नेपालको जेन-जी विद्रोहले दिएका सन्देश

डीवि थारु (कविर)
सर्वप्रथम जेन-जी विद्रोहका सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सेप्टेम्बर ८-९ नेपालमा जेन-जी प्रोटेस्ट भयो। जसलाई जेन-जी विद्रोह भनिएको छ। यो नेपालमा देशव्यापी दुई दिनमात्र भयो। परिणाम देशका प्रायः प्रमुख ऐतिहासिक राष्ट्रिय संरचनाहरू ध्वस्त भए। महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भए। खरबौंको अपुरणीय क्षति भयो। प्रदर्शनकारी, कैदी र प्रहरी अधिकारीहरू गरी हालसम्म ७६ जनाको मृत्यु भयो। एमाले-कांग्रेसको बलियो सरकार ढल्यो। बदलामा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। बन्द गरिएका सामाजिक सञ्जालहरू फुकुवा भए। निकै छोटो तर ध्वन्सात्मक रहेको यो विद्रोहले धेरै प्रश्नहरू जन्माएको छ। तीमध्ये, को हुन जेन-जी? विद्रोह हुनुका कारण के हुन्? यसले के सन्देशहरू दिएको छ? यी तीन प्रश्नको जवाफ खोज्ने प्रयत्न गरिएको छ।

को हुन् जेन-जी?
विशेषगरी समाजशास्त्री, मानवशास्त्री, इतिहासकारहरूले सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र विज्ञानप्रविधि विकासको आधारमा विभिन्न पुस्तालाई नामाकरण र वर्गीकरण गरेका छन्। Karl Mannheim (1893-1947) जर्मन समाजशास्त्रीलाई generation theory (पुस्ताको विचारधारा) प्रस्तुत गर्ने प्रमुख विद्वान मानिन्छ । पछिल्ला दशकहरूमा William Strauss र Neil Howe जस्ता लेखकहरूले Baby Boomers, Generation X, Millennials, Generation Z जस्ता वर्गीकरण लोकप्रिय बनाए। समाजशास्त्री इतिहासकार वा अनुसन्धानकर्ताहरूले पुस्ता अनुसारको विचार, संस्कार, प्रवृति र जीवनशैलीलाई छुट्याएर वर्गीकरण गरेका छन्।

हालसम्म विद्वानहरूले जन्म वर्ष दायरा (Birth year range) अनुसार पुस्ता वर्गीकरण गरेका छन्। सामान्यतय प्रचलित आठ वर्गीकरणलाई यसरी हेर्न सकिन्छ। पहिलोः हराएको पुस्ता (Lost Generation) सन् 1883-1900 बीचमा जन्मिएकालाई लिइएको छ। जुन पुस्ता प्रथम विश्वयुद्धबाट गुज्रिनु पर्यो। विश्वयुद्धमा सहभागिता पछि चरम निराशा र आफ्नै जीवनप्रति असन्तुष्टि रहेको बिशेषता देखिन्छ। त्यसैले होला साहित्य, कला र साँस्कृतिक जगतमा यसको गहिरो प्रभाव रहेको पाइन्छ। दोस्रोः सबैभन्दा ठूलो पुस्ता (Greatest Generation) सन् 1901-1927। जसमा दोस्रो विश्वयुद्ध लडेको हुनाले कष्ट सहने, अनुशासन र मेहनती स्वभावको विशेषता पाइन्छ। यसले युद्धपछिको पुननिर्माण, उद्योग व्यापार र राष्ट्रनिर्माणमा योग्दान गर्यो। तेस्रोः मौन पुस्ता (Silent Generation) सन् 1928-1945 बीचमा जन्मिएका पुस्ता हुन्। महामन्दी र युद्धकालीन प्रभावले गर्दा कठोर जीवन, शान्त, अनुशासित र परमपरावादी विशेषताको विकास भएको पाइन्छ । सामाजिक स्थिरता, परिवार केन्द्रित मूल्य मान्यताको विकास हुनुका साथै विद्रोही भन्दा बढी सहनशील यो पुस्ता देखिन्छ। चौथोः बच्चा पुस्ता (Baby Boomers) सन् 1946-1964 बीचमा जन्मिएका पुस्ता। द्वितीय विश्वयुद्धमा भएको भारी मानविय क्षत्तिको कारणले होला जनसंख्या वृद्धि यस पुस्ताको मुख्य विशेषता रहेको देखिन्छ। शिक्षा, रोजगारी र उपभोक्तावादमा पनि वृद्धि भएको पाइन्छ। 1960-70 को दशकमा सामाजिक आन्दोल राजनीतिक नेतृत्वमा प्रभावशाली विकास भएको चरण पनि यही हो। पाँचौंः जेन-एक्स (Generation X) सन् 1965-1980 बीच जन्मिएका पुस्ता। यसको विशेषता टेलिभिजन र टेक्नोलोजीको उदय, स्वतन्त्र र व्यवहारिक सोचको विकास भएको देखिन्छ। आर्थिक उदारीकरण, आइटी उद्योग, उद्यमशीलता र वैकल्पिक संस्कृतिको विस्तार पनि यसै पुस्तामा भएको पाइन्छ। छैठौंः सहस्राब्दी पुस्ता अर्थात जेन-वाइ ( Generation Z) सन् 1997-2012 बीच जन्मिएका पुस्ता। यसलाई इन्टरनेट पुस्ता, बहुसांस्कृतिक सोच, सामाजिक न्याय र वातावरणप्रतिको सचेतना पुस्ता भनिन्छ। डिजिटलीकरण, सामाजिक मिडिया क्रान्ति, विश्व राजनीति र जलवायु आन्दोलनमा सक्रियता यस पुस्ताको प्रभाव हो। सातौंः जेन-जी ( Generation Z) सन् 1997-2012 बीच जन्मिएका पुस्ता। डिजिटल नेटिभ, स्मार्टफोन र समाजिक सञ्जाल, युट्युब, च्याटजीपिटी लगायतका अत्याधुनिक प्लेटफर्म सँगै हुर्केको बढी Practical र Global सोच भएका पुस्ता। समाजिक न्याय, लैङ्गिक समानता, मानव अधिकार, जलवायु परिवर्तन जस्ता मुद्दामा सक्रिय रहनुका साथै पुराना राजनीतिक संरचनालाई चुनौती दिने यसका प्रभाव रहेका छन्। आठौंः जेन-ए (Generation Alpha) सन् 2013 पछि जन्मिएकाहरूको विशेषता कृतिम बौद्धिकता (एआई), भर्चुअल वास्तविकता (VR) र अत्याधिक डिजिटल वातावरणमा हुर्कने देखिन्छ। यो पुस्ताले भविष्यमा शिक्षा, अर्थतन्त्र र राजनीति पूर्वरूपमा प्रविधिमैत्री बनाउने संभावना रहेको छ।

माथि उल्लेखित आठ मध्यको सातौं पुस्ता जेन-जी हुन्। डिजिटल जन्मजात भएकोले नयाँ प्रविधि सजिलै सिक्छ। विविधता, भिन्नता र बहुसांस्कृतिक मूल्यलाई सहजै स्वीकार गर्दै व्यक्तिगत पहिचान र जीवनशैलीबारे स्वतन्त्र हुने चाहना राख्दछ। शिक्षा र रोजगारको दृष्टिले प्रविधि, ई-कमर्स, डिजिटल मिडिया, स्टार्ट अप संस्कृतितर्फ आकर्षित भैरहेको छ। अनलाइन शिक्षण, ई-लर्निङ र प्राविधिक दक्षतामा बढी जोड दिनुकासाथै औपचारिक सरकारी जागिरभन्दा उद्यमशीलता वा डिजिटल काम रोज्ने प्रवृतिको विकास यसमा देखिन्छ। धेरै ठाउँमा सडक आन्दोलन र सामाजिक सञ्जालमार्फत राजनीतिक दबाब सिर्जना गर्ने जेन-जी पुस्ता पारम्परिक पार्टीगत राजनीतिभन्दा विषयगत राजनीतिमा बढी चासो देखाउनुका साथै देभ्रष्टाचार, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकारमा आवाज उठाउने काम मुख्यरूपमा गरिरहेको छ। समाजिक सञ्जालमै नयाँ पहिचान बनाउने प्रवृति बढेसँगै विवाह, करियर, बसाइँसराइ, जीवनशैलीमा नयाँ ढाँचाको सोच विकास गरेको छ। अस्थायी प्रोजेक्टमा आधारित काममा बढी संलग्न रहेर अनलाइन व्यापार, क्रिप्टोकरन्सी, ई-पेमेन्ट, डिजिटल स्टार्ट अपप्रति आकर्षित यो पुस्ता खर्चमा सचेत, लगानी र बचतमा विशेष ध्यान दिएको पाइन्छ। स्वतन्त्रता, पहिचान, समानता र न्यायलाई केन्द्रमा राखेर अस्तित्वबोध ‘म को हुँ? मेरो योगदान के हो?’ भन्ने प्रश्नमा सचेत र भिविष्यप्रति चिन्तित भएर नवीन समाधान खोज्ने प्रयासमा केन्द्रित देखिन्छ। यी सब कुराले देखाउँछ कि जेन-जी विश्वव्यापी रूपमा सामाजिक न्याय र पारदर्शिताको खोजमा सबभन्दा बढी क्रियाशिल पुस्ता हो। यो केवल नयाँ पुस्तामात्र होइन, डिजिटल युगको पहिचान बोकेको, सामाजिक रूपान्तरणमा सक्रिय, व्यावहारिक र स्वतन्त्र सोच राख्ने पुस्ता हो। आगामी दशकमा अर्थतन्त्र राजनीति, समाज र संस्कृति सबै क्षेत्रमा यसको निर्णायक भूमिका रहनेछ।

विद्रोह हुनुका कारण के हुन्?
विद्रोह भन्नाले विद्यमान शासन, शासकको कार्यशैली, नीति वा संरचनाप्रति असन्तोष जनाउँदै गरिएको प्रतिरोध वा विरोध हो। अर्थात् असन्तोषको विस्फोट हो। यो सधैं कुनै न कुनै प्रकारको असमानताले उत्पन्न असन्तोषबाट सुरु हुन्छ। शान्तिपूर्ण आन्दोलनदेखि हिंसात्मक संघर्षसम्म विद्रोहको स्वारुप फरक-फरक हुनसक्छ। कतिपय विद्रोह योजना अनुसार संगठित हुन्छन भने कतिपय आकस्मिक रूपमा भड्किन्छन्।

नेपालमा हालै भएको जेन-जी आन्दोलन एक युवाहरूद्वारा गरिएको सामाजिक तथा राजनीतिक आन्दोलन हो। यसको पहिलो दिनमै सरकारले नरसंहार गर्‍यो, दोस्रो दिन भड्किएर भयानक विद्रोहको रूप लियो र तेस्रो दिनमै यसको शान्तिपूर्ण निकासको खोजी गरियो। नेपालको राजनीतिक इतिहासमा यी तीन दिन निकै उथलपुथलकारी रहे। यसका मूल कारणहरूलाई हेर्दा मुख्य तीनवटा देखिन्छ। पहिलोः शासन प्रणाली, दोस्रोः देशमा झाँगिएको भ्राष्टाचार, अवसरहिनता र तेस्रोः सामाजिक संजालमा लगाइएको प्रतिबन्ध।

पहिलोः शासन प्रणाली बारे छोटो चर्चा गरौं। नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र भएको देश हो, जहाँ संविधान २०७२ ले शासन प्रणाली संघीय, संसदीय र बहुदलीय लोकतन्त्रका रूपमा परिभाषित गरेको छ। कार्यपालिका (सरकार) सिधै संसद (विधायिका)प्रति जवाफदेही छ। किनकि सरकार प्रमुख (प्रधानमन्त्री) संसदबाट चयन हुने व्यवस्था छ। सरकारको कार्यअवधि संसदको विश्वासमा निर्भर रहेको छ। मन्त्रीहरू संसदको प्रश्न र छलफलमा उत्तर दिन बाध्य हुन्छन्। संसदले विश्वास नदिए सरकार बर्खास्त हुन्छ। सरकार गठन र विघठन गर्ने काम संसदको बहुमतले गर्ने भएकाले शक्ति संघर्षको थलो जनता होइन संसद बनेको छ। संसदमा प्रतिनिधित्व गर्ने दलहरू त्यसका मुख्य खेलाडी बनेका छन्। दलहरू बीचको सत्ता लुछाचुँडी खेललाई जनताले फोहोरी खेलको रूपमा हेरिरहेका छन्।

यसखालको शासन प्रणाली स्थापना पश्चात् नेपालमा राजनीतिक अस्थिरता, सरकार परिवर्तनको निरन्तरता र नेतृत्व संकट देखिँदै आएको छ। वर्षैपिछे सरकार परिवर्तन हुने अस्थिर राजनीतिले नैतिक नेतृत्वको अभाव हुँदा भ्रष्टाचार, सत्ताको दुरुपयोग, पारदर्शिताको कमी, जनहितभन्दा व्यक्तिगत वा दलगत स्वार्थमा नीति निर्धारण, कार्यपालिका-व्यवस्थापिका-न्यायपालिका बीच शक्ति सन्तुलन नदेखिनु, नीति निर्माण प्रक्रियामा युवाको सहभागिता न्यून हुनु जस्ता कारणले देशको समृद्धि अगाडि बढ्न सकिरहेको छैन। आर्थिक असमानता र बेरोजगारीले गर्दा युवाहरू विदेश पलायन हुन बाध्य छन्। भ्रष्टाचार र नेपोटिज्मले नेताको छोराछोरी परिवार र पहुँचवालाले मात्र अवसर पाउने अवस्थाले विकास र सुशासन पाउने आशा विफल हुँदै गएपछि आम नागरिकमा निराशा र असन्तुष्टि तीव्ररूपमा बढेको छ।

नेपालको शासन प्रणालीले लोकतान्त्रिक रूप त लिएको छ, तर व्यवहारमा अस्थिरता, भ्रष्टाचार र गैर जवाफदेहिताले जनताको भरोसा गुमाइरहेको छ। जनताको असन्तुष्टि तब मात्रै कम हुन सक्छ जब राजनीति नैतिक र पारदर्शी बनाइन्छ, स्थिर सरकार र दीर्घकालीन नीति लागू हुन्छ, युवालाई निर्णय प्रक्रियामा सहभागी गराइन्छ।

यसका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन प्रणाली नेपालको लागि उपयुक्त छ भन्ने बहस यतिबेला प्रमुख रूपले उठिरहेको छ। संसदीय शासन प्रणालीमा कानुन निर्माण र सरकार निर्माण दुवै एकै स्थानबाट हुँदा भ्रष्टाचार बेथिति बढेको प्रमाणित भैसकेको छ। अब जेनजीको माग अनुसार सरकार निर्माणको जिम्मा जनतालाई सुम्पिनुपर्छ। अर्थात् कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने र उसले संसद बाहिरबाट विज्ञहरूलाई मन्त्री बनाउने। यसो गर्दा सरकार बनाउने काम बाट संसदले छुटकारा पाउँछ र कानुन बनाउने मुख्य काममा केन्द्रित हुन्छ र शक्ति पृथकीकरण सिद्धान्तको पनि वास्तविक अभ्यास हुन्छ। राष्ट्रपति निरंकुश हुन नपाओस् भन्नका लागि जनताद्वारा निगरानी, हस्तक्षेप र नियन्त्रण गर्ने व्यवस्था गरिनुपर्छ। तब वास्तवमा जनता प्रत्यक्ष रूपमा सार्वभौम हुने दिन पनि आउँछ।

स्मरण रहोस्, राजनीतिक अस्थिरता केवल नेताहरूको समस्या होइन, यो संरचनागत र मूल्यगत संकट हो। नेपालको शासन प्रणालीमा कानुनी संरचना बलियो भए पनि राजनीतिक आचरण निकै कमजोर छ। जब नीति र नैतिकताबीच दूरी बढ्छ, त्यसले जन असन्तोष, आन्दोलन र विद्रोह जन्माउँछ। हाम्रो देशमा भएको जेन-जी विद्रोह त्यसकै प्रतिफल हो।

जेनजी विद्रोह हुनुको दोस्रो कारण हो भ्रष्टाचार र अवसरहीनता। भ्रष्टाचार भन्नाले सार्वजनिक अधिकार, स्रोत र जिम्मेवारी व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्नु हो। जब कुनै देशमा भ्रष्टाचार बढ्छ, त्यसले असमानता र असन्तुष्टि दुवैलाई जन्माउँछ। किनकl भ्रष्टाचारले समाजमा स्रोत र अवसरको अन्यायपूर्ण र असमान वितरण गराउँछ। आर्थिक असमानता विस्तार भएर धनि शक्तिशालीले धुस र पहुचमार्फत सुविधा पाउँछन, गरिबले पाउँदैन। रोजगारी, अवसर, छात्रवृत्ति, ठेक्का, जग्गालगायत आर्थिक लाभ आदि पहुँच भएका व्यक्ति र नेताका छोरा-छोरीले मात्र पाउँछन्। धनमाल केही व्यक्तिकोमा केन्द्रित हुदै जान्छ सामान्य जनताको आम्दानी स्थिर रहन्छ। न्याय प्रणालीमा समेत पक्षपात बढेर पैसावाला अपराधी पनि छोडिन्छ, गरिब निर्दोष जेल जान्छ।

नेपालमा ठीक यही अवस्थाले साम्राज्य कायम गरेको थियो। प्रधानमन्त्री, मन्त्रालयहरू, सरकारी कार्यालयहरू, न्यायालयहरू, भ्रष्टाचारको अनुसन्धान गर्ने अक्तियारसमेत भ्रष्टाचारको अखडा बनेका थिए। मन्त्रालयदेखि तल्ला कार्यालयसम्म बिचौलियाको बिगबिगी थियो। प्रधानमन्त्री, मन्त्री, संसद र नेताहरू तिनै बिचौलियाहरूको नाइके र दलहरू संरक्षकजस्तै भएका थिए। राज्य कोषमा भएको लुट र दोहनले देशको आर्थिक अवस्था निकै जर्जर बन्दै गइरहेको थियो भने राजनीतिक शक्तिको आडमा लाभको पदमा पुगेका नेता हुन वा निजामती क्षेत्रका अधिकारीहरू यिनको जीवनमा रातारात आएको परिवर्तन र छोरा-छोरीहरूले उपभोग गरिरहेका विलासी जीवनले बेरोजगारी र अवसरहीनताका कारण आफ्नो योग्यता र क्षमताको प्रयोग आफ्नै देशमा गर्न नपाइरहेका युवा र आमजनताको असन्तुष्टि विष्फोटको अवस्थामा पुग्दै थियो।

प्रतिनिधिसभाको दोस्रो निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्को सरकारले सुशासनको अभियान सञ्चालन गर्ने घोषणा गर्‍यो। ललिता निवास, बालुवाटार, बाँसबारी जुत्ता कारखाना लगायतका सरकारी जग्गाहरू अपचलन गरी हडप्नेहरूलाई पक्राउ गरी जग्गा फिर्ता, राजश्व छलि गर्ने, अर्वौं विद्युत् महसुल नतिर्नेहरूलाई बक्यौता तिर्न निर्देशन, नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान गर्दै उच्च तहका नेता र प्रशासकहरू समेतलाई जेलमा कैद गर्दै बन्दगरिएका ठूला भ्रष्टाचारका फाइलहरू खोलेर छानबिन गर्न थालेपछि तर्सिएर छानबिन रोक्न पहिलो र दोस्रो ठूलो दल मिलेर आफ्नो सरकार ढालेको संसदको सम्बोधनमा प्रचण्डले ठोकुवा गरे। दुई ठूला दल मिलेर बनेको केपी सरकारले पनि प्रचण्डको ठोकुवालाई पुष्टि गर्नेगरी छानबिनका लागि खोलिएका सबै फायलहरू बन्द गर्‍यो। अनुसन्धानमा खटिएका अधिकारीहरूलाई अन्यत्र सरुवा गर्‍यो। अर्वौं विद्युत् बक्यौता तिर्ननपर्ने भन्दै काटिएको लाइन जोड्न लगायो । एकपछि अर्को काण्डको श्रृङखलाहुदै भिजिटभिसा प्रकरणसम्म आइपुग्यो। ऊर्जा क्षेत्रको हिरो राष्ट्रसेवक कुलमान र तत्कालीन राज्यमन्त्री कान्छारामलाई हटायो भने संवैधानिक परिषदमा आफ्नो बहुमत बनाउन उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयत्न गर्‍यो। देश र जनताको हितमा काम गर्नेलाई कारबाही, विचौलिया र दलालहरूलाई बेडरुम सम्म स्वागत गर्ने काम गर्न थाल्यो। यसरी ठूला दलहरूको सरकारमा भ्राष्टाचार र कुशासनले देश आक्रान्त बन्यो। भ्रष्टाचारको छानबिन थालेर भ्रष्टाचारी, माफिया, दलालहरूलाई जेल पठाएर केही आशा जगाएको प्रचण्ड सरकार ढलेसँगै जनताको आशा पनि ढलेको थियो।

जब आशाहरू निमोठिन्छन्। नागरिकहरूले बारम्बार अन्याय र असमानता अनुभव गर्छन्, उनीहरूमा असन्तुष्टि बढ्छ। राज्यप्रतिको अविश्वास बढ्दै गएर राजनीतिक दल, सरकार, न्यायलय र प्रशासनप्रति जनताको भरोसा टुट्छ। मेहनत गरेर पनि सफलता नपाउँदा युवामा निराशा, असन्तुष्टि र विद्रोही सोच उत्पन्न हुन्छ। सम्बोधन नगरेर असन्तुष्टि लामो समय दबाइयो भने विद्रोहको रूप लिन्छ। हड्ताल, सरकार परिवर्तन, हिंसा वा अविश्वास बढेर राजनीतिक अस्थिरता सिर्जना हुन पुग्छ। दार्शनिक रूपमाभन्दा भ्राष्टाचारले न्याय र समानताका मूल्यहरूमाथि आक्रमण गर्छ। त्यसैले होला महान दार्शनिकहरू प्लेटो र अरस्तुले राज्यको नैतिकता ‘न्यायमा’ आधारित हुनुपर्छ भनेका छन्। किनकि जब राज्य नै अन्यायपूर्ण हुन्छ, नागरिकको आत्मसम्मान (Dgnity) हराउँछ अनि त्यसले असन्तुष्टि र विद्रोह जन्माउँछ। हाम्रो देशमा सेप्टेम्बर ड(ढ मा भएको जेनजी विद्रोह त्यसको प्रतिक हो।

विद्रोहको तेस्रो कारण हो सामाजिक संजालमा लगाइएको प्रतिबन्ध । नेपालको विद्यमान शासन प्रणालीले जन्माएका राजनीतिक विकृति, भ्रष्टाचार, बेथिति र अवसरहिनताले आम नगरिक र विशेषगरि जेन-जीहरूमा तिब्र असन्तोष जन्माएकै थियो । त्यसैमा सरकारले राष्ट्रिय सुरक्षा र अफवाह नियन्त्रण भन्ने कारण देखाउँदै सामाजिक संजाल बन्दगरेर थप अर्को तीब्र प्रतिक्रिया र असन्तोष ल्यायो । जेन-जी पुस्ता डिजिटल युगमा जन्मिएको भएर उनिहरूको दैनिक जीवन, पढाइ, रोजगार र विचार अभिव्यक्तिको प्रमुख माध्यम सामाजिक सञ्जाल नै हो । यो बन्दगर्दा धेरै युवाहरूको आम्दानीको स्रोत बन्द भयो । यसले बेरोजगारी र आर्थिक असुरक्षा थप बढायो । सञ्जालले सिर्जना गरेको सामाजिक अन्तरसम्बन्ध टुट्यो जसले गर्दा युवाले आफुलाई सरकारले बेवास्ता गरेको महसुश गरे । उनीहरूले यसलाई व्यक्तिगत स्वतन्त्रता माथिको आक्रमण ठाने । शिक्षामा, रोजगार खोजीमा, अन्तर्राष्ट्रिय सम्पर्कमा सञ्जाल आवश्यक थियो, बन्द हुँदा उनिहरूलाई अन्धकारमा धकेलिएको अनुभूति भयो । जेन-जी पुस्ता सामाजिक अस्तित्व डिजिटल प्लेटफर्ममा व्यक्त गर्छ त्यसलाई बन्द गर्नु उनिहरूको पहिचान र स्वतन्त्रता दुवै खोस्ने कार्य बन्यो । आम युवाहरूले सरकारको निर्णयलाई जनताको डर वा आलोचना रोक्ने षडयन्त्र भनेर लिए । सरकारको कदम अलोकतान्त्रिक प्रवृतिको संकेत ठहरियो र सत्ताले जनआवाज दमन गर्न खोज्यो भन्ने युवाहरूले ठाने । स्वतन्त्रता र न्यायका मूल्यहरूमा चोट पुग्यो । लामो समय देखिको अवसरहिनता, बेरोजगारी, भ्रष्टाचार र असमानताले दबिएको आक्रोश यस अवस्थामा विष्फोट भयो । युवाहरूले आफुलाई विचार र स्वतन्त्रताको सिपाही ठाने र सडकमा उत्रिए । त्यो जेन-जी विद्रोह संचित असन्तोष, अभिव्यक्तिको रोकावट र अधिकार खोसिएको अनुभूतिको विष्फोट थियो ।

यसले के सन्देशहरू दिएको छ?
जेन-जी विद्रोहको सन्देशलाई यसरी लिन सकिन्छ । आजको पुस्ताले स्वतन्त्रता, पारदर्शिता र सहभागिताबिना शासन सहँदैन । इमानुअल कान्टको “स्वतन्त्रताबिना नैतिकता छैन” भन्ने तर्कसँग मेलखाने यो विद्रोह द्वारा डिजिटल स्वतन्त्रता र आफ्नो विचार अभिव्यक्ति गर्ने अधिकारलाई रोक्ने प्रयासविरुद्ध उठेर मानव स्वतन्त्रताको मौलिक मूल्य युवाहरूले पुनः पुष्टि गरे । न्याय र समानताको प्रश्नमा प्लेटो र रुसोले भनेझैं न्यायपूर्ण समाजको खोजीले युवा पुस्तालाई उभ्यायो । मेरिट भन्दा नातावाद ९लभउयतष्कm० अन्यायले राज्यलाई असन्तुलित बनाउँछ त्यसैले भ्रष्टाचार, अवसरहिनता र असमानता विरुद्ध विद्रोह गर्ने दार्शनिक मान्यता पुनःस्थापित भयो । हाबर्मासको सार्वजनिक सम्बादको स्थानको सिद्धान्त अनुसार सामाजिक सञ्जाल युवाको “नयाँ सार्वजनिक क्षेत्र” बनेर स्वतन्त्रताको स्वर बन्यो । हेगेलको द्वन्द्ववादको सिद्धान्त अनुसार पुरानो र नयाँबीचको संघर्षले अर्को नयाँ यथार्थ जन्माउँछ । आज पुरानो राजनीतिक अभ्यास भ्रष्टाचार, सत्तासंघर्ष, पाखण्ड र नयाँ पुस्ताको पारदर्शिता, जवाफदेहिता, समानता बीचको टकरावले पुस्तान्तरणको नयाँ चेतनालाई आन्दोलनको स्तरमा उठाएको छ । त्यसैले समाजशास्त्रीय हिसाबले यो पुस्तान्तरणको संघर्ष पनि हो ।

यसको अलावा जेन-जी विद्रोहले नेतृत्व, संगठन र लक्ष्य बारे केहि महत्वपूर्ण शिक्षाहरू दिएको छ । पहिलो, गतिशिल नेतृत्व विना परिणाम मुखि सफलता संभव हुदैन । नेतृत्व विहिनता रह्यो भने आन्दोलन, विद्रोह र त्यसका लक्ष्यहरू गलत तत्वबाट अपहरण हुने, अनि आन्दोलनलाई गलत दिशा तिर मोडेर शक्ति केन्द्रहरूले राष्ट्रिय स्वधिनता माथि हस्तक्षेप गर्दै गलत फाइदा उठाउन चलखेल गर्नसक्ने प्रवल संभावना रहन्छ । आज नेपालमा त्यहि भैरहेको छ । त्यसैले हरेक आनदोलनको सुरुवात गर्नु अगाडी नै नेतृत्वको प्रश्न देशभक्त र सुस्पष्ट हुनुपर्छ।

दोस्रो, बलियो संगठनले मात्रै आन्दोलनको माग पुरागर्न सक्दछ । छरिएर रहेको शक्तिलाई एकजुट गर्दै केन्द्रित शक्ति आर्जन गर्ने माध्यम नै संगठन हो । यसले आन्दोलनलाई कमभन्दा कम क्षतिबाट लक्ष्यसम्म पुग्न मद्दत गर्दछ । असंगठित शक्ति विकेन्द्रित हुन्छ जहाँ साझा असन्तुष्टि र मागको आधारमा मात्रै स्वतन्त्ररुपमा सहभातिता हुन्छ । यस्तो अवस्थामा स्वार्थ समुहहरूको घुसपैठले अराजकता सृजना हुनुका साथै आन्दोलन हिंसात्मक र ध्वंसात्मक हुनगइ उपलब्धी भन्दापनि राष्ट्रलाई अपुरणीय क्षति हुनपुग्छ । अहिले देशमा त्यहि भएको छ । त्यसैले आन्दोलनकोलागि बलियो र सुदृढ संगठन निर्माणमा जाडदिनुपर्छ।

तेस्रो, आन्दोल मार्फत प्राप्त गर्न चाहेको उद्देश्य वा हासिल गर्ने परिणाम नै लक्ष्य हो । लक्ष्य आन्दोलनलाई दिशा दिने मार्गदर्शक तत्व हो । स्पष्ट लक्ष्यले आनदोलनलाई सफलताको दिशामा अगाडी बढ्न प्रेरित गर्छ । लक्ष्यहरू स्पष्ट प्राथमिकता अनुसार दिर्घकालिन र तत्कालिन गरि सुत्रबद्ध गरिएको हुनुपर्छ । यसको अभावमा आन्दोलन दिशाहिन र अन्योल हुन्छ । नेताहरूमा मतभेद बढ्छ र आन्दोलन विभाजित हुनपुग्छ । इच्छित परिवर्तन आउँदैन । अहिले जेन-जी आन्दोलनको अवस्था यहि छ । त्यसैले हरेक आन्दोलनमा कुशल नेतृत्व, सुदृढ संगठन र स्पष्ट लक्ष्य हुनपर्दछ ।

जेन-जी विद्रोह केवल तत्कालीन राजनीतिक असन्तुष्टिको परिणाम मात्र होइन, यो स्वतन्त्रता, न्याय, समानता, अवसरको खोजी र भविष्य निर्माणको चेतना हो । यसले नेपालमा युवा पुस्ताले अब केवल उपभोक्ता वा अनुयायी होइन, बरु सक्रिय परिवर्तनकारी शक्तिको रूपमा आफूलाई प्रस्तुत गरिसकेको छ। अहिले सम्म परम्परागत रूपमा राजनीति पुराना पुस्ताको कब्जामा थियो तर विद्रोहले जेन-जीलाई पनि राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै युवा पुस्ताको राजनीतिक प्रवेशलाई मजबुट बनाइदिएको छ। अब पार्टी र नेतृत्वहरूले युवालाई नजरअन्दाज गर्न सक्दैनन्। यसले राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउनुका साथै राजनीति सत्ता लिन वा बाँड्न मात्रै होइन, जनतालाई सेवा गर्ने अभ्यास हो भन्ने दबाब सिर्जना गरेको छ। तत्कालीन रूपमा राजनीतिक अस्थिरता बढाए पनि दीर्घकालीन रूपमा नयाँ पार्टी, नयाँ नेतृत्व वा नयाँधारको उदय सम्भावित बनाएको छ। जसले भविष्यमा नयाँ राजनीतिक संस्कार जन्माउन सक्छ। सामाजिक सञ्जालबाट सुरु भएर सडकमा पुगेको यो विद्रोहले देखायो की डिजिटल प्लेटफर्म अब जनआवाजको प्रमुख हतियार बनिसकेको छ। भविष्यका आन्दोलनहरू टेक्नोलोजीमै केन्द्रित हुनेछन्।




One thought on “नेपालको जेन-जी विद्रोहले दिएका सन्देश

Leave a Reply to Narayan Cancel reply

Your email address will not be published. Required fields are marked *