कारबाही फुकुवा लगत्तै द्वारिकलाल चौधरी बने एमालेको निर्वाचन कमान्डर

एमालेको कारबाहीमा परेका नेता द्वारिकलाल चौधरीको कारबाही फुकुवा गर्दै सुनसरी क्षेत्र नम्बर-२ को निर्वाचन परिचालन समितिको कमाण्डरको जिम्मेवारी दिएको छ। आगामी निर्वाचनमा पराजयको सम्भावित जोखिम देखिएपछि पार्टीले प्रभावशाली नेताका रूपमा चिनिएका चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको छ।

एमाले सुनसरीका सचिव राम कोइरालाका अनुसार चौधरीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको उप-संयोजकमा लक्ष्मी गौतम र खेमराज पोखरेल रहेका छन् भने सचिवको जिम्मेवारी डेगराज फयललाई दिइएको छ। चौधरी समुदायस्तरमा राम्रो प्रभाव जमाउन सक्ने नेता मानिन्छन्। उनी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रूपमा गाली गरेको आरोपमा एमाले कोशी प्रदेश कमिटीले चौधरीलाई गत कात्तिकमा छ महिनाका लागि पार्टीबाट निष्कासन गरेको थियो। तर, निर्वाचनको मुखमा आएर उनको कारबाही फुकुवा गरिएको एमाले कोशी प्रदेशका सह-सचिव देवान राईले पुष्टि गरेका छन्। राईले पार्टी एकताको आवश्यकता र निर्वाचन रणनीतिलाई ध्यानमा राख्दै कारबाही फुकुवा गरिएको बताए।

एमालेले सुनसरी-२ बाट युवा उम्मेदवार सुजन लामालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। निर्वाचन परिचालनको कमाण्डर बनेपछि चौधरीले एमाले उम्मेदवार लामालाई विजयी गराउन दिलोज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र देखिएका असहमतिलाई भुलेर चुनावी अभियानमा एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन्।

सुनसरी-३ मा विरासत फर्काउने कसरतमा विजय गच्छदार

सुनसरी क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचन यसपटक पनि पुराना राजनीतिक दलका प्रतिद्वन्द्वीहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार र पूर्वमन्त्री तथा नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती चौधरीबीच चौथो पटक पनि मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाचनमा गच्छदारको दशकौं लामो राजनीतिक विरासत भत्काउँदै ऐतिहासिक जित निकालेकी भगवती चौधरी पुनः एमालेको टिकटसहित चुनावी मैदानमा उत्रिएकी छिन्। गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा मतदाता खुसी पार्न लागि रहेका छन्।

२०४८ सालदेखि सुनसरी–३ मा लगातार निर्वाचन जित्दै आएका विजयकुमार गच्छदार २०७९ मा पहिलोपटक पराजित भएका थिए। ६ पटक संसदीय निर्वाचन जितेका गच्छदारका लागि त्यो पराजय सामान्य हारमात्र नभएर उनको राजनीतिक यात्रामा पूर्णविरामको सावित भयो। दशकौंसम्म अपराजित रहँदै आएका गच्छदारलाई पराजित गर्दै भगवती चौधरी सुनसरी–३ मा उदाउन सफल भइन्। यही जितको आधारमा भगवती संघीय सरकारमा मन्त्रीसमेत बन्न सफल भइन्, जसका कारण उनको राजनीतिक उचाइ थप मजबुत बन्यो।

भगवती चौधरी र विजय गच्छदारबीचको प्रतिस्पर्धा १२ वर्षदेखि निरन्तर चलिरहेको छ। २०७० र २०७४ को निर्वाचनमा भगवती गच्छदारसँग पराजित भएकी थिइन्। दुई पटकको पराजयपछि पनि मैदान नछाडेकी भगवतीले तेस्रो प्रयासमा २०७९ मा गच्छदारलाई हराउँदै बदला पूरा गरिन्। त्यसैले यसपटकको निर्वाचनलाई राजनीतिक वृत्तमा उनीहरूबीच ‘निर्णायक चौथो भिडन्त’ का रूपमा हेरिएको छ। एकातिर गच्छदार आफ्नो राजनीतिक विरासत जोगाउने तथा पुनःस्थापित गर्ने प्रयासमा छन् भने अर्कोतिर भगवती आफ्नो जितलाई निरन्तरता दिन लागिपरेकी छिन्। गच्छदार र भगवतीको दौडधुपले सुनसरी–३ मा फेरि पनि उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

२०७९ को जितपछि मन्त्री बनेकी भगवती चौधरीले आफू विकास र स्थायित्वको प्रतिनिधि भएको दाबी गर्दै आएकी छिन्। मन्त्रीको हैसियतमा सुनसरी–३ का पूर्वाधार, सडक, खानेपानी, शिक्षा, ज्येष्ठ नागरिक, महिलालगायतका विषय सरकारसम्म पुर्‍याएको उनको भनाइ छ। २०७९ मा जनताले परिवर्तन रोज्नुभयो, भगवती भन्छिन्, ‘मैले सरकारमा बसेर सुनसरी–३ को विकासका लागि एक अर्बभन्दा बढी बजेट ल्याएर यहाँको विकास गरेकी छु। यहाँका अधुरा योजना पूरा गर्न फेरि पनि जनताको विश्वास जित्न आवश्यक छ।’

विजयकुमार गच्छदार पनि २०७९ को पराजयलाई अस्थायी ठहर गर्दै पुनः जितको दाबी गरिरहेका छन्। दशकौंको राजनीतिक अनुभव, पटक–पटक मन्त्री भएर यहाँ गरेको विकासको इतिहास नै चुनाव जित्ने आफ्नो बलियो पक्ष भएको उनको भनाइ छ। ‘मैले सुनसरी–३ लाई राष्ट्रिय राजनीतिमा चिनाएको छु,’ गच्छदार भन्छन्, ‘मैले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदान, यहाँ गरेको विकास र कांग्रेसको बलियो संगठन चुनाव जित्ने मुख्य आधार हुन्। जनताले मेरो योगदान बिर्सेका छैनन्।’ उनले पार्टीभित्र देखिएको असन्तुष्टिलाई समाधान गरेर एकताबद्ध रूपमा चुनाव लड्ने प्रयास भइरहेको पनि बताए।

उमेर ढल्कँदै गएको कारण विजयलाई पुनः उम्मेदवार बनाइएको भन्दै कांग्रेसको युवा पुस्ता र केही नेताहरू विजयको विरुद्धमा लागेका छन्। यो असन्तुष्टि यदि मतमा परिणत भयो भने गच्छदारको चुनावी गणित कमजोर बन्न सक्ने आकलन गरिएको छ। विजयले असन्तुष्ट नेता–कार्यकर्तालाई मिलाउन सके भगवतीसँग प्रतिस्पर्धा कडा हुने देखिएको छ। कांग्रेसको आन्तरिक असन्तुलन नै गच्छदारको सबैभन्दा कमजोर पक्षका रूपमा हेरिएको कार्यकर्ताको भनाइ छ।

सुनसरी–३ थारू समुदाय बाहुल्य क्षेत्र हो। यहाँ थारू मतदाताको भूमिकाले नतिजामा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ। यही मत आधारलाई लक्षित गर्दै कांग्रेस र एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अशोक चौधरी र नेपाली कम्युनिस्ट पार्टीले दुर्गेश चौधरीलाई उम्मेदवार बनाएका छन्। यद्यपि दुवै पार्टीको संगठन यस क्षेत्रमा कमजोर रहेकाले मुख्य प्रतिस्पर्धा भने भगवती र गच्छदारबीच नै सीमित हुने देखिन्छ।

रास्वपा उम्मेदवार अशोक चौधरीले आफू पुराना राजनीतिक अनुहारको विकल्प भएको दाबी गरेका छन्। सुनसरी–३ का जनताले दशकौंदेखि उही नेताहरू देखे। अब नयाँ सोच र नयाँ शैलीको राजनीति चाहिएको छ। संगठन कमजोर देखिए पनि जनताको चाहना आफ्नो पक्षमा रहेको अशोकको दाबी छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गेश चौधरीले पनि यस पटकको चुनाव आफूले नै जित्ने बताए। उनले वर्गीय राजनीति र थारू समुदायका मुद्दालाई संसदमा यसअघि जितेकाहरूले पूरा गर्न नसकेको बताए।

समग्रमा सुनसरी–३ को निर्वाचन पुरानो राजनीतिक विरासत र नयाँ शक्ति सन्तुलनबीचको संघर्षका रूपमा पनि हेरिएको कांग्रेस सुनसरीका महाधिवेशन प्रतिनिधि रवि राईले बताए। मन्त्री बनेर सरकारमा अनुभव बटुलेकी भगवती चौधरी र धेरै पटक मन्त्री तथा उपप्रधानमन्त्री बनेर आफ्नो दशकौं लामो प्रभाव पुनःस्थापित गर्न चाहने विजयकुमार गच्छदारबीचको चौथो भिडन्तले सुनसरी–३ को राजनीतिक भविष्यमात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने अपेक्षा गरिएको उनको भनाइ छ। सुनसरी क्षेत्र नम्बर–३ मा १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्। जसमध्ये ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ।

सर्लाहीमा नेता होइन, बेटा बन्न आएको हुँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएका छन्। सोमबार साँझ सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए।

यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उनले बताए। ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। मधेशले नेपाली कांग्रेसलाई लगाएको गुण, प्रजातन्त्रलाई लगाएको गुण र सिंगो नेपाललाई लगाएको गुणलाई राम्रोसँग जान्दछु,’ उनले भने, ‘मेरा बाआमा पहाडबाट काठमाडौं आएका हुन्। पहाडको बारेमा मलाई पहिलेदेखि नै थाहा छ। काठमाडौंमा जन्मेका हुर्केकाले मलाई काठमाडौंको सबै कुरा थाहा छ। तर, नेपाली कांग्रेसका नेता प्रदीप गिरिको संगतले मधेशको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो। जबसम्म मधेशमा आफूलाई समाहित गर्दिनँ, तब सम्म म पूर्णरूपमा नेपाली बन्न सक्दिनँ भनेर पनि मधेशबाट उम्मेदवारी दिएको हुँ।’

केही वर्ष पहिला हुलाकी सडक भएर मधेश आउँदा यहाँको साथीको संगत गरेको उनले बताए। ‘यहाँको प्रतिनिधित्व गर्छु भनेर आएको हुँ। विभिन्न आन्दोलनमा शहिद भएका मधेशले किन सम्मान पाएन त्यसको लागि पनि आफू मधेशबाट उम्मेदवारी दिएको हुँ,’ सभापति थापाले भने, ‘मधेश धेरै सम्भावना बोकेको ठाउँ हो। तर, यहाँका अधिकांश युवाहरू खाडीमा किन गएका होलान्, यसको उत्तर खोज्न आएको हुँ।’

उनले आफूले यो वा त्यो गर्छु भन्न नआएको बताए। ‘मसँग केही कार्यक्रम र योजनाहरू छन्। मेरो टिम यस क्षेत्रमा आएर काम गरिरहेको छ। यहाँ देखिएका समस्याहरू ५ वर्षभित्र समाधान गर्छौं,’ उनले भने। काठमाडौं ४ छोडेर आउँदा त्यस क्षेत्रका थुप्रै साथीहरूले छोडेर नजान आग्रह गरेको उनको भनाइ छ। ‘म त्यो साथीहरूप्रति ऋणी हुनेछु। ३-३ पटक साँसद बनाएका क्षेत्रका लागि मेरा घर सधैंभरिका लागि खुला राखेको छु,’ उनले भने।

उनले आफू जादुको छडीजस्तो यो गर्छु, त्यो गर्छु नभन्ने बताए। ‘मैले यहाँको विकास निर्माणको कामहरू गर्नुछ। शिक्षा, कृषि, स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ। यहाँको नौजवनाको जीवन निर्माणका लागि काम गर्नुछ। चुनाव जितेर गएपछि यहाँ स्थायी सांसदको कार्यालय राख्छु,’ उनले भने। निर्वाचन क्षेत्रमा आउँदै गर्दा साथीहरूले यहाँको भाषा दुई लाइन भए पनि सिकेर जान भनेको उनले बताए। ‘मैले भने म चटकेजस्तो काम गर्दिनँ। यहाँको भइसकेपछि यहाँको भाषा, संस्कृति, रहनसहन सबै सिकेर जान्छु। म यहाँ सिक्न आएको हुँ। एक लाइन सिकेर हात हल्लाएर जाने होइन। म यहाँको सबै कुरासँग भिजेर जान्छु। म यो क्षेत्रलाई देशको नमूना क्षेत्र बनाएर जान्छु। यो क्षेत्रलाई नमूना बनाएर गइनँ भने मेरो यो सबभन्दा ठूलो हार हुने छ,’ उनले भने।

सर्वोच्च अदालतले दिएन रेशम चौधरीको पक्षमा आद‍ेश

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उम्मेदवारी रद्द गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोधेको हो। अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो।

थाहरुट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिसांत्मक झडप भएको थियो। सो क्रममा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालककको हत्या भएको थियो। उक्त घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनैतहका अदालतले दोषी ठहर गरेको थियो

पछि, गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी कारागारमुक्त भएका थिए। उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

कैलालीबाट चुनावी अभियान सुरू गर्दै बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने भएका छन्। उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले सोमबार बालेन आफ्नो क्षेत्रमा आउने पुष्टि गरे। ‘उहाँ (बालेन) हाम्रो क्षेत्रबाटै सुदूरपश्चिमको भ्रमण गर्दै हुनुहुन्छ। मेरो क्षेत्रमा आयोजना हुने कार्यक्रममा पनि उहाँ सरिक बन्नुहुन्छ,’ अन्नपूर्णसँग उनले भने।

बालेन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। झापामा उम्मेदवारी दिएपछि पूर्वी पहाडी जिल्लाको चुनावी अभियानमा उनी सहभागीसमेत बनेका थिए।

यी हुन् राष्ट्रिय सभामा निर्वाचित गठबन्धनका १८ सांसद

राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्। कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए।

त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भए। त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भए।

त्यस्तै राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भए। लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भए।

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती विजयी भए।

राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। सातै प्रदेशमा कूल २०११ मतदाता रहेकामा १९२४ मत खसेको थियो।

स्थानीय माटोबाट विश्वस्तरीय डिजाइनसम्म: विश्व चौधरीको सिर्जनात्मक यात्रा

कारी महतो/चितवन
चितवनको राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा, यो केवल एउटा ठेगाना मात्र होइन, यही माटोबाट जन्मिएका एक युवा आर्किटेक्टको पहिचान पनि हो। यही ठाउँका निवासी विक्रम महतोका छोरा विश्व चौधरी आज स्थानीय स्तरमै रहेर आधुनिक वास्तुकलाको परिचय स्थापित गरिरहेका छन्।

विश्वले २०७२ सालमा काठमाडौं इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरे। अध्ययन सकेपछि उनले सीधै व्यवहारिक क्षेत्रमा पाइला टेके। शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभाग, बबरमहलमा ६ महिना काम गर्दै सरकारी संरचना, नक्सा र मापदण्डबारे अनुभव सँगाले। त्यसपछि उनले त्रिपुरेश्वरस्थित सिई कन्स्ट्रक्सनमा दुई वर्ष काम गर्दै निजी क्षेत्रको परियोजना, साइट म्यानेजमेन्ट र डिजाइन-निर्माण प्रक्रियामा आफूलाई निखारे।

अनुभवले परिपक्व बनाएको आत्मविश्वाससहित विश्वले आफ्नै व्यवसायिक यात्राको थालनी गरे। उनले खैरहनी नगरपालिका वडा नं. ८, पर्सा बजारमा ‘वन्डरस कन्स्ट्रक्सन प्रा.लि.’ स्थापना गरे। हाल उनी हिमालयन बैंकको माथिल्लो तल्लामा कार्यालय सञ्चालन गर्दै आर्किटेक्चरल डिजाइन, थ्रीडी भिजुअलाइजेसन र कन्स्ट्रक्सन, इन्टेरियर डिजाइनसम्बन्धी काम गर्दै आएका छन्।

विश्व चौधरीको सिर्जनात्मक क्षमता हालै सम्पन्न खिचरा महोत्सवमा झन् प्रस्ट देखियो। महोत्सव परिसरभित्र निर्माण गरिएको ओपेरा हाउस, बौद्धनाथ गुम्बा, प्रवेशद्वार (गेट) डिजाइन, स्टेज डिजाइन, ग्यालरी हाउस, महोत्सवको थ्रीडी आर्ट र एनिमेशन लगायत सम्पूर्ण डिजाइनको जिम्मेवारी उनले एक्लैले सम्हाले । परम्परा र आधुनिकताको सन्तुलन मिलाएर तयार गरिएका ती संरचनाले महोत्सवलाई केवल सांस्कृतिक कार्यक्रम मात्र नभई एक दृश्यात्मक अनुभव बनाइदियो।

स्थानीय पर्व, संस्कृति र समुदायको पहिचानलाई आधुनिक डिजाइन भाषामा उतार्नु विश्वको विशेषता हो । उनका डिजाइनमा केवल सुन्दरता मात्र होइन, सांस्कृतिक अर्थ र भावनात्मक सम्बन्ध पनि देखिन्छ । यही कारण उनका कामले दर्शकको ध्यान मात्रै तानेन, स्थानीय स्तरमै आर्किटेक्चरले कति ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गर्‍यो ।

विश्व चौधरी आज पनि ठूला शहर वा विदेशको मोहभन्दा आफ्नै क्षेत्रमै रहेर भविष्य खोजिरहेका छन् । उनी भन्छन्, “स्थानीय माटो, संस्कृति र आवश्यकता बुझेर गरिएको डिजाइन नै दिगो हुन्छ ।” यही सोचका साथ उनी चितवनबाटै विश्वस्तरीय वास्तुकलाको सपना कोर्दै अगाडि बढिरहेका छन् ।

पाकिस्तानमा हिन्दूमाथि लक्षित हिंसात्मक आक्रमणहरू राज्यको दण्डहीनताबीच निरन्तर जारी

सिन्धमा हालै एक हिन्दू किसानको हत्या हुनुले पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूको अत्यन्तै असुरक्षित अवस्थालाई पुनः एकपटक उजागर गरेको छ। कोली समुदायका युवा भाडाका किसान ती पीडित व्यक्ति जमिन प्रयोगसम्बन्धी विवादमा एक प्रभावशाली स्थानीय जमिनदारसँग झगडा भएपछि दिनदहाडै गोली हानी मारिएका थिए। यस घटनापछि सिन्धभर हिन्दू समुदायले सडक अवरुद्ध गर्दै न्यायको मागसहित विरोध प्रदर्शन गरे। यो घटना केवल एक हत्यासम्म सीमित थिएन; यसले पाकिस्तानमा विगत केही दशकदेखि हिन्दूहरूले भोग्दै आएको दण्डहीनता, सामन्ती शक्ति र धार्मिक बहिष्करणको गहिरो संरचनालाई प्रतीकात्मक रूपमा देखायो। हिन्दूहरूजस्ता अल्पसंख्यकहरूका लागि पाकिस्तान झुटा आरोप, जबर्जस्ती धर्म परिवर्तन, अपहरण, आर्थिक दबाब र लक्षित हिंसाले भरिएको शत्रुतापूर्ण स्थल बन्दै गएको छ।

२०२५ मा देखिएको सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको पाकिस्तानले अचानक अल्पसंख्यकविरोधी हिंसा “आविष्कार” गर्नु होइन, बरु त्यसलाई सम्भव बनाउने संरचना—कानुनको संगठित दुरुपयोग, नियमित दण्डहीनता र भीडद्वारा न्याय कार्यान्वयनको सामान्यीकरण—अब अस्वीकार गर्न कठिन भएको हो। पाकिस्तान मानव अधिकार आयोगले जनवरी २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार संगठित समूहहरूले ४५० भन्दा बढी व्यक्तिमाथि झुटा ईश–निन्दा आरोप लगाएका थिए, जसलाई उसले योजनाबद्ध र नाफामुखी कानुनी दुरुपयोग भनेको छ। यो हिन्दूहरूका लागि पनि उत्तिकै गम्भीर विषय हो, किनकि पाकिस्तानमा ईश–निन्दा आरोप हिंसालाई गुणात्मक रूपमा बढाउने साधन बनेको छ। जुलाई २०२५ मा इस्लामाबाद उच्च अदालतले संघीय सरकारलाई ईश–निन्दा कानुनको दुरुपयोग छानबिन गर्न आयोग गठन गर्न निर्देशन दिनु यस समस्या कति संस्थागत भइसकेको छ भन्ने कुराको संकेत हो, यद्यपि कार्यान्वयन अझै विवादास्पद नै छ।

२०२५ मा स्वतन्त्र मानव अधिकार प्रतिवेदनहरूले “धार्मिक अपराध” को कथन र भौतिक सम्पत्ति खोसिने प्रक्रियाबीचको सम्बन्धलाई पनि स्पष्ट पारे। ह्युमन राइट्स वाचले पाकिस्तानको ईश–निन्दा कानुनी संरचना कसरी ब्ल्याकमेल र नाफाका लागि प्रयोग गरिन्छ भन्ने कुरा दस्तावेज गरेको छ, जसमा धार्मिक अल्पसंख्यकलाई विस्थापित गराउने र उनीहरूको जमिन कब्जा गर्ने माध्यमका रूपमा यसको प्रयोग हुने देखिएको छ। यो विशेषगरी सिन्ध र दक्षिणी पञ्जाबमा बसोबास गर्ने हिन्दू अल्पसंख्यकहरूका लागि सान्दर्भिक छ, जहाँ भाडा खेती, बन्धुवा मजदुरी र स्थानीय शक्ति संरचनासँग पहिचानको प्रश्न गाँसिएको हुन्छ। एउटा आरोपले नै जीविकोपार्जन ध्वस्त पार्न सक्छ, परिवारलाई गाउँबाट विस्थापित गर्न सक्छ र पुनः फर्कन लगभग असम्भव बनाइदिन्छ।

अन्तर्राष्ट्रिय स्तरमा, संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गत वर्ष पाकिस्तानमा धार्मिक अल्पसंख्यकविरुद्ध हुने हिंसा र विभेदमा व्यापक दण्डहीनता रहेको चेतावनी दिएका थिए। उनीहरूले हत्या, मनपरी गिरफ्तारी, पूजा स्थल र चिहानमाथि भएका आक्रमणहरूलाई औंल्याएका छन्। उग्र धार्मिक आन्दोलनसँग जोडिएको भीड हिंसाबारे पाकिस्तानी सञ्चारमाध्यमको रिपोर्टिङले पनि बहुसंख्यक इस्लामवादी दबाब र सडक शक्तिले कसरी छिट्टै घातक रूप लिन सक्छ भन्ने देखाउँछ। राज्यको असमान प्रतिक्रियाले डरको चक्रलाई अझ बलियो बनाइदिएको छ। यस्तो खतरनाक वातावरणमा सिन्धका कट्टर मौलवी मियाँ मिठू वा तहरीक–ए–लब्बैक पाकिस्तान (TLP) का समर्थकजस्ता इस्लामवादी कट्टर समूहबाट हिन्दूहरू लक्षित आक्रमणको बढ्दो जोखिममा छन्, जो जबर्जस्ती धर्म परिवर्तन, अपहरण, झुटा ईश–निन्दा आरोप र अफवाह फैलाएर भीड उचाल्दै अल्पसंख्यकको सम्पत्ति दाबी गर्न परिचित छन्।

देशको अधिकांश हिन्दू जनसंख्या बसोबास गर्ने सिन्धमा ईश–निन्दा आरोपबाट सुरु हुने साम्प्रदायिक हिंसा पटक–पटक देखिँदै आएको छ। ढाँचा प्रायः उस्तै हुन्छ—आरोप लाग्छ, धार्मिक नेताले भीड उचाल्छन्, हिंसा भड्किन्छ, र प्रभावित हिन्दू समुदाय लुक्न वा विस्थापित हुन बाध्य हुन्छ। हिन्दू जनसंख्या कम रहेको पञ्जाबमा पनि यस्तै घटनाहरू देखिएका छन्। सेन्टर फर सोसल जस्टिसले उद्धृत गरेको लाहोरस्थित एक अध्ययनअनुसार २०२१ देखि २०२४ बीच कम्तीमा ४२१ अल्पसंख्यक महिला तथा बालिकालाई जबर्जस्ती धर्म परिवर्तन गराइएको थियो, जसमा ७१ प्रतिशत नाबालिका थिए र उनीहरू प्रायः हिन्दू तथा इसाई समुदायका थिए। यी घटनाले हिन्दूमाथिको साम्प्रदायिक हिंसा केवल कुनै एक क्षेत्रमा सीमित नभई भीडलाई न्याय निर्धारण गर्न दिने राष्ट्रिय असहिष्णु संस्कृतिमा गहिरो रूपमा जरा गाडेको देखाउँछ।

शारीरिक हिंसाभन्दा बाहिर, संरचनागत उत्पीडनले पनि हिन्दूहरूको नागरिक स्थानलाई सुकाउँदै लगेको छ। वर्षेनी नाबालिका हिन्दू बालिकालाई अपहरण गरी इस्लाम धर्म अपनाउन बाध्य पारिएको र मुस्लिम पुरुषसँग विवाह गराइएको रिपोर्टहरू आइरहेका छन्। कानुनी उपचार खोज्ने परिवारले ज्यान मार्ने धम्की, सुनुवाइमा ढिलाइ र प्रायः आरोपित धर्म परिवर्तनकर्ताको पक्षमा आउने अदालतका फैसलाको सामना गर्नुपर्छ। सार्वजनिक बहस र विधायी प्रयास भए पनि जबर्जस्ती धर्म परिवर्तनलाई अपराध ठहर गर्ने प्रभावकारी राष्ट्रिय कानुन अझै बनेको छैन, न त हिन्दू परिवारको पक्षमा ठोस न्यायिक नजिर नै स्थापित भएको छ। यस कानुनी शून्यताले अपराधीलाई हौसला दिएको छ र हिन्दू अभिभावकहरूमा डरको वातावरण सिर्जना गरेको छ।

पाकिस्तानका ईश–निन्दा कानुनहरूले अल्पसंख्यकको असुरक्षालाई अझ संस्थागत बनाएका छन्। पाकिस्तान मानव अधिकार आयोगको अनुमानअनुसार प्रत्येक वर्ष करिब १,००० गैर–मुस्लिम बालिका—अधिकांश हिन्दू र इसाई—लाई जबर्जस्ती इस्लाम धर्ममा रूपान्तरण गरिन्छ। यसको अर्थ मासिक रूपमा औसत २० वा सोभन्दा बढी अल्पसंख्यक समुदायका बालिका अपहरण र धर्म परिवर्तनको शिकार हुन्छन्, यद्यपि सरकारी तथ्यांकको अभाव र कम रिपोर्टिङका कारण यथार्थ संख्या पुष्टि गर्न कठिन छ।

राजनीतिक सन्दर्भले पनि यो वातावरणलाई थप गम्भीर बनाएको छ। वर्तमान सैनिक नेतृत्व फील्ड मार्शल सैयद आसिम मुनिरको कार्यकालमा राज्यको कथनमा धार्मिक राष्ट्रवादको पुनःउत्थान स्पष्ट देखिएको छ। मुस्लिम र हिन्दूबीचको वैचारिक विभाजनबारे मुनिरले सार्वजनिक रूपमा दिएको जोडलाई बहिष्करणकारी दृष्टिकोणलाई वैधता दिने रूपमा व्यापक रूपमा व्याख्या गरिएको छ। यस वैचारिक संरचनाले कट्टर इस्लामवादी समूहलाई थप स्थान दिएको छ, जसले आफूलाई अल्पसंख्यकविरुद्ध कारबाही गर्न सशक्त महसुस गर्न थालेका छन्। पाकिस्तानको सैनिक प्रतिष्ठानले कडा इस्लामी भाष्यप्रति देखाएको सहिष्णुताले स्थलस्तरमा प्रत्यक्ष प्रभाव पारेको तथ्य नकार्न सकिँदैन।

यसको परिणामस्वरूप धेरै हिन्दूहरूले आप्रवासनलाई नै एकमात्र व्यवहारिक बाँच्ने उपायका रूपमा हेर्न थालेका छन्। पछिल्लो एक दशकमा हजारौँ हिन्दू परिवारले असुरक्षा, विभेद र कानुनी संरक्षणको अभावको कारण देखाउँदै भारतमा शरण लिएका छन्। नागरिक समाजका अनुमान उद्धृत गर्ने प्रतिवेदनअनुसार करिब ५ लाख पाकिस्तानी हिन्दू भारतमा बसोबास गरिरहेका छन्, जो जबर्जस्ती धर्म परिवर्तन, अपहरण र विभेदजस्ता खतराबाट बच्न वर्षौँमा त्यहाँ पुगेका हुन्। पाकिस्तानमै बसिरहेका हिन्दूहरू भने सार्वजनिक उपस्थिति, धार्मिक अभिव्यक्ति र राजनीतिक सहभागिताबाट जोगिँदै अत्यन्त सतर्क जीवन बिताउन बाध्य छन्।

यसरी सिन्धमा हिन्दू किसानको हत्या कुनै पृथक घटना नभई एक भयावह निरन्तरताको हिस्सा हो। सामन्ती प्रभुत्व, इस्लामी धार्मिक उग्रवाद, कमजोर कानुनी शासन र वैचारिक बहिष्करणजस्ता शक्तिहरू मिलेर हिन्दूलाई पाकिस्तानका सबैभन्दा असुरक्षित समुदायमध्ये एक बनाएका छन्। सीमित राज्य संरक्षण र कट्टर इस्लामवादी समूहप्रतिको बढ्दो सहिष्णुताबीच पाकिस्तानका हिन्दू अल्पसंख्यकका लागि अब प्रश्न समानताको होइन, अस्तित्व जोगाउने संघर्षको बनेको छ।

तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा खिदनी थारूको मृत्यु

बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन्। गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर उनलाई चितुवाले आक्रमण गरेको हो।

नजिकै अन्य किसान पनि तोरि काटिरहेको बेला थारुलाई एक्कासी चितवुवाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चितुवाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पाेस्ट मार्टमकाे लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूका अनुसार पछिल्लो समय बर्दियामा चितुवासहितका वन्यजन्तुको आतंक बढ्दै गएको छ। गएको साउन यता मात्रै बर्दियामा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

रेशम चौधरीको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। कैलाली क्षेत्र नम्बर १ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ।

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।

२०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए। त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए। त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए।