बाघको छाला तस्करीमा संलग्न चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय

बाघको छाला तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।

उच्च अदालत पाटनले होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा जिङ्गबिन (MA, JINGBIN) लाई ५ वर्ष कैद र एक हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो । सोही मुद्दामा आरोपित अन्य तीन चिनियाँ नागरिकहरू जाओ पेङचेङ, निउ युलियाङ र पेङ हुईलाई भने उच्च अदालतले सफाइ दिएको छ ।

२०७८ असार २१ गते राति काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित ‘जियाङहु केजान होटल’मा प्रहरीले छापा मारेको थियो । सो क्रममा २०१ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ परेका थिए । होटलको २०३ नम्बर कोठा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म १० फिट लामो पाटेबाघको छाला फेला परेको थियो ।

त्यस्तै, होटलबाट बुद्धचित्त ९०० गेडा, २७ केजी रुद्राक्ष, कस्तुरीको बिना जस्तो देखिने २० टुक्रा र नगद ८ लाख ८९ हजार १५५ रुपैयाँसहित ठुलो परिमाणमा मोबाइल र एटिएम कार्डहरू समेत बरामद गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको परीक्षण प्रतिवेदनअनुसार बरामद गरिएको छाला (पाटेबाघ)को भएको र उक्त बाघ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (भाण्डार) मा सन् २०१५ देखि २०१७ सम्म क्यामेरा ट्रयापमा परेको ‘CNP-FT54’ नम्बरको बाघसँग मिलेको देखिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *