सीको शुद्धीकरण अभियानले पीएलएमा नेतृत्व शून्यता
सी जिनपिङ नेतृत्वको कार्यकालमा चिनियाँ सैन्य वृत्तमा फेरि एकपटक ठूलो हलचल देखिएको छ। केन्द्रीय सैन्य आयोग (सीएमसी) का उपाध्यक्ष झाङ युक्सिया र वरिष्ठ सैन्य अधिकारी लिउ झेन्ली सँग जोडिएका हालिया बर्खास्तगी तथा छानबिनका घटनाले जनमुक्ति सेना (पीएलए) भित्र कमान्ड संरचना र मनोबलमा गम्भीर असर पार्ने विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार यी कदमहरू राजनीतिक समेकन, भ्रष्टाचारविरुद्धको अभियान र सैन्य सुधारको निरन्तरता जस्ता कारणले व्याख्या गरिए पनि नेतृत्व तहमा सिर्जित शून्यता र अनिश्चितताले सैन्य रणनीति तथा समन्वयमा असर पार्न सक्ने देखिएको छ। हालको अवस्थाले सीएमसीको संरचना असामान्य रूपमा सिमित बनेको छ, जसले प्रमुख कमान्ड केन्द्रमै अस्थिरता निम्त्याएको टिप्पणी गरिएको छ।
न्यूयोर्कस्थित राजनीतिक जोखिम परामर्शदाता सिनोइन्साइडरले यस घटनालाई सी जिनपिङ शासनकालकै सबैभन्दा अशान्त राजनीतिक विकासको रूपमा चित्रण गरेको छ। संस्थाका अनुसार झाङ र लिउको पतनले पीएलए, चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को नोकरशाही र तथाकथित ‘रातो अभिजात वर्ग’ माझ चिसो प्रभाव पार्नेछ।
वाशिंगटन डीसीस्थित क्याटो इन्स्टिच्युटका नीति विश्लेषक इभान सान्केले सीएमसी परम्परागत सात सदस्यीय संरचनाबाट अहिले निकै सिमित अवस्थामा पुगेको औंल्याउँदै यसले नेतृत्वको स्थायित्वमा प्रश्न उठाएको बताए। उनका अनुसार सीको सत्तामा पकड बलियो देखिए पनि १३ वर्षे कार्यकालमा पीएलए नेतृत्व अस्तव्यस्त हुनु प्रतिष्ठाको विषय बनेको छ।
यसैबीच र्यान्ड कर्पोरेशनमा चिनियाँ रक्षा नीतिमा विशेषज्ञ शानशान मेईले निरन्तर शुद्धीकरणले सेना भित्र डर र असुरक्षा बढाएको टिप्पणी गरिन्। उनका अनुसार हालको घटनाक्रमले सेना मात्र होइन, सम्पूर्ण सरकारी संयन्त्रमै ‘अब अर्को को?’ भन्ने त्रास पैदा गरेको छ।
सिंगापुरस्थित एस राजारत्नम स्कुल अफ इन्टरनेशनल स्टडिजका अनुसन्धान फेलो जी याङले झाङ र लिउ जस्ता अनुभवी लडाकु पृष्ठभूमिका अधिकारीहरूको हटाइले पीएलएको व्यावसायिक मूल संरचनामा धक्का पुगेको बताए। उनले सन् २०२६ भरि पीएलए नेतृत्व अस्थिर रहने सम्भावना औंल्याउँदै अभिजात वर्गबीचको द्वन्द्व अझ गहिरिन सक्ने चेतावनी दिए।
पेन्टागनका पूर्व एसिया रणनीतिकार ड्र्यू थम्पसनका अनुसार यस्तो नेतृत्व संकटले बेइजिङको अमेरिकासँगको प्रतिस्पर्धा र ताइवानसँग सम्बन्धित रणनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्छ। सीएमसीमा अनुभवी जनरलहरूको अभावले संकटको बेला गलत निर्णयको जोखिम बढाउन सक्ने उनको भनाइ छ।
उता, एसिया सोसाइटी पोलिसी इन्ट्सिच्युटकी लाइल मोरिसले वर्तमान अवस्था अभूतपूर्व भएको उल्लेख गर्दै सी र सीमित सदस्य मात्र रहेको सीएमसी संरचनाले गम्भीर नेतृत्व शून्यता सिर्जना गरेको बताइन्। विश्लेषकहरूको निष्कर्ष छ, दीर्घकालीन शुद्धीकरणले पीएलएको मनोबल, कमान्ड स्थिरता र वास्तविक युद्धक क्षमतामा असर पार्नेछ। चीनको सैन्य संरचनामा देखिएको यो उथलपुथलले आगामी वर्षहरूमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा समीकरणमा समेत प्रभाव पार्ने संकेत दिएको छ।
Facebook Comment