हङकङको आगलागीले चीनको शहरी योजनामाथि उठाएको प्रश्न
“तीव्र शहरीकरणसँगै चीन बाहिरबाट अत्यन्त प्रभावशाली देखिन्छ। तर यी रूपान्तरण भएका शहरहरूमा सतही चमकभन्दा भित्री वास्तविकता धेरै भिन्न छ,” ह्यारिसन हुले नोभेम्बर १०, २०१३ मा ‘चीनको घेट्टो’ शीर्षकको ब्लगमा लेखेका थिए। उनका अनुसार चीनमा ग्रामीण जीवन व्यापक रूपमा हराउँदै छ र किसानहरूलाई कम्युनिष्ट सरकारबाट शहरी क्षेत्रमा स्थानान्तरित हुन तीव्र दबाब दिइँदैछ। तर किसानहरूले यो कदमलाई सहज स्वीकार गरेका छैनन्, किनकि धेरै नयाँ शहरहरूमा दर्जनौँ संरचनात्मक र सामाजिक समस्या देखिन्छन्। कमजोर निर्माण गुणस्तर, उच्च बेरोजगारी, ग्रामीण क्षेत्रभन्दा अत्यधिक जीवनयापन लागत, र सरकारको परिणामविहीन हतारोले उत्पन्न चुनौतीहरू उनले त्यसबेलै संकेत गरेका थिए। उनका अनुसार, चीनका नीति निर्माताहरू परिणामलाई बेवास्ता गर्दै केवल विश्व मञ्चमा आधुनिकताको छवि प्रदर्शन गर्न व्यस्त देखिन्थे।
गत हप्ता हङकङको एक उच्च-आवासीय टावरमा लागेको भीषण आगलागीले १५० भन्दा बढी व्यक्तिको मृत्यु पुष्टि भएको छ, र बेपत्ताको संख्या १०० सम्म पुग्ने आँकलन गरिएको छ। यस घटनाले चीनले पछिल्ला वर्षहरूमा अवलम्बन गर्दै आएको तीव्र शहरीकरण नीतिको जोखिम फेरि एकपटक उजागर गरिदिएको छ।
हुले २०१३ मा उल्लेख गरेको शहरीकरण वास्तवमा हिमशिलाको टुप्पो मात्र थियो। त्यही वर्ष चीनले २०२५ सम्म २५ करोड ग्रामीण बासिन्दालाई नयाँ शहरहरूमा बसोबास गराउने महत्वाकांक्षी योजना अघि सारेको थियो। ती लाखौँ मानिसका लागि आवास निर्माणका उद्देश्यले मेगासिटीहरूले अनियन्त्रित रूपमा अग्ला अपार्टमेन्ट ब्लकहरू ठड्याए। आज ती भवनहरू संरचनागत रूपमा कमजोर साबित भइरहेका छन्म, र्मत लागत आकासिँदैछ, भवनहरू द्रुत बिग्रँदै छन्, बजार मूल्य खस्येको छ, र बासिन्दाहरू बासयोग्य नबनेका छिमेकमा फसिरहेका छन्।
हङकङमा बाँसको मचानबाट सुरु भएको आगोले एउटै टावर मात्र होइन, आठमध्ये सात टावरमा समेत क्षतिको उच्च जोखिम देखायो, यसले टावरहरू अत्यधिक नजिक निर्माण गरिएको, आगो सुरक्षा, प्रकाश, हावा सम्भावनाहरू बेवास्ता गरिएको, र निर्माण प्रक्रियामा हतारिएको पुष्टि गर्छ। संरचनागत अखण्डता कमजोर हुनु, जसलाई चीनमा “टोफु-जस्तो निर्माण” भनेर व्यंग्य गरिन्छ, कुनै संयोग होइन।
भ्रष्टाचारले अवस्था झन् बिगारेको छ। परियोजना कोषबाट रकम लुटिनु, कमसल निर्माण सामग्री प्रयोग गरिनु, र राजनैतिक पहुँच भएका कम्पनीलाई ठेक्का दिएर योग्यतासम्पन्न कम्पनीलाई पन्छ्याइदिनु सामान्य अभ्यास बनेको छ। हङकङमा समेत ठेकेदारहरूले निरीक्षण छल्न कमजोर जाली र मिश्रित सामग्री प्रयोग गरेको खुलासा भएको छ।
१९८०-९० को दशकमा निर्माण भएका धेरै गगनचुम्बी भवनमा आज व्यापक क्षय देखिँदैछ, बारम्बार लिफ्ट बिग्रिनु, पानी चुहिनु, र विद्युत प्रणाली कमजोर हुनुजस्ता समस्याले बासिन्दाको दैनिकी नै संकटग्रस्त बनाएको छ। मूल्य घट्दै जाँदा घरधनीहरू बिग्रँदै गरेका भवनमै बन्धक झैँ फसिरहेका छन्।
चीनमा आठ तल्लाभन्दा माथिका दश लाखभन्दा बढी आवासीय भवन छन्, विश्वका कुल गगनचुम्बी भवनको लगभग ६० प्रतिशत। १५० मिटरभन्दा अग्ला ३५८५ भवन, २०० मिटरभन्दा अग्ला १,३२८ भवन र ३०० मिटरभन्दा अग्ला १३२ भवन छन्। अमेरिकामा क्रमशः ९२९, २५९ र ३२ मात्र छन्। २०१७ मा चीनका २७ मिटरभन्दा अग्ला ६.१९ लाख भवनमध्ये ४२,००० भवनमा अवैध रूपमा ज्वलनशील इन्सुलेशन सामग्री प्रयोग गरिएको पाइएको थियो। त्यही वर्ष १०० मिटरभन्दा अग्ला ६,४५७ भवन निर्माण भइसकेका थिए, र यो संख्या विश्व औसतको साढे दुई गुणा गतिमा बढिरहेको थियो।
तेजीले शहरीकरण बढ्दै जाँदा गगनचुम्बी भवनमा आगलागीको दर पनि उकालो लागेको छ। २०२३ मा मात्रै २३,००० यस्ता भवनमा आगलागीको घटना दर्ता गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै हो। अत्यधिक उचाइका कारण आपतकालीन उद्धार कार्य कठिन हुने भएपछि उच्चतलामा बस्ने बासिन्दा झनै जोखिममा पर्छन्।
२०१७ मै चाइना डेलीले भवनका जोखिमबारे चेतावनी दिए पनि व्यवहारमा खासै परिवर्तन भएको छैन। ज्वलनशील इन्सुलेशन सामग्रीका कारण आगो तीव्र फैलन सक्छ भन्ने चेतावनी उसले तत्कालीन अधिकारीलाई उद्धृत गर्दै लेखेको थियो, यही कुरा पछिल्लो हङकङ दुर्घटनामा पुष्टि भएको छ।
चीनले ग्रामीण बासिन्दालाई शहरमा लैजान दुई प्रमुख कारण देखिन्छ, पहिलो, तेज गतिमा बढिरहेको निर्यात-केन्द्रित औद्योगिक क्षेत्रका लागि स्थिर श्रम आपूर्ति; दोस्रो, अहिले निर्यात घट्दै जाँदा त्यस्ता उद्योगका उत्पादनका लागि घरेलु माग सिर्जना गर्नु। २०२४ मा राज्य परिषद्ले ‘जनता-केन्द्रित नयाँ शहरीकरण रणनीति’ शीर्षकको पाँच वर्षे योजना पारित गर्दै स्थायी शहरी बासिन्दाको अनुपात ७० प्रतिशत पुर्याउने लक्ष्य राख्यो। तर व्यवहारमा यो नीति आवास माग बढाएर घरजग्गा क्षेत्रको गम्भीर मन्दीलाई न्यून गर्ने प्रयासजस्तै देखिन्छ, जसले लाखौँ मानिसलाई शहरमा धकेलिरहेको छ।
२०१० मा ५० प्रतिशत रहेको शहरी जनसंख्या २०२१ सम्म ६४ प्रतिशत र २०२४ सम्म ६७ प्रतिशत पुगेको छ। प्रतिशत अमेरिकाभन्दा कम भए पनि चीनको विशाल जनसंख्याका कारण शहरमा सर्नेको संख्या तुलनात्मक रूपमा अत्यन्त ठूलो छ, र यति ठूलो परिमाणका निर्माण परियोजनामा गुणस्तरमा गरिएको सानो सम्झौताले पनि विनाशकारी जोखिम निम्त्याउन सक्छ।
अमेरिका र पश्चिमा युरोपमा शहरीकरण शताब्दीयौंदेखि क्रमिक र स्वाभाविक रूपमा अघि बढेको छ। तर चीनले विकसित मुलुकलाई पछ्याउने भन्दै अत्यन्त तीव्र गतिमा ग्रामीण बस्तीहरू भत्काएर अग्ला भवन उभ्याइरहेको छ, जसले कृषि भूमि नष्ट गरिरहेको छ र गाउँलेहरूको जीवनशैलीलाई अचानक उल्ट्याइिरहेको छ।
यही पारम्परिक हतारो राजनीतिक वातावरणमा पनि प्रतिबिम्बित हुन्छ। हङकङमा भएको आगलागीपछि सरकारले आलोचनालाई दबाउन गत साता दर्जनौँ व्यक्तिलाई गिरफ्तार गर्यो। त्रासदीका कारणबारे जवाफदेहिताको माग गर्दै निवेदन लेख्नेहरूलाई समेत देशद्रोह उक्साएको आरोपमा पक्राउ गरिएको छ। हालसम्म १४ जनालाई पक्राउ गरिएको छ, र घटनाको छानबिनका लागि न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ।
Facebook Comment