साथीहरू गडबड नगरीकन कांग्रेसलाई मत दिनुहोस्, कमजोरी सच्याउँछौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५ वर्ष सुधारको र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिने बताएका छन्। बाराको कोल्हबी नगरपालिका शनिबार आयोजित बारा क्षेत्र नं-१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले ५ वर्ष नेपालमा विकासको, सुधारको र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताएका हुन्।

सभापति थापाले फागुन २१ को चुनावमा कुनै साथीहरूले गडबड नगरीकन सबै एक भएर कांग्रेसलाई मत हाल्नुपर्नेमा जोड दिए । उनले केन्द्रमा अवसर नपाएका स्थानीय समुदायले स्थानीय र प्रदेशमा पाउने बताए । ‘कांग्रेस सबै जातजातिको साझा पार्टी हो। उहाँहरूले जहाँ जहाँ अन्याय महसुस गर्नु भएको छ भन्ने लागेको छ अब आउने स्थानीय र प्रदेश सभाको चुनावमा अवसर पाउनुहुन्छ । यहाँ साथीहरूले सबैलाई मिलाएर लैजान आग्रह गर्न चाहन्छु’, उनले भने,‘हामीले आज केही कमजोरी भएको छ भने प्रदेशको चुनावमा सच्याउने काम हामी गर्छौ। कुनै समुदायले अन्याय महसुस गरेको छ भने त्यसको क्षतिपूर्ति अर्को चुनावबाट गर्छौं ।’

उनले अब ५ वर्ष नेपालमा दुर्घटना नहुनेमा ढुक्क हुन आग्रह गरे। उनले भने, ‘यो ५ वर्ष नेपालमा अब दुर्घटना हुँदैन । हामी हुन दिन्नौँ । हामी सम्हाल्छौँ। कुनै दुर्घटना हुन दिन्नौँ, द्वन्द्व हुन दिन्नौँ । न जातका नाममा, न धर्मका नाममा, न मधेस पहाडका नाममा, न हुने खाने र हुँदा खानेका नाममा कांग्रेसको सरकार गतिमा हिँड्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *