भारत र ब्राजिलबीच आतंकवाद र संगठित अपराधविरुद्ध सहयोगसम्बन्धी सम्झौता
प्रधानमन्त्री नरेन्द्र मोदीको ब्राजिल भ्रमणका अवसरमा भारत र ब्राजिलले अन्तर्राष्ट्रिय आतंकवाद तथा संगठित अपराधविरुद्ध सघन सहकार्य गर्ने उद्देश्यले विभिन्न सम्झौतामा हस्ताक्षर गरेका छन्।
ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशबीच तीन प्रमुख सम्झौता सम्पन्न भएका हुन्। तीमध्ये, अन्तर्राष्ट्रिय आतंकवाद र संगठित अपराधविरुद्ध सहयोग, डिजिटल रूपान्तरणका लागि ठूला स्तरका डिजिटल समाधानहरूको साझेदारी, र नवीकरणीय ऊर्जामा सहकार्यसम्बन्धी समझदारी पत्रहरू प्रमुख हुन्।
भारतीय विदेश मन्त्रालयका पूर्व सचिव पी. कुमारनका अनुसार, उक्त सम्झौताहरू सूचना आदानप्रदान, अपराधीहरूको स्थानान्तरण, र गुप्तचर सूचनामा वास्तविक वा नजिक- वास्तविक समयमै सहकार्य गर्नेतर्फ केन्द्रित छन्। उनले बताएअनुसार यसले दुवै देशलाई आतंकवाद तथा अपराधसँग प्रभावकारी रूपमा सामना गर्न मद्दत पुर्याउनेछ।
त्यस्तै, भारत–ब्राजिलबीच थप तीन समझदारी पत्रहरूमा हस्ताक्षर गरिने बताइएको छ, जसमा कृषि अनुसन्धान, वर्गीकृत जानकारीको संरक्षण, र बौद्धिक सम्पत्ति सम्बन्धी सहकार्य समावेश छन्। यी सम्झौताहरू आजकै दिन हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाबीच अल्भोराडा दरबारमा द्विपक्षीय वार्ता सम्पन्न भएपछि सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री मोदीले राष्ट्रपति लुलालाई पहलगाम आतंकवादी आक्रमणको निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता जनाएकामा धन्यवाद दिए।
प्रधानमन्त्री मोदीले राष्ट्रपतिको साथ संयुक्त पत्रकार सम्मेलनमा भने, “भारत र ब्राजिलले आतंकवादप्रति साझा दृष्टिकोण लिएका छन्, शून्य सहनशीलता र शून्य दोहोरो मापदण्ड। आतंकवाद र यसलाई समर्थन गर्नेहरू दुवैको हामी कडा विरोध गर्छौं।”
प्रधानमन्त्री मोदी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन तथा द्विपक्षीय भेटघाटका लागि राष्ट्रपति लुलाको निमन्त्रणामा ब्राजिलको राजकीय भ्रमणमा छन्। भ्रमणको क्रममा उनले विश्वका विभिन्न नेतासँग समेत छलफल गरेका छन्।
Facebook Comment