रन्जिताको प्रस्तावमा बर्दिया २ मा रेशमका बुबा लालवीर चौधरी नेकपाको उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)काे बर्दियाबाट लालवीर चौधरी उम्मेदवार बन्ने भएका छन्। केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको छलफलबाट बर्दियामा २ मा लालवीर चौधरीको उम्मेदवारी पक्का भएको हो।

यसअघि स्वतन्त्र लडेका उनी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै निर्वाचित भएका थिए। चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याएका थिए । लालवीर रेशम चौधरीका बुवा तथा रन्जिता श्रेष्ठका ससुरा हुन् । त्यस्तै बर्दिया १ मा वामदेव गौतम निर्वाचन लड्ने भएका छन् ।

गगन थापालाई निर्वाचन आयोगको मान्यता, योगेन्द्र चौधरी र गोपाल दहितको पनि जित

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाह चिन्ह रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो।

आयोगले मान्यता दिएसँगै गगन थापा आधिकारिक रूपमा नेपाली कांग्रेसको सभापति भएका छन्। तत्कालीन दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रका शर्माको अगुवाईमा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना भएको थियो। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु बराल, सहमहामन्त्रीमा महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी-जनजातिबाट बहादुर सिंह लामा, खस-आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका थिए।

कांग्रेस संस्थापन पक्षले विधान विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्रसी मन्सुरलाई कारबाही गरेको थियो। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि गगन थापाको समूह निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएको थियो। त्यसविरुद्ध संस्थापन पक्षले ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको निवेदन दिएको थियो।

यससँगै थारू नेताहरू योगेन्द्र चौधरी, डा. गोपाल दहितहरूको जित भएको छ भने विजय गच्छदार, उमाकान्त चौधरीहरू पराजय भएका छन्।

थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भइन्। थारू कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्तरुपमा काठमाडौँको टुँडीखेलमा आयोजित सभामा प्रमुख अतिथिका रूपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरिन्।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकीहरु प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराईँलाई आवाद बनाउने कर्मशील थारू समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताइन्।

उनले भनिन्, ‘मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ। थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो।’ विभिन्न समुदायहरूले फरक-फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उनले थपिन्, ‘हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’

विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उनको भनाइ थियो। उनले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका निम्ति भूमिका खेल्न पनि सबैलाई आह्वान गरिन्।

उनले भनिन्, ‘वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ। त्यसकारण, यस्ता सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ।’

दाङमा दुर्घटना हुँदा विशाल चौधरी मृत्यु

दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका-५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खिचराः थारू समुदायको नयाँ वर्ष, मुक्ति दिवस र जीवनपद्धतिको उत्सव

कारी महतो।

नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश हो । यही विविधताको सुन्दर र जीवन्त उदाहरण हो, थारु समुदायले मनाउने खिचरा पर्व । खिचरा केवल एक चाड मात्र होइन, यो थारु समुदायको नयाँ वर्ष, मुक्ति दिवस, आर्थिक वर्षको सुरुआत, सामाजिक पुनर्संरचना र सांस्कृतिक पहिचानको उत्सव हो।

स्थानअनुसार फरक-फरक नामले चिनिने यो पर्व पश्चिम नेपालमा माघ, खिचडी वा खिचरी, पूर्वी क्षेत्रमा तिला सक्राइत र चितवनका थारु समुदायमा खिचरा भनेर मनाइन्छ । नेपाल सरकारको सांस्कृतिक सूचीमा यसलाई ‘माघी’ पर्वका रूपमा सूचीकृत गरिएको छ । अन्य समुदायमा भने यही दिन माघे सक्रान्ति वा मकर सक्रान्तिका नामले चिनिन्छ।

नयाँ वर्षको सुरुआत र जीवनको नयाँ चक्र
थारु समुदाय खिचरालाई पुरानो साल समाप्त भएर नयाँ साल शुभारम्भ भएको दिनका रूपमा मनाउँछ । यसैले यो पर्व वर्षको परिवर्तन मात्र होइन, जीवनको नयाँ चक्र सुरु भएको संकेत पनि हो । वर्षभरि गरिएका कामको लेखाजोखा, पुराना सम्झौता टुंग्याउने र नयाँ योजना थाल्ने परम्परा यही दिनसँग जोडिएको छ।

परापूर्वकालीन थारु समाज सामाजिक वर्गीकरणमा आधारित थियो । त्यतिबेला जिम्दार, रैति र बहरिया गरी तीन वर्ग प्रचलनमा थिए । जिम्दार र केही रैति सम्पन्न वर्गमा पर्दथे भने धेरैजसो रैति र बहरिया आर्थिक रूपमा कमजोर थिए । जीविकोपार्जनका लागि उनीहरू धनी वर्गको घरमा एक वर्षका लागि अनुबन्धित श्रमिक बन्न बाध्य हुन्थे ।

खिचरा: श्रमबाट मुक्तिको दिन
बहरियाहरूका ती अनुबन्ध खिचराकै दिन समाप्त हुन्थे । त्यस दिनदेखि उनीहरू स्वतन्त्र मानिन्थे । यही ऐतिहासिक पृष्ठभूमिका कारण खिचरा पर्वलाई थारु समुदायले मुक्ति दिवस का रूपमा पनि सम्झन्छ । यो पर्व श्रम शोषणबाट मुक्ति, स्वतन्त्रता र आत्मसम्मानको प्रतीक बनेको छ । खिचरापछि गृहतले बहरियालाई बाँकी पारिश्रमिक दिने, कामको हिसाबकिताब मिलाउने र नयाँ सम्झौता नगरेसम्म स्वतन्त्र बस्न दिने चलन थियो । कसैलाई तिर्नुपर्ने ऋण, बक्यौता र लेनदेन पनि यही समयमा चुक्ता गरिन्थ्यो ।

पारिवारिक निर्णय र आर्थिक वर्षको थालनी
खिचरा पर्व थारु समाजमा पारिवारिक पुनर्संरचना सँग पनि जोडिएको छ । ठूला परिवारमा दाजुभाइहरू सँगै बस्ने कि छुट्टिएर बस्ने भन्ने निर्णय यही समयमा गरिन्थ्यो । पुरानो कारोबार बन्द गरेर नयाँ कारोबार सुरु गर्ने, घरमूली छनोट गर्ने र जिम्मेवारी बाँडफाँड गर्ने कार्य पनि खिचरा लगत्तै हुने गथ्र्यो । यसैले खिचरालाई थारु समुदायले नयाँ आर्थिक वर्षका रूपमा समेत लिने गर्छ ।

धार्मिक आस्था र सामाजिक परम्परा
खिचराको दिन देवघाट, त्रिवेणीलगायत विभिन्न धार्मिक स्थलमा गई दिवंगत आफन्तको बरखी सेलाउने चलन छ । यसले पूर्वजप्रतिको सम्मान र धार्मिक आस्थालाई बलियो बनाएको छ । खिचराको अघिल्लो दिन पुस मसान्तलाई ‘मछुवारी’ भनिन्छ । पहिले खोलानाला र तालतलैयामा गई माछा मार्ने गरिन्थ्यो । अहिले भने समय र परिस्थितिअनुसार बजारबाट पोखरीको माछा किनेर ल्याउने चलन बढ्दै गएको छ ।

माघी लाहान र भगिना बरामनको परम्परा
माघ १ गते चितवनका थारु समुदायका लागि खिचराको मुख्य दिन हो । यस दिन बच्चादेखि वृद्धसम्म सबैले सबेरै स्नान गर्नुपर्छ, जसलाई माघी लाहान भनिन्छ । स्नानपछि भानिज हुनेहरूले भान्जालाई दानदक्षिण दिन्छन् । भान्जा नभएकाहरूले ब्राह्मण बोलाएर दान गर्ने परम्परा छ । थारु भाषामा भान्जालाई भगिना बरामन भनिन्छ । भान्जालाई ब्राह्मणसरह मानेर दानदक्षिण दिनु थारु समाजको विशिष्ट र अनौठो सांस्कृतिक अभ्यास हो ।

चिच्चरको प्वाका: प्रकृतिको अमृत
दानपछि सबै मिलेर चिच्चरको प्वाका माछासँग खाने चलन छ । अनदीको चामल आठ–दश घण्टा भिजाएर पानी निकाली बाफमा दुई–तीन घण्टा पकाउँदा चिच्चर तयार हुन्छ । त्यसलाई केही समय सेलाएर डल्लो बनाई भोर्लाको पात (मन्हनक पाता) मा बेरेर बाँध्दा प्वाका बन्छ । भोर्लाको पात नपाएमा केराको पात आगोमा सेकाएर प्रयोग गरिन्छ ।

चिसो मौसममा चिच्चरको प्वाका शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ । यसले शरीरलाई न्यानो बनाउँछ । तर धेरै खाएर तुरुन्तै धेरै पानी पिउँदा शरीर अत्यधिक तातेर ज्वरो आउन सक्छ । यस्तो ज्वरोलाई थारु भाषामा पोक्जर भनिन्छ । हजुरबा–हजुरआमाका पालामा न्यानो कपडाको अभाव भएकाले पुस १५ देखि माघ १५ सम्म प्रायः हरेक दिन चिच्चरको प्वाका खाने गरिन्थ्यो । चिच्चर माछा, मासु वा विभिन्न तरकारीसँग खान सकिन्छ । लट्टे र चिच्चर उस्तै देखिए पनि लट्टेमा घ्यू हालिन्छ भने चिच्चर पूर्ण रूपमा प्राकृतिक हुन्छ ।

पहिचान, इतिहास र भविष्यको सेतु
खिचरा पर्व थारु समुदायको इतिहास, संघर्ष, श्रम, प्रकृति र सामूहिक चेतनासँग जोडिएको पर्व हो । आधुनिकता र समयको परिवर्तनसँगै परम्परामा केही बदलाव आएपनि खिचराले आज पनि थारु समुदायको पहिचान जोगाइराखेको छ ।
खिचरा पर्वले भन्छ, संस्कृति केवल मनाउने कुरा होइन, बाँच्ने तरिका हो । यही कारण खिचरा आज पनि थारु समुदायको आत्मा, इतिहास र भविष्यलाई जोड्ने सेतु बनेर जीवित छ ।

दुबईमा भब्य माघी कार्यक्रम

थारू भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले थारू कल्याणकारिणी सभा (थाकस) युएईले दुबईमा “थारू कला संस्कृतिः हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्दा हाम्रो अभियान” भन्ने मूल नारासहित माघी पर्व तथा थारू नयाँ वर्ष–२६४९ र द्वादश वार्षिक भेलाको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम ११ जनवरी २०२६ मा अष्टोरिया होटलको क्लब एभरेष्ट सभा हलमा विविध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न गरियो।

प्रवासमा रहेर पनि आफ्ना मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षझैं यस वर्ष पनि कार्यक्रम निरन्तरता दिइएको संयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्वको महत्त्व, सांस्कृतिक विशेषता र थारू समुदायको पहिचानबारे प्रकाश पार्दै अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए। कार्यक्रमको औपचारिक उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष तथा प्रमुख अतिथि भागरथी कुमार भगतसहित विशिष्ट अतिथि, अतिथि र बुद्धिजीवीहरूले दियो बालेर गरेका थिए।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले माघी पर्वको सांस्कृतिक महत्व, मौलिक भेषभूषा र परम्पराको संरक्षणका लागि प्रवासमै रहेर गरिएको प्रयासप्रति थाकस युएईको प्रशंसा गरेका थिए। प्रमुख अतिथि भगतले थारू भाषा, कला र संस्कृतिको जगेर्ना नगरे पहिचान गुम्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै संरक्षण र संवर्द्धनमा जोड दिएका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक खेम चौधरीसहित स्थानीय कलाकारहरू केशवराज महतो, कृष्ण गुंजन तथा श्याम सिटीको आकर्षक प्रस्तुति रहेको थियो। रामानन्द चौधरीको अध्यक्षता र नेफिन, युएईका अध्यक्ष भागरथी कुमार भगतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विभिन्न संघ-संगठनका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम केशवराज महतो र दिव्या चौधरीले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

‘थारू गाउँ’मा प्रस्तुती दिन तयार भए समीक्षा चौधरी र विजय चौधरी

थारूहरूको नयाँ वर्ष माघीको अवसरमा अहिले थारू बाहुल्य क्षेत्रमा मेला/महोत्सवको रौनक छ। थारू बाहुल्य क्षेत्रमा मात्र नभएर ठूल्ठूला सहरमा पनि मेला/महोत्सव लाग्दै आएको छ।

पश्चिम तराईका केही महोत्सवहरूमा भने ‘थारू गाउँ’को प्रचलन पनि प्रख्यात छ। विशेषतः मूल मेलाभित्र केही क्षेत्रमा थारू गाउँको नाम दिइएको मिनी महोत्सव लगाइन्छ। तर, थारू गाउँभित्र विकृति भएको भन्दै थारू कलाकारहरूले विरोध जनाउँदै आएका छन्। थारू गाउँमा थारू कला र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा भोजपुरी गीत र अश्लील नृत्यहरू प्रस्तुत गर्ने गरिएको थारू कलाकारहरूको आरोप छ।

तर, थारू गाउँलाई सुधारको बाटोमा लैजाने दायित्व पनि थारू कलाकारहरूकै रहेको केहीको बुझाइ छ। सोही दायित्व बोध गरेर टीकापुर महोत्सवको थारू गाउँमा केही थारू कलाकारहरूले आफ्नो प्रस्तुती दिने भएका छन्। गायिका समीक्षा चौधरी र विजय चौधरीले थारू गाउँमा प्रस्तुती दिन तयार भएका हुन्।

कैलालीका थारू अभियन्ता प्रसिद्ध चौधरीका अनुसार गायिका समीक्षा चौधरीले माघ १ गते र विजय चौधरीले माघ ५ गते थारू गाउँमा प्रस्तुती दिनेछन्। उनका अनुसार दुवै कलाकारले थारू गाउँमा निशुल्क प्रस्तुती दिन लागेका हुन्।
‘थारू गाउँका आयोजकले थारू कलाकाहरूलाई अफोर्ट गर्न सक्दैनन्। त्यही भएर पनि होला उनीहरूले स्थानीय कालाकार वा त्यस्तै खालका कलाकारहरूलाई प्राथमिकता दिएका। त्यसलाई निरुत्साहित गर्न थारू कलाकाहरूले नै भूमिका खेल्नुपर्छ भन्ने समीक्षाजी र विजयीजीलाई लागेको छ। त्यही भएर उहाँहरू थारू गाउँभित्र निशुल्क प्रस्तुती दिन तयार हुनुभएको छ,’ थारुवानसँग प्रसिद्धले भने।

अब आगामी दिनमा अन्य थारू कलाकारहरूले यसलाई कसरी हेर्छन् भन्ने कुरा हेर्न बाँकी छ।

खिचरा महोत्सवमा तीन युवती कलाकारको सिर्जनाले तान्यो दर्शकको नजर

कारी महतो/खैरहनी
११औँ संस्करणको खिचरा महोत्सवमा प्रवेश गर्ने बित्तिकै मूल गेट अगाडि उभिएका दुई रुख र मन्दिरको उत्तरपट्टि रहेको आर्ट ग्यालरीले अवलोकनकर्ताको ध्यान तानिरहेको छ। प्रदर्शनीमा राखिएका मनमोहक पेन्टिङ र विविध कलाकृतिले दर्शकलाई क्षणभर टक्क अडिन बाध्य बनाउँछन्। नजिकै गएर नियाल्दा र प्रदर्शकसँग संवाद गर्दा उनीहरू झन् उत्साहित देखिन्छन्।

त्यो आकर्षक आर्ट ग्यालरी खैरहनी-८ मा स्थापना गरिएको ‘आर्टिमुन्स स्टुडियो’ का सिर्जनाहरूको प्रदर्शनी हो, जसलाई सुमिना चौधरी, सरिना चौधरी र गुराँस ढुंगाना, तीन सिर्जनशील युवती कलाकारले संयुक्तरूपमा सञ्चालन गरेका छन्।

महोत्सव अवधिभर उनीहरूले आफैंले बनाएका पेन्टिङ तथा कलाकृतिहरूको बिक्री/वितरण गरिरहेका छन्। साथै, अवलोकनकर्ताको उत्साह बढाउँदै फेसपेन्टिङ सेवा पनि प्रदान गरिरहेका छन्, जसले विशेषगरी बालबालिका र युवापुस्तालाई आकर्षित गरेको छ।

सुमिना र सरिना चौधरी दिदीबहिनी हुन्। उनीहरू राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा निवासी हुन् र दुवैले ललितकला क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका छन्। स्नातकपछि विभिन्न विद्यालयमा आर्ट शिक्षकका रूपमा अध्यापन गर्ने क्रममा उनीहरूको भेट अर्की कलाकार गुराँस ढुंगानासँग भयो। गुराँस खैरहनी नगरपालिका वडा नं. ३, लदरी निवासी हुन् र हाल सोही विषयमा स्नातक तहमा अध्ययनरत छिन्।

सुमिना चौधरी हालः सैनिक आवासीय महाविद्यालयसहित विभिन्न विद्यालयमा आर्ट शिक्षकका रूपमा कार्यरत छिन् भने सरिना चौधरी ग्लोसाइन एकाडेमीमा अध्यापनरत छिन्। गुराँस ढुंगाना रत्ननगरस्थित शिक्षा विकास बोर्डिङ स्कुल र खैरहनीको ओसियन एकाडेमीमा आर्ट शिक्षकको रूपमा कार्यरत छिन्।

तीनैजनाको संयुक्त लगानी र सिर्जनात्मक सपनाबाट खैरहनी नगरपालिका वडा नं. ८ मा आर्टिमुन्स स्टुडियो स्थापना गरिएको हो। स्टुडियोमा चित्रकला तथा पेन्टिङ सिकाइनुका साथै उनीहरूले तयार पारेका आकर्षक पेन्टिङ र कलाकृति सामग्रीहरूको बिक्री पनि हुँदै आएको छ। घर, विद्यालय तथा क्याफेहरूमा आकर्षक वालपेन्टिङ गर्नु उनीहरूको अर्को विशेषता हो। साथै, विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि चित्रकला र पेन्टिङसम्बन्धी विशेष कक्षाहरू पनि सञ्चालन गर्दै आएका छन्।

खिचरा महोत्सवमा आर्टिमुन्स स्टुडियोको उपस्थितिले महोत्सवलाई थप रङ्गीन बनाएको छ। युवती कलाकारहरूको सिर्जनशीलता, आत्मविश्वास र उद्यमशीलताले स्थानीय कला क्षेत्रलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको देखिन्छ।

साधारण सदस्यसमेत नरहने गरी गगन र विश्वलाई कांग्रेसले गर्‍यो कारबाही

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीलाई अनुशासनको कारबाही गरेको छ। विशेष महाधिवेशन आह्वान गरी पार्टीको नीति विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

पार्टी सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकले उनीहरूलाई अनुशासनको कारबाही गरेको हो। उनले अपर्झट अनुशासनको कारबाही गर्नुपरेको बताए। विशेष महाधिवेशन पक्षका अन्य नेता-कार्यकर्तालाई भने पार्टीमा फर्किन आह्वान गरिएको छ।

‘अन्य पदाधिकारीलाई पार्टीको जिम्मेवारी सम्झेर पार्टीमा फर्किन आह्वान गर्ने निर्णय भएको छ,’ विश्वकर्माले भने। उनले कारबाही फुकुवाका लागि कारण खुलाई स्पष्टीकरण दिए त्यसको सुनुवाई हुनसक्ने बताए। त्यस्तै विशेष महाधिवेशन पक्षधरसँग वार्ता र सहमतिका प्रस्तावहरू भने स्थगित गरिएको उनको भनाइ छ।

शान्ति चौधरीको अंश मुद्दामा सर्वोच्च अदालतले भन्यो- सबै प्रेम अनि भावनात्मक सम्बन्धलाई विवाह भन्न मिल्दैन

सर्वोच्च अदालतले बिरामीको उपचारमा सहयोग गरेको वा बैंक खातामा इच्छाइएको व्यक्ति बनेको मात्र आधारमा वैवाहिक सम्बन्ध कायम भएको ठहर गर्न नमिल्ने व्याख्या गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, शारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले उपचारका नाममा गरिएको सहयोग वा बैंक खातामा इच्छाइएको व्यक्तिलाई वैवाहिक सम्बन्धको प्रमाण मान्न नसकिने ठहर गर्दै यसअघिको संयुक्त इजलासको फैसला उल्टाइदिएको हो।

शान्ति चौधरी र चुडाबहादुर श्रेष्ठबीच चलेको अंश मुद्दामा सर्वोच्चको पूर्ण इजलासले संयुक्त इजलासबाट भएको निर्णय त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

फैसलामा भनिएको छ,’जीवन-मरणको अवस्थामा पुगेको व्यक्ति शुभचिन्तकको विश्वासमा परी लिखितमा सहिछाप गर्न विवश हुन सक्छ। यस्तो अवस्थालाई स्वाभाविक मान्नुपर्छ। बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको सहिछाप वा बैंक खातामा इच्छाइएको विवरणलाई वैवाहिक नाता प्रमाणित गर्ने वस्तुनिष्ठ प्रमाणका रूपमा ग्रहण गर्न मिल्दैन।’

सर्वोच्चले विवाह प्रमाणित हुन विवाह दर्ता भएको वा सामाजिक रूपमा धार्मिक,सांस्कृतिक रीतिरिवाजअनुसार विवाह सम्पन्न भई परिवार तथा समाजसमक्ष दाम्पत्य सम्बन्ध स्थापित भएको हुनुपर्ने स्पष्ट पारेको छ।

यस्तै फैसलामा महिला र पुरुषबीच भावनात्मक सम्बन्ध,सहयोग,लेनदेन,पत्राचार,सँगै घुमफिर वा हेरचाह जस्ता व्यवहारले दुईजनाबीच सम्पर्क र सम्बन्ध देखिए पनि त्यसैका आधारमा वैवाहिक सम्बन्ध कायम रहेको भन्न नमिल्ने उल्लेख गरिएको छ।

शान्ति चौधरीले २०५० सालको भाइटीकाका दिन चुडाबहादुर श्रेष्ठसँग विवाह भएको दाबी गर्दै २०६१ सालमा अंश मुद्दा दायर गरेकी थिइन्। उनले चुडाबहादुरले दोस्रो विवाह गरी आफूलाई खान–लाउन नदिएको आरोप लगाउँदै सम्पत्तिमा अंश माग गरेकी थिइन्।

प्रमाणका रूपमा उनले भाइटीकाको दिन विवाह भएको दाबी, भारतको मद्रासमा मृगौला उपचारका क्रममा लेखिएको पत्र,थाइल्याण्डको राजदरबार दर्शनका क्रममा लेखिएको पत्र र बैंक खाताको विवरण पेश गरेकी थिइन्। तर, चुडाबहादुरले शान्तिसँग विवाह नभएको दाबी गर्दै बिरामी अवस्थामा समाजसेवीका रूपमा सहयोग मात्र लिएको अदालतसमक्ष बयान दिएका थिए।

सुरूमा भक्तपुर जिल्ला अदालतले २०६६ मंसिर २ गते दुवैबीच पति पत्नी नाता कायम हुन नसक्ने फैसला गरेको थियो। सो फैसला पुनरावेदन अदालत पाटनले २०६८ मंसिर १ गते सदर गरेको थियो। पछि सर्वोच्च अदालतको संयुक्त इजलासले २०७६ पुस २१ गते पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै शान्ति चौधरीलाई पति–पत्नी कायम गरी ४ भागको १ भाग अंश पाउने आदेश दिएको थियो।

तर,सो निर्णयविरुद्ध चुडाबहादुर श्रेष्ठले पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्चको पूर्ण इजलासले यही पुस ४ गते संयुक्त इजलासको उक्त फैसला उल्टाइदिएको हो। यससँगै शान्ति चौधरीले चुडाबहादुरको सम्पत्तिबाट अंश नपाउने भएकी छन्।