ओलीले अहिलेकै अवस्थामा निर्वाचन सम्भव छैन भनेपछि देउवाले भने- खै सरकारले गराएरै छाड्छु भन्छ

शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा सघन छलफल भएको छ। देउवा निवासमा अध्यक्ष ‌ओलीले निर्वाचनका लागि सरकारको तयारी नपुगेको बताएका थिए। उनले सुरक्षाको अनुभूति पनि सरकारले गराउन नसकेको र अहिलेको तयारीले फागुन २१ मा निर्वाचन सम्भव पनि नभएको देउवालाई बताएको स्रोतको दाबी छ।

सभापति देउवाले भने निर्वाचनप्रति लचिलो जवाफ फर्काएका थिए। निर्वाचन गर्छु भनेपछि सरकारले सबैखालको व्यवस्थापन गर्नुपर्ने देउवाको भनाइ रहेको स्रोतको दाबी छ। ‘ओलीजीले अहिलेकै अवस्थामा चुनाव नहुने बताएपछि सभापतिज्युले सरकारले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको थियो,’ स्रोतले भन्यो।

त्यस्तै भेटमा अध्यक्ष ओलीले स्वास्थ्य अवस्थामा बारे पनि बुझेका थिए। देउवाले अहिले सबै ठीक हुँदै गएको बताएका थिए। उनीहरूबीच कांग्रेस र एमालेको आसन्न महाधिवेशनका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।

‘कांग्रेसको बैठक सकिएछ हैन?,’ हाँस्दै ओलीले प्रश्न गरेका थिए। उनले कांग्रेस बैठकलाई निष्कर्षमा लगेकोमा देउवालाई बधाई पनि दिएका थिए। सभापति देउवाले पनि एमालेको आसन्न महाधिवेशनप्रति बधाई दिँदै एकजुट भएर लैजान सुझाव दिएका थिए।

प्रधानमन्त्री कार्कीले भनिन्- हामी पक्ष-विपक्ष नभनी चुनाव गराउन आतुर छौं

प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वपक्षीय बैठक सकिएको छ। बैठकमा सहभागी राजनीतिक दलहरूले अर्जुनदृष्टि लगाएर चुनाव गराउन आग्रह गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले आफूहरूले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेको बताए।

‘सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूबीच महत्त्वपूर्ण छलफल भयो। मूलतः निर्वाचनको तयारीका विषयमा छलफल केन्द्रित रह्यो। हामीले यो चुनावी सरकार भएकाले चुनावमै अर्जुनको वाण तेर्स्याउन आग्रह गर्‍यौं,’ उनले भने। सरकारलाई विभिन्न अध्यादेश नअल्झिन आग्रह पनि गरेको उनले बताए। ‘सरकार चुनावमा मात्रै केन्द्रित हुनुपर्छ। अध्यादेशमा अल्झिनु हुँदैन भनेर पनि सुझाव दियौँ,’ उनले भने।

त्यस्तै नेपाली कांग्रेसले आफूहरू चुनावमा जान तयार रहेको बताएको थियो। कांग्रेस नेतृ पुष्पा भुसालले कांग्रेस चुनावमा जान तयार रहेको र त्यसका लागि सुरक्षाको पर्याप्त वातावरण बनाउनुपर्ने सरकारलाई सुझाव दिएको बताइन्। ‘चुनावमा जान हामी तयार छौं। तर त्यसका लागि सुरक्षाको वातावरण बनाउने जिम्मा सरकारको हो। किनकि अहिले पनि चुनावका लागि सुरक्षा चुनौती धेरै छ,’ उनले भनिन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई पनि भोट दिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको बताएको छ। रास्वपा नेता शिशिर खनालले विदेशबाट र अन्तर जिल्लाबाट भोट दिने व्यवस्था यसैपटक गर्न सकिन्छ भनेर सुझाव दिएको बताए।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू चुनावकै निम्ति आएको स्पष्ट पारेकी थिइन्। ‘हाम्रो निजी केही कुरा नै छैन। केही पाउनका लागि केही गरेका पनि होइनौं। हामीलाई जे जिम्मेवारी दिइएको छ, हामी त्यही गरिरहेका छौं। न हामी कसैको पक्षमा लागेका छौं, न विपक्षमा। त्यसैले हामी अनुरोध गर्न चाहन्छौं, चुनावी वातावरण बनिसकेको छ। जनताहरू पनि चुनावका लागि तयार छन्। धाँधलीरहित चुनाव गराउन सरकार पनि तयार छ। आउनुस् मिलेर चुनावलाई सफल बनाऔं,’ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्।

प्रधानमन्त्री कार्कीले सुरक्षाको पर्याप्त वातावरण बनिसकेकाले दलहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेकी थिइन्। ‘चुनावमा दलहरू आउनुपर्छ। जनताले दलहरूका प्रतिनिधि चुन्न पाउनुपर्छ। यहाँ निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू पनि हुनुहुन्छ। उहाँहरूले निर्वाचन गराउने प्रतिवद्धता जनाइसक्नुभएको छ। अब दलहरू पनि निर्वाचनका लागि तयारी गर्नुपर्छ,’ उनले भने।

बैठकमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आफूहरू चुनाव गराउन तयार रहेको बताएका थिए। उनले त्यसका लागि आयोग कार्यतालिकाअनुसार काम गरिरहेको र निर्वाचनप्रति कुनै शंका नमान्न आग्रह गरेका थिए। उनले मतदाता नामावलीमा करिब ८ लाख भोटर थपिएको मतदान केन्द्र र निर्वाचन सामग्री जुटाउने काममा आफूहरू लागिपरेको बताएका थिए।

बैठकमा सुरक्षाका निकायका तर्फबाट प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की पनि सहभागी थिए। उनीहरूले निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको बताएका थिए। जेनजी आन्दोलनपछि घटेको प्रहरीको मनोबल पनि बढिरहेको, कैदीहरू धमाधम पक्राउ परिरहेको, प्रहरी कार्यालयहरू पनि पुनर्निर्माण भइरहेको र हतियारहरू पनि फिर्ता गर्ने जारी रहेकाले निर्वाचनका लागि ढुक्क हुन दलहरूलाई आग्रह गरेका थिए।

एमालेका मुख्यमन्त्रीको विवादित मदरसासम्बन्धी निर्णयले मधेशमा बल्यो आगो

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मधेशमा मुख्यमन्त्री सरोजकुमार यादवले एउटा विवादित निर्णय गरेका छन्। जसका कारण मधेशमा विरोध प्रदर्शन सुरू भएको छ।

मुख्यमन्त्री यादवले विवादित मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरे मधेसमा प्रदर्शन सुरू भएको हो। मधेशमा एमाले र मुख्यमन्त्री यादवविरुद्ध प्रदर्शन भएको हो। मदरसा शिक्षा बोर्ड गठनको विरोधमा वीरगन्जमा टायर बालेर त्यसको विरोध गरिएको छ भने निवर्तमान भइसकेका मुख्यमन्त्री यादवलाई जनकपुर कालो झन्डा देखाइएको छ।

यसैबीच राष्ट्रिय एकता अभियानले मदरसा विधयेक खारेजीको मागसहित प्रदर्शनमा उत्रिएको छ। अभियानका नेताहरूले जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै नाराबाजीसहित घेराबन्दी गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रदर्शनकारीहरूले ‘मदरसा विधेयक खारेज गर, मुस्लिम तुष्टिकरण राजनीतिक बन्द गर, यो विधेयक हामीलाई चाहिँदैन, मजहबी शिक्षा खारेज गर, आतंकवादी शिक्षा खारेज गर’जस्ता नाराहरू लगाएका थिए।

उनीहरूले एमाले र मुख्यमन्त्री यादवविरुद्ध ‘मुर्दावाद’को नारासमेत लगाएका थिए। राष्ट्रिय एकता अभियानका नेताहरूले मदरसा विधेयक प्रदेशको सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र शैक्षिक संरचनामाथि खतरा पैदा गर्ने भन्दै तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रिय एकता अभियानले प्रदेश सरकारसमक्ष चार मुख्य माग अघि पनि सारेको छ। मदरसा बोर्ड विधेयक तथा यससम्बन्धी सबै सरकारी निर्णयको तथ्याधारित अध्ययन, छानबिन र सार्वजनिक रूपमा स्पष्टीकरण तुरुन्त प्रस्तुत गर्न माग गरिएको छ। त्यस्तै मदरसा, मस्जिद तथा अन्य धार्मिक/शैक्षिक संरचनाहरूको दर्ता, आर्थिक पारदर्शीता, मानवस्रोत व्यवस्थापनमा कडाइका साथ नियमन कार्यान्वयन गर्नुपर्ने, अवैध प्रवेश, कागजातविहीन बसोबास वा कानुनविपरीत गतिविधि भेटिए निष्पक्ष कानुनी कारबाही गर्नुपर्ने र प्रदेश-संघ समन्वयमार्फत सीमा सुरक्षा र आन्तरिक सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरिएको छ।

अभियानले राष्ट्रको सार्वभौमिकता, स्थिरता र आन्तरिक सुरक्षा जस्ता संवेदनशील विषयमा राज्यका सबै निकायले दूरदर्शी, पारदर्शी र जिम्मेवार ढङ्गले काम गर्नुपर्नेमा जोड दिएको छ। अभियानले नागरिकहरूलाई शान्तिपूर्ण, संवैधानिक र तथ्यमा आधारित छलफल तथा जनजागरणमा सहभागी हुन अपिल पनि गरेको छ।

त्यतिमात्र होइन, एमाले अध्यक्ष ओलीले क्रिश्चियनका नेता मानिने एकनाथ ढकाललाई पार्टीमा भित्र्याएर सांसद बनाएको आरोप पनि लाग्दै छ। एमालेमाथि नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र क्रिश्चियन नेताहरूलाई पक्षपोषण गर्दै आएको आरोप लगाइन्छ।

१८ वर्षीया अजिता थारूमाथि चितुवाले गर्‍यो आक्रमण

चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन्। बारबर्दिया नगरपालिका-४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन्। चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्।

घरनजिकै खेतमा राखेको पराल लिन गएका बेला परालमा बसेको चितुवाले छोरीलाई आक्रमण गरेको जन्जिर थारुले बताए।

‘गाउँको बीचमा रहेको खेतमा पराल राखिएको छ, १३ वर्षीया छोरी अनुसा र १८ वर्षीय अजिता दुई बहिनी पराल लिन गएका थिए, पराल राखिएको ठाउँमा पुग्ने बित्तिकै परालमा बसेको चितुवाले आक्रमण गर्‍यो,’ उनले भने,‘दिदीलाई चितुवाले आक्रमण गर्दा बाहिनी अनुसा जोडले कराउँदा चितुवा छोडेर भागेको हो।’ बर्दिया अस्पतालमा उपचारपछि मंगलबार राति नै घर फर्किएको उनले जनाए।

गत शुक्रबार काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका-११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो।

भारत-नेपाल आर्थिक सम्बन्धले फेरिँदैछ दुई देशको भविष्य

आजको विश्व भू-राजनीतिक परिदृश्य तीव्र अनिश्चितताले भरिएको छ, जहाँ नयाँ आर्थिक प्रतिस्पर्धा, बदलिँदो शक्ति–सन्तुलन, अस्थिरता, तथा आपूर्ति श्रृंखला सम्बन्धी जोखिमहरू निरन्तर देखा पर्छन्। यस्ता अनिश्चित परिस्थितिमा पनि कुनै–कुनै सम्बन्धहरू स्थिर देखिन्छन्, जसको प्रमुख आधार इतिहासभर बनिरहिएको आपसी आर्थिक–सांस्कृतिक अन्तरसम्बन्ध हो। भारत–नेपाल आर्थिक साझेदारी यही ऐतिहासिक गहिराइको व्यावहारिक उदाहरण हो।

भारत–नेपालका आर्थिक सहकार्यहरू भौगोलिक निकटता, सांस्कृतिक सम्बन्ध, साझा इतिहास, व्यापार र वित्तीय आदानप्रदानलगायत बहुआयामिक पक्षहरूको संयोजन हुन्। दुवै मुलुकबीच केही औपचारिक सन्धिहरू रहेका भए पनि आर्थिक सम्बन्धको मजबुती मुख्यतः साझा सभ्यता, सांस्कृतिक निकटता र सामाजिक सम्पर्कको विस्तारले निर्धारण गरेको देखिन्छ। नेपालले भारतका लागि उपलब्ध गराइदिएको प्राकृतिक सुरक्षा–बफर तथा भारतमार्फत नेपालले प्राप्त गर्दै आएको समुद्री पहुँच यी दुई देशबीचको रणनीतिक परनिर्भरताको चर्चित उदाहरण हुन्। तर यसको दायरा यी पक्षहरूभन्दा व्यापक छ र समयसँगै निरन्तर विकसित भइरहेको छ।

दुवै देशले पर्यटन, जलविद्युत् विकास, अर्गानिक खेती, तथा कनेक्टिभिटी पूर्वाधारका क्षेत्रमा आर्थिक सहकार्यलाई तीव्रगतिमा उपयोग गर्दै आएका छन्। सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुवै देश एक–अर्काका लागि र विश्वकै लागि आकर्षक पर्यटन गन्तव्य भएका कारण सरकारले परम्परागत क्षेत्रभन्दा बाहिरका पर्यटन सम्भावनामा पनि ध्यान केन्द्रित गर्न थालेका छन्। भारतले नेपाललाई अर्गानिक कृषि उत्पादनको सम्भावित आधारभूमि मान्दै सम्बन्धित पाइलट परियोजनाहरू अघि बढाएको छ, भने रोजगार सिर्जनाका सिलसिलामा नेपालले भारतको ‘स्किल इण्डिया’ जस्ता पहलसँग सहकार्य गर्ने सोच बनाइरहेको छ।

सन् २०२५ को नोभेम्बरमा दुबै देशले ‘सन्धि–अफ–ट्रान्जिट’मा परिमार्जन गर्दै जोगबनी–बिराटनगर रेलमार्ग हुँदै ठूलो परिमाणका मालबस्तु ढुवानी सहज बनाउने निर्णय गरे। यसले भारत–नेपालबीच मात्र होइन, तेस्रो मुलुकहरूसँगको व्यापारिक पहुँचलाई पनि मजबुत बनाउन सहयोग पुर्‍याउनेछ। यस्तो कनेक्टिभिटी–उन्मुख उदारिकरण व्यापारिक तथा वाणिज्यिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा संकेत गर्छ।

वित्तीय समन्वयको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ—नेपालमा यु.पी.आई. (UPI) र फोनपे QR को अन्तरसञ्चालन (interoperability) स्थापना हुनु यसको उदाहरण हो। कोभिड–१९ महामारीका कठोर परिस्थितिमा पनि भारत–नेपाल व्यापार मार्गहरू खुला र सक्रिय रहनु, आर्थिक सम्बन्धको लचिलोपनको द्योतक हो।

ऊर्जा सहकार्यका क्षेत्रमा दुवै मुलुकले क्षेत्रीय कनेक्टिभिटी र दिगो ऊर्जा विकासलाई लक्षित गर्दै नयाँ अध्यायहरू लेखिरहेका छन्। स्वच्छ ऊर्जाको प्रवर्द्धन प्रतिवद्धताबाट अघि बढ्दै भारतीय आयल कर्पोरेशन (IOCL) ले नेपालमा एल.एन.जी. (LNG) को निर्यात सुरु गर्नु ऐतिहासिक उपलब्धि हो। यसका लागि सिमरामा क्रायोजेनिक भण्डारण तथा पुनःग्यासिकरण संयन्त्र निर्माण गरिनु, ऊर्जा क्षेत्रको दीर्घकालीन रूपान्तरणतर्फको संकेत हो।

नेपालको विशाल जलस्रोत तथा ऊर्जा सम्भावनालाई उपयोग गर्दै एस.जे.भी.एन. (SJVN) द्वारा निर्माणाधीन ‘अरुण–३ जलविद्युत् परियोजना’ दुवै देशबीचको ऊर्जा–सहकारको महत्वपूर्ण प्रतीक हो। ९०० मेगावाट क्षमताको यो आयोजना नेपाललाई निःशुल्क विद्युत्, रोयल्टी आय, ग्रामीण विद्युतीकरण र स्थानीय आर्थिक अवसर प्रदान गर्दै, भारतको बढ्दो ऊर्जा माग पूरा गर्न योगदान पुर्‍याउनेछ। यसरी, भारत नेपालका जलविद्युत् स्रोतका लागि ‘तत्काल उपलब्ध र गतिशील बजार’का रूपमा उभिएको छ।

समग्रमा, काठमाडौं र नयाँदिल्ली सांस्कृतिक, ऐतिहासिक र आर्थिक रूपमा अनौठो ढङ्गले गाँसिएका दक्षिण एशियाली ‘दुई सहोदर’ देश हुन्। व्यापार, पूर्वाधार, ऊर्जा तथा अन्य क्षेत्रहरूमा बढ्दो सहकार्यले दुवै मुलुक साझा आर्थिक भविष्यतर्फ उन्मुख भइरहेका छन्। व्यापार विविधीकरण, ऊर्जा–स्रोतमा परस्पर निर्भरता, र कूटनीतिक स्थिरता—यी सबै तत्वहरूले क्षेत्रीय समृद्धि र आर्थिक विकासका आधार स्तम्भका रूपमा काम गर्नेछन्। साझा सभ्यता, इतिहास र आत्मीयताले समृद्ध भएको यो सहजीवी सम्बन्ध अब दुवै देशलाई दीर्घकालीन साझा आर्थिक भविष्यतर्फ अग्रसर गरिरहेको छ।

चिनियाँ नागरिक संलग्न घोटालाले नेपालको शासन संरचनालाई नंग्याउँदै

नेपालको राजनीतिक र आर्थिक संरचनामा भ्रष्टाचार धेरै समयदेखि मौन रोगझैँ फैलिँदै आएको छ। कहिले नोटकै थुप्रोमा, कहिले कमिसनको गन्धमा, कहिले प्रक्रियागत कमजोरीका झ्याल-ढोकाबाट। तर पछिल्ला केही वर्षमा देखिएको एक नयाँ ढाँचाले यो रोगलाई झनै जटिल बनाइरहेको छ, देशका उच्चस्तरीय घोटालाहरूमा चिनियाँ नागरिक वा चीनमा आधारित कम्पनीहरूको संलग्नता निरन्तर देखा पर्नु।

यसले विदेशी लगानी र साझेदारीबारेका अपेक्षाहरू मात्र ध्वस्त तुल्याएको छैन, नेपालका आफ्नै संस्थागत कमजोरी, निरीक्षण संयन्त्रको दुर्बलता र राजनीतिक प्रभावका असजिला दायराहरूलाई पनि उजागर गरिदिएको छ।

नेपालले चीनसँग पूर्वाधार, प्रविधि र लगानीको सम्बन्ध विस्तार गर्ने घोषणासँगै एक प्रकारको उत्साह बोकेको थियो। तर ती उत्साहहरू पछिल्लो समय घोटाला र अनियमितताको धुलोमा ढाकिँदै गइरहेका छन्। यी घटनाले एक कठोर सत्य सम्झाइरहेका छन्, परियोजनाको आकारभन्दा ठूलो हो शासनको शक्ति; लगानीभन्दा शक्तिशाली हो पारदर्शिता; र साझेदारीभन्दा मूल्यवान् हो जवाफदेहिता।

दूरसञ्चार क्षेत्रको गहिरो घाउ
२०२५ मा सार्वजनिक भएको नेपाल टेलिकमसम्बन्धी भ्रष्टाचार प्रकरण नेपालमा विदेशी संलग्नता र स्थानीय मिलेमतोबीचको जटिल सम्बन्ध बुझ्न पर्याप्त थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अधिकारीदेखि चिनियाँ कम्पनीका प्रतिनिधिसम्मलाई समेटेर दायर गरेको मुद्दाले संकेत गर्यो, समस्या सामान्य प्रशासनिक त्रुटिबाट उत्पन्न भएको थिएन, समस्या सिङ्गो प्रणालीसँग जोडिएको थियो।

बिलिङ प्रणाली खरिदमा गरिएको हेरफेर, अनौपचारिक समन्वय, मर्मतसम्भार करारमा अनियमितता, यी सबै तथ्यहरूले एउटा स्पष्ट चित्र कोरे: सार्वजनिक संस्थाहरूमा रहेका कमजोरीहरूलाई विदेशी फर्महरूले सजिलै उपयोग गर्न सकेका छन्। अझै गम्भीर कुरा, यो खाली विदेशीकै कुशल धोका थिएन; देशभित्रैका अधिकारीहरू तिनै घेराभित्र स्वेच्छाले, वा फाइदाका लागि, प्रवेश गरिरहेका थिए।

नेपाल टेलिकमजस्तो राष्ट्रिय सम्पत्तिमा भएको यस प्रकारको हस्तक्षेपले केवल आर्थिक घाटा मात्र दिएको छैन, यसले नेपाली संस्थाहरू विदेशी साझेदारको अगाडि कति कमजोर छन् भन्ने कुरामा पनि प्रश्न उठाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको कनेक्टिभिटी सपनाको केन्द्रमा रहेको परियोजना थियो, चीनको ऋण, चीनकै इन्जिनियरिङ कम्पनी, र नेपालको अंतर्राष्ट्रिय आकांक्षा। खुला रुपमा हेर्दा यो परियोजना आधुनिक नेपाल निर्माणतर्फको साहसी पाइला थियो। तर अन्तरिप रिपोर्टहरू र संसदीय छानबिनले अर्को यथार्थ प्रस्तुत गर्यो, मूल्यांकन हेरफेर, खर्च फुलाइने, प्रक्रियागत उल्लङ्घन र निर्माणको गुणस्तरमा गम्भीर प्रश्नचिह्न।

हिनामिनाको रकम अर्बौँमा पुगेको निष्कर्षले विदेशी लगानीमा टेकेको राष्ट्रको संवेदनशीलता मात्र होइन, नियमित संरचना कत्तिको असहाय छ भन्ने वास्तविकता पनि नाङ्गो बनायो। चिनियाँ ठेकेदारहरूले परियोजना सञ्चालनका धेरै निर्णय आफैंले निर्देशित गरेको, र नेपाली निरीक्षण निकायहरूले हेर्नुपर्ने ठाउँमा आँखा चिम्लिएको आरोपले राष्ट्रिय नेतृत्वकै चरित्रमा प्रश्न उठायो।

विमानस्थल भौतिक रूपमा उभिए पनि यसको छायाँमा उभिएको प्रश्न अझै उभिइरहेको छ, के विकासका नाममा देशले पारदर्शिताको मूल्य चुकाइरहेको छ? के विदेशी लगानी सरकारले जिम्मेवारी टार्ने ढाल बनेको छ?

घटनाभन्दा ठूलो छ प्रणालीगत कमजोरी
यी दुई प्रमुख घटनालाई मात्र अपराधको अलग-अलग उदाहरणका रूपमा हेर्न खोज्दा मूल समस्या छुटाउँछ। वास्तवमा, यी घटनाहरू नेपाल-चीन सम्बन्धमा उभिएको एक पुनरावृत्त संरचनात्मक दोषतर्फ संकेत गर्छन्, जहाँ ठूला रकम, राजनीतिक पहुँच, र प्रशासनिक कमजोरीले मिसिएर एक घातक मिश्रण बनाउँछ।

चिनियाँ कम्पनीहरू प्रायः राजनीतिक समर्थनसहित प्रवेश गर्छन्, जसले गर्दा उनीहरूलाई सर्त तय गर्ने, नियम मोड्ने, र निरीक्षणलाई कमजोर बनाउने क्षमता प्रदान गर्छ। नेपालका नियामक निकायहरू, कहिले दबाबले, कहिले पहुँचले, कहिले प्रत्यक्ष मिलेमतोले, बेलामा हस्तक्षेप गर्न असफल हुन्छन्। यसरी, सार्वजनिक क्षेत्रका निर्णयहरू व्यक्तिको फाइदा अनुकूल ढल्न थाल्छन्, राष्ट्रको हितभन्दा टाढा।

अर्को महत्वपूर्ण कुरा, हाम्रो प्रणालीले ठूला पूर्वाधार परियोजनाहरूलाई व्यवस्थापन गर्न आवश्यक स्वायत्तता, दक्षता र पारदर्शिता विकास गर्न सकेको छैन। जब संस्थागत कमजोरीहरू गहिरिँदै जान्छन्, बाह्य प्रभावहरू बलियो हुँदै जान्छन्। यो दुवैको संयोजनले घोटालाहरू जन्माउँछ।

घरेलु राजनीति र जनविश्वासको क्षय
यी घटनाले नेपाल भित्र राजनीतिक ध्रुवीकरण झनै बढाइदिएको छ। विपक्षले सरकारलाई चीनसम्बन्धी परियोजनामाथि अत्यधिक न्यानोपन देखाएको आरोप लगाउँछ, जबकि सरकार विदेशी लगानीलाई राष्ट्रिय आवश्यकता बताउँदै बचाउमा उत्रिन्छ। तर आम नागरिकका लागि प्रश्न एउटा मात्र छ, किन हरेक ठूलो परियोजनामा घोटालाको गन्ध आउँछ?

अन्ततः हानी कसको? ऋण तिर्नुपर्ने नागरिकको। विकासमा ढिलाइ भोग्नुपर्ने देशको। र, विश्वास गुमाउनुपर्ने संस्थाहरूको। जब सार्वजनिक संस्थाहरू बारम्बार विवादमा अड्किन्छन्, नागरिकको विश्वास झर्दै जान्छ। अनि विश्वासविहीन शासन कसरी बलियो हुन सक्छ?

चीनको प्रभाव र नेपालको जवाफदेहिता संकट
चीन नेपालको ठूलो आर्थिक साझेदार बनेका छ, यसले दिएको सहायता, पूर्वाधार र लगानी उपयोगी पनि छ। तर यी घोटालाहरूले देखाएका छन् कि कुनै पनि विदेशी साझेदारी तब मात्र सफल हुन्छ, जब घरेलु प्रणाली बलियो, पारदर्शी र स्वतन्त्र हुन्छ। आज देखिएको समस्या विदेशी फर्मको लोभ मात्र होइन, नेपालको आफ्नै शासन संरचनाको असक्षमता, राजनीतिक हस्तक्षेप र नियमनको कमजोर आधार पनि हो।

प्रतिनिधि छनोटमा जयप्रकाश थारूको आपत्ति, भने- ओली पक्षले विद्या भण्डारी निकट भनेर व्यवहार गर्‍यो

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा तानिएको छ। मधेश प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सार्वजनिक प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन्।

सोमबार सार्वजनिक भएको प्रतिनिधि छनोटको निर्णय आफूहरूलाई अमान्य भएको नेता थारूले बताए। उनले अनलाइनखबरसँग भनेका छन्, ‘हामीलाई विद्या भण्डारी, ईश्वर पोखरेल निकट भनेर यस्तो व्यवहार गरिएको छ। यो निर्णय हामीलाई स्वीकार्य छैन।’

महाधिवेशन प्रतिनिधिका लागि १४ जनाको उम्मेदवारी परेको र निर्वाचन अधिकृतले समेत १७ मंसिरमा निर्वाचन गर्ने सूचना प्रकाशित गरिसकेको अवस्थामा उम्मेदवारहरूको समेत सहमति नलिई सूची सार्वजनिक गरिने आपत्तिजनक भएको थारुले बताए। थारूले सामाजिक सञ्जालमार्फत उक्त सूची अस्वीकार गर्ने घोषणा गरेका छन्।

उनले लेखेका छन्- ‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि पर्सा निर्वाचन क्षेत्र नं ४ मा ११ मंसिरमा हामी उम्मेदवारहरूले मनोयन दर्ता गराएका थियौं। ३ वटा क्लस्टरका लागि १४ जना उम्मेदवार मनोयन दर्ता गराएका थियौं। दलित ३ वटा क्लस्टरका लागि ४ जनाको उम्मेदवार मनोयन दर्ता भएको छ। निर्वाचन प्रमुख केशव शर्मा सरसँग हामी उम्मेदवारहरूले बसेर छलफल गरी सहमति अनुसार १७ मंसिरमा निर्वाचन प्रक्रियामा जाने सहमति भए अनुसार निर्वाचन प्रमुखले सूचना पनि प्रकाशन गरिसक्नु भएको छ। हामी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी मनोयन दर्ता फिर्ता पनि लिएका छैनौं। तर आज एकाएक सामाजिक सञ्जाल फेसबुकमा सहमतिबाट प्रतिनिधि छनोट भएको हेर्दा मलाई त अश्चार्य लागेको छ। साथै मेरो घोर आपत्ति छ । कुनै पनि हालतमा हामाीलाई स्वीकार्य छैन।’

नेता थारू एमालेबाट २०७० सालको संविधान सभा निर्वाचनमा पर्साबाट निर्वाचित संविधान सभा सदस्य समेत हुन्। पर्सा क्षेत्र नम्बर ४ बाट खुलातर्फ जालिम मियाँ मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ र वीरेन्द्र यादव, युवातर्फ सुभाषकुमार साह तथा महिलातर्फ गोकुली रेग्मी र अंशु आनन्द सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएको सूची सार्वजनिक भएको थियो।

प्रदीप कुमार चौधरीले फिल्म निर्देशनमा डेब्यु गर्दै

अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ। १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ।

सुजन राई र तर्कराज जोशी निर्माता रहेको फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। छायांकनअघि कलाकारको नाम सार्वजनिक गर्ने तयारी छ। छायांकनमा महेश पौडेल र निर्माण नियन्त्रकमा रिजन परियार हुनेछन्।

‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा बन्ने बताइएको फिल्मको छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटार लगायतका थलोमा हुने जनाइएको छ। फिल्मको बजेट २ करोड बताइएको छ। फिल्मको सार्वजनिक शीर्षक घोषणा पोस्टरमा बादललाई मुटुको विम्वको रुपमा प्रस्तुत गरेर प्रेम सम्बन्धमा आएको दरारलाई प्रस्तुत गरिएको छ।

थुप्रै फिल्ममा खलनायकको चरित्र निर्वाह गर्दै चौधरी लामो समयदेखि मण्डला नाटक घरसँग आबद्ध छन्। चौधरी पछिल्लोपटक फिल्म ‘वरिष्ठ बलराम’ मा देखिएका थि ।

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय, सात थारू नेताको कार्यकाल पनि सकिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम वितरण गरिसक्नुपर्ने र पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यको काम सकाइसक्नुपर्ने निर्णय भएको प्रवक्ता महतले बताए।

त्यसमा उजुरी आह्वान गर्ने र उजुरीमाथि छानबिन गरेर नयाँसहितको अन्तिम सूची सभापतिलाई पुस १४ गते बुझाइने निर्णय भएको छ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नयाँ पुस्ता, अन्य पार्टीबाट आएका नेता-कार्यकर्ताहरूलाई वितरण गरिने उनले बताए।

त्यस्तै गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ, नगर र पालिका पुस १७ गते, प्रदेश सभा क्षेत्री अधिवेशन पुस १९ गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २२ गते, एकभन्दा बढी भएको जिल्लामा पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने प्रवक्ता महतले बताए।

देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको हो।
मंसिर २३ गते कार्यवअधि सकिने र पुस मासान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता रामशरण महतले बताए।

कार्यसमितमा छन् सात जना थारू
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट एक पदाधिकारीसहित ७ जना थारू नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए। बाराका उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका थिए। उनले सप्तरीका सांसद तेजुलाल चौधरीलाई पराजित गरेका थिए।

त्यस्तै खुलातर्फ बर्दियाका डा. गोपाल दहित र सिरहाका पदमनारायण चौधरी निर्वाचित भएका थिए। उनीहरू खुलातर्फ उत्कृष्ट ३५ भित्र परेर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै थारु कोटाको खुलातर्फ कैलालीका रामजनम चौधरी र दाङका योगेन्द्र चौधरी निर्वाचित भएका थिए। थारु खुलातर्फ दुई सिटका लागि ८ जनाको उम्मेदवारी परेका थिए। यसअघि केन्द्रीयसमेत रहिसकेकी दाङकी पार्वता डीसी थारु र पूर्वसभासद भोटनीदेवी खवास भने पराजित भएकी थिइन्।

त्यस्तै थारू कोटाको महिलातर्फ सुनसरीकी कल्पना चौधरी र जीवन राना विजयी भएका थिए। दुई सिटका लागि भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका थिए। थारु महिलातर्फ सांसदसमेत रहेकी नमिता चौधरी र प्रदेश सांसद रहेकी नवोदिता चौधरी पराजित भइन्।

मोहन थारूको मृत्यु प्रकरण : पोष्टमार्टममा देखियो शरीरको भित्रि भागमा चोट

करिब एक महिनाअघि जंगलमा मृत भेटिएका कोहलपुर नगरपालिका वडा नम्बर २ का मोहन थारूको मृत्यु प्रकरणको कोहलपुर प्रहरी अझै अनुसन्धानमै छ । कात्तिक १४ गते कोहलपुर-२ स्थित एक सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका थारूको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले थारूको पोष्टमार्टम रिपोर्ट आइसकेको बताए ।

उनले पोष्टमार्टम रिपोर्टपछि घटनाबारे थप अनुसन्धान गर्नुपर्ने देखिएकोले प्रहरीले सूक्ष्मरूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘घटनाको अनुसन्धानको क्रममै छौँ । पोष्टमार्टम रिपोर्टमा ठ्याक्कै यही छ भन्न मिल्दैन । तर, घटनाको अनुसन्धान गर्नुपर्ने देखिएकोले हामीले अनुसन्धान गरिरहेका छौँ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक गुप्ताले भने । पोष्टमार्टम रिपोर्टमा उल्लेख कुरा स्पष्ट नबताएपनि रिपोर्टअनुसार थप अनुसन्धान गर्नुपर्ने देखिएकोले घटनासँग सम्बन्धित पक्षलाई प्रहरीले प्रत्यक्ष/अप्रत्यक्षरूपमा निगरानीमै राखेको बताउँदै उनले थारूसँगै गएका तीन जना महिलाहरूसँग प्रारम्भिक सोधपुछ भएको बताए ।

उनीहरूलाई प्रहरीले बोलाएको समयमा कार्यालयमा हाजिर हुनेगरी छाडिएको प्रहरी निरीक्षक गुप्ताले बताए । मृतक थारूसँग घाँस काट्न सोही गाउँका देउमती खड्का, मिना भुसाल र जानुका कार्की गएका थिए । सुरुमा थारूको बाघको आक्रमणबाट मृत्यु भएको खबर बाहिरिएको थियो । तर, शव भेटिँदा बाहिरीरूपमा कुनैपनि चोटपटक लागेको थिएन । यद्यपि थारूको परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए ।

मृतक थारूका दाई सोहनलाल थारूले घटना घटेको केही दिनमै उजुरी दिएका थिए । तर, घटना भएको एक महिना बित्नै लाग्दासमेत दोषी पत्ता नलागेकोप्रति परिवारले असुन्तष्टि व्यक्त गरेको छ । लामो समय बितिसक्दासमेत घटनाका दोषी पत्ता नलागेको उनले बताए । ‘घटना भएको एक महिना हुन लाग्यो । अझै केही कुरा पत्ता लागेको छैन । प्रहरीलाई बुझ्दा अनुसन्धान गरिरहेका छौँ भन्नुहुन्छ,’ उनले भने । मृतक थारूकी भान्जी सुनसरी चौधरीले पनि आफ्नो परिवारको तर्फबाट आफूहरूले उजुरी दिएको बताइन् ।

आफूहरूले बुझ्दा अनुसन्धान भइरहेको बताउने गरेको उनको भनाइ छ । पोष्टपार्टम रिर्पोटमा त मोहनको शरीरमा चोट देखिएको छ भन्ने सुनिन्छ नी ? भन्ने मिसन टुडेको प्रश्नमा प्रहरी निरीक्षक गुप्ताले दोहोर्‍याए, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौँ । अहिले सबै कुरा खुलाउन मिल्दैन ।’ तर, भेरी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा थारूको शरीरमा चोटपटक देखिएको स्रोतको दाबी छ । स्रोतका अनुसार थारूको बाहिरी शरीरमा चोट नदेखिएपनि भित्री शरीरमा भने केही भागमा चोट देखिएको छ ।

छाती र पेटमा चोट देखिएको रहेछ नी ? भन्ने प्रश्नमा प्रहरी निरीक्षक गुप्ताले रिपोर्टमा केही कुरा देखिएपछि आफूहरूले अनुसन्धान गरिरहेको दोहोर्‍याए । घटनाको अनुसन्धान छिट्टै टुंग्याइनेसमेत उनले बताए । मोहन उक्त दिन दिउँसो घाँस संकलन गर्न गएका थिए । रातिसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो र राति ९ गतेतिर जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

मिसनटुडेबाट साभार