गायक आरके थारूले बनाए संघाति ब्यान्ड, खिचरा महोत्सवमा प्रस्तुती दिँदै

गायक आरके थारूले आफ्नै ब्यान्ड बनाएका छन्। उनको ब्यान्डले पहिलोपटक चितवनको खिचरा महोत्सवमा आफ्नो प्रस्तुती दिँदैछ।

उनले आरके थारू एन्ड संघाति ब्यान्ड सुरू गर्न लागेका हुन्। थारू सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका आरके थारूले थुप्रै हिट गीतहरू दिएका छन्। उनले थारू म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्।

ब्यान्डका म्यानेजर नितेश चौधरीले लाइभ पर्फमेन्सको क्रेज बढेपछि ब्यान्ड बनाउनुपरेको बताए। यो ब्यान्डले थारू मौलिक सँस्कृतिलाई आत्मसात गर्दै आधुनिक शैलीलाई पछ्याउँदै अगाडि बढ्ने तयारी गरेको छ। आरकेका अनुसार यसले आफ्नो पहिलो प्रस्तुती माघ १० गते खिचरा महोत्सवमा दिँदैछ।

कैलाली १ मा नाउपा नेपालका उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीविरुद्ध उजुरी परेको छ। मनोनयन दर्ता बदर गर्नुपर्ने मागसहित उजुरी आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए। निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिएको छ।

बर्दियामा थारू उम्मेदवार नबनाएपछि वामदेव रुस्ट, उम्मेदवारी नबन्ने घोषणा

नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्।

उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्।

‘बर्दिया थारू जनघनत्व भएको जिल्ला हो। त्यहाँ जस्तोसुकै काम गर्दा पनि सफलताका लागि थारु र गैर थारु जनमतलाई सन्तलुन मिलाउनु पर्छ भन्ने तपाईँलाई पनि थाहा छ। तर, यस पटक जेनजी आन्दोलनको दुःखद अवस्थालाई समेत बेवास्ता गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले बर्दिया जिल्लाका दुबै निर्बाचन क्षेत्रमा पहाडी मूलका ब्यक्तिलाई उम्मेद्वार बनाउने निर्णय सही छैन। तसर्थ म वामदेव गौतमले यस्तो अवस्थामा बर्दिया १ नं. क्षेत्रबाट उमेदवारी नदिने निर्णयमा पुगें। कमरेडहरू तपाईँहरूले दिनु भएको उम्मेदवार बन्ने औपचारिक पत्र फर्काइदिएको छु,’ उनले भनेका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीले दिने पार्टी सञ्चालन सम्बन्धी जिम्मेवारी यथावत पूरा गरिरहने उनले बताएका छन्।

अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटोसहित)

थारु समाज सिड्नीले छैठौँ पटक माघी पर्व भव्य रूपमा सम्पन्न गरेको छ। थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघीको अवसरमा जनवरी १५ तारिख, माघ १ गते बिहीबार इन्द्रेणी फंक्सन सेन्टर, रकडेलमा विशेष कार्यक्रमको आयोजना गरी माघी पर्व हर्षोल्लासका साथ मनाइएको हो।

बेलुकी ५ बजे थारु परम्पराअनुसार पूजा–आजासहित कार्यक्रम सुरु गरिएको थियो । पूजाआजा पश्चात कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो ।थारु सोसाइटी सिडनीका सल्लाहकार रामेश्वर चौधरीको स्वागत मन्तव्यबाट औपचारिक रूपमा आरम्भ भएको थियो, पहिलो चरणमा औपचारिक कार्यक्रम र दोस्रो चरणमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै नेपालको दाङ देउखुरीबाट आउनुभएका कार्यक्रमका प्रमुख अतिथि खेम नारायण चौधरीले थारु समुदायको सभ्यता, इतिहास र पहिचानबारे प्रकाश पार्दै परदेशमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताए । उनले यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

त्यसैगरी थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले माघी पर्व प्रत्येक वर्ष झन्–झन् उत्कृष्ट र भव्य बन्दै गएको बताए । उनले कार्यक्रम अपेक्षा गरेभन्दा पनि सफल भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने थारु समाजका सम्पूर्ण सदस्य, स्वयंसेवक, कलाकार तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरे । आगामी दिनहरूमा पनि नेपालकै झल्को दिने गरी थारु कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एन्जाका अध्यक्ष कृष्ण तिवारी, निम्फाका अध्यक्ष लक्ष्मण गुरुङ तथा अन्य विभिन्न अतिथिहरूले माघी पर्वको विशेषतामाथि प्रकाश पार्दै माघीको शुभकामना व्यक्त गरेका थिए। सहभागी अतिथिहरूले बहुसांस्कृतिक समाज अष्ट्रेलियामा थारु समुदायले आफ्नो मौलिक पहिचान जोगाउँदै आएकोमा प्रशंसा गर्दै माघी पर्वको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएनएका पदाधिकारी, समाजसेवी तथा विविध समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालको पूर्वदेखि पश्चिमसम्मका थारु परिकार र मौलिक पहिरनहरूले सजिएर इन्द्रेणी फंक्सन सेन्टर रङ्गीन बनेको थियो । विभिन्न भूभागका थारु परिकार तथा पहिरनहरूको आकर्षक प्रदर्शनीले सहभागीहरूको ध्यान खिचेको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको क्याटवाकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका जिल्लाका परम्परागत पहिरनमा सजिएका युवा–युवतीहरूले प्रस्तुति दिँदा नेपालका विभिन्न भूगोल र संस्कृतिको जीवन्त झल्को देखिएको थियो । क्याटवाकमा सहभागी युवायुवतीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकहरूलाई कुनै प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी भएको अनुभूति दिलाएको थियो । क्याटवाक चलिरहँदा इन्द्रेणी फंक्सन सेन्टर दर्शकहरूको तालीले गुञ्जिएको थियो ।

सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले थारु जातिका विविध पहिरनमा सजिएर लाठी नाच, झुमरा नाच, वाक नाच लगायतका मौलिक नृत्य प्रस्तुत गरेका थिए ।गायक सविन चौधरीको प्रस्तुती पनी साह्रै रोमान्चक थियो। ती प्रस्तुतिहरूले थारु समुदायको मौलिकता, संस्कार र परम्परालाई उजागर गर्नुका साथै कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो ।

काठमा बाँधिएको स्मृति : विक्रम महतोको ‘लडिया’ र हराउँदै गएको थारू सभ्यता

कारी महताे/चितवन
खिचरा महोत्सवको प्रदर्शनीस्थलमा उभिएको एउटा काठको गाडा छ। त्यो गाडा केवल काठका चक्का, डाँडा र डोरीको संरचना मात्र होइन, त्यो थारू समाजको स्मृति हो, पसिना हो र इतिहास हो। गाडासँगै उभिएका छन् राप्ती नगरपालिका-६ निवासी विक्रम महतो, जसका हातले काठलाई बोल्न सिकाएका छन्।

चितवनमा यस काठको गाडालाई लडिया (लणिया) भनिन्छ। पश्चिम नेपालतिर यही गाडा लह्रिया वा लढिया नामले चिनिन्छ। नाम फरक भए पनि यसको आत्मा एउटै हो, थारू समुदायको जीवनसँग गाँसिएको आत्मा। एक जोडी गोरुले तान्ने यो लडिया कुनै समय थारू समाजको प्रमुख सवारी साधन थियो। खेतबाट अन्न बोक्ने, घरायसी सामग्री ओसार्ने, गाउँ-बस्ती जोड्ने काम यही लडियाले गर्थ्यो।

आज सडकमा गुड्ने आधुनिक साधनहरूले लडियाको स्थान लिएका छन्। तर, लडियाले बोकेको इतिहास, संस्कृति र पहिचान भने ती साधनले कहिल्यै बोक्न सक्दैनन्। यही कारण विक्रम महतोका हातले बनाएको लडिया आज केवल एउटा प्रदर्शनी सामग्री होइन, यो थारू सभ्यताको जिउँदो साक्ष्य बनेको छ।

गाडाको हरेक भाग काठकै छ, चक्का, फ्रेम, आसन, डाँडा  फलामको प्रयोग छैन, आधुनिक औजारको सहारा छैन। यो संरचनाले थारू समाजमा रहेको परम्परागत सीप, प्रकृतिसँगको सहअस्तित्व र काठप्रतिको गहिरो ज्ञानलाई उजागर गर्छ। कुनै समय चितवन जिल्लामा थुप्रै थारू मिस्त्रीहरू यस्ता लडिया बनाउँथे। तर समयक्रमसँगै ती सीपहरू बिस्तारै हराउँदै गए। आज ती सीपहरू बोकेर उभिएका छन्, विक्रम महतो। ५७ वर्षको उमेरमा उनी चितवनमा यस किसिमको काठको गाडा बनाउने सायद एकमात्र कार्यरत मिस्त्रीका रूपमा बाँकी छन्।

सानै उमेरदेखि हस्तकलामा निपुण विक्रमले वि.सं. २०३९ सालदेखि चाैध वर्षकाे कलिलाे उमेरमै यही कर्मलाई आफ्नो जीवनको पेशा बनाए। चार दशकभन्दा बढी समयदेखि उनले काठसँग संवाद गरिरहेका छन्, कहिले लडिया बनाएर, कहिले अन्य परम्परागत संरचना सिर्जना गरेर।

खिचरा महोत्सवका लागि बनाइएको यो लडिया सीमित समयमै हतार-हतार तयार गरिएको हो। “अलि धेरै समय पाएको भए, पुरानै शैलीमा जस्ताको तस्तै बनाउँथें,” विक्रम भन्छन्। उनका अनुसार यस्ता लडिया बनाउन आवश्यक सामग्री र पारिश्रमिक जोड्दा दुईदेखि साढे दुई लाख रुपैयाँ खर्च लाग्छ। खिचरा महोत्सवले विक्रम महतोको सीप मात्र होइन, थारू समाजको भुलिँदै गएको जीवनशैलीलाई पनि सार्वजनिक मञ्चमा ल्याइदिएको छ। प्रदर्शनी हेर्न आउने दर्शकहरूका लागि यो लडिया एउटा संरचना होइन, पुर्खाको कथा हो, श्रमको गाथा हो।

यही पेशाको भरोसामा विक्रम महतोले आफ्ना एकमात्र छोरालाई आर्किटेक्चर इन्जिनियर बनाएका छन्। परम्परागत सीप र आधुनिक शिक्षाबीचको यो सम्बन्ध आफैंमा एउटा प्रेरणादायी कथा हो, जहाँ काठका चक्का घुमेर भविष्यको बाटो खुल्छ। विक्रम महतो जस्ता स्रष्टा जोगिनु भनेको एउटा व्यक्तिलाई जोगाउनु होइन। यो लडिया, लह्रिया वा लढियासँगै बाँधिएको थारू सभ्यता, संस्कृति र इतिहासलाई बचाइराख्नु हो। लडिया, लह्रिया, लढिया-नाम जेसुकै होस्, यी सबै शब्दहरू आज स्मृतिका समानार्थी बन्दै गएका छन्।

गोरु नहुँदा पनि चक्का उभिएको छ। बाटो नहुँदा पनि गाडा तयार छ। केवल एउटा कुरा अभावमा छ, यसलाई बुझ्ने र जोगाउने समय। काठका चक्कामा आज पनि समय घुमिरहेको छ। हामीले त्यसलाई रोक्छौं कि फेरि बग्न दिन्छौं, निर्णय हाम्रो हातमा छ।

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सुशिलकुमार थारू र करण थारूको मृत्यु

बर्दियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक ठाकुर बाबा नगरपालिका-५ का २१ वर्षीय सुशिलकुमार थारू र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारूको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्‍याइएको थियो। राति १० बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्लाको मधुवन नगरपालिका-४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ जाँदै गरेको बा प्र ०१–०३२ च ७५५३ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसी देवेन्द्रकुमार मल्लका अनुसार गाडीका चालक मधुवन-४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो दुर्घटनापछि प्रहरीको रोहबरमा मृतकका आफन्त र सवारी धनीसहित समितिका पदाधिकारीका बीचमा छलफल जारी छ।

प्रभावशाली थारू नेता अमनलाल मोदीले मोरङ ४ मा पाए टिकट

नेपाली कमन्युनिस्ट पार्टीले मोरङ ४ मा अमनलाल मोदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रभावशाली थारू नेता मोदीले संसदीय इतिहासमा चौथो जितका लागि उम्मेदवारी दिन लागेका हुन्।

यसअघि उनी सोही क्षेत्रबाट तीनपटक निर्वाचित भइसकेका छन्। निवर्तमान सांसद मोदीले अघिल्लोपटक एमाले उम्मेदवार विनोदकुमार ढकाललाई पराजित गरेका थिए। मोदीले ३० हजार ६१२ मत ल्याउँदा ढकालले २४ हजार ४६३ मतमात्र ल्याएका थिए।

मोदीले २०७४ कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै संसद् यात्रा तय गरेका थिए। त्यसबेला मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए। त्यसअघि उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भए।

चीनका विस्तारवादी योजनाबारे पेन्टागनको मूल्याङ्कन : बेइजिङको मौनता सहमतिका संकेत

ताइवान, सेन्काकु टापुहरू र अरुणाचल प्रदेश चीनका ‘मूल हित’ (कोर इन्टरेस्ट) हुन् भन्ने पेन्टागनको प्रतिवेदनप्रति बेइजिङले कुनै प्रतिक्रिया नजनाउनु, अमेरिकी रक्षा मन्त्रालयको दाबीप्रति चीनको मौन सहमति भएको संकेतका रूपमा हेरिएको छ। पछिल्ला दिनमा चीनले गरेका गतिविधिहरूले पनि पेन्टागनको मूल्याङ्कन सही भएको पुष्टि गर्छन्।

हालै सार्वजनिक गरिएको पेन्टागनको प्रतिवेदनमा चीनले भारत–अमेरिका सम्बन्ध सुदृढ हुँदै गएको प्रक्रियामा अवरोध पुर्‍याउन खोजिरहेको उल्लेख गरिएको थियो, जसलाई बेइजिङले तुरुन्तै अस्वीकार गर्‍यो। तर, प्रतिवेदनको अर्को महत्त्वपूर्ण अंश—चीनका ‘मूल हित’ सम्बन्धी दाबी—प्रति चीनको मौनता निकै अर्थपूर्ण मानिएको छ। ताइवान वरिपरि चिनियाँ सशस्त्र बलले गरेका युद्धाभ्यास, जापानलाई दिइएका धम्कीहरू तथा अरुणाचल प्रदेशलाई चिनियाँ भूभाग भन्दै गरिएका दोहोरिएका दाबीहरूले चीनको आक्रामक रणनीतिबाट प्रभावित राष्ट्रहरूलाई गम्भीर रूपमा सचेत हुनुपर्ने अवस्था सिर्जना गरेको छ।

‘चीन सम्भवतः भारतसँग वास्तविक नियन्त्रण रेखा (एलएसी) क्षेत्रमा तनाव कम भएको अवस्थालाई उपयोग गर्दै द्विपक्षीय सम्बन्ध स्थिर राख्न र अमेरिका–भारत सम्बन्ध थप गहिरिन नदिन चाहन्छ,’ अमेरिकी रक्षा मन्त्रालयले ‘सन् २०२५ मा जनवादी गणतन्त्र चीनसँग सम्बन्धित सैनिक तथा सुरक्षा विकास’ शीर्षकको प्रतिवेदनमार्फत अमेरिकी कंग्रेसलाई जानकारी दिएको छ।

यो मूल्याङ्कन चीनको रक्षा नीति र क्षेत्रीय रणनीतिबारे गरिएको व्यापक समीक्षाको हिस्सा थियो। अपेक्षित रूपमा, भारतसँग सीमा क्षेत्रमा तनाव घटाएर अमेरिका–भारत सम्बन्ध कमजोर बनाउन चीनले प्रयास गरिरहेको भन्ने दाबीलाई बेइजिङले अस्वीकार गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी प्रतिवेदनको एक अंश अस्वीकार गरे पनि, चीनका तीन ‘मूल हित’ उल्लेख गरिएको अर्को अंशमा कुनै प्रतिक्रिया जनाएनन्। पेन्टागनका अनुसार ती मूल हितमा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण कायम राख्नु, चीनको आर्थिक विकास प्रवर्द्धन गर्नु र चीनको सार्वभौमिकता तथा भू–क्षेत्रीय दाबी विस्तार गर्नु पर्दछन्। प्रतिवेदनमा भनिएको छ—‘चीनको नेतृत्वले “मूल हित” भन्ने शब्दावलीलाई ताइवान, दक्षिण चीन सागरका भू–क्षेत्रीय विवाद, सेन्काकु टापुहरू तथा भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशसम्म विस्तार गरेको छ।’

चिनियाँ अधिकारीहरूले यी दाबीहरू अस्वीकार नगर्नु, ती दाबीहरूमा केही तथ्यगत आधार रहेको मौन स्वीकारोक्ति जस्तै देखिन्छ। यसले चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको विस्तारवादी अभिप्रायलाई उजागर गर्छ।

ताइवान जलडमरूमध्यमा चिनियाँ सशस्त्र बलले हालै गरेका सैनिक अभ्यासहरूले बेइजिङ ताइवानमाथि आक्रमणको योजना बनाइरहेको आशंकालाई थप बल दिएको छ। पछिल्लो अभ्यासमा, डिसेम्बर २९ र ३० मा, चिनियाँ सेनाले ताइवान वरिपरि नाकाबन्दीको अभ्यास गर्नुका साथै सम्भावित आक्रमणका क्रममा आवश्यक पर्ने ‘काउन्टर–इन्टरभेन्सन’ रणनीतिहरूको अभ्यास गरेको थियो। यस अभ्यासको उद्देश्य ताइवान र उसका सहयोगीहरूमाथि मनोवैज्ञानिक तथा राजनीतिक दबाब सिर्जना गर्नु रहेको मानिन्छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त अभ्यासप्रति आफू चिन्तित नभएको बताएका छन्। चीनले ताइवानमाथि आक्रमण गरेमा सैन्य सहयोग गर्ने प्रतिबद्धता अमेरिकाको छ।

यसैबीच, जापानका प्रधानमन्त्री सानाए ताकाइचीले चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य हस्तक्षेपको सम्भावनालाई नकार्न नसकिने संकेत दिएपछि बेइजिङले कडा प्रतिक्रिया जनाएको छ। चीनले जापानी सेनाले हतियार निर्माणमा प्रयोग गर्न सक्ने ‘द्वैध उपयोग’ का सामग्रीमा निर्यात नियन्त्रण लगाएको छ। टोकियोले ताइवान नजिकै पर्ने जापानी टापु योनागुनीमा क्षेप्यास्त्र तैनाथ गर्ने योजना पनि सार्वजनिक गरेको छ। चीनले ताइवानमाथि आक्रमण गरेमा युद्ध जापानको ढोकासम्म आइपुग्ने भएकाले जापानको आत्मरक्षा अधिकारअनुसार यो योजना जायज मानिएको छ। साथै, जापान सरकारले आगामी वर्षका लागि ५८ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी रक्षा बजेट पनि स्वीकृत गरेको छ, जसको उद्देश्य प्रत्याक्रमण क्षमता र तटीय रक्षा प्रणाली सुदृढ गर्नु हो।

सेन्काकु टापुहरूमा चीनले गरेको दाबीका कारण पनि जापानका यी रक्षा उपायहरू जायज ठहरिन्छन्। सन् १८९५ मा जापानमा गाभिएका ती टापुहरू दोस्रो विश्वयुद्धपछि सन् १९७२ सम्म अमेरिकाको प्रशासनमा रहे र पछि जापानलाई फिर्ता गरिए। त्यसयता जापानी नागरिकहरू त्यहाँ बसोबास गर्दै आएका छन् र सुक्खा माछा प्रशोधन तथा प्वाँख सङ्कलनजस्ता गतिविधिमा संलग्न छन्। यद्यपि टापुहरू जापानको प्रशासनिक नियन्त्रणमा रहँदै आएका छन्, चीनको त्यहाँ कहिल्यै स्थायी बसोबास रहेको थिएन।

पूर्वी चीन सागर क्षेत्रमा तेल भण्डार पत्ता लागेपछि मात्रै बेइजिङले ती टापुहरूप्रति चासो देखाउन थालेको हो। जापानको परराष्ट्र मन्त्रालयका अनुसार, ‘१८९५ मा सेन्काकु टापुहरू जापानमा गाभिएपछि करिब ७५ वर्षसम्म चिनियाँ सरकारले जापानको सार्वभौमिकतामाथि कुनै आपत्ति जनाएन। तर, १९७० को दशकमा पूर्वी चीन सागरमा तेल भण्डारको सम्भावना देखिएपछि चीनको ध्यान ती टापुहरूप्रति आकृष्ट भयो।’

चीन–भारत सम्बन्ध सामान्यीकरणको प्रक्रिया सुरु भइसकेपछि पनि, अरुणाचल प्रदेश—भारतको पूर्ण राज्य—चीनका मूल हितमध्ये एक भएको संकेत बेइजिङले बारम्बार दिएको छ। गत नोभेम्बरमा, अरुणाचल प्रदेशमा जन्मिएकी भारतीय राहदानी धारक प्रेम थोंगडोकलाई सांघाई विमानस्थलमा घण्टौँ नियन्त्रणमा राखिएको थियो। उनको राहदानी अमान्य भएको भन्दै चिनियाँ राहदानीका लागि आवेदन दिन भनिएको थियो। त्यस्तै, डिसेम्बर १५ मा एक भारतीय ट्राभल भ्लगरले अरुणाचल प्रदेशबारे अनलाइनमा गरेका टिप्पणीका कारण ग्वाङ्झाउमा झण्डै १५ घण्टा नियन्त्रणमा राखिएको आरोप लगाएका छन्।

पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनबीच विवादित भूभागमाथि पनि चीनले आफ्नो दाबीलाई正 ठहर्याउने प्रयास गरिरहेको छ। हालै सार्वजनिक भएको बलिउड चलचित्र ‘बैटल अफ गलवान’ को सन्दर्भमा, चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै ‘गलवान उपत्यका चीन–भारत सीमाको पश्चिमी खण्डमा पर्ने वास्तविक नियन्त्रण रेखाको चिनियाँ पक्षमा पर्छ’ भन्ने दाबी गरेको छ। तर, वास्तविकता के हो भने, अप्रिल २०२० मा चिनियाँ सेनाले भारत–चीनबीच सीमा व्यवस्थापनका लागि भएका द्विपक्षीय सम्झौताहरू उल्लङ्घन गर्दै ती विवादित क्षेत्रमा कब्जा जमाएको थियो।

ग्लोबल टाइम्सले मे ६, २०२० मा भारतीय सेनाले चिनियाँ भूभागमा अतिक्रमण गरेको आरोप पनि लगाएको छ। तर, ऐतिहासिक प्रमाणहरूले ती भूभाग प्राचीन लद्दाख राज्यअन्तर्गत पर्दै आएका र डोगरा शासनकालसम्म पनि लद्दाखकै नियन्त्रणमा रहेको देखाउँछन्।

विश्लेषकहरूका अनुसार, सैन्य, व्यापार, सांस्कृतिक र शैक्षिक क्षेत्रमा फैलिएका भारत–अमेरिका सम्बन्ध यति गहिरा र बहुआयामिक छन् कि चीन–भारत सम्बन्धको भविष्यका कारण ती प्रभावित हुने सम्भावना न्यून छ। बरु, अरुणाचल प्रदेश र गलवानबारे चीनले हालै लिएका अडानहरूले भारतसँग सम्बन्ध सुधार्न चीन साँच्चिकै इच्छुक छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएका छन्। साथै, स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्र भारतको आसियान राष्ट्रहरूसँगको सहकार्यका लागि पनि महत्त्वपूर्ण छ, जुन ताइवान वरिपरि चीनले गरिरहेका सैनिक गतिविधिसँग मेल खाँदैन।

बालेनको ‘कोर टिम’मा सुरेन्द्र चौधरी, झापादेखि कञ्चनपुरसम्मको चुनावी रणनीति बनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं थरुहट अभियन्ता सुरेन्द्र चौधरी भावी प्रधानमन्त्रीा उम्मेदवार बालेन्द्र शाह (बालेन)को ‘कोर टिम’ सहभागी हुने भएका छन्। बालेनको देशव्यापी चुनावी अभियानमा उनी कोर टिममा रहेर काम गर्नेछन्।

काठमाडौंका मेयरबाट राजीनामा दिएर बालेनले जनकपुरबाट चुनावी अभियान थाल्ने तयारी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा-५ मा उम्मेदवारी दिने तयारी गरेका बालेनको टिममा नेता सुरेन्द्रले उनको रणनीतिक भूमिकामा रहने बताइएको छ।

बालेन तराई क्षेत्रमा रहेका थारु बाहुल्य क्षेत्रमा पनि विशेष भ्रमण गर्दैछन्। हालै थरुहट नेताहरू सुरेन्द्र चौधरी, लक्ष्मण चौधरीलगायत रास्वपामा प्रवेश गरेका थिए।

रास्वपामा समायोजन भएपछि नेता सुरेन्द्र चौधरीले आगामी निर्वाचनको रणनीतिक भूमिका सक्रिय रहँदै आएाक छन्। बालेन सहभागी हुने झापादेखि कञ्चनपुरसम्मको यात्रामा उनले थारू बाहुल्य क्षेत्रको चुनावी रणनीति पनि तय गर्नेछन्।

नेता चौधरी रास्वपाको समातुपातिकतर्फ थारू कलस्टरमा पहिलो नम्बरमा छन्।

खिचरा महोत्सवबाट उदाए ‘थारू दुर्गेश’

खिचरा महोत्सवमा यूके ब्वाय उपनामले चिनिने उत्तम चौधरी दर्शकमाझ नयाँ पहिचानसहित उदाएका छन्। मञ्चमा गीत गाउँदै गर्दा हजारौँ दर्शकको भिडबाट “थारू समुदायमा दुर्गेसको उदय भएछ” भन्ने आवाज गुञ्जिएपछि उनलाई ‘थारू दुर्गेस’ उपनाम दिइएको हो।

कपिलवस्तु निवासी उत्तम चौधरीको आत्मविश्वासी प्रस्तुति, स्टेज प्रेजेन्स र र्याप शैलीले दर्शकलाई चर्चित गायक दुर्गेस थापाको झझल्को दिलायो। महोत्सवको माहोल उत्तमका गीतसँगै थप तातिएको थियो। उत्तमले थारू र नेपाली भाषाका आठवटा र्याप गीत प्रस्तुत गर्दै दर्शकलाई उफार्न सफल भए । उनका गीतमा थारू संस्कृति, पहिचान र आत्मगौरव प्रस्ट झल्किन्छ।

‘एनसेलका टावर बा, घोङ्घी ढिक्रीके पावर बा’ भन्दै गीत गाउँदा दर्शकदीर्घाबाट निरन्तर हुटिङ र समर्थन आएको थियो। त्यसैगरी, ‘जोर जोर चिल्लादु मै, मैहुँ एक थारू जात’ भन्ने र्यापमा थारू युवाहरू गर्वले छाती फुलाउँदै हुटिङ गर्दै उफ्रिएका देखिन्थे।

हालः कक्षा ११ मा अध्ययनरत १६ वर्षीय उत्तमले आफ्नो उमेरभन्दा परिपक्व र सशक्त सांगीतिक क्षमता प्रदर्शन गरिरहेका छन्। छोटो समयमै दर्शकको मन जित्न सफल उनी थारू युवामाझ प्रेरणाको केन्द्र बन्दै गएका छन्। यही गति र निरन्तरता कायम रह्यो भने उत्तम चौधरी भविष्यमा गायक दुर्गेस थापाकै समकक्षमा पुग्न सक्ने सम्भावना प्रबल देखिन्छ।