गहिरिँदो आर्थिक दबाबबीच चीनका ग्रामीण क्षेत्रमा बढ्दो विरोध प्रदर्शन

चीनको अर्थतन्त्र दीर्घकालीन मन्दी र संरचनागत चुनौतीसँग जुधिरहेका बेला देशका ग्रामीण क्षेत्रमा सामाजिक असन्तोष तीव्र रूपमा बढेको देखिएको छ। यो अवस्था सामाजिक तनावको गम्भीर वृद्धि भएको संकेत हो।

आर्थिक कठिनाइ, जग्गा विवाद तथा समुदायस्तरीय गुनासोबाट प्रेरित विरोध प्रदर्शनको वृद्धि विशेषगरी त्यस्ता क्षेत्रमा देखिएको छ, जहाँ रोजगारीका अवसर सीमित छन् र राज्य नीतिहरू स्थानीय परम्परा र अभ्याससँग ठोक्किन्छन्। यसले स्थानीय बासिन्दा र सरकारी निकायबीचको दूरी झन् फराकिलो हुँदै गएको देखाउँछ।

स्वतन्त्र निगरानी संस्थाहरूको तथ्याङ्कअनुसार सन् २०२५ मा ग्रामीण क्षेत्रका विरोध प्रदर्शनका घटनाहरू उल्लेख्य रूपमा बढेका छन्, जसले चीनका आन्तरिक भूभागमा बढ्दो अस्थिरतालाई उजागर गर्छ।

ग्रामीण विरोध प्रदर्शनका घटनामा तीव्र वृद्धि

फ्रिडम हाउससँग आबद्ध र मुख्यभूमि चीनभरि नागरिक असन्तोष अनुगमन गर्ने चाइना डिसेन्ट मोनिटर (CDM) का अनुसार, सन् २०२५ का पहिलो ११ महिनामा करिब ६६१ वटा ग्रामीण विरोध प्रदर्शनका घटना दर्ता भएका छन्। यो सङ्ख्या सन् २०२४ को सम्पूर्ण वर्षको तुलनामा करिब ७० प्रतिशतले बढी हो।

यी घटनाहरू व्यापक असन्तोषको एउटा हिस्सा हुन्। CDM ले सन् २०२५ को तेस्रो त्रैमासिकमा मात्र १,३९२ वटा विरोध प्रदर्शनका गतिविधि अभिलेख गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशत वृद्धि हो। यससँगै देशव्यापी रूपमा लगातार छैटौँ त्रैमासिकसम्म विरोध प्रदर्शन बढ्दो क्रममा रहेको देखिन्छ।

यद्यपि सबै विरोध प्रदर्शन ग्रामीण क्षेत्रमै केन्द्रित थिएनन्, ग्रामीण बासिन्दाहरू असन्तोष प्रकट गर्ने समूहको महत्वपूर्ण र बढ्दो हिस्सा बनेका छन्। उनीहरू श्रमिक, घरधनी तथा अन्य समूहहरूसँगै आर्थिक दबाब र सामाजिक नीतिसँग सम्बन्धित गुनासो व्यक्त गर्न सडकमा उत्रिएका छन्।

अर्थतन्त्र र ग्रामीण असन्तोष: चिन्ताजनक सम्बन्ध

ग्रामीण क्षेत्रमा बढ्दो विरोध प्रदर्शन चीनको समग्र आर्थिक मन्दीसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ। औद्योगिक उत्पादन र लगानीको वृद्धि सुस्त हुँदै जाँदा तथा सहरहरूमा रोजगारीका सम्भावना कमजोर बन्दै जाँदा धेरै आप्रवासी श्रमिकहरू आफ्नै गाउँ फर्किन बाध्य भएका छन्। तर गाउँ फर्किएपछि पनि उनीहरूले पर्याप्त आर्थिक अवसर नपाएको गुनासो व्यापक छ।

लियान्हे जाओबाओ मा प्रकाशित एक प्रतिवेदनले “ग्रामीण आप्रवासी श्रमिकहरूको ठूलो मात्रामा फर्किने र त्यहीँ बसोबास गर्ने अवस्था बन्न नदिनु” भन्ने सरकारी चिन्तालाई उल्लेख गरेको थियो। यो नीति–भाषाले ग्रामीण अर्थतन्त्रको जडता र सम्भावित संकटबारे जनस्तरमा थप चिन्ता र बहस जन्माएको छ। सहरमा जस्तो विविध रोजगारी र औद्योगिक आधार ग्रामीण क्षेत्रमा नहुँदा, कृषि वा अनौपचारिक काममा निर्भर ग्रामीण बासिन्दा समष्टिगत आर्थिक अवस्था कमजोर हुँदा झन् जोखिममा पर्छन्।

बलियो ग्रामीण रोजगारी नहुँदा गाउँ फर्किएका श्रमिकहरू प्रायः खेतीयोग्य जमिन, स्थायी आम्दानी वा जीविकोपार्जनका स्रोतविहीन अवस्थामा पुग्छन्। यस्ता अवस्था बारम्बार विरोध प्रदर्शनका कारणका रूपमा देखिँदै आएका छन्।

जग्गा र परम्परासँग ठोक्किने नीतिहरू

सन् २०२५ मा ग्रामीण विरोध प्रदर्शनका प्रमुख कारणमध्ये एक स्थानीय सरकारका ती कदमहरू बने, जसलाई बासिन्दाहरूले परम्परागत अभ्यास वा सम्पत्ति अधिकारमाथिको अतिक्रमणका रूपमा बुझे। हाइनानको लिङ्गाओ काउन्टी र ग्वाङ्सीको फुचुआन काउन्टीमा निजी रूपमा निर्माण गरिएका मन्दिर र कुलदेवता भवन भत्काइँदा गाउँले र सरकारी अधिकारीबीच हिंसात्मक झडपसमेत भएका थिए। यी स्थलहरू स्थानीय बासिन्दाका लागि सांस्कृतिक पहिचानका केन्द्र भएकाले, ती भत्काइँ व्यापक असन्तोषको विस्फोट बिन्दु बने।

त्यसैगरी, गुइझोउको सिफेङ काउन्टीमा मृत शरीरको दाहसंस्कार अनिवार्य गर्ने नयाँ स्थानीय आदेशविरुद्ध विरोध प्रदर्शन भए। यो आदेश दीर्घकालदेखि चल्दै आएका दाहसंस्कारबाहेकका अन्त्येष्टि परम्परासँग ठाडो रूपमा बाझिएकाले, गाउँलेहरूले यसलाई सांस्कृतिक आक्रमणका रूपमा लिए। यी घटनाहरूले ग्रामीण चीनमा देखिँदै आएको साझा प्रवृत्ति झल्काउँछन्, धुनिकीकरण वा प्रशासनिक सुधारको नाममा ल्याइने राज्य नीतिहरू जब स्थानीय मान्यता, ऐतिहासिक अधिकार र सामुदायिक पहिचानसँग ठोक्किन्छन्, तब तीव्र र दीर्घकालीन प्रतिरोध उत्पन्न हुन्छ।

आर्थिक दबाबले झन् चर्किएका पुराना गुनासो

अर्थशास्त्री र समाजशास्त्रीहरूका अनुसार चीनको ग्रामीण असन्तोष प्रायः जग्गा अधिग्रहण र सहर-गाउँबीचको आर्थिक असन्तुलनजस्ता संरचनागत समस्यासँग गाँसिएको हुन्छ। सन् २०२५ का केही विशिष्ट घटनाले ध्यान ताने पनि, ती विगतदेखि नै देखिँदै आएका जग्गा विवाद, जबर्जस्ती स्थानान्तरण र भ्रष्टाचारप्रतिको धारणासँग जोडिएका विरोधको निरन्तरता हुन्। अघिल्ला तथ्याङ्कहरूले आर्थिक मन्दी गहिरिनुअघि नै जग्गा खोसिने र जबर्जस्ती बसाइँसराइ ग्रामीण विरोध प्रदर्शनका प्रमुख कारण रहेको देखाइसकेका थिए।

आप्रवासी श्रमिकहरूको गाउँ फर्किने क्रमले, आम्दानीको स्रोत खुम्चिँदा र कतिपय अवस्थामा जग्गा अधिकारसमेत गुमाउँदा, यी तनावलाई थप चर्काएको छ। धेरै ग्रामीण क्षेत्रमा विस्थापित श्रमिकका लागि सुरक्षा कवचका रूपमा वाचा गरिएको सामुदायिक वा कृषियोग्य जमिन क्रमशः औद्योगिक वा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुन थालेको छ। यसले गाउँ फर्किएका बासिन्दालाई आर्थिक रूपमा अलपत्र र सामाजिक रूपमा निराश बनाएको छ।

विरोध प्रदर्शनको बदलिँदो स्वरूप

सन् २०२५ का ग्रामीण विरोध प्रदर्शनहरू परम्परागत जग्गा र सांस्कृतिक विवादमै सीमित छैनन्। ती स्थानीय शासन पद्धतिप्रतिको व्यापक असन्तोष पनि झल्काउँछन्। ग्रामीण असन्तोषसँगै श्रम, आवास र शिक्षा सम्बन्धी गुनासोहरू पनि जोडिनुले चिनियाँ समाजका विभिन्न क्षेत्रमा असन्तोष फैलिँदै गएको संकेत गर्छ। यी घटनाहरूको आवृत्ति र विविधताले एक समय छिटपुट र अलग–अलग देखिने ग्रामीण सक्रियता अब व्यापक अन्यायविरुद्धको सार्वजनिक अभिव्यक्तिको हिस्सा बन्दै गएको देखाउँछ।

यद्यपि यी आन्दोलनहरूमा राष्ट्रिय स्तरको समन्वय नदेखिए पनि, विभिन्न काउन्टी र प्रान्तमा एकसाथ देखिएका गतिविधिले समग्र रूपमा देशभर दर्ता हुने विरोध प्रदर्शनको सङ्ख्या उल्लेख्य रूपमा बढाएको छ।

राज्यको प्रतिक्रिया र सूचना नियन्त्रण

ग्रामीण क्षेत्रमा बढ्दो विरोध प्रदर्शनप्रति चिनियाँ राज्यको प्रतिक्रिया असन्तोष नियन्त्रण गर्ने दीर्घकालीन रणनीतिसँग जोडिएको छ। प्रायः दमन, लक्षित प्रहरी कारबाही र सञ्चार माध्यम तथा अनलाइन सामग्री नियन्त्रणमार्फत घटनालाई सीमित गर्ने प्रयास गरिन्छ। ‘ग्रिड=शैली सामाजिक व्यवस्थापन’ भनिने यो प्रणाली व्यापक निगरानी र स्थानीय रिपोर्टिङ सञ्जालमा आधारित छ, जसको उद्देश्य असन्तोष ठूलो आन्दोलनमा रूपान्तरण हुनुअघि नै नियन्त्रण गर्नु हो।

यस्ता संयन्त्र हुँदाहुँदै पनि, दर्ता भएका विरोध प्रदर्शनको बढ्दो सङ्ख्याले स्थानीय गुनासोहरू निरन्तर सतहमा आइरहेको र कहिलेकाहीँ सूचना अवरोध तोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानसमेत तानिरहेको देखाउँछ। चाइना डिसेन्ट मोनिटर जस्ता स्वतन्त्र पहलहरूले सार्वजनिक प्रतिवेदन, सामाजिक सञ्जालका सङ्केत र नागरिक समाजका दस्तावेजको सहायताले आधिकारिक माध्यममा नदेखिने असन्तोषको समग्र तस्वीर प्रस्तुत गर्ने प्रयास गर्छन्।

फराकिँदै गरेका सामाजिक चिरा

सन् २०२५ मा ग्रामीण विरोध प्रदर्शनको वृद्धि सीमित रोजगारी, स्थिर आम्दानी र बढ्दो जीवनयापन लागतजस्ता आर्थिक दबाब दीर्घकालीन संरचनागत समस्यासँग जुध्दा उत्पन्न सामाजिक तनावको स्पष्ट संकेत हो। आर्थिक पुनर्जीवन सुस्त रहेका र अवसर अभाव भएका क्षेत्रमा, दमनको जोखिम हुँदाहुँदै पनि जनस्तरको असन्तोष सामूहिक कार्यका रूपमा व्यक्त भइरहन्छ।

यी घटनाक्रमहरूले चिनियाँ समाजको गहिरो चिरालाई उजागर गर्छन्, जहाँ आर्थिक दबाब, जनसांख्यिकीय परिवर्तन, सांस्कृतिक मूल्य र स्थानीय शासनबीचको टकरावले राज्य र समाजबीचको सम्बन्ध झन् तनावपूर्ण बनाइरहेको छ। ग्रामीण चीनमा विरोध प्रदर्शनको संख्या र स्वरूप दुवै बढ्दै जाँदा, जनस्तरको प्रतिरोध देशको सामाजिक–आर्थिक परिदृश्यको स्थायी विशेषता बन्दै गएको देखिन्छ।

सोमिना चौधरी, जसले थारू संस्कृतिमा रङ भर्दैछिन्

खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका-६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् ।

विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उनले भनिन्, ‘थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।’

ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छन् । चार-पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले

खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, ‘पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।’

सानैदेखि पेन्टिङप्रति रुचि राख्ने चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ-ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।

‘आर्ट भनेको प्यासन हो’, उनले भनिन्, ‘यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।’ यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् ।

सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी-८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ ।

चौधरीले भनिन्, ‘खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।’ सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ ।

खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।

प्रदेश सांसदबाट राजीनामा दिएर बर्दिया-२ मा उम्मेदवारी दिने धर्मबहादुर चौधरीको घोषणा

लुम्बिनी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर चौधरीले पदबाट राजिनामा दिएर संघीय संसद‍्को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ (२) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । चौधरी शनिबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् । त्यसलगत्तै उनले बर्दिया २ बाट उम्मेदवार बन्ने घोषणा गर्दै प्रदेश सभा सदस्यबाट राजिनमा दिने बताएका छन् ।

‘मैले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा गरिसकेको छु, माघ ६ गतेभित्र नै लुम्बिनी प्रदेश सभामा सदस्य पदको पनि राजीनामा दिँदै छु,’ उनले भने, ‘अबको मेरो राजनीतिक यात्रा उज्यालो नेपाल पार्टीबाट हुनेछ।’

४३ वर्षकी मीना थारु, जसले दुधे बालक बोकेर निर्वाचन प्रहरीमा आवेदन दिइन्

रामप्रसाद चौहान/कान्तिपुरबाट साभार

जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार बिहानबाट निर्वाचन प्रहरीमा भर्तीका लागि आवदेन दिनेहरूको भीड थियो । लामो लाइनमा हातमा कागजपत्र र १५ महिनाको दूधे बालक काखी च्यापेर गुलरिया–९, टेपरीकी ४३ वर्षीया मीना थारु उभिएकी थिइन् । ठिहिर्‍याउने चिसोमा शिशु र उनको मुहार उत्साहित कम र मलिन धेरै देखिन्थ्यो । आवेदन बुझाउन आएकाहरूमध्ये उनी चिन्तामा डुबेको प्रस्ट देखिन्थ्यो ।

आम्दानीको उपाय नहुँदा खान लाउन समस्या भएपछि थोरै अवधिका लागि भए पनि निर्वाचन प्रहरीमा आवेदन बुझाउन आएको बताउने धेरै थिए । तर, मीनाको जवाफ भने फरक थियो । घर सल्लाह गरेरै बच्चा बोकेर आवेदन बुझाउन आएको मीनाले बताइन् ।

‘बच्चा बोकेर निर्वाचन प्रहरीमा जाने मेरो रहर होइन, बाध्यता हो,’ उनले भनिन्, ‘छोराको उपचार गराउँदा ऋण धेरै लागेको छ, श्रीमानले मजदुरी गरेको पैसाले तिर्न सकिएन ।’ त्यही ऋण चुकाउन भर्ती हुन चाहेको उनले बताइन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘म्यादी’ प्रहरी भइसकेको अनुभव उनीसित छ । ‘अहिले मौका पाएँ भने श्रीमानलाई ऋण तिर्न सघाउँथेँ,’ उनले भनिन् ।

परिवारको आर्थिक अवस्था नाजुक रहेको उनले बताइन् । अहिले उनको परिवार मुक्त कमैया भएबापत पाएको जग्गामा बसिरहेको छ । त्यो जग्गा बाँडफाँट गर्दा उनको भागमा १० धुर घरबास मात्र छ । उनका चार छोरी र एक छोरा छन् ।

खर्च नभएपछि जेठी छोरीलाई पढाउन नसकेर बिहे गरिदिएको उनले सुनाइन् । गाउँको विद्यालयमा माइली छोरी ८, साइली ४ र कान्छी छोरी २ कक्षामा पढिरहेको उनले बताइन् । ‘छोरा ७ महिनाको हुँदा धेरै बिरामी भयो, जाँच गराउँदा आन्द्रा बटारिएको थाहा भयो,’ उनले भनिन्, ‘अनि ऋण गरेर छोराको आन्द्राको अप्रेसन गरियो ।’ अप्रेसनका लागि स्थानीय बचत समूह र आफन्तसित ३ लाख ५० हजार ऋण लिएको उनले बताइन् । अहिले त्यही ऋण तिर्न धौ भएको उनले बताइन् ।

श्रीमान् रूपन्देहीको बुटवलमा मजदुरी गर्न गएका छन् । ‘अब माघी मनाउन घर आउनु हुन्छ होला,’ उनले भनिन्, ‘यसपालि पनि परिवारसित सल्लाह गरेर निवेदन बुझाउन आएकी हुँ ।’ यदि भर्ती भइहालेमा सासू आमाले छोराको रेखदेख गर्ने सल्लाह भएको छ ।

छोरा सासूको जिम्मा लगाएर आफू ड्युटी निभाउन जाने निधो गरिसकेको उनले बताइन् । गत निर्वाचनमा म्यादी प्रहरी भएर काम गरिसकेकाले ड्युटीबारे बुझेको उनको भनाइ छ । ‘त्यही अनुभवले गर्दा पनि यसपटक अवसर मिल्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

जिल्लामा १ हजार ८ सय ३६ जनाका लागि आवेदन खुलेको जिल्ला प्रहरीका डीएसपी देवेन्द्रकुमार मल्लले बताए । ‘शनिबार साँझसम्म ७ सय ५० जनाले आवेदन बुझाइसकेका छन्,’ उनले भने । जिल्लामा बेरोजगार युवाको निर्वाचन प्रहरीमा आकर्षण छ । भर्ना खुलेको दिनदेखि आवेदन बुझाउनेको जिल्ला प्रहरीअगाडि भीड छ ।

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारू समुदायले काठमाडौंको टुँडीखेलमा माघी पर्व मनाउने भएका छन्। थारू कल्याणकारिणी सभाको संयोजनमा र विभिन्न थारू संघ संघसंस्थाहरूको संयुक्त आयोजनामा थारू समुदायले पुस ३० गते र माघ १ गते दुई दिन काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएका हुन्।

थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सवका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए। माघी महोत्सवको प्रधानमन्त्री सुशीला कार्कीले उद्‍घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

मूल कार्यक्रमअघि माघ १ गते थारू संस्कृति, भेषभुषा, बाजागाजासहित बसन्तपुरमा भेला भइ झाँकी र्‍यालीसहित विबिभिन्न स्थानको परिक्रमा गर्दै टुँडीखेलमा सहभागी हुने चौधरीले बताए।

थारू कला संस्कृति हाम्रो परिचान, यसलाई संरक्षण र सम्बर्द्धन गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको माघी महोत्सवमा थारू खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँच प्रदर्शन गरिने आयोजकले जनाएको छ।

खिचरा महोत्सव : दिउँसो १ बजेसम्म टिकट निशुल्क, पार्किङ पूर्ण रूपमा निशुल्क

कारी महतो/चितवन
हरेक वर्ष खिचरा पर्वको अवसरमा आयोजना हुने खिचरा महोत्सवको ११औं संस्करण यस वर्ष पुस २९ देखि माघ १० गतेसम्म हुने भएको छ। सुर्ताना स्कुलको चौरबाट शुरु भएको महोत्सव खैरहनी माविको चौर हँदै खैरहनी नगरपालिका-५ को गौचरनमा हुनेछ। आज भएको पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए।

महोत्सवको प्रमुख उद्देश्य थारू कला सँस्कृतिको संरक्षण तथा थारू खानाका परिकारहरुको प्रवर्द्धन गर्नु हो। महोत्सव अवधिभर हरेकदिन थारू साँस्कृतिक कार्यक्रमलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं। महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।

महोत्सवमा सर्वसाधारण सबैको पहुँच बढाउनका लागि हरेक दिन १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। दिउँसो १ बजेपछि आउने अवलोकनकर्ताहरुले रु १०० को टिकट लाग्ने तथा विद्यार्थी सहुलियतका लागि ७० को टिकट लाग्ने जनाइएको छ। थप सुविधा लिन चाहने दर्शकहरूले ऐच्छिक रूपमा २०० को विशिष्ट टिकट लिन सक्ने जनाइएको छ। जेष्ठ नागरिक र अपाङ्गहरूलाई पूर्ण रूपमा निःशुल्क प्रवेश गराइनेछ। पार्किङ पूर्वरूपमा निःशुल्क हुनेछ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान! बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान!!’ मूल नाराका साथ महोत्सव लाई भब्य र सभ्यरूपमा सफल पार्नका लागि ३५१ सदस्यीय मूल आयोजक समिति र १५ वटा विषयगत समितिहरू गठन गरिएको छ। खैरहनी नगरपालिका-७ का वडाअध्यक्ष मनेजर महतो-९ का वडाअध्यक्ष बन्धुराम महतो र वडा-१० का वडाअध्यक्ष चन्द्रविक्रम चौधरी तीनैजना महोत्सवको सहसंयोजकका रूपमा रहेका छन्।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला सँस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादिन वस्तुको प्रवर्द्धन गराउन १५० वटा स्टल रहने छ। थारू जातिका लगायत विभिन्न जातिका खानाका परिकारहरू बिक्री वितरणका लागि २४ वटा होटल स्टल रहने जनाइएको छ। महोत्वलाई थप आकर्षक बनाउनका लागि यस वर्ष महोत्सव परिसरमा थारू आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा निर्माण गरिने र ओपेरा हाउस निर्माण गरिने भएको छ। प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको सम्पूर्ण आयोजना तथा व्यवस्थापन खैरहनी नगरपालिकाबाट गरिने भएको छ।

महोत्सवको संरक्षक खैरहनी नगरपालिका र थारू कल्याणकारिणी सभा, चितवन संरक्षकको रूपमा रहेको छ। महोत्सवको प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सहप्रायोजकको रूपमा छन्। महोत्सव थारू कल्याणकारिणी सभा, क्षेत्र नं ७, चितवनले आयोजना गरेको हो।

थारू संस्कार अनुसार विवाह गर्ने जोडीलाई दुई लाख

सन्तोष दहित।दाङ

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारू समुदायमा परम्परागत संस्कार र रीतिरिवाजअनुसार गरिने विवाह (बर्का भ्वाज) गर्ने जोडीलाई दुई लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार तुलसीपुरमा आयोजित नमुना भुह्यारथान तुलसीपुरको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३, मटाँवा महासंघ तुलसीपुरलगायत संस्थाहरूको सहआयोजनामा भएको माघ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

पछिल्ला वर्षहरूमा थारू संस्कारअनुसार गरिने विवाह परम्परा हराउँदै गएको उल्लेख गर्दै चौधरीले त्यसको संरक्षण र प्रवर्धनका लागि थारु सांस्कृतिक संग्रहालयमार्फत दुलाहा पक्षलाई एक लाख र दुलही पक्षलाई एक लाख गरी कुल दुई लाख सहयोग गरिने बताउनुभयो ।

त्यस्तै उहाँले थारु भेषभूषा, कला, संस्कृति तथा मौलिक गीत ढुम्रु, महोत्या, मागर, सज्ना, मैना, बर्किमार, छोक्रा, हुर्डङ्ग्या र दशैंमा गाइने सङ्ख्या लगायत गीतहरूको संरक्षण र प्रवर्धनका लागि विशेष प्याकेजसहित सहयोग योजना ल्याइएको जानकारी दिनुभयो । संग्रहालयबाट प्राप्त आम्दानी थारू भाषा, कला, संस्कृति, भेषभूषा र गीतसंगीतको संरक्षणमा लगानी गरिँदै आएको बताउँदै उहाँले थारू समुदायका विभिन्न विधामा अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याइएको जानकारी दिनुभयो ।

थारू भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी विषयमा स्नातकोत्तर तहको शोध (थेसिस) लेख्ने विद्यार्थीलाई पनि सहयोग गर्ने योजना रहेको उहाँको भनाइ थियो । “हाम्रो कला र संस्कृति रहे मात्र हामी थारू रहन्छौं,” चौधरीले भन्नुभयो, “त्यसैले हाम्रो पहिचान र अस्तित्व जोगाउन हामी आफैं सचेत र जागरूक हुनुपर्छ ।”

माघ थारू समुदायको महान पर्व मात्र नभई नयाँ वर्षको रूपमा पनि मनाउदै आएको चर्चा गर्दै उहाँले यो पर्वले थारु समुदाय मात्र होइन, छिमेकी समुदायबिच समेत सामाजिक एकता र सद्भाव बढाउने बताउनुभयो । माघ आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्व भएको उल्लेख गर्दै उहाँले माघी डेवानीमार्फत गाउँमा मटाँवा, अघवा र चौकदार चयन गर्ने परम्परा पुनः निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“मटाँवा र बरघर जोगिए मात्र हाम्रो पूजा, परम्परा, कला र संस्कृति सुरक्षित रहन्छ,” उहाँले भन्नुभयो, “सिंगो गाउँको संस्कृति मटाँवा र बरघरमै अडिएको हुन्छ, त्यसैले हरेक गाउँमा माघी डेवानीमार्फत मटाँवा र बरघर चयन गर्नुपर्छ ।” पहिले माघी डेवानीमार्फत बितेको वर्षको समीक्षा र आउने वर्षको कार्ययोजना बनाउने चलन रहे पनि अहिले त्यो अभ्यास थोरै गाउँमा मात्र सीमित भएको उल्लेख गर्दै उहाँले यस महत्वपूर्ण परम्परालाई पुनर्जीवित गर्न आग्रह गर्नुभयो ।

नमुना भुह्यारथानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजीवी आसाराम चौधरीले ढुम्रु गीतको महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माघमा गाइने ढुम्रु गीत तथा मघौटा नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण नमुना भुह्यारथानका सचिव नारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रममा थारु भाषा, साहित्य तथा कला संस्कृति क्षेत्रमा योगदान पुर्‍याउनुहुने अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपालमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लुम्बिनी प्रदेश सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष घिसिङले चौधरीलाई पार्टीमा प्रवेश गरेका हुन्।

टोपी र खादा ओढाएर चौधरीलाई पार्टीमा प्रवेश गराइएको थियो। उज्यालो नेपाल पार्टीले चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जनाएको छ।

पूर्वमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्वमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो स्थित आफ्नै निवासमा शनिबार विहान ११ बजे ८५ वर्षको उमेरमा उनको निधन भएको हो।

उनी पूर्व ऊर्जा तथा जलश्रोत सिंचाइ राज्यमन्त्री भएका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी सप्तरी निर्वाचन क्षेत्र ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट विजयी भएका थिए। उनले आफ्नै भाइ एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका थिए। चौधरीको श्रीमती, २ छोरा र १ छोरी छन्।
उनको आइतबार अन्त्यष्टि गरिने परिवारजनले बताएका छन्।

प्रधानपञ्चदेखि सांसदसम्म चन्द्रकान्तको यात्रा
देशमा भएका विभिन्न खालखण्डका राजनीतिक घटनाक्रमका साथी उनै चन्द्रकान्त चौधरी विं सं २००४ सालमा सप्तरीको पातो गाउँमा बुबा उमाकान्त चौधरी र आमा युदामणि चौधराइनको कोखबाट जन्मिएका थिए। राम्रो पारिवारिक वातावरणमा जन्मिएका उनको लालन पोषण पनि राम्रोसँग भयो। बुबा उमाकान्तलाई छोरा पढ्नुपर्छ भनेर राम्रो शिक्षा दिन चाहे। त्यसका लागि उनलाई छिमेकी देश भारत पढ्नकै लागि पठाए। चन्द्रकान्तले भारतबाट म्याट्रिक पास गरे। त्यतिबेला नेपालमा पञ्चायती व्यवस्था थियो। उनी नेपाल आएको केही समयमै सो क्षेत्रका प्रधानपञ्च भए।

प्रधानपञ्च भएपछि उनले समाज परिवर्त गर्ने उपायहरुबारे मनन गरे। शिक्षा नै त्यस्तो चिज हो जसले मानिसलाई ज्ञानगुनका कुरा मात्र सिकउँदैन, आत्सम्मान र व्यक्तिगत क्षमताको पनि विकास हुने भन्दै उनले गाउँमा स्कुल खोल्ने निर्णय गरे। त्यसका लागि चाहिने जमिन र पूर्वाधारहरुको खोजी पनि उनी आफैँले गरे। त्यसबेला उनले स्कुलका लागि ४७ विघा जमिन दान गरेको सम्झिन्छन्। ‘त्यतिबेला नेपाली जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर शिक्षामा लगानी गरेँ। ती दिन अहिले सम्झिँदा बडो खुसी लाग्छ,’ थारूवानसँग कुराकानीमा उनले भनेका थिए।

युवा उमेरमै प्रधानपञ्च भएका उनी लगातार ३० वर्ष नेतृत्व गरेका थिए। २०४६ सालको क्रान्तिपछि भने उनी नेपाली कांग्रेसमा आबद्ध भए। सामाजिक अभियन्ता र राजनेताको परिचयसमेत बनाएका उनलाई २०४९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट दिएको थियो। उक्त चुनावमा उनी पाता गाविस अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि पनि उनले जनताप्रतिको आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गरेका थिए। पार्टीभित्र पनि उनी जिल्ला कमिटी हुँदै केन्द्रीय नेतृत्वसम्मै पहुँच बनाएका थिए।

२०६२-६३ को जनआन्दोलनपछि धेरै नयाँ अनुहारहरू आए। लगत्तै भएको पहिलो संविधान सभा चुनावमा उनी तटस्थ बसे। एक दसकको विश्रामपछि उनमा पुनः चुनाव लड्ने इच्छा जागेर आयो। सरकार र जनताबीचको तिक्तताका कारण पनि उम्मेदवारी दिन उनलाई कर लाग्यो। २०७४ को स्थानीय चुनावका लागि उनले पार्टीमा लबिङ गरे, तर टिकट पाएनन्। उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए। पराजित भए पनि उनले उक्त चुनावमा सम्मानजनक मत ल्याएका थिए।

त्यही बेला चन्द्रकान्त मधेसी दलको नजरमा परेका थिए। उनलाई पार्टीभित्र भित्र्याउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम दुवैतर्फका नेताले तीव्र लबिङ गरेको उनले बताएका थिए। उनले अन्त्यमा भने राजपाबाट चुनाव लड्ने मनसाय बनाएका थिए। त्यसका लागि राजपाले पनि प्रतिनिधिसभाकै लागि उनलाई टिकट दियो। त्यतिबेला आफ्नै भाइको उम्मेदवारी पनि सो क्षेत्रबाट पर्‍यो। भाइ ताराकान्त चौधरी एमालेबाट उम्मेदवारी दिएका थिए। त्यतिका बावजुद पनि चन्द्रकान्तले हरेस खाएनन्।

जनताबीच आफ्नो असल म्यान्डेड बोकेर गए। नभन्दै उनी प्रतिनिधिसभा चुनावमा निर्वाचित पनि बने। ‘यो क्षेत्रमा मैले इमानको राजनीति गरेको छु। जसको परिणाम यहाँका स्थानीयले मलाई दिनुभएको छ। यहाँका जनताहरुको भरोसा मैले तोड्नु हुँदैन। यहाँका जनतालाई समृद्धिको बाटो डोर्‍याउने मेरो काँडमा आएको छ। जुन मैले सिरोपर ठानेर गर्नेछु,’ उनले भनेका थिए।

‘श्रीमान श्रीमतीको झगडा’ भन्नेहरूलाई रञ्जिताको जवाफ- आगोमा घ्यू हाल्न दौडिनु नैतिकता होइन

रञ्जिता श्रेष्ठ।

कैलाली क्षेत्र नं. १ लाई कसैले पनि स्वार्थ, षड्यन्त्र र सस्तो आरोपको अखडा ठानेर राजनीति गर्ने भूल नगरोस्। यहाँका जनताले धेरै देखेका छन्, धेरै भोगेका छन्, र कसले पीडाको राजनीति गर्‍यो र कसले जिम्मेवारी बोकेर काम गर्‍यो भन्ने कुरा राम्ररी बुझ्छन्।

२०७९ सालमा जनताले मलाई जनप्रतिनिधि बनाएपछि “के गरिस् ?” भनेर प्रश्न गर्नेहरूलाई म आज तथ्य र इतिहासका आधारमा जवाफ दिन चाहन्छु। म जुन एजेन्डा लिएर जनतामाझ गएको थिएँ, त्यो पूरा भयो कि भएन त्यसको जवाफ इमानदारीपूर्वक दिनुस्, हल्लाका आधारमा होइन। राजबन्दी रिहाइ कुनै संयोग थिएन, कुनै व्यक्तिगत सौदा थिएन। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्ट राजनीतिक इच्छाशक्ति र म क्याबिनेट मन्त्रीको जिम्मेवारीमा रहँदा गरिएको ठोस पहल बिना त्यो निर्णय सम्भव नै थिएन।

जो आज सजिलै टिप्पणी गर्छन्, उनीहरूलाई सोध्न चाहन्छु- त्यो बेला तपाईंहरू कहाँ हुनुहुन्थ्यो? हिजोको दिनमा थारू समुदायलाई योजनाबद्ध रूपमा हत्यारा सावित गर्न टेलिभिजन, रेडियो र मञ्च-मञ्चमा कराउनेहरूको इतिहास हामीले देखेकै हौँ। आज तिनै सोच बोकेकाहरू नयाँ शब्द र नयाँ आरोप लिएर फेरि देखापरेका छन्, तर इतिहास न मेटिन्छ, न मोडिन्छ।

अब अझ स्पष्ट रूपमा अर्को आरोपको जवाफ दिन चाहन्छु। मलाई र रेशमजीलाई “श्रीमान श्रीमतीको झगडा” भनेर दोष थोपर्नेहरूलाई। यदि साँच्चिकै हाम्रो व्यक्तिगत झगडा भएको भए, यदि यो घरायसी विवाद नै भएको भए, त्यो अंश मुद्दा, बहुविवाह मुद्दा वा व्यक्तिगत कानुनी विवादका रूपमा देखिन्थ्यो होला। तर यस्ता कुनै पनि मुद्दा छैनन्। किनकि यहाँ व्यक्तिगत झगडा थिएन। राजनीतिक असहमति र परिस्थितिजन्य मतभेदलाई श्रीमान श्रीमतीको झगडामा झार्नु
तर्कको होइन, राजनीतिक असफलता र कायरताको प्रमाण हो। आफ्नै जिम्मेवारीबाट पन्छिन अरूलाई दोष दिने काम नगरेकै राम्रो।

हिजो दाइ-भाउजु भन्दै हिँड्नेहरूलाई पनि सोध्न चाहन्छु- त्यो बेला मिलाउने, संवाद गराउने, जिम्मेवारी लिने ठाउँमा तपाईंहरूले के भूमिका खेल्नुभयो? अहिले परिस्थिति गाह्रो देख्दा आगोमा घ्यू हाल्न दौडिनु नैतिकता होइन। अब “रञ्जिता ले पद र कुर्सीको लागि थारू मुद्दा बिर्सिइन्” भन्नेहरूलाई पनि स्पष्ट जवाफ दिन्छु। रञ्जिता कुनै राजनीतिक पृष्ठभूमिबाट आएको व्यक्ति होइन। म राजनीति गर्न जन्मिएकी होइन। म परिस्थितिले राजनीति गर्न बाध्य बनाएकी नारी हुँ। म त्यही नाबालक सम्हालेर बसेकी आमा हुँ, जसको बुबालाई २०७२ सालको टीकापुर घटनामा नहुनु पर्ने झुटो मुख्य आरोपी बनाइयो। र, देशबाहिर बस्न बाध्य पारियो। त्यो पीडाले मलाई राजनीतिमा ल्यायो, कुर्सीको लोभले होइन, न्यायको खोजीले।

राजनीतिक पार्टी दर्ता गरियो, मलाई अध्यक्षको जिम्मेवारी दिइयो, र त्यो जिम्मेवारी मैले सजिलो भनेर होइन, सबैभन्दा गाह्रो जिम्मेवारी भनेर स्वीकार गरेँ। मैले पद खोजेकी होइन। मैले कुर्सी मागेकी होइन। मैले त झन् आफ्नो समय, श्रम, आत्मसम्मान र सहनशीलता दाउमा राखेर यो आन्दोलन जोगाएँ, अगाडि बढाएँ र सफल बनाएँ। यदि पदकै लोभ हुन्थ्यो भने यति आलोचना, यति चरित्र हत्या, र नारी भएको कारण हरेक निर्णयमा प्रश्न खेपेर यो बाटो हिँडिरहनु पर्ने थिएन।

झुटा कथा बनाएर, झुटा मुद्दा थोपरेर एउटी नारी नेत्रीलाई बदनाम गराउने प्रयास केवल राजनीतिक अपराध होइन, यो नारीमाथिको योजनाबद्ध प्रहार हो। तर इतिहासले सधैँ एउटै कुरा देखाएको छ- झुटो प्रचारले केही समय हल्ला मच्चाउन सक्छ, तर अन्तिम फैसला समयले नै गर्छ। समयसँग बहस कसैले जितेको इतिहास छैन।

अन्त्यमा स्पष्ट भनिन्छ, थारू मुद्दालाई प्रयोग गरेर नारीमाथि प्रहार नगर्नुस्। श्रीमान श्रीमतीको सम्बन्धलाई हतियार बनाएर राजनीति नगर्नुस्। जनताको पीडामाथि उभिएर सस्तो लोकप्रियता खोज्ने भ्रममा नबस्नुस्।