पहिरन र सुन्दरताभन्दा फरक सवाल

– सावित्रा काफ्ले

स्थानीय रेलमा सप्ताहन्त बिताउन एउटा यात्रा तय भयो र मैले पनि आफ्नो झोलीतुम्बा बोकेर हिँडेँ। नजिकै दुई नेपाली दिदीबहिनीहरु तीज मनाउने योजना बनाउँदै हुनुहुन्थ्यो। झलक्क हेर्दा मान्छेहरु मलाई नेपाली भन्ठान्दैनन्। त्यसैले म पनि मुसुक्क हाँसेँ र छेउको सिटमा गएर बसेँ। मेरो उद्देश्य त्यो छलफलमा सहभागी हुनुभन्दा त्यसलाई सुन्नु थियो, गैरनेपाली भएर । दुई दिदीबहिनी कुन सारी लगाउने, कतिबेला मन्दिर जाने र बाँकी समय कता बिताउने भन्नेमा व्यस्त हुनुहुन्थ्यो। त्यति नै बेला नयाँ सारी ल्याउन नपाउने कुरामा ब्यग्र पनि देखिनु हुन्थ्यो। म भित्रभित्रै रमाइरहेकी थिएँ, त्यो वार्तालापमा तर मैले कुनै छनक दिइनँ।

प्रवासमा रहेका नेपाली महिलाहरु एक हिसाबले खुसी देखिन्छन् किनकि उनीहरुबीच त्यो सामाजिक बन्धन छैन, बिहान उठी गर्नुपर्ने दैलोपोतोको झन्झट छैन । मन नपरे पनि देखाउनुपर्ने अनावश्यक बुहार्तनको जिम्मेवारी छैन । सामाजिक संस्कारबाट हुने परिबन्दहरु छैनन् । आफू खुसी गर्न पाउने पहिरन र हिँड्न पाइने बाटो देख्दा महत्वपूर्ण नभए पनि नेपाली महिलाका लागि ठूलै अवसर र उपलब्धि हो। तर के यसैमा खुसी होलान् त प्रवासका महिला ? यो प्रश्न जटिल छ किनकि विभिन्न परिवेशमा रहेका प्रवासी नेपालीहरुका आफ्नै कथा र व्यथा छन्।

अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा बेलायतजस्ता देशहरुमा रहेका नेपाली महिलाहरु भागदौडको चपेटामा परेका छन् । महिला हुनुको भूमिकामा जुन जिम्मेवारी छ, त्यसबाट उम्कन सकेका छैनन् । जस्तैः बच्चाको लालनपालन गर्नु, घरको काम गर्नु । त्यसका साथसाथै रातदिन खटिनुपर्ने ज्यालादारी काम, अथवा अर्को भाषामा भन्नुपर्दा पैसा कमाउने मेलोमा खटिनु पनि छँदैछ । हुन त त्यसैलाई धेरै महिलाहरु सामाजिक बन्देजमा बाँधिनु पर्ने नेपाली दिनचर्याभन्दा सन्तोषजनक मानेका छन् । तर यतिबेला स्मरण गर्नुपर्ने अर्को कुरा के हो भने ती सामाजिक र सांस्कृतिक पर्वमा भने उनीहरु उत्तिकै रमाउन चाहन्छन्, व्यस्त समयका बावजूद । एकातिर विदेशी वातावरणमा घुलमिल हुनुपर्ने चुनौतीपूर्ण काम छ भने अर्कोतिर नेपाली त्यो पनि महिला, अझै त्यसमाथि थपिन्छ बुहारी’को भूमिका । खैर, ऊ जतासुकै किन नहोस् । यो सबै अपेक्षाहरुलाई सन्तुलन गरेर लानु सजिलो त छैन तर के कति सफल छन् र सन्तुष्ट पनि छन् भन्ने चाहिँ आँकलनको अर्को पाटो हुनसक्छ ।

तीजमा रातो सारी लगाएर छमछमी नाच्ने रहर पनि छ । दशैँमा रातो टीका र जमरा लगाएर माइती जाने इच्छा पनि छ र तिहारको देउसी भैलो पनि बिर्सन मन छैन तर त्यति नै बेला कामको चापाचाप छ, जुन उताको असार अथवा मङ्सीरभन्दा कम छैन । हुन त यो महिला मात्र होइन, पुरुषको पनि दैनिकी हो तर फरक के छ भने महिलाहरु चाडपर्वमा अलि बढी पहिरनलाई महत्व दिन्छन् । यी हल्का कुराहरु आफ्ना ठाउँमा छन् तर गहन कुरा के हो भने खाडी मुलुकमा कामदारका रुपमा रहेका महिलाहरुको स्थितिबारे को कति गम्भिर छ भन्ने हो ।

समाचारमा पटक–पटक खाडीका महिलाहरुले सहनु परेको पीडा र भोग्नु परेको यातनाका बारेमा पढिन्छन्, सुनिन्छन् र कसैकसैबाट लेखिन्छन् पनि । एउटा कमजोरी भनौँ वा परिपाटी हामीले सधैँ आफू भएर मात्र हे¥यौँ वा परिपाटी हामीले सधैँ आफू भएर मात्र हेर्यौँ या आफ्ना भौतिक परिधिका चित्रहरुबाट मात्र हे¥यौँ शायद त्यसैले होला हामीले ती महिला भएर महसुस गर्न सकेनौँ, चित्रण गर्न सकेनौँ, तिनका रातदिनका पीडा र विलापहरु । दुई छाक मिठो खाने, एकसरो राम्रो लगाउने र वर्षेनी चुहिने छानोमा जस्तापाता हाल्ने सपना बोकेर विदेशिसएका ती दिदीबहिनीहरु शारीरिक शोषणमा पर्दा उनीहरु भएर अलिकति सम्वेदना बाँड्न सकेनौँ शायद हामीले।

के यसलाई चिन्तन र मनन् गर्ने बेला आयो त ? के हरेक वर्ष तीजमा बजारमा चलेको नयाँ पहिरन लगाउन नपाउँदा व्यग्र हुने हामी सबैले एक पटक मात्र पनि सोच्यौँ त ? हामीजस्तै अर्की महिलाको दयनीय अवस्थाका बारेमा ? यसो भन्दैमा मैले तपाईंहरु नयाँ सारी नलगाउनुस् भन्न खोजेकी हैन । यो पहुँचको कुरा हो । तपाईंसँग स्रोत र साधन छ, प्रयोग गर्न सक्नुहुन्छ आफ्नो इच्छाअनुसार । अर्कीसँग ती सबै छैनन्, त्यसैले इच्छाहरु मार्दै जानुपर्छ । मैले मात्र धरातलको कुरा गर्दैछु, फरक–फरक र त्यसमा हाम्रो चिन्तन कहिले भन्ने प्रश्न मात्र हो । र, यो तपाईं हाम्रो जिम्मेवारी भन्दा पनि महिलाको नाममा काम गर्छौं भन्ने संघसंस्थाहरुको हो ।

विदेशमा रहेर विभिन्न नाममा काम गर्ने नेपाली संघसंस्थाहरु आजकल धेरै छन् । धेरैजसो संघसंस्थाले आफ्नो कार्यक्षेत्र नेपाल बनाएका छन् तर मैले देखेको टड्कारो आवश्यकता भनेको विदेशमा आएर यातना भोग्न बाध्य महिलाहरुको बढ्दो दरलाई रोक्न शायद हाम्रा कार्यक्रमहरुले तयति प्रभावकारी भूमिका खेल्न सकेनन् कि ! शायद जान्दाजान्दै र कालो भविष्य देख्दादेख्दै विदेशिनुभन्दा आफ्नै माटोमा श्रम लगानी गरेर मिठो खाने र राम्रो लगाउने सपनालाई पूरा गर्ने विकल्पमा हाम्रा चेलिबेटीहरुलाई संगठित गराउनु अत्यावश्यक छ ।

आखिर जड कुरा के हो भने, महिलाहरु नेपालमा दैनिक रुपमा भोग्नुपर्ने समस्याहरुबाट टाढिन चाहेका हुन् । चाहे त्यो सामाजिक, सांस्कृतिक, भौतिक या आर्थिक नै किन नहोस् ।उनीहरुको इच्छा पक्कै पनि फेरि तिनै समस्याभित्र रुमल्लिनु होइन र बेखुसी बन्नु होइन । त्यसैले महिलालाई स्वतन्त्रण र गुणस्तरीय जीवन बिताउने अवसर प्रदान गर्न सबै वर्गको संलग्नता जरुरी छ । चाहे त्यो खाडी मुलुक होस् या सम्भ्रान्त र विकसित राष्ट्र नै किन नहोस् । महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ र महिलालाई पनि पुरुष सरह स्थान दिनु अत्यावश्यक छ । सबै क्षेत्रमा समान सहभागिताको अवधारणालाई प्रवद्र्धन गर्दै लानुपर्ने प्रक्रियामा अवरोध आएन भने शायदै महिलाहरुले गर्ने छलफल र वार्तालापको विषय पनि विस्तारै परिमार्जित हुनेछ र हुनु जरुरी पनि छ।

अन्त्यमा, मेरो लेखको उद्देश्य कसैलाई आक्षेप लगाउनु भन्दा पनि सबैलाई नयाँ दृष्टिकोणबाट समस्यालाई आँकलन गर्ने र हामी आफूले आफैँलाई परिवर्तन गर्न के गर्नसक्छौँ भन्ने हिसाबले चिन्तन गर्न आग्रह गर्नु हो । यस अर्थमा, लेखको प्रारम्भमा दिइएको उदाहरणलाई जोड्नुपर्दा महिलाकै चासोको विषय अब पहिरन र सुन्दरता –भौतिक)बाट अझ सवालहरु पनि बनून् भन्ने हो । समग्रमा हामी सबैले महिलाका सवाललाई नयाँ ढङ्गबाट हेरिनु आवश्यक छ भन्नु हो। सन्दर्भ जोड्नुपर्दा गैरआवसीय नेपाली नागरिकहरुको उपस्थितिमा यहाँ उठेका केही महिलासम्बन्धी विषयले छलफलको स्थान पाओस् र ती यातनाका समाचारहरु लेखिनु नपरोस् भन्ने नै हो ।

पहिला परोपकार, त्यसपछि लगानी र अधिकार

संजीव पाण्डे

केही समय पहिले कतै यस्तो भावको कथा पढेको थिएँ : भर्खर मरेर गएको एउटा मान्छेलाई चित्रगुप्तले स्वर्ग र नर्क दुबै हेर्ने अवसर दिएछन्। सुरुमा ऊ नर्कतिर लागेछ। त्यहाँ एउटा ठूलो डाइनिङ टेबलको वरिपरि मान्छेहरू बसेका रहेछन्। बीचको टेबलमा मीठा मीठा परिकारहरू राखिएका रहेछन्। तर गज्जबको कुरा के भने अगाडि त्यत्रो खानेकुरा भएर पनि ती नर्कबासीहरू भोका नै हुँदा रहेछन् किनभने उनीहरूको दुइटा हातमा चार-चार फीट लामा चम्चा र काँटा बाँधिएको रहेछ। ती चम्चा र काँटाले खानेकुरा निकाल्न मिले पनि आफ्नो मुखमा हाल्न नमिल्ने रहेछ। फलस्वरूप, ती सबै दुब्ला, रोगी र दु:खी रहेछन्। त्यति देखेपछि त्यो मान्छे स्वर्गतिर लागेछ। त्यहाँ पनि द्रिष्य लगभग उस्तै रहेछ, तर त्यहाँ सबै मान्छे रातापीरा, स्वस्थ र सुखी रहेछन्। उसले नियालेर हेरेछ। त्यहाँका मान्छे के गर्दा रहेछन् भने चार फीट लामा चम्चा काँटाले खानेकुरा आफ्नो मुखमा हाल्न नमिल्ने भएकाले आफ्नो चम्चाले खानेकुरा झिकेर टेबलको अर्कोपट्टि बसेको मान्छेलाई खुवाउँदा रहेछन्। अनि पल्लो पट्टिकाले त्यसै गरेर खानेकुरा निकालेर वल्लो पट्टिकालाई खुवाउँदा रहेछन्। यसरी सबैजना हाँसखेल र ठट्टा गर्दै रमाइलो वातावरणमा बस्दा रहेछन्।

एनआरएनए र नेपाल सरकार

माथिको उदाहरणका नर्कबासीहरूको जस्तो बेहोरा एनआरएनए र नेपाली नेताहरूले देखाउने गरेका छन्। टेबलमा अवसर र सम्भावना प्रशस्तै छन् र हातमा अप्ठ्याराहरू पनि छन्। तर चार फीट लामा चम्चाले खाना झिकेर पहिले आफू नै खान खोज्दा दुबैथरी भोकभोकै परेर दुब्ला, रोगी र दु:खी भएका छन्। अझ पछिल्लो समयमा आएर त आफू भोको पर्नाको दोष एकले अर्कालाई लगाउनसमेत थालेका छन्।

एनआरएनहरू ठूलो पैसाको थैली बोकेर आउलान् र देशको कायापलट होला भन्ने अपेक्षा धेरै नेपाली जनताले गरे। यता केही स्वघोषित एनआरएनहरूले पनि आफ्नो हैसियतभन्दा ठूलो कुरा गर्न थालेको र झन् ठूला सपना बेच्न थालेको पनि देखियो। धेरैलाई ढिलोमात्र थाहा भयो- प्रशस्त व्यक्तिगत सम्पत्ति भएका र ठूलो लगानी गर्नसक्ने हैसियत पनि भएका धनी एनआरएनहरू औँलामा गन्न सकिने जति पनि रहेनछन्। अधिकांश एनआरएन या त गर्मीमा पसिना चुहाउँदै ज्यान हत्केलामा राखेर काम गरिरहेका छन्, या त युरोप, अमेरिका र अष्ट्रेलियामा विद्यार्थी भएर संघर्ष गरिरहेका छन्। त्योभन्दा केही बढी भए विकसित देशमा मोर्गेज (घरजग्गाको लागि लिइने ऋण) ले थिल्थिलिएर बिहानै पाउरोटी टोक्दै काममा दौडिरहेका होलान्। तिनलाई आफ्नै चिन्ता छ, जहान छोराछोरीको भविष्यको चिन्ता छ। एनआरएनएका अगुवाहरू ‘सामूहिक लगानी’ भन्दै जतिसुकै रट लगाइरहून्, त्यो वर्ग खल्तीबाट पैसा झिकेर लगानी गर्न सक्ने हैसियत राख्दैन। चुनावको समयमा कसैले भोटको लागि सदस्यता शुल्कसमेत तिरेर एनआरएनएको सदस्य बनाएको भए अर्कै कुरा, नत्र यो वर्ग एनआरएनएप्रति सामान्य चासोसमेत राख्दैन।

लगानी, अधिकार र परोपकार

लगानीका कुरा धेरै भए। व्यक्तिगत तवरमा केही एनआरएनले नेपालमा थुप्रै पैसा लगानी गरिसकेका पनि छन्। पैसा हुनेले लगानी गरेर प्रतिफल आर्जन गर्न खोज्नु स्वभाविक कुरा हो। तर देशप्रेमले ओतप्रोत भएर कसैले नेपालमा आँखा चिम्लेर लगानी गर्ला भनेर सोच्नु गलत हो। पैसा भएका एनआरएनले नेपालमा तबमात्र लगानी गर्छन्, जब पैसा डुब्ने जोखिमभन्दा नाफा आउने सम्भावना ज्यादा हुन्छ। त्यसमा ‘देशप्रेम’, ‘नेपालप्रतिको कर्तव्य’ जस्ता फुर्को झुण्ड्याएकै कारणले मात्र कसैले पैसाको ओइरो लगाउँदैन। यदि देशकै मायाले मात्र अन्धाधुन्ध लगानी कसैले गर्छ भने ऊ सच्चा देशप्रेमी तर मूर्ख लगानीकर्ता हो।

एनआरएनहरूको अर्को माग दोहोरो नागरिकता हो। विदेशमा बसेर पार्टी र अझ गुटको समेत राजनीति गर्न भ्याउने नेपालीहरू देखेर नेपाली नेताहरू पनि आत्तिएको हुनुपर्छ। अलिअलि पैसा पनि कमाएका, विदेशी डिग्री र अनुभव भएका र देशविदेश देखेर टाठाबाठा भएकाहरूलाई सत्ता र शक्तिको चुम्बकले तानेर ल्यायो भने आफैसमेत उछिट्टिन सक्छु भन्ने सामान्य हेक्का नेपाली नेता र उच्च पदाधिकारीमा अवश्य नै छ।

आयो कुरो परोपकारको। त्यसो त एनआरएनएको प्रमुख उद्धेश्यहरूमा परोपकार पर्दैन। एनआरएनएको उद्देश्यमध्ये एक भनी उल्लेख गरिएको ‘नेपालको सामाजिक-आर्थिक विकासको लागि ज्ञान, सीप र पूँजी परिचालन गर्ने’ भन्ने बुँदा आफैले निस्वार्थ भावले गरिने परोपकारलाई जनाउँदैन। आफ्नो घोषित उद्देश्यमै समावेश नगरिएपछि यस पाटोमा उतिसारो प्रगतिको अपेक्षा राख्न सकिने कुरो पनि आएन।

एनआरएनको अक्षयकोषमा साढे चौध लाख रुपैयाँ र सन् २०१२ मा स्थापना भएको च्यारिटी फण्डमा सतचालीस लाख रुपैयाँ जम्मा भएको छ। एनआरएनको संख्या तीस लाख मात्र छन् भनेर मान्ने हो भने पनि कल्याणकारी कोषमा प्रति एनआरएनको योगदान करीब २ रुपैयाँजति पर्न आउँछ।

किन उठाउन सक्दैन एनआरएनएले पैसा ?

पैसा उठेन भन्ने कुरालाई विदेशमा बसेका नेपालीहरू कञ्जुस छन् भनेर अर्थ लगाइनु भने गलत हुन्छ। थुप्रै एनआरएनले आफ्नो निजी प्रयासमा नेपालमा समाजसेवाको काम गरेको उदाहरण हाम्रा अगाडि प्रशस्त छन्। कुनै दैवी प्रकोप वा गम्भीर समस्यामा परेका अर्को नेपालीलाई सहयोगको लागि आह्वान गर्दा थुप्रै पैसा उठेको उदाहरण पनि हाम्रा सामु अनगिन्ती छन्। अष्ट्रेलियामा मैले कैयौँ विद्यार्थी भेटेको छु, जो आफ्नो गाउँठाउँका विद्यालय वा पुस्तकालयका लागि भनेर खुत्रुकेमा पैसा जम्मा गर्ने गर्दछन् र समय-समयमा नेपाल पठाउँछन्। अरू देशमा पनि यस्तै परोपकारी भाव भएका नेपालीहरू प्रशस्तै छन्। तर संसारभरि रहेका मनकारी नेपालीलाई समेटेर एउटा प्रभावकारी कोष बनाउन एनआरएनए सक्दैन। माथि उल्लेख गरिएका कोषहरूमा पैसा दिनेहरूको सूची हेर्ने हो भने प्रष्टै देखिन्छ- पैसा दिनेहरू एनआरएनएका अगुवा भनी चिनिएका एक- दुई दर्जन व्यक्तिहरूमात्र छन्। खोइ त अरू तीस लाख एनआरएन कता गए ?

अब हामीले यो भन्न हिच्किचाउनु पर्दैन कि समग्रमा एनआरएनएले आफ्नो साख र विश्वसनीयता धेरै हदसम्म गुमाएको छ। यसका संस्थापकहरूले परिकल्पना गरेको संस्था अब यो रहेन। संसारभरिका विभिन्न शाखाहरूदेखि लिएर केन्द्रसम्म नै देखिएको फोहोरी राजनीतिको दुर्गन्धले एनआरएनए गन्हाएको छ। परिणामत: यसले आफ्नो प्रतिष्ठा र नैतिक बल धेरै हदसम्म गुमाएको छ। शिक्षित र आदर्शवान कैयौँ प्रवासी नेपालीहरू एनआरएनएको नाम सुन्नासाथ नाक खुम्च्याउन थालेका छन्। यसरी नैतिक बल गुमाएको एनआरएन अब खुल्ला रूपमा सहयोगको याचना गर्न सक्दैन, र गरेमा पनि धेरैले उसलाई सहयोग गर्दैनन्। यो यथार्थ हो।

जोड दिऔँ परोपकारमै

यति हुँदाहुँदै पनि एनआरएनएले आफ्नो गुमेको साख र इज्जत फर्काउने एउटै उपाय भनेको परोपकारको बाटोबाट मात्रै हो। ५-१० जना मनकारीको २-४ करोडले खासै ठूलो परिवर्तन ल्याउन सक्दैन। कैयौँ देशका एनआरएन मिलेर १०-२० वटा ट्रली एयरपोर्टलाई दान दिएर के-के न गर्यौँख भनेर फूर्ति लाउनुको पनि कुनै तुक छैन। सबैले आत्मसात गर्नुपर्ने सत्य के हो भने विदेशमा बसेका नेपालीहरू लगभग सबैमा आफ्नो गाउँठाउँमा केही राम्रो काम गरौँ भन्ने परोपकारी भावना प्रबल छ। युरोप अमेरिकामा रहेका बुद्धिजीवी एनआरएनहरू ओपन युनिभर्सिटीको लक्ष्य बोकेर कुदिरहेका छन्। यो राम्रै कुरो हो। तर संसारभर छरिएर रहेका श्रमजीवी एनआरएनहरू, जो छानो नभएको ओपन स्कुलबाट अक्षर चिन्नसक्ने भए अथवा जो ओपन स्कुलसमेत जानबाट वञ्चित थिए, तिनको मनमा सँधै एउटै तिर्सना छ- दु:ख गरेर कमाएको पैसाबाट अलिकति जोगाएर भए पनि त्यो स्कुलमा छानो हाल्न सकौँ। हो, तिनै नेपालीको प्रतिनिधित्व र नेतृत्व एनआरएनएले गर्न सक्नुपर्छ। उपेन्द्र महतो र ईन्द्रा बनजस्ता ठूलो छाती र निष्कलंक छवि भएका व्यक्तित्वले परोपकारी अभियानको अगुवाइ गर्नुपर्दछ।

भागवद्गीतामा कृष्णले अर्जुनलाई भन्दछन् – कर्मण्ये वाधिकारस्ते मा फलेषु कदाचन। अर्थात्, कर्म गर्नु तिम्रो अधिकार हो, तर फलमा तिम्रो अधिकार छैन। निस्वार्थ भावले गरिने परोपकार नै साँचो अर्थमा परोपकार हो। कल्पना गरौँ, एनआरएनले सैयौँ विद्यालय देशभर बनाउन सकोस्, हजारौँ एनआरएनहरू स्वयमसेवीका रूपमा त्यहाँ पुगून् र लाखौं एनआरएनले हरेक महिना केही पैसा चन्दा दिऊन्। देशभर पुस्तकालय खुलून् र महावीर पुनजस्तालाई सहयोग गरेर गाउँगाउँमा इन्टर्नेटको पहुँच पुर्यादउन एनआरएनए सफल होओस्। लघुकर्जा, प्रौढ शिक्षा, ग्रामीण महिला सशक्तीकरणजस्ता आयोजनाहरू एनआरएनएले सुरु गरोस्। सानो लगानीले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने थुप्रै कामहरू नेपालमा गर्न सकिन्छ। यति गर्न सकियो भने एनआरएनहरूले दोहोरो नागरिकता माग्नै पर्दैन, सरकारले नै नागरिकता लिन आउन अनुरोध गर्नेछ। लगानीको राम्रो वातावरण आफै बन्नेछ र हामीलाई कसैले पनि ‘नन रेस्पन्सिबल नेपलिज’ भनेर गिल्ला गर्ने छैन।

(साभार :अष्ट्रेलियाको नेपाली पत्र)