रेष्ठ सुजन भन्ने व्यक्तिलाई लिएर मन्त्री क्वाटर पुगेकी थिइन्।

‘पूर्व भूमि व्यवस्था मन्त्री अघि-पछि पनि कर्मचारीको सरुवा/बढुवाका लागि आइरहन्थिन्। त्यस दिन पनि बिहान ६ बजे नै भेट्नुपर्‍यो भनेपछि समय दिएको मन्त्रीले बताउनुभएको छ। पूर्वमन्त्रीले भेट्नुपर्‍यो भनेपछि समय नदिने कुरा पनि भएन। बारम्बार सरुवाको कुरा लिएर आइरहने भएकाले मैले गर्न सक्दिनँ भनेपछि मन्त्री क्वार्टरमा पैसाको पोको छाडेर हिँडेको दाबी मन्त्रीले गर्नुभएको छ,’ लोकन्तरले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

यस विषयमा सिधाकुरासँगको कुराकानीमा पनि अध्यक्ष श्रेष्ठले अडियोमा सुनेको व्यक्ति आफू हुनसक्ने तर लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन्। अध्यक्ष श्रेष्ठले सोमबार आफूलाई फसाउन झुटा आरोपहरूको खेती सुरू भएको बताएकी छन्। उनले फेसबुकमा स्टाट्स लेखले आफूविरुद्ध भ्रमको खेती भइरहेको उल्लेख गरेकी हुन्।

रञ्जिताले आफ्नी आमा आइसीयुमा उपचाररत रहेकाले हाललाई आफू चुप लाग्ने बताएकी छन्। तर समयमा आएपछि प्रमाण र आत्मसम्मानका साथ जवाफ दिने उनले भनेकी छन्।

‘आमा आइसीयुमा हुनुहुन्छ। अनि म उहाँको सास र नाडी गन्न व्यस्त छु। त्यही बेला मलाई राजनीतिकरूपले फसाउने योजनासहित झुटा आरोपहरूको खेती सुरु गरिन्छ। कसैको नैतिकता यति खोक्रो भइसकेको रहेछ कि कसैकी आमाको शैयासमेत उनीहरूका लागि ‘राजनीतिक अवसर’ बन्न पुग्छ। स्पष्ट छु, मैले मौनता रोजें, किनकि मलाई हल्ला होइन, विवेकमा विश्वास छ। तर त्यो भूल नगर्नुहोस्। यो मौनता चिरस्थायी होइन। झुटो आरोपहरूको जवाफ म दिनेछु। न त भावुक भएर, न त डराएर, तर प्रमाणका साथ, राजनीतिक मूल्य र आत्मसम्मानका साथ। किनभने म राजनीति भन्नासाथ कुर्सी होइन, मूल्य र विवेक सम्झिन्छु। र, त्यो मैले मेरो आमाबाट सिकेकी हुँ, जसको आजको संघर्ष नै मेरो शक्ति हो,’ अध्यक्ष रञ्जिताले भनेकी छन्।

इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ सार्वजनिक

बालसाहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ। आइतबार आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक धनगढीमा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

कार्यक्रममा उपकुलपति जोशीले सुदूरपश्चिमको मुख्य जातिका रूपमा रहेका थारूहरूको लोकसंस्कृति र लोककथासम्बन्धि पुस्तक प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जातजातिका कला, संस्कृति, भाषा, परम्परालाई संकलन, अध्ययन, अनुसन्धान गरी प्रकाशनमा लागेको छ। यसपटक थारू जातिका संस्कृती र लोककथा सम्बन्धी पुस्तक प्रकाशन गरेका छौं। आगमी वर्षमा हामी अन्य जातजातिका संस्कृतिलाई समेटिएका पुस्तक प्रकाशन गर्ने तयारीमा छौं।’ त्यसैगरी मन्त्री खड्काले पनि प्रतिष्ठानले गरेको कार्यलाई धन्यवाद दिए।

पुस्तकका लेखक चौधरीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफूलाई विश्वास गरी अध्ययनका लागि परियोजना कार्य दिएकोमा खुशी व्यक्त गरे। ‘प्रतिष्ठानले सुदूरपश्चिमका थारूहरूको संस्कृतिका बारेमा मलाई अध्ययन गर्ने अवसर दियो। यसका लागि प्रतिष्ठानका उपकुलपतिलगायत सिङ्गो प्रतिष्ठान परिवारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘आफ्नै प्रदेश सरकारसँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण कार्य गर्न पाएकोमा निकै खुशी लागेको छ।’ यसले आफूलाई अझै अध्ययन अनुसन्धानमा हौसला र प्रेरणा मिलेको उनको भनाइ छ।

चौधरीका अनुसार यस पुस्तकलाई तीन खण्डमा बाँडिएको छ। पहिलो खण्डमा थारू समुदायको परिचय, दोस्रो खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ। ‘यस पुस्तकको मुख्य उद्देश्य सुदूरपश्चिमका थारू लोककथाको संकलन गर्नु थियो,’ चौधरीले भने, ‘यसमा सुदूरपश्चिमका थारूहरूका संस्कृतिका विविध पक्षलाई संक्षिप्तमा जानकारी दिने किसिमले समावेश गरिएको छ।’

यस पुस्तक बीसओटा लोककथा समावेश गरिएका छन्। चौधरीका अनुसार यस पुस्तकमा सकेसम्म पहिले प्रकाशित नभएका लोककथालाई समावेश गर्न खोजिएको छ। उनले भने, ‘मैले यस पुस्तक खासगरी अहिलेसम्म प्रकाशित नभएका लोककथालाई समेट्ने प्रयास गरेको छु।’ यस पुस्तकमा ७६ वर्षीय लौघरी डगौरा, ७८ वर्षीया कालीमैया डगौरा र ५५ वर्षीया रामप्यारी डगौराबाट लोककथा संकलन गरिएको अनुसन्धाता चौधरीले बताए।

चौधरीको यो ७ औं कृति हो। उनका यसअघिका कृति पनि थारू र रानाथारू जातिको लोकसंस्कृतिसँग नै सम्बन्धित छन्। यस पुस्तकमा उदीयमान कलाकार दीपक चौधरीले आवरण तस्वीर बनाएका छन्।