विश्व व्यापारको फेरबदलबीच मोदीको दक्षिण अमेरिका भ्रमणले भारतको रणनीतिक सम्बन्धलाई कसरी गहिरो बनायो?
प्राकृतिक स्रोतहरू (तेल, खनिज, कृषि उत्पादन) मा धनी दक्षिण अमेरिकी मुलुकहरूसँग रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिना र ब्राजिलको भ्रमण गरेका छन्। यो भ्रमण उनको पाँच-राष्ट्रिय भ्रमणको हिस्सा हो। यसका अतिरिक्त, भारतले चिली र पेरुसँग व्यापार सम्झौताका लागि वार्ता गरिरहेको छ।
५७ वर्षपछि अर्जेन्टिनाको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बने। भ्रमणको उद्देश्य दक्षिण अमेरिकासँग द्विपक्षीय सम्बन्धलाई नयाँ गहिराइमा लैजानु हो। सरकारी अधिकारीहरूका अनुसार, अमेरिका र युरोपेली संघले व्यापारमा ट्यारिफ तथा कार्बन करजस्ता अवरोध सिर्जना गरिरहेका बेला भारतले वैकल्पिक साझेदारहरू खोज्दै आर्थिक अवसरहरू विस्तार गर्न रणनीतिक पहल गरिरहेको छ।
भारतले चीनमा कच्चा पदार्थ आयातमा निर्भरता घटाउँदै अर्धचालक, चिप्स, क्लिनटेक उत्पादनमा आत्मनिर्भर बन्न खोजिरहेकाले महत्वपूर्ण खनिजका लागि दक्षिण अमेरिकासँग सहकार्य आवश्यक देखिन्छ।
भारत-मर्कोसुर व्यापार सम्झौता: विस्तारको प्रयास
प्रधानमन्त्री मोदीले अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीसँगको भेटमा मर्कोसुर प्रिफेरेन्सियल ट्रेड एग्रीमेन्ट (PTA) को दायरा विस्तार गर्न भारतको चासो व्यक्त गरे। भारत मर्कोसुर राष्ट्रहरू (अर्जेन्टिना, ब्राजिल, पाराग्वे, उरुग्वे) बाट भटमास, कुखुरा, चिनी लगायत कृषि उत्पादनमा पहुँच विस्तार गर्न चाहन्छ। साथै, भारतले सेवाक्षेत्र, औद्योगिक उत्पादन, औषधि तथा कपडामा पनि प्राथमिकता पाउन चाहेको छ।
भारत-मर्कोसुर PTA जनवरी २००४ मा हस्ताक्षर र २००९ देखि लागू भएको हो। यसअन्तर्गत दुवै पक्षले सयौं वस्तुमा १०-१०० प्रतिशतसम्म ट्यारिफ छुट दिएका छन्। सम्झौता पूर्ण स्वतन्त्र व्यापार सम्झौता नभएर सीमित वस्तुहरूमा ट्यारिफ छुटमा आधारित छ।
अर्जेन्टिनासँग रणनीतिक खनिज र रक्षा सहकार्य
जुलाई ५ मा अर्जेन्टिनाको ब्यूनस आयर्समा भएको मोदी–माइली वार्तापछि दुई देशले महत्वपूर्ण खनिज, शेल ग्यास, रक्षा उत्पादन, अन्तरिक्ष, डिजिटल स्वास्थ्य, टेलिमेडिसिन र सूचना प्रविधिमा सहकार्य सुदृढ पार्ने निर्णय गरेका छन्।
विदेश मन्त्रालयका सचिव (पूर्व) पी. कुमारनले भारतले डिजिटल पूर्वाधार, टेलिमेडिसिन र सूचना प्रविधिको अनुभव अर्जेन्टिनासँग बाँड्न इच्छुक रहेको जानकारी दिए।
द्विपक्षीय व्यापार सन् २०२२ मा ६.४ अर्ब डलर पुगेको भए पनि २०२३ मा खडेरी र विदेशी मुद्रा संकटका कारण ३९% घटेर ३.९ अर्ब डलरमा झरेको थियो। तर, २०२४ मा सुधार हुँदै ५.२ अर्ब डलरमा पुगेको छ। भारत अहिले अर्जेन्टिनाको चौथो ठूलो व्यापार साझेदार हो।
ब्राजिलसँग स्वच्छ ऊर्जा र आतंकवाद विरोधी सम्झौता
जुलाई ७ मा प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाबीच द्विपक्षीय वार्ता सम्पन्न भयो। त्यस क्रममा चारवटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ, नवीकरणीय ऊर्जा, आतंकवाद विरुद्धको सहकार्य, कृषि अनुसन्धान (ICAR-EMBRAPA), र वर्गीकृत सूचना आदानप्रदानसम्बन्धी सम्झौता।
भारत-ब्राजिल व्यापार २०२४-२५ मा १२.२ अर्ब डलर पुगेको छ। भारतबाट ब्राजिलतर्फ पेट्रोलियम, कृषि रसायन, औषधि, इन्जिनियरिङ उत्पादन निर्यात हुन्छ; ब्राजिलबाट भारतले कच्चा तेल, सोयाबिन तेल, सुन, कच्चा चिनी र कपास आयात गर्छ।
ब्राजिलमा भारतीय लगानी ६ अर्ब डलरभन्दा बढी पुगेको छ। भारतमा टाटा मोटर्स, महिन्द्रा, इन्फोसिस, विप्रो, सन फार्माजस्ता कम्पनीहरू सक्रिय छन् भने भारतमा ब्राजिलियन कम्पनीहरू स्टेफनिनी, भेल र WEG पनि सञ्चालित छन्।
चिलीसँग व्यापक आर्थिक साझेदारी (CEPA) तर्फ अग्रसरता
भारत र चिली विस्तारित आर्थिक साझेदारी सम्झौता (CEPA) को पहिलो चरणको वार्ता मे ३० मा सम्पन्न भएको हो। CEPA ले डिजिटल सेवा, लगानी, रणनीतिक खनिज, महिला सशक्तिकरण, साना उद्योग, पारदर्शिता, बौद्धिक सम्पत्ति अधिकारजस्ता विविध पक्ष समेट्नेछ।
वार्ताको दोस्रो चरण जुलाई–अगस्ट २०२५ मा तय गरिएको छ। भारत–चिली व्यापार सन् २०२४–२५ मा ३.६ अर्ब डलर पुगेको छ-२०१६-१७ को तुलनामा दोब्बर। यद्यपि, भारतले चिलीसँग सधैं व्यापार घाटा बेहोर्दै आएको छ; सन् २०२४–२५ मा यो घाटा २.५ अर्ब डलर रहेको छ।
पेरुसँग व्यापार सम्झौता प्रक्रियामा
भारत र पेरुबीच सात चरणको व्यापार वार्ता पूरा भइसकेको छ। आठौं चरण जुलाईको अन्त्यमा पेरुमा हुने बताइएको छ। पेरु ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका देशहरूमा भारतको तेस्रो ठूलो व्यापारिक साझेदार हो। विगत दुई दशकमा दुवै देशबीचको व्यापार ६ करोड ६० लाख डलरबाट बढेर २०२३ मा झन्डै ३.६८ अर्ब डलर पुगेको छ।
यो व्यापार सम्झौताले द्विपक्षीय लाभ, सहकार्य र रणनीतिक साझेदारीमा थप गति ल्याउने अपेक्षा गरिएको छ।
Facebook Comment