ममता चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफ विजयी

ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो। जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ।

सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो। एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३२ रन बनाइन्। त्यस्तै रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाइन्। बलिङतर्फ सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, ऋतु कनोजिया र कप्तान विन्दु रावलले एक-एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ११ रनको योगफल बनायो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन्। कविता जोशीले अविजित २९ तथा रुवि पोदारले २९ रन बनाइन्। बलिङतर्फ एपिएफका रेखा रावल र इन्दु बर्माले एक एक विकेट लिए। पाँच टोली सहभागी उक्त प्रतियोगिताका शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

संघीय निजामती ऐन जारी नहुँदा सरकारी सेवामा थारूको प्रवेश कठिनाइ भयो : थारू आयोगका अध्यक्ष विष्णु चौधरी

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पुर्‍याउन आग्रह गरेका छन्। उनले संघीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे मन्त्रालयलाई जानकारी गराए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

संघीय मामिला मन्त्री भानुभक्त जोशी सवैधानिक आयोग आफैंमा स्वतन्त्र रहेको र आयोगले आफ्नो विषय क्षेत्रमा रहेका समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

राष्ट्रिय समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णुमाया ओझाले आयोगका वार्षिक प्रतिवेदन संसद्मा छलफल गराउन तथा दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए। आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले सरकारका संयन्त्र र आयोगबीच समन्वय तथा सहकार्यको अभाव रहेको बताए। उनले आदिवासी जनजातिको हकअधिकार र ज्ञान प्रवर्द्धनमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए।

मधेसी आयोगका कार्यवहाक अध्यक्ष जीवछ शाहले जातजाति र समुदाय विशेषको हकअधिकार र संस्कृतिको जर्गेनाका लागि आयोगबाट महत्वपूर्ण काम भइरहेको जानकारी दिए। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आर्थिक र जनशक्तिको अभावमा आयोगहरु सञ्चालन गर्न कठिनाइ परेको हुँदा राज्यलाई बलियो बनाउने हो भने विभिन्न जातजाति र समुदायलाई माथि उठाउने कार्यक्रम ल्याउनुपर्ने बताए।

७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलमा कति?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ। डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ। नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ।

इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ।

सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुल्यो

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दा सफाइ दिएको हो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो। काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए। पछिल्लो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ।

थारू समुदायको लोकप्रिय मदिरा ‘महुवा’ ब्रान्डिङमा पर्ला? यस्तो छ सरकारको नीति तथा कार्यक्रम

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्।

– बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझाव कार्यान्वयन गरिनेछ। लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिनेछ।

– सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिनेछ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधीकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिनेछ ।

– गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योग लगायतका बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान सम्भाव्यताको आधारमा सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिनेछ ।

– आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिनेछ ।

– आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचान कार्य सम्पन्न गरिनेछ । पहिचान भएका गरिबको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिनेछ । गरिबीको रेखामुनि रहेका घरपरिवारका लागि विद्युतीय चुलो, ट्युबवेललगायतका सामग्री उपलब्ध गराइनेछ ।

– आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ । कार्यान्वयनमा रहेका तर अपेक्षित गति नलिएका सम्भाव्य आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

– खरिद कानूनमा पुनरावलोकन गरी खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र विकासमैत्री बनाइनेछ ।

– अध्ययन अनुसन्धानसम्बन्धी राष्ट्रिय नीति, मापदण्ड र आचारसंहिता तयार गरिनेछ । सबै प्रकारका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड तयार गरिनेछ ।

– राष्ट्रिय लेखा अनुमानको आधार वर्ष परिवर्तन गरिनेछ । तीनै तहबाट उत्पादित तथ्याङ्क तथा सूचना राष्ट्रिय तथ्यगत विवरण प्रणालीमा समावेश गरी आवश्यक तथ्याङ्क सहजै उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।

– तीनवटै तहका सरकार, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा ‘उत्पादन र रोजगारीका लागि साझेदारी’ कार्यक्रम सञ्चालन गरिनेछ ।

– आर्थिक वर्ष २०८१÷८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिनेछ ।

– उत्पादन चक्र सुरु हुनुपूर्व नै आधारभूत कृषि उपज तथा पशुजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनेछ ।

– सम्भाव्यताको आधारमा महानगर तथा उप–महानगरपालिकाहरूमा चिस्यान कक्षसहितका बहुतले कृषि तथा फलफूल थोकबजार सञ्चालनमा ल्याइनेछ ।

– युवा कृषक तथा उद्यमीहरूसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको रूपमा विकास गरिनेछ ।

– फलफूल नर्सरी र बेर्ना रोपणलाई व्यापक रूपमा विस्तार गरी पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइनेछ । दुई वर्षभित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पूर्ण आत्मनिर्भरता हासिल गरिनेछ ।

– तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा १ हजार गाई भैँसीपालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास गरिनेछ ।

– हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी लगायतका पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’ सञ्चालन गरिनेछ ।

– आगामी आर्थिक वर्षमा थप १५ हजार सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरिनेछ । तराई–मधेसका तीन लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सेवा विस्तार गरिनेछ ।

– कर्णाली प्रदेशमा ‘एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रम’ कार्यान्वयन गरिनेछ ।

– आगामी आर्थिक वर्षमा पाँच लाख भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ । गुठीलगायत सबै जग्गाको दोहोरो स्वामित्वसम्बन्धी समस्या समाधान गरिनेछ ।

– डढेलो, सुक्खा, बाढी व्यवस्थापन र जल पुनर्भरण गर्न चुरे क्षेत्र र भित्री मधेसका स्थानीय तहहरूमा स्थानीय सामग्री प्रयोग गरी कम्तीमा १० वटा जलाशय निर्माण गरिनेछ ।

– कर्णाली प्रदेशको प्राकृतिक स्रोतलाई स्थानीय जनताको समृद्धिमा उपयोग गर्न स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा कृषि र वन पैदावारमा आधारित ‘समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरिनेछ ।

– जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका राष्ट्रिय नीति तथा कार्ययोजना कार्यान्वयन गरिनेछ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रिय संवाद आयोजना गरिनेछ । जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिनेछ ।

– दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

– नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिनेछ । आगामी आर्थिक वर्ष कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिनेछ ।

– आगामी आर्थिक वर्ष कम्तीमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइनेछ ।

– गोरखामा एग्रो इण्डस्ट्रियल पार्क, सुदूरपश्चिम प्रदेशमा मेगा फुड पार्क तथा कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्रको स्थापना गरिनेछ । घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

– उपभोक्ताको संवैधानिक अधिकार प्रत्याभूति गर्न उपभोक्ता अदालत गठन गरिनेछ ।

– राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धधन गरिनेछ ।

– हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिनेछ ।

– पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ ।

– जानकी मन्दिर लगायतका महत्वपूर्ण सम्पदालाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गरिनेछ । बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धधन गरिनेछ ।

– ‘परिवर्तनका लागि कला र साहित्य कार्यक्रम’ सञ्चालन गरिनेछ ।

– काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक निर्माण विसं २०८३ भित्र सम्पन्न गरिनेछ । आगामी आर्थिक वर्षभित्र नागढुङ्गा सुरुङमार्ग र ग्वार्को ओभरपास सञ्चालनमा ल्याइनेछ ।

– पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण सम्पन्न गरिनेछ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिनेछ । रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ ।

– सुनकोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिनेछ । समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिनेछ ।

– निजी क्षेत्रले समेत जग्गा विकास कार्यक्रम सञ्चालन गर्नसक्ने नीतिगत व्यवस्था गरिनेछ ।

– क्लस्टर सिटीको अवधारणामा लुम्बिनी, पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार निर्माण गरिनेछ ।

– आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कुल विद्युत् जडित क्षमता चार हजार पाँच सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट घण्टा पु¥याइनेछ ।

– बूढीगण्डकी र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाइनेछ । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिनेछ । माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी–५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसहित कार्यान्वयन सुरु गरिनेछ ।

– हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिनेछ । बूढीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिनेछ । न्यू बुटवल–गोरखपुर खण्डको प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ । इनरुवा–पूर्णिया र दोदोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तय गरी निर्माण प्रारम्भ गरिनेछ ।

–सिँचाइ, कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत्मा सहुलियत प्रदान गरिनेछ ।

– महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ । सबै प्रहरी चौकीमा महिला सहायता कक्षको व्यवस्था गरिनेछ ।

– बालसुधार गृहमा रहेका सबै बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा गरिनेछ । विसं २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ ।

– ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवं औषधि उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

– आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गरिनेछ । गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइनेछ ।

– विपन्नलक्षित छात्रवृत्ति १२ कक्षासम्म विस्तार गरिनेछ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणालीको आधारभूत तालिम प्रदान गरिनेछ ।

– माध्यमिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभावपूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिपमा पठाउने प्रबन्ध गरिनेछ ।

– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ । उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ ।

– वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिनेछ ।

– प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीय अस्पताल र कम्तीमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ ।

– देशभरका सरकारी, गैरसरकारी लगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिनेछ ।

– वैदेशिक रोजगारबाट फर्केका नागरिकका सिप र व्यावसायिक दक्षताका आधारमा उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानीय तह एवं वैदेशिक रोजगार बोर्डसमेतको संलग्नतामा व्यवसाय सञ्चालन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिनेछ ।

– सरकारी र निजी प्रतिष्ठानमा अनिवार्य श्रम अडिट गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइनेछ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई औपचारिकीकरण गर्न राष्ट्रिय रणनीति तर्जुमा गरिनेछ ।

– विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ ।

– नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ । डाटा सेन्टरको निर्माण र सञ्चालनसम्बन्धी मापदण्ड तयार गरिनेछ । सूचना प्रविधि राष्ट्रिय ज्ञानपार्क स्थापनाको कार्य अगाडि बढाइनेछ ।

– सार्वजनिक निकायमा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर, नेटवर्क, साइबर सुरक्षालगायतका सूचना प्रविधि प्रणालीहरूको प्राविधिक परीक्षण गरिनेछ ।

– सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइनेछ ।

– सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिनेछ । काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गरी कम्तीमा ५ हजार रोजगारी सिर्जना गरिनेछ ।

– अत्याधुनिक, गुणस्तरीय र प्रतिस्पर्धी मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानीजस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ ।

– विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

– आगामी आर्थिक वर्षमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ । आधुनिक प्रविधियुक्त इ–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।

– काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइनेछ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ ।

– सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।

– प्रदेशसँगको समन्वयमा खुला कारागार सञ्चालन गरिनेछ ।

– राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवासुविधासँग आबद्ध गरिनेछ । नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आबद्ध गरी मोबाइलबाटै अधिकांश सेवा लिन सकिने व्यवस्था मिलाइनेछ ।

– गाँजाको औषधीजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानूनी प्रबन्ध गरिनेछ ।

– राष्ट्रका लागि आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामग्री, अत्यावश्यक गोलीगट्ठा, विस्फोटक पदार्थ, लत्ताकपडा लगायत अन्य सैन्य सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै जाने नीति लिइनेछ ।

– प्रदेश र स्थानीय तहसँगको समन्वयमा निःशुल्क कानूनी सहायतासम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।

– शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गरिनेछ । शान्ति प्रक्रिया र द्वन्द्व रूपान्तरणका क्रममा भएका सहमति, समझदारी एवं सम्झौताको एकीकृत अभिलेख तयार गरिनेछ । जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिनेछ ।

– सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवननिर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनःस्थापना र परिपूरणलगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिनेछ ।

– राजनीतिक परिवर्तनका लागि सशस्त्र सङ्घर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ । द्वन्द्वका क्रममा अपाङ्ग भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशतलाई पुनरावलोकन तथा पुनर्निर्धारण गरी औषधोपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तोकिनेछ ।

– जाजरकोट, बझाङ, डोटी केन्द्रबिन्दु बनाई गएका भूकम्पबाट क्षति भएका निजी आवास तथा सार्वजनिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापना कार्य शीघ्र सम्पन्न गरिनेछ ।

– सङ्घीय निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याईनेछ ।

– सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिनेछ ।

– दलित समुदायका परम्परागत सिप, ज्ञान र पेसालाई आधुनिकीकरण एवं व्यवसायिकीकरण गर्न सातवटै प्रदेशमा ‘शिल्पी उद्यमशीलता विशेष कार्यक्रम’ सञ्चालन गरिनेछ । मुस्लिम, पिछडिएका वर्ग र आदिवासी जनजातिको उत्थानका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।

– ठगी, मिटर ब्याजलगायतका अनुचित लेनदेन, जालसाजीजस्ता आर्थिक तथा वित्तीय अपराध र सार्वजनिक सम्पत्ति एवं स्रोतसाधनको अनुचित दोहनजस्ता गैरकानुनी कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।

– प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवं व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ ।

– पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाई कार्यान्वयन गरिनेछ ।

– राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, रणनीतिक पूर्वाधार एवं सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिनेछ । सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिनेछ ।

– तराई–मधेस क्षेत्रमा थोक वितरण प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न विस्तृत अध्ययन गर्नुका साथै डिप ट्युबवेल जडान गरी खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

– मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिनेछ । काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायतका जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रबन्ध मिलाइनेछ ।

थारू संग्राहलय बनाउन जुटे सर्लाहीका थारू अगुवा

सर्लाहीका थारू अगुवाहरू थारू संग्राहलय बनाउन जुटेका छन्। स्थानीय तह, प्रदेश र संघमा रहेका जनप्रतिनिधिले पनि थारू संग्राहलयका लागि अग्रसर भएका छन्। थारू संग्राहलयकै निम्ति गत शनिबार सर्लाहीका अगुवाहरूले छलफल गरेका छन्।

छलफलले थारू कल्याणकारिणी सभा सर्लाहीका सभापति सूर्य नारायण चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु संग्राहलय व्यवस्थापन तदर्थ समिति गठन गरिएको छ। त्यस्तै उदय नारायण चौधरीको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समितिसमेत बनाइएको छ।

छलफलमा हरिपुरका नगरपालिकाका प्रमुख गोपाल पजियारसहित ईश्वरपुर नगरपालिका र लालवन्दी नगरपालिकाका थारूहरूको सहभागिता रहेको थियो। यी पालिका थारू बाहुल्य पालिकासमेत हो।

हरिपुरका मेयर पजियारको अध्यक्षतामा बसेको छलफलमा लालबन्दीका नगर प्रमुख बासुदेव अधिकारी र ईश्वरपुरका नगर प्रमुख मनोज कुमार अचार्य पनि सहभागी थिए। त्यस्तै छलफलमा पूर्वसांसद रामचन्द्र चौधरी, प्रदेश सांसद उर्मिला देवि सिंह थारुको पनि सहभागिता थियो।

मधेस प्रदेशमा जब पूर्वमन्त्रीले गृहमन्त्रीको कार्यकक्षमै छिरेर कर्मचारीलाई निर्देशन दिए…

अजय अनुरागी/लोकान्तरबाट साभार
मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका कर्मचारीलाई बोलाएर विभिन्न निर्देशन समेत दिएको ती कर्मचारीको भनाइ छ ।

‘पूर्व गृहमन्त्रीज्यू हिजो कार्यकक्षमा आएर मन्त्री बस्ने कुर्सीमा बसी फेरि म नै गृहमन्त्री बनेर आउँदैछु भन्नुभयो,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘के कति फाइलहरू छन्, सबै ल्याऊ भन्दै निर्देशन दिनुभयो ।’ समिमले आफ्नो कार्यकालमा नियुक्त गरिएका करारका कर्मचारीहरूलाई बोलाएर निर्देशन दिएको उनको भनाइ छ ।

‘निवर्तमान मन्त्री (राजकुमार लेखी)को कार्यकालमा के–के काम भयो, सबै फाइल ल्याऊ भनेर निर्देशन दिनुभयो,’ ती कर्मचारीले भने, ‘सचिवज्यू समेत मन्त्रालयमा नभएका बेला उहाँ आएर त्यसरी निर्देशन दिँदा हामी सबै अलमलमा परेका थियौं ।’

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि मधेशमा गृहमन्त्रालय नेतृत्वविहीन छ । सोमबारको घटनापछि मन्त्रीको कार्यकक्षमा मंगलबारबाट ढोका लगाइएको छ । पूर्वमन्त्री समिम सोमबार मन्त्रीको कार्यकक्षमा आएर मन्त्रीकै कुर्सीमा बसेको विषयमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद खरेलले आफू काठमाडौंमा रहेको बताए ।

सचिव वीरेन्द्र यादव पनि आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे । ‘हिजो क्याबिनेट बैठक थियो । त्यसकारण लामो समय मुख्यमन्त्री कार्यालयमै थिएँ,’ सचिव यादवले लोकान्तरसँग भने, ‘त्यसैले मलाई केही थाहा छैन, सूचना अधिकारीलाई सोध्नुस् ।’

मन्त्रालयका सूचना अधिकारी सन्दीपकुमार सिंहले पूर्वमन्त्री समिम मन्त्रालयमा आएको स्वीकारे । तर, मन्त्रीको कुर्सीमा भने नबसेको उनको भनाइ छ । ‘उहाँ मन्त्रीको कुर्सीमा बस्नुभएको होइन । मन्त्रालयको इन्जिनीयर तस्वे जुली राइनको कार्यकक्षमा बस्नुभएको हो,’ सूचना अधिकारी सिंहले लोकान्तरसँग भने, ‘करिब १ बजेदेखि २ बजेसम्म उहाँ मन्त्रालयमा हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वमन्त्री समिम भने आफू मन्त्रालयमा चिया खान मात्र गएको बताए । ‘हिजो नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव पनि मसँगै हुनुहुन्थ्यो । शुरूमा मुख्यमन्त्री कार्यालयमा गएको थिएँ । त्यसपछि केहीबेर भौतिक पूर्वाधार मन्त्रालयमा गएको थिएँ,’ समिमले लोकान्तरसँग भने, ‘आएका बेला गृह मन्त्रालयमा पनि जाऊँ भनेर गएको हो ।’

आफू मन्त्रालयमा गए पनि गृहमन्त्रीको कार्यकक्षमा नबसेको उनको जिकिर छ । ‘राज्यमन्त्री बस्ने कार्यकक्षअगाडि रहेको वेटिङरूममा बसेर कर्मचारीहरूसँग कुराकानी गरेको हो,’ उनले थपे, ‘मैले रक्सी खाएको कुरा पनि हावादारी हो । मैले रक्सी खाएको कसैले प्रमाणित गरिदियो भने सांसदबाट समेत राजीनामा गरिदिन्छु । ‘

विश्वकप छनोटको प्रारम्भिक नेपाली टोलीमा परे अजय चौधरी

विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन्।

त्यसैगरी रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन्। मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन्।

नेपाल र युएईबीचको खेल यही जेठ २४ गते दशरथ रङ्गशालामा हुने तय भएको थियो। तर, दशरथ रङ्गशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फुटबल महासंघ) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ।

सर्वोच्चको फैसलाले उदांगो ओलीको ‘नैतिकता’

झापास्थित गिरीबन्धु ‘टि स्टेट’ को जग्गासम्वन्धी फैसलाको पूर्ण पाठका कारण पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक प्रश्न उठाइदिएको छ। गत माघमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयमागि गंभिर प्रश्न उठाइएको छ।

सर्वोच्चको संवैधानक इजलासले गरेको अन्तिम फैसला अनुसार गिरीबन्धु टि स्टेटको जग्गा अब विक्री गर्न पाइने छैन। हदभन्दा बढी जग्गा जफत हुने किटान समेत फैसलामा गरिएको छ। हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने छ। उक्त जग्गा साटफेर गर्न दिने गरी केपी ओली नेतृत्वको सरकारले २४ असार २०७८ मा निर्णय गरेको थियो। जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचारको प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता भई छानविनको क्रममा छ।

Hardik ivf
ओली सरकारले झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकामा रहेको गिरीबन्धु टी इस्टेटलाई अन्यत्र स्थानान्तरण गर्न अनुमति दिँदै टि इस्टेटको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले उक्त निर्णय गर्नुअघि भूमिसम्बन्धी ऐनमा भएको ‘कुनै उद्योग वा कम्पनीलाई राख्न छुट दिएको हदबन्दीभन्दा बढीको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने’ भन्ने व्यवस्थालाई नियोजित रुपमा उलटफेर गरिएको थियो। नियम बदल्न ओली नेतृत्वको क्याविनेटका एक मन्त्री प्रयोग भएको प्रसङ्ग समेत उठेको थियो।

गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केपी ओलीलाई प्रभावमा पारेर नीजि स्वार्थका लागि कानुन नै संशोधन गराउन सफल भएका थिए। यति मात्र नभै भूमिसुधार मन्त्रालयका एकजना सचिवले प्रस्ताव तयार पार्न नमान्दा उनलाई हटाएर उक्त स्थानमा टेकनारायण पाण्डे (भुटानी काण्डमा हाल जेलमा) लाई भूमिसुधार सचिव बनाएर चाँजोपाँजो मिलाइएको भनाई समेत बाहिरिएको छ। सत्ता गठवन्धन फेरिएपछि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रभावमा पारेर भूमिसम्बन्धी ऐन, २०२१ का केही दफाहरु अध्यादेशमार्फत संशोधन गरी हदबन्दा बढी जग्गा राख्नेलाई विक्री गर्न दिने खालका प्रावधान अध्यादेशमा घुसाइएका थिए। टि स्टेटको जग्गालाई लक्षित गरी कानुन नै सच्याउने प्रयास गरिए पनि संवैधानिक इजलासको फैसलापछि अब यो योजना समेत काम नलाग्ने भएको छ।

चियाखेतीका लागि हदबन्दी छुट दिइएको जग्गामा चियाखेती नै सञ्चालन भएको देखिनुपर्ने फैसलाले भनेको छ। ‘हदबन्दीभन्दा बढी भएको जग्गा सरकारले कानूनी प्रक्रिया पूरा गरेर जफत नै गर्नुपर्ने हुन्छ, निश्चित प्रयोजनका लागि हदबन्दी छुट पाएको जग्गा अन्य फरक प्रयोजनमा उपभोग गर्न मिल्दैन,’ पूर्ण फैसलामा लेखिएको छ, ‘जुन प्रयोजनले हदबन्दी छुट दिएको हो, सो प्रयोजन समाप्त भएमा वा सो प्रयोजनमा जग्गा उपभोग नगरिएमा सो जग्गा प्राप्त गर्नु नेपाल सरकारको अनिवार्य कानूनी कर्तव्य वा जिम्मेवारी हो।’

०२९ सालमा झापाको गिरीबन्धु टी स्टेटलाई त्यतिबेला सरकारी निर्णय अनुरुप चिया बगान सञ्चालन गर्न दिएको करिब ५ सय रोपनी जग्गा सट्टा भर्नाका नाममा बेचबिखन गर्न दिने नीतिगत निर्णयमा ओलीले अनौठो रुपमा सक्रियता देखाएका थिए। उक्त प्रकरणलाई नीतिगत भ्रष्टाचारको ज्वलन्त उदाहरणका रुपमा हेरिएको छ। गिरीबन्धुको जग्गा बेच्ने निर्णय गराउन दलालहरुले ठूलो रकम उठाएको भन्ने प्रसङ्ग समेत उतिबेलै मिडियामार्फत बाहिरिएका हुन्। सर्वोच्चको फैसलापछि गिरीबन्धुका नाममा रकम असुली गर्नेहरुमाथि कारवाही गनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदिएको छ।

भूमिसम्बन्धी कानूनको मनसाय विपरीत गिरिवन्धु टि स्टेटमा निर्णय भएको ठहर सर्वोच्च अदालतको छ। सर्वोच्चले कृषि उद्योगका लागि भनेर हदबन्दीमा छुट लिएको जग्गालाई घरजग्गा व्यवसाय वा अन्य प्रयोजनमा लगाउने कार्य कानूनको बर्खिलाप हुने किटान गरेको छ। गिरीबन्धुको नीतिगत निर्णयमा भएको आर्थिक चलखेल र पीडित भएका व्यक्तिहरुको रकम फिर्ताको जिम्मा कस्ले लिन्छ? केपी ओलीलगायत निर्णयमा संलग्न जिम्मेवार व्यक्तिका बिषयमा भ्रष्टाचार र ठगीमा छानविन हुन्छ कि हुँदैन? नीतिगत भ्रष्टाचारको यति ठूलो प्रकरणमा सरकार र अख्तियारले के गर्छ? वा, फेरी एकपल्ट ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उक्तिलाई सार्थक तुल्याउँदै शक्तिको आडमा फासफुस पारिन्छ हेर्न बाँकी छ।

काठमान्डु प्रेसबाट साभार

भ्रष्ट नेतालाई समर्थन र साना दलमाथि ओलीको आधिपत्य

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनका मुख्य नाइके नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको नेताहरूले बताएका छन्। च्यासलमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नेताहरूले ओलीलाई पार्टी फुटाउने नाइकेकै रूपमा चित्रण गरेका छन्।

पार्टी नेतृत्व कमजोर बनेपछि पार्टी फुटाउने र विभिन्न चलखेल गर्न ओली माहिर बनेको उनीहरूको आरोप छ। मधेसी दलहरू यसैगरी कमजोर बन्दै जाने हो भने ओलीले सबै दललाई नै समाप्त पार्ने सहभागी नेताहरूले बताए।

त्यसै पनि केपी ओली मधेसमा बदनाम छन्। मधेस आन्दोलनका बेला एमाले अध्यक्ष ओलीले मधेसी जनताको अपमान हुने खालका अभिव्यक्तिहरू दिएका थिए। प्रहरी दमनका कारण प्रदर्शनकारीको ज्यान गइरहेका बेला ओलीले ‘एउटा रुखबाट दुईचारवटा आँप झर्दैमा बर्बादै भयो भनेर आत्तिनुपर्दैन’ भनी अभिव्यक्ति दिएका थिए। यस्तै अभिव्यक्तिका कारण उनी हालसम्म मधेसमा बदनाम छन्।

पछिल्लो समय मधेसमा मधेसी दल स्थापित बन्दै आएका छन्। २०७४ को निर्वाचनपछि मधेस प्रदेशको नेतृत्व पनि मधेसी दलले नै गर्दै आएका छन्। जसका कारण ओली संशकित बनेको उनी निकट नेताहरूले भन्ने गरेका छन्। मधेसमा पनि आफूअनुकुल सत्ता निर्माण गर्न ओलीले जसपा नेपाल विभाजन गराएको चर्चा सुन्न पाइन्छ। जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको मधेस सरकारलाई अल्पमतमा पारेर एमाले नेतृत्वको सरकार बनाउने चलखेल मधेसमा भइरहेको छ।

मधेसमा मात्र होइन, ओली संघमै रहेका साना दलमाथि पनि गिद्दे नजर गाडेका छन्। उनले साना दलहरूलाई विभाजित गरेर शक्ति आर्जन गर्ने दाउँमा छन्। नागरिक उन्मुक्ति पार्टीलाई विभाजनको संघारमा ल्याएर रवि लामिछाने जस्ता भ्रष्ट नेताहरूलाई समर्थन गर्ने उनको चरित्र आधिपत्यवादी रहेको विश्लेषकहरू बताउँछन्। संसदमा रहेका साना दलहरूलाई सत्ताको मोह दिएर, मालद्वार मन्त्रालय दिने लालच देखाएर सिध्याउने रणनीति ओलीको रहेको छ। उसले अर्को चुनावमा बहुमत नै ल्याउनेगरी मिसन ८४ को प्रचार पनि गरिरहेका छन्।

त्यतिमात्र होइन, ओलीको अहंकारकै कारण सुदूरपश्चिम प्रदेश सरकार पनि पेन्डुलम अवस्थामा छ। माधव नेपालसँग बदला लिनकै लागि ‌ओलीले सुदूरपश्चिमलाई पेन्डुलम बनाएको विश्लेषकहरूको भनाइ छ। त्यसै पनि ओली र माधव नेपालबीच अहिले वाकयुद्धको स्थिति रहेको छ।