दीक्षित भएपछि धुरुधुरु रोए शिव नारायण थारू
किताबको पानाबाट सुरु भएको संघर्ष- सफलताको प्रमाणपत्र बनेर हातमा आउँदा को खुसी हुँदैन होला ? हो बिहीबार त्रिविको दीक्षान्त समारोहमा सबै खुसी देखिन्थे । तर सधैं खुसी ओठमा मुस्कानका रुपमा मात्र होइन, आँखाबाट आँसु बनेर समेत झर्छन् ।
शिव नारायण थारु प्रहरी जवान हुन् । कमजोर आर्थिक अवस्था भएकाले उहाँलाई स्कूलसमेत सक्छु जस्तो लागेको थिएन । बुबाले खेती किसानी गरेर जे जति सक्नुहुन्थ्यो गर्नुभयो। आफैंले केही नगरी माथिल्लो तह पढ्नै नसक्ने भएपछि उहाँले विभिन्न जागीर खानुभयो र प्रहरीमा नाम पनि निकाल्नुभयो ।
दीक्षित हुने दिन बिहीबार उहाँले बुबाआमालाई नवलपरासी पश्चिम वर्दघाटबाट बोलाएर आफ्नो खुसीको क्षणमा सामेल गराउनुभयो । असई बन्ने सपना बोक्नुभएका उहाँको हातमा अब बीएडको प्रमाणपत्र छ । अब इन्स्पेक्टरमा भिड्ने योग्यता भएकोमा उहाँ खुसी हुनुहुन्छ ।
बीएड पास गरेर दीक्षित हनुभएकी रुकुम पश्चिमकी सिमा बुढामगर पनि सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो । निकै संघर्ष गरेर पढ्नुभएकी उहाँ आफ्नो सफलताको श्रेय दिदी भिनाजुलाई दिनुहुन्छ, जो विदेशमा छन । दिदी आफूले पढ्न नपाए पनि सीमालाई पढाइमा सहयोग गर्दै परिवारमा स्नातक गर्ने पहिलो व्यक्ति बनाउनुभयो ।
दिदी भिनाजु विदेशमा भए पनि सीमाले आफ्नो खुसीको क्षणमा आफ्नो आमालाई काठमाडौं ल्याउनुभयो । आमा पढ्न सक्नुहुन्न । तर छोरीको प्रमाणपत्रले उहाँलाई अपार खुसी दिइरहेको थियो ।
रुकुम पश्चिमकी अनुशा रोक्काले आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तरमा गोल्ड मेडल हासिल गर्नुभयो । सानैदेखि पत्रकारितामा लगाव भएकी उहाँ भन्नुहुन्छ, मिहिनेत गरेपछि सफलता प्राप्त गर्न सकिने रहेछ । उहाँ विद्यार्थीहरुलाइ किताबी ज्ञानमा मात्र सीमित नहुन सल्लाह दिनुहुन्छ ।
कृपाल गौतम/कान्तिपुर टिभीबाट साभार
Facebook Comment