बंगलादेशमाथि तालिबानको छायाँ
“आम्रा सबै होबो तालिबान, बांग्ला होबे अफगानिस्तान” (हामी सबै तालिबान हुनेछौं, बंगलादेश अफगानिस्तान बन्नेछ), यो नारालाई करिब २००४ तिर आतंककारी समूह हर्कत-उल-जिहाद- बंगलादेश (HuJI-B) ले बंगलादेशमा लोकप्रिय बनाएको थियो। अहिले पुनः यो नाराले स्वतन्त्रता प्रेमी महिलाहरूलाई आतंकित बनाउँदैछ।
हिफाजत-ए-इस्लाम, अर्को कट्टर इस्लामी समूह, जुन HuJI-B सँग नजिकको सम्बन्ध राख्दछ, बंगलादेशमा तालिबानी विचारधारालाई प्रवर्द्धन गर्दै महिलाको स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासमा लागेको छ।
शेख हसिनाको सरकारले पतनपछि बंगलादेशमा धार्मिक सक्रियता बढेसँगै, यसै महिनाको सुरुतिर हिफाजत-ए-इस्लामका हजारौं समर्थकहरूले ढाकास्थित सुहरावर्दी उद्यानमा र्याली गर्दै महिलाको अधिकारका लागि अन्तरिम सरकारले गठन गरेको महिला मामिला सुधार आयोगलाई खारेज गर्न माग गरे। उनीहरूले उक्त आयोगको महिलासम्बन्धी सिफारिसहरूलाई इस्लामिक आस्थाको विरोधी भन्दै अस्वीकार गर्न माग गरे।
महिलालाई सशक्त बनाउने उद्देश्यले गठित आयोगले १९ अप्रिलमा मोहम्मद युनुसलाई प्रतिवेदन बुझाएको थियो। आयोगले संविधान संशोधन गरी विभेद उन्मूलन ऐन ल्याउने, व्यक्तिगत कानुनको सट्टा एकरूप पारिवारिक संहिता लागू गर्ने, संसदमा महिलाका लागि समानुपातिक आरक्षणसहित ६०० सिट पुर्याउने र महिलाका लागि समान पारिश्रमिक, सम्पत्ति अधिकार तथा स्वास्थ्य सेवामा समान पहुँचको सिफारिस गरेको थियो।
आयोगका ४३३ सिफारिसमध्ये सबैभन्दा आपत्तिजनक विषय इस्लामी कट्टरपन्थी समूहहरू जस्तै हिफाजत-ए-इस्लाम र जमात-ए-इस्लामीले महिलालाई समान सम्पत्ति अधिकार दिनु पर्ने सिफारिसलाई मानेका छन्। ¥यालीमा उनीहरूले विशेषगरी समान अधिकार, विशेष गरी सम्पत्तिसम्बन्धी प्रस्तावहरूको विरोध गरे।
यसै ¥यालीमा १२ बुँदे मागपत्र जारी गरियो, जसको पहिलो माग भनेको हालको महिला सुधार आयोग खारेज गरी इस्लामी विद्वान र महिलाका प्रतिनिधिहरू सम्मिलित नयाँ आयोग गठन गर्नु थियो। ¥यालीका नेताहरूले आयोगले इस्लामी उत्तराधिकार सम्बन्धी कानुनलाई पुरुष–महिलाबीच असमानताको कारण बताएको भन्दै मुस्लिम आस्थामा चोट पुर्याएको आरोप लगाए। उनीहरूले भने, “पुरुष र महिला कहिल्यै समान हुन सक्दैनन्।” कुरानमा उल्लेखित जीवनको संहिताभन्दा बाहिर जान सकिँदैन। उनीहरूका अनुसार समानता एक पाश्चात्य विचारधारा हो। उनीहरूले बंगलादेशको राज्य सैद्धान्तिक बहुलवादको पनि विरोध गर्दै “अल्लाहमा आस्था र विश्वास” मात्र राज्य सिद्धान्त हुनुपर्ने माग गरे।
हिफाजत-ए-इस्लामका प्रवक्ता मौलाना मामुनुल हकले आयोगको प्रतिवेदनले इस्लामी उत्तराधिकार व्यवस्था, पारिवारिक कानुन तथा अन्य धार्मिक नियमहरूले महिलामा विभेद गर्छ भन्ने उल्लेख आपत्तिजनक भएको बताए।
जमात-ए-इस्लामी, जुन बंगलादेशको सत्तारूढ गठबन्धनको एक प्रमुख घटक हो, ले पनि आयोगका सिफारिसहरू तत्काल रद्द गर्न माग गरेको छ। उनीहरूको भनाइमा, “पुरुष र महिलाबीच समानता सुनिश्चित गर्ने सिफारिस इस्लामी विचारधारालाई विकृत पार्ने दुष्प्रयास हो।”
तालिबानी विचारधारा, जुन कठोर इस्लामी व्याख्यामा आधारित छ, बंगलादेश र त्यसको पूर्ववर्ती पूर्वी पाकिस्तानमा नयाँ थियो। शरियत कानुन लागू गर्ने र पुरुषसत्तात्मक समाज निर्माण गर्ने तालिबानी सोच बंगलादेशका केही युवाले सन् १९८० को दशकमा अफगान–सोभियत युद्ध लड्न अफगानिस्तान गएपछि आत्मसात गरेका थिए।
तिनीहरू सन् १९९२ मा बंगलादेश फर्किएपछि हर्कत-उल-जिहाद बंगलादेश (HuJI-B) गठन गरे, जसलाई ओसामा बिन लादेनको अल–कायदाबाट प्रारम्भिक वित्तीय सहयोग प्राप्त भएको थियो। यो समूहको मुख्य लक्ष्य बंगलादेशलाई मध्यमार्गीबाट कट्टर इस्लामी राज्यमा रूपान्तरण गर्नु थियो। यसको रणनीति बंगाली संस्कृति र धर्मनिरपेक्ष राजनीति नष्ट गर्नु थियो।
तालिबानी शासनमा अफगान महिलाले जसरी स्वतन्त्रतामा कठोर प्रतिबन्ध, ड्रेस कोड, हिंसाबाट सुरक्षा नभएको अवस्था, बाल विवाह र राजनीतिक सहभागिताको निषेधको सामना गरे, त्यसै अनुसारको राज्य स्थापना HuJI-B को लक्ष्य थियो। HuJI-B ले मदरसाहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै युवाहरूलाई आतंककारी गतिविधिका लागि कट्टर बनाउने कार्य ग–यो। यस समूहले बंगलादेशमा धेरै राजनेताको हत्या र आक्रमणहरूमा संलग्नता देखाएको छ, जसमा शेख हसिनामाथिको आक्रमण पनि सामेल छ।
HuJI-B सन् २००५ मा प्रतिबन्धित भएको थियो। विगत दशकदेखि समूहको मुख्य कोर निष्क्रिय छ, तर बाँकी सदस्यहरू हिफाजत-ए-इस्लाममा मिसिएका छन्— फेरि अर्को कट्टर इस्लामी राजनीतिक समूह। हिफाजत-ए-इस्लामको सम्बन्ध अल–कायदामूलक समूहहरू जस्तै अन्सार अल इस्लाम (अथवा अन्सारुल्लाह बंगल टिम) र जमात मुजाहिदीन बंगलादेश सँग छ। यी समूहहरूले पनि बंगलादेशमा हत्या र विष्फोटका घटनाहरूमा संलग्नता देखाएका छन्।
हालै बंगलादेशमा तालिबानी प्रभावका देखिएका उदाहरणहरू मध्ये, केही महिला फुटबल खेलहरू रद्द गरिनु, सूफी दरगाहहरूमा तोडफोड र ‘इस्लाम विरोधी’ भनिएका सांस्कृतिक कार्यक्रमहरू रोक्नु प्रमुख हुन्। जनवरी अन्त्यदेखि फेब्रुअरी मध्यसम्म बंगलादेशमा तीन वटा महिला फुटबल खेलहरू कट्टरपन्थीको धम्कीका कारण रद्द गरियो।
२९ जनवरीमा जयपुरहाट र रंगपुरबीचको खेल इस्लामी समूहहरूद्वारा खेलमैदान तोडफोड गरेपछि रद्द गरियो। एक दिन अगाडि दिनाजपुरमा पनि खेल पूर्व-स्थलमा लठ्ठी बोकेर विरोध गर्दै आएको भीडका कारण खेल रोकियो। १९ फेब्रुअरीमा, इस्लामिक आन्दोलन बंगलादेशले रंगपुरमा महिला फुटबलको विरोधमा ¥याली गरे। उनीहरूका अनुसार, “महिलाले फुटबल खेल्न चाहन्छन् भने पूर्ण रूपमा शरीर ढाकेर मात्र खेल्नुपर्छ, त्यो पनि केवल महिला दर्शकहरूमाझ। पुरुषहरूले हेर्न पाउँदैनन्,” मौलाना अशरफ अलीको भनाइ बीबीसीमा उद्धृत गरिएको छ।
कट्टरपन्थी समूहहरूले मध्यमार्गी सूफी र अहमदिया मुस्लिमहरूलाई ‘काफिर’ भन्छन्। “हामी अहमदीयालाई मुसलमान मान्दैनौं। उनीहरू अधर्मी हुन्,” हिफाजत-ए-इस्लाम बंगलादेशका उपाध्यक्ष मुह्यिद्दीन रब्बानीको भनाइ उद्धृत गरिएको छ।
रब्बानीले अझै प्रस्ट पारेका छन्: “इस्लामी शासनमा बंगलादेशमा संगीत र कलालाई कुनै स्थान दिइने छैन। हाम्रो निर्णय इस्लामी शिक्षामा आधारित हुनेछ। हामीलाई संगीत मन पर्दैन, कला चाहिँदैन। हामी त्यसको विरोध गर्नेछौं।” तालिबानी छायाँ गहिरिँदै जाँदा, बंगलादेशको अग्रगामी सभ्यता र समृद्ध सांस्कृतिक सम्पदा गम्भीर संकटमा परेको छ।
Facebook Comment