भारत-नेपाल सैन्य सहयोगले द्विपक्षीय सम्बन्ध बलियो बन्दै
नेपाल र भारतबीचको सम्बन्धलाई प्रायः ऐतिहासिक, सांस्कृतिक र खुला सिमानाको कडीबाट व्याख्या गरिन्छ। तर, यी विविध आयामहरूका बीच ‘सैन्य कुटनीति’ र ‘रक्षा सहकार्य’ यस्तो बलियो आधार हो, जसले दुई देशको मित्रतालाई सबैभन्दा गहिरो गरी जोडेको छ। दशकौँदेखि नेपाली गोर्खाहरूले भारतीय सेनामा आबद्ध भई प्रदर्शन गरेको वीरता र बलिदानले यो सम्बन्धलाई केवल सरकारी स्तरमा मात्र नभई भावना र रगतको तहसम्म पुर्याएको छ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिले नेपाल-भारत रक्षा सम्बन्धको जग बसालेको थियो। भारतीय सेनामा कार्यरत ३२ हजारभन्दा बढी नेपाली गोर्खाहरू र करिब १ लाखभन्दा बढी भूतपूर्व सैनिकहरू दुई देशबीचका ‘ज्युँदा राजदूत’ हुन्। सन् १९४७-४८ को कश्मीर युद्ध, १९६२ को चीन-भारत युद्ध, १९६५ र १९७१ को पाकिस्तानसँगको युद्धदेखि १९९९ को कारगिल द्वन्द्वसम्म गोर्खाहरूको योगदान अतुलनीय छ। यही योगदानको सम्मानस्वरूप भारतले निर्माण गरिरहेको ‘गोर्खा युद्ध स्मारक संग्रहालय’ले भावी पुस्तालाई समेत यो गौरवमय इतिहासको स्मरण गराउनेछ।
नेपाली सेनाका पूर्व प्रवक्ता सुरेश शर्माका अनुसार, भारत नेपालको रक्षा सामग्री आपूर्तिको प्रमुख साझेदार मात्र नभई सैन्य तालिम र क्षमता विकासको महत्वपूर्ण केन्द्र पनि हो। भारतीय सैन्य प्रतिष्ठानहरूमा उच्चस्तरीय तालिम प्राप्त गरेका नेपाली सेनाका अधिकारीहरू र भारतीय फौजबीचको सम्बन्धले जीवनभरको एउटा अटुट कडी निर्माण गर्छ। उनी भन्छन्, “भारत विश्वव्यापी सैन्य शक्तिका रूपमा उदय भइरहँदा नेपालले उसको अनुभव र प्रविधिबाट ठूलो लाभ लिन सक्छ।”
नेपालमा विपद् पर्दा भारतीय सेना सधैं ‘प्रथम प्रतिक्रियाकर्ता’ (First Responder) को रूपमा उभिएको छ। सन् २०१५ को विनाशकारी भूकम्पमा भारतले सञ्चालन गरेको ‘अपरेशन मैत्री’ यसको ज्वलन्त उदाहरण हो। हालै सन् २०२५ मा पनि भारतीय वायुसेनाले नेपाली विद्यार्थीहरूको उद्धारमा देखाएको तत्परताको प्रशंसा गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसलाई दुई देशबीचको अटुट सम्बन्धको प्रतिबिम्बको रूपमा चित्रण गर्नुभएको थियो।
सैन्य सम्बन्धलाई थप सुदृढ बनाउन हरेक वर्ष आयोजना हुने ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यासले आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र जङ्गल युद्ध कलामा दुवै सेनालाई निपुण बनाएको छ। सन् २०२५ को जनवरीमा सम्पन्न १८औँ संस्करणले सैन्य पेशेवरता र आपसी विश्वासलाई नयाँ उचाइ दिएको छ।
त्यस्तै, दुवै देशले एक-अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ (Honorary General) को दर्जा प्रदान गर्ने सात दशक पुरानो परम्परा विश्वमै दुर्लभ र विशिष्ट छ। सन् २०२४ मा नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक राज सिग्देललाई भारतले र भारतीय सेना प्रमुखलाई नेपालले प्रदान गरेको यो सम्मानले दुई सेनाबीचको घनिष्ठतालाई पुनः पुष्टि गरेको छ।
नेपाल र भारतबीचको सैन्य सम्बन्धले राजनीतिक र भौगोलिक सीमाहरूलाई समेत नाघ्ने सामर्थ्य राख्छ। मेजर डीबी खड्काका अनुसार, भारत नेपालका लागि केवल रक्षा निर्यातकर्ता मात्र नभई क्षेत्रकै एक भरपर्दो सुरक्षा साझेदार हो। जनता-जनताबीचको सम्बन्ध (P2P) र सेना-सेनाबीचको सम्बन्ध (M2M) ले नै नेपाल-भारत मित्रतालाई भोलिका दिनमा झन् मजबुत बनाउने निश्चित छ।
Facebook Comment