कठरियाबाट पहिलो सांसद बनेकी करिश्मा

रञ्जना बिसी/कान्तिपुरबाट
कैलालीको गौरीगंगा नगरपालिका-१० की करिश्मा कठरिया राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी छन्। उनी कठरिया समुदायबाट संघीय संसदमा पुग्ने पहिलो व्यक्ति हुन्।

२०५३ सालमा मध्यमवर्गीय परिवारमा जन्मिएकी करिश्माको बाल्यकाल ग्रामीण परिवेशमा अन्य थारू बालबालिकाको जस्तै बित्यो । मसुरियास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलबाट विद्यालय तहको शिक्षा पूरा गरेकी उनले माध्यमिक शिक्षा स्थानीय जनप्रिय माध्यमिक विद्यालयबाट हासिल गरिन् । उनले टीकापुर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरेकी छन् ।

सानैदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी उनमा थियो । तर विद्यार्थी जीवनमा राजनीति गर्ने सोच भने कहिल्यै आएन । न त परिवारको कुनै राजनीतिक पृष्ठिभूमि नै थियो । राजनीतिमा आउनुअघि करिश्माले करिब ६ वर्ष शिक्षण पेशामा बिताइन् । २३ वर्षको उमेरमै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने अवसर पाइन् । ४ वर्ष टीकापुरस्थित ज्योति आधारभूत विद्यालयको प्रधानाध्यापक बनेर विद्यालयको नेतृत्व गरिन् ।

निजी र सामुदायिक गरी दुवै क्षेत्रमा शिक्षण अनुभव सँगालेकी उनले प्रधानाध्यापक भएर काम गर्दा नै समाजको वास्तविक चित्र नजिकबाट नियाल्ने मौका पाएको बताइन् । ‘विद्यालय चलाउँदै गर्दा मैले हरेक कुराको जरो राजनीतिसँग जोडिएको हुँदो रहेछ भन्ने बुझे,’ उनी भन्छिन्, ‘शिक्षा क्षेत्रको त्यो अनुभवले नै मलाई राजनीतिमा आएर नीतिगत तहमा पुग्नुपर्छ भन्ने प्रेरणा दियो ।’

शिक्षणसँगै उनी सामाजिक सेवामा पनि उक्तिकै सत्रिय थिइन् । जेसिसमा आबद्ध भएर उनले युवा नेतृत्वको सीप विकास गरिन् । २६ वर्षको उमेरमा किस्मिनिया महिला कृषि सहकारी संस्थाको अध्यक्ष बनेर ग्रामीण महिलाको आर्थिक अवस्था सुधार गर्ने अभियानमा लागिन् ।

यीनै सामाजिक कार्यले उनलाई जनताका समस्यासँग प्रत्यक्ष साक्षात्कार गरायो । करिश्माको औपचारिक राजनीतिक यात्रा भने २०७९ को आमनिर्वाचनबाट सुरु भएको हो । सुरुमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग जोडिइन् । सोही पार्टीबाट समानुपातिक उम्मेदवार पनि बनिन् ।

थारु समुदायको हकहित र अधिकारका मुद्दा बोकेको पार्टी भएकाले उनलाई त्यहाँ आबद्ध भएकी थिइन् । तर, समयसँगै उनले पार्टीको नेतृत्वले जनअपेक्षा र थारूका मुद्दामा केन्द्रित नभएको महसुस गरिन्। उनले भनिन्, ‘थारु समुदायको मुख्य एजेन्डा र अधिकारको मुद्दालाई बिर्सेर नेतृत्व आफू केन्द्रीत मात्रै हुन थालेपछि नाउपामा बसिरहन उचित लागेन ।’

त्यहीँ असन्तुष्टिले उनलाई रास्वपातर्फ आकर्षित गर्‍यो । सुशासन, पारदर्शिता र नयाँ पुस्ताप्रतिको विश्वासले उनी रास्वपा प्रवेश मात्रै गरिनन् समानुपातिक उम्मेदवार नै बनिन् । फलस्वरुप आज उनी संघीय संसदमा आफ्नो समुदायको प्रतिनिधित्व गर्दैछिन् ।

थारु समुदायभित्र पनि कठरिया समुदाय अझै पछाडि परेको छ । करिश्माको संसद प्रवेशले यो समुदायमा नयाँ आशा पलाएको छ । नेपालभर थारु समुदायको जनसंख्या २० लाखभन्दा माथि रहेको छ, जसले देशको कुल जनसंख्याको ६.७ प्रतिशत हिस्सा ओगट्छ । तर राज्यको मूलधारमा यो समुदायको पहुँच अझै कमजोरको रहेको उनी बताउँछिन् । त्यसैले त करिश्मा संसद्मा आफ्नो प्रतिनिधित्वलाई उपस्थितिलागि मात्र नभएर परिणामका लागि भएको बताउँछिन् ।

सांसदको रूपमा काम थालेपछि करिश्मासित थारु समुदायको उत्थानका लागि एउटा विस्तृत मार्गचित्र छ । सदियौंदेखि थारु समुदायले भोग्दै आएको उत्पीडन, विभेद र असमानताको अन्त्य गर्नु आफ्नो लक्ष्य रहेको उनले बताइन् । उनको राजनीतिक उद्देश्य थारु विशेष क्षेत्र घोषणा गरी अग्राधिकारको प्रभावकारी कार्यान्वयन गर्नु हो ।

उनले थारु गाउँ समाज चलाउँदै आएको ‘बडघर प्रणाली’लाई राज्यको कानुनी संरचनासँग जोड्ने र गुरुवा तथा सुडेनी वर्गलाई आधिकारिक मान्यता दिने सोच अघि सारेकी छन् । सांस्कृतिक पहिचानका लागि उनले ‘ढिकरी दिवस’ घोषणा गरी थारु खानपान र कलालाई विश्वव्यापीकरण गर्ने लक्ष्य राखेकी छन् ।

स्वास्थ्यतर्फ करिश्माका प्राथमिकताहरू झन् प्रष्ट छन् । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याको रूपमा रहेको ‘सिकलसेल एनिमिया’ उनको विशेष चासो छ । उनले यसको निःशुल्क उपचार र पीडित परिवारका लागि विशेष राहत प्याकेजको एजेन्डालाई संसदमा प्रमुखताका साथ उठाउने संकल्प गरेकी छन् ।

शिक्षामा उनले ‘थारु रैथाने विद्यालय’को अवधारणा अघि सारेकी छन् । थारु बालबालिकालाई भाषाको समस्या भएकाले मातृभाषामा शिक्षा मात्र दिइनु पर्ने उनको अर्को माग छ । ‘हाम्रा बालबालिकाले आफ्नै भाषामा सिक्न पाउनुपर्छ । उनीहरूलाई आफ्नो इतिहासप्रति गर्व गर्ने वातावरण बन्नुपर्छ,’ उनी भन्छिन् ।

त्यस्तै, महिला सशक्तिकरणका लागि उनले महिला कृषि उद्यमी सहकारीमार्फत रोजगारी सिर्जना गर्ने र राज्यका सम्पूर्ण निकायमा समानुपातिक महिला प्रतिनिधित्व सुनिश्चित गर्ने अठोट लिएकी छन् । यसका साथै, तराईको बाढी समस्या र वन्यजन्तु मानव द्वन्द्वको दीर्घकालीन समाधानका लागि उनले वैज्ञानिक नदी व्यवस्थापन र तत्काल क्षतिपूर्तिको व्यवस्थालाई जोड दिएकी छन् ।

मुक्त कमैया र कमलरीको भूमि अधिकारका लागि लालपुर्जा वितरणमा राज्यस्तरबाट कडा पहल गर्ने र टीकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गर्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउने उनको अर्को महत्वपूर्ण लक्ष्य उनको छ । ‘मलाई जनताले दिएको मत केवल एउटा भोट मात्र होइन, यो एउटा लगानी हो । आगामी पाँच वर्षमा म यो मतको प्रतिफल जनताले महसुस गर्ने गरी काम गरेर देखाउनेछु,’ करिश्मा भन्छिन् । कठरिया समुदायबाट पहिलो पटक संसद पुगेकी करिश्मा अब आफ्नो समुदाय मात्र होइन समग्र सुदूरपश्चिमका मुद्दा नीतिगत तहमा उठाउने योजनामा छिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *